Category: समाचार

  • नेपाल प्रिमियर लिग १५ मंसिरबाट

    नेपाल प्रिमियर लिग १५ मंसिरबाट

    काठमाडौं । टी–२० प्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुसम्म चल्नेछ ।

    कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरे । राष्ट्रिय खेदकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिवद्धता जनाए ।

  • परराष्ट्र मन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट्दै

    परराष्ट्र मन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट्दै

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता हुने भएको छ । राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्क प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरे ।

    भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग सोमबार दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ मन्त्रालयले उल्लेख गरेको छ । मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गरेका छन् ।

    उनको यो भ्रमण नेपाल–भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको मन्त्रालयले जनाएको छ । मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् । राणा भदौ ६ मा स्वदेश फर्कनेछिन् ।

  • गोसाइँकुण्डमा बिहानैबाट भक्तजनको भीड

    गोसाइँकुण्डमा बिहानैबाट भक्तजनको भीड

    काठमाडौं । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ । सोमबार बिहान सबेरैदेखि कुण्डमा स्नानको एवम् पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

    जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् । भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

    लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले गोसाइँकुण्ड आएका तीर्थयात्रीलाई निकुञ्जद्वारा सहजीकरण भैराखेको बताए । तीर्थस्थलमा भक्तजनको चाप बढ्ने भएका कारण प्रहरी निरीक्षकको कमाण्डमा यथेष्ट सुरक्षा गस्ती परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले बताए ।

    लेक लागेका यात्रीलाई हिमालय उद्वार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर मार्फत् प्राथमिक उपचार गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बिरामी परी जोखिम अवस्था पुगेकालाई उद्वार टोली तयारी अवस्थामा राखिएको बताए ।


    तीर्थयात्रीका लागि एक सय ३० बस, तीन सय पाँच जिप, कार, भ्यान र चार सय २० मोटरसाइकल गोसाइँकुण्ड गाउँपालिका–६ ले व्यवस्थापन गरेको पार्किङभित्र रहेको प्रहरीले जनाएको छ ।

    यस्तै, यात्रुका लागि नपुग सवारीसाधन निजी क्षेत्रको यातायात व्यवस्था गर्ने चेम्बर अफ कमर्सले जनाएको छ । कमर्सका अध्यक्ष सञ्जीव अमात्यले यात्रीमाझ यातायात व्यवस्था थप मजबुत पार्न निजी क्षेत्रका बस, टाटासुमो तथा माइक्रो बसको व्यवस्था गरेका कारण यात्रामा समस्या नआउने बताए । रासस

  • बझाङमा पहिरो, एकै परिवारका चार जना बेपत्ता

    बझाङमा पहिरो, एकै परिवारका चार जना बेपत्ता

    काठमाडौं । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् । आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिराले स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएको बताए । अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका केसीले बताए । पहिरामा पुरिएकाहरूकफ खोजी जारी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

  • चितवनमा मोटरसाइकल दुर्घटना, बरिष्ठ हबल्दारको मृत्यु

    चितवनमा मोटरसाइकल दुर्घटना, बरिष्ठ हबल्दारको मृत्यु

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका बरिष्ठ हबल्दारको मृत्यु भएको छ ।
    बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहान ३ बजेर १९ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    लमजुङको राइनास नगरपालिका, धमिलीकुवाका ४३ वर्षीय श्रेष्ठ मकवानपुरको मनहरी इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनी आफैं मोटरसाइकल चलाएर चितवनको खोलेसिमलस्थित निवासमा आउने क्रममा बिहानपख पौने तीन बजेतिर दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात

    साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात

    काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित निकालेको हो। नेपालको जितमा निराजन धामीले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको २४ मिनेटमा डिबक्स भित्रबाट सशक्त प्रहार गर्दै गोल पोस्टको दिशा दिएका थिए।

    खेलमा नेपाली फरवार्ड पाएका अवसरमा पटकपटक चुकेका थिए। समिर तामाङले दुई सुन्दर अवसर खेर फालेका थिए। यस्तै अनिल बम्जन पनि प्राप्त अवसरमा सफल हुन सकेनन्। खेलको अन्तिम मिनेटमा निराजन धामीको प्रहार क्रस बारमा लाग्दा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमेको थियो।

    प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्। अब नेपालले समूहको दोस्रो खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ। भोलि अर्को समूहको खेलमा भारत र भुटानबीच खेल हुनेछ।

  • थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

    थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल विस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिएका छन्। घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो।

    त्यहाँको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरू गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा रक्षामन्त्री राई, सङ्घीय सांसद सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हमु शेर्पालगायत उपस्थित थिए।

    स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्न लगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोन लगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ।
    क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनर्निर्माणको कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्ने जनाइएको छ।

    विस्फोटपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय ध्वस्त भएको थियो। दिउँसोको समयमा घटना भएको र पूर्व सूचना प्रणाली अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ।

  • गोदावरीमा विश्वकै ठूलो भैरवको मुखाकृतिसहित आर्ट भिलेज बन्दै

    गोदावरीमा विश्वकै ठूलो भैरवको मुखाकृतिसहित आर्ट भिलेज बन्दै

    काठमाडौं । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृति) सहित ‘नेपाल आर्ट भिलेज’ निर्माण थालिएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले जानकारी दिए ।

    ख्वापाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिने छ । भवनको अगाडिपट्टि ख्वापाः र भवनभित्र कला संग्रहालय स्थापना हुनेछ । परियोजनाले यसलाई विश्वकै ठूलो भैरवको ख्वापाः निर्माण गरी गिनिज बुकमा नाम लेखाउने जनाएको छ ।

    कूल २ सय ३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १ सय ८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहने परियोजनाको भनाइ छ । प्रवक्ता महर्जनका अनुसार भवन परिसरमा गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति राखिने छ ।

    मुखाकृतिको ४२ फिटको उचाइमा भएको भैरवको आँखा (भैरव दृष्टि) बाट काठमाडौं उपत्यका र मनोरम हिमशृङ्खला समेत अवालेकन गर्न सकिने छ ।
    ख्वापाः परिसरमा विभिन्न समुदायका रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभाकक्ष निर्माण गरिने बताइएको छ ।

    परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, वृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, ९ब्यांक्वेट०, टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकुद, स्विमिङपुल लगायत समेत सुविधा हुनेछ ।

    वरिष्ठ कलाकार स्वर्गीय राजकुमार शाक्यको नेतृत्वमा ख्वापाः निर्माण सुरु भएको थियो । हाल शाक्यका छोराहरू स्वरूप र सौरभ नेतृत्वको कलाकार टोलीले उक्त जिम्मेवारी लिएको छ ।

    प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा २०७४ सालमा जग्गा एकीकरण÷संकलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् शिलान्यास गरिए पनि संस्थापक अध्यक्ष तथा प्रसिद्ध कलाकार राजकुमार शाक्यको निधनका कारण निर्माण प्रक्रिया केही समय सुस्ताएको थियो । हाल भैरव ख्वापाः निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।

    यो स्थान ललितपुर एकान्तकुनाबाट भैंसेपाटी–बुङ्गमति हुँदै १०.५ किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दूरीमा छ । हाल त्यहाँ पुग्ने सडकमार्ग स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल भइरहेको र काम अघि बढाइएको जनाइएको छ ।

    ललितपुरबाट हेटौंडा जोड्ने कान्ति लोकपथको टिकाभैरवबाट तीन किलोमिटर दूरीमा पुग्न सकिन्छ । हाल यस क्षेत्रमा सडक र खानेपानीका लागि केन्द्र र प्रदेश सरकारबाट समेत बजेट विनियोजन गरिएको छ ।

  • ऐतिहासिक बिन्दुमा विदेशी मुद्रा सञ्चिति, साढे २० खर्ब माथि

    ऐतिहासिक बिन्दुमा विदेशी मुद्रा सञ्चिति, साढे २० खर्ब माथि

    काठमाडौं । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०–८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो । यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले धेरै हो । २०८० असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

    अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ ।

    बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड भएको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।

    आर्थिक वर्ष २०८०–८१ को आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

    २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ३५.८ प्रतिशत, कुल आयातसँगको अनुपात १०८.६ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २९.३ प्रतिशत छ । २०८० असार मसान्तमा जीडीपीको अनुपात २८.८ प्रतिशत, कुल आयातसँगको अनुपात ८३ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २५ प्रतिशत थियो ।

  • विदेशबाट नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स

    विदेशबाट नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स

    काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०–८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९–८० को तुलनामा १६.५ प्रतिशत धेरै हो । नेपाल राष्ट्र बैंकको यो आंकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९–८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको हो ।

    एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६० हजार १०३ रहेको छ । यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए ।

  • परराष्ट्र मन्त्री दिल्लीमा

    परराष्ट्र मन्त्री दिल्लीमा

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुगेकि छिन् ।भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा गएकी डा. राणालाई आइतबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।

    भ्रमणका क्रममा उनले भारतीय समकक्षी विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ।

    मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीले बिदाइ गरेका थिए ।

    मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गानालगायत सहभागी थिए । परराष्ट्रमन्त्री राणा भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने

    नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने

    काठमाडौं । नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अप्रिल १२ देखि २१ सम्म हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । छनोट चरणको विजेता टोली २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।

    एसिया डिभिजन १ क्षेत्रमा विजेता र उपविजेता बनेर ओमान र हङकङ नेपालमा हुने प्रतियोगिताका लागि छनोट भएका हुन् । नेपालले यसअघि सन् २००१ र २००५ मा एसीसी यू–१९ एसिया कप आयोजना गरेको थियो, दुवैपटक विजेता बन्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो ।

    यसै वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकप जितेको अस्ट्रेलियासहित भारत, इंग्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश, आयरल्यान्ड र आयोजक जिम्बावे अब हुने विश्वकपका लागि सोझै छनोट भइसकेका छन् ।

    पछिल्लो एसिया छनोटचरणमा नेपालले यूएईलाई पराजित गर्दै यू–१९ विश्वकपमा पुगेको थियो । नेपालले यसै वर्ष भएको विश्वकपमा समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ‘एट’ मा पुगेको थियो । समूह चरणबाटै बाहिरिएको अफगानिस्तानले यसपटक एसिया छनोट खेल्नुपर्ने भएको हो ।

    नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२, २०१६ र २०२४ मा गरी ८ पटक यू–१९ विश्वकप खेलिसकेको छ । २०००, २०१२ र २०१६ मा गरी तीनपटक यू–१९ विश्वकपको दोस्रो चरणमा पुगेको नेपालले २००६ मा प्लेट फाइनल जितेको थियो भने २००२ र २००६ मा प्लेट फाइनलको उपविजेता भएको थियो ।

  • इजरायलले लेवनानमा गरेको आक्रमणमा १० जना मारिए

    इजरायलले लेवनानमा गरेको आक्रमणमा १० जना मारिए

    काठमाडौं । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
    गत अक्टोबरमा गाजा पट्टीमा युद्ध सुरु भएपछि हेजबुल्लाह र इजरायली सेनाबीच सीमाक्षेत्रमा दैनिक जसो गोली हानाहान हुन थालेपछि दक्षिणी लेबनानको नाबातिहको वादी अल–काफुर क्षेत्रमा भएको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा ठूलो हो ।

    अन्तर्राष्ट्रिय मध्यस्थताकर्ताहरूले इजरायल र प्यालेस्टिनी हमास लडाकूहरूबीच गाजा युद्धविराममा पुग्ने प्रयास गरिरहेका छन् । वार्ताले युद्ध रोक्नका लागि मद्दत गर्ने विश्वास कूटनीतिज्ञहरूले लिएका छन् ।

    लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गरेको छ । अधिकारीहरूका अनुसार मृत्यु हुनेमा सिरियाली शरणार्थी तथा श्रमिकहरू रहेका छन् । लेबनानको सरकारी राष्ट्रिय सञ्चारमाध्यमले पनि लिवियाली अधिकारीलाई उद्धत गर्दै मृत्यु हुनेमा सिरियाली शरणार्थी र कामदार रहेको उल्लेख गरेको छ ।

    इजरायली सेनाले आफ्नो टेलिग्राम च्यानलमार्फत दिएको जानकारी अनुसार लेबनानको हेजबुल्लाहको हतियार भण्डारण केन्द्रमा रातभर आक्रमण गरिएको र उक्त क्षेत्र इजरायलबाट करिब १२ किलोमिटर टाढा रहेको नाबातिह क्षेत्रमा रहेको छ ।

    वादी अल–काफुरमा भएको मृत्युपछि हेज्बुल्लाहले उत्तरी इजरायलको आयलेट हा९शहरका समुदायमाथि कात्युशा रकेट प्रहार गरेको र करिब ५५ वटा रकेटको आक्रमणमा कोही पनि हताहत नभएको तर त्यसका कारण कतिपय स्थानमा आगलागी भएको इजरायली सेनाले जनाएको छ । रासस, एएफपी

  • नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित

    नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित

    काठमाडौं । पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा परेका प्रहरी र विश्वविद्यालयले जनाएका छन् । क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा विहीबार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ ।

    ‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने,“मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।”

    नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो । बेनु राज्यको प्रहरी जनसम्पर्क अधिकारी क्याथरिन एनेनले पनि अपहरणको पुष्टि गरेका छन् ।

    नाइजेरियाले गम्भीर आर्थिक सङ्कटका कारण अपहरणमा उल्लेखनीय वृद्धिको सामना गरिरहेको छ । राष्ट्रपति बोला अहमद टिनुबु सत्तामा आएकादेखि नाइजेरियामा चार हजार ७७७ अपहरणजन्य अपराधका मुद्दाहरू दर्ता भएका छन् । रासस, एएफपी

  • परराष्ट्र मन्त्री आजबाट भारत भ्रमणमा जाँदै

    परराष्ट्र मन्त्री आजबाट भारत भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाँदै छिन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।

    भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वषौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयले बताएको छ । परराष्ट्रमन्त्री देउवा ६ भदौमा फर्किने कार्यक्रम छ ।

  • कोटीहोम घटना छानविन गर्न समिति गठन

    कोटीहोम घटना छानविन गर्न समिति गठन

    काठमाडौं । पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

    समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव छन् ।

    उक्त समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रबार राति भएको घटनाको बारेमा स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । शुक्रबार राति पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि कथावाचक विजय कृष्णमूर्तिका समर्थकले प्रतिवादन गरेका थिए । कृष्णमूर्तिलले आफूलाई पक्राउ गर्न आएको भन्दै समर्थकलाई प्रतिवाद गर्न आह्वान गरेका थिए ।

    शनिबार जिल्ला प्रशासन कार्यालयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेसहितको छलफलले दुबै पक्षबीच समझदारी कायम हुन नसकेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।

  • यु-२० च्याम्पियनसिप आजबाट सुरु हुँदै

    यु-२० च्याम्पियनसिप आजबाट सुरु हुँदै

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह-ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
    लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।

    श्रीलंकाले भने आन्तरिक कारण गत संस्करणको प्रतियोगिता खेलेको थिएन । नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रँदैछ । गत वर्ष साफ यु–१९ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका जियारथ शेख यसपटक पनि टिममा छन् । नेपाली टोलीमा यसपटक डिभिजन लिग र एनएसएल खेलेका खेलाडीहरू हुँदा टिम अनुभवी बनेको छ । यस्तै राष्ट्रिय टिमबाट खेलिसकका फरवार्ड समिर तामाङ पनि टिममा छन् ।

    अनुभवी खेलाडी, घरेलु मैदान र दर्शकको साथमा राम्रो प्रदर्शन गर्ने मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन् । साफ यु२० च्याम्पियनसिपमा पाकिस्तानसहित दक्षिण एसियाका ६ टोलीको सहभागिता छ । समूह ए मा नेपाल र श्रीलंकासहित बंगलादेश छ भने साविक विजेता भारतसहित भुटान र माल्दिभ्स समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

  • देशैभर ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

    देशैभर ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको छ । ६ घण्टाको अवधिमा गोरखाको आरुघाट र पर्साको मुडलीमा पनि भारी वर्षा मापन भएको छ ।

    विगत १२ घण्टाको अवधिमा देशका अधिकांश स्थानमा वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा रुपन्देहीको भैरहवामा मापन भएको छ । त्यहाँ १७८ मिलिमिटर वर्षा मापन भएको छ । अहिले वर्षा बागमती र लुम्बिनी प्रदेशमा बढी भइरहेकाले खोला तथा नदीहरुमा बाढीको जोखिम बढेको छ ।

    काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा रहने र यात्रा गर्नेहरुलाई बिहान १० सम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    यसैगरी कपिलवस्तु जिल्लाको भगवानपुर, दाङ जिल्लाको लालमटिया र बागासोती, प्युठान जिल्लाको हन्सपुर, माडी नदी र बिजुवार, रोल्पाको सुलिचौर र लिबाङ गाउँ तथा ती स्थानका आसपासमा सामान्यदेखि मध्यम वर्षा भएकाले बाढीको जोखिम छ ।

    प्युठान जिल्लास्थित लुंग्री नदीको खुंग्री जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । दैलेख जिल्लास्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । ६ घण्टाको अवधिमा त्यहाँ ११६.२ मिलिमिटर वर्षा भएको छ । त्यसैले बेस्तडा खोला र अन्य स(साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा छ । महाशाखाले आगामी २४ घण्टाका लागि परामर्श जारी गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।

    महाशाखाको बुलेटिनमा उल्लेख भएअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।सोमबार राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ‘आज शनिबार १ नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए’, प्रधानमन्त्री ओलीले भेटबारे फेसबुकमा लेखेका छन् ।

  • सोलुखुम्बुको थामेमा हिमताल फूटेर बाढी आएको पुष्टी

    सोलुखुम्बुको थामेमा हिमताल फूटेर बाढी आएको पुष्टी

    काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

    त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाले बताए । ५ वटा हिमताल रहेकामा २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको बताइएको छ । गाउँपालिका अध्यक्ष मिङ्मा छरि शेर्पाका अनुसार अरु तालमा भने जोखिम छैन । बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका ३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ ।

    राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने अवलोकनमा गएको टोली शनिबार साँझ फर्केपछि विस्तृत जानकारी दिन सकिने बताएको छ ।

  • थामे गाउँ बाढीबारे प्रधानमन्त्रीको चासो

    थामे गाउँ बाढीबारे प्रधानमन्त्रीको चासो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राखेका छन् । उनले प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी दिएका हुन् । बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको जानकारी गराइन् ।

    तर हिम पहिरो आएको वा हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन भइनसकेको उनले जानकारी दिइन् । दिउँसो बादल लागेका हेलिकप्टर समेत जान सक्ने अवस्था नभएको प्रजिअ पाण्डेले जानकारी दिइन् । तल्लो थामेमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई उपल्लो थामेमा भएका होटल तथा घरमा राखिएको छ ।

    फोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले भने पहिरोमा माटोभन्दा पानी पनि देखिएकाले सुख्खा पहिरो हुननसक्ने अनुमान गरे । उनले अगाडि भने, ‘त्यहाँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिनुस् । धनमालको क्षति भइहाल्यो, सरकारले केही गरौंला ।’ मौसम खराब नभए भोलि रक्षामन्त्री सहितको टीम आउने उनले जानकारी दिए ।

  • चन्द्रागिरिमा निर्माणाधिन घरको छतबाट खसेर एक जनाको मृत्यु

    चन्द्रागिरिमा निर्माणाधिन घरको छतबाट खसेर एक जनाको मृत्यु

    काठमाडौं । निर्माणाधीन घरको छतबाट खसेर काठमाडौंको चन्द्रागिरिमा एक कामदारको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रंग लगाउने क्रममा नुवाकोट पञ्चकन्या गाउँपालिका १ का ४१ वर्षीय अर्णबहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

    उनका अनुसार चन्द्रागिरि १५ स्थित एक निर्माणाधीन घरमा रंग लगाउने क्रममा दोस्रो तलाको छतबाट खसेर अर्णबहादुर घाइते भएका थिए। उनलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको हो । मृतक थापा मगरको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • धनुषामा पानीमा डुबेर दुई बालिकाको मृत्यु

    धनुषामा पानीमा डुबेर दुई बालिकाको मृत्यु

    काठमाडौं । धनुषामा जलाद खोलाको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ घर भइ आफन्तको घरमा गएकी १० वर्षीया संध्या यादव छन् ।

    धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार आज दिउँसो नुहाउन गएकी दुई बालिकालाई खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा देख्दा स्थानीयले निकालेका थिए । दुवैजनाको मृत्यु भइसकेको थियो । दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने

    विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्ने भएको छ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिदका लागि सहयोग गर्न आग्रह गरेको थियो । यसपटक उपविदेश मन्त्रीको भ्रमणका बेला त्यो प्रस्तावमा अमेरिका सहमत भएको उनले बताएका हुन् । सैनिक स्रोतका अनुसार, अमेरिकाले वैदेशिक सहायता शीर्षकमा यो सहयोग गर्न लागेको हो । रिचार्डले नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासहित विपक्षी दलका नेताहरुसँग समेत भेट गरेका थिए ।

    उनले नेपाल भ्रमणका क्रममा एमसीसी परियोजनाको उपलब्धिबारे एनसीसी परियोजना कार्यान्वयन गर्ने नेपालस्थित कार्यालयका अधिकारीहरुसँग समेत छलफल गरेका थिए । एमसीसीमा भएको छोटो बैठकमा परियोजनाको प्रगति र चुनौतीका विषयमा छलफल गरेका थिए ।

  • संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई

    संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई

    काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसद्‌बाट विधेयक समेत पारित भएको पृष्ठभूमिमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो ।

    नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेट्दै बधाई ज्ञापन गरेका हुन् ।

    ‘बर्माले नेपाली राजनीतिक नेतृत्वले संक्रमणकालीन न्याय टुंगो पुग्न लागेकामा बधाई दिनुभयो, उहाँले पीडितहरुको लागि वास्तविक पहल भएको अपेक्षा समेत राख्नुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । उपमन्त्री बर्माले नेपाल र अमेरिकाबीच ७७ वर्षदेखिको सम्बन्धको सम्झना गर्दै नेपालको विकासमा आफ्नो देश साझेदार हुन पाएकोमा खुसी समेत व्यक्त गरेका थिए ।

    प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे । ओलीले सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको जानकारी गराएको उनको सचिवालयले बतायो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

  • पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई हवाई इन्धनमा छूट

    पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई हवाई इन्धनमा छूट

    काठमाडौं । सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको हो ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण बनाउन प्रधामनन्त्रीबाट भएको निर्देशनअनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने विमानले प्रयोग गर्ने इन्धनमा सहुलियत दिने निर्णय भएको हो ।

    यो निर्णयपछि अहिले प्रतिकिलोलिटर १ हजार ४२ डलर रहेको अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धन पोखराा र भैरहवामा ९४२ डलरमा झारिएको हो । त्रिभुवन विमानस्थलबाट उडान भर्नेहरुका लागि साविककै मूल्य तय छ ।

    सरकारले पछिल्ला दिनमा पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु गराउन विभिन्न सहुलियत र छुट सुविधाहरु घोषणा गर्दै आएको छ । यसका लागि मन्त्रिपरिषदबाट एक कार्ययोजना समेत पास भएको छ ।

  • थामे बाढी : तटीय क्षेत्रमा जोखिम

    थामे बाढी : तटीय क्षेत्रमा जोखिम

    काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा आएको बाढीले दुधकोशी नदिको बहाब बढाएको छ । नदिले तटिय क्षेत्रमा जोखिम बढाएको भन्दै प्रशासनले सचेत हुन भनेको छ । मौसम बिज्ञान विभागले शुक्रबार सूचना निकाल्दै तटीय क्षेत्रमा सचेत हुन भनेको हो । सोलुखुम्बुको जोरसल्ले देखि तल दुधकोशीमा बढी जोखिम देखिएको हो ।

    बाढीले थामे गाउमा व्यापक क्षति गरेको छ ।

  • सोलुखुम्बुको थामे गाउँ बाढीले बगायो

    सोलुखुम्बुको थामे गाउँ बाढीले बगायो

    सोलुखुम्बुको थामे गाउँ बाढीले बगाएको छ । सोमबार पासाङ ल्ह्यामु गाउँपालिका स्थित यो गाउँ सगरमाथा नजिकको गाउँ हो । शुक्रबार करिव १ बजे तिर आएको बाढी हिमताल फुटेर आएको अनुमान गरिएको छ ।

    स्थानीय प्रहरी प्रशासनले जनाएअनुसार अहिलेसम्म १२ वटा घर बगेको आशङ्का छ । मानवीय क्षतिको विवरण आएको छैन । सामाजिक सन्जालमा आएका भिडियोमा पुरै गाउँ बगेको देखिन्छ । अहिले प्रहरी टोलि सो गाउँ पुगिसकेको बताइएको छ ।

  • इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा अहिलेसम्म ४० हजार माथि हताहत

    इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा अहिलेसम्म ४० हजार माथि हताहत

    काठमाडौं । इजरायलले प्यालेस्टाइमा गरेको पछिल्लो आक्रमणमा ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दश महिना लामो इजरायली आक्रमणमा बिहीबारसम्म ४० हजार ५ जनाले ज्यान गुमाएका हुन् । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या प्यालेस्टाइनको कूल जनसंख्याको १।७ प्रतिशत हो । बीबीसीका अनुसार इजरायली सेनाको आक्रमणका कारण गाजा क्षेत्रका करिब ६० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् ।

    विद्रोही समूह ‘हमास’ले २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध इतिहासकै भयानक आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनविरुद्ध तनाव उत्कर्षमा पुगेको हो । उक्त आक्रमणका कारण करिब १ हजार ३ सय जनाले ज्यान गुमाएका थिए । आक्रमणपछि हमासले २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै क्रुद्ध इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको हो । यसबीचमा युद्धविरामका लागि विभिन्न चरणमा भइरहेका वार्ता भने निष्कर्षमा पुग्न सकेका छैनन् ।

    प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको अस्तित्व नामेट पार्नुपर्ने बताउँदै आएको छ । हमासले सन् २००७ यता गाजापट्टीमा शासन गर्दै आएको छ । २३ लाख मानिसको बसोबास रहेको गाजापट्टी इजरायल, इजिप्ट र भूमध्यसागरबीचको ४१ किलोमिटर लामो र ६ देखि १२ किलोमिटर चौडा क्षेत्र हो । गाजाको आकाश (हवाई क्षेत्र) र समुद्री तटमाथि भने इजरायलको नियन्त्रण छ ।

  • गठ्ठाघर दुर्घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन

    गठ्ठाघर दुर्घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् । गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले भनेका छन्, ‘गठ्ठाघरको दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’

    बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ ।

    घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो । प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए ।