Category: समाचार

  • सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन

    सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन

    काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

    धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब १ अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो ।

    डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन् । सबस्टेसनमा १३२–३३ केभी, ३० एमभीए क्षमताका दुई थान पावर ट्रान्सफर्मर र १३२–११ केभी, २२।५ एमभीए क्षमताको एक थान ट्रान्सफर्मर छन् । समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभीए छ । सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्य रूपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन् ।

    अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज र छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायत समस्या समाधान भई समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताए । यसअघि उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो । लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङलगायत समस्या थिए ।

    स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चार वटा फिडर निकाल्न सक्ने गरी संरचना तयार गरिएको छ । ३३ केभीका २ वटा फिडर जलेश्वर, १ वटा गौशाला र १ वटा जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिने छ । यसमध्ये जनकपुरतर्फको १ वटा फिडर निर्माण सम्पन्न गरी चालु गरिएको छ ।

    लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर लाइन निकाल्न सक्ने व्यवस्था गरिएको छ । त्यसमध्ये २ वटा फिडर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन आयोजना करिब ३ वर्षअघि सुरु गरिएको थियो ।

  • पेट्रोलियम पदार्थको भाउ घट्यो

    पेट्रोलियम पदार्थको भाउ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो । निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रति लिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।

  • मन्त्रीहरुका १ सय दिने योजनाबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

    मन्त्रीहरुका १ सय दिने योजनाबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो १०० दिनभित्र मन्त्रालयहरूले गर्ने मुख्यमुख्य कामबारे छलफल गरेका छन् । सरकारले गत आर्थिक वर्ष २०८०–८१ को प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाबारे छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।

    प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव राजकुमार श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा समग्रमा ६३.४४ प्रतिशत पुँजीगत खर्च भएको छ ।

    ३ हजार ४ सय २१ माइलस्टोन निर्धारण भएकामध्ये ४९ प्रतिशत र एक हजार छ सय क्रियाकलापमध्ये ४२ प्रतिशत सकिएको बताए । गत वर्ष किसानको मल आपूर्तिमा सहज भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाई सेवाबाट उद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धिका रुपमा राखिएको छ ।

    बजेट र कार्यक्रमको तयारी नपुगेको, स्रोत सुनिश्चित नभएका योजना चलाइएको, अन्तरनिकाय समन्वय अभाव भएको, निर्माण सामग्रीको अपर्याप्यता भएको, खरिद ऐनमा समस्या भएको, विस्तृत परियोजना प्रतिवेदन तयार नभएको, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजनाहरू समयमा सम्पन्न नभएको प्रस्तुतीकरणमा उल्लेख छ ।

    समीक्षापश्चात सम्बन्धित मन्त्रालयका सचिवहरूले चालु आर्थिक वर्ष २०८१–८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको १०० दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुति राखेका छन् । आर्थिक वर्षको सुरुवातदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमामा सरकारले तदारुकता देखाएको हो । यसअघि प्रधानमन्त्री ओलीले १५ साउनमा सबै मन्त्री र सचिवहरूलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिएका थिए ।

  • सार्वजनिक यातायात सुरक्षित बनाउन सरकारले  व्यवसायीलाई यस्तो दियो निर्देशन

    सार्वजनिक यातायात सुरक्षित बनाउन सरकारले व्यवसायीलाई यस्तो दियो निर्देशन

    काठमाडौं । सरकारले यातायात व्यवसायीहरूलाई सवारी र यात्रु सुरक्षामा केन्द्रित भएर १२ वटा निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सहितका व्यवसायीका संघ–महासंघलाई पत्राचार गर्दै निर्देशन दिएको हो । २८ असारमा नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर–२९, सिमलतालमा गएको पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसालेर बेपत्ता पारेको घटनाबारेको अध्ययन प्रतिवेदनका विषयहरू कार्यान्वयन भन्दै यस्तो निर्देशन दिइएको हो ।

    गृह मन्त्रालयले यात्रुलाई टिकट काटेर मात्र यात्रा गराउन, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्न र यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने कुरालाई व्यावहारमा उतार्न भनेको छ । यस्तै सबै सवारी साधनमा जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न, तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्न र आ–आफ्ना सार्वजनिक सवारी साधनमा सीसी टिभी र ट्रान्सपोन्डरको व्यवस्था गर्न समेत गृहको निर्देशन छ ।

    सबै चालक तथा सहचालकसँग रोजगार सम्झौता अनिवार्य रुपमा गर्न र न्यूनतम तलबरज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्न पनि सरकारले व्यवसायीलाई निर्देशन दिएको छ । शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरहरूलाई प्रशिक्षित गर्न, चालकहरूलाई सुरक्षित ड्राइभिङ्ग सम्बन्धी नियमित रूपमा तालिम दिन र ट्राफिक नियमको पालना गर्न प्रेरित गर्न समेत पत्रमा भनिएको छ ।

    मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन कठोर निगरानी गर्न र लामो बाटोमा यातायात चलाउने यात्रुवाहक सार्वजनिक सवारीले कम्तीमा दुई जना चालक राख्ने व्यवस्थाको पालना गर्न समेत निर्देशनमा भनिएको छ । यातायात व्यवसायी तथा मजदुरहरूको आचारसंहिता बनाइ लागू गर्न, चालक तथा सहचालकको लागि पोशाक तथा परिचय पत्रको व्यवस्था गर्न, टिकट काउन्टरमा बस्ने कर्मचारीहरूलाई अनिवार्य परिचयपत्र र तोकिएको पोशाक लगाउन र मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्न समेत व्यवसायीलाई सरकारको निर्देशन छ ।

    सवारी साधनहरूको नियमित मर्मत सम्भार, जाँच गर्ने र पुराना र असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउन समेत पत्रमा भनिएको छ ।

  • परराष्ट्र मन्त्री देउवा भारत भ्रमणमा जाने

    परराष्ट्र मन्त्री देउवा भारत भ्रमणमा जाने

    काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । उनी आउँदो हप्ता भारत जाने तय भएको परराष्ट्र मन्त्रालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेकी हुन् । ‘भारतका विदेश सचिवले भारत भ्रमणको निम्तो दिएका थिए ।

    आइतबारदेखि मंगलबारसम्म भारतको भ्रमण गर्ने तयारी छ’, परराष्ट्र स्रोतले भनेको छ । २७ साउनमा नेपाल आएका मिस्रीले परराष्ट्र मन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेका थिए ।

  • विश्व बैंकले बजेटरी सहायता बढाउने

    विश्व बैंकले बजेटरी सहायता बढाउने

    काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिए । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए ।

    विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो । अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए ।

  • गठ्ठाघर दिनभर तनावग्रस्त, ट्रकले स्कुटरलाइ ठक्कर दिदा एक जनाको मृत्यु

    गठ्ठाघर दिनभर तनावग्रस्त, ट्रकले स्कुटरलाइ ठक्कर दिदा एक जनाको मृत्यु

    काठमाडौं । भक्तपुरको गठ्ठाघर आज दिनभर तनावग्रस्त रह्यो । यहाँ ट्रकले ठक्कर दिदा एक महिलाको ज्यान गएको छ । घटनापछि स्थानीयले ट्रकका आगजनी गरेका थिए । साथै ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि आक्रमण गरेका थिए ।

    मृतकको सनाखत भइसकेको छैन । उनलाइ बीभत्स तरिकाले ट्रकले किचेपछी स्थानीय आक्रोशित बनेका थिए । आक्रोशित भिडलाइ नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ । साझबाट भने परिस्थिति नियन्त्रणमा आएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

  • संविधान उल्लघंन गरेको आरोपमा थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त

    संविधान उल्लघंन गरेको आरोपमा थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त

    काठमाडौं । थाईल्यान्डमा एक अदालतले संविधान उल्लङ्घन गरेको आरोपमा प्रधामन्त्री सेटा टवीसिनलाई पदमुक्त गरेको छ । टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर अवज्ञापूर्ण व्यवहार देखाएको र नैतिकताको नियम उल्लङ्घन गरेको ठहर थाईल्यान्डको संवैधानिक अदालतको छ।
    सतसट्ठी वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन। उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई पदमुक्त गरेको छ।

    अब थाई संसद्ले नयाँ प्रधानमन्त्री नछान्दासम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्ने छन्। म आफ्नो इमानप्रति विश्वस्त छु, मलाई दुःख लागेको छ तर म आफू यो आदेशप्रति असहमत छु भन्दिनँ, अदालतले फैसला सुनाएपछि टवीसिनले पत्रकार सम्मेलनमा भने। उक्त अदालतको निर्णय अन्तिम हुन्छ र त्यसमाथि पुनरावेदन गर्न पाइँदैन। थाईल्यान्डको संवैधानिक अदालतसँग असीमित शक्ति छ।

    थाईल्यान्डको राजनीति सदाचारका लागि नभई भ्रष्टाचारका लागि चिनिन्छ। त्यहाँ पहिला पनि गम्भीर मुद्दामा दोषी ठहर भएका व्यक्तिहरूले सार्वजनिक पदमा बस्ने अवसर पाएका थिए। थाईल्यान्डमा धेरै मानिसहरूले यो निर्णयलाई राजनीतिक मान्ने छन्। पिजित चिन्बानलाई मन्त्री बनाएपछि गत मे महिनामा ४० जनाजति सांसदले प्रधानमन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित मुद्दा हालेका थिए। घुस लेनदेनको प्रयासमा दोषी ठहर भएपछि चुन्बानलाई छ महिनाको जेल सजाय सुनाइएको थियो।

    विवाद भएपछि चुन्बानले आफू मन्त्री नियुक्त भएको १९ दिनपछि राजीनामा दिएका थिए। बुधवार संवैधानिक अदालतका नौमध्ये पाँच न्यायाधीशहरू उक्त नियुक्ति गर्दा प्रधानमन्त्रीले आफ्नो पदीय आचरण उल्लङ्घन गरेको निष्कर्षमा पुगे। नौवर्षे सैन्य शासन अन्त्य भएसँगै टवीसिन गत वर्ष अगस्टमा प्रधानमन्त्री नियुक्त भएका थिए।

    गत वर्ष भएको निर्वाचनमा धेरै सीट जितेको मूभ फर्वर्ड पार्टीलाई रोक्ने प्रयास भएसँगै बनेको राजनीतिक समीकरणका बलमा टवीसिन प्रधानमन्त्री बन्न सफल भएका थिए।देशको अर्थतन्त्र सुधार गर्न सङ्घर्ष गरिरहेको थाईल्यान्डमा अब नयाँ प्रधानमन्त्री छान्न नेपथ्यमा निकै मोलतोल हुने छ। दुई पटक भएको सैन्य कूपछि पुनः प्रजातान्त्रिक पद्धतिमा फर्किन खोजेको थाईल्यान्डमा राजनीतिक अस्थिरता सकिएको अपेक्षा फेरि तुहिएको छ।

    निर्वाचनपछि पिटा लिम्जार्‍याटले नेतृत्व गरेको मूभ फर्वर्ड पार्टीले सरकार बनाउने ठानिएको थियो। तर सेनाको प्रभाव रहेको सिनेटले त्यसो हुन दिएन।
    त्यसपछि दोस्रो ठूलो दल फूए थाईले सेनाले समर्थन गरेका अरू दलहरूसँग सहमति गर्दा टवीसिन सत्तामा पुगे। गत साता सोही अदालतले निर्वाचनका बेला असंवैधानिक वचन दिएको भन्दै मूभ फर्वर्ड पार्टी विघटन गर्ने आदेश दिएको थियो। अदालतले उक्त पार्टीका ११ सांसदलाई १० वर्ष राजनीति गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।
    बीबीसी

  • यूईएफए सुपर कपको उपाधि रियललाई

    यूईएफए सुपर कपको उपाधि रियललाई

    काठमाडौं । स्पानिस क्लव रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २–० ले हराउँदै यूईएफए सुपर कपको उपाधि हात पारेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गतरात सम्पन्न खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र केलिएन एमबाप्पेले एक–एक गोल गरे । एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

    ५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गरेका हुन् र उनले उपाधि बाट रियलमा यात्रा सुरु गरेका छन् ।

    रियलको जर्सी लगाएर समर्थकअघि खेल्न पाउनु आफ्नो लागि गिप्ट भएको उनको प्रतिक्रिया थियो । रियलले कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो । यसअघि रियल र बार्सिलोनाले समान पाँचपटक उपाधि जितेका थिए । अब रियल सर्वाधिक युइएफए सुपर कप जित्ने टिम बनेको छ ।

    रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो । नयाँ सिजन सुरु हुनुअघि युरोपियन च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच युइएफए सुपर कप खेल हुँदै आएको छ । रियलले गत सिजन च्याम्पियन्स लिग र एटलान्टाले युरोपा लिगको उपाधि जितेको थियो ।

  • पाँच प्रदेशमा क्यान्सरको उपचार सेवा बिस्तार

    पाँच प्रदेशमा क्यान्सरको उपचार सेवा बिस्तार

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने भएको छ। यससम्बन्धी मन्त्रालयले कार्यविधि नै बनाएको छ। मन्त्री प्रदीप पौडेलले बुधबार क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका हुन्।

    ‘मन्त्रालयको कार्यभार सम्हालेलगत्तै क्यान्सर रोगका बिरामीलाई केही राहत दिन सकिन्छ भनेर क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेको थिएँ। मन्त्रालय सम्हालेको एक महिना पुग्दै गर्दा आज थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरी कार्यविधि स्वीकृत गरेका छौं,’ मन्त्री पौडेलले भने।

    मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए। रणनीतिले सात वटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो। कार्यविधि स्वीकृत भएपछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन्।

    कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशमा विराटनगर अस्पताल र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ।

    यससँगै देशका सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवाको पहुँच विस्तार भएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए। मन्त्री पौडेलले सार्वजनिक गरेको प्राथमिकता तथा योजनामा सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने उल्लेख थियो। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले अब बिरामीहरूले संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने बताए।

    स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने उनले बताए। अहिले संघीय सरकार मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन्। कार्यविधि स्वीकृत भएसँगै ती अस्पतालले तत्काल सेवा उपलब्ध गराउन प्रक्रिया थाल्ने मन्त्रालयले जनाएको छ।

  • नेताहरुले जनयुद्ध शब्द नबोल्दा किन बिच्किए प्रचण्ड

    नेताहरुले जनयुद्ध शब्द नबोल्दा किन बिच्किए प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
    टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेको बताए ।

    ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ’, उनले अगाडि भने । सविधानसभाबाट बनेको संविधान (अनुसूची) मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले नेताहरुको ध्यानाकर्षण गराएका छन् । उनले अगाडि भने, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिरखेका छौं,त्यो सम्भव हुने थिएन ।’

  • टीआरसी विधेयकले सबैलाई न्याय गर्छ : देउवा

    टीआरसी विधेयकले सबैलाई न्याय गर्छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यतालाई बोकेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले स्वागत गर्ने विश्वास व्यक्त गरे ।

    ‘संसदमा प्रस्तुत यो विधेयकले संक्रमणकालीन न्यायको सबै आधारभूत मान्यता बोकेको छ । सत्यको अन्वेषण गर्ने, न्याय गर्ने र पीडितलाई परिपुरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यो विधेयक संक्रमणकालीन न्यायको मूल्य मान्यता, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुसार रहेको छ’ कांग्रेस सभापति देउवाले भने ।

    यो विधेयक कानुन बने पश्चात सबै पीडितले न्यायको अनुभूति गर्ने विश्वास आफूले लिएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने बताएका हुन् । सबै दलहरु मिलेकाले अब शान्ति प्रक्रिया मौलिक रुपमै टुंगोमा पुग्ने दिशातिर अगाडि बढेको पूर्वप्रधानमन्त्री देउवाले बताए । ‘‘अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको छ । यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपुरणको व्यवस्था गरेको छ,’ उनले भने ।

    संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढ्नुलाई ऐतिहासिक उपलब्धिको रुपमा ब्याख्या गर्दै उनले विधेयक कानुनमा रुपान्तरित भएसँगै सक्षम आयोग गठन हुने उनले बताए । ‘अब सक्षम आयोग गठन गर्नुपर्ने छ । यो प्रक्रियाको सहज अवतरण आयोगका माध्यमबाट हुनेछ’ उनले भने ।

    शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सबै दलहरु एक ठाउँमा रहेको भन्दै उनले थपेका, ‘मुलुकलाई अप्ठ्यारो पर्दा राजनीतिक दलहरु एक ठाउँमा उभिने गरेका छन् । यसपटक पनि सबै एक ठाउँमा उभिएका छौं ।’ सबै दलहरु मिलेकाले अब शान्ति प्रक्रिया मौलिक रुपमै टुंगोमा पुग्ने दिशातिर अगाडि बढेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।

    २०६३ साल मंसिर ५ गते बृहत शान्ति सम्झौता भएपछि दश वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य भएको उल्लेख गर्दै उनले थपे, ‘शान्ति सम्झौता पछिको १८ वर्षको अवधिमा नेपालले हातहतियारको व्यवस्थापन, सेना समायोजन, संविधान सभाबाट संविधान जारी भइसकेका छन् ।’

    संविधान कार्यान्वयन गर्दै मौलिक शैलीमा नेपाललाई शान्तिको बाटोमा डोर्याउन नेपालीहरु सफल भएको उल्लेख गर्दै उनले थपे, ‘शान्ति प्रक्रियाको काम नसकिँदा पीडितको न्याय पाउने काममा बिलम्ब भएको थियो ।’ केही ढिलो भए तापनि नेपालले मौलिक शैलीमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन लागेको र यो विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको सभापति देउवाले बताए । ‘नेपालीहरु आफ्नो काम आफैं गर्न सक्छन् भन्ने यो सहमतिले सिद्ध गरेको छ । यो विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको छ,’ सभापति देउवाले भनेका छन् ।

  • टीआरसी विधेयकमा प्रधानमन्त्री के भन्छन् ?

    टीआरसी विधेयकमा प्रधानमन्त्री के भन्छन् ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा देखिएको लोकतन्त्र विरोधी प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको रक्षा र परिपालनामा सरकारको तर्फबाट कुनै कमी नहुने बताए । अहिले लोकतन्त्रका विरुद्ध केही प्रवृत्ति देखा पर्न थालेको भन्दै उनले भने, ‘कहाँ पुग्ने थाहा छैन, के बनाउने थाहा छैन, तर प्रणालीभन्दा बाहिर सामाजिक सीमाहरुको वास्ता नगरेर चल्ने केही प्रवृत्ति प्रकट भएका छन् ।’

    केही कमजोरी वा बान्छित उपलब्धि हासिल नभएको हुनसक्ने उनले बताए । तर त्यसलाई अतिरञ्जनाका साथ प्रस्तुत गरेर प्रणालीविरुद्ध जाने अभिव्यक्ति प्रकट भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म सिंगो सदनलाई भन्न चाहन्छु सरकार यस मामिलामा सजग छ ।’ सम्बोधनका क्रममा उनले लोकतन्त्रका लागि गरेको बलिदान ख्याल नभएको बताए । ‘हामी कठिन बाटो हिँडेर यो प्रणाली स्थापना गरेका हौं,’ उनले भने, ‘धेरै जनताको रगत बगेको छ । कोही निर्वासनमै बस्नुपर्यो, निर्वाचित प्रधानमन्त्री अकारण जेल गएर बस्नु परेका दिनहरु हामीले याद गरेका छौं ।’

    त्यो बेला एकछिन अधिनायकवादले जितेजस्तो देखिए पनि लोकतन्त्रको विकल्प नभएको ओलीले बताए । संघीय लोकतान्त्रिक संविधान पनि आफूहरुले मिलेर बनाएको प्रधानमन्त्री ओलीले स्मरण गरे । अहिले सत्ता पक्षले संविधान संशोधन गर्नुको अर्थ प्रतिगमन नभएको उनले बताए । तानाशाहीविरुद्ध लडेर आएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले प्रतिगमन गर्छौं भनेर कसरी सोच्न सकिन्छ रु त्यस ९तानाशाही० माथि त हाम्रो विश्वास छैन । हाम्रो विश्वास लोकतन्त्रमाथि छ, त्यसकारण लोकतन्त्रका लागि लडेका हौं ।’

    लोकतान्त्रिक मूल्य मान्यता अझ बढी सुदृढ गर्दै सुशासन र विकासका कामका संविधानका धाराहरु फेरबदल गर्न सकिने उनले बताए । ‘संविधान संशोधन गर्न सकिन्छ भन्नुको अर्थ जे मन लाग्यो, त्यही गर्छौं भन्ने होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानका आधार मूल्य मान्यता, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता मास्न हामी तयार छौं र ? म त तयार छैन ।’

  • प्रतिनिधिसभाबाट पारित भयो टिआरसी विधेयक

    प्रतिनिधिसभाबाट पारित भयो टिआरसी विधेयक

    काठमाडौं । सङ्क्रमणकालिन न्याय सम्बन्धि टिआरसि विधेयक संसदबाट पास भएको छ । कानुन, न्याय तथा संसदिय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संसोधन गर्न बनेको विधेयकलाई सभाले पारित भएको हो ।

    अबको १० दिन भित्र विधेयकलाई कानुनको रुप दिने तयारी सरकारको छ । अब यो विधेयक रास्टृय सभामा पठाइन्छ । त्यसपछि प्रमाणिकरण गर्न रास्ट्रपतिकहाँ पठाइन्छ ।

    यो विधेयक २०७९ सालमा संसद प्रवेश गरेको हो । तर, दलहरूबिच मुख्य विषयमा सहमति नजुटेका कारण अगाडि बढ्न सकेको थिएन ।

  • नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

    नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

    काठमाडौं । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

    मंगलबार दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान ४ः४५ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिए ।


    बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको पौडेलले बताए । सोमबार साँझ ५ बजे सडक भासिएर एकतर्फी सञ्चाल भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहान ८ः३० बजेदेखि पूर्णरुपम यातायात अवरुद्ध भएको थियो । दिउँसो २ बजेसम्म मर्मत गरी सक्ने आँकलनका साथ काम गरिए पनि सोचेभन्दा बढी काम गर्न परेकाले राती एकतर्फी बाटो सञ्चालन गरेर छोडिएको थियो ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    पछिल्लो २४ घन्टामा सिराहाको लहानमा ८७.२ मिलिमिटर वर्षा भएको छ। मोरङको केराबारीमा ७५.२ मिलिमिटर वर्षा भएको छ। मकवानपुर गढीमा ६०.८, काठमाडौंको धापा ड्याममा ६९, चितवनको त्रिशूलीमा ७४, चितवनकै झुवनीमा ७४.८, लमजुङको कुञ्चामा ७२।.४, गोरखाको आरुघाट ७६ मिलिमिटर पानी परेको छ।

  • पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

    पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

    काठमाडौं । मंगलबार राति आएको वर्षासँगै पहिरोले पृथ्वी राजमार्ग अबरूद्व बनेको छ चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो गएको स्थानमा सडक एकतर्फी बनेको छ ।

    यस्तै इच्छाकामना गाउँपालिका ३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व बनेको छ । राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि काठमाडौ जाने र पोखरा तथा नारायणगढ जाने सवारीसाधन लाइनमा छन् ।

  • नेपालमा सुनको भाउ डेढ लाख माथि, के हो कारण ?

    नेपालमा सुनको भाउ डेढ लाख माथि, के हो कारण ?

    काठमाडौं । सुनको भाउले निरन्तर नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । सोहीक्रममा मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८ सय नाघेको छ । डेढ सयको आंकडा नाघेको यो पहिलो पटक हो । सोमबारको तुलनामा सुनको भाउ २१०० रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपालमा समेत मूल्य बढेको हो ।

    रुस युक्रेन युद्ध, इजरायल गाजा युद्धले समेत सुनको मूल्यमा असर गरिरहेको छ । सोमबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको हो । चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १७४० रुपैयाँ पुगेको छ ।

  • संसदमा गगनको सन्तुलित भाषण, प्रधानमन्त्री र मन्त्रीहरुलाई बनाए सचेत

    संसदमा गगनको सन्तुलित भाषण, प्रधानमन्त्री र मन्त्रीहरुलाई बनाए सचेत

    काठमाडौं । एमालेसँग मिलेर सरकार बनाएको एक महिनापछि कांग्रेस महामन्त्री गगनकुमार थापाले मंगलबार विशेष समय लिएर संसदमा सन्तुलित भाषण गरेका छन् । २० मिनेट लामो सम्बोधनका क्रममा थापाले संविधान निर्माण, सुशासन र विकास निर्माणमा सरकारले कसरी काम गरोस् भन्ने चाहेको छ भन्ने बारे खुलाएका छन् । उनले प्रधानमन्त्रीलाई खबरदारी गर्दै भने, ‘डन्ट टेक अस फर ग्रान्टेड ।’

    संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । त्यसअनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट शपथसँगै २१ मन्त्री नियुक्त गरे । त्यसको एक महिनापछि मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री थापाले आफू सरकार बनाउने काममा धेरै नलागेको बताए ।

    तर परिणाममा जे भएको छ, एकदमै ठीक भएको भन्दै उनले भने, यो असामान्य छ, ठीक छ, यसलाई ठीक बनाउनुपर्छ ।’ त्यसका लागि दुई दलबीच भएको सातबुँदे सहमतिको मुख्य तीन विषयलाई आधार बनाउनुपर्ने बताए । सातबुँदेको मुख्य कुरामध्ये एक राजनीतिक स्थायित्वका लागि संविधानमा संशोधन भएको कांग्रेस महामन्त्री थापाले बताए । तर त्यसका आधारमा संविधान संशोधन गरेर पछाडि फर्किन खोजेको वा दुई दलको सिण्डिकेट बनाउन खोजेको आरोप लागेको भन्दै उनले भने, ‘कोही पछाडि फर्किन चाहँदैनौं ।’

    संघीयता र गणतन्त्र यो भन्दा राम्रो बनाउनुपर्ने र मानुपातिक समावेशी प्रतिनिधित्व यो भन्दा बढाउनुपर्ने उनले बताए । निर्वाचन प्रणालीको बहसमा कतिपयले प्रतिनिधि सभालाई प्रत्यक्ष र राष्ट्रियसभालाई समानुपातिक बनाउने भनेको भन्दै उनले भने, ‘यो मिल्दैन । हामी तलकै सदनलाई यो भन्दा बढी समावेशी बनाउन सक्छौं । सँगै कुनै पनि दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा ५ वर्ष एकल सरकार चलाउने गरी मिलाउन पनि सक्छौं ।’

    देखिएका समस्याहरु हल गर्ने र अझ समानुपातिक समावेशी बनाउनुपर्ने उनले बताए । थापाले भने, कांग्रेस र एमाले यो बहसबाट भाग्ने पनि होइन, बरालिने पनि होइन । प्रष्ट हुने, अरु दल र नागरिकसम्ग सम्वाद गर्ने हो ।’ सुशासन तथा भ्रष्टाचार नियन्त्रणको विषय सरकारले बोल्ने भन्दा काम गरेर देखाउनुपर्ने बताए । भुटानी शरणार्थी, गिरीबन्धु, डेडिकेटड टंक लाइनमा ढाकछोप गर्न दुई दल रातारात मिले भनेर आरोप लागेको भन्दै उनले भने, ‘यसबाट पनि भाग्ने होइन, आफ्नो कामबाट प्रष्ट बनाउनुपर्छ ।’

    हरेक सरकार निरन्तरतामा हुने भन्दै महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुगेको छ रु थप के हुन्छ भनेर सरकारले भन्नुपर्ने बताए । ‘यो विषयमा निर्दोष एउटा पनि पर्दैन, दोषी एउटा पनि उक्कँदैन भनेर सरकारले आफ्नो व्यवहारबाट आश्वस्त पानुपर्छ’ महामन्त्री थापाले अगाडि भने । गिरीबन्धु टी इस्टेटमा पनि सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको भन्दै उनले जुन सरकार आए पनि त्यसअनुसार नै गर्नुपर्ने बताए ।

    गिरीबन्धुको हदबन्दी भन्दा बढी जग्गा सरकारको नाममा फिर्ता लेउ र अन्यत्र पनि ऐनको दुरुपयोग भरेर हदबन्दी भन्दा बढी लिएको जग्गा पहिचान गर भन्ने अदालतको आदेश रहेको भन्दै उनले भने, ‘जग्गा फिर्ता ल्याउन अनुगमन समिति बनाउने व्यवस्था छ । त्यो तरुन्त बनाऊ भनेको छ अदालतले । अब सरकारको एक्सन चाहियो ।’

    डेडिकेटेड र टंक लाइनमा पनि संसदीय समितिको निर्णय, अदालतको आदेश, लाल आयोगका प्रतिवेदनहरुका आधारमा अगाडि बढ्नुपर्ने महामन्त्री थापाले बताए । उनले अगाडि भने, ‘सरकारले यहाँ आएर भन्नुपर्छ, कसैले बिजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिँदैनौं । तर जतिसुकै शक्तिशाली होस्, अनुचित लाभ पनि लिन दिन्नौं भनेर विश्वास दिलाउनुपर्छ ।’

    कांग्रेस र एमाले मिल्नुको अर्को कारण विकास निर्माण र सेवा प्रवाह भएको भन्दै कांग्रेस महामन्त्री थापाले सरकारका मन्त्रीहरुलाई काममा केन्द्रित हुन सुझाव दिएका छन् । प्रधानमन्त्रीले मिहिनेत गरेको देखिएको भन्दै उनले थप विषय उनी संसदमा उपस्थित भएकै बेला भन्ने बताए । मन्त्रीहरुबारे बोल्दै उनले २४ महिनामा के गर्ने र प्रत्येक महिना के प्राप्त गर्ने भनेर योजना बनाएको होला भन्ने विश्वास व्यक्त गरे ।

  • युवालाई उद्यमशील बनाउने कार्यक्रम बन्दैछ : प्रधानमन्त्री

    युवालाई उद्यमशील बनाउने कार्यक्रम बन्दैछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनलेधेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए ।


    देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गरे । उनले हाल जनसङ्ख्या वृद्धिदर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएको बताए । सम्मेलनबाट पारित घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा नेपालले प्रस्तुत गर्ने वक्तव्यमा पनि घोषणापत्रका विषय समावेश गरिने बताए । रासस

  • प्रधानमन्त्रीलाई कतारमा आयोजना हुने एसीडी सम्मेलनमा निमन्त्रणा

    प्रधानमन्त्रीलाई कतारमा आयोजना हुने एसीडी सम्मेलनमा निमन्त्रणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन को(अपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ। कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन्।

    उक्त एसिडी मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध छन्। मञ्चको १९औं मन्त्रीस्तरीय बैठक २०२४ जुन २४ मा इरानमा भएको थियो। नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो। उक्त अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो। छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी थिए।

  • नेपाल प्रवेश गर्न खोजेका दुई बंगलादेशी नागरिक भारत फिर्ता

    नेपाल प्रवेश गर्न खोजेका दुई बंगलादेशी नागरिक भारत फिर्ता

    काठमाडौं । नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ । मोरङको विराटनगर महानगरपालिका १५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको टोलीले नेपाल प्रहरीको संयुक्त टोलीले दुई बंगलादेशी नागरिकलाई मंगलबार फिर्ता गरेको हो ।

    उपचारको बहाना बनाएर नेपाल प्रवेश गर्न खोजेका उनीहरुलाई फिर्ता गरिएको सशस्त्र प्रहरी उच्च स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । भारततर्फ फिर्ता गराइएका बंगलादेशी नागरिकहरुमा ४९ वर्षीय एमडी रिएजुल कोरिम र ६३ वर्षीय एमएसटी जायद बेगम छन् । उनीहरुलाई मंगलबार पौन १ बजे भारततर्फ फिर्ता गराइएको हो ।

    बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिनाले समेत देश छाड्नु परेपछि त्यसको असर नेपालमा समेत पर्ने भन्दै उच्च सतकर्ता अपनाएर सीमा सुरक्षामा अहिले कडाइ गरिएको छ।

  • एएफसी च्यालेन्ज कप : भुटानको पारोसँग हार्यो नेपालको चर्च ब्वाइज

    एएफसी च्यालेन्ज कप : भुटानको पारोसँग हार्यो नेपालको चर्च ब्वाइज

    काठमाडौं । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कप प्लेअफ खेलमा भुटानको पारो एफसीसँग २–१ ले पराजित भएको छ । खेलअघि पानी परेपछि हिलाम्मे बनेको दशरथ रंगशालामा भएको खेलमा लकेन लिमणबुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो ।

    तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन जित निकाल्यो । जितपछि पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ भने महादेशीय क्लब प्रतियोगितामा डेब्यु गरेको चर्च ब्वाइज बाहिरिएको छ । भुटानी क्लबले सिनियर स्तरमा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

    पहिलो हाफमा मैदानको अवस्थाका कारण खेलाडीहरुलाई खेल्न कठिन भएको थियो । नियमित कप्तान किन्ले वाङ्चुक बेन्चमा राख्दै पारो जापानी खेलाडी केसुके होन्डाको कप्तानीमा मैदान उत्रेको थियो । पारोले होन्डाको कप्तानीमा पहिलो रोजाईँमा ९ विदेशी खेलाडी मैदान उतारेको थियो भने चर्च ब्वाईजमा ३ विदेशी खेलाडी मात्र खेलेका थिए ।

    दोस्रो हाफमा दुवै टोलीले खेलमा सुधार गर्दै आक्रमक खेल खेलेका थिए । दोस्रो हाफको सुरुवाती १५ मिनेट चर्च ब्वाईजले दबाब बनाएको थियो । ६६ मिनेटमा पारोका विलियम ओपोकुले गोल गर्दै पारोलाई २–१ को अग्रता दिलाए ।

  • माछा खाँदा बिरामी परेका तीन बालबालिकाको ज्यान गयो

    माछा खाँदा बिरामी परेका तीन बालबालिकाको ज्यान गयो

    काठमाडौं । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।


    सापकोटाका अनुसार आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका थिए । राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए । सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

    तीनै जनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको प्रहरीले जनाएको छ । माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी सापकोटाले बताए ।

  • विश्व चर्चित जापानीज खेलाडी होण्डा आज नेपालमा खेल्दै, चर्च ब्वाइज युनाइटेडविरुद्ध प्रतिस्पर्धा

    विश्व चर्चित जापानीज खेलाडी होण्डा आज नेपालमा खेल्दै, चर्च ब्वाइज युनाइटेडविरुद्ध प्रतिस्पर्धा

    काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्दैछ । पारो टोलीमा जापानिस स्टार केसुके होन्डा मूख्य आकर्षण छन् । उनी तीन पटक विश्वकप खेलिसकेका जापानका विश्वचर्चित स्टार हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलको विजेता एएफसी च्याल्नेज लिगको समूह चरणमा पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।

    राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले करिब एक महिनादेखि यही खेलका लागि तयारी गरेको छ । राष्ट्रिय टिमका अधिकांश खेलाडी समावेश गरेको चर्चा ब्वाइजमा ३ मात्र विदेशी खेलाडी छ । उता किन्ले वाङचुकको कप्तानीमा रहेको पारो टोलीमा होन्डाहसित ११ विदेशी खेलाडी छन् ।


    चर्च ब्वाइजका मुख्य प्रशिक्षक बागोपाल महर्जनले पारोमा धेरै विदेशी हुँदा खेल्न गाह्रो हुने भए पनि आफूहरुले शतप्रतिशत दिएर खेल्ने बताए । पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिममा वर्ल्ड क्लास प्लेअर रहेको बताए । उनले पछिल्लो पटक नेपालमा खेल्न आउँदा मछिन्द्र एफसीसँग पराजित भएपनि यस पटक नतिजा सुधार गर्ने लक्ष्य रहेको बताएका छन् ।

    प्रशिक्षक शर्माले नेपालको मौसम र मैदानको कन्डिसनले गर्दा खेल्न केही कठिन हुने बताए । चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि महादेशिय क्लब प्रतियोगितामा डेब्यु गर्न लागेको हो । च्यालेन्ज कप प्लेअफ विजेता मुख्य समूह चरणमा प्रवेश गर्नेछ र विजेताले एक लाख डलर प्राप्त गर्छ ।

  • उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव

    उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

    प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरे । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी रहेको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।

  • प्राकृतिक विपत्तिका कारण २ महिनामा १७३ जनाको मृत्यु

    प्राकृतिक विपत्तिका कारण २ महिनामा १७३ जनाको मृत्यु

    काठमाडौं । अविरल वर्षाका कारण २ महिनामा बाढीपहिरो लगायतका विपद्‍मा परी १७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७३ जनाको मृत्यु भएको हो ।

    यसका साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २३ जना घाइते भएका छन् ।

    घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४८ जना वेपत्ता भएका छन् । बेत्ताको खोजी कार्य जारी छ ।

    बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ७५ वटा घर, १ सय ४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय १२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन्

  • एनसेलको सेवामा देशैभर समस्या

    एनसेलको सेवामा देशैभर समस्या

    काठमाडौं । सोमबार निजि लगानीको टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जनाएको छ ।
    एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो । एनसेलको सेवा रोकिँदा देशभरीका उपभोक्ता प्रभावित भएका छन् ।

  • सेयर बजारमा नयाँ रेकर्ड

    सेयर बजारमा नयाँ रेकर्ड


    सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो । कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ ।

    सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो । कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो । अधिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३ , फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् । लगानी ०.१९ र उत्पादन समूह सूचक १.१९ प्रतिशत घटे ।

    एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली, आँखुखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढ्यो ।

    कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । लक्ष्मी लघुवित्तको ३.८, हिमालयन लघुवित्तको ३.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, नेपाल फाइनान्स, निफ्रा तथा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

  • काठमाडौं–भियतनाम सिधा चार्टर्ड उडान हुँदै

    काठमाडौं–भियतनाम सिधा चार्टर्ड उडान हुँदै

    काठमाडौं । सिधा उडान सम्पर्क नभए भियतनाम र नेपालबीच पर्यटक आदानप्रदान गर्ने उद्देश्यले दुइटा चार्टर उडान हुने भएका छन् । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम लैजाने भएको छ । त्यसै दिन भियतनामबाट १ सय ५० हाराहारी पर्यटक नेपाल आउने भएका छन् ।

    रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार, भियतनामबाट नेपाल आउने पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयम्भू र बौद्धनाथको अवलोकन गर्ने छन् । पराजुलीका अनुसार, नेपाल र भियतनामबीच सिधा उडान नभएकाले चार्टर उडानबाट पर्यटक ओहोरदोहोर हुन लागेका हुन् ।

    नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । नेपालीले अन्य पूर्वी एशियाली मुलुक हुँदै भियतनाम भ्रमणमा जानुपर्ने भए महँगो पर्ने भएकाले सिधा उडानमार्फत यो टुर प्याकेज आयोजना गरिएको हो । रुप्सेले भियतनाम भ्रमणका लागि १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ । यसमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

    भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरुमा भ्रमण गराइने भनिएको छ । पहिलो दिन हानोई पुग्ने नेपालीलाई त्यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइने भनिएको छ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बे मा क्रुज सफारी, चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौं दिन नेपाल फर्काइने छ ।

    कुल १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको टुर प्याकेज भए पनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा भ्रमण गर्न सकिने रुप्सेले विज्ञप्तिमार्फत जनाएको छ । यो प्याकेज १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था गरीएको छ ।