Category: समाचार

  • महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार

    महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार

    काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन र आरती सुवेदी गरी १४ जना खेलाडी छन् ।

    प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    काभा वुमन्स नेसन्स लिगको बुधबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । उक्त खेल हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा पुगेका थिए । बिहीबार आयोजित सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले खेल क्षेत्रको विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा बदल्न सरकारी निकायले काम गर्नुपर्ने बताए ।

    ‘काभाले सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको छ । छुटेको काम गर्न सम्झाएको छ’, सम्मान कार्यक्रममा उनले भने ।
    फाइनल खेलमा नेपाली महिला टिमको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित गरेको भन्दै शाहले यो खेलले सबै नेपालीलाई एक भावनामा उभ्याएको बताए ।

    उपप्रमुख सुनिता डंगोलले खेलमा हार जित स्वभाविक हो भन्दै खेलाडीहरुमा ऊर्जा देखिनु महत्वपूर्ण भएको बताइन् । ‘खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको ऊर्जा हो । महिला भलिवल टोलीमा हामीले त्यो ऊर्जा पायौं’, उनले भनिन् । मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको बताए ।

  • हेलिकप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री

    हेलिकप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विहीबार विहान एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर बुधबार दुर्घटना भएको स्थान नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरको स्थलगत निरीक्षण गरेका छन् ।


    सो क्रममा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए ।

    मन्त्री पाण्डेले बुधबार नै दुर्घटनास्थल मा जाने तय भएकोमा हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हवाई सुरक्षा लगायतका विषयमा छलफल गर्ने तय भएकाले संभव भएको थिएन ।


    मन्त्री पाण्डेको सचिवालयले बुधबार राती एक प्रेस नोट जारी गर्दै यस अघि तय भएका सबै औपचारिक कार्यक्रम एक साताका लागि स्थगित गर्ने तथा अति आवश्यक बाकहेकका भेटघाट बन्द गरी हवाई सुरक्षाका विषयमा चाल्नु पर्ने तत्कालीन तथा दीर्घकालीन काममा केन्द्रित हुने बताएको थियो ।

  • जापानमा शक्तिशाली भुकम्प, सुनामी आउने चेतावनी

    जापानमा शक्तिशाली भुकम्प, सुनामी आउने चेतावनी


    काठमाडौं । जापानमा शक्तिशाली भुकम्प गएको छ । त्यहा सुनामीको चेतावनी जारी भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भुकम्पको तिव्रता ७ रेक्टर स्केल देखिएको छ । भुकम्पको केन्द्र मियाजाकी प्रान्त रहेको छ ।

    जसले गर्दा मियाजाकी र कोची प्रान्तमा सुनामी आउने चेतावनी जारी भएको हो । भुकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।

  • बंगलादेशमा अन्तरिम सरकारको शपथ आज

    बंगलादेशमा अन्तरिम सरकारको शपथ आज

    काठमाडौं । बङ्गलादेशमा गठित अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने भएका छन् । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

    आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको सेना प्रमुखको भनाइ छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि बताएका छन् ।


    विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिएका थिए । त्यसपछि आन्दोलनरत विद्यार्थीको मागअनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।

  • हसिनाले किन पाइनन् बेलायतमा शरण ?

    हसिनाले किन पाइनन् बेलायतमा शरण ?

    काठमाडौं । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छिन् । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन हसिनाले बेलायतमा शरण दिन अपिल गरेकी थिइन् ।

    उनको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।

    विदेश मन्त्रालयका प्रवक्ता डेभिड लाम्मीले सो विषयमा व्यक्त गरेको धारणा अनुसार बेलायत सरकारले बङ्गलादेशमा सिर्जित घटनाबारे स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने चाहेको द इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ । त्यसका लागि बेलायतमा दिइने शरणले निष्पक्ष अनुसन्धानका कारण अपेक्षित सुरक्षा प्रदान गर्न नसक्ने उहाँले प्रस्ट्याएका छन् ।

    विद्यार्थीको उग्र प्रदर्शनपछि सोमबार राजीनामा दिएर हसिना भारत पलायन भएकी छिन् । त्यहाँबाट बेलायतमा शरण लिन प्रक्रिया थालेकी छिन् । भविष्यमा हुने अनुसन्धानले बेलायतबाट बङ्गलादेश फिर्ता पठाउनुपर्ने अवस्था सिर्जना गरेमा त्यो झन् अप्ठ्यारो हुने भएकाले अमेरिका, फिनल्यान्ड वा अन्य मुलुकमा शरणका लागि अपिल गर्नुपर्नेमा जोड दिइएको छ ।

    बेलायत सरकारले बङ्गलादेशमा घटित घटनाको संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने धारणा यसअघि नै दिएकाले पनि हसिनालाई त्यहाँ शरण लिन अप्ठ्यारो परेको हो ।

  • ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा

    ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा

    काठमाडौं । अधिक भार सम्बन्धी विवादले पेरिस ओलम्पिकमा फाइनल खेल खेल्नबाट बन्चित भारतीय कुस्तीवाज विनेश फोगाटले कुस्तीलाई अलबिदा भनेकी छन् । उनले आफ्नो हिम्मत टुटिसकेको भन्दै कुस्तीलाई अलबिदा भनेकी हुन् । सामाजिक सन्जाल एक्समा उनले लेखेकी छन्, ‘आमा कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत अब छैन ।’ उनले थप लेखेकी छन्, ‘अलबिदा कुस्ती २००१–२०२४ । म तपाईंहरु सबैको सदैव ऋणी रहने छु ।’

    कुस्तीको ५० केजी तौलको प्रतिस्पर्धामा बढी तौल भएपछि उनी फाइनल खेल्नबाट बन्चित भएकी थिइन् । मंगलबार ५० केजी फ्रिस्टाइलतर्फ विश्वकी नम्बर वान् तथा २०२० ओलम्पिककी च्याम्पियन यु सुसाकीलाई प्री क्वाटरफाइनलमा, युक्रेनकी ओक्सना लिभाचलाई क्वाटरफाइनलमा र क्युबाकी गुज्मानलाई सेमिफाइनलमा हराउँदै फोगाट फाइनलमा पुगेकी थिइन् ।

    सेमिफाइनलमा उनी ५–० ले विजयी भएकी थिइन् । तर फाइनल खेल अगाडि लिइएको तौलमा उनको वजन १०० ग्राम बढी भएको पाइएपछि फाइनल खेल्न बन्चित भएकी थिइन् । फोगाटले एक्स अकाउन्टमा लेखेको स्टाटसमा प्रतिक्रिया दिँदै भारतका पहलवान बजरंग पुनियाले विनेश फोगाट हारेको नभई हराइएको टिप्पणी गरेका छन् । उनले सान्त्वना दिँदै लेखेका छन्, ‘विनेश तिमी हारेकी होइनौ, हराइएको हो । हाम्रा लागि तिमी सदैव विजेता रहने छौ । तिमी भारतकी छोरी मात्र नभई भारतको गौरव पनि हौ ।’

  • सिन्धुपाल्चोकमा अति भारी वर्षा, कस्तो रहनेछ आजको मौसम ?

    सिन्धुपाल्चोकमा अति भारी वर्षा, कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो । बाँसखर्क, बाह्रबिसे, चन्द्रखु, गुम्ताङ, दुवाचौर, गोब्रे, बाहुनेपाटी लगायत स्थानमा पनि राम्रै वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै ढुंगेमा ६९.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मध्यराति सूचना जारी गरी मेलम्ची, इन्द्रावती लगायत नदी तथा आसपासका सहायक खोलाहरुमा आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन भनेको थियो । राति वर्षा भए पनि ठूलो क्षतिको जानकारी भने नभएको जिल्ला प्रहरी कार्यालयले सिन्धुपाल्चोकले जनाएको छ ।

  • पर्यटनमन्त्री एक साता सबै कार्यक्रम स्थगित गरी हवाई सुरक्षामा केन्द्रित हुने

    पर्यटनमन्त्री एक साता सबै कार्यक्रम स्थगित गरी हवाई सुरक्षामा केन्द्रित हुने

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डले एक साताका लागि पूर्वनिर्धारत सबै कार्यक्रम स्थगित गरेका छन् । बुधबार नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा दिउँसो दुर्घटनामा परेको थियो ।

    सो दुर्घटनामा तत्काल उद्धार गर्न नसकेको मात्र होइन, दुई साताको बीचमा दुई ठूला हवाई दुर्घटना भएसँगै सरकार र प्राधिकरणको आलोचना भइरहेको छ । यसै सन्दर्भमा मन्त्री पाण्डले सबै कार्यक्रम स्थगित गरी अब हवाई दुर्घटना न्यूनीकरणमा सबै संयन्त्र प्रयोग गर्ने बताएका छन् ।

    प्राधिकरणले प्राविधिक कारणले दुर्घटना एकिन गन समय लागेको भन्दै मन्त्री पाण्ढेलाई जानकारी गराएको थियो । १५ दिनको अवधिमा दुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्ने समेत बताएको छ । तत्तकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल समेत सरकारले थालेको मन्त्रालयले उल्लेख गरेको छ ।

  • हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग

    हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग

    काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।

    आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन अवधि दिइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

  • नुवाकोट हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै सम्पर्क विच्छेद

    नुवाकोट हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै सम्पर्क विच्छेद

    काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

    ‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको’, विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये ४ जना यात्रु चिनियाँ नागरिक थिए ।

  • काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल

    काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल

    काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले हात पारेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा बुधबार सम्पन्न खेलमा नेपाल पुनः भारतसँग हार्न पुग्यो । साथमा इतिहास रच्नबाट समेत नेपाल चुकेको छ । भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हरायो ।

    भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पार्न सफल भयो । पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन । भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि हात पार्दा नेपाललाई नै हराएको थियो ।

  • एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु

    एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु

    २३ साउन, काठमाडौं । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नुवाकोट, शिवपुरी ७ सुर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो । अहिले सबै यात्रुको शव निकालिएको छ ।

    शव काठमाडौं ल्याउने तयारी छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा चिनियाँ नागरिक सवार रहेको प्राधिकरणले जनाएको छ । यात्रुमध्ये एक महिला र तीन पुरुष रहेका थिए । दुई साताको बीचमा भएको यो दोस्रो हवाई दुर्घटना हो ।

  • शीर्ष नेतालाई बुझाइयो सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन

    शीर्ष नेतालाई बुझाइयो सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

    प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा थिए ।

    मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरुको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिए ।
    हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धिविधा नभएकाले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे । “हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रुपमा रहेका यी कार्यहरुलाई सम्पन्न गर्न कानुनलाई संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ । पीडादायी विगतबाट हामी गुज्रियौँ । देशमा हिंसात्मक द्वन्द्व भयो । देशलाई ठुलो क्षति भयो । सकारात्मक परिवर्तन पनि भयो तर शान्ति प्रक्रियालाई हामीले टुङ्गोमा लानुपर्ने थियो । हिंसाका सबै अभ्यासहरुलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरु रहन आवश्यक छैन ।”, प्रधानमन्त्री ओलीले भने ।

    सर्वाेच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीडितमैत्री विषयलाई ध्यानमा राखेर यो सहमति भएको उनको भनाइ छ । शान्ति प्रक्रियामा यो कोशेढुङ्गा सावित भएको भन्दै उनले फेरि भविष्यमा यस्तो द्वन्द्व नहोस् भन्नका लागि यी विधेयक ल्याइएको बताए ।  विधेयक पारितसँगै हामी आपसी परामर्श र सहमतिमा आयोग गठनलगायतका काममा तत्काल लाग्ने उनले बताए ।
    उनले  विगतमा विभिन्न अभ्यास भए पनि अब लोकतन्त्र आइसकेको स्थितिमा हिंसा र विधिबिहीनताको बाटो आवश्यक नभएको स्पष्ट पारे ।  उनले  लोकतन्त्रलाई जीवनपद्धति मानेर चल्नुपर्छ भन्नेमा सरकार स्पष्ट भएको जनाउँदै लोकतन्त्रका लागि लडेकाहरु भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आफू अघि बढ्ने पनि बताए ।

    माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ सरकार गठनपछिको राम्रो कामका रुपमा कार्यदलको प्रतिवेदनलाई लिँदै विगतदेखि नै सहमितको प्रयास गरिएको स्मरण गरे । उनले प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश जाओस् भन्ने आग्रह गरे ।

    कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए ।  उनले  सहमति कार्यान्वयनमा सहमति मिलोस् भन्ने कामना गरे ।

  • टीआरसी विधेयकमा सबै दलको सहमति छ : प्रधानमन्त्री

    टीआरसी विधेयकमा सबै दलको सहमति छ : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा कार्यदलमा सहमति बनेसँगै सबै दलमा सहमति भएको बताएका छन् । यसलाई पूर्णता दिन अब कानूनी रुपमा कुनै दुविधा नभएको उनको भनाई छ । टीआरसी विधेयकसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएपछि बोल्दै समितिले सर्वसहमतिले पारित गरेर पठाउने बताए।

    उनले यही अधिवेशनबाटै टिआरसी विधेयक पारित गर्ने बताए। उनले सबै पार्टीहरुसँग परामर्श गरेर नै कार्यदलले सहमति गरेकाले दलहरुबीच फरक मत नरहेको बताए। आज कार्यदलले शीर्ष नेतालाई सहमतिको प्रतिवेदन बुझाएको छ ।

  • टीआरसी विधेयक टुंग्याउन गठित कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

    टीआरसी विधेयक टुंग्याउन गठित कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो । यद्यपी, कार्यदलले गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटाइसकेको छ । उक्त सहमतिको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाउन लागेको हो ।

    आज नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ । गत बिहीबार तीन दलका तीन शीर्ष नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबिच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

    सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको हो ।

    साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको हो । यसलाई चालु संसदबाटै विधेयक पारित गरेर अघि बढाइने छ । सङ्क्रमणकालीन न्यायका मुद्दाहरु सबै पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउने बताइएको छ ।

  • कांग्रेस कार्य सम्पादन समितिको बैठक आजबाट, के छन् एजेण्डा ?

    कांग्रेस कार्य सम्पादन समितिको बैठक आजबाट, के छन् एजेण्डा ?

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।

  • काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर

    काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर

    काठमाडौं । महिला भलिबलका लागि आज इतिहास बनाउने अवसर आएको छ । नेपालले काभा वुमन्स नेसन्स लिगको फाइनलमा आज भारतको सामना गर्दैछ । मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै फाइनल पुगेका छन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर आज छ ।

    यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम उच्च मनोबलका साथ उत्रने छ । नेपालले प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको छ । नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई हराउन सफल भयो । इरानसँग भने हार व्यहोर्यो । इरानसँग लिग चरणमा भोगेको पराजयले कमजोरी सच्याउँदै सेमिफाइनलमा हराउन सफल भयो । मंगलबार इरानसँगको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो ।

  • बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकारको प्रमुख

    बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकारको प्रमुख

    काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख समेत सहभागी थिए ।


    मुहम्मद युनुस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।

    उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । किनकि उनलाई शेख हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गर्दथिन् । युनुसले आफ्नो पार्टी खोल्ने तयारी गरेको सूचना पाएपछि शेख हसिना उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी थिइन् । गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन । ८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्समा छन् । उनले अब स्वदेश फर्किने बताएका छन् ।

  • देशैभर भारी वर्षा, सुदूरपश्चिममा अधिक

    देशैभर भारी वर्षा, सुदूरपश्चिममा अधिक

    काठमाडौं । मनसुन सक्रिय भएसँगै कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म वर्षा जारी छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा अधिक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगरमा ५३ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको बताएको छ । दैजी, चौधर, सुहेली र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेको समेत बताइएको छ ।

    बैतडीको डिनासैली, बाजुराको बाजुरा र अछामको असराघाटमा पनि भारी वर्षा रेकर्ड भएको छ । कोशी प्रदेशमा मोरङको केराबारी, सुनसरीको धरान बजार र धनकुटाको मछुवाघाटमा पनि भारी वर्षा भएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ ९नेपाल नजिक० अवस्थित रहेकाले देशभर मनसुनी वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

    आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि छ ।

  • बागलुङमा पहिरो : कम्तिमा ६ जनाको मृत्यु

    बागलुङमा पहिरो : कम्तिमा ६ जनाको मृत्यु

    काठमाडौं । बागलुङको बडीगाड गाउँपालिका–१० मा घरमा पहिरो खस्दा ६ जनाको ज्यान गएको छ । ४ जना बेपत्ता भएका छन् । पहिरोमा परेर ९ जना घाइते भएका छन् । पहिरो खस्दा घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालले जानकारी दिएका छन् ।

    जोगबहादुरकी नातिनी ७ वर्षकी मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । घरमाथिबाट पहिरो खस्दा ५ जनाको घटनास्थलमै र घरधनी जोगबहादुरको उपचारका लागि काठमाडौं पठाउने तयारी गर्दागर्दै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    मंगलबार बिहानैदेखिको झरीले बडीगाडका विभिन्न ठाउँमा पहिरो खसिरहेको थियो भने आरुपाटाको खहरे खोलाले आसपासका घरलाई पनि तान्न सक्ने त्रास गाउँलेमा बढेको थियो । बाढी आएका कारण खोला तरेर बुर्तिबाङ बजार जानेहरु पनि रोकिएका थिए ।

    वडा नम्बर १० कै निगलपानी गाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि तर्ने स्थिति नदेखिएपछि अलि सुरक्षित घर ठानेर आरुपाटाका जोगबहादुर बुढाको घरमा ओत लागेर बसेका थिए । खोलाको आडमै रहेका छिमेकी पनि सुरक्षित ठानेर त्यही घरमा बस्न पुगेका थिए ।

    बुर्तिबाङ हिँडेका र छिमेकीसमेत गरेका जोगबहादुरको घर र गोठमासमेत गरेर करिब २० जनाले शरण लिइरहेका थिए । बिहान सवा ११ बजेको हुँदो हो, सुरक्षित भनेर ओत लागेको त्यही घरमा पहिरो खस्यो र एकाएक बबण्डर मच्चायो ।
    बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालका अनुसार पहिरो परेर ९ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर छ ।

    जोगबहादुरका छोरा तेजेन्द्रले दौडिएर ज्यान बचाए । अर्का छोरा ज्ञानेन्द्र छिमेकीको घरमा पहिरोले क्षति पुर्‍याएपछि उद्धारका लागि गएका थिए । त्यही बेला खसेको पहिरोमा आफ्नै परिवार, छिमेकी र ओत लाग्न बसेकाहरु परेपछि, उनी आफैं भावविह्वल हुँदै उद्धारमा खटिएका छन् ।

    सल्लेना खोला आसपासमा आरुपाटा, बाख्रे, सल्लेना, पात्ले नाम गरेका ससाना बस्तीहरु छन् भने क्वालजिङ नाम गरेको गाउँ पनि जोखिममा छ । ती गाउँमा साना साना केही खोलाहरु छन् र तीमध्ये सल्लेना एउटा हो । स्थानीय बोमबहादुर बुढाका अनुसार छिमेकीमात्र नभएर बुर्तिबाङ जाने भनेर हिँडेका मानिसहरु पनि त्यहीँ घरमा बसेका थिए । एसइई दिन र काम विशेषले निगलपानी भन्ने ठाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि पहिरोमा परेका छन् ।

    बेपत्ता ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक छिमेकका थिए, जो सुरक्षित ठानेर जोगबहादुरको घरमा ओत लाग्न पुगेका थिए । आरुषकी आमा सीता थापा गम्भीर घाइते छिन् भने बुबा कुलबहादुर दौडिएर बाँचेका छन् ।


    पहिरो खस्दा २६ वर्षीय ओमप्रसाद पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते छन् । रीमा पुन एसइईको पुरक परीक्षा दिने तयारीका लागि आरुपाटाभन्दा माथिको गाउँबाट बुर्तिबाङ बजार जाँदै गर्दा सो घरमा खोला तर्न नसकेर रोकिएकी थिइन् ।
    स्थानीय सञ्चारमाध्यमको सहयोगमा

  • बेलायतमा हुलदंगा भएको स्थानमा नजान नेपाली दूतावासको अनुरोध

    बेलायतमा हुलदंगा भएको स्थानमा नजान नेपाली दूतावासको अनुरोध

    काठमाडौं । बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा त्यस्तो स्थानमा नजान बेलायतस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । मंगलबार अपिल जारी गर्दै बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई त्यस्तो स्थानमा नजान आग्रह गरेको हो । राजदूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका सूचनाहरूको पालना गर्न अनुरोध पनि गरेको छ ।

    साथै बेलायतस्थित नेपाली संघ संगठनहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा आफ्ना सदस्यहरूलाई जानकारी गराउन अनुरोध गरेको छ । गत हप्ता बेलायतको साउथपोर्ट नगरमा तीनजना बालिकाको छुरी हानेर हत्या गरिएको घटनापछि देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

  • काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा

    काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा

    काठमाडौं ।, काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो ।

    मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ । लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ । अब फाइनलमा नेपाल र भारत उपाधीका लागि भिड्नेछन् ।

  • बंगलादेशमा अवामी लिगका नेताको होटेलमा आक्रमण, कम्तिमा २४ जना मारिए

    बंगलादेशमा अवामी लिगका नेताको होटेलमा आक्रमण, कम्तिमा २४ जना मारिए

    काठमाडौं । राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ । बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी गरेका थिए । त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर मारिएको समाचारमा भनिएको छ । कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको समाचारमा उल्लेख गरिएको छ ।

    होटलमा सोमबार ४ बजेदेखि आगलागी भएको थियो भने ८ बजे नियन्त्रणमा आएको थियो । ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका नागरिक भएको बंगाली भाषाको अखबार प्रथोम आलोले लेखेको छ । जेसोर अस्पतालका डा। प्रार्थो प्रतिम चक्रवर्तीले आगजनीका कारण घाइते १५० जनाको उपचार भइरहेको बताएका छन् । आरक्षणको विरोधमा भएको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार प्रधानमन्त्री शेख हसिना राजीनामा दिन बाध्य भएकी थिइन् ।

    उनी राजीनामा दिएर सैनिक हेलिकप्टरमा भारततर्फ गएकी छन् । लगत्तै सत्तारुढ पार्टी अवामी लिगका नेताका घर, होटल लगायतमा भिडले आक्रमण गरेको थियो । प्रथोम आलो पत्रिकाका अनुसार, सतखिरामा भएको आक्रमणमा १४ जना मारिएका छन् । ज्यान गुमाउनेमा ५ जना सत्तारुढ अवामी लिग पार्टीका नेताका आफन्तहरु छन् ।

    समाचारमा उल्लेख भएअनुसार हसिनाले देश छाडेको समाचार आएलगत्तै अवामी लिगका नेता जाकिर हुसेनको कल्याणपुरस्थित घरमा आक्रमण भएको थियो । त्यसक्रममा गोली समेत चलेको थियो । भिडले सतखिरा सदर प्रहरी चौकी, ट्राफिक प्रहरी चौकी र श्यामनगर प्रहरी चौकीमा पनि आगजनी र तोडफोड गरेका छन् । स्थानीय प्रहरी कार्यालयमा प्रहरी अधिकारीहरु नभएकाले क्षतिको यकिन विवरण बाहिर नआएको समाचारमा उल्लेख गरिएको छ ।

    बंगलादेशका प्रहरी प्रमुखले मंगलबार प्रहरी कानुनको पालक मात्र भएको भन्दै समस्या नेतृत्वमा भएकाले प्रहरीमाथि आक्रमण नगर्न आग्रह गरेका थिए । बंगलादेश प्रहरीका डीआईजी साहेन रानाले विद्यार्थी र आमनागरिकको हत्यामा संलग्नमाथि छानबिन हुने भन्दै संगठनप्रति आक्रमण नगर्न समेत आग्रह गरेका छन् । यहीबीच बंगलादेशी सेनाको उच्च तहमा रहेका अधिकारीहरुको पनि जिम्मेवारी हेरफेर भएको ढाकाको पत्रिका डेली स्टारले समाचार लेखेको छ ।

  • अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड

    अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड

    काठमाडौं । उच्च मूल्यमा पुगेको अमेरिकी डलरले दैनिक नयाँ नयाँ रेकर्ड कायम गर्दैछ । मंगलबार अमेरिकी डलरको भाउ १५ पैसा वृद्धि भएको छ । अमेरिका, भारतसहितका मुलुकको स्टक मार्केटमा गिरावट आउँदा डलरको माग बढेको बताइएको छ । डलरको मूल्य उच्च दरले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ४६ पैसा र खरिददर मूल्य १३३ रुपैयाँ ८६ पैसा तोकेको छ । एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ २१ पैसा छ भने खरिदर मूल्य १४६ रुपैयाँ ५६ पैसा छ ।

    एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८२ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६६ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८७ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७० पैसा तोकिएको छ ।

    एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६१ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४४ पैसा तोकिएको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ ३९ पैसा तथा खरिददर मूल्य ३० रुपैयाँ २५ पैसा छ ।

  • बंगलादेशी राजनीतिमा अब हुने छैन हसिनाको पुनरागमन

    बंगलादेशी राजनीतिमा अब हुने छैन हसिनाको पुनरागमन

    काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा पुनरागमन नगर्ने भएकी छन् । उनका छोरा सजीब वाजेदले आफ्नी आमाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारेका हुन् । सोमबार बिबिसी वर्ल्ड सर्भिससँग कुराकानी गर्दै वाजेदले हसिनाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारे ।

    अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरेको भए पनि हसिनाविरूद्ध नै प्रदर्शन भएको देखेर उनी निकै निराश रहेको समेत वाजेदले बताए । वाजेद हसिनाका आधिकारिक सल्लाहकार समेत हुन् ।


    बंगलादेशमा प्रदर्शन बढ्दै गएपछि हसिनाले आइतबारदेखि नै राजीनामा दिने सोच बनाएको उनले जानकारी दिए । उनको सुरक्षाका लागि परिवारले दबाब दिएपछि देश छाडेको समेत वाजेदको भनाई छ । ‘

    उनले बंगलादेशलाई परिवर्तन गरेको छ। जब उनले बंगलादेशको सत्ता हातमा लिएकी थिइन्, त्यही बेलादेखि राज्य असफल हुँदै थियो। बंगलादेश एक गरिब राष्ट्र थियो। आज बंगलादेशलाई विकसित एसियन टाइगरको रूपमा मान्न थालेको थियो। उनी निकै निराश छिन्,’ वाजेदले बिबिसीसँगको अन्तर्वार्तामा भनेका छन् ।


    बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना हाल भारतमा छिन्। उनी त्यहाँबाट बेलायत जाने चर्चा छ। यद्यपि उनी कहिले र कसरी जान्छिन् भन्ने खुलिसकेको छैन।हसिनाले बंगलादेश छाडेसँगै त्यहाँ सेना प्रमुखले अन्तरिम सरकार बनाउन तयारी थालिसकेका छन्। प्रदर्शनकारीहरूले पनि खुसीयाली मनाएका छन् ।

    प्रदर्शनकारीहरूले सोमबार बंगलादेशको प्रधानमन्त्री निवास नै कब्जा गरे । आरक्षणविरूद्धको प्रदर्शनमा बंगलादेशमा हालसम्म ३ सय जना भन्दा बढीले ज्यान गुमाएका छन्।

    आइतबारमात्रै कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए। यस्तै सोमबार ढाकामा भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकको शव ढाका मेडिकल कलेजमा राखिएको एक प्रहरी इन्स्पेक्टरले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग भनेका छन्।

    बंगलादेशमा भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको हो। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए।

    हसिना सन् २००९ देखि सत्तामा थिइन्। १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो। उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ। ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन्।

  • काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा

    काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा

    काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

    रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान महाशाखाकको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ । सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ भने १०० मिलिमिटरदेखि २०० सम्म पर्नुलाई धेरै भारी वर्षा भएको मानिन्छ । यसले खतरा निम्त्याउँछ ।

    महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ । महाशाखाले विषेध बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ ।

  • तीन दर्जन जिल्लामा भारी वर्षा, जनजिवन प्रभावित हुने

    तीन दर्जन जिल्लामा भारी वर्षा, जनजिवन प्रभावित हुने

    काठमाडौं । मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसबारे विशेष बुलेटिन जारी गरी जानकारी गराएको हो । मनसुनका कारण तीन दर्जन जिल्ला अति प्रभावित हुने सम्भावना रहेको बताइएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा परेका छन् ।

    यसैगरी गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् । लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ ।

    मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको छ । मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    ‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ बुलेटिनमा लेखिएको छ ।

  • लेवनानमा सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

    लेवनानमा सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

    काठमाडौं । मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित नै रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो ।

    मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा सम्पर्क राख्नसमेत सूचनामार्फत जानकारी दिएको छ ।

    अहिले कायरोस्थित नेपाली राजदूतावासले लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गरिरहेकोसमेत जनाएको छ । इरानको राजधानी तेहरानमा बुधबार हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनावपूर्ण बनेको छ ।

  • बंगलादेशमा राजनीतिक संकट, नेपालमा सुरक्षा सतर्कता

    बंगलादेशमा राजनीतिक संकट, नेपालमा सुरक्षा सतर्कता

    काठमाडौं । आरक्षणको विरोधमा बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्रीले समेत देश छोडेपछि नेपालमा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन भन्दै निर्देशन दिएको हो । नेपाल प्रहरीले उच्च सतर्कता अपनाउँदे थप जनशक्ति परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    सशस्त्र प्रहरी बलले पनि उच्च सतर्कता अपनाएको छ । बिदामा गएकाहरूलाई समेत फिर्ता बोलाउने तयारी भएको सशस्त्र प्रहरीले जनाएको छ । बोर्डर आउट पोस्ट (बीओपी)हरूमा समेत थप जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


    सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार प्रत्येक बीओपीमा ५–६ जनाको दरले जनशक्ति थप गरेर परिचालन गरिएको छ । ड्युटीलाई पनि चौबिसै घण्टा बनाइएको उनले बताए । विशेषगरी कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    बंगलादेशमा सरकारी जागिरमा आरक्षण र कोटा प्रणालीको विरोधमा भएको आन्दोलन सोमबार थप हिंसात्मक भएको थियो । बंगलादेशको राजधानी ढाकामा जारी तनावका बीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन् ।

    बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दलसँग संवाद गरेको उनले बताएका छन् ।

  • बंगलादेशको राजनीति सेनाको कब्जामा

    बंगलादेशको राजनीति सेनाको कब्जामा

    काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् ।

    उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने बताएका हुन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको बताए । तर हसिनाको दल अवामी लिगको भने उनले नाम लिएनन् ।

    साँझसम्म एउटा निकासमा पुग्ने आश रहेको भक्न्दै उनले भने, ‘अवस्थामा सुधार आयो भने कफ्र्यू आवश्यक हुन्न ।’ उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे । अब सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै सेना प्रमुखले भने, ‘देशलाई धेरै क्षति भयो । अर्थ व्यवस्था प्रभावित भयो कयौं मानिस मानिए । मलाई आश छ, यो सम्बोधनपछि अवस्थामा सुधार आउनेछ ।’