Category: समाचार

  • ऐतिहासिक सांस्कृतिक महत्व बाेकेका पर्व हाम्रा अमूल्य निधि हुन् : पर्यटन मन्त्री

    ऐतिहासिक सांस्कृतिक महत्व बाेकेका पर्व हाम्रा अमूल्य निधि हुन् : पर्यटन मन्त्री


    काठमाडौं-संस्कृति नागरिक तथा पर्यटन मन्त्री बद्री पाण्डेले ऐतिहासिक तथा सांस्कृतिक महत्व बाेकेका पर्वहरू अमूल्य निधि भएको बताएका छन् ।

    आईतबार राताे मच्छिन्द्र नाथकाे यात्राकाे सन्दर्भमा शुभकामना दिँदै मन्त्री पाण्डेले सहकाल र वर्षाका देवताका रुपमा चिनिने रातो मच्छिन्द्र नाथको रथयात्राकाे छुट्टै विशेषता रहेकाे बताए ।  नेपाल भाषामा बुंग द्यः भनिने राताे मच्छिन्द्र नाथकाे रथयात्राले प्रकृति र संस्कृतिलाई जीवन्त बनाउने विश्वास व्यक्त गरे ।

    मन्त्री पाण्डेले शुभकामना सन्देशमा भन्नू भएकाे छ, ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो पर्व हाम्रा अनेकन अमूर्त सम्पदा मध्यको एक विशिष्ठ सम्पदा हो । हरेक वर्ष बैशाख शुक्ल प्रतिपदाबाट सुरु भई असार शुक्ल चौथीमा समापन गरिने यो जात्रा विश्वमा नै लामो समयसम्म चल्ने जात्राको रुपमा रहेको छ । यो पर्वलाई विश्वभर चिनाउन सके हामीले विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना रहेकाे छ ।

    जात्राकाे अवसरमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,मन्त्रीहरूका साथै अन्य विशिष्टकृत व्यक्तित्वहरूकाे समेत उपस्थिति रहेकाे थियाे

  • चितवनमा मान्छे माथि आक्रमण गर्ने बाघलाइ नियन्त्रणमा लिइयो

    चितवनमा मान्छे माथि आक्रमण गर्ने बाघलाइ नियन्त्रणमा लिइयो

    काठमाडौं । चितवनको नारायणगढ बजार नजिकै शनिबार विहान एक ब्यक्तिलाई आक्रमण गरी घाइते बनाउने बाघलाई १७ घण्टापछि डार्ट गरेर नियन्त्रणमा लिइएको छ ।

    चितवन महोत्सव हुने प्रर्दशनी मैदानको माथिल्लो भेगमा विहान मर्निङवाक गर्न गएका भरतपुर-२ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

    चितवन मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठको हात, घाँटीमा चोट लागेको छ । बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले हात्तीको सहयोगमा दिनभर नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका थिएनन् ।

    नजिकैको नरकटको घना झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाईसमेत तर्साउने गरेको थियो । बाघसँग बिच्किएका हात्तीहरु माहुतेलाई छाडेर बजार क्षेत्रबाट भागेका थिए 

    एउटा हात्ती पश्चिम चितवनको शिशुवार पुगेको थियो भने अर्को हात्ती भागेर भरतपुर १९ को निलडाँडा पुगेको थियो । पछि फेरि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई तीनतिरबाट घेरा हालेर डार्ट गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    सौराहामा रहेका २ वटा खोरमध्ये एक खोर खाली छ, अर्को खोरमा ठोरीबाट डार्ट गरेर ल्याएको बाघ राखिएको छ । निकुञ्जसँग सौराहामा २, कसरामा ३ र भरतपुर- १३ देवनगरमा २ बाघ राख्न सक्ने क्षमता छ ।

  • बागमती किनारमा एक पुरुषको शव फेला

    बागमती किनारमा एक पुरुषको शव फेला


    काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको हो ।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो ।


    आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

  • अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु


    काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो।

    बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी दिएका थिए ।

    यता जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन्

    तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएसँगै मध्यपूर्वमा तनाव बढ्ने सम्भावना बढेको हो ।

    इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि हानियाको मृत्युको आएको थियो ।

    बीबीसीका अनुसार यही घटनाक्रमको बीचमा आइतबार राति हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको छ।

    सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई नष्ट गरेको देख्न सकिन्छ । रकेट प्रहारबाट भएका क्षतिबारे कुनै विवरण आएको छैन ।

    सम्भावित घटनाक्रमको अनुमान गर्दै कैयौं एयरलाइनहरूले उडान रोकेका छन् । उडानमा रहेकाहरूको पनि टिकट पूर्ण रूपमा बिक्री भइसकेको छ ।

  • भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

    भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्‍यो । तर भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।

    अग्रतालाई निरन्तर्ता दिदै २२–१८ मा पुर्‍याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।
    दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्‍यो । खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।

    तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो । चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो ।

    नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा २ अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो । निर्णायक पाँचौं सेटको सुरुवात प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिदै ऐतिहासिक जितको संकेत दिएको थियो । नेपालले ८–५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो ।

    यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो । काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् ।

    शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।

  • पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो

    पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो

    काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम गरेको छ । उसले १३ स्वर्ण जितेको छ । कुल ३१ पदक जितेको चीन पहिलो स्थानमा छ । समान ११ स्वर्ण पदक जितेका फ्रान्स र अष्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । आयोजक फ्रान्सले ३६ पदक जितेको छ । चौथो स्थानमा रहेको अमेरिकाले ९ स्वर्ण जितेको छ ।

    अमेरिकाले सर्वाधिक ४३ पदक जिते पनि उसको रजत पदक अधिक रहँदा चौथो स्थानमा रहेको हो । ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ । जापान छैठौं, कोरिया सातौं र इटाली आठौं स्थानमा छ । अहिलेसम्म ७० भन्दा धेरै मुलुकले पदक भित्राएका छन् । दक्षिण मुलुकमध्ये भारतले तीन काष्य पदक जित्नु नै सफलता मानिएको छ ।

  • लेबलानमा रहेका नेपालीलाई सचेत रहन आह्वान

    लेबलानमा रहेका नेपालीलाई सचेत रहन आह्वान

    काठमाडौं । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो ।

    लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकलाई समस्या पर्न सक्नेप्रति सचेत भई उद्धारका लागि आफ्ना नागरिकको विवरण सङ्कलन सुरु गरेको जनाएको छ । साथै दूतावासको सूचनामा नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ । विकसित घटनाक्रमको निरन्तरता अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको दूतावासको सूचनामा उल्लेख छ ।

    दूतावासको विज्ञप्तिमा लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गराउने उद्देश्यका साथ दूतावासले वेभसाइटमा लेबनानमा रहेका नेपाली नागरिकलाई आफू रहेको ठेगनासहित आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

    इजरायली आक्रमणमा इरानमा प्यालेस्टाइनका पूर्वप्रधानमन्त्री तथा हमासका नेता इस्माइल हानिया पनि मारिएका छन् । उहाँको हत्याको बदला लिइने भन्दै इरानले इजरायललाई चेतावनी दिइसकेको छ । यसले मध्यपूर्वमा द्वन्द्व चर्किने सङ्केत देखिएको छ । हमासले गत वर्ष असोज २० इजरायलविरुद्ध आक्रमण गरेको थियो । आक्रमणमा एक हजार दुई सय जना तत्काल मारिएका थिए भने सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए ।

  • कति शक्तिशाली छ हिज्बुल्लाह ?

    कति शक्तिशाली छ हिज्बुल्लाह ?

    काठमाडौं । लेबननको शक्तिशाली मिलिशिया तथा राजनीतिक अभियानका वरिष्ठ कमान्डर फुआद शुकर इजरायली आक्रमणमा मारिए पछि पुनः एक पटक हिज्बुल्लाह समूह चर्चामा छ । उसले इजरायलविरुद्ध प्रतिक्रामण गर्ने तयारी गरेको छ ।

    दुई पक्षबीच द्वन्द्व बढेकै बेला इजरायलद्वारा हत्या गरिएका उनी सबैभन्दा उच्च तहका हिज्बुल्लाह सदस्य हुन् । इजरायली सेनाले गत शनिवार उसको अधीनमा रहेको गोलन हाइट्सस्थित एउटा फुटबल मैदानमा बालबालिकासहित १२ जनानको ज्यान जाने गरी भएको क्षेप्यास्त्र आक्रमणमा शुकरको हात रहेको आरोप लगाएको छ।
    हिज्बुल्लाहले उक्त घटनामा आफ्नो समूहको संलग्नता अस्वीकार गरेको छ। यद्यपि उसले उक्त स्थान नजिकैको सैन्य आधारशिविरमा आक्रमण गरेको दाबी गरेको थियो। त्यसैले उक्त क्षेप्यास्त्र पनि हिज्बुल्लाहको लक्ष्यभन्दा बाहिर गएको हुन सक्ने सम्भावना भएको कतिपयको विश्लेषण छ। अल–हज मोहसिन पनि भनिने शुकर हिज्बुल्लाह नेता हसन नस्रल्लाहका निकट सल्लाहकार मानिन्थे र उनी लामो समयदेखि उक्त समूहमा आबद्ध थिए।

    नस्रल्लाहले टेलिभिजनबाट आफ्ना समर्थकलाई सम्बोधन गरे। त्यसलाई हिज्बुल्लाहको सम्भावित अर्को कदमको कुनै पनि सङ्केतका रूपमा धेरैले चासोपूर्वक हेरेका थिए। उनले गोप्य स्थानबाट बोल्दै इजरेलसँगको द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको उद्घोष गरे। सुरक्षाका कारण उनले सधैँ त्यसरी सम्बोधन गर्छन्।

    नस्रल्लाहले अवश्यम्भावी प्रतिक्रिया कुर्न इजरायललाई चेतावनी दिए। शत्रुपक्षले सीमा नाघेकाले त्यसको मूल्य चुकाउनुपर्ने उनले बताए। इजरेलले गैरसैनिक भवनलाई लक्षित गरेर हमला गरेको बताउँदै उनले हिज्बुल्लाहले पनि समान खालको प्रतिक्रिया दिन सक्ने सङ्केत गरे। उनको सम्बोधनको भाकाले इजरेलसँग अर्को ठूलो युद्धमा उक्त समूहले चासो नदेखाएको सङ्केत गरेको जस्तो देखिन्छ। तर त्यो उनीहरूको रणनीति पनि हुन सक्ने ठानिएको छ।

    शुकरको गत मङ्गलवार हत्या भएको थियो। त्यस क्रममा दुई बालकसहित अन्य छ जनाको पनि ज्यान गएको थियो। आफ्ना सैन्य नेता मारिएपछि हिज्बुल्लाह र इजरेलबीच पुनः द्वन्द्व चर्किने र त्यो मध्यपूर्वभरि फैलिन सक्ने चिन्ताहरू उत्पन्न भएका छन्। गत अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको भोलिपल्टदेखि हिज्बुल्लाहले पनि इजरेललक्षित हमलाहरू सुरु गरेको थियो।

    उसले आफ्नो अभियान गाजास्थित प्यालेस्टिनीहरूको समर्थन चलाइएको बताएको छ। अहिलेसम्म उक्त समूहका अधिकांश आक्रमण र इजरेलको प्रत्याक्रमण लेबनन र इजरेलका सीमावर्ती क्षेत्रमा सीमित छन्।

    इरानको समर्थन पाएको हिज्बुल्लाहलाई इजरेलले हमासभन्दा धेरै शक्तिशाली शत्रुको रूपमा हेर्दै आएको छ। उक्त समूहसँग उन्नत अस्त्रहरूको ठूलो भण्डार छ। त्यस्ता अस्त्रहरूमा ड्रोनहरू र इजरेली भूमिभित्र प्रहार गर्न सकिने खालका उच्चस्तरीय प्रविधिमा आधारित क्षेप्यास्त्रहरू पनि छन्।

    हिज्बुल्लाहसँग द्वन्द्व बढेमा इरानको समर्थन पाएका उक्त क्षेत्रका अन्य समूह पनि त्यसमा संलग्न हुन सक्छन्। ती समूहहरूको अनौपचारिक सैन्य गठबन्धनलाई तेहरानले एक्सिस अफ रेजिस्टन्स भन्ने गर्छ। त्यस्ता समूहमा यमनको हूथी र इराकका लडाकु समूहहरू पनि पर्छन्।

    इरानले पनि आफ्ना नयाँ राष्ट्रपतिले पदभार गर्ने दिन आयोजित विशेष समारोहमा सहभागी हुन तेहरान भ्रमणमा रहेका बेला बुधवार मारिएका हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याको जबाफ दिने वाचा गरेको छ।
    बीबीसीको सहयोगमा

  • कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार

    कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार

    काठमाडौं । अमेरिकाको डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । यसअघि पार्टीका नेताहरुले समर्थन गर्दै आएकामा डेमोक्रेटिक नेसन कमिटी (डीएनसी) ले औपचारिक रुपमा आउँदो चुनावका लागि दलको तर्फबाट उम्मेदवार चयन गरेको बीबीसीले जनाएको छ ।

    भर्चुअल मतदानमा उपराष्ट्रपति ह्यारिसले पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गर्न आवश्यक सीमा पार गरेपछि डीएनसीले औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । ह्यारिस अमेरिकामा मुख्य दलको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मुलकी महिला बन्नुभएको छ ।

    आउँदो नोभेम्बरमा हुने चुनावमा पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पलाई पराजित गर्न सकेमा उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ । यसैबीच ह्यारिस उम्मेदवार बनेपछि उहाँको चुनावी प्रचारका लागि चन्दा दिने क्रम पनि बढेको छ ।

    अहिलेसम्म ट्रम्पको चुनावी अभियान बैंक खातामा ३२ करोड ७० लाख अमेरिकी डलर चन्दा जम्मा हुँदा ह्यारिसको चुनावी अभियान खातामा ५४ करोड डलर जम्मा भएको छ । जसमध्ये १२ करोड राष्ट्रपति बाइडेनले उम्मेदवार त्याग्नु अघिको हो भने बाँकी बाइडेनले प्रतिस्पर्धा छाडेपछिको हो ।

  • कार्ल्सबर्गमा नेपालको अहिलेसम्मकै ठूलो खरीद बिक्रि-सम्झौता

    कार्ल्सबर्गमा नेपालको अहिलेसम्मकै ठूलो खरीद बिक्रि-सम्झौता

    काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बिक्रि गरेको छ । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल)ले किनेको काल्र्सबर्गद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    सीएलएपीएल (सिंगापुर) होल्डिङ्सको ३३.३३ प्रतिशत सेयर सीपी खेतानसँग थियो । अब त्यो कम्पनीको सम्पूर्ण स्वामित्व कार्ल्सबर्ग साउथ एसियासँग हुनेछ । यो सेयर खरिद बिक्रीका विषयमा खेतान र कार्ल्सबर्गबीच लामो समयदेखि विवाद रहँदै आएको थियो ।

    सीएलएपीएल (सिंगापुर) होल्डिङ्ससँग भारतको कार्ल्सबर्ग इन्डिया लिमिटेडको शतप्रतिशत सेयर स्वामित्व छ । नेपालको गोर्खा ब्रुअरी प्रालिको ९० प्रतिशत सेयर पनि सोही कम्पनीसँग भएको विज्ञप्तिमा उल्लेख छ । गोर्खा ब्रुअरीको बाँकी १० प्रतिशत सेयरमध्ये ९.९४ प्रतिशत सयेर पनि कार्ल्सबर्ग साउथ एसियाले नै खरिद गर्ने सम्झौता भएको छ । यो सम्झौतापछि कार्ल्सबर्ग इन्डियाको शतप्रतिशत सेयर स्वामित्व र नेपालको ९९.९४ प्रतिशत स्वामित्व कार्ल्सबर्ग ग्रुपसँग हुने उसले जनाएको छ ।

    यो सम्झौताअनुसारको कारोबार सन् २०२४ को अन्तिमसम्म परा हुने समेत बताइएको छ । तर, नेपालमा सरकारी अनुमति प्राप्त गर्नेलगायत सर्तहरू पूरा नभएको अवस्थामा त्यो अवधि लामो पनि हुनसक्ने जनाइएको छ । कुल कारोबार रकममध्ये २० करोड ७० लाख डलर (करिब २७ अर्ब ८० करोड रुपैयाँ) कार्ल्सबर्ग समूहले नै राख्ने र कम्पनीहरूमा आउनसक्ने सम्भावित दावी त्यसैबाट भुक्तानी गर्ने जनाइएको छ । यो रकम सीपी खेतानले ३ देखि ५ वर्षपछि मात्रै प्राप्त गर्ने पनि जनाइएको छ ।

    यो खरिद बिक्रीले कार्ल्सबर्ग इन्डिया र कार्ल्सबर्ग साउथ एसियाको खाता एकीकरणमा कुनै प्रभाव नपर्ने ग्रुपले जनाएको छ । तर, नेपालको खाता एकीकरण बाँकी रहेको र खेतान समूहको ९.९४ प्रतिशनत सेयर खरिद गरिसकेपछि त्यो पनि एकीकृत हुने जनाइएको छ । ‘हामी हाम्रो साझेदारसँग एउटा सौहार्द्रपूर्ण समझदारीमा पुग्न सकेकोमा खुसी छौं । अब एसियाको दुई महत्त्वपूर्ण मुलुकको बजारमा हाम्रो पूर्ण नियन्त्रण स्थापित भएको छ,’ कार्ल्सबर्गका ग्रुप सीईओ ज्याकोब आरुप एन्डरसनले भने ।

    भारतको बजार विस्तार गर्नु आफ्ना लागि निकै महत्त्वपूर्ण भएको र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि लगानी विस्तार गर्ने पनि एन्डरसनले उल्लेख गरेका छन् । कार्ल्सबर्गको भारतको बियर बजारमा करिब १७ प्रतिशत हिस्सा छ भने नेपालमा ७० प्रतिशतभन्दा ठूलो बजार हिस्सा रहेको उसको दाबी छ ।

  • दाङमा खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता

    दाङमा खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता

    काठमाडौं । दाङको घोराही(तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गतराति दुईवटा अटोरिक्सा बगाएको छ ।
    तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    यसैबीच दाङको घोराही(तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । बाढीले बगाएका तुलसीपुर ७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो।

  • इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । इलाममा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका १० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिए ।

    मोटरसाइकल चालक माई नगरपालिका-१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् । विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ ।

    उनीहरू दुवैको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । मोटरसाइकल लोदिया प्रहरी चौकीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ । रासस

  • सिनामंगलको एक गेष्ट हाउसमा महिला पुरुष मृत फेला

    सिनामंगलको एक गेष्ट हाउसमा महिला पुरुष मृत फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत फेला परेका छन् । मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन् ।

    शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा उनीहरु १५ साउनदेखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । सोही क्रममा आज शुक्रबार १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोडको सीमा हट्यो

    सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोडको सीमा हट्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ । शुक्रबार मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यन्वयनका लागि एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

    ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ । तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि मात्र यस्तो सीमा लागु हुनेछैन,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा छ । यसअघि संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँको सीमा थियो ।

  • लेखा समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटर

    लेखा समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटर

    काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महशुल बक्यौता विवादमा रहेका उद्योगीहरुको विद्युत महशुल सम्बन्धी टिओडी डाटा मागेको छ । शुक्रबार प्राधिकारका अधिकारी र व्यावसायीहरुसँग छलफल गरेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी डाटा माग गर्ने निर्णय गरेको हो ।

    समिति सभापति ऋषिकेश पोखरेलका अनुसार प्राधिकरणसँग टिओडी डाटा लिएर समितिले आगामी पाँच दिन भित्र आवश्यक निर्देशनको खाका तयार पार्ने छ । उक्त खाकामाथि पाँच दिनपछि अर्को बैठकमा छलफल गरेर निर्णय लिइने सभापति पोखरेलले जानकारी दिए ।

    शुक्रबारको छलफलमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल नतिरेका ६१ उद्योगको टिओडी डाटा रहेको बताएका थिए । यस्तो डाटा प्रत्येक महिनाको रहेको बताएका थिए । व्यावसायीहरुले भने आधारआधा घण्टाको टिओडी डाटा माग गरेका थिए ।

  • काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

    काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो


    काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काइएको छ । उडान नं. ६५५, कल साईन ९-एएमडिमा प्राविधिक समस्या देखिएको बुद्धले जनाएको छ ।

    जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको कम्पनीले उल्लेख गरेको छ ।

  • रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

    रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् । साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज क्याम्प) चलाउने निर्णय गरेको थियो ।

    सोही निर्णयअनुसार आज बिहान ७ बजेदेखि कार्यशाला सुरु गरिएको हो । कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने भएको छ । कार्यशाला भोलिसम्म चल्ने छ ।

  • थाई एयरले थाइल्याण्डबाट भैरहवामा चार उडान गर्ने

    थाई एयरले थाइल्याण्डबाट भैरहवामा चार उडान गर्ने

    काठमाडौं । थाई एयर एसियाले थाइल्याण्डको बैंककबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको चार उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । थाई एयर एसियाले सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।

    थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका उपलब्ध गराउने भनिएको छ । भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरेअनुसार समय (स्लट) दिइने भएको छ । ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ । यसअघि थाई एयर एसियाकै लगानीकर्ताहरूसमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो ।

    नेपालमा बढी पर्यटक आउने आठौं मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्यांक छ । थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ ।

  • पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

    पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा दुई भारतीय पेस्तोलसहित पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह छन्। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

  • हमासका सैन्य प्रमुख मारिए : इजरायल

    हमासका सैन्य प्रमुख मारिए : इजरायल

    काठमाडौं । हमासका शीर्ष नेता इस्माइल हनियेको इरानको राजधानी तेहरानमा हत्या भएको भोलिपल्ट इसराइलले हमासका सैन्य कमान्डर मोहम्मद देइफलाई समेत मारेको दावि गरेको छ । उनको १९ दिनअघि नै हत्या भएको बताइएको छ । इसराइलले जुलाई १३ मा गाजाको खान युनिस सहरबाहिर एउटा पर्खालले घेरिएको भवनमा हवाइ आक्रमण गरेर देइफलाई मारेको दाबी गरेको छ ।

    अरू ९० जनाभन्दा धेरैको मृत्यु भएको त्यो आक्रमणमा पछि उसले हमासका अर्का सैन्य कमान्डर रफा सलामाको पनि मृत्यु भएको बताएको छ । बिहीबार उसले खुफिया विश्लेषणका आधारमा सो आक्रमणमा देइफ मारिएको पुष्टि भएको दाबी गरेको छ।

    हमास स्रोतले अहिलेको समयमा उनको मृत्यु भएको हो कि होइन भन्न नसकिने जनाएको छ। अलजजिरा टेलिभिजनले हमास स्रोतलाई उल्लेख गर्दै देइफको निधनबारे आधिकारिक पुष्टि हमास वा कसाम ब्रिगेडको नेतृत्वले मात्रै गर्न सक्ने बताएको छ। मंगलबार इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा उपस्थित भएको केही घण्टापछि हमासको राजनीतिक विभागका ६१ वर्षीय प्रमुख हनियेको हत्या भएको छ । हमासले हनियेको हत्या इसराइलले गरेको आरोप लगाए पनि इसराइलले अहिलेसम्म त्यसको जिम्मेवारी लिएको छैन।

    सन् २०२३ अक्टोबर ७ मा हमासले नेपालका दस र अरू केही विदेशीका साथै १२०० इसराइलीको ज्यान जाने गरी इसराइलमा आक्रमण गरेको थियो। त्यसपछि गजामा सैन्य कारबाही सुरू गरेको इसराइलले हमासलाई सिध्याउने घोषणा गरेको हुँदा इसराइलले नै हत्या गरेको मानिएको छ।

    इसराइलले लेबननको राजधानी बेरूतमा हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमान्डरको हवाइ आक्रमणमा हत्या गरेको केही घण्टामै हनियेको हत्या भएको थियो। इसराइली नियन्त्रणमा रहेको गोलन हाइट्समा जुलाई २७ मा १२ केटाकेटीहरूको ज्यान जाने गरी भएको रकेट हमलाको बदला लिन इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको बताएको छ।

    हमासका शीर्ष नेता हनियेको हत्या भएको भोलिपल्टै इसराइलले दोस्रो वरीयताका नेता र सैन्य कमान्डर देइफलाई पनि मारिसकेको दाबी गरेको छ।
    देइफ र हनियेको ठाउँमा सन् २०१७ मा हमासको गजा प्रमुख बनेका याह्या सिन्वरले मिलेर हनियेलाई समेत जानकारी नदिई इसराइलमा अक्टोबर ७ मा हमला गर्ने योजना बनाएको मानिन्छ।

    Palestinian militant group Hamas’ leader Ismael Haniyeh (C-R) and other officials, flash the victory sign during a swearing in ceremony for the new president, at the parliament in Tehran, on July 30 2024. Iranian reformist Masoud Pezeshkian was sworn as the Islamic republic’s ninth president. (Photo by AFP)

    देइफको पनि हत्या भइसकेको हो भने हमासका दुवै शीर्ष नेता मारिएका छन्। त्यस्तै अक्टोबर ७ पछि हमासका शीर्ष ६ जनामध्ये सिन्वरसहित दुई जना मात्रै जीवित रहेको इसराइलको दाबी छ। पाहुनाको नामले चिनिने हमासको अल कसाम ब्रिगेडका प्रमुख देइफ सार्वजनिक रूपमा विरलै देखिने नेता थिए। इसराइली जासुसले नभेट्टाउन् भनेर प्यालेस्टिनी लडाकुहरू आफूप्रति सहानुभूति राख्नेहरूका घरमा फेरी फेरी पाहुना बस्ने प्रचलनका कारण देइफलाई पाहुना भनिएको मानिन्छ।

    इसराइलले पटक पटक आक्रमण गरेर मारेको दाबी गरिएका देइफ २० वर्षअघि गरिएको एक हवाइ आक्रमणमा एक हात र एक खुट्टा गुमाएर ह्विलचेयरमा सीमित भएको भनिन्थ्यो। तर पछि उनी सबल रहेको पुष्टि भएको थियो। र उनले नै सिन्वरसँग मिलेर अक्टोबर ७ को हमलाको योजना बनाएको इसराइलले मानेको छ।

    सन् १९६५ मा खान युनिस शरणार्थी शिविरमा जन्मिएका देइफको जन्मपछिको नाम मोहम्मद दिएब इब्राहिम अल मास्री भएको मानिन्छ। हमासमा जोडिएपछि उनले नाम परिवर्तन गरेर मोहम्मद देइफ राखेका हुन्। सन् १९८९ मा देइफलाई इसराइलले पक्राउ गरेको थियो। १६ महिनासम्म उनलाई हिरासतमा राखिएको थियो।

    युनिभर्सिटी अफ गजाबाट उनले विज्ञानमा स्नाकोत्तर गरेका हुन्। त्यहाँ उनले भौतिक शास्त्र, रसायन शास्त्र र जीव विज्ञान अध्ययन गरेका थिए।
    हमासमा प्रभाव बढ्दै गएपछि उनले गजामा टनेलको नेटवर्क र बम बनाउने क्षमताको विज्ञता बढाएका थिए।इसराइलमाथि भएका विभिन्न समयका धेरै आत्मघाती बम बिस्फोट उनले गराएका थिए। दशकौंसम्म उनी इसराइलको मोस्ट वान्टेड सूचीको पहिलो नम्बरमा थिए।

    BBC

    इसराइलले उनको हत्या गर्न गरेको आक्रमणमा परेका उनले एक आँखा गुमाएका थिए भने एउटा खुट्टामा पनि गम्भीर चोट लागेको थियो। उनकी श्रीमती, ३ वर्षकी छोरी र ७ महिनाका छोराको सन् २०१४ मा इसराइलले गरेको हवाइ आक्रमणमा मृत्यु भएको थियो। हमास स्रोतका अनुसार उनी स्मार्टफोन लगायत पछिल्लो समय प्रचलित प्राविधिक सामान प्रयोग गर्दैन थिए। उनका अहिलेसम्म तीन वटा तस्बिर मात्र सार्वजनिक छन्।

    एउटा उनी २०–३० वर्ष हुँदाको हो भने अर्को फोटोमा उनले मास्क लगाएका छन्। यस्तै, तेस्रो फोटोमा उनको छाया मात्र खिचिएको छ। उक्त फोटो उनले सार्वजनिक गर्ने अडिओहरूमा प्रयोग गरिएको हुन्छ। सन् २०२१ मा पनि इसराइलले उनलाई मार्न कारबाही चलाएको थियो। तर उनी बाँच्न सफल भएका थिए। उनले अडिओहरू विरलै सार्वजनिक गर्थे र सार्वजनिक रूपमा देखा नै पर्दैन थिए।

  • आज कुन भेगमा छ भारी वर्षाको सम्भावना ?

    आज कुन भेगमा छ भारी वर्षाको सम्भावना ?

    काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरू साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ।

    राति देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ। उत्तरी सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा ५८.४, ढुंगेमा ५०, बोल्देमा ५१.८ मिलिमिटर पानी परेको छ। मकवानपुरको भोर्लेनीमा ८०.६, मकवानपुर गढीमा ७९, उदयपुरको कटारीमा ७९.६, लमजुङ खुदी बजारमा ७३.४ मिलिमिटर पानी परेको छ।

  • प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड

    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने तयारीमा छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हुने भएको छ ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते आयोजना हुँदै छ । सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने छन् । त्यसका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको थियो ।

    नेपाल भने सन् २००४ मा बिम्स्टेकको सदस्य भएको थियो । बिम्स्टेकले कृषि, सांस्कृतिक सहकार्य, वातावरण तथा विपद् व्यवस्थापन, जलवायु परिवर्तन, गरिबी निवारण, आतंकवाद तथा बहुराष्ट्रिय अपराध नियन्त्रण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

  • राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने

    राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने

    काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पोसाक, सिन्दुर, टीकालगायतका पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र सबै नागरिकका लागि अनिवार्य गराउने क्रममा सरकारले नेपालीको पहिचान मेटाउन खोजेको भन्दै आलोचना भएको थियो ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन तथा राष्ट्रिय परिचयपत्र इकाईहरुलाई पत्राचार गरेर उक्त जानकारी दिएको हो । विभागले सूचना प्रकाशित गरेर फोटो खिच्दा आफूले चाहेको नेपाली पोसाक लगाउन पाइने, सिन्दुर, टीका हटाउन नपर्ने जानकारी गराएको छ ।

    परिचयपत्रका लागि फोटो खिच्ने क्रममा आफ्नो संस्कृति र जातीय पहिचान झल्ने लुगा लगाउन पाउने विभागले जनाएको छ । यसअघि उक्त चिह्न परिचयपत्र अनिवार्य गर्ने नाममा नेपालीको खास पहिचान मेटाउन खोजेको भन्दै सामाजिक सञ्जालमार्फत धेरै आलोचना हुँदै आएको थियो ।

    विभागका महानिर्देशक युवराज कँडेलका अनुसार सम्बन्धित निकायमा यसको जानकारी दिइसकिएको छ । पत्रमा उल्लेख भएअनुसार कुनै व्यक्तिले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि फोटो खिच्दा प्रस्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने छ ।

    पत्रमा भनिएको छ, ‘फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन ।’ विभागका अनुसार नागरिकतामा विवरण प्रस्ट नभएमा नगरिकताको अभिलेखरसीआईएमएससमेत रुजु गरेर विवरण दर्ता गर्ने व्यवस्था मिलाउन पत्रमा उल्लेख छ ।

    सरकारले राज्यका सबै सेवामा राष्ट्रिय परिचयपत्रलाई जोडेर सेवा प्रवाह गर्ने योजना बनाएको छ । त्यसका लागि पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा र पेन्सन प्रणालीमा जोडेर ६६ जिल्लामा परिचयपत्र अनिवार्य रुपमा लागू गर्ने निर्णय गरेको छ ।

    विभागका अनुसार गत जेठ २४ को मन्त्रिपरिषद् बैठकले ७७ जिल्लामै परिचयपत्र लागू गर्ने निर्णय गरेको थियो । गत असार १० गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षमाथिका ज्येष्ठ नागरिकले भने परिचयपत्र नलिए पनि सेवा लिन बाधा नपर्ने राजपत्रमा उल्लेख छ ।

    सरकारले राजस्वसम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्रसम्बन्धी र कम्पनी दर्ता एवं नवीकरणका लागि पनि क्रमशः परिचयपत्र अनिवार्य गर्दै लैजाने योजना बनाएको छ । बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष तथा घरजग्गा किनबेचमा पनि यो प्रणाली जोडिनेछ । परिचयपत्रका लागि सरकारले बितेको ६ वर्षमा ५ अर्बभन्दा बढी रकम खर्चिसकेको छ ।

  • नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

    नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले बुधबार उनीहरुलाई प्रदेश प्रमुख पदमा नियुक्त गरेका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।

  • काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात

    काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात

    काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगिता नेपालले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकालेको हो। पहिलो सेट २५–१९ ले जितेको नेपालले दोस्रो सेटमा २५–१८ अंकले विजयी भयो। तेस्रो सेटमा पनि २५–१९ को ले जितेपछि नेपालले खेल ३–० को सोझो सेटमा आफ्नो पक्षमा पार्‍यो। नेपालले दोस्रो खेलमा भारतसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

  • आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रम मन्त्रीको विश्व बैंकसँग आग्रह

    आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रम मन्त्रीको विश्व बैंकसँग आग्रह

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् ।

    श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए । भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रुपमा विकास गरिने बताए ।

    निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए । सो क्रममा उनीहरुबीच आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दीगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

  • एमालेले फेर्यो विदेश विभाग प्रमुख, भट्टराईको स्थानमा महासेठ

    एमालेले फेर्यो विदेश विभाग प्रमुख, भट्टराईको स्थानमा महासेठ

    काठमाडौं । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ । कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको छ । यो विभाग महासेठ आफैले मागेका थिए । यसअघिका विदेश विभाग प्रमुख
    राजन भट्टराईलाई भने बागमति प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

  • प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन

    प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन


    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने बताए ।

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’

  • केरलासँगै हिमान्चलमा बाढी पहिरो, कम्तिमा ५० वेपत्ता

    केरलासँगै हिमान्चलमा बाढी पहिरो, कम्तिमा ५० वेपत्ता


    काठमाडौं । भारतको केरलापछि हिमाचल प्रदेशमा पनि भारी वर्षासँगै बाढी–पहिरोको विपत्ति निम्तिएको छ । हिमाचल प्रदेशका सिमला लगायतका जिल्लामा कम्तिमा ५० जना बेपत्ता भएका छन् । जाओन, कुल्लु, निरमण्ड, सरपारा लगायत ठाउँ बाढीपहिरोको चपेटामा परेका छन् ।

    यो जानकारी हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । हिमाचल प्रदेश सरकारका एक मन्त्री जगत सिंहले सिमला जिल्लाको सरपारा गाउँमा मात्रै ३६ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

    कुल्लु क्षेत्रको मलाणा हाइड्रोपावरको बाँध भत्किएको छ । सडक पनि भत्किएकाले सम्पर्क टुटेको छ । निरमण्डमा चारवटा पक्की पुल र २५ भन्दा बढी कच्ची पुल भत्किएका छन् । बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । सरकारको आपतकालीन बैठक पनि बोलाइएको छ । यसैबीच भारतको उत्तराखण्डमा पर्ने प्रसिद्ध धार्मिक क्षेत्र केदारनाथ र रुद्रप्रयाग पनि बुधबार रातिको भारी वर्षाका कारण बाढी–पहिरोले प्रभावित भएको छ । सरकारले केदारनाथको यात्रा नगर्न सबैलाई आह्वान गरेको छ ।

    सोनप्रयाग, भीमबली लगायतका स्थानमा पुग्ने बाटो बन्द भएको छ । ठूलाठूला ढुंगासहितको पहिरो खसेर बन्द भएका सडक खुलाउने प्रयास जारी छ । बाटो बन्द भएकाले करिब २०० तिर्थयात्री भीमबलीका होटलहरुमा रोकिन बाध्य छन् । प्रहरीले रुद्रप्रयाग पुगिसकेका यात्रीहरुलाई त्यहीँ सुरक्षित रुपमा बस्न अनुरोध गरेको छ ।

  • टीआरसी विधेयकमा सहमति

    टीआरसी विधेयकमा सहमति

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको दलहरुले बताएका छन् । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित विषयमा सहमति जुटेको हो ।

    गृहमन्त्री रमेश लेखकले यसबारे जानकारी दिए । उनका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति भएको छ ।

    मानवअधिकारको उल्लंघनका घटनामा सहमतिका लागि पीडितको सहमति अनिवार्य गरिएको छ । पीडितको सहमति नभएमा के गर्ने भन्ने विवाद थियो । ‘सरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्नसक्छ, दुनियाँवादी फौजदारी मुद्दा भए के गर्ने भन्ने अधिकार पीडितलाई दिने सहमति गरेका छौं,’ गृहमन्त्री लेखकले भने ।

    द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति पनि जुटेको छ । यस्तै बहिगर्मित लडाकूहरुलाई द्वन्द्व प्रभावितका रुपमा परिपूरण दिने सहमति पनि भएको छ । यो सहमतिलाई कानुन मन्त्रालयले अन्तिम रुप दिएपछि शीर्ष नेताहरुलाई बुझाइने लेखकले जानकारी दिए ।