Category: समाचार

  • नेपाल बन्यो खुद् विद्युत निर्यातकर्ता

    नेपाल बन्यो खुद् विद्युत निर्यातकर्ता

    १३ साउन, काठमाडौं । नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यस आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता बनन सफल भएको प्राधिकरणले जनाएको छ ।

    नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात भएको जनाएको छ ।
    नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

    एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ ।
    प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । शुख्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो ।

    हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रति युनिट ९ रुपैयाँ १७ पैसा छ ।
    गत आवमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो ।

    निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिश्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खूद निर्यातकर्ता बनेको छ ।
    आव २०७९÷८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।


    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परेतापनि अब निर्यातको परिमाण बढ्दै जाने बताए ।


    ‘६/७ वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, ३ वर्षअघिबाट भारतीय प्रतिश्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरेतापनि निर्यातभन्दा आयात बढी भई खूद आयातकर्ता बन्ने अवस्था थियो, अब गत आवबाट खूद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भएतापनि यो महत्वपूर्ण उपलब्धी हो, ऊर्जा क्षेत्रका लागि एउटा कोशेढुङ्गा हो’, कार्यकारी निर्देशक घिसिङले भने ।


    उनले विद्युत्को पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आउँदा र विद्युत् निर्यात परिमाण बढ्दा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको छ, यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको उनले बताए ।


    नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रुपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७ सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाहरुबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो ।


    कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप ४ सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको जानकारी दिए । ‘हरियाणा र बिहार राज्यलाई बिक्री गर्ने गरी थप ४०० मेगावाट विद्युत निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बंगलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दैछौं’, घिसिङले भने ।

  • पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित

    पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित

    काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे।

    कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए। प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन्। प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । विश्व वरीयतामा हात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन्।

    नेपालमा भएको १३ औं सागमा २ कांस्य पदक जितेका राष्ट्रिय च्याम्पियन प्रिन्स पूर्व जुनियर विश्व नम्बर वान खेलाडी हुन्। २ पटकका ओलम्पिक च्याम्पियन, ५ पटकका विश्व च्याम्पियन तथा ६ पटकका अल इङल्यान्ड च्याम्पियन चीनका लिन डानलाई आफ्नो ‘हिरो’ मान्ने बायाँ हाते प्रिन्सले ७ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका थिए। प्रिन्सको लक्ष्य सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो।

    जापानमा १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिता जनाउन सुरू गरेएता ब्याडमिन्टनमा नेपालले पहिलो पटक भाग लिएको हो। प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रुपमा सहयोग गरिरहेका छन्।

  • मनसुन पुनः सक्रिय, कहाँ कहाँ छ जोखिम ?

    मनसुन पुनः सक्रिय, कहाँ कहाँ छ जोखिम ?

    काठमाडौं । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने भएको छ । मौसमविद्हरुका अनुसार कुनै-कुनै ठाउँमा अति भारी वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि सक्रिय हुनेछ ।

    मनसुनमा रातिको समयमा धेरै पानी पर्ने गर्छ । अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावामा भएको पानीको मात्रा तापक्रम बढी हुँदा होल्ड हुने क्षमता बढी हुन्छ, राति तापक्रम घटेसँगै होल्डिङ क्षमता घट्छ र वर्षा हुन्छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । तर अघिल्लो दिनको तुलनामा मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ । गत १२ घण्टामा पनि बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ ।

    सिन्धुपाल्चोक र लम्जुङमा अति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा सिन्धुपाल्चोकको मानेखर्कमा १४१.६ र ढुंगेमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी लम्जुङको बेसिंशहरमा १०२.४ र खुदीबजारमा १००.३ मिलिमिटर वर्षा मापन भएको छ ।

    आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

    मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • ताप्लेजुङमा भूकम्पको धक्का

    ताप्लेजुङमा भूकम्पको धक्का

    काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसु गरिएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पले क्षति पुर्‍याए–नपुर्‍याएको विवरण प्राप्त भएको छैन । २०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्र केन्द्रबिन्दु भई ६.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल र भारतका गरी १११ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए

  • नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

    नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

    काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको ज्यान गएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गतराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको क्रममा बेपत्ता भएका दुबैको शव फेला परेपछि मृतकको संख्या तीन पुगेको हो ।

    स्थानीय समय अनुसार शनिबार बेलुकी सात बजे बेसमेन्टमा सात फिटसम्म पानी भरिएको र विद्यार्थीहरु फसेको जानकारी पाएपछि भारतको राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खोज तथा उद्धारमा खटिएको थियो । बेसमेन्टमा भरिएको पानी पम्पसेटको सहायताले बाहिर निकालिएको छ । घटनाको विरोधमा विद्यार्थीहरुले प्रदर्शनसमेत गरेका थिए । लगत्तै दिल्ली सरकारले घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।

    भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली सरकारले कोचिङ सेन्टर सञ्चालकविरुद्ध आपराधिक मामिलामा मुद्दा दायर गरेर थप अनुसन्धान सुरु गरिसकेको छ । दुई जना प्रहरी हिरासतमा छन् । गतराति भारतको राजधानी नयाँदिल्लीसहित महाराष्ट्र, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश लगायतका जिल्लाहरुमा भारी वर्षा भएको थियो । वर्षासँगको बाढी र पहिरोबाट दर्जनौंको मृत्यु भएको र जनजीवन प्रभावित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

  • पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

    पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

    काठमाडौं । पश्चिम नेपालमा अविरल वर्षाले पुन क्षति पुर्याउन सुरु गरेको छ । पहिरोले डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेंसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।

    खरखरे भिरमा ठूला-ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेंसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।

  • गोरखामा पहिरोमा परि ५ जना वेपत्ता

    गोरखामा पहिरोमा परि ५ जना वेपत्ता

    काठमाडौं । गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ । स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।

    गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

  • गण्डकी प्रदेशका यातायात मन्त्री मनाङे मन्त्रालयमै गन्जीमा बसेको तस्वीर भाइरल

    गण्डकी प्रदेशका यातायात मन्त्री मनाङे मन्त्रालयमै गन्जीमा बसेको तस्वीर भाइरल

    काठमाडौं । गण्डकी प्रदेश सरकारका यातायात मन्त्री राजीव गुरूङ (दीपक मनाङे)को एक तस्वीर शनिबार सामाजिक सञ्जालमा भाइरल भयो । जसमा उनी गन्जीमा देखिन्छन् । उनी छैटौंपटक मन्त्री बनेका छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र राखेनन्, विवादित गतिविधिले सधैं चर्चामा रहन्छन् ।

    पछिल्लो पटक मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेको सञ्चारमाध्यमले जनाएका छन् । केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले गुनासो गरेको खबरमा उल्लेख छ ।


    मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेको बताइएको छ । शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरेका थिए ।

  • जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको परिवारले बुझ्यो शव

    जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको परिवारले बुझ्यो शव

    काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् । विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने भएको छ ।

    केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ । बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमा त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

  • धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो

    धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो

    काठमाडौं । भंगहा (जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ । जनकनन्दनी गाउँपालिका ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो । रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् ।

    रेलको लिक छेउबाट हिड्ने बाटो छ । जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए । दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

  • पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?

    पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?

    काठमाडौं । पेरिस ओलम्पिकको भब्य उद्घाटन भएको छ । गत राती पेरिसमा उद्घाटन भएको हो । यससँगै खेलहरु समेत सुरु भएका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको पुरुष एकलको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठले प्रारम्भिक चरणमा आज सेनेगलका इब्राइम डियासँग भिड्दैछन् ।

    पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी छन् । वरीयतामा स्यान्टु अन्तिम वरीयतामा रहेका छन् । ६४ वरीयताभन्दा माथिका खेलाडीले प्रारम्भिक चरण खेल्नुपर्ने नियम छ । जसअनुसार उनले पहिलो खेल ५१औँ वरीयताका खेलाडी डियासँग खेल्न लागेका हुन् । प्रारम्भिक चरणको विजेता राउन्ड अफ ६४ मा प्रवेश गर्नेछन् ।

    यसपटकको ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सहभागीमध्ये स्यान्टु मात्र छनोट जितेर ओलम्पिक खेल्ने खेलाडी हुन् । अन्य नेपाली खेलाडी अंकका आधारमा वाइल्ड कार्डका माध्यमबाट पेरिस ओलम्पिकमा छनोट भएका हुन् ।

    स्यान्टु नेपालबाट छनोट जितेर ओलम्पिक खेल्ने तेस्रो र पहिलो टेबलटेनिस खेलाडी हुन् । सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी नेपालबाट तेक्वान्दो खेलाडीद्वय संगिना वैद्य र दीपक विष्टले सुरु ओलम्पिक छनोट पार गरेका थिए । सन् २००४ को एथेन्स र सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपकले छनोट चरणका माध्यमबाट स्थान सुरक्षित गरेका थिए ।


    पेरिस ओलम्पिकको शनिबारै ब्याडमिन्टनका प्रिन्स दाहालले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘पी’मा रहेका प्रिन्सले पहिलो खेल विश्व वरियताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्नेछन् । प्रिन्स विश्व ब्याडमिन्टन संघको वाइल्ड कार्ड कोटामा ओलम्पिकमा छनोट भएका हुन् ।

    पहिलोपटक ओलम्पिक खेल्न लागेका उनी प्रशिक्षकविहीन छन् । नेपालबाट सहभागी अन्य खेलाडीका प्रशिक्षक छन् । तर, नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सम्बन्धित निकायलाई नबुझाउँदा प्रिन्स प्रशिक्षकविहीन बनेका हुन् ।

    सुटिङकी सुस्मिताको खेल २८ जुलाईमा
    वाइल्ड कार्ड प्राप्त गर्दै पहिलोपटक ओलम्पिकमा सहभागी सुटिङकी सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा २८ जुलाईमा छ । पहिलो दिन क्वालिफायरका खेल हुनेछन् । क्वालिफायर खेल पार गरेका खेलाडीले २९ जुलाईमा फाइनल चरण खेल्नेछन् ।

    जुडोकी मनिताले २९ जुलाईमा
    जुडोकी मनिताले एसियाली कोटामार्फत पेरिस ओलम्पिकको स्थान पक्का गरेकी हुन् । उनले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । उनी पुल ‘ए’मा छिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिका पेरिसिकसँग प्रतिस्पर्धा गर्नेछिन् ।

    एलेक्ज्यान्डर र डुवानाले ३० जुलाईमा
    नेपालबाट पौडीतर्फ एलेक्ज्यान्डर र डुवानाले भाग लिँदै छन् । एलेक्ज्यान्डरको यो दोस्रोपटक ओलम्पिक खेल हो । डुवानाको भने पहिलो ओलम्पिक सहभागिता हुनेछ । दुवैले आ–आफ्नो पहिलो खेल ३० जुलाईमा खेल्नेछन् । पौडीको प्रतिस्पर्धा ओलम्पिक एक्वाटिक सेन्टर र पेरिस ला डिफेन्स एरेनामा हुनेछ । दुवै खेलाडी वैदेशिक प्रशिक्षणबाट सीधै पेरिस पुगेका छन् । एलेक्ज्यान्डरले पुरुष सय मिटर फ्रिस्टाइल र डुवानाले महिला दुई सय मिटर फ्रिस्टाइल प्रतिस्पर्धा गर्नेछन् ।

    सन्तोषीको ३१ अगस्टमा
    नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन प्रतिस्पर्धा गर्नेछिन् । सन्तोषीले महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । उनको यो पहिलो ओलम्पिक सहभागिता हो । पेरिस ओलम्पिकको समापन अगस्ट ११ मा हुनेछ । त्यही दिन महिला म्याराथनको इभेन्ट राखिएको छ ।

  • भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार

    भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार

    काठमार्डौं । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिए । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्डिया संस्थाको समन्वयमा उनीहरुलाई उद्धार गरी नेपाल ल्याइएको हो ।

    बिहीबार साँझ नेपाल ल्याइएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचविखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । शुक्रबार जनकपुरधाममा परिवार मिलन कार्यक्रम गरी परिवारको जिम्मा लगाइएको हो । उनीहरु मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेको र पाँच महिनादेखि सम्पर्कमा नभएको जनाइएको छ ।

  • किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

    किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा पुनः एक पटक चर्चामा आएको छ । जबर्जस्ती करणी मुद्दाको पुनरावेदन प्रक्रिया अघि नबढाउन उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता भएसँगै यसको पक्ष र विपक्षमा चर्चा सुरु भएको हो ।

    उच्च अदालत पाटनले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएलगत्तै जाहेरवाला गौशाला २६ ले उक्त निवेदन दर्ता गरेकी हुन् । जिल्ला अदालत काठमाडौँको पुस २६ गतेको फैसला उल्ट्याउँदै उच्च अदालतले जेठ २ गते सन्दीपलाई सफाइ दिएको थियो ।

    उच्चको फैसलाको पूर्णपाठ सार्वजनिक भएको साताभित्रै जाहेरवालाले निवेदन दिएकी हुन् । उच्च सरकारी वकिल कार्यालय पाटनका प्रमुख शङ्कर खत्रीले साउन ८ गते निवेदन दर्ता भएको बताएका छन् । सर्वोच्चमा पुनरावेदन प्रक्रिया अघि नबढाउन निवेदन दर्ता भए पनि सरकारवादी फौजदारी मुद्दा भएकाले सरकारी वकिल कार्यालयले लिने निर्णयले पुनरावेदन हुने वा नहुने टुङ्गो लाग्नेछ ।

    निवेदनमा गौशाला २६ ले आफू उच्चको फैसलालाई अन्तिम मान्ने उल्लेख गरेकी छन् । मुद्दाको प्रक्रिया लम्बिइरहँदा आफूमाथि मानसिक दबाब बढिरहेको तथा करिअरमा समेत असर परिरहेकाले मुद्दा पुनरावेदन नचाहेको उनले बताएकी हुन् । मुद्दाले आफ्ना सामाजिक जीवनमा पनि असर पारेको र निरन्तर मानसिक दबाब भइरहेको पनि उनले निवेदनमा उल्लेख गरेकी छन् ।

  • तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो

    तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो

    काठमाडौं । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका(११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए ।

    तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए । आफ्नी आमासँग सानी आमाको घरमा बुटवल सिर्जनानगर आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन्।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुवै बालक दिदी बहिनीका छोराहरु हुन्। पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए। डीएसपी पण्डितका अनुसार नदीमा हराएका विप्रन पाण्डेको खोजी भइरहेको छ।

  • आज मनसुन मथ्थर, कस्तो रहनेछ प्रभाव ?

    आज मनसुन मथ्थर, कस्तो रहनेछ प्रभाव ?

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • पेरिस ओलम्पिकको भब्य उद्घाटन

    पेरिस ओलम्पिकको भब्य उद्घाटन

    काठमाडौं । विश्व खेलकुदको महामेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन गरिएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरिएको हो । जसमा पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन गरियो ।


    उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि भए । उनी ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागि भए

    उद्घाटन समारोहमा हल्का वर्षा भएपनि त्यसले समारोहलाई खासै प्रभाव पार्न सकेन । फ्रान्सेली राष्ट्रपति माक्रोनले ३३औं समर ओलम्पिकको उद्घाटन भएको घोषणा गरे ।फ्रान्सेली जुडो खेलाडी टेड्डी रिनर र स्प्रिन्टर मारिए जोस पेरेकले ओलम्पिक फ्लेम बालेका थिए ।

    उद्घाटन समारोहमा चर्चित गायिक लेडी गागा, सेलियन डियोन लगायतले प्रस्तुती दिएका थिए । यस्तै फ्रेन्च फुटबल लेजेण्ड जिनेदिन जिदान, टेनिस स्टार राफायल नाडाल लगायत सहभागि थिए । पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा टेबलटेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोकेका थिए । उद्घाटन समारोहमा नेपाल, नामबिया र नाउरको खेलाडीहरु एउटै डुङ्गामा चढेका थिए ।

    श्यान्टु र मनितासहित पौडी खेलाडी एलेक्स शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाली टोलीका सेफ दि मिसिन टंक लाल घिसिङ लगायत डुङ्गामा सयर गरेका थिए । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका श्यान्टुले उद्घाटनको भोलीपल्ट शनिवार नै आफ्नो चुनौती पेश गर्दैछन् । यस्तै ब्याडमिन्टनका प्रिन्सको पहिलो खेल पनि शनिवारै छ ।

    पेरिस ओलम्पिकमा विश्वका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै फुटबल, रग्बी सेभेन्ज, आर्चरी र ह्यान्डबलका प्रतिस्पर्धाहरु सुरु भइसकेका छन् ।

  • पौडी खेल्दा खोलाले बगाएर दुई किशोरीको मृत्यु

    पौडी खेल्दा खोलाले बगाएर दुई किशोरीको मृत्यु

    काठमाडौं । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई छामघाट खोलाले बगाएर ज्यान गएको छ। महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

    गाई–बाख्रा गोठाला गएका किशोरी छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका थिए। बगेको तीन किलोमिटर तल काफलखेत नजिक सपना र करिब सात किलोमिटर टाढा जडेपिपल नजिक भावनाको शव फेला परेको हो।

    उद्धारको प्रयास भए पनि खोला धमिलो र बहाव पनि धेरै भएको कारण केहिगरी उद्दार गर्न नसकेको स्थानीय बिष्णु बुढाले बताउनुभयो। मृतक दुबै जना मालिका मावि बाँसीको कक्षा ९ का विद्यार्थी हुन्।

  • ओबामाको समर्थन कमलालाई

    ओबामाको समर्थन कमलालाई

    काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरूद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेको घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडेनले आइतबार डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनाव नलड्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेका थिए ।

    पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र ह्यारिसका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत कमलालाई यसअघि नै समर्थन गरिसकेका छन् । ओबामा बोलेका थिएनन् ।


    सन् २०१६ मा राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पुरा गरेपछि डेमोक्र्याटिक पार्टीका अभिभावकको भूमिकामा रहेका ओबामाले उनको उम्मेदवारीको समर्थन गरेका हुन् ।


    ओबामा र उनकी श्रीमती मिसेल ओबामाले संयुक्त विज्ञप्ति निकालेर ह्यारिसलाई अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित गराउन उनीहरूले सक्ने जेसुकै गर्ने दृढता व्यक्त गरेका छन्। ह्यारिसले फोन गरेर ओबामाको अनुमोदन स्वीकारेको भिडिओ उनको प्रचार गर्ने टिमले शुक्रबार सार्वजनिक गरेको छ।

  • सौर्य एयरलाइन्स दुर्घटना : परिवारलाई शव बुझाउन थालियो

    सौर्य एयरलाइन्स दुर्घटना : परिवारलाई शव बुझाउन थालियो

    काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव बुझाउन थालिएको छ । आज पाँच शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् । उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।

    दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी प्रक्रिया पूरा भएको छ । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

  • यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई

    यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको जेलबाट रिहा भएका हुन् ।

    श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण यूएईमै छन् । उनी केही दिनभित्र नेपाल आउने उनका मामा तेजबहादुर आलेले जानकारी गराए । ३ जुन २०१९ मा नवलपरासीका बाबुराम आलेमगरको हत्या आरोपमा श्रेष्ठ र थापालाई यूएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

    पाँच वर्षदेखि यूएईको सारजाह जेलमा रहेका श्रेष्ठ र थापाको उद्धारका लागि नेपालमा अभियान चलाइएको थियो । देश–विदेशबाट संकलित रकम पीडित परिवारलाई बुझाएपछि श्रेष्ठ र थापा जेलमुक्त भएका हुन् ।

  • चालू पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरिने

    चालू पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरिने


    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने जनाएको छ ।

    शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप गर्ने उल्लेख गरिएको हो ।

    अहिले उद्योगी, व्यवसायीले वार्षिक कारोबारको २५ प्रतिशत रकम चालुपुँजी कर्जा पाउँछन् । यसभन्दा बढी चालुपुँजी कर्जा लिएको भए सीमाभित्र ल्याउने अवधि २०८२ असार मसान्तसम्म तोकिएको छ ।

    ‘अब व्यवसायीहरूले चालु पुँजी कर्जा मार्गदर्शनमा उल्लेखित ‘भेरियन्स एनालाइसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागू हुने गरी समयावधि थप गरिने’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
    राष्ट्र बैंकले २०७९ कात्तिकदेखि चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शनको व्यवस्था गरेको थियो ।

  • सार्वजनिक भयो मौद्रिक नीति

    सार्वजनिक भयो मौद्रिक नीति


    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
    गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

    राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

    सेयर धितोमा लचकता अपनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत छ ।

  • मौद्रिक नीति आज सार्वजनिक गरिने

    मौद्रिक नीति आज सार्वजनिक गरिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ। यसपालिको मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई गतिशिलता दिने, कर्जा विस्तारमा सघाउने जस्ता उद्देश्य राखेको बताइएको छ ।

    मौद्रिक नीतिले चालु आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेटको लक्ष्यसँग तालमेल मिलाउन कम्तीमा ११.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राख्नुपर्छ । सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मूल्य वृद्धि प्रक्षेपण गरेको छ।

    राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०–८१ मा पनि ११.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको थियो। तर जेठसम्म कर्जा विस्तार ५.१ प्रतिशतले मात्र वृद्धि हुन सक्यो । गभर्नर महाप्रसाद अधिकारीको यो यस कार्यकालको अन्तिम मौद्रिक नीति हो।

  • कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?

    कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?

    काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानकै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

    बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान पनि गरेको छ।

    शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा राति पनि मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

  • रामेछापमा पहिरो, कम्तिमा तीन जनाको मृत्यु

    रामेछापमा पहिरो, कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए ।

    राति स्थानीय र प्रहरीले पन्छाएर शवहरु बाहिर निकालेका थिए । तर सदरमुकामसम्म पुग्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध भएकाले शवलाई पोष्टमार्टम गर्न मन्थलीसम्म पुर्‍याउन नसकिएको इन्सपेक्टर न्यौपानेले बताए । स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

  • यूएनका लागि नेपाली स्थायी प्रतिनिधि थापा इकोसकको उपाध्यक्षमा नियुक्त

    यूएनका लागि नेपाली स्थायी प्रतिनिधि थापा इकोसकको उपाध्यक्षमा नियुक्त

    काठमाडौं । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ ९यूएन० का लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा बिहीबार नियुक्त भएका छन् । इकोसकलाई संयुक्त राष्ट्र संघको एउटा महत्वपूर्ण अंगको रुपमा लिइन्छ । थापा एसिया–प्रशान्त मुलुकहरुको तर्फबाट सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा नियुक्त भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

    यस्तै, पूर्वी यूरोपेली मुलुकहरुबाट पोल्यान्ड र ल्याटिन अमेरिका र क्यारेबियन मुलुकहरुबाट कोस्टारिकाले उपाध्यक्ष पाउन सफल भएको छ । करिअर कुटनीतिक थापा एक वर्ष अघि स्थायी प्रतिनिधिको जिम्मेवारीसहित न्युयोर्क पुगेका हुन् । उनले यस अघि बेल्जिय तथा इयूका लागि राजदूतको भूमिका सफलता पूर्वक निर्वाह गरिसकेका छन् ।

  • मौरितानियाको समुद्रमा पानीजहाज दूर्घटना, २५ जना मारिए

    मौरितानियाको समुद्रमा पानीजहाज दूर्घटना, २५ जना मारिए

    काठमाडौं । मौरितानियाको समुद्रमा एउटा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा एक सय ९० जना हराइरहेका छन् ।
    अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले हराइरहेका एक सय ९० जनालाई निकाल्न उद्धार कार्य चलिरहेको जनाएको छ । मौरितानियाको तटरक्षकले एक सय तीन जना आप्रवासीलाई उद्धार गरेको र २५ जनाको शव बरामद गरेको बताएको छ । आईओएमका अनुसार झन्डै तीन सय जनाले काठको डुङ्गामा गाम्बिया छोडेका थिए र जुलाई २२ मा डुङ्गा पल्टिनुअघि सात दिन समुद्रमा बिताएका थिए ।

    तटरक्षक पुग्नुअघि १५ जनाको ज्यान गएको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकोमा सबैको ज्यान गएको छ । यस्तै घटना जुलाई ५ तारिखमा पनि भएको थियो जसमा मौरितानियाली तटरक्षकले ८९ जना आप्रवासीको शवलाई पल्टिएको डुङ्गाबाट बरामद गरेका थिए । धेरै आप्रवासी मोरक्कोको तटबाट क्यानरी टापुहरूमा पुग्न खोज्छन् । पश्चिम अफ्रिकाबाट स्पेनसम्मको यो मार्ग संसारको सबैभन्दा खतरनाक मार्गमध्ये एक हो ।

  • हवाई दुर्घटना : पहिचान भएका शव शुक्रबार हस्तान्तरण गरिने

    हवाई दुर्घटना : पहिचान भएका शव शुक्रबार हस्तान्तरण गरिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन् ।

    बिहीबार त्रिवि शिक्षण अस्पतालमा दुर्घटना परी ज्यान गुमाएका आफन्तलाई भेट्न पुगेका मन्त्री पौडेलले ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको बताए । पोस्टमार्टममा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पहिचान भएका शवलाई शुक्रबार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।

    ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ लगायतबाट पहिचान हुन नसके डीएनए परीक्षण गर्नुपर्ने र त्यसको थप तीन, चार दिन लाग्न सक्ने चिकित्सकहरूले बताएको पौडेलले जानकारी गराए । मन्त्री पौडेलका अनुसार बुधबार ४ वटा शवको पोस्टमार्टम भएको थियो । तर त्यसलाई मृतकका आफन्तले दिएको हुलिया र क्लिनिकल परीक्षण गरी ‘म्याचिङ’ गर्न बाँकी छ ।

  • लगानी बोर्डमार्फत एक वर्षमा पौने ३ खर्ब लगानी स्वीकृत

    लगानी बोर्डमार्फत एक वर्षमा पौने ३ खर्ब लगानी स्वीकृत

    काठमाडौं । लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ । एक वर्षमा स्वीकृत भएको अधिकांश लगानी जलविद्युत आयोजनामा आएको छ । ह्वासिन सिमेन्टले लगानी वृद्धिका लागि स्वीकृति पाएको छ ।

    लगानी बोर्डका अनुसार आव २०८०\८१ मा माथिल्लो कर्णालीमा १ खर्ब ६२ अर्ब, सुपर तमोरमा ३४ अर्ब ५९ करोड, रोल्वालिङ खोला जलविद्युत आयोजनामा ७ अर्ब ९३ करोड, छुजुङ खोजा जलविद्युतमा ९ अर्ब ३० करोड, दाना खोला जलविद्युतमा ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत आयोजनामा ९ अर्ब ४६ करोड, अपर मोदी एमा १० अर्ब ८ करोड लगानी स्वीकृत भएको बोर्डले जनाएको छ ।

    यस वर्ष सौर्य ऊर्जामा २१ अर्ब १० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको बोर्डको भनाइ छ । बोर्डले बिहीबार आफ्नो वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

  • योजना आयोगको उपाध्यक्षमा प्रा.डा.अधिकारी नियुक्त

    योजना आयोगको उपाध्यक्षमा प्रा.डा.अधिकारी नियुक्त


    काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

    बिहीबार बसेको बैठकबाट पाल्पाका अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    सदस्यहरुमा महोत्तरीका डा. आरपी बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र  गंगादत्त अवस्थी नियुक्त भएका छन् । योजना आयोगमा नियुक्त भएकामध्ये बिच्छा, टण्डन र अवस्थी नेपाली कांग्रेस निकट हुन् भने अरु नेकपा एमाले निकट हुन् ।