काठमाडौं । नेपालमा पहिलोपटक महिला निजामती कर्मचारीको सर्वोच्च पदमा पुगेकी छिन् । बिहिवार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवि गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । उनी महिलाबाट यो पदमा पुग्ने पहिलो व्यक्ति बन्दै इतिहास बनाउन सफल बनेकि छिन् । प्रधानमन्त्री केपि शर्मा ओलीले उनलाई औपचारिक रुपमा बधाई दिएका छन् ।
Category: समाचार
-

लीलादेवि बनिन् पहिलो महिला मुख्यसचिव
-

जहाज दुर्घटनाका मृतकको शोकमा आज आधा झण्डा झुकाइदै
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकको शोकमा आज राष्ट्रिय झण्डाआधा झुकाइदैछ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले जहाज दुर्घटनाको छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमापाँच सदस्यीय छानबिन समिति पनि गठन गरिसकेको छ ।
बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । पाइलट भने घाइते भएका छन् । उनको उपचार जारी छ ।
-

कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, वाग्मती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी ,वाग्मती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।
साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।
-

मकवानपुरमा दम्पत्ति मृत फेला
काठमाडौं । मकवानपुरमा श्रीमान र श्रीमती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। बुधबार अपराह्न पौने ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोड नजिकै लटिनाथ चिसापानीमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
६२ वर्षीय श्रीमान केशव भण्डारी र उनकी ५६ वर्षीया श्रीमती अम्बिका भण्डारी मृत फेला परेका हुन्। डिएसपी भण्डारीका अनुसार आफ्नै घरको कोठाभित्र श्रीमान केशव झुण्डिएको अवस्थामा फेला परेका हुन्। श्रीमती अम्बिकामाथि भने धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान गर्न कार्यालयबाट एसपी सिताराम रिजालको कमाण्डमा टोली खटिएको थियो। हेटौंडा अस्पतालबाट पनि चिकित्सकको टोली खटिएर अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धान बाँकी नै रहेको प्रहरीले जनाएको छ।
-

मुकुल ढकाललाई कारवाही गरेपछि पहिलो पटक रास्वपा केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो । आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।
बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुनसक्ने छ । रानामगरले ४ पुरुष र एक महिलालाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन् । त्यसबाट उनी विवादमा तानिएकी थिइन् । रास्वपाले उनको बचाउ गर्दै आएको छ ।
-

सडक यातायातमा मृत्यु हुने प्रति सरकारको वेवास्ताप्रति सर्वसाधारणबाट तीव्र आलोचना
काठमाडौं । तीन साता अगाडी त्रिशूली नदीमा दुई बस पहिरोमा परी बगेका छन् । बसको खोजी जारी छ । अहिलेसम्म डेढ दर्जन शव मात्र भेटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धारको काम जारी राखेका छन् । भारतबाट समेत प्राविधिक टोली मगाइएको छ । तर, अहिलेसम्म बस र यात्रुको अत्तोपत्तो लाग्न सकेको छैन ।
तर, बुधबार नेपाली आकासकै कालो दिनका रुपमा रहने गरी त्रिभूवन विमानस्थलकै डिलमा भयानक हवाई दुर्घटना भयो । दुर्घटना लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक घटनास्थलमा लावालस्करसहित पुगे । बुधबार नै आकस्मिक मन्त्रिपरिषद् बैठक बस्यो । बैठकले झण्डा आधा भुकाउने निर्णय लियो । साथै छानविन समिति समेत बनायो ।
सरकारको यो कदमको सर्वसाधारणबाट भने तीव्र आलोचना भएको छ । सडक यातायातमा निधन भएका ६० भन्दा बढी नागरिकप्रति असंवेदनसिल बनेको सरकारले हवाई दूर्घटनापछि भने ठूलो तत्परता देखायो । दुबै दुखद क्षणमा आम सर्वसाधारणको ज्यान गएको भन्दै सामाजिक संजालमा हवाई र बसका यात्रु प्रति किन दोहोरो व्यवहार भनी प्रश्न गरिएको छ । बुधबार सार्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको हो ।
-

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव कहिले हुन्छ हस्तान्तरण ?
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम बुधबारदेखि सुरू गरिएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । सौर्यको ९ एन(एएमई–सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरा जान उडेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको थियो। जहाजमा चालक दलका सदस्यसहित १९ जना थिए। क्याप्टेन मनीष शाक्यबाहेक अरूको मृत्यु भएको छ। शिक्षण अस्पतालका अनुसार एउटा शव पोस्टमर्टम गर्न न्यूनतम ४ घन्टा लाग्छ।
काठमाडौंसँगै ललितपुर, भक्तपुर र धुलिखेल अस्पतालका पोस्टमर्टम डाक्टरलाई महाराजगन्जमा बोलाइएको छ। २५ जनाको टोलीले पोस्टमर्टम गर्ने तयारी गरिएको छ । पोष्ट मार्टम गरेको ७२ घण्टापछि परिवारलाई हस्तान्तरण हुन्छ ।
-

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।
-

घाइते पाइलट भेट्न अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानका पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन् । १८ जनाको मृत्यु भएको सो घटनामा घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको अपरान्ह मेरूदण्डको अपरेसन गरिएको थियो ।
बुधबार राति अस्पताल पुगेर ओलीले चिकित्सकसँग शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ । प्रधानमन्त्रीले घाइते क्याप्टेन शाक्यका परिवारसँग पनि कुराकानी गरेका थिए ।
-

जहाज दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग
काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । मन्त्रालयका अधिकृत मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।
आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् ।
आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियमित हवाई परीक्षण गराउनुपर्ने र त्यसको नेपाल नागरिक उड्डयान प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बताए ।
-

सौर्य एयरको व्यवस्थापन टीमका चार उच्च अधिकारीको दुर्घटनामा परी मृत्यु
काठमाडौं । सौर्य एयरलाइन्सले व्यवस्थापन टीमका उच्च अधिकारीहरु गुमाएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिष रत्न शाक्य घाइते छन् । उनको उपचार जारी छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर कुमार आचार्य, सीएएमओ म्यानेजर अश्विन कुमार निरौला, मर्मत म्यानेजर यज्ञ प्रसाद पौडेल, क्यूए प्रमुख दिलिप वर्माको नाम उल्लेख छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट उड्नासाथ जहाज दुर्घटनामा परेको हो । यो जहाज मर्मत परीक्षणका लागि पोखरा जाने क्रममा थियो ।
-

काठमाडौं विमानस्थलमै सौर्यको जहाज दुर्घटना, १८ जनाको मृत्यु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई जहाज दुर्घटनामा परेको छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।जहाजमा दुई क्याप्टेनसहित १९ जना सवार थिए । सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी भएको खुलेको छ । यसमध्ये क्याप्टेनको जिवितै उद्दार गरिएको छ भने १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
-

लुम्बिनीमा कांग्रेसबाट रोज राणा पुनः मन्त्री
काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम निश्चित गरेको छ । कांग्रेसकोभागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण हुँदैछ ।
लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लगायतका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटेर मन्त्रीहरुको नामावली टुंगो लगाएका थिए ।
कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम करिब–करिब फाइनल भएको छ । न्यौपाने बाहेक ४ जना संस्थापन समूहका हुन् ।
-

बंगलादेशमा थामियो आन्दोलन, विदेशी विद्यार्थीलाई समेत जोखिम कम
काठमाडौं । बङ्गलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा त्यहाँको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन तुहिएको हो । आन्दोलन अन्त्य भएकाले अब नेपाली विद्यार्थीले असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताएका छन् ।
फर्किन टिकट काटिसकेका र त्यो रद्द गर्न नमिल्ने अवस्थाबाहेकका विद्यार्थीलाई नफर्किन अनुरोध गरिएको राईले जानकारी दिए । फर्कनैपर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका हकमा स्वनिर्णयले फर्किन पाउने उनको भनाई छ । मन्त्रालयका अनुसार मङ्गलबारसम्म एक हजार तीन सय नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।
हवाईमार्ग र स्थलमार्ग गरेर सोमबार मात्र १२६ जना नेपाल भित्रिएका छन् । नेपाली विद्यार्थीसँगै आएका माल्दिभ्स, भुटानलगायत देशका विद्यार्थीलाई पनि सुरक्षाका लागि नेपाल आउन दिइएको छ ।टिकट काटिसकेका हकमा फर्किन चाहनेलाई दूतावासले समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए । बङ्गलादेशमा नेपालबाट चिकित्साशास्त्र अध्ययनका लागि विद्यार्थी जाने गरेका छन् । कतिपय सरकारी छात्रवृत्तिमा र कतिपय आफ्नै खर्चमा त्यहाँ अध्ययनका लागि जाने गरेका छन् ।
बङ्गलादेशमा तीन हजार जना नेपाली विद्यार्थी तथा केही व्यावसायिक र सरकारी कामकाजको सिलसिलामा नेपाली नागरिक रहेको जनाइएको छ ।
-

एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् ।
सम्झना खड्का ७, कविता कुँवर ६, पूजा महतो २, कविता जोशी डक, डली भट्ट ५, काजोल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् । भारतकी दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २÷२ विकेट लिए । रेनुका सिंहले १ विकेट लिइन् ।त्यसअघि श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतको जितमा ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाइन् । उनको यो टी२० आई करिअरको उच्च प्रदर्शन हो ।
अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन् । भारतलाई ओपनर हेमलथा र शेफालीले १४ ओभरमा १२२ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गराएका थिए । नेपालकी सीता राना मगरले ४ ओभरमा २५ रन खर्चेर २ तथा कविता जोशीले १ विकेट लिइन् ।
समूह ए बाट भारत ३ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । नेपालको एसिया कपमा तेस्रो सहभागीता हो । यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेपनि एक खेल जित्न सकेको थिएन ।
-

बुटवल–पाल्पा खण्डमा रातमा सवारी चलाउन रोक
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो ।साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ ।
सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ । अत्यावश्यकीय मालबाहक बाहेकका गाडी नचलाउन आग्रह गरिएको छ । दुई वर्ष अघि पनि हिउँदे खोलामा सडक भासिएर एक हप्तासम्म सवारी साधन सञ्चालनमा कठिन भएको थियो ।
-

मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक
काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैलालीको मुकाम रणमैदान र रोशन थापा नीरवको सन्त्रासका साठी दिन रहेका छन् । छनोटमा परेका यी पाँचमध्ये एक पुस्तकले चार लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नेछ । प्राप्त भएका तीन सय चार वटा पुस्तकबाट श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक परेका गुठीले जनाएको छ ।
-

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित
काठमाडौं । जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखिएको छ ।
आफ्नो पार्टीबाट उम्मेदवार हुन उनलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उनले धेरै चुनौती खेप्नुपर्ने आंकलन छ । उनको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए पनि बाइडन उम्मेदवार बन्न लाग्दा प्रकट नभएका केही चिन्ता कमला ह्यारिस उम्मेदवार हुँदा व्यक्त भएका छन्।
ताजा सर्वेक्षणहरूमा कमला ह्यारिस ट्रम्पभन्दा अलिकति पछाडि देखिएकी छन्। तर त्यो सर्वेक्षणको सङ्ख्या तलमाथि भने हुन सक्छ। उम्मेदवारी परित्याग गरेको घोषणा गर्नुअघि बाइडन पनि लगभग उस्तै अवस्थामा थिए। राष्ट्रपति बाइडनको तन्दुरुस्ती र उनको प्रचार अभियानको विषयलाई लिएर विगत तीन सातादेखि चिन्तित डेमोक्र्याटहरूमा अहिलेका लागि एउटा ऊर्जा प्राप्त भएको छ।
पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका सबै आकाङ्क्षीहरूले ह्यारिसलाई अनुमोदन गरेका छन्। डेमोक्र्याटिक पार्टीको राजनीतिमा निकै प्रभावशाली मानिने पूर्वसभामुख न्यान्सी पलोसीले पनि उनलाई उम्मेदवार स्वीकार गरिसकेकी छन्। त्यसैले नोभेम्बरको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने ठानिएको छ। प्रमुख दुई पार्टीका समर्थकहरूबीच विभाजन रहेको अमेरिकी राजनीतिमा ट्रम्पको उम्मेदवारी नै मन नपराउने मानिसहरू पनि छन्।
उपराष्ट्रपति ह्यारिसको सबैभन्दा ठूलो चुनौती र अवसर ट्रम्पप्रतिको विकर्षणबाट लाभ लिनु र मध्यमार्गी मतदातालाई आकर्षित गरी स्विङ स्टेट भनिने कुनै पार्टीको स्पष्ट वर्चस्व नभएका राज्यका मतदातालाई पुनर्जागृत गर्नु हो। त्यस्ता मतदाताहरू विगत केही सातामा विचलित हुन थालेको देखिन्थ्यो। डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय निर्वाचन अभियानमा आएको नयाँ उत्साहमा डलरको प्रसङ्ग पनि सँगै आउँछ।
ह्यारिसको प्रचार अभियानका अनुसार बाइडनको घोषणाको २४ घण्टाभित्र उपराष्ट्रपतिले आठ करोड अमेरिकी डलर चन्दा पाएकी छन्। यो अमेरिकाका कुनै उम्मेदवारले यस पटकको निर्वाचनमा एकैदिन पाएको सर्वाधिक चन्दा हो। उनीसँग यसअघि नै बाइडन(ह्यारिस प्रचार अभियानको कोषमा रहेको १० करोड अमेरिकी डलर छ। ह्यारिसको प्रचारका लागि यथेष्ट खर्च जुट्ने निश्चित भएको छ।
पार्टीबाट ह्यारिसको उम्मेदवारी सुनिश्चित भएको अवस्थामा विपक्षी रिपब्लिकन पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि ृबाइडनकोे उमेरलाई लिएर गरिरहेको टिप्पणी पनि स्वतः निस्तेज भएर जान्छ। ट्रम्पको चुनावी प्रचार अभियानले यसअघि डेमोक्र्याट उम्मेदवार रहेका बाइडनमाथि महिनौँदेखि उनको शारीरिक दुर्बलता र अलमलमा पर्ने बानीप्रति कटाक्ष गर्दै आएको थियो। चार साताअघि भएको चुनावी बहसमा राष्ट्रपतिको फितलो प्रस्तुतिप्रति कैयौँ अमेरिकी नागरिकले पनि टिप्पणी गरेका थिए।
ह्यारिस अहिले ५९ वर्षकी भइन्। उनी थप ऊर्जासहित निर्वाचन अभियानमा लाग्ने छिन् र पार्टीका लागि आफू उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्ने छिन्। उनले ७८ वर्षीय ट्रम्पको उमेरलाई पनि अब चुनावी मुद्दा बनाउन सक्छिन्।ट्रम्प राष्ट्रपतिमा बने भए उनी अहिलेसम्मकै सबैभन्दा वृद्ध राष्ट्रपति हुने छन्।
ह्यारिसको अर्को बलियो पक्ष चाहिँ उनले अश्वेत जातिको भोट आकर्षित गर्न सक्ने सम्भावना हो। विगतका महिना भएका मतसर्वेक्षणहरूमा ती मतदाताहरूमा बाइडनप्रतिको आकर्षण घट्दो क्रममा रहेको देखिएको थियो।यदि उनले अन्य अल्पसङ्ख्यक र युवा मतदाताहरूको मत यसअघि सन् २००८ र २०१२ मा बराक ओबामाले जसरी नै बटुल्न सकिन् भने त्यसले निर्णायक मानिएका स्विङ स्टेटहरूमा उनी ट्रम्पविरुद्ध बलियो अवस्थामा हुने छिन्। अमेरिकाको यो पटकको निर्वाचनमा ‘स्विङ स्टेट’ ले नै परिणाम छिनोफानो गर्ने ठानिएको छ।
बीबीसीको सहयोगमा
-

बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन् । कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार दिउँसो मात्र दाबी पेस भएको थियो।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीमा नियुक्तिपछि मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेका थिए ।
-

महिला एसिया कप : टस हारेर नेपाल बलिङमा
काठमाडौं । महिला एसिया कप(२०२४ मा समूह एको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर बलिङ गर्ने भएको छ । नेपालको टिममा २ परिवर्तन भएको छ । डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् भने टिममा सवनम राई फर्किएकी छिन् । आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ । यता, आज भारतको कप्तानी स्मृति मन्दनाले गरेकी छिन् ।
-

मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो ।
खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । उनी नेपाली काउन्टडाउन युट्युब च्यानलका सञ्चालक रहेको पनि पाइएको प्रहरीले जनाएको छ । नाबालिकालाई होटलमा वेटरको काम भनेर जबर्जस्ती यौनकार्यमा लगाउने गरेको पाइएको एसपी गौतमले बताए ।
यसअघि उक्त होटलबाटै २४ असारमा ब्यूरोको टोलीले बीरबहादुर सिन्तान र सुबिलाल सिन्तानलाई पक्राउ गरेको थियो । तर खरेल भने फरार हुँदै आएका थिए । खरेललाई मंगलबार बत्तिसपुतलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीहरुले सञ्चालन गरेको गेस्टहाउसबाट ६ जना बालिकाको उद्दार समेत गरिएको प्रहरीले बताएको छ ।
-

बाढी-पहिरोका कारण अझै पनि देशभरका सडकमा सास्ती
काठमाडौं । बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् । विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक विभागकानुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । विभागले रात्रिको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा नै असुरक्षित हुने भन्दै आवातजावत नगर्न सुझाव दिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
-

काठमाडौंमा रातभर भारी वर्षा
काठमाडौं । काठमाडौंमा आज रातभर भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५.६ लिलिमिटर वर्षा भएको छ ।
विभागका अनुसार काठमाडौंका नैकाप, सुन्दरीजल, कपन, बबरमहल र आसपास पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा नैकापमा ५४, सुन्दरीजलमा ५२.८, कपनमा ५२.२, बबरमहलमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै काठमाडौंकै पानीपोखरी वर्षामापन केन्द्रमा ३०.८ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।
त्यसैले विभागले बागमती, गौरीघाट, विष्णुमती, धोबिखोला लगायतका नदी किनार क्षेत्रमा बस्नेहरुलाई र सो क्षेत्र भएर यात्रा गर्नेहरुलाई आज बिहान ९ बजेसम्मै सतर्कता अपनाउन एसएमएस पठाएर अनुरोध गरेको छ । विभागका अनुसार ललितपुरको गोदावरी क्षेत्रमा पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा गोदावरीमा ४०.६ मिलिमिटर वर्षा मापन भएको छ । ललितपुरकै लेलेमा ३५.४ मिलिमिटर वर्षा भएको छ । तर काठमाडौं उपत्यकाकै भक्तपुर क्षेत्रमा भने मध्यम खालको मात्र वर्षा भएको छ ।
-

बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता
काठमाडौं । बङ्गलादेशमा जारी हिंसाका बीच १३ सय नेपाली स्वदेश फर्किएका छन् । त्यस मुलुकमा रहेका नेपाली विद्यार्थी समेत सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो ।
उता बंगलादेशमा भने आन्दोलन केही मत्थर भएको छ । अदालतले कोटा प्रणालीमा व्यापक कटौती गरिदिएको छ । विद्यार्थीहरुले मृतकलाई क्षतिपूर्ति, घाइतेका उपचार र जेलमा रहेका साथिहरुको रिहाईको माग गर्दै ४८ घण्टाको अल्टिमेटम दिएका छन् ।
-

विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे निर्देशन दिएका छन् । उनले फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमा नजान निर्देशन दिएका छन् । विदेश जानैपर्ने भए अवधि छोट्याउन उनले निर्देशन दिएका छन् । भ्रमण टोलीमा महिला हुनैपर्ने समेत प्रधानमन्त्रीको निर्देशन छ ।
‘भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने निर्णय भएको बताइएको छ । रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले सकेसम्म भ्रमण नै नगर्न निर्देशन दिएका छन् ।सोमबारको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ । उद्योगमन्त्री भण्डारी विमस्टेक बैठकमा र खेलकुदमन्त्री चौधरी ओलम्पिक खेल समारोहका लागि फ्रान्स जान लागेका छन् ।
-

क्रोएसियामा नर्सिङ होममा गोली चल्यो, कम्तिमा ६ जना मारिए
काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्रमा गोली चलेको छ , घटनामा ६ जना मारिएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते भएका छन् । चार जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।
गोली चलाउने व्यक्ति त्यहाँबाट फरार भएर एक क्याफेमा लुक्न गएका थिए । उनलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको छ । उनको साथबाट अवैधानिक बन्दुक बरामद भएको क्रोएसियाका मिडियाहरुले उल्लेख गरेका छन् । उनी सेवानिवृत्त सैन्यकर्मी भएको खुलेको छ । तर उनले गोली चलाउनुको कारण भने खुलेको छैन । स्थानीय मिडियाहरुका अनुसार उनले गोली चलाएर हत्या गरेका व्यक्तिहरुमध्ये एक जना उनको नातेदार पनि हुन् ।
क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिक र प्रधानमन्त्री आन्द्रेज प्लेनकोभिकले घटनाबाट स्तब्ध भएको भन्दै दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्ने बताएका छन् । राष्ट्रपति मिलानोभिकले बन्दुक राख्न पाउने नियमलाई अझै कठोर बनाउन आह्वान पनि गरेका छन् ।
-

त्रिशूलीमा हराइरहेका बस र यात्रुको खोजी के भइरहेको छ ?
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ । आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी गर्न लागिएको छ ।
खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्याएर खोज्न लागिएको हो । नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८ः३० बजेबाट सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका थिए । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।
शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १८ जनाको सनाखत भएका छन् । बाँकी यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । बस र यात्रुहरुको खोजीमा गत शनिबारदेखि भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) टोलीसमेत परिचालित भएका छन् ।
-

बंगलादेशमा ४८ घण्टाका लागि रोकियो विद्यार्थीको आन्दोलन
काठमाडौं । सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा रहेको बङ्गलादेशी विद्यार्थी सङ्गठनले ४८ घण्टाका लागि आन्दोलन स्थगित गरेको छ । सर्वोच्च अदालतले जागिरका धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आममानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेसँगै आन्दोलन मथ्थर भएको हो । तर पक्राउ परेका विद्यार्थीको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने सरकारी र प्रहरी अधिकारीको बर्खास्त र मृतकलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी सङ्गगठनले आन्दोलन जारी राखेका थिए ।
आज भने सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिँदै आन्दोलन रोकिएको बङ्गलादेशी विद्यार्थी सङ्गठनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । कोटा प्रणालीको विरोधमा भएको आन्दोलनमा एक हप्ताकै बीचमा एक सय ६३ जनाको ज्यान गएको बङ्गलादेश प्रहरीले जनाएको छ ।
एक हजार जना घाइते भएका छन् । यो घटनालाई धेरैले बङ्गलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो दमन र नरसंहार भनेका छन् । आन्दोलनका क्रममा प्रहरीको दमन र सत्तारूढ दलका कार्यकर्ताको आक्रमणमा प्रदर्शनकारीको ज्यान गएको हो । प्रहरीले पाँच सय ४० जनालाई पक्राउ गरिएको जनाएको छ ।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि भएको युद्धका दिग्गजका आफन्तका लागि सरकारी जागिरमा एक तिहाइ कोटा छुट्याइएको विरोधमा आन्दोलन शुरु भएको हो ।
-

सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ
काठमाडौं । सर्वोच्च अदालतमा एक जना महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ। सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेको एसपी अधिकारीले बताए। यसरी अभद्र व्यवहार गरेको भन्दै प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।
-

कसरी टुंगियो न्यूरोडको फूटपाथ विस्तार विवाद
काठमाडौं । न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ । अरुतिर मंसिरसम्म रोकिने छ । मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको छ ।
यो अध्ययन रिपोर्टका आधारमा वडा नम्बर २२ र २३ को फुटपाथबारे निर्णय हुनेछ । वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले भने, ‘२२ र २३ मा विस्तार गर्न बाँकीको हकमा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडलाई आधार मानेर अगाडि बढ्ने छौं ।’
उनका अनुसार अध्ययन समितिको नेतृत्व सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीले गर्नेछन् । वडा नम्बर २२, २३ र २४ का वडाध्यक्ष सदस्य हुनेछन् । वडा नम्बर २२ ले २ जना र २३ र २४ वडाले एकएक जना विषयविज्ञ सदस्य दिनेछन् ।
निर्माण विभागका विभागीय प्रमुख सुरज शाक्य सदस्य सचिव रहने यो समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनुपर्ने छ । समितिले प्रतिवेदन तयार पारेपछि स्थानीयबासीसँग छलफल गर्ने वडाध्यक्ष महर्जनले बताए । यो सहमतिसँगै वडा नम्बर २२ को आन्दोलन रोकिएको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । उनले अगाडि भने, ‘आज साँच्चै जनताको जित भएको छ ।’