Category: समाचार

  • देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक

    देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक

    काठमाडौं । देशभर २२ जनामा हैजा पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भएपनि उमालेर पिउन भनेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरे । डा. बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ।

    यसका साथै काठमाडौंको टोखा तथा कैलालीको धनगडीमा पनि हैजा संक्रमित भेटिएका छन् । खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाईमा प्राय सबै सजग रहेपनि बर्खायाममा पानीको स्रोतमा ढल मिसिने तथा पहिरोले पानीको पूर्वधारलाई हानी पुर्‍याउँदा हैजाको संक्रमण नेपालमा हरेक वर्ष देखिने गरेको छ ।

    ुभिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र वान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन् । डा. बुढाथोकीका अनुसार हैजाको जिवाणुबाट संक्रमित भएकाहरूले समयमा नै उचित स्वास्थ्योपचार नपाएमा मृत्यु हुने जोखिम उच्च रहेको छ ।

    हैजा भनेको सामान्य झाडापखाला जस्तो होइन । तुरन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मुत्युदर हुन्छ । हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण नहुने तर उनीहरूको दिसामा संक्रमित भएको १० दिनसम्म हैजाको जिवाणु हुनसक्छ । त्यस्ता संक्रमितले अरुलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ ।


    डा. बुढाथोकीले देशका अन्य स्थानबाट पनि हैजा संक्रमित भेटिएको खबर आएपनि त्यो र्‍यापिड किटको परीक्षणमा मात्रै देखिएको र प्रयोगशालामा कल्चर गरेर हेर्दा ुभिब्रियो कोलेरा नभेटिएको पनि बताए । हैजाबाट जोगिनका लागि पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनु पर्छ ।

    यसका साथै झिंगा लागेका, सडेगलेका, नपाकेका र खुलास्थानमा राखिएका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका साहयताले निर्मलिकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । यस्तै, शौचालयको प्रयोग गरेपछि तथा खानाखानु अघि अनिवार्य रूपमा साबुन पानीले मिचिमिची हात धुने बानी गर्नुपर्छ ।

  • तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

    तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • १८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

    १८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

    काठमाडौं । सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो । पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ ।

    कुन देशमा को ?

    डा. शंकरप्रसाद शर्मा – भारत
    कान्ता रिजाल – अस्ट्रेलिया
    नरेशविक्रम ढकाल – साउदी अरेबिया
    प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
    प्रा. धनप्रसाद पण्डित – इजरायल
    रामकृष्ण भट्टराई – श्रीलङ्का
    शनिल नेपाल – स्पेन
    डा. शैल रुपाखेती – जर्मनी
    लोकदर्शन रेग्मी – अमेरिका
    चन्द्रकुमार घिमिरे – बेलायत
    डा. शिवमाया तुम्बाहाम्फे – दक्षिण कोरिया
    जङ्गबहादुर चौहान – रुस
    रमेशचन्द्र पौडेल – कतार
    प्रा. डा. कृष्णप्रसाद ओली – चीन
    सुम्निमा तुलाधार – डेनमार्क
    डा. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
    प्रकाशमणि पोखरेल – पोर्चुगल
    रीता धिताल – पाकिस्तान

  • पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त

    पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त

    काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक(२०२४ को ब्याडमिन्टनमा बुधबार आफ्नो तेस्रो खेलमा पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनामा भएको समूह ‘पी’ अन्तर्गत पुरुष एकलको आफ्नो तेस्रो खेलमा इजरायलका मिसा जिलबरमनसँग २–० को सेटमा पराजित भएसँगै प्रिन्सको पनि चुनौती समाप्त भएको हो।

    प्रिन्स पहिलो सेट २१–१२ र दोस्रो सेट २१–१० ले पराजित भए। यसअघि प्रिन्स दोस्रो खेलमा खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७ र २१–५ को सोझो सेटमा पराजित भएका थिए।

    विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सले पहिलो खेलमा विश्व वरीयताको नम्बर दुई खेलाडीसँग भिडेका थिए। समूह चरणको पहिलो खेलमा पूर्व जुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए।
    ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।

    प्रिन्स पराजित भएसँगै नेपालका ६ खेलाडीको चुनौती समाप्त भएको छ। नेपाली पौडीवाज एलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रिस्टायलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे पनि हिट चरणबाटै आउट भएका थिए। यसअघि पौडीकै डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, जुडोकी मनीता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै प्रतियोगिताबाट बाहिरिएका थिए।

    अब एथलेटिक्सको महिला म्याराथन (४२.१९५ किलोमिटर) मा सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा प्रतिस्पर्धा गर्ने छिन्। सन्तोषीको स्पर्धा नै नेपालको अन्तिम प्रतिस्पर्धा हुनेछ। सन्तोषी मंगलबार पेरिस पुगेकी छिन्।

  • एमसीसीका तीन वटै सव-स्टेशनमा लाग्यो ठेक्का

    एमसीसीका तीन वटै सव-स्टेशनमा लाग्यो ठेक्का

    काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान र सरकारको लगानीमा निर्माण हुने परियोजना अन्तर्गत तीनवटै सबस्टेसन निर्माणको ठेक्का सम्झौता भएको छ । एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माण गर्न भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेसँगै तीनवटै सबस्टेसनको ठेक्का लागेको हो । बुधबार एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालबीच सो सम्झौतामा हस्ताक्षर भएको हो ।

    टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङले यो सबस्टेसन ३ करोड ८८ लाख अमेरिकी डलर (करिब ५ अर्ब १६ करोड रुपैयाँ) मा निर्माण गर्ने गरी सम्झौता भएको एमसीए नेपालले जनाएको छ । यसअघि नुवाकोटको रातमाटे सबस्टेसन निर्माणका लागि पनि यही कम्पनीसँग सम्झौता भएको थियो । यी दुवै सबस्टेसन एक हजार मेगाभोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसन मध्येका हुनेछन् ।

    नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए नेपालले जनाएको छ । कार्यक्रममा ऊर्जामन्त्री दिपक खड्काले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने बताए । आयोजना समयमै सम्पन्न गर्न उनले सरोकारवालालाई आह्वान गरे ।

    एमसीसी अनुदानका परियोजना सम्पन्न हुँदा नेपालको औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित हुने अर्थ मन्त्रालयका सचिव एवम् एमसीए नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले बताए ।

    समावेशी एवम् दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पुर्‍याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट साझा सफलताको कथाको महत्त्वपूर्ण अंग बन्ने नेपालका लागि अमरिकी राजदूत डिन आर। थम्प्सनले बताए ।

    एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्त्वपूर्ण भएको बताए ।एमसीसीको अनुदान अन्तर्गत तीन बसस्टेसनका साथै काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन पनि निर्माण हुँदै छ ।

    त्यसमध्ये १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन कार्य भइरहेको एमसीए नेपालले जनाएको छ । यो परियोजनाको ठेक्का सम्झौता यही साउनमा हुने तयारी रहेको पनि एमसीए नेपालले जनाएको छ ।

    बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको एमसीए नेपालले जनाएको छ । त्यस्तै, सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसन सम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको पनि एमसीएले जनाएको छ । एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदैछ ।

    त्यसमध्ये ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन, ४ सय केभीकै तीनवटा सबस्टेसन तथा दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने तीन परियोजना यो बजेटबाट कार्यान्वयन हुनेछन् ।

    यसअघि गत वर्षको ८ जेठमा प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेन्डर आह्वान भएकोमा निर्माणको प्रस्ताव गर्ने कम्पनीमध्ये पाँचवटा प्राविधिक रुपमा योग्य ठहरिएका थिए । कम्पनीहरूले गरेको सबैभन्दा कमको टेन्डर नै एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो टेन्डर प्रक्रियालाई गत २६ असोजमा सम्पूर्ण रुपमा रद्द गरिएको थियो ।

  • परराष्ट्र मन्त्री राणा पुगिन राहदानी विभाग

    परराष्ट्र मन्त्री राणा पुगिन राहदानी विभाग

    काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा राहदानी विभागको अनुगमनमा पुगेकी छिन । उनी बुधबार त्रिपुरेश्वरस्थित विभागको कार्यालय पुगेकी हुन् । उनले सो क्रममा सेवाग्राही सङ्ग समेत प्रतिक्रिया लिएकि छिन् । हरेक मन्त्रीले राहदानी वितरण सहज बनाउने भने पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन ।

  • भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता

    भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।

    प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ । रासस

  • उपत्यकासहित मधेश र लुम्बिनीमा लगातार भारी वर्षा

    उपत्यकासहित मधेश र लुम्बिनीमा लगातार भारी वर्षा

    काठमाडौं । पछिल्लो ६ घन्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको शक्तिखोरमा पछिल्लो ६ घन्टामा १३६.६ मिलिमिटर वर्षा भएको छ। चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा ११७.६ मिलिमिटर पानी परेको छ। धादिङ गजुरीमा ८० मिलिमिटर वर्षात् भएको छ।

    सिन्धुपाल्चोकको भोताङमा पनि पछिल्लो ६ घन्टामा १०३.६ मिलिमिटर पानी परेको छ। सिन्धुपाल्चोककै बाह्रबिसेमा ८३, मानेखर्कमा ७७.४, बाहुनेपाटीमा ९०, दुवाचौरमा ७९, बाँसखर्कमा ७७.४, बोल्देमा ७३.६ मिलिमिटर पानी परेको छ। काठमाडौंको धापमा पनि भारी वर्षा भएको छ।

    धापक्षेत्रमा ९९.६, बूढानीलकण्ठमा ८९.४, भक्तपुरको नगरकोटमा ८३ मिलिमिटर पानी परेको छ। पश्चिम नवलपरासीको सेमरीमा पछिल्लो ६ घन्टामा ८७.२, बाराको परवानीपुरमा ७५.१ बराकै रजुवामा ९१ मिलिमिटर पानी परेको छ। त्यस्तै कपिलवस्तुको तौलिहवामा ७९.६ मिलिमिटर पानी परेको छ।

  • एमाले पार्टी कार्यालय आसपास पुनः डुबान

    एमाले पार्टी कार्यालय आसपास पुनः डुबान

    काठमाडौं । रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुगेको छ । बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको छ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको थियो ।

    अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि हिलैहिलो भएकाले हिँड्नै नसकिने अवस्था छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ ।

    सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेर हिलाम्मे भएको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।


    ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका बागमती नदी किनारका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ ।

  • भारतको केरलामा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

    भारतको केरलामा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

    काठमाडौं । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

    तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २(३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए ।

    अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्रीले पिनरई विजयनले आह्वान गरेका छन् ।

    यद्यपि आपदा मोचन बलको टोली डोरीको सहायताले मुण्डाक्कईमा पुगेर एकै स्थानबाट ३० भन्दा बढी शवहरु संकलन गरेको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले बताएका छन् ।

    केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । तर यो बाढीपहिरोमा नेपालीहरु परेरनपरेको अझै स्पष्ट हुन सकेको छैन । खोज तथा उद्धारमा सेना, नौसेना, वायु सेना, आपदा मोचन बल सहितका उद्धारकर्मीहरु परिचालन गरिएको छ । उद्धार टोलीले २५० भन्दा बढीलाई जोगाएको बताइएको छ ।

    राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आई अध्यक्ष एवम् वायनाडका सांसद राहुल गान्धी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने जनाएको छ ।

    केही दिनदेखि नै केरलाका विभिन्न स्थानमा भारी वर्षा हुँदै आएको थियो । आपदा प्रबन्धन विभागले ३० जुलाईको दिन वायनाड, कोझीकोड, मल्लापुरम, कन्नुर लगायतका क्षेत्रमा खतराको संकेत स्वरुप रेड अलर्ट जारी गरेको थियो । मौसम विभागका अनुसार ती क्षेत्रमा २४ घण्टाको अवधिमा २०४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    भारतको केरला पहाडी इलाका हो । यहाँ ठूलो संख्यामा पर्यटकहरु पुग्ने गर्दछन् । सन् २०१८ मा केरलामा आएको बाढीपहिरोमा ५०० जनाको मृत्यु भएको थियो ।

  • केरलामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९३ नाघ्यो

    केरलामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९३ नाघ्यो

    काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । मंगलबार बिहानै केरलाको वायनाड जिल्लामा गएको पहिरोमा परी कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ । पहिरो गएकै स्थानमा ६५ जनाको शव फेला परेको छ ।

    अन्य शव चलियार नदीले बगाएर छिमेक मालाप्पुरमा जिल्ला पुर्‍याएको थियो । पहिरोका कारण वायनाड जिल्लाको मुन्दक्कै, अटामाला, चोरलमाला र कुनहोम क्षेत्र प्रभावित भएका छन् । भारी वर्षा र पुलहरू भत्केको कारण उद्दार भइरहे पनि समस्या भइरहेको छ । सेना र प्रहरी गरी २०० जना उद्दार कार्यमा संलग्न भएको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको यकिन विवरण दिन सकिने प्रतिक्रिया दिएकी छन् । उनले १२५ जना घाइतेको उपचार भइरहेको र २५० जनाको उद्दार गरिएको बताएकी छन् । स्थानीयले फरकफरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ । भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय तथा कलेज बन्द गरिएको छ ।

    भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ । सन् २०१८ यतामात्रै केरलाको विभिन्न क्षेत्रमा गएको पहिरोले ४०० जनाको ज्यान गइसकेको छ । २०१९ मा अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो ।

  • सचिवहरुलाई प्रधानमन्त्रीको आश्वासन : भविश्यको चिन्ता नगर्नुहोस

    सचिवहरुलाई प्रधानमन्त्रीको आश्वासन : भविश्यको चिन्ता नगर्नुहोस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई आग्रह गरेका छन् । कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’ मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताए ।

    कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा २ वर्ष ओली प्रधानमन्त्री हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने उल्लेख छ । त्यही सहमति अनुसार ३० असारमा प्रधानमन्त्री भएका ओलीले आफू सहमतिप्रति प्रतिवद्ध रहेको बताए । ‘यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु’, गर्छ कि गर्दैन भन्ने कुनै दुविधा नहुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा चुनावसम्म जाने हो ।’

    उनले कांग्रेस सांसद रमेश लेखकको नाम नलिई संसदको रोष्ट्रमबाट सबै धोका खाएकाहरु एक भएर धोकाबाट सिक्न खोजे भने के हुन्छ विचार गर्नुभएको छ कि छैन भनेको सम्झिाए । यो गम्भीर प्रश्न भएपनि आफूहरु बदला लिनुपर्छ भनेर एक नभएको प्रधानमन्त्री ओलीले बताए ।

    देश बनाउन भरपर्दो, स्थिर र एक्सन ओरेन्टेड सरकार बनाएको भन्दै उनले भने, ‘शान्ति सुव्यवस्था कायम गरिछाड्ने, भ्रष्टाचार नियन्त्रण गरिछाड्ने, विकास अगाडि बढाइछाड्ने, सुशासन कायम गरिछाड्ने, जनतालाई सकेसम्म उपयुक्त ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सरकार बनेको हो ।’

    केही गरौं भन्ने प्रतिवद्धताका साथ सरकार बनेको भन्दै ओलीले व्यक्तिगत आग्रह पूर्वाग्रहलाई नहेर्ने बताए । ‘कुनै पनि भेदभाव हुँदैन भनेको काम गरे पनि उस्तै, नगरे पनि उस्तै चाहिँ हुँदैन, मूल्यांकन हुन्छ’, प्रधानमन्त्री ओलीले सचिवहरुलाई भनेका छन्, ‘तर मूल्यांकन आग्रहमा आधारित हुन्न ।’

  • प्रचण्ड भन्छन् : अब म जनतासँग जान्छु

    प्रचण्ड भन्छन् : अब म जनतासँग जान्छु

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशव्‍यापी अभियानमा निस्कने बताएका छन् । मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने बताएका हुन् ।

    ‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरुको कुरा सन्नुका लागि जाने इच्छा छ’ बैठकमा प्रचण्डले भनेका छन् ।

    देशब्यापी अभियानबाट फर्कदा विचारको नयाँ संलेषण समेत ल्याउने बताएका छन् । ‘जनताको कुरा सुनेपछि अर्को तहको विचारको संलेसन आउँछ’ प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने ।

  • आगामी चुनाव माओवादीले एक्लै लड्ने

    आगामी चुनाव माओवादीले एक्लै लड्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् ।

    सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको प्रचण्डले बताएका छन् । आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरु, हाम्रा राजनीतिक कार्यदिशाहरु, हाम्रा दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकियोस्’, बैठकको निर्णय जानकारी दिदै प्रवक्ता सापकोटाले भने ।

    यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरु जनतामा लैजान अप्ठ्यारो परेको उनले बताए । तर एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।

    ‘हामीले के निष्कर्ष निकालेका छौं भने यो जनतामा जाने सूवर्ण अवसर पनि हो’, सापकोटाले भने । बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने पनि निर्णय गरेको छ । ‘देशभक्त र अग्रगामीहरुको संयुक्त मोर्चा पनि बनाउनुपर्छ, साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठनका निम्ति निरन्तर निरन्तर गरिरहनुपर्छ’, उनले भने ।

  • समिट एनएचएनसी कप–२०२४ सम्पन्न

    समिट एनएचएनसी कप–२०२४ सम्पन्न

    म्यानचेस्टर

    न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।

    विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता भरमण्ट फूटबल टिमले नगद तिनहजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

    विजेता तथा उपविजेता टिमहरुलाई न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, समिट न्यूह्यामसर एलएलसीका अध्यक्ष रविन थापा, नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व कप्तान दिपक अमात्य, गैर आवशीय नेपाली संघ अमेरिका न्यूह्यामसर च्याप्टरका अध्यक्ष कमल ढुंगाना र न्यूह्यामसर नेपाली समाजका पूर्वअध्यक्ष सोम गुरुङले संयुक्त रुपमा पुरस्कार, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

    यसबर्षको प्रतियोगिताको मुख्य प्रायोजन समिट न्यूह्यामसरले गरेको थियो भने अन्य विभिन्न स्थानीय व्यबसायीहरुले सह–प्रायोजन गरेका थिए ।

    न्यूईङ्ल्याण्ड क्षेत्रकै प्रतिष्ठित र ठूलो धनराशी रहेको प्रतियोगितामा न्यूयोर्क, मासाचुसेट्स, कनेक्टिकट, भरमण्ट र न्यूह्यामसर राज्यका गरि १२ टिमले सहभागिता रहेको थियो ।

    ‘खेलको माध्यमबाट न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीभाषीहरुबीच भाइचारा र भातृत्वको विकास गर्ने हाम्रो निरन्तर प्रयास हो’ आयोजक न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले भने ‘आगामी बर्षहरुमा फूटबलका अलवा अन्य खेलहरु पनि थप्दै जानेछौं ।’

    यसैगरी प्रतियोगिताको मुख्य प्रायोजक समिट न्यूह्यामसरका अध्यक्ष रविन थापाले खेलकुद नेपालीभाषी युवापुस्तालाई जोड्ने माध्यम भएको बताए । ‘न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने उत्कृष्ठ खेलाडीहरुको टिम बनाएर प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि नेपालसम्मै लाने हाम्रो जमर्को रहनेछ’ उनको भनाइ थियो । थापाले खेलाडीहरुलाई नेपालसम्म लैजानको लागि ब्यबस्थापकीय काममा समिट न्यूह्यामसरले सक्दो सहयोग गर्ने बचन दिए।

  • भारतको केरलामा पहिरो, सयौं मानिस बगेको आशंका

    भारतको केरलामा पहिरो, सयौं मानिस बगेको आशंका

    केरला । भारतको केरलामा भिषण पहिरो गएको छ । जसमा सयौं मानिस बगेको आशंका गरिएको छ । अहिले रेस्क्यू अपरेशन जारी रहेको छ । केरलाको वायनाड जिल्लामा पहिरो गएको हो ।

    केरलामा लगातारको वर्षापछि पहिरो गएको बताएको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको खबर आएको छ । प्रशासनले चार जनाको मात्र मृत्युको पुष्टी गरेको छ । ५० जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

  • झारखण्डमा एक रेल्वे गाडीका १० डिब्बा पटरीबाट उछिट्टिए

    झारखण्डमा एक रेल्वे गाडीका १० डिब्बा पटरीबाट उछिट्टिए

    काठमाडौं । मुम्बई–हावडा रेल्वे अन्तर्गत झारखण्डमा एक रेल गाडीका १० डिब्बा पटरीबाट उछिट्टिएका छन् । घटनामा अहिलेसम्म ६ मानिस घाइते भएको खबर छ । झारखण्डको सरायकेला–खरसावाँ जिल्लामा मंगलबार यो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि यो रेल्वे लाइनमा सेवा अवरुद्ध भएको छ ।

  • पाकिस्तानमा साम्प्रदायिक हिंसा, कम्तिमा ४३ मारिए

    पाकिस्तानमा साम्प्रदायिक हिंसा, कम्तिमा ४३ मारिए

    काठमाडौं । पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीच भएको भूमिसम्बन्धी विवादमा साम्प्रदायिक हिंसा भएको छ । घटनामा ४३ जनाको हत्या भएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो ।

    अधिकारीहरुकाअनुसार ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । दशकौँदेखि भइरहेको कृषि भूमि विवादमा वार्ता गरिरहेको परिषद्मा एकजनाले गोली चलाएपछि साम्प्रदायिक हिंसा शुरू भएको हो । सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि हिंसा भइरहेको बीबीसीले जनाएको छ ।

    त्यहाँको सरकारी अधिकारीकाअनुसार हिंसामा सबैभन्दा धेरै अल्पसङ्ख्यक सम्प्रदायका छन् । कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा भएपनि सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा विलय भएको थियो ।

  • केही दिन भारी वर्षाको सम्भावना

    केही दिन भारी वर्षाको सम्भावना

    काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। पछिल्लो २४ घन्टामा सुनसरीको धरानमा भारी वर्षा भएको छ। त्यहाँ ८२ मिलिमिटर वर्षा भएको छ। इलामको सोक्तिम चिया बगान क्षेत्रमा पनि भारी वर्षा भएको छ। त्यहाँ ७३.६ मिलिमिटर पानी परेको छ। दैलेखको कट्टी केन्द्रमा ५३ मिलिमिटर वर्षा भएको छ। खोटाङको ऐँसेलुखर्कमा ४७.४ मिलिमिटर वर्षा भएको छ।

  • बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    १२ साउन अर्थात् शनिबार मात्रै सरकारलाई पूर्णता दिएका लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

    सत्ता समीकरण परिवर्तन भएसँगै ६ साउनमा मुख्यमन्त्रीबाट नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै कांग्रेस–एमालेको समीकरणबाट लामाले ९ साउनमा सरकारमा दावी पेश गरेका थिए । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिन लामालाई नियुक्त गरेर १० साउनमा सपथ गराएका थिए ।

  • प्रिन्स दाहालको पेरिस ओलम्पिकमा लगातार हार

    प्रिन्स दाहालको पेरिस ओलम्पिकमा लगातार हार

    काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७, २१–५ ले सहजै पराजित भए । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चे ।

    प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रो सेटमा ४ अंक जोडेका थिए । आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोस्रो सहभागिता हो । उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए ।

    विश्व वरीयतामा १७२औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८, २१–६ ले पराजित भएका थिए ।

    समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने छन् । कठिन मानिएको समूह पी मा प्रिन्ससहित ४ खेलाडी छन् ।ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

  • तीन प्रदेशमा प्रमुख हटाएर नयाँ नियुक्ति

    तीन प्रदेशमा प्रमुख हटाएर नयाँ नियुक्ति

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ । बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरिएको हो ।

    सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकार परिवर्तनपिच्छे आफ्नो पार्टी निकटका मान्छेलाई प्रदेशमा लैजाँदा संघसँगै प्रदेश सरकार समेत अस्थिर बनिरहेका छन् ।

  • पेरिस ओलम्पिकमा जुडोकी मनिताको चूनौति समाप्त

    पेरिस ओलम्पिकमा जुडोकी मनिताको चूनौति समाप्त

    काठमाडौं । पेरिस ‌ओलम्पिक २०२४ अन्तर्गत जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमा पराजित भएकी छिन्। उनी सोमबार भएको महिला ५७ केजी तौल समूहअन्तर्गत अन्तिम ३२ को खेलमा सर्वियाकी खेलाडीसँग पराजित भएकी हुन्। सर्वियाकी मारिका पेरिसिकसँग मनिता १०–० अंकको अन्तरले पराजित भइन्। यससँगै नेपालका चार खेलाडीको चुनौती समाप्त भइसकेको छ।

    यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा आफ्नो पहिलो खेलमै पराजित भएका थिए। यस्तै ब्याडमिन्टनका प्रिन्स दाहाल समूहको पहिलो खेलमा विश्व नम्बर दुई खेलाडीसँग हारेका थिए। प्रिन्सले आज राति आफ्नो दोस्रो खेलमा आयरल्यान्डका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन्।

  • सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस

    सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस

    काठमाडौं । सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको हो । सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूत सिफारिस भएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको छ ।चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत छन् । ती देशमा नयाँ राजदूत सिफारिस भएका हुन् ।

  • अर्थसचिव सहित २२ सचिवको एकसाथ सरुवा

    अर्थसचिव सहित २२ सचिवको एकसाथ सरुवा

    काठमाडौं । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीसहित सचिवहरुको सरुवा गरेको छ । २२ जना सचिवहरुको एकैपटक सरुवा भएको स्रोतले जाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको हो । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेलाई राजस्व सचिवको जिम्मेवारी दिइएको छ । यसअघि सरकारले तत्काल सचिवहरुको सरुवा नगर्ने भने पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन ।

  • युक्रेन भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी, के छ चर्चा ?

    युक्रेन भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी, के छ चर्चा ?

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन भ्रमणको तयारी गरेका छन् । उनले आगामी अगष्ट महिनामा युक्रेन भ्रमण गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो भ्रमणका दौरान रुस र युक्रेन युद्ध समाप्तिका लागि मध्यस्थता गर्ने छन् ।

    भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमणको समाचार समेत रुसी सरकारी सञ्चारमाध्यमले ब्रेक गरेका छन् । रुसको रुसी सरकारी टिभी च्यानल तासले यसको जानकारी गराएको छ । भारत र रुस बीच पुरानो सम्बन्ध छ । यसअघि मोदीले रुसको औपचारिक भ्रमण गरिसकेका छन् ।

  • पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज

    पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज दुई नेपाली खेलाडीको प्रतिस्पर्धा हुँदैछ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्दैछिन् । यो खेल फ्रान्सको स्थानिय समय अनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ ।

    यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाले समूह चरणमा आफ्नो दोस्रो खेल आज खेल्नेछन् । मेन्स सिंगल्सको समूह पी मा रहेका प्रिन्सले आयरल्याण्डका एनहात गुएनसँग प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल फ्रान्सको स्थानिय समय अनुसार राती ९ः१० बजे (नेपाली समय अनुसार पौने १२ बजे) हुनेछ ।

    प्रिन्स समूहको पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर एक्सेलसनसँग २–० ले पराजित भएका थिए । गुएनले भने पहिलो खेलमा इजरायलका मिसा जिरब्यानलाई २–१ ले पराजित गरेका थिए ।

    पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले भाग लिएकोमा ३ खेलाडीको चुनौती पहिलो चरणमै समाप्त भएको छ । टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पहिलो चरणबाटै बाहिरिए । मनिता र प्रिन्स बाहेक नेपालबाट अब पौडीका एलेकज्यान्डर शाह र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

  • बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली

    बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली

    काठमाडौं । चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोली स्वदेश फर्किएको छ । त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको उनीहरुको निष्कर्ष छ । पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर र प्राविधिक समेतको १२ जनाको टोली आइतवार स्वदेश फर्किएको छ।

    नेपालबाट बिदा हुनुअघि भारतीय टोलीले उच्च वेग सहितको धमिलो पानी भएका कारण आफूहरूसँग भएका उपकरणले नतिजा नदिएको प्रतिक्रिया दिएको
    छ । भारतको न्याश्नल डिजास्टर रेस्पोन्स फोर्सका विशेषज्ञहरूले एक सातासम्म गरेको खोजीबाट पनि बस र थप बेपत्ताहरू पत्ता लाग्न सकेनन्। नेपालको अनुरोधमा आएको भारतीय प्राविधिक टोली साउन ६ गतेबाट एक सातासम्म नेपालका सुरक्षा निकायहरूसँग मिलेर खोजीमा खटिएको थियो।

    हालसम्म दुर्घटनामा परेका २५ जना यात्रुहरूको शव नेपाल र भारतका विभिन्न ठाउँमा भेटिएको छ भने दुर्घटनाको १७औँ दिनसम्म पनि ३६ जनाको अवस्था अज्ञात छ । नेपाली र भारतीय दुवै टोलीको पछिल्ला दिनहरूको खोजी बस नदीमा खसेको भनिएको सिमलताल र जुगेडीबीचको क्षेत्रमा केन्द्रित थियो।

    त्रिशूलीमा हराइरहेका दुवै बस त्यही तीन किलोमिटर क्षेत्रमा रहेको हुनसक्ने आशङ्का गरिए पनि नेपाली र भारतबाट आएका प्राविधिकहरूसँग भएका उपकरण र जनशक्तिले उक्त क्षेत्रमा प्रभावकारी खोजी गर्न नसकेको बताइएको छ । भारतीय टोलीले पनि सिमलताल र चितवनकै गाइघाटबीचको क्षेत्रमा बस हुनसक्ने आकलन गरेको र त्यसबारे विस्तृत प्रतिवेदन दिने जनाएको छ ।

  • पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

    पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

    काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ ।

    यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । यही मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

  • मौद्रिक नीतिपछिको सेयर बजारमा उच्च वृद्धि

    मौद्रिक नीतिपछिको सेयर बजारमा उच्च वृद्धि

    काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन आइतबार सेयर बजारमा ११३ अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २६८१ अंकमा पुगेको छ । आइतबार कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागेको बजारमा दोस्रो सर्किट ब्रेकपछि सम्हालियो ।

    बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।

    दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन । १२ ः ०२ बजे नेप्से आजको अधिकतम अंक २७०८ मा पुगेको थियो । यस दिन माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रका सूचक बढे । माइक्रोफाइनान्स भने १० अंकले घट्यो ।

    बैंकिङ सबैभन्दा धेरै ९.८९ प्रतिशत बढ्यो । विकास बैंक ४.८, फाइनान्स १.२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर ०.८३, लगानी ५.७५, जीवन बीमा ४.२४, उत्पादन १.७२, निर्जीवन बीमा २.६८, अन्य ३.१९ तथा व्यापार २.६२ प्रतिशतले बढेको छ ।

    स्टान्डर्ड चार्टर्डबाहेक अरु १८ वाणिज्य बैंकको मूल्य १० प्रतिशत बढ्यो । स्टान्डर्ड चार्टर्डको ८.३ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।