Category: समाचार

  • म्याग्दीमा तयार भयो नयाँ पदमार्ग

    म्याग्दीमा तयार भयो नयाँ पदमार्ग

    काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई किलोमिटरभन्दा बढी पदमार्ग, दुईवटा आश्रयस्थल, खानेपानी, दृश्यावलोकन स्थललगायत पूर्वाधार निर्माण गरेका हुन् ।

    प्रदेश सरकारको १३ लाख रुपैयाँ, गाउँपालिका र युएनडीपीको १२–१२ लाख रुपैयाँमा बजेटमा पदमार्ग, आश्रयस्थल, दृश्य अवलोकनस्थल र खानेपानीको पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए ।

    पूर्वाधारबाट खोपारा भ्रमणमा आउने पर्यटक, खयर ताल जाने भक्तजन, तीर्थयात्रीहरुलाई सुविधा पुगेको छ । उद्योग तथा पर्यटन कार्यालयमार्फत विनियोजन भएको बजेटबाट खोपारादेखि खयरतर्फ जाने पदमार्गमा एक किलोमिटर २ सय मिटर माटो काटेर र दुई सय ४५ मिटर ढुंगा छापेको पदमार्ग निर्माण भएको कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए । खानेपानी भण्डारण गर्न पाँचवटा ट्याकी राखिएको छ ।

    पैदलयात्रीलाई विश्राम गर्नका लागि १६ वटा फलामको बेञ्च राखिएको छ । लाकुशेको मुहानमा ट्यांकी बनाएर पदमार्ग र खोपाराको सामुदायिक लजमा खानेपानीको व्यवस्थापन गरिएको हो । युएनडीपी र अन्नपूर्ण गाउँपालिकाको साझेदारीको कार्यक्रममार्फत चमकी ओडार क्षेत्रको साँघुरो पैदलमार्गको डिलतर्फ ५३ मिटर फलामको रेलिङ राखिएको छ ।

    दुई सय ३६ मिटर ढुंगाको सिँढी, सात सय ९८ मिटर माटो काटेको पदमार्ग र दुई ठाउँमा आश्रयस्थल बनाइएको अन्नपूर्ण गाउँपालिका–५ का प्राविधिक रोहित बस्ताकोटीले बताए । राते र सुनौलोमा एकरएकवटा ट्रसले छाएको १० देखि १५ जना बास बस्न सक्ने आश्रयस्थल निर्माण भएको छ ।

    खोपाराको सामुदायिक लजको नयाँ भवनको डिलतर्फ पर्खाल बनाएर संरक्षण गरिएको छ । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोपारालाई केन्द्र बनाएर अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ ।

    सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइँ र यात्राअवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तव्य बनाउने उद्देश्यअनुसार पूर्वाधार विस्तार गरिएको अन्नपूर्ण–५ का वडाअध्यक्ष राजेश तिलिजा पुन बताए । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्र पर्छ । घोडेपानी, शिख, पाउद्वार र नारच्याङबाट खोपारा जोड्ने पदमार्ग छन् । खोपारामा रहेको ६० जना क्षमताको लज समुदायले सञ्चालन गरेका हुन् ।

    सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन खोपारामा सुरु गरिएको सामुदायिक लजलाई पछिल्लो समय पर्यटन सहकारी संस्थामार्फत सञ्चालन गरिएको छ । खोपाराको विकासमा अगुवाइ गरिरहेका राजु पुनका अनुसार पूर्वाधार नहुँदा र पर्यटक नआउँदा खोपारा स्थानीयवासीको भैंसी गोठमा सीमित थियो ।

    गुराँसको जङ्गलको बीचमा पहाडको टाकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो । अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृश्य अवलोकन गर्न सकिन्छ । खोपाराको प्राकृतिक सौन्दर्यले यात्राको थकान र दुःख बिर्साउने पर्यटकरुको अनुभव छ ।

    पाउद्वारवासीले खोपारा र खयरभारानी थान जोड्ने पदमार्गमा एक करोड ६० लाख रुपैयाँभन्दा बढी चन्दा जुटाएर पूर्वाधार निर्माण गरेका छन् । जंगल, भिर र अप्ठ्यारो पहाडको बाटोमा आफ्ना दिवंगत भएका आफन्तको सम्झनामा १० किलोमिटरभन्दा बढी पदमार्ग, एक सयवटा चौतारी, तीनवटा धर्मशाला र १० ठाउँमा पानीका धारा बनाएका छन् ।

  • मनसुनयता १२५ जनाको विपदमा परी मृत्यु

    मनसुनयता १२५ जनाको विपदमा परी मृत्यु

    काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ। विपदमा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


    उनका अनुसार विपदमै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन् । यसै गरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ ।

    बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताउनुभयो । उनले भने , “बाढीपहिरोलगायत विपदमा परी बेपत्ता भएकाको खोजी भइरहेको छ ।”

    सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्याङ्क यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । विपदमा पाँच सय ८५ वटा पशुचौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन् । रासस

  • बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

    बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

    काठमाडौं । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए ।

    “प्रदर्शनकारीहरूले सबैभन्दा पहिला रामपुरामा एक प्रहरी चौकीमा आगो लगाएपछि प्रहरीले उनीहरूमाथि गोली चलायो”, राजधानी ढाकाको छिमेकलाई उद्धृत गर्दै ती अधिकारीले भने, “बिटिभी कार्यालयमा शरण लिएका प्रहरी अधिकारीहरू उनीहरूले पछ्याउँदै आए, त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले यहाँ उत्पात गरे ।”

    बिटिभीको प्रमाणित फेसबुक पेजमा आगो ‘विनाशकारी’ र ‘तीव्ररूपमा फैलिरहेको’ उल्लेख छ । प्रसारकले भनेको छ, “हामीले अग्निशमन सेवाबाट सहयोग खोजेका छौँ, धेरै मानिस भित्र फसेका छन् ।”

    बङ्गलादेशको प्रहरी बलले यो साता निजामती सेवा भर्ती नियममा सुधारको मागसहित जारी विद्यार्थीहरूको विरोध प्रदर्शनमा हिंसात्मक कारवाहीलाई तीव्र बनाएको छ । यो साता अहिलेसम्म भएका झडपहरूमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ । रासस, एएफपी

  • ७ साउनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

    ७ साउनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

    काठमाडौं । प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने तय भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य–प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो ।

    सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलो पटक प्रश्नोत्तर हुन लागेको हो । सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्ने गरी दुई साताको प्रतिनिधि सभाको कार्यतालिका तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि झैँ सभा र समितिका लागि सातामा तीन तीन दिनको समय तोकिएको छ ।

    प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ । नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ । प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ । सोही समूहका सदस्यले मात्र प्रश्न गर्न पाउने छन् । यस्ता प्रश्न सभामुखले तोकेको दिनभित्रै सचिवालयमा दर्ता गर्ने अभ्यास छ । एक दिनमा बढीमा १५ सदस्यले प्रश्न गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ ।

    सभामुख र दलबिचको परामर्शमा तय भएको कार्यतालिकामा साउन ६, ७ र ८ गते प्रतिनिधि सभा बैठक चलाउने उल्लेख छ । यस्तै ९, १० र ११ गते समिति सञ्चालनको समय तोकिएको छ । दोस्रो सातामा १३, १४ र १५ मा पनि प्रतिनिधि सभा सञ्चालनको प्रस्ताव छ ।

    औपचारिक रूपमा कार्यतालिका शुक्रबार टुङ्गिने छ । प्रश्नोत्तरलगायतका दिनबाहेक आकस्मिक, शून्य र विशेष समय पनि सञ्चालत हुने छन् । यस्तै यसबिचमा विधायन व्यवस्थापन, सुरक्षण मुद्रणलगायतका विधेयकलाई पनि अघि बढाइने छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पनि अघि बढाउने गरी कार्यतालिकामा समावेश छ ।

    कार्यतालिकामा समावेश नभए पनि आकस्मिक रूपमा कुनै विधेयक अघि बढाउन सकिने छ । यस्तै मन्त्रीहरूले सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिन चाहे समय उपलब्ध हुने छ । संसदीय अभ्यास अनुसार विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखले समय माग गरेमा दिनुपर्ने छ । विषयवस्तु हेरेर आकस्मिक समय पनि निर्धारण हुने छ ।

  • देशैभर भारी वर्षाको चेतावनी

    देशैभर भारी वर्षाको चेतावनी

    काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ । विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ । आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ ।

  • प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

    प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए ।

    प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए । राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएपछि उनी केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको हैसियतमा पनि काम गरेका थिए ।

  • नडराई निर्णय लिन प्रधानमन्त्रीको सचिवहरुलाई निर्देशन

    नडराई निर्णय लिन प्रधानमन्त्रीको सचिवहरुलाई निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए ।

    ‘एक दिनमा एक पाइला भएपनि अघि सारौं, त्यसका लागि एक दिन पनि आराम नगरी काम गर्नुपर्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवले भने,‘हामी छिट्टै अतिकम विकसितबाट विकासील राष्ट्रमा स्तरोन्नति हुँदैछौं, त्यसलाई मध्यनजर गरेर सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासन, राष्ट्रिय उत्पादन, उत्पादकत्व, विकास, सुशासन, सामाजिक न्याय र जनविश्वासमा सुधारका काम गर्नुस् ।’

    सरकारलाई सफल बनाउने जिम्मेवारी कर्मचारीको पनि हुने भन्दै प्रधानमन्त्रीले बजेट पुगेन भनिरहने र विनियोजित बजेट पनि खर्च नहुने अवस्था हटाउने गरी काम गर्न निर्देशन दिए ।

    प्रधानमन्त्री ओलीले असल नियतका साथ निर्णय गर्न नडराउन आग्रह गर्दै कर्मचारीलाई दुःख दिने नियतका साथ अनुगमनकारी निकायले पनि गतिविधि गर्न नहुने बताए ।

    ‘अदादतले फैसला गरिहाल्छ भन्ने ढंगबाट भ्रष्टाचार मुद्दामा कमजोर र जथाभावी अभियोजन हुनुहुँदैन,’ प्रधामनन्त्रीको भनाइ उद्धृत गर्दै ती सचिचवले भने,‘दुःख दिने नियत कसैले कतै राख्न हुँदैन ।’ उनले उच्च नैतिक चरित्रका साथ राम्रो कार्यसम्पादन गर्न र राष्ट्रिय हितलाई महत्वका साथ राखेर काम गर्न सचिवहरुलाई भनेका छन् ।

  • सुनको मूल्य प्रतितोला डेढ लाख, केहो मूल्य निरन्तर बढ्नुको कारण ?

    सुनको मूल्य प्रतितोला डेढ लाख, केहो मूल्य निरन्तर बढ्नुको कारण ?

    काठमाडौं । सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ । केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो । यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो । बुुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार ४७१ डलर पुुगेको छ ।

    अमेरिकको फ्रेडरल रिजर्भ बैङ्कले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीको भनाइ छ । ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ । वस्तु बजारमा सीमित आपूर्तिका बाबजुद माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ । अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा सुनको मूल्य समायोजन हुन्छ ।

    इजरायल युुद्ध, एसियाली बजारमा सुनको माग बढी भएकाले पनि मूल्य बढ्न गएको बताइएको छ । आगामी दिनमा सुनको मूल्य अझ बढ्ने सङ्केत देखिएको अनुमान छ । व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार सात सय डलर पुुग्ने अनुुमान गरिएको छ । त्यतिबेला नेपाली बजारमा सुनको मूल्य एक लाख ६५ हजार पुुग्न सक्छ ।


    चालुु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुु¥याएकाले पनि सुनको मूल्य तोलामा छ हजार रुपियाँ बढी पर्न गएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । यसैबिच बजारमा चाँदीको मूल्यसमेत बढेको छ । मङ्गलबार प्रतितोला एक हजार ८७५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा २० रुपियाँ बढेर एक हजार ८९५ रुपियाँमा कारोबार भएको छ ।

  • नेपाल र बंगलादेशबीच १३ साउनमा विद्युत खरीद-बिक्रि सम्झौता हुँदै

    नेपाल र बंगलादेशबीच १३ साउनमा विद्युत खरीद-बिक्रि सम्झौता हुँदै

    काठमाडौं । नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आगामी १३ साउनमा त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (.बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुने मिति तय भएको हो ।

    नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष वर्षायामको ६ महिना ४० मेगावाट बिजुली अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ । नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको झन्डै ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको हो ।

    नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने बिजुलीको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ । बिजुली बिक्री हुँदा देशलाई हरेक महिना ३३ करोड रुपैयाँ आम्दानी हुने विद्युत प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली बङ्गलादेश निर्यात गर्ने तयारी गरेको छ ।

  • टापु राष्ट्र किरिबास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना

    टापु राष्ट्र किरिबास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरिबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ ।

    न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा बुधबार उक्त नियोगमा आयोजित एक संक्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गरेका हुन् ।

    साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गरे । त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुलुकका विकासका विषय, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरिबासको जनसङ्ख्या १ लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो । नेपाल र किरिबास जी–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन् ।

  • कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?

    कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?

    काठमाडौं । देशभर मनसुनको प्रभाव यथावत छ। बिहीबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही र कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनी महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।


    बिहीबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

  • आइसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड नेपालले पायो

    आइसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड नेपालले पायो

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । फेसबुकलगायत डिजिटल माध्यममा नेपाली फ्यानको संख्या वर्षमै ४०० प्रतिशतले बढेको आईसीसीले जनाएको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल क्यानको सचिव रहेका पारस खड्काले क्यान र क्रिकेटलाई समर्थन गर्ने लाखौं शुभेच्छुकको प्रशंसा गरेका छन् ।

    ‘यसले हाम्रा शुभेच्छुक, फ्यानलगायत क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ । जो वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,’ खड्काले भनेका छन्, ‘महिला, पुरुष दुवै खेलको प्रवर्द्धन गरेर, हामी ऊर्जावान, समावेशी माहोल सिर्जना गरेर जीवन्त क्रिकेट संस्कृतिको विकास गर्ने प्रयास गरिरहेका छौं ।

    खड्काले क्यानले लिएको डिजिटल रणनीतिले फ्यानहरूलाई थप नजिक बनाउन भूमिका खेलेको बताएका छन् । उनले भनेका छन्, ‘यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीलाई खेलको विकास र हाम्रा प्रशंसकहरूलाई संलग्न गराउने हाम्रो मिसन जारी राख्न प्रेरित गर्नेछ ।’

  • स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीलाई दिए ५ दिने ‘होमवर्क’

    स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीलाई दिए ५ दिने ‘होमवर्क’

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि स्पष्ट खाका बनाएर पेश गर्न निर्देशन दिएका छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रिफिङ्सहितको भेटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजनासहितको खाका पेश गर्न भनेका हुन् ।

    यससँगै अब कर्मचारीले ५ दिने होमवर्क पाएका छन् । सबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढङ्गबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिनभित्र लिखितरुपमा समाधानका बिकल्प लिएर आउनुहोला, मिलेर गरेर समस्याको समाधान गरौँँ, मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने ।


    उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्नेमा जोड दिए । मन्त्री पौडेलले भने, ‘‘स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय हामी नै हो, मन्त्रालयको संयन्त्रभित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ, प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ ।’’

    पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन निर्देशन दिँदै भने, ‘‘हामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रित हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामिले प्राप्त गर्न सकेका छैनौं, आफूले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौं।’’

  • प्रधानमन्त्रीले ६ साउनमा विश्वासको मत लिने

    प्रधानमन्त्रीले ६ साउनमा विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । त्यसको भोलिपल्ट ३१ गते सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गरेको बर्तौलाले बताए । साउन ६ गते नै प्रधानमन्त्री ओलीले संसद् बैठकबाट देशवासीको नाममा सम्बोधन गर्ने मिति पनि तय गरेका छन् ।

  • त्रिशूलीमा वेपत्तामध्ये १९ शव फेला, १४ को सनाखत

    त्रिशूलीमा वेपत्तामध्ये १९ शव फेला, १४ को सनाखत

    काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् । बाँकी ५ जनाको भने सनाखत हुन बाँकी छ । सनाखत हुन बाँकी रहेका शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् ।

    आज मात्रै ५ वटा शवको सनाखत भएको छ । असार ३१ गते पूर्वी नवलपरासीको विनयत्रिवेणीमा भेटिएको शव रामनगरका जितेन्द्र देवको आज सनाखत भएको छ । यस्तै, गरुडा ९ रौतहटका ९ बर्षीय बालक अशोककुमार यादव, सखुवा प्रसौनी २ पर्साका २८ बर्षियाा महिला चन्द्रप्रभा कुमारी चौधरीको शवको सनाखत भएको छ ।

    उनीहरुको शव असार ३१ गते विनय त्रिवेणीमा भेटिएको थियो । उनीहरु दुबै जना काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । यस्तै, मंगलबार मात्रै गैंडाकोट ७ मा शव भेटिएका शितामणि थाना भारतका २७ वर्षीय विवेक यादव र मध्यविन्दु १२ पूर्वी नवलपरासीमा शव भेटिएकी वौधिमाई ७ रौतहटकी २९ वर्षीया अमृताकुमारी सनाखत भएको छ । सनाखत भएका ४ जना नै काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । भरतपुर सरकारी अस्पतालमा ३ वटा शव छन् ।

    आज मात्रै भरतपुर महानगरपालिका वडा नं. २७ सालबासमा एक र पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ७ मा रहेको नेपाल भारत सिमानामा रहेको ब्यारेजपुलमा थप १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनीहरुको शव भरतपुर अस्पतालमा ल्याउने काम भइरहेको छ ।

  • कामको खोजीमा एक वर्षमा विदेशिए साढे ७ लाख युवा

    कामको खोजीमा एक वर्षमा विदेशिए साढे ७ लाख युवा

    काठमाडौं । आर्थिक वर्ष २०८०–८१ मा ७ लाख ४१ हजार युवा कामको खोजीमा विदेशिएका छन् । आव २०७९-८० को तुलनामा यो संख्या केही कम हो । २०७९–८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

    विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदी मलेसियाले आप्रवासी श्रमिकको भर्नामा रोक लगाउँदा यो संख्यामा कमी आएको बताउँछन् । उनका अनुसार मलेसियाले सन् २०२३ को मार्च महिनादेखि विदेशी कामदारको भर्नामा रोक लगाएको छ ।

    विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली रोजगारीका क्रममा विदेशिएका छन् । त्यस्तै माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ६०० र असारमा ५८ हजार ७३६ वैदेशिएको तथ्यांक छ ।

    विभागका अनुसार पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि यूएई नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको छ । यूएईमा मात्रै गत आवमा १ लाख ९३ हजार ४३९ जना श्रम स्वीकृति लिएर गएका छन् । त्यस्तै मलेसियामा १ लाख ५१ हजार ३९५ जना रोजगारीका लागि गएका छन् । त्यसपछि क्रमशः साउदी अरब, कतार, कुवेत जानेहरू छन् ।

    पछिल्ला वर्षमा नेपाली युवाहरू कामको खोजीमा युरोपेली मुलुकसमेत जान थालेका छन् । विभागका अनुसार गत वर्ष क्रोएसिया, रोमानिया, साइप्रस, माल्टा, पोर्चुगल लगायत मुलुकका लागि थुप्रै नेपालीले श्रम स्वीकृति लिएका छन् ।

  • थाइल्याण्डको एक होटेलमा ६ पर्यटक मृत फेला, कारण के हो ?

    थाइल्याण्डको एक होटेलमा ६ पर्यटक मृत फेला, कारण के हो ?

    काठमाडौं । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक होटलमा छ विदेशी नागरिक मृत फेला परेका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकार सम्मेलन गरेर यो घटना चोरीसँग सम्बन्धित र गोलाबारी हुँदा भएको भन्ने हल्ला निराधार रहेको बताएका छन् । उनले शव परिक्षण गरेर मात्र घटनाबारे थप जानकारी हुने भन्दै प्रहरीलाई शव परीक्षण गर्न निर्देशन दिएका छन् ।


    प्रधानमन्त्री थाभिसिनकाअनुसार मृतक छ जना भियतनामी नागरिक रहेकामा उनीहरुको हत्यामा अर्का एकजना भियतनामी नागरिक नै संलग्न रहेको हुनसक्ने अनुमान छ । बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत नपाइएकोले सबैले विषाक्त पदार्थ खाएको हुनसक्ने अनुमान रहेको बताए ।

  • बंगलादेशमा हिंस्रक प्रदर्शन, ६ जनाको मृत्यु

    बंगलादेशमा हिंस्रक प्रदर्शन, ६ जनाको मृत्यु

    काठमाडौं । बंगलादेशमा हिंस्रक प्रदर्शन हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । नोकरीमा आरक्षण माग गर्दै बंगलादेशमा आन्दोलन भएको हो । हिस्रक घटनापछि देशभर स्कुल तथा विश्वविद्यालय बन्द गरिएको छ । शिक्षण संस्थाहरु अनिश्चितकालका लागि बन्द भएका हुन् । बंगलादेशमा सरकारी नोकरीमा स्वतन्त्रता सेनानीका बालबच्चालाई आरक्षण दिइएको छ ।

    बंगलादेश १९७१ मा पाकिस्तानबाट छुट्टिएको हो । आलोचकहरुले यो आरक्षणबाट प्रधानमन्त्री शेख हसिनाका समर्थकले मात्र लाभ उठाइरहेको आरोप लगाएका छन् । उनले गत जनवरीमा चौथो पटक लगातार चुनाव जित्दै सत्तामा छिन् ।

  • हरिशयनी एकादशी आजबाट सुरु, के छ महत्व ?

    हरिशयनी एकादशी आजबाट सुरु, के छ महत्व ?

    काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ।
    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

    असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ।

    एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ।

    चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

    rss

  • मनसुनको प्रभाव मध्यम, छैन ठूलो वर्षाको सम्भावना

    मनसुनको प्रभाव मध्यम, छैन ठूलो वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका राति पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाको कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • भक्तपुरमा बालिका माथि करणी गरेको आरोपमा एक पक्राउ

    भक्तपुरमा बालिका माथि करणी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सिन्धुली गोलन्जोर गाउँपालिका ५ घर भई चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ३८ वर्षीय नवराज श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।

    श्रेष्ठले बालिकालाई कमलबिनायक बसपार्कको शौचालय नजिकै सनिबार राति बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • प्रधानमन्त्री भन्छन् : म्यासेन्जरमा बधाई दिनु

    प्रधानमन्त्री भन्छन् : म्यासेन्जरमा बधाई दिनु

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाटै शुभकामना दिन आग्रह गरेका छन् । शपथ लिएर पदभार ग्रहण गरेपछि बधाई दिनेको भीड लाग्ने भएपछि उनले फेसबुक म्यासेन्जर र अन्य डिजिटल माध्यमबाटै शुभकामना दिन भनेका हुन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा आग्रह गर्दै लेखेका छन्, ‘प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिंदा साथीहरुको समयको पनि बचत हुन्छ ।’

    उनले सकेसम्म म्यासेन्जरमा सन्देश पठाउन र भेटका क्रममा पनि खादारमाला प्रयोग नगर्न भनेका छन् । ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु,’ उनले लेखेका छन् ।

  • धनगढीले चलाउने भयो ६ नगरबस

    धनगढीले चलाउने भयो ६ नगरबस

    काठमाडौं । धनगढी उपमहानगरपालिकाले नगरबस चलाउने भएको छ । उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको हो । उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको जनाएको छ ।

    बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले मंगलबार ठेक्का समेत आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिका कार्यालयले १० वर्षसम्मका लागि बस सेवा सञ्चालनका लागि ठेक्का लगाइने उल्लेख गरेको छ ।

    जारी सूचनामा मूल्य अभिबृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ । जारी सूचनाअनुसार उपमहानगरपालिकाले १० वर्षका लागि बस सेवा सञ्चालनको ठेक्का लगाउनेछ । प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ ।

    पहिलो किस्ताको रकम सम्झौता गरेको दिन अग्रिम, बुझाउनुपर्ने, बाँकी दुई किस्ता मंसिर र चैतभित्र बुझाउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ । बसको मर्मत सम्भार, इन्धन, चालक, सहचालक लगायतको खर्च ठेक्का लिने पक्षले तिर्नुपर्ने, तोकिएको स्थान वा रुटबाहेक सञ्चालन गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

  • मुगुमा भूकम्पको धक्का

    मुगुमा भूकम्पको धक्का

    काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन । पश्चिम नेपालमा पछिल्लो समय निरन्तर भूकम्प गइरहेको छ ।

  • सिमलताल बस दुर्घटना : १७ शव भेटियो

    सिमलताल बस दुर्घटना : १७ शव भेटियो

    काठमाडौं । मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार ६५ जना यात्रुमध्ये १७ वटा शव फेला परेको छ। तीमध्ये ९ जनाको सनाखत भएको छ भने ६ पुरूष र २ महिलाको भने सनाखत हुन बाँकी रहेको एपिएफ सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    हालसम्म सनाखत हुनेमा भारतका २८ वर्षीय ऋषिपाल साह, चितवनका २२ वर्षीय विकास परियार, सर्लाहीका १९ वर्षीय रमितकुमार माझी, भारतका ३० वर्षीय जयप्रकाश ठाकुर, भारतकै ३० वर्षीय सजाद अन्सारी, बाराका ४३ वर्षीय परमान्नद पण्डित, चन्द्रनिगाहपुरका ४३ किशोर कुमार चौधरी (गणपतिका चालक) र भरतपुरका २२ वर्षीय सुदिप विक छन्। १७ वर्षीय फिरोज राहुप मिया भनिएकाको शव भने दुई फरक आफन्तले दाबी गरेकाले दुबिधा भएको हो।

    वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका थिए। अहिले बेपत्ता खोजीका लागि ५ सय जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोली सिमलतालदेखि गोलाघाटसम्म खटिएका छन्।

    शवहरू नारायणी नदीदेखि भारतको गण्डक तलसम्म फेला परिरहेका छन्। गत शुक्रबार बिहान साढे ३ बजे पहिरोले बगाएर खसेका दुइटा बस तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। बस र बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीले ड्रोन, वाटर ड्रोन, सोनार क्यामरा, राफ्ट बोट, ठूलो चुम्बक लगायत प्रयोग गरिरहेका छन्।

  • विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन सर्वोच्चको आदेश

    विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ ।

    जसमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको छ । अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी स्थानान्तरणका लागि हाल इचंगुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्ने विकल्प दिएको छ ।

    यदि उक्त सुविधाले नपुग्ने भए आवश्यक संख्यामा अन्यत्र आवासको व्यवस्था गर्ने, ती स्थानमा जान नचाहने वास्तविक सुकुम्बासीलाई स्थानान्तरणको सहजीकरणकालागि तत्काल राहतका रुपमा पैसा दिएर भए पनि अतिक्रमण हटाउन आदेश दिएको छ ।

    नदी किनारका सुकुम्बासी हटाउँदा पहिलो चरणमा बाढीको जोखिममा रहेका घर टहरा हटाउने, त्यसपछि नदी किनार र सडकबीचको हरियाली क्षेत्र ओगटेर बसेकाहरुलाई हटाउन सर्वोच्चले आदेश दिएको छ । यो काम गर्न काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहहरुको समन्वय चाहिने भन्दै सर्वोच्चले यो काम अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले गर्ने भनेको छ ।

  • एम्बाप्पे रियलमा भए आवद्ध

    एम्बाप्पे रियलमा भए आवद्ध

    काठमाडौं । रियल मड्रिडको जर्सी लगाउने केलियन एम्बाप्पेको सपना मंगलबार पूरा भएको छ । फ्रेन्च फर्वाड एम्बाप्पेलाई सान्टिएगो बेर्नाबाउमा करिब ८० हजार समर्थकले स्वागत गरेका थिए । २५ वर्षका फर्वाडले ५ वर्षको सम्झौता गरेका छन् ।

    सम्झौतामा हस्ताक्षरपछि मैदान प्रवेश गरेका उनलाई ठूलो संख्यामा उपस्थित समर्थकले स्वागत गरे । ९ नम्बर जर्सी लगाएका उनले स्पानिस भाषामा भने, ‘यो मेरा लागि अविश्वसनीय दिन हो । बालक हुँदादेखि नै मैले मड्रिडका लागि खेल्ने सपना देखेको थिएँ र आज म यहाँ छु । यो मेरा लागि निकै महत्वपूर्ण छ ।’

    एम्बाप्पेलाई अनुबन्ध गर्नुलाई रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबका लागि ऐतिहासिक काम भनेका छन् । उनले भने, ‘आज हामी एक असाधारण खेलाडीलाई स्वागत गर्दैछौं, जसले आफ्नो बाल्यकालको सपना पूरा गर्दैछन् ।’ उनले अगाडि भने, ‘आज तपाईं यहाँ हुनुहुन्छ, जुन तपाईंले चाहनुभएको थियो । यो सेतो जर्सी लगाउन सक्षम हुनका लागि गरेको महान प्रयासका लागि धन्यवाद ।’

    रियलले एम्बोप्पेलाई पहिल्यै अनुबन्ध गर्न चाहेको थियो, तर एम्बोप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग नयाँ सम्झौता नगर्ने निर्णय लिएपछि गत जुनमा पक्का भयो । उक्त निर्णय म‌ंगलबार पूरा भएको छ ।

  • समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन गठन गर्यो कार्यदल

    समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन गठन गर्यो कार्यदल

    काठमाडौं । समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन कार्यदल बनाएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा बसेको बैठकले मोर्चाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुलाई देशलाई पश्चगमनतिर फर्काउने प्रयास भएको निष्कर्ष निकालेको छ ।

    त्यसैले समाजवादी मोर्चाको विगतको समीक्षा गर्न र आगामी योजना–कार्यक्रम बनाउन कार्यदल बनाएको छ । १५ दिनको समय दिइएको कार्यदलमा खड्गबहादुर विश्वकर्मा, प्रवेश हमाल, देव गुरुङ, गंगानारायण श्रेष्ठ छन् ।

    नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्माका अनुसार बैठकमा महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा आवद्ध बनाउने निर्णय गरेको छ । साथै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाललाई मोर्चामा ल्याउन पहल गर्ने निर्णयसमेत गरेको छ ।

  • कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर

    कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर

    काठमार्डौ । रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो ।

    सो शाखाका अनुसार इपिएसमार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाले मात्रै आवेदन दिन पाउने छन् । त्यस्ता श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउने छन् ।

    उत्पादनमूलक क्षेत्रमा फाराम भर्न चाहनेले फाराममा उल्लेख भएका आठ वटा समूहमध्ये जुन उपसमूहमा फाराम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित आठ वटा प्रश्नको उत्तर दिनुपर्ने छ । इपिएस शाखाले सार्वजनिक गरेको सूचना अनुसार यही साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिने छ ।

    परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुने छ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सो शाखाले जनाएको छ । सो शाखाका अनुसार परीक्षाको नतिजा भने असोज २१ गते प्रकाशन गरिने छ । नेपालले दक्षिण कोरियासँग गरेको समझदारीपत्र (एमओयु) अनुरूप इपिएसमार्फत वैधानिक तवरबाट श्रमिक पठाउँदै आएको छ ।

  • समाजवादी मोर्चाको बैठक आज बस्ने

    समाजवादी मोर्चाको बैठक आज बस्ने

    काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा (एकीकत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।

    समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् । यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले भने समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।