Category: समाचार

  • एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै

    एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए ।

    ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए । दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ । यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।

  • प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति आइतबार हुने

    प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति आइतबार हुने

    काठमाडौं । नयाँ प्रधानमन्त्री दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियुक्त आइतबार हुने भएको छ । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताएको छ ।

    नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ .(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी पेश गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाई पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका थिए ।

    राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो । दिइएको समय सीमापछि नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्ने राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

  • भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला

    भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला

    काठमाडौं । शुक्रबार बिहान त्रिशुलीमा खसेका बसको खोजी अभियान शनिबार दिनभर जारी रह्यो । तर, बस फेला परेनन् । शनिबार त्रिशूली र नारायणी नदी किनारमा तीन जनाको शव भेटिएको छ । त्यसमध्ये एक जना बसको यात्रु भएको पुष्टी भइसकेको छ ।

    अब बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) प्रयोग गरिने र आइतबार बिहान ८ बजेबाट पुनः खोजी सुरु गर्ने गरी शनिबारको अभियान सकिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने छ ।

    घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताए ।

    त्यस्तै नारायणी नदी तटीय क्षेत्रमा र्‍याफ्ट बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गर्ने प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले खोजी तथा उद्दारका लागि सबै खालका प्रयासहरुलाई जारी राखेको जनाएको छ ।

    शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३(००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

    वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।

    यी बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भएका छन् भने अरु बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भएको छ ।

    शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।

  • त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै

    त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै

    काठमाडौं । त्रिशूली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

    बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका २९ सिमलताल असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो ।

  • अमेरिकी राष्ट्रपति आफ्नो मानसिक स्वास्थ परीक्षणका लागि तयार

    अमेरिकी राष्ट्रपति आफ्नो मानसिक स्वास्थ परीक्षणका लागि तयार

    काठमाडौं । सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आएका चिन्ता सम्बोधन गर्न सुझाब दिएमा ‘न्यूरोलोजिकल परीक्षण गर्न’ तयार रहेको सङ्केत गरेका छन् । “म यसको विरोध गर्दिनँ, यदि मेरा चिकित्सकहरूले मलाई अर्को न्युरोलोजिकल जाँच गर्न भनेमा म यो गर्नेछु,” नाटो शिखर सम्मेलनको समापनमा बिहीबार आयोजित उच्चस्तरीय पत्रकार सम्मेलनमा उनले भने ।


    बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीनपटक मस्तिष्क स्वास्थ्य जाँच गरेको र पछिल्लो पटक फेब्रुअरीमा उक्त जाँच गरेको बताए । “मैले हरेक दिन लिने निर्णयबाट मेरो न्युरोलोजिकल क्षमताको परीक्षण भइरहेको छ,” उनले भने । बिहीबार पत्रकारहरूसँग सम्वाद गर्ने क्रममा राष्ट्रपति बाइडेनले आफू राष्ट्रपति पदको प्रतिस्पर्धाका लागि प्रतिबद्ध रहेको बताए ।

    उनले एक कमजोर बहस प्रदर्शनपछि राष्ट्रपतिका लागि आफ्नो योग्यताको बारेमा चिन्तित विरोधी र अमेरिकी मतदातासमक्ष आफूलाई पुष्टि गर्न आवश्यक रहेको पनि स्वीकार गरेका छन् ।


    जुन २८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सिएनएन बहसपछि नेताहरूले बाइडेनलाई राष्ट्रपति पदको प्रतिष्पर्धाबाट पछि हट्न दबाब दिइरहेका छन् । यद्यपि उनले पूर्व राष्ट्रपति ट्रम्पलाई हराउने विश्वास व्यक्त गरेका छन् । राससएएनआई

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    शनिबार बिहान गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु

    त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितनवनका डिएसपी भेषराज रिजालले खोजीकार्य सुरू भएको जानकारी दिएका छन् ।

    शुक्रबारको तुलनामा शनिबार त्रिशूलीमा जलसतह कम छ त्यसकारण पनि खोजीकार्यमा सहज हुने उनले बताइएको छ । नेपाल प्रहरीका एक सय जना भन्दा बढी सुरक्षाकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन भएका छन्।

    शुक्रबार बस खसेको सिमलताल र त्यस वरपर ५ किलोमिटर क्षेत्रमा चुम्बक र रड प्रयोग गरी खोजी गरिएको थियो। त्यसक्रममा बसको पर्दा र कपडा भेटिएको थियो। बिहीबार राति काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।

    काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका थिए। उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका थिए।

  • मध्यरातमा प्रधानमन्त्री पदमा केपी ओलीले गरे राष्ट्रपति समक्ष दावि पेश

    मध्यरातमा प्रधानमन्त्री पदमा केपी ओलीले गरे राष्ट्रपति समक्ष दावि पेश

    काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।

    शुक्रबार मध्यरातमा राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन । ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जहाज प्राविधिक टोलीले सफलतापूर्वक निकालेको जानकारी दिए ।

    बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट भैरहवा पुगेको थियो । ९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको यो जहाज धावनमार्गको आधा पुग्दा अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’ का कारण जहाज चिप्लिन पुगेको बुद्ध एयरले जनाएको छ । यस्तो घटना विरलै हुने कम्पनीको भनाइ छ ।

    जहाज धावनमार्गमा चिप्लिएपछि पाइलटले एटीसीलाई जानकारी गराएका थिए । त्यसपछि यात्रुलाई सुरक्षित रूपमा झारिएको थियो । घटनालगत्तै बुद्धले अर्को जहाजबाट उपकरण र प्राविधिक टोली भैरहवा लगेको जनाएको छ । रातको १ः३० बजे काठमाडौंबाट जहाज भैरहवातर्फ उडेको थियो । जहाजलाई प्राविधिकले साँझ ६ बजे धावनमार्गबाट निकालेको छ । जहाजको अवस्थाबारे अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

  • पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु

    पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु

    काठमाडौं । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। उनका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको हो। मृतक एकै परिवारका छन्।

    डिएसपी शर्माका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो। उनीहरूको आजै सामुहिक अन्त्येष्टी पनि गरिएको छ ।

  • राष्ट्रपतिबाट भयो नयाँ सरकार गठनको आह्वान

    राष्ट्रपतिबाट भयो नयाँ सरकार गठनको आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।

    संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

  • त्रिशुलीमा खसेका दुई यात्रुबाहक बस वेपत्ता, दिनभरको खोजीमा पनि भेटिएनन्

    त्रिशुलीमा खसेका दुई यात्रुबाहक बस वेपत्ता, दिनभरको खोजीमा पनि भेटिएनन्

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुई वटा बस बगाएको छ । बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।

    उक्त पर्दा वीरगञ्जबाट काठमाडौ आउँदै गरेको गाडीको पर्दा भएको बसका मालिकले बताएका छन् । १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन भएका छन् । सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।

  • रात्रिकालिन सवारी चलाउन अब रेड एडभाइजरी जारी गरिने

    रात्रिकालिन सवारी चलाउन अब रेड एडभाइजरी जारी गरिने

    काठमाडौं । रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना)जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए ।

    यो निर्णयसँग बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन पाइने छैन । यसअघि सुरुमा गृहले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताए । त्यसैगरी अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।

    त्यसैगरी यातायात व्यवसायी एवं यात्रु तथा चालकले सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने निर्णय पनि गरिएको भूसालले जानकारी दिए । सवारी साधन जाममा परेको स्थानमा हुने कालोबजारी र चोरीजस्ता विषय नियन्त्रणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कडा निगरानी, अनुगमन र कालोबजारी ऐन अन्तर्गत तत्काल कारबाही गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

    कान्ति लोकपथ लगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय भएको भूसालले बताए ।

    भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । अहिलेसम्म दुवै बसको अवस्था पत्ता लागेको छैन । बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि तीन जना पौडिएर निस्किएका छन् ।

  • प्रचण्डले पाएनन् विश्वासको मत

    प्रचण्डले पाएनन् विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।

    १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो । दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए ।

    तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए । तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् । उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।

  • राष्ट्रिय परिचय पत्र बीनै समाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइदैं

    राष्ट्रिय परिचय पत्र बीनै समाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइदैं

    काठमाडौं । मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोले गर्दा असहज परिस्थिति सिर्जना भएकोले तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धा सेवा लिन पुगेका थिए।

    ‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुक विभिन्न स्थानहरूमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि पत्र आवश्यक नपर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ उनले भनिन्। सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा बनाउनुपर्ने बताएको थियो। प्रशासन कार्यालयहरूमा भिड बढेपछि गृहले कर्मचारीसमेत थपेको थियो।

  • एमालेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

    एमालेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

    काठमाडौं । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बुधबार बसेको सचिवालय बैठकले मन्त्री बन्नेहरुको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो । ‘

    पार्टी अध्यक्ष आफैं प्रधानमन्त्री बन्दै हुनुहुन्छ, कस्तो टीम बनाउने भन्ने उहाँलाई नै बढी थाहा हुने भयो’, सचिव पद्‍मा अर्यालले भनिन्, ‘आफ्नो टिममा काम गर्न योग्य व्यक्तिहरु मन्त्री बन्नु हुन्छ, उहाँले नै छान्नुहुन्छ ।’मन्त्री छान्न अध्यक्ष ओलीले अरु नेताहरुसँग सुझाव मागेका छन् । तर अहिलेसम्म नेपाली कांग्रेस सहित दलहरुसँग मन्त्रालय संख्या र मन्त्रालयहरु टुंगिएको छैन ।

  • भद्रकाली मन्दिर पुनर्निर्माण थालियो

    भद्रकाली मन्दिर पुनर्निर्माण थालियो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरका भवनहरू पुनर्निर्माण गर्न थालेको छ । मन्दिरको दक्षिण–पश्चिमबाट भवन पुनर्निर्माण सुरु भएको हो । महानगर उपप्रमुख सुनिता डंगोलले जग पूजा गरेर पुनर्निर्माण शिलान्यास गरिन् । मन्दिरका संरचना २०७२ सालको भूकम्पबाट जीर्ण अवस्थामा पुगेका थिए । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी, सत्तल लगायत संरचना छन् । पुनर्निर्माण लागत ३६ करोड रुपैयाँ रहेको महानगरले जनाएको छ ।

    सम्पदा तथा पर्यटन विभाग वरिष्ठ इन्जिनियर रविन्द्र रिजालका अनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कबोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनर्निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग ६ जेठमा सम्झौता भएपछि ३ असारमा महानगरले कार्यादेश दिएको थियो । मन्दिर पुनर्निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुने महानगरले जनाएको छ । उत्तर (भृकुटीमण्डप) तर्फ दइटा ब्लक आपसमा जोडिएका हुनेछन् ।

    यस्तै दक्षिण (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीन ब्लक हुनेछन् । यिनीहरू पनि आपसमा जोडिएका हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो । महानगरका अनुसार पुनर्निर्माण क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ ।

    ‘अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समिति सहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने छ,’ उपप्रमुख डंगोलले भनिन् । महानगरले गुठी संस्थान, पुरातत्व विभाग, भद्रकाली गुथिसहित सरोकारवालाको पुनर्निर्माण साझेदारसँग ३० जेठमा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरूको पुनर्निर्माण सम्बन्धमा’ बैठक बसेर पुनर्निर्माणको काम दक्षिण–पश्चिम भागबाट सुरु गर्ने निर्णय गरेको थियो ।

  • ५ उद्योगमा विजुली जडान नगरे थप उद्योगमा आफै बिजुली काट्ने उद्योगीको चेतावनी

    ५ उद्योगमा विजुली जडान नगरे थप उद्योगमा आफै बिजुली काट्ने उद्योगीको चेतावनी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैंले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । प्राधिकरणले लाल आयोगले दिएको सुझाव तथा मन्त्रिपरिषद्ले दिएको निर्देशन विपरीत हुने गरी उद्योगीलाई पत्र पठाएको समेत उद्योगीहरूले बताएका छन् ।

    उद्योगीले कुन आधारमा अतिरिक्त महसुल भुक्तानी गर्नु पर्ने हो त्यसको आधार र कारणका विषयमा जानकारी माग गर्दै पत्र लेखेको समेत स्मरण गराएका छन् । कुनै पनि ग्राहकले अतिरिक्त रकम तिर्नुको आधार, कारण र प्रमाण माग्न पाउनु संवैधानिक अधिकार भएको भन्दै ग्राहकलाई प्रमाण दिएर महसुल उठाउनु व्यवसायीको कर्तव्य भएको व्यवसायीको भनाइ छ ।

    प्राधिकरणले व्यवसायीको रूपमा उद्योगीसँग अतिरिक्त रकम लिनु पर्ने आधार र प्रमाण दिन नसकेको भन्दै उद्योगीले मंगलबार बेलुका ३ वटा उद्योगमा बिजुली काटिनुलाई छापामार शैली भनेका छन् । तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको १०३औं र १०८औं बैठकले तोकेका सर्त पूरा हुने गरी प्रमाण दिएको हदसम्म सबै महसुल चुक्ता गर्ने प्रतिवद्धता समेत उद्योगीले गरेका छन् ।

    महसुल निर्धारण आयोगले डेडिकेटेड लाइनबाट लोडसेडिङको समयमा निर्बाध र निरन्तर २४ घण्टा बिजुली प्रयोग गर्ने ग्राहकबाट थप प्रिमियम लिन २९ पुस २०७२ मा स्वीकृति दिएको उनीहरूले बताएका छन् । ट्रंक लाइनबाट ६ घण्टा लोडसेडिङ भएको अवस्थामा २० घण्टा निरन्तर बिजुली प्रयोग गर्ने ग्राहकबाट थप प्रिमियम लिन आयोगले १६ असार २०७३ मा प्राधिकरणलाई स्वीकृति दिएको समेत उनीहरूले बताएका छन् ।

    यो सर्त पूरा हुने प्रमाण दिँदै उद्योगबाट अतिरिक्त रकम उठाउनु पर्ने लाल आयोगले सिफारिस गरेको छ । लाल आयोगभन्दा अघि विद्युत् नियमन आयोग समेत तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको १०३औं र १०८औं बैठकको निर्णय अनुसार प्रिमियम महसुल लगाउनु पर्ने प्रष्ट सुझाव र निर्देशन दिएको उद्योगीले बताएका छन् ।

    राज्यका जिम्मेवार निकायले दिएको निर्देशन र लाल आयोगको सुझाव अनुसार नै हामीले नेपाल विद्युत् प्राधिकरणसँग अतिरिक्त महसुल लगाउनु अघि प्रमाण दिन आग्रह गरिएको उनीहरूको भनाइ छ ।

    प्राधिकरणले प्रमाण दिएमा सो अनुसार महसुल तिर्न तयार रहँदा-रहँदै औद्योगिक वातावरण बिगार्ने र विवाद बढाउने गरी उद्योगहरूमा बिजुली आपूर्ति कटौती गर्नुलाई पीडित तथा प्रताडित उद्योगी समूहले सामूहिक रूपमा प्रतिवाद गर्ने निर्णय समेत भएको उनीहरूको भनाइ छ ।

    नेपाल विद्युत् प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र हुलास स्टलि गरी ५ वटा उद्योगमा तत्काल विद्युत् आपूर्ति निरन्तर नबनाए आ–आफ्नो उद्योगको बिजुली आफैं कटौती गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

  • कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा

    कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा

    काठमाडौं । दश खेलाडीमा सीमित कोलम्बियाले बिहीबार उरुग्वेलाई १–० लाई पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अब आइतबार हुने फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ । जेफर्सन लेरमाले पहिलो हाफमा गरेको गोल निर्णायक रह्यो । पहिलो हाफको इन्ज्युरी समयमा कोलम्बियाले ड्यानिएल मुनोजलाई गुमाएको हो ।

    उनी दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे र कोलम्बियाले पूरा दोस्रो हाफ दश खेलाडीमा रहेर खेलेको थियो । कोलम्बियाका लागि लेरमाले ३९औं मिनेटमा गोल गरेका हुन् । उनले जेम्स रोड्रिग्वेजले निकालेको सुन्दर पासमा हेड गर्दै गोल गरेका हुन् । लयमा देखिएका रोड्रिग्वेजको यस कोपा अमेरिकामा सिर्जना गरेको यो पाँचौं अवसर हो ।

    यससँगै उनले एउटा संस्करणमा कसैले सिर्जना गरेको सबैभन्दा बढी गोलको अवसरको कीर्तिमानमा लियोनल मेसीलाई उछिनेका छन् । यो जितसँगै कोलम्बियाको २८ खेलको लगातार अपराजित यात्रा कायम रह्यो । कोलम्बिया कोपा अमेरिकाको फाइनल पुगेको यो २३ वर्षयता पहिलो पटक हो । उसले अन्तिम पटक सन् २००१ मा फाइनल खेलेको थियो र त्यति बेला मेक्सिकोलाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।

  • पुनः देशैभर मनसुन सक्रिय, कहाँ छ धेरै जोखिम ?

    पुनः देशैभर मनसुन सक्रिय, कहाँ छ धेरै जोखिम ?

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको छ ।

    आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । साथै भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले आज रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले आज मनसुन विशेष मौसम बुलेटिन प्रकाशितगरी सतर्कताका लागि अनुरोध गरेको हो ।


    आज रातिदेखि असार २९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।

    त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ ।

  • यूरोकपको फाइनल पुग्यो  इंल्याण्ड, स्पेनसँग उपाधी भिडन्त

    यूरोकपको फाइनल पुग्यो इंल्याण्ड, स्पेनसँग उपाधी भिडन्त

    काठमाडौं । नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल उसको जितका लागि निर्णायक बन्यो ।

    सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्लयाण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्‍याएका हुन् । इंग्लयाण्डले जुलाई १४ मा बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराएको हो ।


    डर्टमण्डको सिगनल इडुना पार्कमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले पहिले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । जावी सिमोन्सले खेलको सातौं मिनेटमै गोल गर्दै डच टोलीलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय रहेन ।

    १८औं मिनेटमा इंग्लयाण्डका कप्तान ह्यारी केनले विवादित पेनाल्टीमार्फत बराबरी गोल फर्काए । नेदरल्याण्ड्सका डेन्जल डमफ्रिसले केनलाई पेनाल्टी बक्समा फल गरेपछि भिएआरको सहयोगमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । जसमा केनले कुनै गल्ती नगरी गोल गरे ।

    त्यसपछि खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । खेल अतिरिक्त समयतर्फ धकेलिरहेका बेला वैकःपिक खेलाडी वाट्किन्सले निर्णायक गोल गरे । ८१औं मिनेटमा केनको स्थानमा मैदान प्रवेश गरेका वाटमिन्ट्सले कोल पाल्मरको पासमा गोल गरेका थिए । पाल्मर पनि ८१औं मिनेटमै फिल फोडेनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

  • संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो । बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन् ।

  • पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै सडक माथिबाट ढुङ्गा र लेदो सहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सडकमा झरेको पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ । चितवनमा अहिले पानी परिरहेको छ ।

  • शोधनान्तर बचत ४ खर्ब माथि

    शोधनान्तर बचत ४ खर्ब माथि

    काठमाडौं । जेठमा चालु खाता र भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढेको छ । जेठमा चालु आवकै उच्च आयात भए पनि रेमिट्यान्स अघिल्ला महिनाको तुलनामा बढेको छ । यसले चालु खातासँगै शोधनान्तर बचत पनि बढाएको छ ।

    मुलुकको शोधनान्तर स्थिति चालु आवको ११ महिना (साउन–जेठ) सम्ममा सवा ४ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आवको ११ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा शोधनान्तर बचत ४ खर्ब २५ अर्ब ६७ करोड पुगेको छ ।

    आव २०७८–७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति लागतार १४ महिनाको घाटा पछि २०७९ असोजयता लगातार बचतमा छ । गत आव २०८९–८० मा २ खर्ब ९० अर्ब बचतमा रहेकोमा चालु आवको ११ महिनामा नै सवा ४ खर्ब पुगेको हो । शोधनान्तर बचत मात्रै नभएर चालु खाता बचत समेत २ खर्ब नाघेको राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तसम्मको तथ्यांक अनुसार चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ ।

    गत आव २०७९\८० को सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । यस अवधिमा पूँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी भई ५ अर्ब ४६ करोड कायम भएको छ ।

    खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले धनात्मक रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड कायम भएको थियो । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।

  • विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि

    विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि

    काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) साढे १९ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ जेठ मसान्तमा आउँदा २७.८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    हाल बैंकिङ प्रणालीमा रहेको विदेशी विनिमय सञ्चितिले आव २०८०–८१ को एघार महिनाको आयातलाई आधार मान्दा १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । २०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४.५ प्रतिशत, कुल आयातसँगको अनुपात १०५.२ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू २९.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • रविविरुद्ध आक्रामक मुकुल

    रविविरुद्ध आक्रामक मुकुल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने समेत बताए ।

    उनी करीव ४५ मिनेट एकतर्फी बोले । अन्तिममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिई हिँडे । मुकुलले विगतमा आफूले रवि लामिछानेको हरेक कदमको बचाउ गर्ने गरेको र पछिल्लो समय सम्बन्ध बिग्रेको खुलासा गरे ।

    ढकालले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएकाहरुको समीक्षा गर्नुपर्ने विषय उठाएपछि लामिछानेसँग विवाद भएको उनले बताए । ‘मूल विवाद भनेको सरकारले काम गर्न सकेन, अक्षम हुनुभयो, यो अक्षमता किन हो, जनताका अगाडि आत्मआलोचना गरेर अगाडि बढौं, हामीले चाहदाचाहँदै पनि केही कुराहरु भएनन्, कर्मचारीतन्त्रले दिएन देखि धेरै कुरा छ, सबै कुरा खुलमखुला भनौं, लाइभ गरौं अब पारदर्शी बनौं भन्दा उहाँले गृह मन्त्रालयले जति काम त कसैले गरेको छैन, यो देशको सबैभन्दा सफल गृहमन्त्रीका रुपमा आफू उपस्थित भएको छु भन्ने दाबी गर्नुभयो, त्यो दाबी मलाई चित्त बुझेन’, ढकालले भने ।

    ढकालले राहदानी र सहकारी ठगी प्रकरणमा लामिछानेमाथि पार्टीभित्रैबाट छानबिन हुनुपर्ने बताए । गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले सहकारी प्रकरणमा लामिछानेमाथि छानबिन हुनुपर्ने राय दिएको भन्दै उनले रास्वपाले पनि सर्वोच्चको आदेश अनुसार छानबिन गर्नुपर्ने बताए ।


    मुकुलले सभापति लामिछानेमा पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मन पर्न थालेको बताए । उनीहरुको शैली मन पर्ने व्यक्तिलाई आफ्नो शैली बालापन लाग्नु स्वभाविक भएको बताए ।

  • जुम्लामा गरियो प्याराग्लाइडिङ  परीक्षण

    जुम्लामा गरियो प्याराग्लाइडिङ परीक्षण

    काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ ।

    पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलो पटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।


    ‘परीक्षण उडान सफल भएको छ’, अध्यक्ष बुढाले भने, ‘अब दुईजना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ ।’ पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ ।

    सो गाउँपालिकाका स्थानीयवासी टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलोपटक आकाशमा प्याराग्लाडिङ देख्न पाउँदा निकै खुसी लागेको बताए । नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

    सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ ।

  • पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

    पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

    काठमाडौं । मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो ।

    पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट आएको पहिरोमा परी उहाँका छोरा भीमको मृत्यु भएको हो । भीमबहादुरकी आमा ५० वर्षीय कमला थापाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । नेपाल प्रहरी र स्थानीयले बुधवार बिहान ७ बजे भीमको शव मृत अवस्थामा फेला पारेका हुन् । मनबहादुर भने गए राति घरमा नरहेका कारण जोगिएका छन् ।

  • कैलालीमा दुई पुरुष मृत फेला

    कैलालीमा दुई पुरुष मृत फेला

    काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुई छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–५ का अन्दाजी ५१ वर्षीय सागर विक रहेका छन् भने अर्का एकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेकोमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा लग्दा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

    यसैगरी, नाम, थर, वतन नखुलेको अन्दाजी ५६ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर माथि अचेत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
    गोरखापत्रको सहयोगमा

  • युक्रेनलाई थप हतियार दिने अमेरिकी राष्ट्रपतिको घोषणा

    युक्रेनलाई थप हतियार दिने अमेरिकी राष्ट्रपतिको घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गरेका छन् । उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भेलालाई वासिङटनमा सम्बोधन गर्दै बाइडेनले रुसको क्रुर आक्रमणलाई जवाफ दिन युक्रेनलाई थप अत्याधुनिक हतियार र प्रतिरक्षा प्रणाली सहयोगको घोषणा गरेका हुन् ।


    गत सोमवार रुसले युक्रेनको राजधानी कीभसहितका शहरमा गरेको आक्रमणमा ४१ जना भन्दा धेरैको ज्यान गएपछि अमेरिकासहित नेटोका देशहरुले युक्रेनलाई थप सहयोग गर्ने वाचा गरेका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले अबको सहयोग प्याकेजमा प्याट्रियट मिसाइल र कम्पोनेन्टसहित हवाई रक्षाका उपकरण समावेश हुने बताए ।


    जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटाली लगायतका पाँच वटा देशले यस वर्षको अन्त्यसम्ममा हवाई रक्षा प्रणाली सहयोग गर्न सक्ने बताइसकेका छन् । अमेरिकी अधिकारीहरूकाअनुसार बेलायत, क्यानडा, नर्वे र स्पेन लगायतका अन्य मित्र राष्ट्रहरूले पनि अबको केही महिनामै युक्रेनलाई दर्जनौँ अन्य सामरिक वायु रक्षा प्रणालीहरू प्रदान गर्नेछन् ।

    नेटो सम्मेलनमा सम्बोधनका क्रममा सबैजसो देशका नेताहरुले रुसलाई रोक्न नसकेमा युक्रेन मात्रै नभएर पुरै पश्चिमा देशको लागि खतरा नजिकै आइरहेको बताएका रोयटर्सको खबरमा उल्लेख छ ।

    नेटोमा ३२ वटा देश सदस्य रहेकोमा युक्रेनलाई पनि सदस्य बनाउने तयारी चलिरहेको छ । तर युक्रेनलाई नेटोमा सहभागि गराउने विषयकै कारण रुसले आक्रमण थालेकाले यो विषय थप जटिलतातर्फ गइरहेको विज्ञहरुले बताएका छन् ।