काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा (एमाले)ले जनाएको छ । आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका छन् । उनले १ महिना भित्र परिवर्तन देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।
Category: समाचार
-

कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशभर साधारणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
-

काठमाडौं महानगरको श्रम बैंकबाट ९११ ले पाए रोजगारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्। काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्।
‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो,’ मेयर बालेनले भनेका छन्।
त्यस्तै मेयर बालेनले यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत् दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको बताएका छन्।
‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको,’ मेयर बालेनले बताएका छन्।
महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगाररस्वरोजगार भएको पनि मेयरल बालेनको दाबी छ।
-

नयाँ प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए । सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सङ्गले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’ एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको पदको शपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए ।
-

पशुपतिमा श्रावण महिनाभर भिड, कसरी हुँदैछ व्यवस्थापन ?
काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ ।साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ ।
यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिबारका साथै साउन महिनामै परेका नागपञ्चमी र गुरुपूर्णिमाको दिन पनि पशुपतिमा भक्तजनको भिड हुने गर्दछ । त्यसैले भक्तजनको सुविधा, सुरक्षा प्रबन्ध लगायतका तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । भिडलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउनेदेखि दमकल र एम्बुलेन्सको पनि व्यवस्था गरिएको अधिकारीले बताए ।
पशुपतिनाथ मन्दिरमा हरितालिका ९तीज०, बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनैपूर्णिमाजस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भिड हुने भएपनि साउन महिनामा भने महिनैभर भक्तजनको भिड लाग्ने गर्दछ ।
साउन महिनाभर पशुपतिनाथ मूल मन्दिरका चारैवटा ढोका बिहान तीन बजेदेखि नै खुला गरिने छ । कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो । साउन महिनाभर भक्तजनका लागि सहज होस् भनी चारै ढोका बिहान तीन बजेदेखि नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
-

पश्चिम रुकुममा बाढीले घर बगायो, तीन जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाएको छ । घटनामा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गतराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिएका छन् ।
उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन् ।
उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो । प्रहरी टोलीका अनुसार आठबिसकोट नगरपालिका वडा नम्बर १२ को भिमचौरमा गिजा खोलाको बाढीले ६ वटा घर र खेतबारी बगाएको छ । घटनास्थलमा प्रहरी र नेपाली सेना उद्दारमा खटिएको छ ।
-

नारायणी नदीमा सोमबार भेटिए ९ शव
काठमाडौं । नारायणी नदीमा सोमबार थप ९ शव भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिएका हुन् । त्यस्तै सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परेको हो । आज भेटिएका ९ मध्ये एउटा शवको सनाखत भएको छ ।
सुदिप विकको शव उनका बुबाले सनाखत गरेका हुन् । पहिचान भएको फिरोज राहुप मियाको परिवारले सनाखत गर्न बाँकी छ । उनीहरू दुवै शुक्रबार भएको सिमलताल बस दुर्घटनाका बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । अन्य पनि सोही दुर्घटनाका बेपत्ताहरू हुन सक्ने जनाइएको छ ।
सिमतालको पहिरोमा परी गत शुक्रबार दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । जसमा ६५ यात्रु भएको पुष्टि भएको छ । हालसम्म १४ शव फेला परे पनि ७ वटाको मात्रै सनाखत भएको छ । बसमा रहेकामध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए ।
-

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।
डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।
-

अर्थमन्त्रीको पहिलो निर्णय : वैकल्पिक वित्त सम्बन्धी कार्यविधि स्वीकृत
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।
ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ। विकास वित्तको विकल्पका रुपमा यो आएको मन्त्री पौडेलले बताए । सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए ।
-

स्वास्थ्य मन्त्री पौडेलले लगाएनन् खादा माला, के गरे निर्णय ?
काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार गरेका हुन् ।
‘बधाइ दिन आउनु हुने सम्पूर्ण प्रति मेरो सम्मान छ । यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै छु’, उनले भनेका छन्, ‘शुभकामना दिन आउनुहुने सबैमा माला, खादा, उपहार जस्ता चिजहरु नल्याइदिनु हुन अनुरोध गर्दछु । स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक थप सहयोग सल्लाह र सुझावको अपेक्षा गर्दछु ।’
-

सपथ ग्रहणकै दिन २२ सदस्यीय मन्त्रिमण्डल, को-को बने मन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाए । ओलीले आफ्नो क्याविनेटमा दुई उपप्रधानमन्त्री बनाएका छन् ।
यस्तो छ कार्यविभाजन
१. केपी शर्मा ओली, प्रधानमन्त्री२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण
-

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए ।
-

पूर्वराष्ट्रपतिमाथि गोली प्रहार : अमेरिकी सुरक्षा निकायमाथिको भ्रम तोडियो
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएसँगै अमेरिकी सुरक्षा निकायमाथि गम्भीर प्रश्न उठेको छ । गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई मारेको छ । एक सर्वसाधारणको समेत सो घटनामा ज्यान गएको छ । दुई जना गम्भीर घाइते छन् ।
यो घटनाले अमेरिकामा यसै वर्ष हुने राष्ट्रपतीय निर्वाचनको प्रचार मात्र विथोलिएन, यसले अमेरिकी सुरक्षा निकाय माथि नै प्रश्न खडा गरेको छ । यो घटनाले अमेरिकाको सामाजिक तथा सांस्कृतिक इज्यतमै धकका पुगेको विश्लेषकहरुले बताएका छन् । साथै अमेरिकाले सुरक्षा निकायलाई देखाएर बनाएको मजवुती समेत भ्रम सावित गरिदिएको उनीहरुको भनाई छ ।
अमेरिकामा गोली काण्ड नयाँ भने होइन । सन् १९८१ मा रोनाल्ड रीगनको गोली हानेर हत्या गरिएको थियो । यसपछि भने यति उच्च अधिकारीमाथि गोली प्रहार भएको यो पहिलो घटना हो । तर, अमेरिकामा हरेक वर्ष गोली काण्डका कारणले मात्र ३५ हजार भन्दा धेरैको ज्यान जाने गरेको तथ्यांक छ । यसले अमेरिकाको हतियार नीति माथि समेत प्रश्न उठिरहेको छ ।पाँच दशक पहिला पनि अमेरिकामा राष्ट्रपति र यस पदका उम्मेदवारको गोली हानेर हत्या भएको थियो । जसमा केनेडी दाजुभाई छन् । अमेरिकामा उच्च नेताको गोली काण्डमा ज्यान गुमाउने सिलसिला त्यतिमै सिमित छैन । मार्टिन लुथर किंग, मेडगर एवर्सजस्ता नेताको समेत गोली काण्डमा ज्यान गएको थियो ।
-

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, अरु मन्त्रालयमा को को ?
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् । एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् ।
पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने एमालेको तयारी छ । गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् । शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् । रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् । उद्योगमन्त्रा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने छन् ।
-

कांग्रेसबाट आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने पक्का
काठमाडौं । नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको बताइएको छ । अन्य मन्त्रीको टुंगो आज लगाइने छ । पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा मन्त्री पठाउने भएकोले एक पटक छलफल गरेर मात्रै पठाउने तयारी गरिएको कांग्रेसको भनाई छ ।
नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय बाँडफाँट टुंग्याए पनि मन्त्री छनौट भने गर्न बाँकी छ। एमाले अध्यक्ष ओली आइतबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनीसँगै सोमबार बिहान ११ बजे मन्त्रीहरूको पनि शपथ ग्रहण गर्ने तयारी छ।
एमालेले अर्थ, रक्षा, भौतिक, पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति पनि एमालेको भागमा परेको छ।
एमालेले मन्त्रीहरू भने टुंग्याउन बाँकी छ। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय पाएको छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पनि कांग्रेसले पाएको हो।
-

कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। त्यस्तै मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। महाशाखाले दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने देशभरका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।
शनिबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको प्रक्षेपण छ। त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा राति मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार राति भने केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
-

त्रिशूली बस दुर्घटना : ११ शव भेटिए-पाँच जनाको मात्र सनाखत
काठमाडौं । शुक्रबार बिहान चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए–नभएको पुष्टि भइसकेको छैन ।
चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए । जसमा तीनजना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शव भेटिएका छन् । दुवै बसमा गरेर ९ जना भारतीय यात्रु थिए । ३ जना भारतीय यात्रुको शव भेटिएको छ ।
-

यूरोकपको उत्कृष्ट युवा खेलाडी बने यामल
काठमाडौं । स्पेनका लामिन यामल युरो २०२४ को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनी प्रदर्शन गरेका यी १७ वर्षीय युवा स्टारले पहिलो पटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए । यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत बने । उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए । जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए ।
यामलले सेमिफाइनलमा फ्रान्स विरुद्ध उत्कृष्ट गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा उनले स्पेनका लागि बराबरी गोल गर्दै खेलमा फर्काएका थिए । उनले स्पेनले खेलेको सातवटै खेल खेलेका थिए । जसमा समूह चरणमा क्रोएसियालाई ३–० ले पराजित गरेको खेलमा डेब्यु गर्दै युरोको सबैभन्दा कान्छो खेलाडी खेलाडीको कीर्तिमान बनाएका थिए । जतिबेला उनी १६ वर्ष ३३८ दिनका थिए ।
यस्तै सेमिफाइनलमा फ्रान्स विरुद्ध गोल गर्दै उनी युरो इतिहासमा गवल गर्ने पनि सबैभन्दा कान्छो खेलाडी बने । फ्रान्स विरुद्ध गोल गर्दा उनको उमेर १६ वर्ष ३६२ दिन थियो । फाइनलमा इंग्ल्याण्डलाई २ण्ज्ञछण्१ ले पराजित गर्नुअघिल्लो दिन मात्र उनले आफ्नो १७औं जन्मदिन मनाएका थिए ।
-

यूरोकपको उपाधी स्पेनलाई
काठमाडौं । स्पेनले यूरोकप २०२४ को उपाधी उचालेको छ । कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको स्पेनले जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो ।
खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाए ।७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । सोही गोल निर्णायक बन्यो ।
स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ । इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो । -

प्रधानमन्त्री ओलीले आज सपथ लिने
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए ।
प्रधानमन्त्री नियुक्त भएसँग ओलीले मन्त्रिपरिषद् गठनको तयारी थालेका छन् । मन्त्रीको नाम टुंगो लागेपछि छिट्टै मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् ।
-

आफ्नो कार्यकाल संतोषजनक रहेको निवर्तमान अर्थमन्त्रीको दावि
काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकाल सन्तोषजनक रहेको दाबी गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित बिदाइ कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गरे ।
आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ मन्त्रीसँग सहकार्य हुने उनले बताए । बजेटमार्फत शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उनले बताए ।
१२ वर्षअघि पहिलोपटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पूरक बजेट ल्याएको स्मरण गर्दै उनले यसपटक जननिर्वाचित संसदबाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गरे । नेपाल राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीसहित मन्त्रालयका उच्चपदस्थदेखि मातहतका सबै निकायले आफूलाई राम्रो साथ दिएको भन्दै उनले धन्यवाद दिए ।
‘केही आशा जगाउने गरी बजेट ल्याएको छु । ४ महिना एक साताको कार्यकालबाट म सन्तुष्ट छु,’ उनले भने, ‘मलाई अर्थ मन्त्रालय परिवार र गभर्नरसहित सम्बद्ध सबैबाट राम्रो सहयोग मिल्यो ।’ मन्त्री पुनले सुरुदेखि नै बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यसपटकको बजेटको स्वामित्व धेरैले लिएको बताए ।
विगतमा सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल नहुँदा मुलकको समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने गरेको विगतबाट सिकेर योपटक बढीभन्दा बढी निकाय र सरोकारवालाको सहभागितामा बजेट निर्माण गरिएको मन्त्री पुनको भनाइ थियो ।
नीति तथा कार्यक्रममा आफू र अर्थसचिव सहभागी भएको तथा बजेट निर्माणका प्रारम्भिक छलफलदेखि लेखनसम्म नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिव सहभागी भएको जानकारी उनले दिए ।
‘एक वर्ष बसे पनि, चार महिना बसे पनि अर्थमन्त्रीले गर्ने मुख्य काम बजेट ल्याउनु नै हो । जहिले पनि बजेट विवादमा आउने, कसैले स्वामित्व नलिने अवस्था रहँदै आयो । प्रधानमन्त्री कार्यालयमा बन्ने नीति कार्यक्रम एक खालको, अर्थ मन्त्रालयमा बन्ने बजेट अर्को खालको र राष्ट्रबैंकले ल्याउने मौद्रिक नीति अर्कै खालको हुने गरेको थियो,’ मन्त्री पुनले भने ।
राज्यका नीतिहरू समन्वयात्मक ढंगले आउनुपर्छ भनेर यसपटक बजेट निर्माणमा सुरुदेखि नै बजेट बनाउँदा योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गर्भनर र मुख्यसचिवलाई सुरुदेखि नै सहभागी गराइएको उनले बताए । वित्त नीतिलाई मौद्रिक नीतिसँगै कसरी लान सकिन्छ भन्नका लागि बजेट लेखनको बेलामा गभर्नर सँगै राखेर ड्राफ्ट गरिएको उनले बताए ।
मलुकु आर्थिक शिथिलताबाट माथि उठ्दै गर्दा तयार पारिएको बजेटले आशा जगाएको उनले बताए । विगतमा जस्तो यसपटक बजेट महत्त्वाकांक्षी र कार्यान्वयन हुने खालको आएको भन्ने टिप्पणी नसुनिएकाले कार्यान्वयन हुनेमा शंका नरहेको उनले उल्लेख गरे ।
-

काठमाडौं महानगरलाई न्यूरोडमा फुटपाथ बिस्तारमा अदालतले खोल्यो बाटो
काठमाडौं । न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन काठमाडौं महानगरपालिकालाई बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतले सडक डिभिजन कार्यालय काठमाडौंले गत जेठ १३ गते र १६ गते महानगरपालिकालाई पठाएको पत्र यो रिटको अन्तिम टुंगो नलाग्दासम्म यथास्थितमा राख्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो । सडक डिभिजन कार्यालयको उक्त निर्णयको विरोधमा काठमाडौं महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो ।
सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले सार्वजनिक सडक ऐन २०३१ मा २०७५ फागुन १९ मा गरेको संशोधन अनुसार न्यूरोडको सडक शहरी सडकमा पर्ने उल्लेख गरेको छ । शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै उच्च अदालतले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।
-

नारायणी नदीमा आइतबार थप चार शव फेला
काठमाडौं । नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो । शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका छन् । यसअघि पाँच शव फेला परेको थियो ।
नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँचवटै शवको सनाखत भइसकेको छ । शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतामा लेदो सहितको पहिरोले दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा पुर्याएको थियो । ६५ यात्रु रहेको दुई गाडीमध्ये ३ जना पौडिएर किनारामा निस्किएका थिए । अहिलेसम्म अन्य यात्रु र बसको अवस्था पत्ता लाग्न सकेको छैन ।
-

एमाले र कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगियो
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ ।
नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ । मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।
-

केपी ओली प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेको पत्र राष्ट्रपति कार्यालय पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बुझेका थिए ।
२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेश गरेका थिए ।
प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार अपरान्ह ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
-

गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए
काठमाडौं । इजरायली सेनाले गाजाको एक मानवीय क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गरेको छ । घटनामा कम्तीमा ९० जना मारिएको खबर छ । तीन सय जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हमासका अनुसार इजरायली सेनाले युद्धक्षेत्रबाट विस्थापित भई बसेका मानिसको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको हो । त्यस क्षेत्रलाई यसअघि इजरायली सेनाले नै सुरक्षित क्षेत्र तोकेर प्यालेस्ष्टिनीलाई शरण लिन आग्रह गरेको थियो ।
इजरायली सञ्चारमाध्ययमले सेनाले हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई लक्षित गरी आक्रमण गरेको दावि गरेका छन् । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । गाजामा अहिलेसम्म ३८ हजार चार सय ४३ जनाको ज्यान गएको र ८८ हजार चार सय ८१ जना घाइते भएका हमासले जनाएको छ ।
-

अफगानिस्तानमा भयाभह बन्दै दादूरा, कम्तिमा १६० को मृत्यु
काठमाडौं । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन् ।
अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका रिपोर्टमा उल्लेख गरिएको छ । दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नेजस्ता बिषय रोग र मृत्युको कारक हुन् । रासससिन्ह्वा
-

नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी
काठमाडौं । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।
परियार भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको पाइएको छ । माझी काठमाडौँबाट सर्लाही जाने क्रममा बस दुर्घटनामा परेको खुलेको छ । शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उनको पहिचान खुलेको थियो ।
प्रहरीले सार्वजनिक गरेको बसको चलानीमा परियार र माझीको नाम उल्लेख नभए पनि उनीहरु चलानी काटी सकेपछि बसमा बिच बाटोबाट यात्रा गरेको बताइएको छ ।
शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।
-

त्रिशूली नदीमा बसको खोजी आज पनि जारी
काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी छ । घटना भएको चार दिनपछि आइतबार दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाने भएका छन् । त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज बिहान ७ बजेदेखि खोजी गरिने भनिए पनि पानी परिरहेकाले खोजी कार्य केहीबेर ढिला सुरु भएको छ ।
गृह मन्त्रालयका अनुसार गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको छ । आइतबार ठूलो चुम्बक को प्रयोग गरेर बस खोजिँदै छ । हालसम्म बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर, टेलिस्कोपको लगायतको सहायताले खोजी गरिएको थियो । तर पनि बस भेटिएको छैन ।ती बसमा ५० जनाभन्दा बढी यात्रुहरु रहेको अनुमान छ । तीन जना पौडिएर बाँच्न सफल भएका थिए । शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ । बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भए पनि अरु बेपत्ता छन् ।
हालसम्म तीनवटा शव भेटिएका छन् । एउटा शव भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा र अरु दुईवटा शव नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी किनारमा भेटिएका थिए । ती शव पनि स्थानीयले देखेर सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
-

कसले चलायो ट्रम्पमाथि गोली ?
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।
बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ ।अमेरिकीको सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लेल्मीले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अमेरिकी अधिकारीहरुले यो आक्रमणको अनुसन्धान गरिरहेको जनाएका छन् ।
चुनावी र्यालीमा ट्रम्पले करिब पाँच मिनेट बोलेपछि केही पड्किएको जस्तो आवाज सुनिएको थियो । जब गोली चल्न थाल्यो, भिडमा कोलाहल मच्चियो । ट्रम्पलाई केही सेकेण्डसम्म सुरक्षा दस्ताले घेरेर राखे । अनि स्टेजबाट ओराले । स्टेजबाट ओर्लिंदै गर्दा ट्रम्पले हावामा मुठ्ठी उचालेका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले ट्रम्पलाई गाडीमा हालेर लगेका थिए ।
