Category: समाचार

  • गौतम गम्भीर बने भारतीय क्रिकेट टीमको ‘हेड कोच’

    गौतम गम्भीर बने भारतीय क्रिकेट टीमको ‘हेड कोच’

    काठमाडौं । पूर्वभारतीय स्टार गौतम गम्भीर भारतीय क्रिकेट टीमको हेडकोच बनेका छन् । बीसीसीआईका सचिव जय साहले सामाजिक सञ्जालमार्फत यसको पुष्टी गरेका हुन् । उनले आधुनिक क्रिकेट तीव्र गतिमा बदलीरहेको भन्दै यसलाई गम्भीरले नजिकबाट नियालिरहेको समेत बताएका छन् ।

    उनले आफ्नो करियरमा उत्कृष्ट प्रदर्शन गरेका गम्भीर भारतीय क्रिकेटलाई अगाडी बढाउन एक आदर्श व्यक्ति भएको समेत बताए । यसअघि भारतीय क्रिकेट टीमको हेडकोच राहुल ड्रविड थिए । उनको प्रशिक्षणमा भारतले टी–२० विश्वकपको उपाधी जितेको छ ।

  • एमाले सचिवालय बैठक आज बस्दै

    एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक आज बोलाइएको छ । मंगलबार दिउँसो १ बजेलाई तय भएको बैठक बुधबार बिहान ११ बजेलाई सारिएको हो । पार्टी कार्यालय च्यासलमा बस्ने आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने बताइएको छ । यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन्।

    एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ। असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो।


    सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन्। उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

    कांग्रेससँगको सहमतिपछि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो। तर प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वास मत लिने तयारी गरेका छन्। आजको सचिवालय बैठकमा यसबारे पनि छलफल हुनेछ।

  • मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध

    काठमाडौं । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
    गलकोट नगरपालिका १ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

    उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिराका कारण चार दिनयता सवारी आवागमन रोकिएका छैनन् ।

    सडकको ‘ट्रयाक’ नै पहिराले बगाएका करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो । जिल्लमा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।

  • क्यानडालाई हराउँदै अर्जेण्टिना कोपा अमेरिकाको फाइनलमा

    क्यानडालाई हराउँदै अर्जेण्टिना कोपा अमेरिकाको फाइनलमा

    काठमाडौं । क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

    खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे । र, खेलको अन्तिम समयसम्म यही अग्रता कायम राख्दै अर्जेन्टिना २(० ले विजयी भयो । अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

  • ताप्लेजुङमा भूकम्पको धक्का

    ताप्लेजुङमा भूकम्पको धक्का

    काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आएको छैन ।

  • फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो

    फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो

    काठमाडौं । स्पेन यूरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएर फाइनल पुगेको हो ।

    खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता लामो समय टिकेन । २१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि डानी ओल्मोले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

    स्पेन युवा स्टार यामलले १६ वर्ष ३६२ दिन हुँदा गोल गर्दै युरोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए । यसअघि स्विट्जरल्याण्डका जोहान भोलनान्थेनले सन् २००४ को युरोमा फ्रान्स विरुद्धनै १८ वर्ष १४१ दिनको हुँदा गोल गरेका थिए । चौथोपटक युरो जित्ने लक्ष्यमा रहेको स्पेनले अब नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

  • नेपाल र बंगलादेशबीच विद्युत खरीद- बिक्रि सम्झौता हुने निश्चित

    नेपाल र बंगलादेशबीच विद्युत खरीद- बिक्रि सम्झौता हुने निश्चित

    काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ। बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो।

    कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८०मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युतको दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो। पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बिपिडिबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो।

    प्राधिकरणले ७ कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बिपिडिबीलाई दिनु पर्नेछ। त्यसपछि बिपिडिबीले विद्युत बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ। मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नुपर्नेछ। प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम भारत र बिपिडिबीबीच त्रिपक्षीय सम्झौता हुनेछ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत निर्यात गर्ने गरी काम सुरू गरिसकिएको बताए। ‘त्रिपक्षीय विद्युत बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाले छिट्टै सम्झौता हुनेछ, त्यसपछि बंगलादेश विद्युत निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाउँछौं, नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्ने हुँदा यसअघि नै भारतमा विद्युत निर्यात स्वीकृति पाइसकेका आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौं।’

    प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्। प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ।

    प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६।४० अमेरिकी सेन्ट पाउने छ।नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ। अर्थात् बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ।

    मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत् बहरामपुर (भारत–भेरमारा–बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत पुग्नेछ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै बेहोर्ने बताए। घिसिङले बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रति युनिट दर करिब ७.६ सेन्ट पुग्ने उल्लेख गरे।

    ‘हामीले मुजफ्फरपुर विन्दुमा ६.४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत बिक्रीका लागि हामीले पाएको दर उचित हो,ु उनले भने, ‘सरकार–सरकार तहमा बंगलादेशसँग सांकेतिक रुपमा पहिलो चरणमा हुन लागेको विद्युत व्यापारले एकातर्फ आगामी दिनमा क्षेत्रीय रुपमा ठूलो परिमाणमो व्यापारलाई सहयोग र सहजीकरण गर्नेछ भने अर्कोतर्फ यसले विद्युत व्यापारका अरु धेरै बाटाहरू खुलाउनेछ।

  • विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या

    विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या

    काठमाडौं । सोमबार राति विराटनगरमा युवाहरुको दुई समूहबीच ग्याङफाइट भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सोमबार राति करिब सवा १० बजे विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै झडप भएको प्रहरीले बताएको छ ।

    यस घटनामा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ । उनका साथी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेमध्ये रायको कोख र ढाडमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।


    मुख्य बजार क्षेत्रमा भएको ग्याङफाइटको विषयमा प्रहरीले घाइतेहरु अस्पताल पुगेपछि मात्रै जानकारी पाएको थियो । ग्याङफाइटका क्रममा एउटा समूह भागेको थियो । घाइतेहरुलाई बटुवाले अस्पताल पुर्‍याएका थिए ।

    प्रहरीले घटनामा संलग्न भएको आरोपमा विराटनगर–११ का २० वर्षीय सोनु गिरी, ताप्लेजुङका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी र मोरङ रंगेलीका १६ वर्षीय एक बालकलाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलमा एउटा मोबाइल फेला परेको थियो । सोही मोबाइलबाट घटनामा संलग्नहरुसम्म पुगेको थियो ।

    मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार आइतबार युवाहरुका दुई समूहबीच युवती जिस्क्याएको विषयमा विवाद भएको थियो । पक्राउ परेका पक्षकी युवतीलाई मृतक तथा घाइते पक्षका युवाहरुले जिस्क्याएको पाइएको प्रहरीको भनाइ छ । यही विषयमा आइतबार दुई समूहबीच पनि विवाद भएको थियो ।

    विवादको विषयलाई लिएर सोमबार राति मृतक तथा घाइते पक्षका १२–१३ जनाको समूह बाटो ढुकेर बसेको थियो । राति अर्को समूह पनि आएपछि झडप भएको थियो । झडपका क्रममा पक्राउ परेका शेर्पाले साथमा बोकेको कैंचीले मृतक करणलाई प्रहार गरेको पाइएको प्रहरीले बताएको छ ।

    कैची प्रहार गर्दा तीन जनालाई गम्भीर चोट लागेको थियो । घटनामा प्रयोग भएको कैची विराटनगर अस्पताल अगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको र घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

  • वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो ।

    वर्षातको समयमा फैलिनसक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरुले स्थानीय तह नछोड्ने व्यवस्थाका लागि गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

    गृहसचिव एकनाराण अर्यालले २१ असारमा लेखेको पत्रसहित संघीय मामिला मन्त्रालयका सचिव मुकुन्दप्रपाद निरौलाले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई यस्तो निर्देशन दिएका हुन् । स्थानीय तहमा आइपर्नसक्ने विपद व्यवस्थापन र पूर्वतयारीको काममा जुट्नुपर्ने भएकाले यो समयमा कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको हो ।

  • रास्वपाका महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त

    रास्वपाका महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।

    बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् । उनका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ । रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

    ढकालमाथि समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ ।

    गत बुधबारको रास्पाको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । उनीमाथि थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको थियो । आयोगले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

    केन्द्रीय समितिको आजको बैठकमा सो सिफारिसमाथि छलफल हुँदा अधिकांश केन्द्रीय सदस्यहरुले साधारण सदस्यता कायम राख्नुपर्ने धारणा राखेका थिए । सदस्यहरुको सोही सुझावका आधारमा ढकालको साधारण सदस्यता कायम राख्दै अन्य सबै जिम्मेवारीबाट हटाउने निर्णय भएको नेता गौतमले जानकारी दिइन्

  • मलेखु-नौबिसे सडक खण्ड रातमा १५ दिन बन्द हुने

    मलेखु-नौबिसे सडक खण्ड रातमा १५ दिन बन्द हुने

    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट राति बन्द गर्न लागिएको जनाएको छ । सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

    जहाँ ‘गर्डर लन्चिङ’ को काम गर्न लागिएको आयोजनाको भनाइ छ । यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन् । आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन भनेको छ । ओभर टेक नगर्न समेत आयोजनाले आह्वान गरेको छ । यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने समेत आयोजनाले जनाएको छ।

  • साउथ एसियन ट्राभल अवार्ड्स नेपालमा हुने

    साउथ एसियन ट्राभल अवार्ड्स नेपालमा हुने

    काठमाडौं । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) को ८औं संस्करण नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा यो कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो । कार्यक्रम १९ सेप्टेम्बर २०२४ मा आयोजना हुने भएको छ । यस भेगका पर्यटन व्यवसायीबीच नेटवर्किङ अवसरका रुपमा समेत कार्यक्रम फलदायी हुने आयोजकको भनाइ छ ।

    यस भेगको आतिथ्य क्षेत्रमा उत्कृष्ट काम गरेका कम्पनीहरू पुरस्कृत हुने समेत आयोजकको भनाइ छ । साटाको अघिल्ला संस्करणहरु दक्षिण एसियाका अन्य पर्यटकीय सहरमा आयोजना गरिएको थियो । जसमा श्रीलंकाको गल, भारतको मुम्बई र बैंगलौर, माल्दिभ्सको मालेसहितका सहर रहेका छन् ।

  • अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

    अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

    काठमाडौं । अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको छ । लिबियाबाट अल्जेरिया पुगेका उनीहरु मरुभूमिमा हराएपछि खोजी भएको थियो । दूतावासका बसेम फारुखले लिबियाका अधिकारीहरूले आप्रवासीलाई भाग्न सघाई अल्जेरिया पुर्‍याइएको आरोप लगाउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    लिबियाका अधिकारीका गैरजिम्मेवारीपनले अझै धेरै सिरियालीहरू लिबिया छोडेर अल्जेरियातर्फ जाने र थप घटना हुने भन्दै फारुखले लिबियाकालाई सचेत हुन आग्रह गर्नुभएको छ । यसअघि सन् २०१६ मा पनि २२ जना सिरियाली नाइजरबाट प्रवेश गरेर अल्जेरियाको मरुभूमिमा हराएका थिए । पछि उनीहरुलाई सेनाले उद्धार गरेको थियो । सन् २०११ देखि सिरिया युद्धले ग्रस्त हुँदा अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । यो बीचमा लाखौँ नागरिक विस्थापित भएका छन् । अर्थतन्त्र र पूर्वाधारमा पनि गम्भीर क्षति पुगेको छ ।

  • एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

    एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक मंगलबार बस्दैछ। दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन्।

    एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ। असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो। सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन्। उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

    कांग्रेससँगको सहमतिपछि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो। तर प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वास मत लिने तयारी गरेका छन्। आजको सचिवालय बैठकमा यसबारे पनि छलफल हुनेछ। यसैबीच कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरिसकेको छ। पार्टी संसदीय दलको बैठकले यो निर्णय गरेको हो।

  • युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

    युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

    काठमाडौं । युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो। मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्‍याएको समाचारमा उल्लेख छ। उक्त आक्रमणपछि अभिभावकहरू आफ्ना बालबच्चा बोकेर अस्पतालबाट निस्किन बाध्य भएका छन्। यो मिसाइल आक्रमणले सात वटा जिल्लामा क्षति पुर्‍याएको छ।

    आक्रमणबाट १७० जना भन्दा बढी घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा लेख्दै मिसाइल आक्रमणबाट एक सय भन्दा बढी घरहरू भत्किएको बताएका छन्। ‘रूसी आतंकवादीले यसबारे जवाफ दिनुपर्छ। चिन्ताले आतंक रोकिँदैन। समवेदना हतियार होइनन्,’ उनले लेखेका छन्।

    यो आक्रमणसँगै युक्रेनले आफ्नो एयर डिफेन्समा सुधार ल्याउनुपर्ने जनाएको छ। युक्रेनको एयर डिफेन्सले ३८ मध्ये ३० वटा मिसाइल खसाएको एयर फोर्सले बताएको छ।

  • पूर्वी नेपालमा पुनः मनसुन सक्रिय

    पूर्वी नेपालमा पुनः मनसुन सक्रिय

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

  • नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुन: प्रत्यक्ष निर्वाचित हुनुपर्ने

    नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुन: प्रत्यक्ष निर्वाचित हुनुपर्ने

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएका छन् । यसअघि विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो । उक्त प्रावधानमा भएको विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेको हो । यससँगै पुनः महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।


    यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यसअघि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन हुने जानकारी दिए ।

    यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रूपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए । आफू वरिष्ठ उपाध्यक्ष उठ्दा उनले चुनावी नारामा यही विषयलाई प्रमुखताका साथ उठाएका थिए ।

    अध्यक्ष ढकालका अनुसार सोमबार संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछि अर्को कार्यकालबाट लागू हुने छ । अहिले वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ छन् । संशोधित विधानमा एकबाट वरिष्ठ उपाध्यक्ष दुई जना रहने व्यवस्था गरिएको छ । त्यस्तै हाल तीन रहेको उपाध्यक्षमा थप गरेर एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

  • पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध

    पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध

    काठमाडौं । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबार रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

    पाँचखाल नगरपालिका-८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो । सोमबार राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउने काम सुरु हुँदैछ ।

  • नेपाली टेलिकम विलिङ प्रणाली स्तरोन्नती गर्दै

    नेपाली टेलिकम विलिङ प्रणाली स्तरोन्नती गर्दै

    काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्दैछ । त्यस क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुन सक्ने नेपाल टेलिकमले जनाएको छ ।

    नेपाल टेलिकमले जारी गरेको सूचना अनुसार बिलिङ प्रणाली स्तरोन्नती परीक्षण कार्य असार २५ गते राति ११ बजेदेखि असार २६ गते बिहान ६ बजेसम्म हुने छ । सोही अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुन सक्ने सूचनामा उल्लेख छ ।

    त्यसैले उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ । मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवाहरु भने यथावत सन्चालन हुने सूचनामा उल्लेख छ ।

  • रास्वपाको बैठक आज, मुकुल ढकालबारे के होला निर्णय

    रास्वपाको बैठक आज, मुकुल ढकालबारे के होला निर्णय

    काठमाडौं । निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आजै बिहान बैठक बस्न लागेको हो ।

    बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौं । बैठकमा एजेन्डामा समसामयिक र विविध पनि छ ।’

    रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

  • अफलाइन राइड गरेर दुर्घटनामा परेका ३ पठाओ चालक पक्राउ

    अफलाइन राइड गरेर दुर्घटनामा परेका ३ पठाओ चालक पक्राउ

    काठमाडौं । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ ८ घर भई हाल तारकेश्वर बस्‍ने २२ वर्षीय तेज रावल, जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्‍ने २३ वर्षीय पदम धिताल र जुम्लाको गुठीचौर ४ घर भई हाल तारकेश्वर बस्‍ने सुरेश अधिकारी रहेका छन् । उनीहरूलाई प्रहरी गोंगबु एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

    एसपी अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजे गोंगबुबाट हात्तिवनसम्‍म ३५ वर्षीय अनु गुरूङ र उनका साथीहरू ३ जना अफलाइन राइडरसँग चढेका थिए । तर जाने क्रममा कान्तिपथ नजिकै दुर्घटना भई उपचारका क्रममा मृत्यु भएको प्रहरीको आरोप छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

  • कंचनपुरमा डुबेर दुई किशोरीको मृत्यु

    कंचनपुरमा डुबेर दुई किशोरीको मृत्यु

    काठमाडौं । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् । सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ को गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

    डीएसपी जोशीका अनुसार डुबेर मृत भेटिनेमा पुनर्वास नगरपालिका–५ की १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी रहेको जानकारी दिए । उनका अनुसार उनीहरुसँगै नुहाउन गएकी १६ वर्षीया आरती बोगटी भने बेपत्ता भएकी छन् । आरतीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ ।

  • त्रिविका उपकुलपतिलाई भेट्न क्यूआर कोडमार्फत समय लिन सकिने

    त्रिविका उपकुलपतिलाई भेट्न क्यूआर कोडमार्फत समय लिन सकिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिन सकिने भएको छ । त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ । त्रिविले निकालेको सूचनामा भनिएको छ, ‘विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा।डा केशरजंग बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय यवस्थापनका लागि तल उल्लेखित क्यूआर प्रयोग गरी अग्रिम समय (टाइम बुक) लिनुहुन सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सबैमा अनुरोध छ ।’

    यता, प्रत्यक्ष उपकुलपति बरालसँग अथवा उनका स्वकीय सचिव सरोज जी तन्डुकारमार्फत समय लिन सकिने त्रिविका सूचना अधिकारी भिमबहादुर श्रेष्ठले बताए । उनले भने, ‘सबैको सहजताको लागि र समय व्यवस्थापनको लागि क्यूआरको कोडको प्रयोग गरेका हौं।समय नलिई जरुरी काम लिएर उहाँलाई भेट्न आउँदा पनि कहिले भेट्नै नपाउने कहिले विषयवस्तु अनुसारको समय नमिल्ने जस्ता गुनासो हुँदैन अब ।’

  • कोरोना विरुद्धको साढे १६ लाख खोप नेपाल ल्याइयो

    कोरोना विरुद्धको साढे १६ लाख खोप नेपाल ल्याइयो

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार दुई सय मात्रा खोप ल्याएको जानकारी दिइन् ।

    यही असार १६ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार १७ गते दुई लाख ७० हजार सात सय २० मात्रा, असार १८ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २० गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २१ गते दुई लाख ७० हजार सात सय २० मात्रा र असार २३ गते दुई लाख ३० हजार चार सय मात्रा खोप नेपाल आएको हो ।

    खोप ग्लोबल एलाएन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)बाट अनुदानमा ल्याइएको जनाइएको छ । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी–१’ ‘केपी–२’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने छ । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ । रासस

  • फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख

    फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख

    काठमाडौं । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनले जित हात पार्ने देखिएको छ । फ्रान्समा निर्वाचनको प्रारम्भिक रुझान आउँदै गर्दा पेरिसका केही स्थानमा हिंसाका घटना समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन सकिएको छ ।

    जसमा वामपन्थी गठबन्धन अगाडी देखिएको छ । रुझान आएसँगै हजारौं मासिन पेरिसको सडकमा भेला भएका हुन् । प्रारम्भिक रुझानमा वामपन्थी उम्मेदार १८२ सिटसहित अग्रस्थानमा छन् । राष्ट्रपति एमैनुएल म्याक्रोको पार्टी एनसेम्बल अलायन्स १६८ सिटमा मात्र अग्रस्थानमा छद्ध । नेशनल र्याली तथा उसको सहयोगी गठबन्धन १४३ सिटमा मात्र अगाडी छ ।

  • विपत्तिमा प्रहरी प्रशासनको सक्रियता सराहनिय : रास्वपा

    विपत्तिमा प्रहरी प्रशासनको सक्रियता सराहनिय : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो तथा विपद् प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा गृह प्रशासनले गरेको कामको सराहना गरेको छ । पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, गृह प्रशासनले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरेको व्यापक पूर्वतयारी एवम् हालका पहलहरुको सराहना गरेका हुन् ।

    ‘केही दिनदेखि देशका विभिन्न भागमा लगातार परिरहेको अविरल वर्षाको प्रभावका कारण आएको बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति हुनुका साथै आम नागरिकले कष्टकर परिस्थितिको सामना गर्न परिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,’तर, सबै प्रकोप प्रभावित स्थानहरूमा सरकारी संयन्त्रको पहलकदमी अभाव हुनसक्नेतर्फ रास्वपा सचेत रही सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

    राष्ट्रिय स्वतन्त्र पार्टी पंक्तिका विभिन्न तहका समिति, संयन्त्र र सदस्यहरुले आफू सुरक्षा समेतलाई ध्यान दिई सर्तकतापूर्वक आ–आफ्नो स्थानीय क्षेत्रमा बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक प्रकोपका कारण विपद् पीडित तथा प्रभावितहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न यथा सम्भव आफू खटेर अरूलाई पनि खट्न र उद्धार कार्यमा संलग्न हुन प्रोत्साहन गर्दै सहयोग गरिदिन पनि विज्ञप्तिमा अपील गरिएको छ ।

  • मेघालयमा चार नेपालीको विभत्स हत्या

    मेघालयमा चार नेपालीको विभत्स हत्या

    काठमाडौं । रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ । मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको र उहाँ इलामका २३ वर्षीय रवि राई रहेको तथा अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

    मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकका अनुसार बीभत्स हत्या गरिएको घटनाबारे विषेश अनुसन्धान टोलीले छानबिन सुरु गरेको छ । मेघालय प्रहरीले घटनास्थलमा क्राइम स्क्यान युनिट, मोबाइल फरेन्सिक युनिट, घटनास्थलबाट फेला परेका प्रमाणसहित स्थानीयसँग सोधपुछ गरिरहेको जनाएको छ ।

    कोइलाखानीमा काम गर्ने अन्य नेपाली मजदुर र उनका परिवारमार्फत पनि शवको पहिचानको प्रयास गरिरहेको प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा हत्यामा आपराधिक समूहको संलग्ना देखिएको प्रहरीले जनाएको छ । चारै जनाको शव पोस्टमार्टमका लागि प्रहरीले स्थानीय सिभिल अस्पतालमा लगेको जनाएको छ । हत्या गरिएकामध्ये अन्य तीन जनासमेत धरान–भोजपुर क्षेत्रका नेपाली हुन सक्ने अनुमान मेघालय प्रहरीले गरेको जनाएको छ ।

    गोरखापत्रको सहयोगमा

  • निरन्तर वर्षाका कारण नारायणगढ- बुटवल सडक खण्ड विस्तारको काम बन्द

    निरन्तर वर्षाका कारण नारायणगढ- बुटवल सडक खण्ड विस्तारको काम बन्द

    काठमाडौं । निरन्तरको वर्षापछि नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम बन्द भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउन पहल भइरहेको जानकारी दिए। निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको समेत उनले बताए ।


    सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए।
    विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए।

    नारायणगढ बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमी सडक पर्दछ। समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ।

    म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ। ‘निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ,’ उनले भने, ‘काम सुरु गर्ने बेलामा फैलिएको कोभिडको महामारी , ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ।’

    निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको आयोजना प्रमुख मगरले बताए। ‘कति दिन म्याद थप गर्ने भन्ने विषयमा परामर्शदाता र हामी मिलेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा सिफारिस पठाउँछौँ।’ म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको उनले भने।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा भएको छ।

    कञ्चनपुरको दोधारामा पछिल्लो २४ घन्टामा ५७३ मिलिमिटर वर्षा भएको छ। यो नेपालमा मापन गर्न थालिएयताकै अति भारी वर्षा हो। यसअघि सन् २०१७ मा हेटौंडामा ५१६ मिलिमिटर वर्षा भएको थियो। त्यस्तै कञ्चनपुरकै हनमान नगरमा ५६०, सुन्दरपुरमा ४१६, कैलालीको गर्भ दरबारमा २०४.८, डडेलधुराको साहुखर्कमा २०२.२ मिलिमिटर वर्षा भएको छ।

    बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

  • मनसुनयता नेपालमा विपत्तिमा ७० जनाको मृत्यु

    मनसुनयता नेपालमा विपत्तिमा ७० जनाको मृत्यु

    काठमाडौं । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।

    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३र३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २र२ तथा काठमाडौं र उदयपुरमा १र१ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको थियो । त्यसबाट १४७ परिवार प्रभावित भएका छन् ।

    घर, सडक लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ । तर आज सुदूरपश्चिम र कर्णाली प्रदेशको तल्लो भाग भने प्रभावित हुनेछ । सोमबारदेखि मौसममा आजको भन्दा पनि धेरै सुधार देखिने पूर्वानुमान छ ।