Category: समाचार

  • असार अन्तिम सातासम्म देशभर ३९ प्रतिशत मात्र रोपाइं

    असार अन्तिम सातासम्म देशभर ३९ प्रतिशत मात्र रोपाइं

    काठमाडौं । आइतबारसम्म देशभर ३९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो । यस पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो ।

    गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६ लाख ४२ हजार २८४ हेक्टरमा रोपाइँ भएको थियो । देशभरि भएको रोपाइँ मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिममा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ । १ लाख ७४ हजार ५७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये १ लाख हेक्टरभन्दा माथि रोपाइँ भइसकेको हो ।

    यस्तै गण्डकी प्रदेशमा ४९.७ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ । बागमती प्रदेशमा ४०.२ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा ३५ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ । सबैभन्दा कम मधेश प्रदेशमा करिब २६ प्रतिशत धान रोपाइँ भएको छ । ३ लाख ८३ हजार १५० हेक्टर मध्ये ९७ हजार ९ सय हेक्टर रोपाइँ भएको हो ।

  • सोमबारबाट वर्षा कम हुने

    सोमबारबाट वर्षा कम हुने

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि पानी पर्न कम हुने बताएको छ । महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी हुने बताएको हो । महाशाखाले भोलि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ ।

    अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । त्यसकारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम पूरै नघट्ने, खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

  • सप्तकोशीका सबै ढोका खोलियो

    सप्तकोशीका सबै ढोका खोलियो

    काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । सतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका बिहानदेखि खोलिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदैआएको छ ।

    आज रातिबाट पानीको बहाव झन् बढेपछि ब्यारेजका ५६ वटै ढोका आइतबार बिहान ९ बजेदेखि खोलिएको थियो । सप्तकोशी चतरा जल मापन केन्द्रले आज दिउँसो ४ बजे १ लाख ७२ हजार ५ सय क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी योजना आयोग विराटनगरका सम्पर्क भूआर्जन अधिकृत प्रमोद पौडेलले बताए ।


    आज बिहान १० बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार १५० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो । सन २०२० मा ३ लाख ३४ हजार नौसय, सन् २०२१ मा २ लाख ७४ हजार, सन् २०२२ मा २ लाख ४३ हजार, सन् २०२३ अगस्ट १४ मा ४ लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कोशी योजना विराटनगर सम्पर्क तथा भूआर्जन कार्यालयले जनाएको छ ।

    पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च बन्दैगएको छ । कोसीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा यो समाचार तयार पार्दासम्म कुनै क्षति गरेको छैन । पूर्वी तटबन्धको राजावास, प्रकाशपुर, मधुवनलगायत क्षेत्रमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धनजिक आएको छ ।

  • १४ किलो चाँदीसहित ३ जना पक्राउ

    १४ किलो चाँदीसहित ३ जना पक्राउ

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ किलो २५० ग्राम चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् । आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले बताए ।

    उनका अनुसार, प्रहरीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ । एसपी बोगटीका अनुसार, गाडीको डिकीमा लुकाएर राखेको अवस्थामा चाँदीका गहनाहरु बरामद भएको थियो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको बोगटीले बताए ।

  • ललितपुर गेस्टहाउसमा एक पुरुष मृत फेला

    ललितपुर गेस्टहाउसमा एक पुरुष मृत फेला

    काठमाडौं । ललितपुर महानरपालिका–१७ सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा सोलुखुम्बु घर भएका २१ वर्षीय जीवन निरौला रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

    सुमन तामाङले सञ्चालन गरेको उक्त गेस्टहाउसमा बस्न भन्दै निरौला शनिबार राति साढे ९ बजे गेस्टहाउस पुगेका थिए । आइतबार बिहान साढे ११ बजेसम्म पनि ढोका नखुलेपछि झ्यालबाट हेर्दा निरौला घोप्टो अवस्थामा सुतेको देखिएको थियो । तर बोलाउँदा पनि नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् ।

    उनी सुतेको कोठामा लागु औषध एम्पुलहरु समेत फेला परेकाले उनी लागु औषध प्रयोगकर्ता भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनको शव पोष्टमार्टमा लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

  • जनताको जिउ रक्षामा खट्न प्रधानमन्त्रीको निर्देशन

    जनताको जिउ रक्षामा खट्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति सबै शक्ति लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘एक्सन रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् ।

    अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशका विभिन्न भू–भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए । ‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ ।

    उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने,‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔं ।’


    केही दिन अगाडि मात्रै आफूले उच्चस्तरीय विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक बोलाएर सबै सरकारी निकायबीच समन्वय गरेर जनताको जीउधनको सुरक्षामा खटिन निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले भने,‘ वर्षा जारी छ । अझै क्षति हुन सक्छ । सडक अवरूद्ध हुन सक्छन् । त्यसैले उद्धार एवम् राहतका लागि सक्रिय होऔं ।’

    सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग आग्रह गरे ।

  • बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन

    बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन

    काठमाडौं । लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्री बनेका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रवार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जिते पारेको छ ।

    लेबरको जित अघिल्लो आम निर्वाचनको तुलनामा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याइपछिको यो दोस्रो ठुलो सफलता हो ।

    प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रीटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्टयामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताए । विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ । सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ । यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन् । पूर्व रक्षामन्त्री ग्रान्ट स्याप्स, हाउस अफ कमन्सकी लिडर पेन्नी मोर्डन्ट, पूर्व प्रधानमन्त्री लिज ट्रसलगायतले पराजय बेहोरेका छन् ।


    कन्जभेटिभका १२ जना बहालवाला क्याबिनेट मन्त्री निर्वाचनमा पराजित भएका छन् । वेल्स राज्यमा कन्जरभेटिभ शून्यमा सीमित भएको छ । सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहनु भएका सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन् । उनले आफूले हारको जिम्मा लिँदै मतदाता र सहयोगीसमक्ष क्षमा मागेका छन् ।

    उनले स्टयामरलाई बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना दिए । निर्वाचनमा तेस्रो ठुलो दलको रूपमा उदाएको लिबरल डेमोक्याट्रिक पार्टीले सन् १९२३ पछि पहिलो पटक ऐतिहासिक सफलता हात पार्दै ७१ सिटमा विजयी भएको छ ।

    दक्षिणपन्थी दल रिफर्म पार्टीले पनि संसदमा केही सिट जितेको छ । यसका नेता नाइजर फराज पहिलो पटक निर्वाचित भएका छन् । स्कटल्याण्डको प्रभावशाली पार्टी स्कटिश नेसनलिष्ट पार्टीले अत्यधिक सिट गुमाएको छ । कन्जरभेटिभप्रति मतदाताको विश्वास घटेकाले लेबरले उल्लेखनीय जित पारेको बुझाइ विश्लेषकहरूको छ ।

  • गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए

    गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए

    काठमाडौं । गाजा पट्टीको एक विद्यालयमा इजरायली हवाई हमलामा परी कम्तीमा १६ जनाको मृतयु भएको छ । कैयौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा रहेका भवनमा इजरायलले हवाई हमला गरेको हो ।

    इजरायली रक्षा बलले भने यो भवनमा आतंकवादी रहेको भनेको छ । शिविरको एउटै घरमा १० जनाको र बाँकी छ जनाको अर्को भवनमा ज्यान गएको थियो । नुसेराट विद्यालयमा भएको एउटा आक्रमणको एउटा भिडियोमा वयस्क र बालबालिका धुलो र भग्नावशेषबाट उडेको धुवाँले भरिएको सडकमा चिच्याइरहेका थिए ।

    बीबीसीका अनुसार भवनमा सात हजार जनाले शरण लिइरहेका थिए । एक जना महिलाले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार भवनमा आक्रमण हुँदा कुरान पढ्दै गरेका केही बालबालिकाको ज्यान गएको थियो । इजरायलले कुनै पनि चेतावनीबिना विद्यालय भवनमा आक्रमण गरेको यो चौथो पटक हो । हिजो मात्रै भएको एउटा अर्को आक्रमणमा पाँच जना स्थानीय पत्रकारको ज्यान गएको थियो ।

  • बाढी-पहिरोका कारण देशभर ठूलो मानवीय क्षति, दुई दिनमा ११ जनाको मृत्यु

    बाढी-पहिरोका कारण देशभर ठूलो मानवीय क्षति, दुई दिनमा ११ जनाको मृत्यु

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पछिल्लो दुई दिनमा ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार र आइतबार विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका हुन् । यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । ज्यान गुमाउने ११ जनामध्ये गण्डकी प्रदेशको स्याङजा, पर्वत र तनहुँका गरी आठ जना रहेका छन् ।

    नेपाल प्रहरीका अनुसार ज्यान गुमाउनेमा स्याङ्जामा तीन, पर्वत र काभ्रेमा दुई–दुई, पाल्पा, तनहुँ, उदयपुर र काठमाण्डौमा एक–एक जना रहेका छन् । त्यस्तै तनहुँमा तीन, दाङमा दुई, दोलखा, नवलपरासी र स्याङजामा एक–एक जना बेपत्ता छन् । घाइते हुनेमा स्याङजामा पाँच, तनहुँमा चार, ओखलढुङ्गामा दुई र गुल्मीमा एक जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी, नारायणी, सेतीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ । अरू विभिन्न स–साना खोला खहरे पनि उर्लिएका छन् । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

  • महाकालीमा पानी सतह बढ्यो, शारदा ब्यारेजमा आवागमन रोकियो

    महाकालीमा पानी सतह बढ्यो, शारदा ब्यारेजमा आवागमन रोकियो

    काठमाडौं । अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएसँगै शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमन रोकिएको छ । महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पुगेको छ । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाइन्छ ।

  • वर्षा र पहिरोले सुदूरपश्चिममा सडक अवरुद्ध

    वर्षा र पहिरोले सुदूरपश्चिममा सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षा र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सडक अवरुद्ध भएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् ।

    दार्चुलाको मालिकार्जुन नगरपालिका, २ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका,६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे–मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका, १३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

    अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । डडेल्धुराको रडुवामा पहिरो खसेको छ तर पहिरो ठूलो नभएका कारण एकतर्फी सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

    आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर(जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ । यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । दार्चुलाको मार्मा गाउँपालिका(२ का १० परिवार पहिरोको जोखिममा परेका कारण उनीहरुलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

    अछामको चौरपाटी गाउँपालिका(६ का ९ परिवार र मंगलसेन नगरपालिका ८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, बझाङमा सेती नदीको बाढीको जोखिममा परेका ६ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत थापाले थलारा गाउँपालिकाको झ्याँबगर भन्ने ठाउँमा गोठ बनाएर बसेका दुई र केदारस्युँ गाउँपालिकाको रायलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताए । निरन्तर वर्षा भइरहेका कारण पहिरोका साथै तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम भएकाले सचेत रहन स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।

  • नारायणी नदीमा बाढी, सयौं मानिसलाई सुरक्षित स्थानमा सारियो

    नारायणी नदीमा बाढी, सयौं मानिसलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं । नारायणी नदीमा बाढीले बसती क्षेत्रमा डुबान थालेको छ । नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुलका दुबैतर्फका पिल्लर भत्काउँदा पुल बगेकोजिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक पर्यटक घुम्न जाने गर्दथे । यहाँ बीपी कोइरालाको शालिकसमेत राखिएको छ ।

    नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेपछि नदी तटीय क्षेत्रका वासिन्दाहरुलाई विभिन्न सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका वडा न.. १६ गुम्बाचोबाट २६ महिला र ३३ पुरुष गरी ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । भरतपुर महानगरपालिका ३ मा रहेको ‘हाम्रो घर’ नामक संस्थामा आश्रित २४ जना बालबालिका र दुई जना कामदार गरी २६ जनालाई एग्रोभेटको भवनमा सारिएको छ ।

    भरतपुर १७ गोब्रेनीमा नारायणी नदीले घर डुबाउने अवस्था आएपछि १७ घर धुरीका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई आफन्तहरुको घरमा र कसैलाई आश्रय मागेर सारिएको हो । घरका सामानहरुलाईसमेत डुङ्गाको सहायताबाट सार्ने काम भैरहेको छ ।

    भरतपुर महानगरपालिका ३ बालकुमारी नर्सिङ कलेजले भोगचलन गर्दै आएको भवनमा बस्ने ३ पुरुष र १ महिलालाई नजिकै रहेका आफन्तहरुको जिम्मा लगाइएको छ । भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र त्यहाँ रहेका १० घरका २८ जनालाई मारवाडी सेवा समाजको घरमा सारिएको छ ।

  • टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनल पुग्यो

    टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनल पुग्यो

    काठमाडौं । टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स युरो २०२४ को सेमिफाइनल पुगेको छ । बर्लिनस्थित ओलम्पिक स्टेडियममा शनिबारा राति सम्पन्न अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्डले टर्कीलाई २–१ ले हरायो । नेदरल्याण्ड्सको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो । टर्कीका मेरट मुलडुरले ७६ औं मिनेटमा गरेको आत्मघाती गोलमा नेदरल्याण्ड्स विजयी भएको हो ।a

    त्यसअघि समेट अकायडिनको ३५औं मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा यो अग्रता कायम रहेपनि दोस्रो हाफमा डच टोली खेलामा फर्कियो । ७० औं मिनेटमा नेदरल्याण्ड्सका स्टेफान डे भर्जिलले बराबरी गोल गरे ।

    त्यसको ६ मिनेटपछि नै टर्किएका मुलडुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले २(१ अग्रता बनायो । त्यही अग्रता कायम राख्दै नेदरल्याण्ड्स ससेमिफाइनल प्रवेश गरेको हो । अब नेदरल्याण्ड्सले सेमिफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

  • इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनल प्रवेश

    इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनल प्रवेश

    काठमाडौं । इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा पुगेको हो । जर्मनीको डुसेलडर्फमा शनिबार रातिसम्पन्न क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हरायो ।

    निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको हो । इंग्ल्याण्डका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले अन्तिम पेनाल्टी गोलमा परिणत गर्दै जित पक्का गरे । इंग्लाण्डका लागि पाँचै खेलाडीले पेनाल्टीमा गोल गर्दा स्विट्जरल्याण्डका लागि पहिलो पेनाल्टी प्रहार गरेका मानुएल अकान्जी भने चुके ।

    इंग्ल्याण्डका लागि कोल पाल्मर, जुड बेलिङघम, बुकायो साका, इऐन टोनी, र आर्नोल्डले गोल गरे । स्विट्जरल्याण्डका लागि फिबयन सार, जेद्रान शाकिरी र जेकी अम्डाउनीले पेनाल्टीमा गोल गरे । अकान्चीको प्रहार इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले बचाए ।

    त्यसअघि खेलमा स्वीट्जरल्याण्डले पहिले अग्रता लिएपनि जोगाउन सकेन । खेलको ७५ औं मिनेटमा ब्रेल इम्बोलोको गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए तर बुकायो साकाले ८०औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए । इंग्लयाण्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

  • काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

    काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

    काठमाडौं । काभ्रेको रोशी गाउॅपालिका- ११ मा भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी ११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन् । उनीहरु फुपू भदैनी हुन् । खोला तर्ने क्रममा बगेका उनीहरुको शव ९०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

    सोही खोलाको लेदोसहितको बाढीले बीपी राजमार्गमा राखिएको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार रोशी गाउँपालिकाको सहयोगमा सड़क खुलाउने प्रयास भइरहेको छ ।

  • स्याङ्जामा पहिरो, २ जनाको मृत्यु

    स्याङ्जामा पहिरो, २ जनाको मृत्यु

    काठमाडौं । स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । शनिबार विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा ६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

    उक्त पहिरोमा परी ७१ वर्षका माधव शर्मा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको डीएसपी रानाले जानकारी दिए । पहिरोमा परी घाइते भएका ५ जनाको प्रहरीले उद्दार गरेको छ ।

  • काठमाडौंमा बाढी आतंक, प्रहरीको गस्ती

    काठमाडौंमा बाढी आतंक, प्रहरीको गस्ती

    काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ’,उनले भने ।

    उनले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए ।


    उनले भने, ‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।’ वर्षाका कारण शनिबार देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • काठमाडौं उपत्यकाका नदी किनार डुबानमा, नदीको सतह खतराको चिन्हभन्दा माथि

    काठमाडौं उपत्यकाका नदी किनार डुबानमा, नदीको सतह खतराको चिन्हभन्दा माथि

    काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार डुबानमा परेका छन् । गत रातीबाट परेको बाढीले भक्तपुर, ललितपुर र काठमाडौंका धेरैजसो क्षेत्र जलमग्न भएका छन् । हनुमन्ते खोलाले भक्तपुरमा डुबान ल्याएको छ । नागार्जुनमा पहिरो जाँदा एक जनाको निधन भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका ३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको हो ।


    शनिबार विहान सवा ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको हो । किचन हेल्परका रुपमा काम गर्ने बिक पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

    वर्षाका कारण काठमाडौंको सबैजसो नदीको जलसतह बढेको छ । भक्तपुरमा नदी तथा खोला किनारका बस्तीका कतिपय घर डुबानमा परेका छन् । मध्यपुर थिमी नगरपालिका २ दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाएको छ । विभिन्न जिल्लाबाट आई ज्याला मजदुरी गरी बसेका ५६ जना बस्ने टहराहरु खोलाले डुवाएका कारण उनीहरु आफन्तकोमा शरण लिन पुगेका प्रहरीले जनाएको छ ।


    मध्यपुर थिमी नगरपालिका(३ कौशलटार नजिक हनुमन्ते खोलामा आएको बाढीले आश्विन आचार्यको जस्ताको टहरा डुबाएको छ । चागुनारायण नगरपालिका(४ नयाँ खोरिया स्थितमा रहेको डिप बोरिङ र पानी पाले बस्ने १ तल्ले पक्की घर पहिरोको जोखिममा परेको छ । वर्षापछिको पहिरोले काठमाडौंको तारकेश्वर नगरपालिका जितपुर फेदी र दक्षिणकाली नगरपालिका छैमलेमा एक एक वटा घर भत्किएको छ । काठमाडौं महानगरपालिका घट्टेकुलोमा भित्री सडक भासिएको छ ।

  • अविरल वर्षाका कारण भक्तपुर डुबानमा

    अविरल वर्षाका कारण भक्तपुर डुबानमा

    काठमाडौं । भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ। भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ।

    भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ। सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ।

    वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताइन्।

    जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उनले बताइन्। कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने उनले बताइन्। बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

    भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ। भक्तपुरको सूर्यविनायकस्थित इन्द्र बक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनकुमार थापाले कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिमको खबर आए लगत्तै घटनास्थलमा पुग्ने बताए।

    भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन्। चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेका बताइएको छ।

    rss

  • आयोजक जर्मनी पराजित, स्पेन सेमिफाइनलमा

    आयोजक जर्मनी पराजित, स्पेन सेमिफाइनलमा

    काठमाडौं । आयोजक जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन ।

    स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मिचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितिमा पुर्‍याए ।

    त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ डानी ओल्मोको पासमा मिकेल मेरिनोले ११९औं मिनेटमा गोल गर्दै स्पेनलाई २(१ को जित दिलाए । अतिरिक्त समयको इन्जुरी टाइममा स्पेनका डाद्दी कार्भाजल रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

    स्पेन र जर्मनी दुवैले सर्वाधिक ३-३ पटक युरो जितेका छन् । घरेलु मैदानमा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा जर्मनीको घरेलु मैदानमै उपाधि जित्ने सपना अधुरै रह्यो । स्पेन भने चौथो उपाधि जित्ने यात्रातर्फ अघि बढेको छ । स्पेनले अब सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको खेलको विजेतासँग खेल्नेछ ।

  • जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक जनाको मृत्यु

    जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक जनाको मृत्यु

    काठमाडौं । जुम्लाको पातारासीमा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठुलो खोलामा शुत्रबार बेलुका पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जना कामदारको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।

    त्यस्तै घाइते हुनेमा पातारासी गाउँपालिका(१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी रहेको डिएसपी कामतीले बताए । घाइते तीन जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरू अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत लिने

    प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत लिने


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

    संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो 

    संविधानत: सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
    २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र छ ।
    उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका कांग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिन्छ ।

  • काठमाडौं महानगरले गर्यो ५० करदातालाई सम्मान

    काठमाडौं महानगरले गर्यो ५० करदातालाई सम्मान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ५० जना करदातालाई सम्मान गरेको छ । महानगरको विकास निर्माण, सेवा प्रवाह, व्यवस्थापन लगायतमा करदाताको योगदान महत्त्वपूर्ण रहेको भन्दै उनीहरूलाई सम्मान गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले बिहीबार एक कार्यक्रमको आयोजना गरी करदातालाई सम्मान गरेको हो ।

    ३ वर्षदेखि नियमित कर तिर्ने करदाता मध्येबाट ५० जना करदाता छनोट गरी सम्मान गरिएको ३० नम्बर वडाका वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीले भने, ‘नागरिक अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेका छौं । करदातालाई सहज दरमा कर लिएर अधिक सेवा दिने हाम्रो उद्देश्य हो ।’

  • द्रुतमार्गको थप एक सुरुङ छिचोलियो

    द्रुतमार्गको थप एक सुरुङ छिचोलियो

    काठमाडौं । काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएको छ ।

    नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअलमाध्यमबाट अवलोकन गरे । उनले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुसी व्यक्त गरे । उनले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनुभएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिए ।

    उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिए । उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो ।

  • सरकारले तोक्यो धानको समर्थन मूल्य

    सरकारले तोक्यो धानको समर्थन मूल्य

    काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोक्ने निर्णय गरेको हो ।

    बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इन्ल्याण्ड क्लियरेन्स डिपोरएकीकृत चेक पोष्ट र अरनिको राजमार्गको निर्माण तथा मर्मत सम्भारका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका पत्रहरुमा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।

    त्यस्तै, बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

  • गृहमन्त्रीको मुद्दामा दुई न्यायाधीशको मत बाझियो

    गृहमन्त्रीको मुद्दामा दुई न्यायाधीशको मत बाझियो

    काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ । अन्तरिम आदेशका लागि भएको सुनुवाइपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको छ ।

    न्यायाधीशद्वयको इजलासमा यो मुद्दामा सुनुवाई भएर राय बाझिएको आदेश आएको हो । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा महामन्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ । महान्यायाधीवक्ताले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेवविरुद्ध कास्की, चितवन र रुपन्देही जिल्लाका प्रहरी उजुरी नभएको र अदालतमा मुद्दा नरहेको भन्ने पत्र दिएको थियो । त्यसरी अधिकारक्षेत्र बाहिर गएर महान्यायाधीवक्ता कार्यालयले पत्र लेखेको भन्दै महान्यायाधीवक्तालाई विपक्षी बनाइएको हो ।

    जेठ १४ गते दायर रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा सहकारी ठगीको मुद्दामा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गरिएको छ । प्राकृतिक न्यायको सिद्धान्त विपरीतसमेत रहने भन्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ ।

    रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ । रिटमा महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्यायप्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

  • नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

    नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्। नेपाल यसअघि पनि एकीकृत समाजवादीको अध्यक्ष नै थिए।

    बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो। उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।

    गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन चलेको थियो। बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसहमतिमै टुंगो लगाएको एकीकृत समाजवादीले शुक्रबारसम्म थप पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिबाटै टुंगो लगाउने भएको छ।

    सम्मानित नेता खनालले शुक्रबारसम्म बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो सहमतिबाटै लगाइने महाधिवेशन हलमा बताएका छन्। एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय छ।

  • लुम्बिनी प्रदेश सरकारबाट फिर्ता भयो एमाले

    लुम्बिनी प्रदेश सरकारबाट फिर्ता भयो एमाले

    काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका छन् ।

    आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेको संसदीय दलका नेता लिला गिरीले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ । एमालले केन्द्रमा प्रचण्ड सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो । आज बिहीबार मात्रै सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ ।

  • गगन थापा भन्छन् : पटक पटक मन्त्री भएकालाई विश्राम दिइन्छ

    गगन थापा भन्छन् : पटक पटक मन्त्री भएकालाई विश्राम दिइन्छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक मन्त्री भएका व्यक्तिलाई आगामी मन्त्रिपरिषद्‌मा पठाउन नहुने बताएका छन् । सरकारमा गएको व्यक्ति परिणाम दिनसक्ने हुनुपर्ने उल्लेख गर्दै सुनसरीमा बिहीबार भएको कार्यक्रममा उनले भने, ‘पटक–पटक मन्त्री भएको व्यक्तिलाई यो पटक विश्राम दिने हो । घरमा राख्ने हो ।’ भावी सरकारमा कांग्रेसबाट गएका मन्त्रीहरू समावेशीका आधारमा हुनुपर्ने थापाले बताए । उनले भने, ‘अब बन्ने सरकारमा कांग्रेसले पठाएका मन्त्रीहरू समावेशीताका लागि उदाहरणीय हुनुपर्छ ।’

    समावेशीको उदाहरण दिनुपर्दा २०१५ साल दिनुपर्ने विवशता पार्टीमा रहेको उनले सुनाए । ‘उदाहरण दिनुपर्‍यो भने २०१५ सालको दिनुपर्दछ । अहिले सरकार बनाउँदै गर्दा २०८१ सालकै उदाहरण दिन पाइयोस् न,’ महामन्त्री थापाले भने,‘दलित, मधेशी, महिला, थारु, अल्पसंख्यक, मुसलमान सबै छन् भनेर ।’

    यसअघि कांग्रेस सरकारको बेलामा ९ जनामा दलित समुदायबाट एकजना पनि नभएको बताए । ‘न दलित पठायौं, न थारू पठायौं । न मधेशी पठायौं,’ थापाले भने, ‘कहिले पठायौंभन्दा २०१५ सालमा पठाएको हो नि त, बिर्सौं ? भन्नुपरेको छ ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेसले सहमति गरेको छ । कांग्रेसबाट १० मन्त्री हुने सहमति दुई दलबीच बनेको छ ।

  • शिक्षकमा गुणस्तर नहुँदा विद्यार्थी धेरै फेल : ओली

    शिक्षकमा गुणस्तर नहुँदा विद्यार्थी धेरै फेल : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसइईमा फेल भएको बताएका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियु रुपन्देहीले एसईईमा ३.६ देखि माथिको जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा ओलीले शिक्षकका कारण नतिजा खस्किएको टिप्पणी गरेका हुन् । शिक्षकहरुमा आफूभित्र भएको ज्ञान प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरु फेल भएको ओलीले बताए । ‘अब शिक्षकहरुमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउनुपर्छ’, ओलीले भने ।

    एसइईमा नन ग्रेड नतिजा आएका विद्यार्थीहरुले दिने पूरक परीक्षाको तयारीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने ओलीले बताए । त्यस्तो निःशुल्क अनलाइन कक्षा कसले सञ्चालन गर्ने भन्ने ओलीले स्पष्ट पारेनन् । ‘मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरु एसईई परीक्षामा अनुत्तीर्ण हुनुभएको छ, अहिले अनुत्तीर्ण भएपनि पूरक परीक्षामा पास बनाउने गरी हामीले निशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै छौं त्यसमा जोडिन सबै विद्यार्थीहरुलाई मेरो आग्रह छ’, ओलीले भने ।

    २०८० चैत १५ गतेदेखि संचालन भएको एसइई परीक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पूरक परीक्षा तोकेको छ । सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाईन मार्फत निशुल्क कक्षा सञ्चालन गर्न लागिएको ओलीले बताए ।

    अनेरास्ववियुले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसहित ३।६ जीपीए भन्दा माथि ल्याएका १०१२ जना विद्यार्थीलाई सम्मान गरेको पूर्वकेन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए ।