Category: समाचार

  • कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

    कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

    काठमाडौं । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा केपी शर्मा ओली र शेर बहादुर देउवाको तस्वीर राख्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले ।’ उनले सोही स्टाटसको मुनी गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्ग एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएको समेत उल्लेख गरेका छन् ।

    नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसका केही नेताले विरोध गरे पनि यसमा एमाले,माओवादी र रास्वपाले समर्थन गरेको उनको भनाई छ । यस विधेयकमा अब कांग्रेसले सहमति जनाउने र राजस्व र माओवादीले चर्को विरोध गर्ने भन्दै उनले यसलाई सत्ता स्वार्थका रुपमा अर्थाएका छन् ।

  • कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

    कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सोमबार मध्यरातमा नेपाल कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले आज दिउँसो सचिवालय बैठक बोलाइएको हो । कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।

    हिजो राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा सहमतिको हस्ताक्षर भएको छ । उनीहरुबीचमा निर्वाचन, शासकीय प्रणालीका विषयमा संविधान संशोधन गरेर जाने विषयमा सहमति भएको छ।
    एमाले र कांग्रेस मिलेर सरकार बनाउने र पहिलो कार्यकालको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति समेत जुटेको छ ।

  • आज पनि देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

    आज पनि देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभरको मौसम साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    मंगलबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, सबैको सनाखत

    रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, सबैको सनाखत

    काठमाडौं । रोल्पामा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप साँझ ६ बजेतिर माडी गाउँपालिका वडा नम्बर ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी ३३ वर्षाीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी रहेका छन्। सोही वडाकी ३० वर्षीया अमृता घर्ती उनकी १८ महिनाकी छोरीको दुर्घटनामा मृत्यु भएको छ। त्यस्तै परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र अस्पताल रिफर गरिएको छ। घाइते खगेन्द्र बाँठाको रोल्पामै उपचार जारी छ। सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर भने उपचारपछि घर फर्किएकी छिन्। उनी जिप दुर्घटना हुँदै गर्दा हाम फालेर जोगिन सफल भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार जिप गुडिरहेको समयमा अचानक पहिरो खस्न थालेपछि चालकले गाडी पछाडि हटाएका थिए। गाडी स्टार्ट भइरहेकै अवस्थामा ओर्लिएर ओट राख्न खोज्दा उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

  • एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

    एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक आज बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको हो । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको छ ।

    समझदारीलाई अन्तिम रुप दिने तयारी गरिएको छ । समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताले हस्ताक्षर गर्ने भएका छन् । दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी बनाइएको छ ।

  • संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

    संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

    काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सममति बनेको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने सहमति जुटेको नेताहरुले बताएका छन् ।

    संविधानको धारा ७६ (२) अन्तर्गतबाटै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेको समेत बताइएको छ । ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार पारिएको छ ।

    खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३–३ वटा सरकार बाँडेका छन् ।

    मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ । उनीहरुले संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसद लाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ ।

    प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ ।

    संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने उनीहरुले तयारी गरेका छन् । प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ । देउवा र ओलीले हस्ताक्षर गरेर सहमतिलाई पूर्णता दिने तयारी छ ।

  • कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने

    कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । यससँगै प्रचण्ड सरकार ढल्ने भएको छ । सोमबार मध्यराति दुई दलबीच सत्ता सहकार्य गर्ने बारे सहमति जुटेको हो । ललितपुरमा एक होटलमा दुई दलका दोस्रो तहका नेताले लिखित सहमतिको मस्यौदा बनाएका छन् ।

    दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।

  • रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय

    रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय

    काठमाडौं । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

    यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो । आजको इजलासले पूर्ण फैसला गरेको हो । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

    सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् । सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।

  • के प्रचण्डको कुर्सी हल्लिएकै हो ?

    के प्रचण्डको कुर्सी हल्लिएकै हो ?

    काठमाडौं । सत्ता समीकरणमा उथलपुथल हुने चर्चाले सोमबार राजनीतिक वृत्तमा ठूलै हलचल ल्यायो । तर, सत्तारुढ घटकका शीर्ष नेताले भने यसको खण्डन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को सोमबार सिंहदबारमा बसेको बैठकमा उनले समीकरण भत्किने हल्लामा सत्यता नभएको बताए । उनले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे ।

    सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा तीन घण्टा लामो छलफल गरेपछि बसेको मन्त्रिपरिषद् बैठकमा दाहालले सरकार केही नहुने दाबी गरे । माओवादी उपमहासचिव एबं उर्जामन्त्री शक्ति बस्नेतले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले समीकरण फेरिने चर्चाबारे उल्लेख गर्दै हाल त्यस्तो केही नहुने बताएको जानकारी गराए ।

    दाहालले सोमबार बेलुका माओवादीका केही पदाधिकारीसँग भएको भेटमा कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भए पनि तत्काल स्वीकार नगरेको आफूलाई बताएको जानकारी दिएका थिए । ‘कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बालकोट निवासमा ओलीसँग भेटवार्ता गरेका थिए । त्यही वार्तामा उनले ओलीलाई ‘राष्ट्रि सहमतिको सरकार बनाउने’ भन्दै प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।

    ओली र दाहालबीच दरी बढ्नुको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विवाद, संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकमा देखिएको बिवाद हो । एउटै सत्ता समीकरणमा भए पनि विधेकमा पीडित केन्द्रित प्रावधानमा परिभाषा के हुने, गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई कुन हदसम्मको कारबाही हुने ? पीडितले मेलमिलाप गर्न नचाहे के गर्ने लगायत विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन ।

    टीआरसी विधेयकका यी विषयमा बिहीबार एमाले र माओवादी नेताबीच चर्काचर्की भएको थियो । कांग्रेसका नेताले सत्तारुढ दल एमाले र माओवादीबीच सहमति नभएकाले विधेयक संसदमा रोकिएको आरोप लगाएपछि यी दुई दलका नेताबीच असहज अवस्था आएको बताइएको छ । मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताइन् ।

  • ६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक

    ६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक

    काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् । जुन २०२४ मा मात्र ७६ हजार ७ सय ३६ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै मार्चमा आगमन भएको थियो । यो महिना १ लाख २८ हजार १ सय ६७ पर्यटक आएकामा जुनमा घटेर ७६ हजारमा सीमित भएको छ ।

    जुन २०२३ मा भारतबाट ३८ हजार ८ सय ४५ पर्यटक आएकोमा जुन २०२४ मा ३७ हजार ८ सय ३५ भारतीय मात्र नेपाल भ्रमणमा आएका छन् । यस वर्ष जुन महिनामा चीनबाट ७ हजार ४ सय ९४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ मा पर्यटक आगमन १६ लाख पुर्‍याउने लक्ष्य लिएको छ । तर, ६ महिनासम्मको तथ्यांकले उक्त लक्ष्य भेट्न मुस्किल हुने देखिन्छ । ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल आएको देखिन्छ ।

    सरकारको लक्ष्य भेट्न २०२३ को तुलनामा ५८ प्रतिशत र २०१९ को तुलनामा ३४ प्रतिशत धेरै पर्यटक भित्रिनुपर्छ । जुन महिनामा अमेरिकाबाट आउने पर्यटक संख्या समेत ओरालो लागेको छ । जनमा अमेरिकाबाट ८ हजार २ सय ८१ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष यसै महिना ८ हजार ४ सय ७० नेपाल आएका थिए ।

    त्यस्तै बेलायतबाट १ हजार ९ सय ६९ आएका छन् । अघिल्लो वर्ष १ हजार ९ सय ९२ आएका थिए । बंगलादेशबाट आउने पर्यटक भने उल्लेख्य बढेका छन् । त्यहाँबाट ३ हजार ८ सय ५७ पर्यटक आएका छन् । जुन २०२३ मा २ हजार ४ सय २ मात्र आएका थिए ।

  • रोल्पामा जीप दुर्घटना, कम्तिमा दुई जनाको मृत्यु

    रोल्पामा जीप दुर्घटना, कम्तिमा दुई जनाको मृत्यु

    काठमाडौं । रोल्पाको माडी गाउँपालिका ३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको छ । हालसम्म ५ जना घाइतेलाई अस्पताल ल्याइएकामा २ जनाको मृत्युको घोषणा भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए । जिपमा १५ जना सवार रहेको जानकारी आएको उनले बताए । उनीहरुलाई पनि उद्दार गरेर जिल्ला अस्पतालतर्फ ल्याइएको छ ।

  • नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

    नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

    काठमाडौं । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् ।

    गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ । दलको नेता परिवर्तनको निर्णय गरिएको विषय अहिले बहुमत सांसदहरूले शीर्ष नेताहरूलाई जानकारी गराइसकेका छन्।

  • रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड

    रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड

    काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताए ।


    कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर , २२ जनाले ल्हासा ४० जनाले ल्हासा र कैलाश दुवै स्थानका लागि एवं पाँच जनाले गन्जाउलगायत अन्य स्थान जानका लागि अनुमति लिएका थिए । अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवावासीका लागि केरुङसम्म जान आउन नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गरिँदै आएको छ ।

  • श्रमाधान रोजगार मेलाबाट १५ हजार रोजगारीको प्रतिवद्धता

    श्रमाधान रोजगार मेलाबाट १५ हजार रोजगारीको प्रतिवद्धता

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको छ । श्रम मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत देशका सात प्रदेशमा सम्पन्न श्रमाधान रोजगार मेलाबाट त्यो सङ्ख्या रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको हो ।

    पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले सातै प्रदेशका रोजगारदाताबाट आएको प्रतिबद्धता अनुसार रोजगारी दिए वा नदिएको विषयमा मन्त्रालयले समिति बनाएर फलोअफ गर्ने तयारी गरेको जानकारी दिए ।


    श्रम मन्त्रालयका अनुसार जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा आएर जेठ ३० गते सम्पन्न भएको थियो । मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका थिए । मन्त्रालयका अनुसार ४१ हजार ३२५ जनाले मेला अवलोकन गरेका छन् । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्रसहितका ३२२ वटा स्टल राखिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार मेलामा विभिन्न शीर्षकका ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ सङ्घ संस्थासँग सहकार्य गरिएको मेलाको संयोजन श्रम मन्त्रालयले गरेको थियो । उहाँका अनुसार मेलामा ९३ लाख छ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपियाँ खर्च भएको छ ।

    पत्रकार सम्मेलनमा सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिबद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने जानकारी दिए । “मेला मात्रै सम्पन्न भयो तर रोजगारदाताले प्रतिबद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको विषयमा मन्त्रालयले निरन्तर जानकारी लिने छ,” उनले भने, । रोजगारीका लागि आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिने जनाइएको छ ।

    मेलामा सिप विकास कार्यशाला, नेटवर्किङ सत्र, स्टल र रोजगारीका अवसरका प्यानल छलफल सञ्चालन गरिएको थियो । तिनमा १७६ भन्दा बढी विज्ञले वक्ताका रूपमा सहभागिता जनाएका थिए । रोजगारी सिर्जना, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम आप्रवासन, व्यावसायिक सिप विकास, उद्यमशीलता विकास र यस क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाका सम्बन्धमा छलफल चलाइएको थियो ।

  • नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह

    नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह

    काठमाडौं । जर्जियाविरुद्ध फराकिलो जित निकाल्दै अनुभवी टोली स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४–१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्‍यो । खेलको १८औं मिनेटमा स्पेनका नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । त्यसपछि ३९औं मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

    पहिलो हाफमा बराबरीमै सकिएको खेलको दोस्रो हाफमा भने स्पेन हाबी भयो । थप तीन गोल गर्‍यो । ५१औं मिनेटमा फाबियन रुइजले हेडरमार्फत गोल गरे । ७५औं मिनेटमा निको विलियम्स र ८३औं मिनेटमा ड्यानी ओल्मोले थप एक गोल गरेपछि स्पेन ४–१ ले विजयी भयो । क्वाटरफाइनलमा स्पेन र जर्मनीविरुद्ध खेल हुनेछ । जर्मनीले डेनमार्कलाई २० ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो । आयोजक जर्मनी र स्पेन दुवै टोली उपाधि दाबेदार मानिएका छन् ।

  • ३४ जिल्लामा मनसुनको ‘रेड अलर्ट’

    ३४ जिल्लामा मनसुनको ‘रेड अलर्ट’

    काठमाडौं । मनसुन सक्रिय हुँदै गएपछि भारी वर्षा सम्बन्धी रेड अलर्ट जारी भएको छ । रेड अलर्ट ३४ जिल्लामा जारी गरिएको हो । सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका अनुसुार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी भएको छ । २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् ।

    अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् । यसैगरी बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रेड अलर्ट जारी भएको छ । गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्लामा रेड अलर्ट जारी भएको छ ।

    लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टको सूचीमा परेका छन् । बिगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको विभागको भनाइ छ । यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो । सो न्यून चापिय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले फेरि असार १७ गतेदेखि २० गतेसम्म सतर्कताको सूचना जारी गरेको हो ।

    विभागका मौसमविदहरुका अनुसार असार १७ गते सोमबारदेखि असार २० गते बिहीबारसम्म पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

    यो मौसमी घटनाबाट कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २६ जिल्लामा मध्यम जोखिमको सम्भावना छ । मध्यम जोखिमको सूचीमा कोशीको उदयपुर तथा मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी छन् । बागमतीका रामेछाप र सिन्धुली तथा गण्डकीको मनाङलाई पनि जल तथा मौसम विज्ञान विभागले मध्यम जोखिमको सूचीमा राखेको छ । म्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सल्यान, सुर्खेत र दैलेख पनि मध्यम जोखिममा छन् ।

    सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ र बैतडी जिल्ला पनि मध्यम जोखिमको संकेत स्वरुप यलो अलर्टको सूचीमा परेका छन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असार १७ गतेदेखि २० गतेसम्म रेड र यलो अलर्ट जारी भएका जिल्लाहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । शहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम रहेको र ठूला तथा साना नदीनाला एवम् खोलाहरुमा पानीको सतह बढ्ने सम्भावना समेत रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

    वर्षा र बाढीबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सबैलाई अनुरोध गरेका छन् ।

  • ‘प्रचण्ड अस्थिर होइन, गतिशिल हो’

    ‘प्रचण्ड अस्थिर होइन, गतिशिल हो’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफूलाई अस्थिर भनेको भनेकोमा चित्त दुखाएका छन् । आइतबारदेखि सुरु भएको एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्रीले यसमा पुनर्विचार गर्न आग्रह गरे ।

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको उद्घाटन समारोहमा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निम्याएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक सबैजसो दलका शीर्ष नेताहरु उपस्थित उद्घाटन समारोहमा प्रचण्डले माधवकुमार नेपालको खुलेर प्रशंसा गरे ।

    पञ्चायतविरोधी आन्दोलन भइरहेका बेला एमालेका जल्दोबल्दो नेता रहेका नेता नेपालसँग आफ्नो असाध्यै धेरै अन्तर्क्रिया भएको स्मरण गरेका उनले भने, ‘जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्नका निम्ति एमालेका नेताका रुपमा कमरेड माधव नेपाल र अन्यसँग मेरो लगातार छलफल भइराख्यो ।’

    पछिल्लो चरण संविधानको रक्षाका लागि नेता नेपाल र आफूले सामूहिक भूमिका खेलेको उनले बताए । अहिले पनि समाजवादी मोर्चा सँगै रहेको र कम्युनिस्ट आन्दोलनको एकताको उद्देश्यमा पनि समान धारणा रहेको भन्दै प्रचण्डले एउटै पार्टी बनाउने दिशामा महाधिवेशनले ठोस निर्णय गरोस् भनेर आग्रह गरे ।

    तर एकीकृत समाजवादीले आफ्नो राजनीतिक दस्तावेजमा नजिक, तर अस्थिर भनेको उल्लेख गरे । ‘त्यो भन्ने अधिकारमा म प्रश्न उठाउन चाहन्न’ हरेक पार्टीले अर्को पार्टीलाई हेर्ने दृष्टिकोण आफ्नो बनाउन जरुरी रहेको भन्दै उनले भने, तपाईंहरुलाई जे बनाउन उचित लाग्छ, बनाउनुस् ।’ तर म यति भन्छु भन्दै प्रचण्डले अगाडि भने, ‘आज नेपाल संविधान सभामा गयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रिया भयो । समृद्धिको अलि नयाँ अभियान चलेको छ । प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो ।’

    प्रचण्ड ‘अस्थिर’ नभएको भए जनयुद्ध, शान्ति प्रक्रिया केही नहुने भन्दै उनले प्रश्न गरे, भने, गतिशीलता भनेको के हो ? द्वन्द्वात्मक भौतिकवाद, हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो श्र जमेको पानीको पोखरी जस्तो हो कि गड्गडाउँदो नदी जस्तो भएर हुर्रिने मार्क्सवाद हो ?’


    प्रचण्ड आफैंले जवाफ दिए । अरुले अस्थिर भनेको आफ्नो गतिशीलता नै सही भएको जिकिर गर्दै उनले भने, ‘मार्क्सवाद जमेको पोखरीजस्तो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद हो ।’

    माओवादी आन्दोलनमा एक ठाउँमा बस्ने भन्ने नहुने भन्दै उनले आफूहरु दौडिरहने बताए । त्यसरी दौडिदा आफूलाई अस्थिर भनेकामा प्रचण्डले प्रतिवाद गरे, ‘यो दौडाइबाट नेपाली समाज अगाडि बढ्यो, सामन्ती निरंकुशतन्त्रबाट देश गणतन्त्रमा गयो भने त्यो गतिशीलता हो, अस्थिरता होइन । युद्धबाट देश शान्तिमा आयो भने त्यो गतिशीलता हो, अस्थिरता र अराजकता होइन ।’

  • रैथाने पेय पदार्थको ब्राडिङ गर्दै काठमाडौं महानगर

    रैथाने पेय पदार्थको ब्राडिङ गर्दै काठमाडौं महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्रान्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ । जन्म र मृत्युबीचको संस्कार तथा शुभकार्य, जात्रा, पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैंले उत्पादन गरेको पेय पदार्थ (अयला, ठोँ) लाई गुणस्तरीय मानिने महानगरले जनाएको छ ।

    यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयता ब्रान्डिङ गरेर विश्वबजार पु¥याउने सम्भावना अध्ययनबाट हेर्न लागिएको हो । महानगरका अनुसार कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यो कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुथि तथा संघसंस्थाका प्रतिनिधिको प्रतिक्रिया बुझ्न महानगरले आइतबार छलफल समेत आयोजना गरेको छ ।

    ‘मदिरा ऐनले यस्ता वस्तुको प्रवद्र्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रूपान्तरण गर्नुपर्छ ।’

    पुस्तौंदेखि व्यावहारिक शिक्षाका रूपमा हस्तान्तरण हुँदै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक रहेको परियारले बताए । संस्कृतिसँग जोडिएको उत्पादन प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने उनको भनाइ छ ।

    छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाज अन्तर्गतका विभिन्न गुथि खलः का प्रतिनिधि सहभागी थिए ।

    छलफलमा सहभागीले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चापदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधि लगायत विषयमा जानकारी दिँदै महानगरले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तर्राष्ट्रियकरण हुन ठूलो योगदान हुने बताए ।

    छलफलमा महानगर सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए । विभागका अनुसार समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुमात्र अध्ययन हुनेछ ।

    अयला ब्रान्डिङको कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ । ‘पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ । यो काम सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन–कुन प्रयोजन ९शुभकार्य, औषधि, पिउन० का लागि ब्रान्डिङ गर्न सकिन्छ भन्ने थाहा हुनेछ,’ त्रिपाठीले भने ।

    यसपछि कानुनी व्यवस्था तर्जुमा गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने छ । त्यसपछि बजारीकरण गर्ने चरणमा पुगिन्छ । यति गरेपछि ब्रान्डिङ गरिएका पेय पदार्थ अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने उनले बताए ।

    काठमाडौं–१८ की स्थानीय नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चापदार्थ तयार पारिने), लय् (एक महिना राखेर कच्चापदार्थ तयार पारिने) र पुइकेगु (ब्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।

    काठमाडौँमा पुस महिनाको पानीमा बनाइएको उत्पादनलाई उत्कृष्ट मानिन्छ । मंसिर, पुस र माघमा कच्चापदार्थ बनाउने, यसलाई भण्डारण गरेर मौसम र शुभकार्यको प्रकृति अनुसारको स्तरमा उत्पादन गर्ने गरेको उनले बताइन् । ‘पहिले यसका लागि तामाको भाँडा प्रयोग गरिन्थ्यो । भण्डारण गर्दा तापक्रम मिलाउन पराल र माटोको घ्याम्पो प्रयोग हुन्थ्यो । शुभकार्यमा सगुनका रूपमा आफैंले उत्पादन गरेको वस्तुको प्रयोग हुन्थ्यो । अहिले बजारमा प्राप्त हुने पेय पदार्थ किनेर शुभकार्य चलाउने गरिएको छ,’ उनले गुनासो गरिन् ।

    भाँडाकुँडा पनि आल्मुनियम र प्लास्टिक प्रयोग हुँदा स्थानीय आय घटेको र खर्च बढ्ने तथा यस्तै गुणस्तरमा पनि ह्रास आउन थालेको बताए । विभागका अनुसार मौलिक सिपबाट गुणस्तरीय पेय पदार्थ बनाउने परम्परालाई पुनस्र्थापना गर्ने र यसको दिगो सुरक्षाका लागि ब्रान्डिङ गर्ने महानगरको योजना हो ।

  • मिटरब्याज सँग सम्बन्धित उजुरी लिन गृहको निर्देशन

    मिटरब्याज सँग सम्बन्धित उजुरी लिन गृहको निर्देशन

    काठमाडौं । प्रहरी अधिकारीले अनुचित लेनदेन (मिटरब्याज) सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताएका छन् । गृह मन्त्रालयका अधिकारी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच आइतबार भएको छलफलमा उनीहरुले हदम्यादको अन्योल र अदालतबाट जारी निषेधाज्ञा आदिका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको धारणा राखेका हुन् ।

    आयोग बनेपछि पनि अनुचित लेनदेन सम्बन्धी सुनुवाइ तीब्र नभएको गुनासो बढेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छलफल आह्वान गरेका थिए । छलफलमा प्रहरीसम्म पुगेका निवेदनको किसिम, त्यस उपर कारवाहीका लागि भएको कानुनी अड्चन र सम्बोधनका उपायबारे परार्मश भएको थियो । आयोगका पदाधिकारीले प्रहरी प्रशासनले निवेदन लिन नमानेको गुनासो आइरहेको बताएका थिए ।

    छलफलमा जाहेरी परेको दिनदेखि हदम्याद सुरु हुने र फौजदारी अभियोगमा निषेधाज्ञाका कारण अनुचित लेनदेनको निवेदन रोक्नु नपर्ने निश्कर्ष निकालिएको छ । पीडितले चाहे पुराना निवेदन पुनः दर्ता गराएर भए पनि प्रक्रिया अगाडि बढाउन सकिनेमा प्रहरी, प्रशासन र आयोगका पदाधिकारी सहमत भएका छन्। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको निर्णयअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय दुबैले पीडितको उजुरी लिएर कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने गरी निर्देशन भइसकेको जानकारी दिए।

    ‘दुबै स्थानबाट एउटै उजुरी नलिने तर पीडितलाई रोज्न लगाएर जिल्ला प्रशासन वा प्रहरी कार्यालयमध्ये एकबाट छानबिन अगाडि बढाउन स्पष्ट निर्देशन भइसकेको छ’, प्रवक्ता भट्टराईले भने। कानुनले तोकेभन्दा बढी ब्याज लिने, कागज गर्दा छलछाम गर्ने र रकम उठाउन बल प्रयोग वा हिंसा भएमा त्यस्तो लेनदेनलाई अनुचित मानेर कारवाही गर्न सकिने व्यवस्था रहेको अधिकारीहरुले जनाएका छन् ।

  • रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई

    रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत छनोटको जिम्मा उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको छ । सत्ता गठबन्धनको भागवण्डामा रास्वाले दुई देशका लागि राजदूत पाएको छ । पार्टीका तर्फबाट नाम सिफारिसका लागि सम्भावित नाम सुझाउन रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो ।

    जसमा २४० भन्दा बढी सुझाव आएको र तीमध्ये ७ जनाको नाम अन्तर्राष्ट्रिय विभागले सभापति रवि लामिछानेलाई बुझाएको छ । तर लामिछानेले उपाध्यक्ष वाग्ले र खनाललाई जिम्मा दिएका रास्वपाले जानकारी दिएको छ । राजदूत चयनका लागि रास्वपाले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्रा डा जयराज आचार्यसँग परामर्श गर्ने पनि जनाएको छ ।

  • एसईईको पुरक परीक्षा २३ साउनबाट

    एसईईको पुरक परीक्षा २३ साउनबाट

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।

    ‘२३ साउनबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यहीअनुसार बोर्डले तयारी गर्नेछ,’ मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले भने । यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८, १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो ।

    तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो । अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।

    प्रवक्ता दाहालले भने ‘बोर्डले नतिजा र प्रश्नपत्र तयारको काम गर्ने अरू काम प्रदेशले गरेपछि छिटो र गुणस्तरीय हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’ बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

  • नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।

    मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजल तथा मट्टितेल १५६ रुपैयाँ पनेछ ।

  • आज देशैभर वर्षा, कुन प्रदेशमा बढी जोखिम ?

    आज देशैभर वर्षा, कुन प्रदेशमा बढी जोखिम ?

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • साविक विजेता इटली यूरोकप फूटवलको अन्तिम १६ बाटै बाहिरियो

    साविक विजेता इटली यूरोकप फूटवलको अन्तिम १६ बाटै बाहिरियो

    काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमै शनिबार राति स्विट्जरल्याण्डसँग २–० ले पराजित भएपछि इटली बाहिरिएको हो । स्विट्जरल्याण्डले क्वाटरफाइनलमा स्थान बनायो ।

    बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक–एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । स्विट्जरल्याण्डले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ ।

  • इतिहास रच्दै उपाधी जित्न सफल भारतीय कप्तान रोहित

    इतिहास रच्दै उपाधी जित्न सफल भारतीय कप्तान रोहित

    काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले इतिहास रचेका छन् । उनी दुई टी–२० विश्वकप उपाधि जित्ने पहिलो भारतीय खेलाडी बनेका छन् । साथै उनले अब टी २० फम्र्याटको क्रिकेटबाट सन्यास समेत घोषणा गरेका छन् । उनको उत्कृष्ट कप्तानी र प्रदर्शनमा भारतले अपराजित रहँदै २०२४ टी–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा शनिबार राती भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो ।

    भारतले यसअघि सन् २००७ को पहिलो संस्करणमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । त्यस बेला रोहित भारतको युवा स्पिन अलराउण्डरको रुपमा टोलीमा थिए । सन् २००७ को फाइनलमा रोहितले पाकिस्तानविरुद्ध ३० रनको अविजित इनिङ खेलेका थिए । उनले २००७ सेप्टेम्बर १९ मा इंग्ल्यान्डविरुद्ध टी२० आईमा डेब्यू गरेका थिए । भारतले २००७ को विश्वकप जित्दा वर्तमान टोलीमा भएका रोहित एकमात्रै सदस्य हुन् ।

    सन् २०२१ को टी २० विश्वकपमा विराट कोहलीको कप्तानीमा भारत पहिलो चरणबाटै बाहिरिएपछि भारतले रोहितलाई कप्तान बनाएको थियो । तर २०२२ को उनको कप्तानीमा भारत सेमिफाइनलमा इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरिएको थियो । दुई टी–२० विश्वकप उपाधि जित्ने भारत तेस्रो टोली हो । यसअघि वेष्टइण्डिजले सन् २०१२ र २०१६ तथा इंग्ल्यान्डले २०१० र २०२२ मा टी–२० विश्वकप उपाधि जितेको थियो । भारतले १३ वर्षपछि विश्वकप उपाधि जितेको हो ।

    यसअघि भारतले २०११ मा एकदिवसीय विश्वकप उपाधि जितेको थियो । पछिल्लो पटक २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो । भारतले सन् २०१४ को टी२० विश्वकप फाइनल, २०१६ को टी२० विश्वकप सेमिफाइनल, २०१७ को च्याम्पियन्स ट्रफी फाइनल, २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनल र २०२३ को एकदिवसीय विश्वकप फाइनल हार्दा रोहित टोलीमा प्रमुख ब्याटर थिए ।

  • क्रिकेटका महान खेलाडी कोहलीले लिए टी-२० क्रिकेटबाट सन्यास

    क्रिकेटका महान खेलाडी कोहलीले लिए टी-२० क्रिकेटबाट सन्यास

    काठमाडौं । भारतीय क्रिकेट टोलीका एक महान खेलाडी विराट कोहलीले टी–२० आइतबाट सन्न्यास लिएका छन् । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी २० आई नखेल्ने घोषणा गरे । भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्ने क्रममा उनले यो आफ्नो अन्तिम टी २० आई खेल भएको बताए ।

    बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

    ३५ वर्षीय उनले भारतबाट १२५ टी २० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए । उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी २० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी २० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन् ।

  • जस्प्रित बुमराह बने टी–२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी

    जस्प्रित बुमराह बने टी–२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी

    काठमाडौं । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर सानदार प्रदर्शन गरे । उनले १५ विकेट लिएका थिए । बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २–२ विकेट लिएका थिए ।

    अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अष्ट्रेलियासँग १ विकेट लिएका थिए । भारतले शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी२० विश्वकप उपाधि जितेको थियो ।

    १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । अन्तिम ३० बलमा ३० रन चाहिँदाबाट हार्न पुगेको थियो । बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।

  • युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु

    युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु

    काठमाडौं । रुसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताएका छन् ।

    युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रुसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो । कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरे । “उक्त आक्रमणमा दुई साना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो । परिवारका अन्य दुई सदस्यको अवस्था गम्भीर रहेको छ ।”

    सन् २०२२ फेब्रुअरीमा सुरु भएको द्वन्द्वमा दुवै पक्षले सयौँ किलोमिटरसम्मको दायरासहित ठुला विस्फोटक शिल्पसहितका ड्रोन प्रयोग गरेका छन् । युक्रेनले यस वर्ष रुसी भूभागमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ । रासस-एएफपी

  • यस पटक मलको अभाव हुँदैन : प्रधानमन्त्री

    यस पटक मलको अभाव हुँदैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई मल र बीउको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरुमा कमी हुँदै गएको बताउँदै यसको आपूर्ति र व्यवस्थापनमा थप मेहनत सरकारले गर्ने बताए ।

    धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिंदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसमा सरकारले पूर्ण तागत लगाउने बताए । कृषिमा यान्त्रिकीकरण र व्यवासयीकरण गर्दा देशभित्र नै युवाहरू बस्ने र विदेशमा पुगेका युवाहरूसमेत केही गर्न सकिन्छ भनेर देश फर्किने अवस्था आउने विश्वास प्रधानमन्त्रीले ब्यक्त गरे ।

    प्रधानमन्त्री प्रचण्डले किसानहरुले उत्पादन गरेका बस्तुहरुको न्यूनत्तम समर्थन मूल्य तोक्ने विषयमा सरकार गम्भीर भएर लाग्ने र यसलाई अझै व्यवस्थित गर्ने बताए । देशको कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत कृषिको रहेको र त्यसमा पनि धानको १५ प्रतिशत रहेको भन्दैं प्रधानमन्त्री प्रचण्डले सडक सञ्जालको विस्तार, दुई छाक भातै खाने भन्ने सोच, जनसंख्या वृद्धि जस्ता विषयले बार्षिक अरवौं रुपैयाँको धान चामलको आयात हुने गरेको बताए ।

    उनले बढ्दो आयातले परनिर्भरता चुलिंदै जानुका साथै व्यापार असन्तुलन पनि बढेको बताए । धानमा आत्मनिर्भर हुन व्यवसायिक खेती प्रणाली, सिचाइँको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्री प्रचण्डले बताए । कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको भन्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गरेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

    धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे । धान दिवस मनाउन चितवन आएका प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका ६ केशरबाघमा हुने धान रोपाइँको अर्को कार्यक्रममा पनि सहभागी हुँदैछन् ।

  • गुल्मीमा पहिरोमा परी ५ जनाको मृत्यु

    गुल्मीमा पहिरोमा परी ५ जनाको मृत्यु

    काठमाडौं । गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए ।

    पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुिरएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।