Category: समाचार

  • लमजुङमा पहिरोले घर बगाउँदा ४ जना वेपत्ता

    लमजुङमा पहिरोले घर बगाउँदा ४ जना वेपत्ता

    काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् । आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ ।

    घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ । त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए ।

  • कास्कीमा पहिरो, कम्तिमा २ जनाको मुत्यु

    कास्कीमा पहिरो, कम्तिमा २ जनाको मुत्यु

    काठमाडौं । मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो ।

    हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यस्तै पहिरोमा परी पोखरा(२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

    ‘अवस्था सिरियस रहेको छ । अन्य २ जना (हरी सुनार र छोरी वर्ष ९ की अंजली सुनार), सकुसल उद्दार गरिएको’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘घरमा पूर्ण रूपमा क्षति भएको छ।’

  • बन्द भयो मेलम्चीको पानी

    बन्द भयो मेलम्चीको पानी

    काठमाडौं । मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो ।
    वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् ।

    गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरू बाढीको त्रासमा रात कटाइरहेका छन् । साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल बगाएको थियो ।

    पुल बगाएसँगै स्थानीयहरूलाई आवतजावतमा समस्या भएको छ । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँच पोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।

  • इजरायलले थप ८ सय नेपाली कामदार लैजाने

    इजरायलले थप ८ सय नेपाली कामदार लैजाने

    काठमाडौं । वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ । नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको छ ।

    इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको स्याहारको लागि सहायक कामदारको रूपमा कार्य गर्नु पर्ने हुन्छ । २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेका नागरिकले सो मुलुकका लागि अवसर पाउने भएका छन् । सुरुमा ५ सय पठाउने र थप माग संख्याका आधारमा ३ सय कामदार पठाइने वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । इजरायल जान चाहनेले विभागको वेवसाइटबाट विस्तृत जानकारी लिन सक्ने भएका छन् ।

  • राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला गरिँदै

    राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला गरिँदै

    काठमाडौं । चितवनस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चितवनमा रहेको ऐतिहासिक दियालो बंगलाको अनुगमन गर्दै यस्तो जानकारी गराएका हुन् ।

    यो बंगला विगतमा पूर्व राजाहरूले सञ्चालन गर्दै आएकोका थिए । अहिले नेपाल ट्रष्टको नाममा रहेको छ । दियालो बंगला दरबारमा १७ माघ २०२८ मा राजा महेन्द्रको निधन भएको थियो । राजा महेन्द्रले २०१८ सालमा निर्माण सुरु गरेर २६ सालमा निर्माण सकेको दियालो बंगलामा महेन्द्रपछि उनका छोरा वीरेन्द्रको परिवारसहित हिउँदमा गएर बेलाबेला बस्ने गरेका थिए ।

    बंगलामा राजा महेन्द्रको शयन कक्ष छ । त्यसको सिरानीमा राजा महेन्द्रले प्रयोग गर्ने दुईवटा हतियार छन् । त्यति बेलैका बिस्तारा, पलङ र गलैचाहरू छन् । स्मोकिङ जोन साथै बार पनि रहेको छ । नारायणगढ बजारदेखि चार किलो मिटर पर नारायणगढ-मुग्लिन सडक र देवघाट जाने सडकको आडमा दरबार क्षेत्र रहेको छ । जंगलभित्र रहेको दरबार नजिकै उत्तरमा नारायणी नदी पनि छ । दरबार क्षेत्र इतिहास बुझ्न र अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त स्थल हुने देखिएको छ ।

  • कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज

    कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

    न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो ।

    रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार कार्कीलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका थिए ।

  • दुई करोड रुपैयाँ लुटपाट गर्ने समूह पक्राउ, मामा मुख्य योजनाकार

    दुई करोड रुपैयाँ लुटपाट गर्ने समूह पक्राउ, मामा मुख्य योजनाकार

    काठमाडौं । भक्तपुरको दधिकोटका एक व्यक्तिको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोप चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका कृष्णबहादुर बोहरा रहेका छन्।

    प्रहरीले उनीहरूको साथबाट ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ। घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प.५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नं. को २२० सीसीको मोटरसाइकल, १० थान मोबाइल, लुटिएको रकम बोक्न प्रयोग गरेको झोला, चोरी तथा लुटपाट गर्दा लगाएको कपडा, खुकुरीलगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।

  • प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

    काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेकाे प्रस्ताव बहुमतले पारित गरेको हो ।

    सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

    प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।

    विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

  • मन्त्रालयको खर्च कटौतीको सबै प्रस्ताव बहुमतले अस्वीकृत

    मन्त्रालयको खर्च कटौतीको सबै प्रस्ताव बहुमतले अस्वीकृत

    काठमाडौं । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरिएको छ । प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरूले खर्च कटौतीका प्रस्ताव गरेका थिए । मंगलबार त्यसलाई सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

    सांसद प्रेम सुवालले खेलकुद, शिक्षा, श्रम, सहरी विकास, रक्षा, महिला बालबालिका, कानुन, उद्योग वाणिज्य, भूमि व्यवस्था, स्वास्थ्य, खानेपानी, सञ्चार, पर्यटन, सामान्य प्रशासन, ऊर्जा, गृह, परराष्ट्र, भौतिक पूर्वाधार, मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको खर्च कटौतीको प्रस्ताव गरेका थिए ।

  • प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता

    प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नतिि हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताए ।

    जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए । उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा भाग लिन आज नेपाल आएका हुन् । भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो । त्यसैगरी चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छैन सङ अधिकारीहरू सहभागी थिए ।

  • बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर

    बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर

    काठमाडौं । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिएका छन् । सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको छ । उनका अनुसार अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्।

    बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण तथा बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइने कानुनी व्यवस्था छ। गंगामायाले यही कानुनी व्यवस्था अनुसार १८ वर्षपुगेपछि जाहेरी दिएकी थिइन्।

    बमजनले २०७३ साल साउन २० गते आफूमाथि बलात्कार गरेको उनको आरोप थियो। उक्त जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरी अनुसन्धानप्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिव क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको थियो।

    १४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ। गंगामायाले पहिलोपटक झण्डै ६ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। उनलाई प्रहरीले गत पुस २४ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। पक्राउ परेका बमजनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभिन्न कसुरमा छानबिन गरिरहेको छ।

  • ‘फ्लोर क्रस’ गर्ने मन्त्री देवकोटाको जोगियो सांसद पद

    ‘फ्लोर क्रस’ गर्ने मन्त्री देवकोटाको जोगियो सांसद पद

    काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ।

    देवकोटाले दिएको रिटमा सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेका हुन्।

    माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर देवकोटा गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पार्टीको ‘ह्वीप’ उल्लंघन गरेको भन्दै माओवादी केन्द्र संसदीय दलले गएको जेठ २९ गते उनलाई कारबाही सिफारिस गरेको थियो ।

    त्यही सिफारिसबमोजिम गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले उनलाई दल त्याग गरेका आधारमा सांसद पदबाट मुक्त भएको घोषणा गरेका थिए ।

    देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए ।

  • १० हजारभन्दा बढी सीमान्तकृत बालबालिकालाई विद्यालयसँग जोड्न ‘सहयात्रा’ सम्पन्न

    १० हजारभन्दा बढी सीमान्तकृत बालबालिकालाई विद्यालयसँग जोड्न ‘सहयात्रा’ सम्पन्न

    काठमाडौं । मधेश प्रदेशका मा १० हजार बालबालिकालाई विद्यालयसँग जोड्न सञ्चालन गरिएको सहयात्रा परियोजना सम्पन्न भएको छ ।

    परियोजनाको अन्तिम वर्षमा भीएसओ नेपालले काठमाडौंमा परियोजना कार्यान्वयनबाट प्राप्त सिकाइ अनुभव आदान प्रदान कार्यक्रम गरेको हो ।

    युरोपियन युनियनको आर्थिक सहयोगमा भीएसओ नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, प्रेरणा र जन जागरण युवा क्लबको साझेदारीमा स्थानीय, प्रदेश तथा संघीय सरकारको समन्वय तथा सहकार्यमा समावेशी शिक्षा विकासका लागि सहयात्रा परियोजना सञ्चालन गरिएको थियो ।

    ‘सहयात्रा’ परियोजनाअन्तर्गत सीमान्तकृत बालिका र अपांगता भएका बालबालिकाको गुणस्तरीय तथा समावेशी शिक्षामा पहुँच अभिविृद्धि गर्न समावेशी गुणस्तरीय शिक्षा प्रणाली विकास गर्ने मुख्य लक्ष्य थियो । साढे तीन वर्षे सहयात्रा परियोजना बारा, रौतहट, पर्सा र सर्लाहीमा सञ्चालन भएको थियो ।

    परियोजनाले दश हजारभन्दा वढी सिमान्तकृत बालबालिका, अभिभावक तथा विद्यालयसँग काम गरेको छ ।

    कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा जोड्न र उनीहरूको ड्रप आउट रोक्ने काम चुनौतीपूर्ण रहेको बताइन् ।

    विद्यालय शिक्षालाई प्रभावकारी बनाउन नीतिगत र बजेट व्यवस्था गरिए पनि धेरै सिमान्तकृत समुदायका बालबालिका अहिले पनि समतामूलक शिक्षाको पहुँचबाट बाहिर रहेको उनको भनाइ थियो ।

    यो अवस्थामा सुधार ल्याउन अभिभावकको क्षमता विकास, सचेतना तथा विद्यालयको वातावरण र सिकाइ विधिमा थप सुधार आवश्यक छ,” उनले भनिन् ।

    कार्यक्रममा मधेस प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोले मधेसमा शिक्षक विद्यार्थी अनुपात धेरै रहेको, उच्च गरिबीका कारण बालबालिकालाई विद्यालयमा जोड्न चुनौती भएको बताए ।

    उक्त कार्यक्रममा विशिष्ट अतिथिमा राष्ट्रिय दलित आयोगका अध्यक्ष, अतिथिहरुमा, मेयर राजन पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका, शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उच्च पदस्थ अधिकृतहरु र युरोपियन युनियनका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरु लगायत अन्य सरोकारवालाहरु सहित १०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

  • प्रवेश गरेको १५ दिनमा देशभर फैलियो मनसुन, बाढीपहिरोको जोखिम

    प्रवेश गरेको १५ दिनमा देशभर फैलियो मनसुन, बाढीपहिरोको जोखिम

    काठमाडौं । यसवर्षको मनसुन आजबाट देशभर फैलिएको छ । जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन १५ दिनमा देशभर फैलिएको हो ।

    नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो नेपाल प्रवेश गरेको थियो । जेठ २८ गते कोसी प्रदेशमा प्रवेश गरेको मनसुन सोही प्रदेशको बाँकी भू–भाग, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा असार ९ गते पुगेको थियो । नेपालमा सरदरमा १३ जूनमा मनसुनी प्रणाली भित्रिन्छ।

    मनसुन भित्रिएको एक साताभन्दा लामो समयसम्म देशको पूर्वी क्षेत्रमा मात्रै सक्रिय रहेको थियो। असार ६ मा मात्रै मनसुनी प्रणाली कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा सक्रिय भएको थियो। यद्यपि कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा मनसुनी वायु पुगेको थिएन।

    सोमबारदेखि भने सबै क्षेत्रमा मनसुनी वायु पुगेको हो। यसले यो वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको विभागले जनाएको छ।

    मनसुन शुरू भएको दुई साता बितिसके पनि एकाध स्थान बाहेक अन्यत्र उल्लेख्य पानी पर्न सकेको छैन। विभागले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा अत्यधिक वर्षा हुन सक्ने जनाएको छ। विभागले कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

    नेपालमा मनसुनी वायु पूर्वी क्षेत्र हुँदै प्रवेश गरी पश्चिमी क्षेत्रतिर फैलिन्छ। मनसुनी वायुले पश्चिमी वायुलाई धकेल्दै लग्दा क्रमशः मनसुन प्रभावशाली भएर पानी पर्छ।

  • वडामै राष्ट्रिय परिचयपत्रको वितरण संकलन गर्न गृहको निर्देशन

    वडामै राष्ट्रिय परिचयपत्रको वितरण संकलन गर्न गृहको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

    जिल्लाका प्रजिअहरूलाई जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    तोकिएको जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण संकलन गर्न मन्त्रालयले जनाएको छ।

    गृह मन्त्रालयले २८ जिल्लामा ४३८ जना विवरण दर्ता अपरेटर परिचालन गरेको छ। स्थानीय तहसँग समन्वय गरेर विवरण दर्ता स्टेशन पनि थप गर्न पनि प्रजिअहरूलाई मन्त्रालयले अधिकार प्रदान गरेको छ।

    भदौ मसान्तसम्ममा परिचयपत्र लिएर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गरेमा साउन १ देखि लाभग्राहीले भत्ता पाउँछन्।

    आफ्नो हेरचाह आफैँ गर्न नसक्नेहरू, असहाय र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्दैन।

  • निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरुवा, लीलादेवी गड्तौला कामु

    निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरुवा, लीलादेवी गड्तौला कामु

    काठमाडौं । निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारले निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले विशेष पद सिर्जना गरेर अर्याललाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ मा अर्याल सहित ११ जना र एक कम्पनी विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै अर्याल स्वतः निलम्बनमा परेका थिए।

    नयाँ मुख्यसचिव वा कायममुकायम मुख्यसचिव नियुक्तिको बाटो खोल्न सरकारले अर्याललाई विशेष पद सिर्जना गरेर सरुवा गरेको हो। उनले विशेष अदालतबाट सफाइ पाए भने अब मुख्यसचिवमा नभएर योजना आयोगमा फर्किनेछन्।

  • त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

    त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

    काठमाडौं । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो ।

    विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ । अहिले त्रिभुवन विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

    उक्त अवधिमा तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् । विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् ।

  • निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

    निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने प्रावधान छ ।

    यसअघिका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेपछि अर्याल स्वतः पदमुक्त भएका छन् । अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

  • चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । यसबीच उनी असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनेछन् । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनेछन् ।


    भ्रमणमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ । त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ ।

  • नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

    नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

    काठमाडौं । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२–२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत पुगेको देखाएको थियो । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर हो । साक्षरतामा महिलाको तुलनामा पुरुषको साक्षरता दर माथि देखिन्छ । पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ ।

    १५ वर्ष र सोभन्दा माथिको साक्षरता दर भने ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरता दर ६४.१ प्रतिशत र पुरुषको साक्षरता दर ८२.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । १५ वर्ष र सोभन्दा माथिका जनसंख्यामा सन् २०१०–११ को जीवनस्तर सर्वेक्षणले ५६.५ प्रतिशत मात्र साक्षरता दर रहेको देखाएको थियो । सन् १९९५–९६ मा गरिएको पहिलो जीवनस्तर सर्वेक्षणले यो उमेर समूहको साक्षरता दर ३५.६ प्रतिशत देखाएको थियो ।

    ५ वर्ष र सोभन्दा माथिको साक्षरता दरलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । गण्डकीमा ८३.४ प्रतिशत साक्षरता रहेको छ । मधेशको साक्षरता दर ६८.३ प्रतिशत रहेको छ । महिला साक्षरता दर सबैभन्दा धेरै बागमतीमा देखिन्छ । यस प्रदेशमा ७६.८ प्रतिशत महिला साक्षरता दर रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । यस प्रदेशको साक्षरता दर ५९.९ प्रतिशत रहेको छ । पुरुषमा सबैभन्दा धेरै साक्षरता दर गण्डकी प्रदेशमा रहेको छ । यस प्रदेशमा पुरुषको साक्षरता दर ९१.३ प्रतिशत पुगेको छ । सबैभन्दा कम साक्षरता दर मधेश प्रदेशमा ७७.९ प्रतिशत रहेको छ ।

    क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकाको सहरी इलाकामा सबैभन्दा धेरै ८९.६ प्रतिशत साक्षरता रहेको छ । जहाँ ९४.७ प्रतिशत पुरुष साक्षर रहेका छन् । सबैभन्दा कम मधेश प्रदेशको ग्रामीण भेगमा साक्षरता रहेको छ । मधेश प्रदेशको ग्रामीण भेगमा ६२.९ प्रतिशत मात्र साक्षरता रहेको पाइएको छ । जहाँ महिला जनसंख्याको आधा मात्र (५३.७ प्रतिशत) साक्षरता रहेको नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ ।

  • यूरोकप : बराबरीमा रोकियो जर्मनी

    यूरोकप : बराबरीमा रोकियो जर्मनी

    काठमाडौं । निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि युरो २०२४को आयोजक जर्मनीले स्विट्जरल्याण्ड हार टारेको छ । खेल १–१ को बराबरीमा सकिएको छ । जर्मनी समूह ए विजेता बनेको छ । यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी पर्याप्त भयो ।

    डान एनडोएले २८औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए । जर्मनी तीन खेलबाट ७ अंक जोड्दै समूह ए को विजेता बनेको छ । स्विट्जरल्याण्ड ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता बन्यो । सो टीम पनि अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो खेलमा हंगेरीलाई हराएको स्विट्जरल्याण्डले स्कटल्याण्डसँग पनि बराबरी खेलेको थियो ।

    यस्तै समूह ए कै अर्को खेलमा हंगेरीले स्कटल्याण्डलाई १–० ले हराएर पहिलो जित निकाल्यो । यसअघि लगातार दुई खेल हारेको हंगेरीलाई पहिलो जित दिलाउन केभिन कोबोथले इन्जुरी टाइमको दशौँ मिनेटमा गोल गरे । जितपछि हंगेरी ३ खेलबाट ३ अंक जोडेर समूह ए को तेस्रो स्थानमा छ । हंगेरीका लागि तेस्रो हुने मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी नै छ । त्यसका लागि समूह चरणका बाँकी खेलहरुको नतिजा कुर्नुपर्नेछ ।

    स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । स्कटल्याण्ड पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।

  • सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

    सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

    काठमाडौं । दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका मानव अधिकारवादी नेता सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् ।

    ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु । यस सन्दर्भमा राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु’ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा छ ।

    मन्त्रिपरिषद्को शुक्रबारकव बैठकले प्याकुरेलसहित ८ जनालाई राजदूत सिफारिस गरेको थियो ।

  • मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, स्वतः निलम्बन

    मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, स्वतः निलम्बन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    मुख्यसचिवसहित तत्कालीन राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत रहेका छन् ।

    उनीहरुविरुद्ध ३८ करोड ६७ लाख १७ हजार विगो मागदाबी गरिएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएपछि मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन् ।

    सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्पष्टीकरण छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तः शुल्क स्टिकर महंगोमा छापेको अख्तियारको निष्कर्ष छ ।

    मुख्यसचिव अर्याल टेरामक्स प्रकरणमा पनि मुछिएका छन् । यो प्रकरणमा पूर्वमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेतमाथि पनि अनुसन्धान भइरहेको छ ।

  • खोला सफाइ गर्न काठमाडौं महानगरले खटायो ५५ जना कर्मचारी

    खोला सफाइ गर्न काठमाडौं महानगरले खटायो ५५ जना कर्मचारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् ।

    सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहर भेटिएको समूहका ‘सुपरभाइजर’ सागर लुइँटेलले जानकारी दिए।

    रुद्रमतीमा महानगरपालिकाले यन्त्र लगाएर सफाइ गरिरहेको छ । महानगरपालिकाको समूहले सफाइ गरुञ्जेल सफा देखिएको रुद्रमतीमा अहिले प्लाष्टिकलगायत फोहर थुप्रिन थालेको छ । सफाइ गरुञ्जेल आकर्षक देखिएको नदी अहिले फेरि फोहर देखिन थालेको कपनका स्थानीय लक्ष्मण ढकाल बताउँछन् ।

    । महानगरपालिकाले सफाइ गर्ने तर नदीमा रेखालु नराख्दा ‘हिँड्दैछ पाइला मेट्दैछ’ भनेजस्तो अवस्था देखिएको उनले सुनाए।

    महानगरपालिकाले यस क्षेत्रका अन्य नदी पनि यसरी सफाइ गर्ने जनाइएको छ । महानगर क्षेत्रका नदीमा सिधै ढल र फोहर हाल्नाले दुर्गन्धित बनेको छ । नदी किनारबाट हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।

    विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ सुरु गरिए पनि नदी अपेक्षाकृत सफा हुन सकेको छैन । वाग्मती सफाइ महाअभियानले ५८० हप्ता पार गरे पनि नदीको अवस्थामा धेरै परिवर्तन आएको छैन । वाग्मतीसँगै उपत्यकाका सबै नदी र चक्रपथ सफाइ सुरु भए पनि नदीका अवस्था उस्तै छन् ।

    जनस्तरबाट सुरु भएको महाअभियानलाई स्थानीय सरकारले साथ नदिएको गुनासो सुनिने गरेको छ । गुनासो बीच नै महानगरपालिकाले नदी सफाइ सुरु गरेको हो ।

  • बानेश्वरको सस्तो बजारमा युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

    बानेश्वरको सस्तो बजारमा युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

    काठमाडौं । काठमाडौं नयाँ बानेश्वर चोकनजिकैको सस्तो बजारमा एकजना १९ वर्षीया युवती बलात्कृत भएकी छन् ।

    काठमाडौं महानगरपालिका – ३१ शंखमुल बस्ने भारतको बिहार राज्यस्थित मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई उक्त प्रकरणमा प्रहरीले पक्राउ गरेको छ ।

    जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका – १० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उजुरीका आधारमा प्रहरीले ती भारतीय युवकलाई पक्राउ गरेर अनुसन्धान अघी बढाएको छ ।

  • आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई थापाको सुझाव

    आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई थापाको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

    आइतबार प्रतिनिधिसभाको शून्य समयमा थापाले संसदीय व्यवस्थामा आफूलाई नटेर्ने मन्त्रीलाई फेर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै त्यसो गर्न नसके बालुवाटार बाटै डेरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

    उनले स्थानीय तहलाई दिइने समानीकरणमा अनुदान घटाउने सरकारको तयारी उचित नभएको बताए । वडाको क्षेत्राधिकार पर्नेमा बजेट हाल्ने संघको अनुदान कटौती गर्ने कदम स्वीकार्य नरहेको उनको भनाइ छ ।

  • जीबी राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर ‘स्टन्टबाजी’ गरेको कि भगाउने नियत ?

    जीबी राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर ‘स्टन्टबाजी’ गरेको कि भगाउने नियत ?

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जीबी राईलाई पक्राउ गर्नुभन्दा स्टन्टबाजी बढी भएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रवि लामिछानेले व्यावसायिक साझेदार राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर राजपत्रमा प्रकाशित गर्नबाहेक बाँकी के छ र भन्दै मिडियामा बिस्कुन लगाइएको बताए ।

    “लोकसेन पत्ता लाग्यो भनेर माइकबाट फुक्नु भनेको अभियुक्त पत्ता लगाउने नयाँ शैली हो कि केटाकेटीपन हो वा भगाउने नियत हो ?,” उनले प्रश्न गरे ।

    उनले अगाडि भने, “जीबी राईको लोकसेन हैन, जीबी राई चाहिएको हो । लोकसेन पत्ता लागेको चार दिन भयो, लोकेसन पत्ता लागेपछि पनि चार दिन किन लाग्छ पक्राउ गर्न ?” महामन्त्री शर्माले मलेसियाबाट राईलाई ल्याउन कुनै सुपुर्दगी सन्धि नचाहिने पनि बताए ।

  • थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

    थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

    काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।


    राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताए । राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराए ।


    प्रत्युत्तरमा थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरेको समाचारमा उल्लेख छ । निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उनको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् । ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित थिइन् ।

  • विश्वकप क्रिकेट : सुपर ८ मा भारतले बंगलादेशलाई हरायो

    विश्वकप क्रिकेट : सुपर ८ मा भारतले बंगलादेशलाई हरायो

    काठमाडौं । आइसिसी टी–२० विश्वकपमा भारतले बंगलादेशलाई हराएको छ । सुपर आठको खेलमा भारतले लगातार दोस्रो जित निकाल्यो । बंगलादेशले भने लगातार दोस्रो पराजय भोगेको छ । भारतले बंगलादेशलाई ५० रनले जितेको छ । भारतले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ८ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो। बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४० रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का हाने।

    तान्जिड हसनले ३१ बलमा ४ चौका हानेर २९ रन जोडे। रिशद हुसेनले १० बलमा १ चौका र ३ छक्का हानेर २४ रनको योगदान गरे। ओपनर लिटन दास र महमुद उल्लाहले १३र१३ रन, शाकिब अल हसले ११ रन जोडे। बलिङतर्फ भारतका कुलदीप यादवले तीन विकेट, अर्शदीप सिंह र जसप्रित बुमराहले २र२ तथा हार्दीक पाण्ड्याले एक विकेट लिए।

    पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १९६ रन बनाएको थियो। हार्दीक पाण्ड्या अर्धशतक हानेर नट आउट रहे। उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए। विराट कोहलीले २८ बलमा १ चौका र ३ छक्का हानेर ३७ रन बनाए। रिशभ पन्तले २४ बलमा ४ चौका र २ छक्का हानेर ३६ रन जोडे। बलिङमा बंगलादेशका तान्जिम हसन शकिब र रिशद हुसेनले २–२ तथा शाकिब अल हसनले १ विकेट लिए।

  • कस्तो रहनेछ आजकौ मौसम ?

    कस्तो रहनेछ आजकौ मौसम ?

    काठमाडौं । जल तथा मौसम पूर्वानूमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी प्रदेशको पूर्वी भागसहित यी प्रदेशमा हाल मनसुनी प्रभाव छ । भारी वर्षाको सम्भावना रहेको ठाउँमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै देशका बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


    महाशाखाले यो हप्ताभर मनसुनी प्रभाव रहेका प्रदेशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न पनि आग्रह गरेको छ । ‘यस बाटती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाले भनेको छ ।