Category: समाचार

  • बुद्धले थप्यो १८ औं जहाज

    बुद्धले थप्यो १८ औं जहाज

    काठमाडौं । बुद्ध एयरले १८ औं एटीआर जहाज भित्र्याएको छ। बुद्धले कल साइन नाइनएन एनाइनजेट एटिआर ७२ जहाज फ्रान्सको तुलुसबाट शुक्रबार काठमाडौं ल्याएको हो । यससँगै बुद्धको एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ। जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याएर साउन महिनाबाट उडान सेवामा ल्याइने कम्पनीले जनाएको छ।

    हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप जहाज थपेकोब बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए। ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकूल उडान भर्न सक्नेछन्,’ उनले भने।

    थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना कम्पनीको रहेको छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ। थपिएको जहाजबाट अन्य गन्तव्यहरुमा पनि उडान संख्या थप्ने कम्पनीको योजना छ।

    बुद्धसँग ३ वटा एटीआर–४२–३२० र १५ वटा एटीआर– ७२–५०० जहाजहरु छन्। बुद्धलेअन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान पनि भरिरहेको छ। यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि गरिरहेको छ।

  • स्याङ्जामा पहिरोमा परी आमाछोरीको मृत्यु

    स्याङ्जामा पहिरोमा परी आमाछोरीको मृत्यु

    काठमाडौं । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको जनाको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।

  • बागलुङमा पहिरो, दम्पत्ति पुरिए

    बागलुङमा पहिरो, दम्पत्ति पुरिए

    काठमाडौं । बागलुङको गलकोट नगरपालिका ८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

    अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ(कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

  • रास्वपाले महामन्त्रीलाई सोध्यो स्पष्टीकरण

    रास्वपाले महामन्त्रीलाई सोध्यो स्पष्टीकरण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ । ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। महामन्त्री ढकालले आफ्नो सचिवालयमा पत्र आइपुगेको जानकारी दिएका छन् । आफुलाई सभापतिबाहेक अरुले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले पत्र भने बुझेका छैनन् ।

    महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेका कारण रास्वपाभित्र खैलाबैला मच्चिएको हो । सो प्रतिवेदनमा भएका महत्वपूर्ण बुँदासमेत महामन्त्री ढकालले सार्वजनिक गरेको भन्दै अनुशासन आयोगले ढकाललाई स्पष्टीकरण सोधेको हो । महामन्त्री ढकालले आफ्नो प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

    तर अहिलेसम्म सो प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदनमा समावेश विषयवस्तुबारे महामन्त्री ढकालले सार्वजनिक गरेको आरोप लागेको छ । सो प्रतिवेदनमा महामन्त्री ढकालले किन्तु र परन्तु नलगाइ प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्ने उल्लेख गरेको बताएका थिए ।

  • पूर्वगृहमन्त्री बादलका छोरा पक्राउ

    पूर्वगृहमन्त्री बादलका छोरा पक्राउ

    काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको नेपाली सञ्चारमाध्यमहरुले जनाएका छन् । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।

    भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
    यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।

  • ३१ करोड बढी खर्चेर बनाइएका गण्डकीका ४ विमानस्थल प्रयोगविहीन

    ३१ करोड बढी खर्चेर बनाइएका गण्डकीका ४ विमानस्थल प्रयोगविहीन

    गण्डकी । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् ।

    लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा १० करोड रुपैयाँ, पालुङटारमा ७ करोड रुपैयाँ, बलेवामा १२ करोड रुपैयाँ र ढोरपाटन विमास्थलमा २ करोड रुपैयाँ खर्च भएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

    प्राधिकरणले विसं २०६९ मा ९ करोड रुपैयाँ खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो ।धावनमार्ग कालोपत्र भएपछि विसं २०७६ भदौमा समिट एयरको विमानले विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन् ।

    लाखौँ रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गरे । ‘विसं २०३९ देखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ । यात्रुको अभाव भएर पनि नचलेको हुनसक्छ तर लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि,’ उनले भने ।

    मनाङ पुग्ने अधिकांश पर्यटक पदयात्रामार्फत तिलिचो ताल र थोरङ भञ्ज्याङ हुँदै मुस्ताङतर्फ जाने गरेका छन् । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गरेको लामाले बताए । विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेको थियो । सडक यातायातको सुविधापछि विमान चढ्ने यात्रु घटेको अनुमान गरिएको छ ।

    बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ वर्षअघि ८ करोड २४ लाख रूपैयाँ खर्चेर विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो । विसं २०२२ मा बनेको यो विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा बन्द भएको थियो । छब्बिस वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन, केही महिनापछि विमानस्थलमा उडान बन्द बन्द गरियो ।

    त्योबेला नेपाल र तारा एयरलाइन्सको ट्वीनअटर विमानले हप्ताको दुई दिन उडान भर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घटेर नगरपालिकालाई आर्थिक बोझ थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो ।

    विमान कम्पनीले सुरूमै बागलुङ–काठमाडौँको भाडादर ६५०० तोकेपछि यात्रुले महँगो भएको गुनासो गरेका थिए । विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावनमार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको भए पनि विमानस्थल बन्द छ भने अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुङ्गो छैन ।

    प्राधिकरणले धावनमार्गको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइ कालोपत्र गरेको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले दुई वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकनसमेत गरेको थियो ।

  • सिधा कुराका प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध मुद्दा दायर

    सिधा कुराका प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।​

    उनीहरू तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सिधा कुराले गत महिना अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो ।

    सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।

    सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सोको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकामा सर्वोच्चले तत्काल भिडियो हटाउन आदेश दिएको छ भने यसको फैसला वृतत्तपूर्ण इजलासले गर्ने आदेश दिएको छ । हाल यो विषयको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

  • माघ १ गतेदेखि घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

    माघ १ गतेदेखि घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।

    अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

  • थाइल्याण्डमा गरियो नेपाल प्रवर्द्धन

    थाइल्याण्डमा गरियो नेपाल प्रवर्द्धन

    काठमाडौं । बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

    त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गरे । नेपालले थाई पर्यटकहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र शान्तिको स्रोत, राजर्षि जनकको राजधानी जनकपुरदेखि मन्त्रमुग्ध गर्ने हिमालयका अनौठास्थलहरूको अवलोकनमा जान आग्रह गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    नेपाल सांस्कृतिक, सम्पदास्थल, प्रकृतिप्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी गर्न चाहने हरेक वर्गका निम्ति पर्यटकीय गन्तव्य हो भन्दै राजदूत ओलीले धेरै लामो मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध भए पनि नेपाल र थाइल्याण्डबीच अझै धेरै अन्वेषण गर्न बाँकी रहेको बताए ।

    उनले दुवै देशका व्यवसायी समुदायबीच व्यापार सञ्जाल, साझेदारी विकास र सूचना आदानप्रदान हुनुपर्नेमा जोड दिँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक हरसम्भव सहयोग उपलब्ध गराउन दूतावास सधैँ तत्पर रहेको बताए ।
    सन् २००८ मा थाइल्याण्डबाट पहिलो सगरमाथा आरोहण गरेका र थाई नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष भितिदनान रोजानापानिचले नेपाल र हिमालयका बारेमा आफ्ना अनुभव सुनाए ।


    ‘एक्सपेरियन्स नेपालः लुम्बिनी टु हिमालयन ब्लिस’ शीर्षकमा भएको उक्त कार्यक्रममा नेपाल दूतावास र र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), नेपाल र थाइल्याण्डबाट २५ ट्राभल एण्ड टूर कम्पनी, थाइल्याण्डका ५० ट्राभल एण्ड टूर कम्पनी, नेपाल एयरलाइन्स, थाई एयरवेज र थाई लायन एयरका प्रतिनिधि, थाई सरकारका अधिकारी तथा व्यवसायी, सञ्चारकर्मी, गैरआवासीय नेपाली सङ्घ र थाई–नेपाल सङ्घका प्रतिनिधिहरुको सहभागिता थियो ।

  • कायरोमा नेपाली तस्वीर प्रदर्शनी आयोजना

    कायरोमा नेपाली तस्वीर प्रदर्शनी आयोजना

    काठमाडौं । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।

    नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिए ।


    प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए ।

    त्यस अवसरमा इजिप्टका सांसद डा माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरे । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर र कलाकारप्रति आभार व्यक्त गरे ।

    उनले कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताए । उनले सहभागी कलाकारलाई कदरपत्र प्रदान गरे । प्रदर्शनीमा सहभागी फोटोपत्रकार अशरफ तलत र यासेर अलाले आफूहरूको नेपाल भ्रमणबारे वर्णन गर्दै दुई देशबीच जनस्तरमा भ्रमण आदानप्रदान बढ्दै गएको बताए ।

    प्रदर्शनीमा कलाकार गलाल गोमाको तार मूर्तिकलाका साथै फौजी मोर्सी, खालेद अल मार्सफी, खालेद सलाह, शिमा शफेई, अहमद गेसा, मारवा इब्राहिम, नौरा मकराम, सफिया याह्या, हानी हसन अब्देलगा, हनी हसन अब्देलगाको क्यारिकेचर कलाको विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो ।

    प्रदर्शनीमा व्यङ्ग्य चित्रकारहरूद्वारा सृजना गरिएका राजर्षि जनक, पासाङल्हामु शेर्पा र सन्दुक रुइतलगायत १५ जनाभन्दा बढी नेपालीप्रति समर्पित ‘क्यारिकेचर’ समावेश गरिएको थियो । कायरोस्थित युनाइटेड ओइल कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा प्रकाश अधिकारीले विदेशमा नेपालबारे प्रचारप्रसार गर्न आयोजित यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताए ।


    कार्यक्रममा कलाकार तथा कलाप्रेमी, कूटनीतिज्ञ, स्थानीय पत्रकार, विद्यार्थी, नेपाली समुदायका सदस्यसहित एक सय जनाको सहभागिता थियो । रासस

  • इंग्ल्याण्डविरुद्ध सानदार जित निकाल्दै भारत विश्वकप क्रिकेटको फाइनलमा

    इंग्ल्याण्डविरुद्ध सानदार जित निकाल्दै भारत विश्वकप क्रिकेटको फाइनलमा

    काठमाडौं । भारत आइसिसी टी–२० विश्वकपको फाइनल पुगेको छ। गतराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा समेट्यो।

    त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए। इंग्ल्याण्डका लागि ह्यारी ब्रूकले बनाएको २५ रन सर्वाधिक रह्यो। कप्तान तथा ओपनर जोश बट्लरले १५ बलमा चार चौका हानेर २३ रन बनाएका थिए। जोफ्रा आर्चरले १५ बलमा १ चौका र २ छक्का हानेर २१ रन बनाए।

    लियाम लिभिङस्टोनले ११ रन जोडे। त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर फिल सल्ट ५ रन, मोइन अली ८ रन, साम करण २ रन, क्रिस जोर्डन १ रन, आदिल रसिद २ रनमा आउट हुँदा जोनी बैर्स्टो शून्यमा आउट भए।

    पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७१ रन बनाएको थियो। त्यस क्रममा कप्तान तथा ओपनर रोहित शर्माले अर्धशतक हाने। उनले ३९ बलमा ६ चौका र २ छ्क्का हानेर ५७ रन बनाए। त्यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४७ रन जोडे। हार्दिक पाण्ड्याले १३ बलमा २३ रन बनाउँदा १७ रन बनाउँदै रवीन्द्र जडेजा नट आउट रहे।

    ओपनर विराट कोहली ९ रन र रिशभ पन्त ४ रनमा आउट हुँदा शिवम् दुबे शून्यमा आउट भए। बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा अदिल रिस टोप्ले, जोफ्रा आर्चर, साम करण र अदिल रसिदले १–१ विकेट लिए। भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ।

  • काठमाडौंको रामकोटमा कार दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौंको रामकोटमा कार दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटनामा परेको छ । सो क्रममा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका ६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

    मृत्यु हुनेमा नागर्जुन नगरपालिका(६ खरिबोटका अन्दाजी ४०–५० वर्षका पूर्ण दर्नाल छन्। उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन भएको छैन। अहिले कार कलभर्टबाट निकालिसकिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

  • आइतबारसम्म देशैभर मनसुनको प्रभाव

    आइतबारसम्म देशैभर मनसुनको प्रभाव

    काठमाडौं । शुक्रबारदेखि आइतबारसम्म मनसुनी वर्षा थप सक्रिय हुने जल तथा मौसम विजान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट नेपाल नजिक सरेकाले देशभर नै यसको प्रभाव देखिने छ । मनसुनी वायुको प्रभावले असार १४ गतेदेखि असार १६ गतेसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यसैले महाशाखाले विशेष बुलेटिन जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा, बाढी–पहिरो र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन भनेको छ । त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाको प्रक्षेपण छ ।

    आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएकाले बाढी पूर्वानुमान महाशाखाले पनि बुलेटिन जारी गरेर कोशी, नारायणी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने जनाएको छ ।

    इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपास भई बहने साना नदीहरुमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो । त्यसयता बाढी र पहिरोमा परी २८ जनाको मृत्यु भइसकेको छ ।

  • रास्वपाले बोलायो केन्द्रिय समिति बैठक

    रास्वपाले बोलायो केन्द्रिय समिति बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध गरी दुई वटा राखिएको छ ।

    महामन्त्री ढकालले देशव्यापी भ्रमण गरेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए । उनले पार्टीमा विभिन्न समस्या देखिएको भन्दै बेलैमा उपचार नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि नसक्ने निश्कर्ष निकालेका छन् ।

  • सिन्धुपाल्चोकमा भूकम्पको धक्का

    सिन्धुपाल्चोकमा भूकम्पको धक्का

    काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गतराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए ।

    भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन । २०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविदहरु गर्दछन् ।

    १ असार २०७८ को दिन सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार गेग्रानसहितको बाढी र पहिरोबाट तहसनहस भएका थिए । हेलम्बुमा १२७ र मेलम्चीमा १५ घर परिवारलाई सुरक्षित स्थानामा पुनर्स्थापना गर्नुपर्ने छ । तर भौगर्भिक अध्ययन नहुँदा उनीहरुको स्थानान्तरण भएको छैन । त्यसैले अहिले पनि उनीहरु जोखिम क्षेत्रमै छन् ।

  • पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु

    पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु

    काठमाडौं । दक्षिणी पाकिस्तानमा अत्यधिक गर्मीका कारण कम्तिमा ६ सय मानिस मारिएका छन् । एम्बुलेन्स सेवा दिने इधीका अनुसार कराचीका शवगृहमा प्रायः दैनिक ३० देखि ४० मृतकलाई पुर्‍याउने गरेको थियो। यद्यपि विगत छ दिनमा इधीले ५६८ वटा शव सङ्कलन गरेको छ र तीमध्ये मङ्गलवार सङ्कलन गरिएका शवको सङ्ख्या १४१ थियो।

    प्रत्येक घटनामा मृत्युको कारण के थियो भनेर भनिहाल्न मिल्ने अवस्था छैन। यद्यपि कराचीमा सहरको तापक्रम ४० डिग्रि भन्दा माथि पुगेपछि मृतकको सङ्ख्या वृद्धि भएको छ। सापेक्षित आर्द्रता उच्च रहेकाले प्राय ४९ डिग्रि सम्म हुने जस्तै गर्मी महसुस गरिएको विवरण आएका छन्।

    गर्मीबाट आक्रान्त धेरै मानिस सहयोग खोज्दै अस्पताल पुगेका छन्। कराचीस्थित सिभिल अस्पतालमा मात्र आइतवारदेखि बुधवारसम्ममा हीटस्ट्रोक भएका २६७ जनालाई भर्ना गरिएको उक्त अस्पतालको आपतकालिन विभागका प्रमुख डा इमरान सरवर शेखले बताए। तीमध्ये १२ जनाको मृत्यु भएको छ । शेखले बीबीसीसँग भने, अस्पतालमा आएका अधिकांश मानिसहरू ६० देखि ७० वर्षका छन्। केही ४५ वर्षसम्मका र दुई जना त २० वर्षका समेत थिए।

    उनका अनुसार अस्पताल आएका मानिसहरूमा बान्ता आउने, पखाला लाग्ने र उच्च जरो आउने जस्ता लक्षणहरू देखिएका थिए। उनले भने, “हामीले जाँच गरेका अधिकांश मानिसहरू घरबाहिर काम गर्थे। हामीले उनीहरूलाई उच्च तापक्रममा काम गर्दा प्रशस्त पानी पिउन र हल्का लुगा लगाउन भनेका छौँ।”

  • काठमाडौं महानगरले थाल्यो लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान,खटायो ६२२ जनाको टोली

    काठमाडौं महानगरले थाल्यो लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान,खटायो ६२२ जनाको टोली

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ। असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन्।

    रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन्। उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ। यसकारण पानी जम्न दिनु हुँदैन। यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्। अभियानमा यस सम्बन्धी सचेतना बढाउने गरिएको छ।

    सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका हुन्।
    रोगको लक्षण देखिएका विरामीहरुको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको भुषालले जानकारी दिनुभयो।

    आकाशे पानी पर्ने मौसम सुरु भएको छ। यसरी परेको पानी सडक र सडक किनाराका खाल्टाखुल्टीमा जम्मा हुन्छ। यस्तै पानीमा लामुखट्टेको संख्या वृद्धि हुन्छ। लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखिएको छ।

    लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको गरिएको छ। यो जैविक औषधि हो। यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन। यो विषादि होइन। औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ। यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ। यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ। यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ। औषधिले डेंगीसहित, फिलारिया, औलो ९मलेरिया० जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ।

    यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ। अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ।

  • झिनो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    झिनो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा झरेको हो ।

    यसदिन ३३३ कम्पनीको ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बाहेक अरुसबैको घटेको छ ।

    आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

  • एसईईको मौका परीक्षा साउन १८ र १९ गते

    एसईईको मौका परीक्षा साउन १८ र १९ गते

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

    बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

  • एसईईको परीक्षाफल प्रकाशित, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण

    एसईईको परीक्षाफल प्रकाशित, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् ।

    ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् । एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने भएको छ ।

    ‘नन ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याएका छैनन् । उनीहरूले कक्षा १० दोहोर्‍याएर पढेर अर्को वर्ष मात्रै एसईई दिन पाउनेछन् ।

    दुईवटासम्म विषयमा नन ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । ती विद्यार्थीले एक महिनापछि हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

  • यूरोकपको क्वाटरफाइनल समिकरण पुरा

    यूरोकपको क्वाटरफाइनल समिकरण पुरा

    काठमाडौं । जर्मनीमा जारी युरो २०२४ मा समूह चरणको खेल सकिएका छन् । अब नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ । गतराति समूह एफको अन्तिम २ खेल भएका छन् । यससँगै नकआउट चरणको समीकरण पनि पूरा भएको छ । युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । समूह्य चरणको खेलपछि ६ वटै समूहको समूह विजेता र उपविजेता गरी १२ टोली सिधै अन्तिम १६ मा पुगे । तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिमले पनि अन्तिम १६ मा स्थान बनाए ।

    चार समूहबाट ३–३ तथा दुई समूहबाट २–२ टोली नकआउट चरणमा पुगे । समूह ए बाट घरेलु टोली जर्मनी र स्वीट्जरल्याण्ड, समूह बी बाट स्पेन र इटली, समूह सी इंग्ल्याण्ड र डेनमार्क समूह डीबाट अष्ट्रिया र फ्रान्स समूह ई बाट रोमानिया र बेल्जियम तथा समूह समूह एफबाट पोर्चुगल र टर्की क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

    यस्तै समूह सी बाट सल्भेनिया, समूह डी बाट नेदरल्याण्ड्स, समूह ई बाट सल्भाकिया र समूह एफबाट जर्जिया तेस्रो हुँदै अन्तिम १६ मा पुगे । समूह ए मा तेस्रो भएको हंगेरी र समूह बी मा तेस्रो भएको क्रोएसिया भने अगाडि बढ्न सकेन ।

    फ्रान्स र बेल्जियमबीच अन्तिम १६ मै भिडन्त हुने भएको छ । साविक विजेता इटलीले अन्तिम १६ म स्वीट्जरल्याण्ड्सँग खेल्नुपर्नेछ । फ्रान्स र बेल्जियमसहित आयोजक जर्मनी, फ्रान्स, पोर्चुगल एकै पुलमा छन् । यी टोलीहरु मध्येबाट एक टोली मात्र फाइनल पुग्नेछन् । अर्कोतर्फ इटली, इंग्ल्याण्ड र नेदरल्याण्ड्सबाट एक टोली फाइनल पुग्नेछ ।

    अन्तिम १६ मा जर्मनीले डेनमार्कसँग खेल्दा स्पेनले पहिलो पटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यी दुई खेलको विजेता क्वाटरफाइनलमै भेट हुनेछन् । यस्तै पोर्चुगलले स्लोभेनियासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।

    अर्कोतर्फ रोमानियाले नेदरल्याण्ड्सको सामना गर्दा अष्ट्रिया र टर्कीबीच खेल हुनेछ । रोमानिया र अष्ट्रिया आफ्नो समूहमा समूह विजेता बनेका थिए । यी दुई खेलको विजेता क्वाटरफाइनलमा एकआपसमा भिड्नेछन् । यस्तै इंग्ल्याण्डले स्लोभाकियासँग खेल्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा इटली र स्वीट्जरल्याण्डको विजेतासँग खेल्नेछ ।

  • रोनाल्डोको टीम पोर्चुगलविरुद्ध जर्जियाको सानदार जित

    रोनाल्डोको टीम पोर्चुगलविरुद्ध जर्जियाको सानदार जित

    काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गरेको छ । उसले स्टार फूटबलर क्रिष्टियानो रोनाल्डोको टीम पोर्चुगललाई २–० ले हराएको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।


    गेलसेनकिर्चेनमा भएको खेलमा जर्जियालाई ऐतहिसिक जित दिलाउन केभिचा केभारात्खेलियाले खेलको दोस्रो मिनेटमै तथा जर्जेज मिकाउटाड्जेले ५७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

    यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पोर्चुगल पराजित भएपनि ६ अंकका साथ समूह विजेता बन्यो । पोर्चुगलले यसअघि चेक रिपब्लिक र टर्किएलाई पराजित गरेको थियो । उता जर्जिया पहिलो खेलमा टर्किएसँग पराजित भएको थियो भने दोस्रो खेलमा चेकसँग बराबरी खेलेको थियो । तीन खेलबाट ४ अंक जोड्दै तेस्रो भएको जरज्या तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको हो ।

    यस्तै अन्तिम खेलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै ६ अंक नै जोडेको टर्किए समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगल समान ६ अंक जोडेपनि हेड टु हेडमा टर्किए पोर्चुगललाई पछि परेको हो ।

  • एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

    एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो ।

    नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

    विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

    लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ । तर, विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।

    साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

  • नेपाल भित्र पहिलो पटक ४ सय केभी प्रसारण लाइन सञ्चालनमा

    नेपाल भित्र पहिलो पटक ४ सय केभी प्रसारण लाइन सञ्चालनमा

    काठमाडौं । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । नेपाल भित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तार गर्न यो प्रसारण लाइन बनाइएको हो ।

    धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको हो । ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण सुरु भएको छ ।

    यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात–निर्यात हुँदै आएको थियो । अब देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु गरिएको हो ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै मुख्य रूपमा कोशी प्रदेशका तराईका जिल्लाहरूमा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । प्रसारण लाइनले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।

    प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब बढाउन सकिने घिसिङले बताए । अहिले दुई देशबीचको विद्युत् आयात निर्यात परिमाण ८०० मेगावाट मात्र छ । उनले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर–इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने बताए ।

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।

  • मनसुनयता नेपालमा प्राकृतिक विपत्तिबाट २८ जनाको मृत्यु

    मनसुनयता नेपालमा प्राकृतिक विपत्तिबाट २८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्‌बाट ३३ जिल्ला प्रभावित भएका छन् । योबीचमा १४७ वटा मनसुनजन्य घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    २५ घरमा पूर्ण क्षति भएको छ । १० घरमा पहिरोले आंशिक क्षति पुर्‍याएको छ । पहिरोले संखुवासभामा एक, ताप्लेजुङमा पाँच, ओखलढुङ्गामा एक, लमजुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ । पहिरोबाट मात्रै ६९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी चट्याङ लागेर १३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । चट्याङले १७ लाख ७६ हजार रुपैयाँको क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण मोरङमा एक जनाको मृत्यु भएको छ भने सप्तरीमा दुई जना घाइते भएका छन् ।

  • चट्याङ लागेर ७ जनाको मृत्यु, ५ घाइते

    चट्याङ लागेर ७ जनाको मृत्यु, ५ घाइते

    काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । कपिलवस्तुमा २, कैलालीमा २, रोल्पामा २ र लमजुङमा १ जनाको मृत्यु भएको हो ।

    आज बिहान ७ बजे खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर कपिलवस्तुको बुद्धभूमि नगरपालिका १०, धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका ६, भैंसहियाका २२ वर्षीय महेश कलवारको मृत्यु भएको हो ।

    यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका भित्रिया गाउँका ३१ वर्षीय जयराम डगौराको मृत्यु भएको हो । डगौरा आफ्नै घरनजिक रहेको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर घाइते भएकामा स्थानीय क्लिनिकमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

    यसैगरी, रोल्पामा चट्याङ लागेर सुनछहरी ३, बाहिरीगामकी २२ वर्षीया जैता घर्तीमगर र १४ वर्षीया गोमाला घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै लमजुङको चरागाँउ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको चट्याङ लागेर मृत्यु भएको छ ।

  • लमजुङ पहिरो : बेपत्ता चारैजनाको शव भेटियो

    लमजुङ पहिरो : बेपत्ता चारैजनाको शव भेटियो

    लमजुङ । लमजुङमा पहिराेमा परी बेपत्ता भएका चारजनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा गएराति पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए ।

    पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए ।

    पहिरोले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । रासस

  • नेपाल र चीन परामर्श संयन्त्रको बैठकमा के भयो सहमति ?

    नेपाल र चीन परामर्श संयन्त्रको बैठकमा के भयो सहमति ?

    काठमाडौं । नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् ।
    नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो ।

    नेपाल र भारतबीच सन् १९४७ परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग छ । तर, चीनसँग सचिव स्तरको संयन्त्र मात्र रहँदा कतिपय निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै मन्त्रीस्तरमै संयन्त्र बनाउनुपर्ने विषय पहिल्यैदेखि उठेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

    बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अहिले भएका दुईपक्षीय संयन्त्रलाई थप मजबुत बनाउँदै परराष्ट्रमन्त्री स्तरमा नयाँ संयन्त्र बनाउन दुवै पक्षले जोड दिएको उल्लेख गरिएको छ । बैठकमा नेपाल–चीन सम्बन्धबारे समीक्षा भएको भन्दै विगतमा भएका सहमति र समझदारीको कार्यान्वयनको अवस्थाबारे समेत समीक्षा भएको भनिएको छ । ‘दुवै पक्षले एकआपसमा सहमति भएका क्षेत्रमा सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् भने पारस्परिक हितका लागि आर्थिक अवसरको क्षेत्रमा काम गर्ने प्रतिवद्धता पनि जनाएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

    बैठकमा परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालसहित मन्त्रालयका अन्य उच्च अधिकारीहरु पनि सहभागी थिए । चिनियाँ पक्षबाट नेपालस्थित राजदूत छन् सङसहितका अधिकारीहरु सहभागी थिए । चिनियाँ उपविदेशमन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई सोमबार नै भेटिसकेका छन् भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्दैछन् ।

  • फ्रान्सलाई पोल्याण्डले बराबरीमा रोक्यो

    फ्रान्सलाई पोल्याण्डले बराबरीमा रोक्यो

    काठमाडौं । केलिएन एमबाप्पेले युरोमा आफ्नो पहिलो गोल गरेको खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । युरो २०२४ अन्तर्गत समूह डी को खेलमा फ्रान्स पोल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो । दुवै टिमका लागि कप्तानले गोल गरेका थिए र दुवै गोल पेनाल्टीमा भएको थियो । डर्टमण्डको सिगनल इडुना पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टिमले गोल गरे ।

    एमबाप्पेले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । यस जितले फ्रान्स समूह डी को विजेता बन्ने पक्का थियो । तर, पोल्याण्डले पनि पेनाल्टी पायो र कप्तान रोवर्ट लेवान्डोस्कीले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि फ्रान्स ५ अंक जोडेर समूह डी को उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ ।

    उपविजेता बन्दा फ्रान्सका लागि आगामी यात्रा कठिन हुनेछ । किनभने नकआउट चरणमा फ्रान्ससिहत जर्मनी, स्पेन र पोर्चुगल जस्ता टोली एकै पुलमा पर्नेछन् । यी मध्ये एक टोली मात्र फाइनल पुग्नेछ । यसअघि नै लगातार दुई खेल हारेर बाहिरिसकेको पोल्याण्डको खातामा भने १ अंक मात्र रह्यो । नेदरल्याण्ड्सलाई पराजित गरेको अष्ट्रिया अप्रत्यासित रुपमा यस समूहको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

  • नेपालभर फैलियो मनसुन, विपद्का घटना बढ्न थाले

    नेपालभर फैलियो मनसुन, विपद्का घटना बढ्न थाले

    काठमाडौं । मनसुन देशैभर फैलिँदा विपद्का घटना बढ्न थालेका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ । त्यसैको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ ।

    आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको नियमित बुलेटिनमा सबै प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्मै वर्षाको सम्भावना औंल्याइएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।

    ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । आगामी विहीबार पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रबार सुदूरपश्चिम प्रदेशमा समेत भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।