Category: समाचार

  • सांसदलाई प्रधानमन्त्रीको जवाफ -‘निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन’

    सांसदलाई प्रधानमन्त्रीको जवाफ -‘निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन् ।

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए ।

    ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय कार्यान्वयनमा ल्याइने छ ।’

  • आज कस्तो रहनेछ नेपालको मौसम ?

    आज कस्तो रहनेछ नेपालको मौसम ?

    काठमाडौं । आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

  • भारतमा बाढी, कम्तिमा ३१ जना मारिए

    भारतमा बाढी, कम्तिमा ३१ जना मारिए

    काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । भारतीय सञ्चारमध्यमका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ ।

    असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ । सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना मानिस बाढीले प्रभावित भएका छन् । बाढीले प्रभावित जिल्लाको एक हजार ३७८ हेक्टर बाली उत्पादन क्षेत्रलाई पनि असर पारेको छ ।

    हाल ४७० गाउँ पानीमा डुबेका एएसडिएमएले जनाएको छ । स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र खोलेको छ । जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ । अधिकारीले राहत शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको बताएका छन् ।

    तटबन्ध, सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षतिको परिमाणले प्रभावित जनसङ्ख्यालाई सहायता प्रदान गर्न कठिनाइहरू बढाएको उनीहरूले बताएका छन् । गत महिना पश्चिम बङ्गाल र बङ्गलादेशको तटमा आएको चक्रवात रेमलपछि भारी वर्षाले गर्दा आसाम र मणिपुर राज्यमा क्षति पुगेको बताइएको छ । रासस

  • मनाङ जाने सडकमा पहिरो, आवागमन अवरुद्ध

    मनाङ जाने सडकमा पहिरो, आवागमन अवरुद्ध

    काठमाडौं । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँ लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।

  • यूरोकप : अल्वानियाले क्रोएसियालाई बराबरीमा रोक्यो

    यूरोकप : अल्वानियाले क्रोएसियालाई बराबरीमा रोक्यो

    काठमाडौं । युरो २०२४ अन्तर्गत बुधबार भएको समूह बी को खेलमा क्रोएसिया र अल्वानियाले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् । अल्वानियाले लगातार दोस्रो खेलमा सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । यसअघि इटली विरुद्ध अग्रता लिएर पनि अल्वानिया पराजित भएको थियो । दोस्रो खेलमा पनि त्यस्तै अवस्थामा पुगेको अल्वानियाले इन्जुरी टाइमको अन्तिममा गोल गर्दै क्रोएसियासँग बराबरी खेल्दै अंक जोडेको हो ।

    बराबरीपछि दुवै टोलीले १–१ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा अल्वानिया इटलीसँग २–१ ले तथा क्रोएसिया स्पेनसँग ३–० ले पराजित भएका थिए ।
    खेलको ११ औं मिनेटमा क्वासिम लासीले गोल गर्दै अल्वानियालाई अग्रता दिलाएका थिए । तर अन्तिम २० मिनेटको खेल रोमाञ्चक बन्दा तीन गोल भयो ।

    ७४औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले बराबरी गोल फर्काए । यस्तै ७६औं मिनेटमा अल्वानियाकै क्लाउस गासुलाल आत्मघाती गोल गर्दा क्रोएसियाले २(१ को अग्रता लिएको थियो । तर उनै गासालुले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । भिलेनबाट नायक बन्दै गासालुले अल्वानियालाई हारबाट जोगाए । अब अल्वानियाले स्पेन र क्रोएसियाले इटलीसँग खेल्नेछ ।

  • दक्षिण अफ्रिकाले ‘सुपर- एट’मा अमेरिकालाई हरायो

    दक्षिण अफ्रिकाले ‘सुपर- एट’मा अमेरिकालाई हरायो

    काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो सुपर–८ खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । गौसले यसअघि दक्षिण अफ्रिकाबाट यू–१९ क्रिकेट खेलेका थिए ।

    हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलर २४, नितेश कुमार ८ र कोरी एन्डरसनले १२ रनमा आउट भए । एक समय ११.१ ओभरमा ७६÷५ को अवस्थामा पुगेको अमेरिकालाई छैटौं विकेटका लागि हरमीत र गौसले ४३ बलमा ९१ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए ।

    अमेरिकालाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो । कागिसो रबाडाको १९ औं ओभरको पहिलो फुलटस बललाई ठूलो सट खेल्ने धुनमा हरमीत सिंह मिडविकेटमा स्टब्सबाट क्याच आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो ।

    दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले १–१ विकेट लिए । त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । विकेटकिपर क्विन्टन डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

  • जर्मनी यूरोकपको अन्तिम १६ मा

    जर्मनी यूरोकपको अन्तिम १६ मा

    काठमाडौं । आयोजक जर्मनी लगातार दोस्रो खेल जित्दै युरो २०२४ को अन्तिम १६ मा पुगेको छ । समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २–० ले पराजित गर्द जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको हो । दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ ।

    स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान इल्के गुन्डागोनले ६७औं मिनेटमा जर्मनीका लागि दोस्रो गोल गरे । जर्मनीले समूहको पहिलो खेलमा स्कटल्याण्डलनाई ५–१ ले पराजित गरेको थियो । अब समूह को अन्तिम खेलमा जर्मनीले स्विट्जरल्याण्डसँग खेल्नेछ ।

  • किम र पुटिनबीच के भयो सहमति ?

    किम र पुटिनबीच के भयो सहमति ?

    काठमाडौं । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    जसले कुनै एकविरुद्ध आक्रमण भएको अवस्थामा आपसी सहयोग प्रदान गर्दछ, बीसीसीले रुसी मिडिया रिपोर्टलाई उदृृत गर्दै लेखेको छ । उक्त सम्झौताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले रुसले युक्रेनमा गरेको आक्रमणको समर्थन गरेका थिए । किमको यो अडानलाई रुसी राष्ट्रपति पुटिनले प्रसंशा गरेका छन् ।

    दुई वर्षदेखि युक्रेनसँग जुधिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा छन् । अमेरिका र जी–७ राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाइसकेका छन् । यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्किएका पुटिनले प्योङयाङबाट सैन्य सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए ।

  • मेलम्ची शुक्रबारबाट बन्द हुँदै

    मेलम्ची शुक्रबारबाट बन्द हुँदै

    काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारा बन्द सम्भावना रहेको समितिले जनाएको हो।

    योसँगै उपत्यकावासी यही शुक्रबारदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्। मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ।

    मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो। मनसुन अक्टोबर २ मा बाहिरिने गर्दछ।

    दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचनाले सुरुङमा धमिलो पानी जान पाउँदैनथ्यो। समितिका अनुसार उक्त संरचना बिग्रिएकाले नदी धमिलिने बित्तिकै आयोजना बन्द गर्नुपर्ने हुन्छ।

    गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो। नेपालका मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठुलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो। जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ। यसले बाढी पहिरोलगायत मनसुनजन्य घटनासमेत बढ्न सक्ने भन्दै समयमा सतर्कता अपनाउन विभागले सरोकार भएका सबैलाई सुझाव दिएको छ।


    दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो। मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनः वितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो।

    मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको छ । धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको छ । काठमाडौँमा दैनिक ४३ करोड खानेपानीको माग रहेको छ ।

    राससको सहयोगमा

  • प्रहरी हेडक्वार्टरमा गृहमन्त्रीसहित उच्च प्रहरी अधिकृतले गरे योग अभ्यास

    प्रहरी हेडक्वार्टरमा गृहमन्त्रीसहित उच्च प्रहरी अधिकृतले गरे योग अभ्यास

    काठमाडौं । नेपाल प्रहरीले १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर योगाभ्यास कार्यक्रमको आयोजना गरेको छ ।

    शिविरमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले योग अभ्यास गरेका छन् । यद्यपी अन्तर्राष्ट्रिय योग दिवस जुन २१ मा मनाइँदैछ ।

    पतंजली योग समिति नेपालको सहकार्य तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा आज प्रहरी प्रधान कार्यालयमा भएको योगाभ्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत सहभागी रहेका थिए ।

    त्यस्तै, कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारीको सहभागिता रहेको थियो ।

  • ‘विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरे पूर्व राष्ट्रपतिको सेवा सुविधा के हुन्छ’ ?

    ‘विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरे पूर्व राष्ट्रपतिको सेवा सुविधा के हुन्छ’ ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधान लिइरहन मिल्छ वा मिल्दैन भन्नेकुराको सरकारसँग जवाफ माग गरेका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो । सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?’

    ‘राज्यले त्यो (पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण) बारे के सोचेको छ, संविधानमा के छ, सरकारले त्यसको जवाफ देओस्’, उनले भने ।त र, एमालेले भने पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण नगरेको प्रष्टीकरण दिइसकेको छ।

  • स्वदेश फर्किए राष्ट्रपति पौडेल, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

    स्वदेश फर्किए राष्ट्रपति पौडेल, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर स्वदेश फर्किएका छन्।

    बुधबार विहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौं आइपुगेको हो।

    राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

    अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रूपमा राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए।

    यस्तै, उनले विभिन्न उच्च स्तरीय भेटवार्ता पनि गरे। राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट त्यसतर्फ गएका थिए।

  • ‘नो भेहिकल जोन’को विरोधमा न्यूरोडका व्यापारी आन्दोलित

    ‘नो भेहिकल जोन’को विरोधमा न्यूरोडका व्यापारी आन्दोलित

    काठमाडौं । न्यूरोडका व्यापारीहरू सवारी निषेधित क्षेत्र (नो भेहिकल जोन)को विरोधमा आन्दोलित भएका छन् ।

    काठमाडौं महानगरपालिकाले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने तयारी थालेपछि न्यूरोड क्षेत्रका व्यवसायीहरू बुधबार सडक प्रदर्शनमा उत्रिएका हुन् ।

    व्यवसायीहरूले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले ‘प्राचिन व्यापारिक थलो मास्न पाइँदैन’, ‘से टु भेहिकल फ्री न्यूरोड’, ‘सवारी साधन बिनाको न्यूरोड चाहिँदैन’, ‘आफू चिल्लो गाडी चढ्ने हामीलाई नो भेहिकल भन्ने ?’ लगायत प्लेकार्ड बोकेका थिए ।

    काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने प्रस्ताव ल्याउने तयारी थालेको छ । मेयर बालेन्द्र शाहले जेठ ३२ गतेको बैठमा उक्त प्रस्ताव समेत पेस गरेका थिए । यद्यपि, सो प्रस्ताव पारित भने भएको छैन ।
    महानगरले यसअघि पहिलो चरणमा न्यूरोड क्षेत्रको सडकको पार्किङ हटाइएको थियो । त्यसपछि महानगरले फुटपाथ फराकिलो बनाउने काम अघि बढाएको थियो । तर, सडक विभागले उक्त काम रोसकेको छ । फूटपाथ बढाएपछि पूरै न्यूरोड सवारी निषेधित क्षेत्र बनाउने महानगरको तयारी छ ।

  • उत्तर कोरियाको राजधानी पुगे पुटिन

    उत्तर कोरियाको राजधानी पुगे पुटिन

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानका राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरे । विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए। सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए।

    युक्रेनमा युद्ध जारी रहेकाले उनको अस्त्र आवश्यकताका कारण पुटिनले प्योङ्याङ भ्रमण गरेको विज्ञहरू बताउँछन्। पुटिन र किमले बुधवारै कैयौँ बैठकहरूमा सहभागिता जनाउने छन् भने राजकीय भोजमा पनि उनीहरू सरिक हुनेछन्। पुटिन २४ वर्षपछि प्योङ्याङ गएका हुन्। सन् २००० मा उनले पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्दा किम जङ इल सत्तामा थिए।

    गत सेप्टेम्बरमा रुसको भोस्टोच्नी कोस्मोड्रोममा दुई नेताबीच भेटघाट भएको थियो। त्यहाँ किम जङ अनले दिएको निम्तो पुटिनले स्वीकार गरेका थिए। दुई नेताबीच भएको त्यो भेटवार्तालाई दुई देशको सम्बन्धको आधार मान्ने हो भने प्योङ्याङमा भएको भ्रमणले उनीहरूले त्यसमा कति प्रगति गरेका छन् भन्ने देखाएको छ।

    अब उनीहरूले गर्न सक्ने सैन्य सहकार्यमा अहिले विश्वको ध्यान केन्द्रित छ। उनीहरूको भेटघाट सांस्कृतिक, कृषि, आर्थिक र पर्यटनको क्षेत्रमा पनि दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने अनुमान गरिएको छ ।

  • स्वदेश फर्किदै राष्ट्रपति

    स्वदेश फर्किदै राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरे । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारी सहभागि छन् ।


    यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

    सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो । जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरे । अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।

  • पोर्चुगलको पुनरागमन जितले टार्यो हार, रोनाल्डोले राखे कीर्तिमान

    पोर्चुगलको पुनरागमन जितले टार्यो हार, रोनाल्डोले राखे कीर्तिमान

    काठमाडौं । फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले युरो २०२४ को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगतार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाउँदा पोर्चुगलले विजयी सुरुआत गर्‍यो । सन् २०१६ को च्याम्पियन विजेता पोर्चुगलले फेरि उपाधि जित्ने लक्ष्यमा छ ।

    खेलमा अग्रता भने चेकले पहिले लिएको थियो । ६२औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेक रिपब्लिकलाई पहिले अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । चेक रिपब्लिकका रोविन ह्रानाकले ६९औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । पोर्चुगलका नुनो मेन्डेजको हेडर बल क्लियर रग्ने क्रममा रोविनले आत्मघाती गोल गरेका थिए ।

    त्यसपछि पोर्गुचलका डिएगो जोटाले गोल गरेपछि अफसाइड भएको थियो । तर फ्रान्सिस्को कोन्सेइकाओले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाए । यस जितले रोनाल्डोको लगातार छैटौं युरोमा पनि राम्रो सुरुवात भएको छ ।

  • पूर्वी नेपालमा आज पनि ठूलो वर्षा

    पूर्वी नेपालमा आज पनि ठूलो वर्षा

    काठमाडौं । हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, मधस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले अहिले ६ः०० बजे जारी गरेको बुलेटिनमा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

    विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन

    उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए । दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले उत्तर कोरियाली पुटिनको स्वागतका लागि भव्य तयारी गरेको जनाएको छ ।

    दक्षिण कोरियाली अधिकारीहरूले स्याटेलाइटबाट लिइएको तस्बिरका आधारमा पुटिनको स्वागतका लागि प्योङयाङमा तयारी चलिरहेको समेत दाबी गरेका छन् । पुटिन मंगलबार नै उत्तर कोरिया जाने पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

    यसअघि गत सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ रुस भ्रमणमा गएका थिए । पुटिनको भ्रमणबारे क्रेमलिनले भने औपचारिक रूपमा जानकारी गराएको छैन । तर रुसी सञ्चारमाध्यमले भने पुटिन भियतनाम र उत्तर कोरियाको भ्रमणमा निस्कने सम्भावना रहेको भन्दै समाचार लेखेका छन् ।

    अमेरिकाले भने उत्तर कोरिया र रुसबीचको बढ्दो घनिष्ठ सम्बन्ध चिन्ताजनक रहेको बताएको छ । रुसी सञ्चारमाध्यमहरूले भने पुटिन ुमैत्रीपूर्ण राजकीय भ्रमणुमा उत्तर कोरिया जाने बताएका छन् । प्योङयाङ भ्रमणको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग मिलेर विभिन्न देशहरूले लगाएको नाकाबन्दी प्रतिरोध गर्ने बताएका छन् ।

    पुटिनको स्वागतका लागि नेता किम सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्ने पनि योन्हाप न्युज एजेन्सीको दाबी छ । पुटिनलाई प्योङयाङस्थित कुमसुसान गेस्ट प्यालेसमा राख्ने तयारी छ जहाँ सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समेत राखिएको थियो । वरिपरि ताल र जंगलले घेरेर बनाइएको उक्त दरबार विदेशी विशिष्ट पाहुनाहरूलाई राख्नका लागि बनाइएको बताइएको छ । उक्त दरबार सीको भ्रमणअघि नै तयार भएको एनके न्युजले दाबी गरेको छ ।

    सीको भ्रमणका बेला उत्तर कोरियाली टेलिभिजनहरूबाट दरबार परिसर र भित्रका दृश्यहरू सार्वजनिकसमेत भएको थियो । यो दरबार बन्नुअघि भने उत्तर कोरियाले विदेशी पाहुनालाई बाएख्वावोन गेस्ट प्यालेसमा राख्ने गर्थ्यो । उक्त प्यालेसमा दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिहरू किम दाई जुङ, रोह मु ह्युन्, मून र जापानका पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीलाई समेत राखिएको थियो । त्यस्तै अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि सोही दरबारमा बसेका थिए ।

    प्योङयाङमा पुटिन र उनको टिमको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडसमेत हुने बताइएको छ । प्लानेट ल्याबका अनुसार किम इल सुश्र स्क्वायेरमा सैन्य परेडका लागि भव्य तयारी गरिएको छ ।

  • द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ

    द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ

    काठमाडौं । सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसङ्घको मानव अधिकार परिषदमा युद्धरत दलहरूले बढ्दो रूपमा “स्वीकार्य र कानुनी सीमा भन्दा बाहिर धकेली रहेको बताए ।

    उनीहरूले एक अर्का प्रति पूर्ण तिरस्कार देखाई मानव अधिकारलाई कुल्चिरहेको बताउँदै उनले नागरिकको हत्या घाइते र पूर्वाधारको विनाश हुनु दैनिक घटना भएको जानकारी दिए । उनका अनुसार द्वन्द्वको समयमा बालबालिकालाई गोली हानियो, अस्पतालहरूमा बम प्रहार गरियो, समुदायहरूमा भारी तोपखानाहरू सुरु गर्नुका साथै घृणित, विभाजनकारी र अमानवीय कार्य गरिए ।

    संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुखले आफ्नो कार्यालयले गत वर्ष सशस्त्र द्वन्द्वमा नागरिक मृत्युको सङ्ख्या ७२ प्रतिशतले बढेको जनाउने तथ्याङ्क सङ्कलन गरेको बताए । भयावह स्वरूपको तथ्याङ्कले सन् २०२४ मा मारिने महिलाको अनुपात अघिल्लो वर्षको तुलनामा दोब्बर र बालबालिकाको अनुपात तीन गुणा भएको सङ्केत गर्ने उनले बताए । गाँजा पट्टीमा, तुर्कले “द्वन्द्वका पक्षहरूद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनको अवहेलना’’ र “असहनीय मृत्यु र पीडा’’ बाट स्तब्ध भएको बताए ।


    अक्टोबर –७ मा इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्धमा “गाजामा एक हजार दुई सयभन्दा बढी मानिसहरू, मारिए भने कर्यौँ घाइते भए ।
    इजरायलले मे महिनाको सुरुमा रफाहमा आफ्नो कारबाही बढाएपछि, लगभग दस लाख प्यालेस्टिनीहरू फेरि जबरजस्ती विस्थापित भएका छन् ।

    कोष घटेको उल्लेख गर्दै –तुर्कले युक्रेन, कङ्गो लोकतान्त्रिक गणतन्त्र र सिरियासहित अन्य द्वन्द्वहरूको दायरालाई पनि औँल्याए । उनले सुडानमा, एक वर्षभन्दा लामो गृहयुद्धको चपेटामा लडाकु दल र सम्बद्ध समूहहरूद्वारा नष्ट भइरहेकाले आफ्नै जनताको अधिकारलाई कुल्चिएको बताए ।
    रासस

  • तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

    तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका–८ तिलगंगा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ ।

    कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो ।

    गुरुयोजना कार्यान्वयनका क्रममा तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की/कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि खाली नभएकाले खाली गराउन लागिएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

    उनले भने, ‘अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगंगा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानूनबमोजिम कोष आफैंले हटाई खाली गराउने छ ।’

    तिलगंगा क्षेत्रका झन्डै एक सय सङ्ख्यामा पक्की तथा कच्ची घर-टहरा हटाउन लागिएको कोषले जनाएको छ ।

    यसैगरी, अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन यसअघि विसं २०७७ असार ३ गते पनि कोषले ३५ दिने सूचना जारी गरिएको थियो ।

    त्यसबेला विविध कारणले खाली नगरिए पनि कोषले आज पुनः १५ दिने म्याद दिइएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

  • दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशविरुद्ध डा. केसी अनशन बस्ने

    दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशविरुद्ध डा. केसी अनशन बस्ने

    काठमाडौं । प्रा.डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् ।

    डा. केसीले आज विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दैआफ्नो माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह (अनसन) सुरु गर्ने चेतावनी दिएका हुन् ।

    उनले उक्त फैसलाले चिकित्सा शिक्षा आयोगको अस्तित्वमाथि थप प्रहार गरेको जिकिर गरेका छन् । उक्त इजलासका वरिष्ठतम् न्यायाधीशलाई न्यायसम्पादन कार्यबाट अलग गर्न डा. केसीले माग गरेका छन् । ती न्यायाधीशमाथि थप कारबाही अघि बढाउन उनले न्याय परिषद्को ध्यानाकर्षण समेत गराएका छन् ।

    डा. केसीको विज्ञप्तिः

    हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, न्याय र सुशासनका लागि निरन्तर लडिरहेको तथ्य सबैलाई अवगत नै छ। मेडिकल शिक्षासँग सम्बन्धित एउटा मुद्दामा हालै चिकित्सा शिक्षा ऐन तथा नियमावलीको ठाडो उल्लंघन गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासबाट आएको फैसलाले आयोगको अस्तित्वमाथि थप प्रहार गरेको छ ।

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को कार्यान्वयनसम्बन्धी जटिल संवैधानिक प्रश्नको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासबाट हुनुपर्नेमा दुई सदस्यीय इजलासबाट फैसला हुनु, महिनौंसम्म संक्षिप्त आदेशसमेत नदिनु, फैसलाको मुल आदेश विरोधाभासपूर्ण हुनु, अदालतमा दुवै पक्षबाट प्रस्तुत दलिलहरुमध्ये निवेदकको तर्फबाट प्रस्तुत दलिलहरुलाई जस्ताको तस्तै स्वीकारिनु तर विपक्षबाट प्रस्तुत महत्वपुर्ण दलिलहरु फैसलामा राख्दै नराख्नु, आदि त्रुटिहरुले यो फैसलाका क्रममा गम्भीर न्यायिक विचलन भएको देखाउँछन् ।

    फैसलालगत्तै निवेदक पक्षले ईजलासका वरिष्ठतम न्यायाधिशको नामै लिएर प्रशंसा गर्नुले पनि उक्त फैसला नियतबस निज निवेदकको पक्षमा गरिएको थियो भन्ने पुष्टि हुन्छ। त्यसैले यी त्रुटिहरु सच्याउनका लागि तत्काल फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया शुरु गर्न हामीले प्रमुख सरोकारवाला निकाय चिकित्सा शिक्षा आयोगलाई बारम्बार अनुरोध गर्दा पनि कुनै कदम चालेको देखिँदैन। चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ भन्ने जानकारीमा आएकाले आयोगका सबै सदस्य महानुभावहरूलाई चिकित्सा शिक्षा ऐनको रक्षार्थ न्यायिक पुनरावलोकन प्रक्रिया तत्काल शुरू गर्ने निर्णय गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।

    आयोगलाई नेता र माफियाहरूका स्वार्थपूर्ति गर्ने थलोको रूपमा विकसित गर्ने क्रममा राजनीतिक दलका शिर्षस्थ नेता, कार्य कर्ता र केही न्यायाधीश देखि लिएर विभिन्न तत्व अहिले बढी सक्रिय भएका छन् । समग्रमा भन्दा अहिले चिकित्सा शिक्षा आयोगको अस्तित्व नै धरापमा छ। नेपालीको वर्षौको अथक प्रयास र दबाबबाट प्राप्त ऐन तथा आयोगको रक्षाकोलागि हामीसँधै कटिबद्ध छौं। स्मरण रहोस् आयोगका पूर्व पदाधिकारीहरूले विगतमा अदालतको सामान्य त्रुटिपूर्ण फैसलाको विरुद्ध पुनरावलोकन प्रक्रियामा गई मुद्दा जितेका थिए।

    साथै देशमा कोही पनि संविधानभन्दा माथि नरहेकाले त्रुटिपुर्ण फैसला गर्ने न्यायाधीशलाई संसदीय प्रक्रियाबाट जवाफदेही बनाउन पुनः माग गर्दर्छौं । फैसलाका क्रममा न्यायिक विचलन भएको पुष्टि भएकाले सो इजलासका वरिष्ठतम् न्यायाधीशलाई न्याय सम्पादन कार्यबाट अलग्याई थप आवश्यक कारवाही अघि बढाउन न्याय परिषदको ध्यानाकर्षण गराााउछौंं।

    यदि हाम्रा सम्पूर्ण मागहरू पूरा नभए जेठ ३१,२०८१ मा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुरुप आषाढ १४ गतेदेखि सत्याग्रह शुरु गर्न वाध्य हुनेछौ भन्ने जानकारी गराउन चाहन्छौं ।

    प्रा.डा. गोविन्द केसी

    ४ आषाढ २०८१।

  • हङकङ विश्वकै महँगो सहर, सिंगापुर दोस्रो स्थानमा

    हङकङ विश्वकै महँगो सहर, सिंगापुर दोस्रो स्थानमा

    एजेन्सी । एशियाली शहर हङकङ विश्वकै सबैभन्दा महँगो सहर बनेको छ । युरोपेली र अमेरिकी सहरहरूलाई पछि पार्दै हङकङ सन् २०२४ मा विश्वकै महँगो सहर बनेको हो ।

    मर्सरको २०२४ को कस्ट अफ लिभिङ रिपोर्ट अनुसार यस वर्ष हङकङ संसारकै महँगो सहर बनेको हो । हङकङसँगै अर्को एसियाली मुलुक सिंगापुर पनि सर्वाधिक महँगो सहरको शीर्ष स्थानमा परेको छ । उच्च भाडा लागतका कारण ज्युरिक, जेनेभा, बासेल र बर्नलाई पछि पार्दै हङकङ र सिंगापुर अघि पुगेका हुन् ।

    सिंगापुर गत वर्ष पनि विश्वकै महँगो सहर बनेको थियो । यस्तै, स्वीट्जरल्याण्डको जुरिच विश्वकै तेस्रो सहर बनेको छ । विश्वका शीर्ष १० महँगा सहरमध्ये स्वीट्जरल्याण्डका मात्रै चार सहर रहेका छन् । महँगा सहरको सूचीमा जुरिचपछि जेनेभा, बासेल र बर्न क्रमशः शीर्ष ६ मा रहेका छन् ।

    अमेरिकी सहर न्यूयोर्क विश्वका महँगा सहरको सूचीमा सातौं स्थानमा परेको छ । त्यसैगरी, लण्डन, नाउसा र लस एन्जलस विश्वका १० महँगा सहरको सूचीमा अटाएका छन् ।

    दुबई अन्तर्राष्ट्रिय कर्मचारीहरूका लागि मध्यपूर्वको सबैभन्दा महँगो सहर बनेको छ । गत वर्षको तुलनामा ३ स्थान माथि उक्लिँदै दुबई विश्वकै १५ औं महँगो सहर बनेको छ । यसैगरी, मध्यपूर्वका तेल अबीब १६ औं, आबुधाबी ४३ औं, रियाद ९० औं महँगा सरहका रहेका छन् ।

    हङकङ र सिङ्गापुर बाहेक एसियाका अन्य महँगो सहरहरूमा सांघाई २३ औं, बेइजिङ औं र दक्षिण कोरियाको सियोल ३२ औं स्थानमा पर्छन् । भारतको सबैभन्दा महँगो सहर मुम्बई विश्वका महँगा सहरको सूचीमा १३६ औं स्थानमा छ ।

  • गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिट ‘हेर्न नमिल्ने’ मा

    गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिट ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा आज सुनुवाइ नहुने भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोेजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा परेको थियो। रिट हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। ।

    गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।।

    यसअघि जेठ २८ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले मिसिल कागज झिकाउन आदेश दिएको छ। थियो। रिटलाई अग्राधिकार दिँदै जितेन्द्र बाबु राई (जीवी राई) समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०-c१-०९८७ को मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको थियो।

    उनीविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ। सहकारी ठगी प्रकरणमा कृष्ण प्रसाद खरेलले रुपन्देहीको सुप्रिप बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उजुरी दिएका थिए। उक्त सहकारीबाट गृहमन्त्री लामिछानेले दुई करोड ऋण लिएको प्रहरी अनुसन्धानले देखाएको छ । जितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खुलेको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनी रुपमा लामिछानेको नाममा ऋण प्रवाह भएको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनले देखाएको छ।

  • राजेन्द्र लिङदेनले रोस्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

    राजेन्द्र लिङदेनले रोस्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्।

    ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिन पछि सेलाउने र मन बुझाउने खालको मान्छे ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (च्यात्दै) हुर्‍याउने मन छ ।

    उनले भने, ‘तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ (पोडियम) राख्छु मैले उनले भने।’ पुस्तिका च्यातेर हुर्‍याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहुर्‍याउने उनको भनाइ थियो।

    ‘कसैको निर्वाचन क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना पर्नु नपर्ने, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो ? कुन विधि कुन तरिकाले हो ? यो कुरा भन्नुपर्यो, थाहा दिनुपर्‍यो नि ।’ उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई लक्षित गर्दै लिङ्देनले भने, तपाईंले बजेट बनाउँदा सँगसँगै विधि पनि भत्काउनुभएको छ। अब अर्कोले पनि मन्त्री बन्न ढुकेर बस्नु पर्‍यो । बनेपछि त्यसै गर्नुपर्‍यो । तपाईंले देशमा विधि भत्काउने काम गर्नुभएको छ’, उनले भने ।

  • राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै

    राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै

    काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धीले चुनाव जितेका दुई लोकसभा सिटमध्ये केरलको वायनाड छाड्ने निर्णय गरेका छन्। बिबिसीका अनुसार उक्त क्षेत्रबाट राहुलकी बहिनी तथा कांग्रेस नेता प्रियंका गान्धीले चुनाव लड्ने कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन्। पछिल्लो लोकसभा निर्वाचनमा राहुल केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका थिए। ‘रायबरेली र वायनाडबाट अब हाम्रा दुई जना सांसद लोकसभामा जाने छन्,ु सोमबार कंग्रेसका शीर्षनेताहरूको बैठकपछि राहुलले संवाददाताहरूसँग भने।

    यही बैठकले प्रियंका गान्धी वायनाडको उपचुनाव लड्ने निर्णय गरेको बिबिसीले जनाएको छ। यसअघि राहुलले आफू निर्वाचित दुई सिटमध्ये कुन राख्ने र कुन छाड्नेमा दुबिधा भइरहेको बताएका थिए। उनले भनेका थिए, ‘हामी यस्तो निर्णय लिनेछौं, जसले दुवै निर्वाचन क्षेत्रका मतदाता खुसी होऊन्।’

    कांग्रेस नेता प्रियंका गान्धीले वायनाडको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा आफू हर्षित भएको बताएकी छन्। ‘वायनाडका जनतालाई म राहुलको कमी महसुस हुन दिने छैन, प्रियंकालाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘वायनाडको प्रतिनिधित्व गर्न पाउँदा म एकदमै खुसी हुनेछ। राहुलले आफू बारम्बार वायनाड आइरहने बाचा गरेका छन्। म पनि यहाँका जनतालाई खुसी राख्न निकै मेहनत गर्नेछु।’

  • विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन नेपालमा सुरु

    विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन नेपालमा सुरु

    काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक काठमाडौंमा मंगलबारबाट सुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरे ।

    बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ । बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गलगायत उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

    आगामी ३ वर्षका लागि आइडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीहरु बीच ४ दिनसम्म प्रविधिक सत्रमा छलफल हुने छ ।

    सो अवसरमा बैठकमा सहभागीहरूबाट विश्व बैंकसमेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ ।

    नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्था बारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ । दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्चस्तरीय बैठकको तयारी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    यस बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आइडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिल्ने, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

  • नेपाली राष्ट्रपति र जर्मनी समकक्षीबीच भेटवार्ता

    नेपाली राष्ट्रपति र जर्मनी समकक्षीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ । जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने धारणा राष्ट्रपति पौडेलले राखे ।

    उनले नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद दिँदै नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताएका राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए । हालैका वर्षहरुमा जर्मनी नेपाली युवाहरुको लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमको लागि एक आकर्षक गन्तव्यको रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुत हुने राष्ट्रपति पौडेलले बताए ।

    जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासको लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएका उनको भनाइ उद्यृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

  • बर्लिन पर्खाल पुगे राष्ट्रपति, ऐतिहासिक स्थल अवलोकन

    बर्लिन पर्खाल पुगे राष्ट्रपति, ऐतिहासिक स्थल अवलोकन

    काठमाडौं । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् ।

    राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आजै भेटवार्ता हुने कार्यक्रम रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि उनी जर्मनी भ्रमणमा गएका हुन् ।

  • राष्ट्रपतिलाई जर्मनीमा गार्ड अफ अनर

    राष्ट्रपतिलाई जर्मनीमा गार्ड अफ अनर

    काठमाडौं । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए
    ।

    स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‌घाटसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आएका हुन् ।

  • कुकुर मारेको आरोपमा तीन पक्राउ

    कुकुर मारेको आरोपमा तीन पक्राउ

    काठमाडौं । कुकुरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले इलामको देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षीय दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीया संगम लिम्बू र १७ वर्षीय अशोक लिम्बूलाई पक्राउ गरेको छ । उनीहरूले पटक–पटक लाठीले हानेर कुकुर मारी खाडलमा पुरेको भिडियो फेसबुकमा हालेका थिए। ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट सार्वजनिक भएको थियो।
    यो घटना सामाजिक सञ्जालमा देखेपछि पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालयमा जाहेरसमेत दर्ता गरेको छ। पक्राउ परेकाहरूविरुद्ध ‘पशुपंक्षीसम्बन्धी कसुर’ अन्तर्गत जाहेरी परेको प्रहरीको भनाइ छ।