Category: समाचार

  • सञ्चालनमा आयो तेस्रो ठूलो हेटौंडा सबस्टेसन, प्रधानमन्त्रीबाट उद्घाटन

    सञ्चालनमा आयो तेस्रो ठूलो हेटौंडा सबस्टेसन, प्रधानमन्त्रीबाट उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् ।

    नेपाल विद्युत् प्राधिकरणले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरेका हुन् ।

    देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौडा –११ थानाभर्‍याङमा ४०० केभी हेटौडा सबस्टेसन निर्माण कार्य केही समय अघि सकिएको हो । ग्याँस इन्सुलेटेड प्रणाली जीआईएस प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटाौडा सबस्टेसन निर्माण सम्पन्न गरी एक साता अघि सञ्चालनमा ल्याइएको हो ।

    मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो ।

    सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौंडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौंडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।

  • दुई नाबालक छोरासहित आमा घरभित्रै मृत फेला

    दुई नाबालक छोरासहित आमा घरभित्रै मृत फेला

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालक छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन् ।

    प्रहरीका अनुसार वडा नम्बर ३ की अञ्जली बेस्रा छोराहरू ८ वर्षीय विशाल र २ वर्षीय आयुष बेस्रासहित मृत फेला परेकी हुन् ।

    आमा झुन्डिएको अवस्थामा भेटिएकी छन् भने छोराहरु ओछ्यानमा मृत अवस्थामा फेला परेका छन्। घरभित्र बान्तासमेत गरेको देखिएकाले विषादी प्रयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

    घरभित्र विषादीको गन्धसमेत आइरहेकाले आमाले छोराहरूलाई विषादी खुवाएर आफू झुन्डिएको आशंका प्रहरीको छ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् अहिले वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।

  • पूर्वी नेपालमा वर्षाको वितण्डा, पश्चिममा हिटवेभ

    पूर्वी नेपालमा वर्षाको वितण्डा, पश्चिममा हिटवेभ

    काठमाडौं । देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा पर्सि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

    चार दिनअघि भित्रिएको मनसुन पूर्वी क्षेत्रमै सीमित हुँदा देशभर गर्मी बढेको हो । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा केही दिनदेखि नै तापक्रम ४० डिग्री र त्योभन्दा माथि पुगेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् हिजो भए पनि यसपाली गएको २८ गते नै पूर्वमा प्रवेश गरेको थियो ।

    मनसुन प्रवेश गरेसँगै कोशी प्रदेशका विभिन्न ठाउँमा दिनहुँजसो पानी परिरहेको छ । कोशी प्रदेशबाट मनसुन अगाडि बढ्न अनुकुल वातावरण बन्दै गएको मौसमविद्ले बताएका छन् । तर पश्चिममा मनसुन फैलन अझै केही दिन लाग्नेछ । पूर्वी नेपालमा भने वर्षाको वितण्डा सुरु गरेको छ । गत राती मात्र एक घर बगाउँदा चार जनाको ज्यान गएको छ ।

  • कावासोतीमा नाली खन्ने क्रममा तीन मजदुरको पुरिएर ज्यान गयो

    कावासोतीमा नाली खन्ने क्रममा तीन मजदुरको पुरिएर ज्यान गयो

    काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोतीमा नाला बनाउनको लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन जना मजदूरको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका २ को फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुरको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

    ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । कावासोती थानादेखि पूर्वतर्फ लगिएको ढलको नाला एक महिनाअघिदेखि खन्न शुरु गरिएको हो ।

    थानाचोकदेखि पूर्व हाटबजारसम्म लगिएको नाला खन्न फटाफट काम नगरेको भन्दै मेयरको ध्यानाकर्षण गराए पनि मेयरले बेवास्ता गरेको स्थानीयबासीको आरोप छ । राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयबासीले विरोध गरेका छन् ।

  • यूरोकप आजबाट सुरु, जर्मनी र स्कटल्याण्ड भिड्दै

    यूरोकप आजबाट सुरु, जर्मनी र स्कटल्याण्ड भिड्दै

    काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो(२०२४ शुक्रबारदेखि सुरु हुँदैछ र त्यसको पहिलो खेलमा भिड्ने छन्, आयोजक जर्मनी र स्कटल्यान्ड । एलिनाज एरेनामा हुने खेलसँगै एक महिना लामो प्रतियोगिता सुरु हुनेछ । युरोकपमा कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ ।

    साविक विजेता इटली र स्पेन एकै समूहमा परेका छन् । इटली र स्पेनसहित क्रोएसिया र अल्बानिया समूह ‘बी’ मा छन् । आयोजक जर्मनी समूह ‘ए’ मा छ । यस समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड पनि छन् । यस्तै समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्याण्ड छन् । फ्रान्स, नेदरल्याण्ड्स र अष्ट्रिया समूह ‘डी’ मा छन् । यस समूहको अर्को टिमको टुङ्गो प्लेअफ खेलपछि हुनेछ । प्लेअफ ‘ए’ को विजेता यस समूहमा पर्नेछन् ।

    यस्तै समूह ‘ई’ मा बेल्जियम, रोमानिया र स्लोभाकिया छन् भने प्लेअफ ‘बी’ को विजेता यस समूहमा पर्नेछ । यसैगरी समूह ‘एफ’मा टर्की, पोर्चुगल र चेक रिपब्लिक छन् भने प्लेअफ ‘सी’ को विजेता यस समूहमा पर्नेछ ।

    प्लेअफ ‘ए’ मा पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया, प्लेअफ समूहमा ‘बी’ मा इजरायल, बोस्निया एण्ड हर्जगोभिना, युक्रेन र आइसल्याण्ड तथा प्लेअफ ‘सी’ मा जर्जिया, ग्रीस, कजाखस्तान र लक्जेमवर्ग छन। तीनवटै समूहको विजेता मात्र युरो कपमा पुग्नेछन् ।फाइनल खेल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

  • ताप्लेजुङमा पहिरो, कम्तिमा चार जनाको मृत्यु

    ताप्लेजुङमा पहिरो, कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

    गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए । ‘उपाध्यक्षको परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ’ उनले भने, ‘ पहिरोले दुई वटा घर बगाएको छ ।’ पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।

  • रुग्ण उद्योग चलाउन प्रधानमन्त्रीले थाले छलफल

    रुग्ण उद्योग चलाउन प्रधानमन्त्रीले थाले छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरुरी भएकोमा जोड दिए ।

    ‘विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने अभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ । त्यसैले कुन(कुन उद्योगहरू पुनः सञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ। अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने बताए ।

    ‘विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगहरूको पुनः सञ्चालन हुन सक्दैनन्, सार्वजनिक निजी साझेदारीको मोडेल नै ती उद्योगहरू सञ्चालन गर्ने मोडेल हो, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूको सम्भाव्यता बलियो छ । त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौँ,’ उनले भने ।

    छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायत उपस्थित थिए ।

  • विद्यालयका सटर बन्द नगर्न काठमाडौं महानगरलाई अदालतको अन्तरिम आदेश

    विद्यालयका सटर बन्द नगर्न काठमाडौं महानगरलाई अदालतको अन्तरिम आदेश

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयले भाडामा दिएका सटरमा ताला नलगाउन अन्तिरिम आदेश दिएको छ ।

    बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले महानगरलाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बलजफ्ती बन्द गर्ने/गराउने कार्य नगर्न आदेश दिएको हो ।

    महानगरको सामुदायिक विद्यालयका सटरहरू धमाधम बन्द गर्न थालेपछि मंगलबार तुलसीप्रसाद अगस्तीले उच्च अदालतका रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै तत्कालय सो कार्य रोक्न अदालते आदेश दिएको हो ।अदालतले असार ७ गते दुवै पक्षलाई बहसमा डाकेको छ ।

    शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आम्दानी गरेको भन्दै महानगरले आइतबारदेखि सामुदायिक विद्यालयका सटरहरू बन्द गर्ने अभियान चलाएको छ । हालसम्म महानगरले २७ विद्यालयका ३४० बढी सटरमा बन्द गरिसकेका छ ।

  • यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

    यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं । सरकारले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जानकारी गरिएको हो ।

    गत २४ जेठको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा २८ जिल्लामा आगामी आर्थिक वर्षको सुरुदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । विभागले सोही निर्णय कार्यान्वयन हुन लागेको जानकारी गराएको हो ।

    यस अनुसार अब २८ जिल्लाका नागरिकले समाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्नेछ ।

    विभागका अनुसार साउनदेखि झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रोतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाे छ ।

    विभागले हालसम्म राष्ट्रिय परिचयपत्र नबनाएका सेवाग्राहीलाई आफ्नो वडासँग समन्वय गरी सम्बन्धित जिल्ला प्रशासन/इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्न आग्रह गरेको छ ।

    ‘सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकोले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूले आफ्नो वडा कार्यालयसँग सम्पर्क गरी अभियानको समयमा वा आफ्नो समय अनुकूल नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्नुहुन अनुरोध छ,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।

    वालवालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने विभागले जनाएको छ ।

  • राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता

    राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्ड को बर्नमा बुधबार भेटवार्ता भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो ।

    राष्ट्रपतिको सचिवका अनुसार सो अवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताएका थिए ।

    सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यस स्तरोन्नतिलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ, यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई ठूलो स्रोत, साधन, प्रविधि, लगानी तथा आार्थिक सहकार्यको आवश्यकता रहेको छु, राष्ट्रपतिको भनाइ उदृत गर्दै भ्रमणदलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५०को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्वीस लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको बताएको पनि पोखरेलले जानकारी दिए ।

    पौडेलले स्वीट्जरल्यान्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुक रहेको बताउँदै यसले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अंगीकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि उल्लेख गरे ।

    पौडेलले नेपाल र स्वीट्जरल्यान्डबीच संघीयता, संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन, तटस्थता आदि साझा मूल्य मान्यता तथा सिद्धान्तहरू रहेको र सहभागितामूलक लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक आर्थिक तथा पर्यावरणीय मुद्दाहरूमा दुई देशबीच समान धारणा रहेको पनि बताए । उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दे नेपालले अत्यन्त न्यून कार्वन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक असर बेहोरिरहेको बताए ।

    सो अवसरमा स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न तयार रहेको बताइन् । राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन र जलस्रोतको क्षेत्रमा लगानीका लागि आग्रह गरेका थिए । उनलाई पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गरे भने स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताइन् । उनले नेपालको शान्ति प्रक्रिया र सत्य निरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको पनि जानकारी दिइन् ।

    उनले तेन्जिङ नोर्गे शेर्पाका नातिले आफ्नो गृहनगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देशको भूगोलमा मात्र नभएर संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गरिन् । उनले नेपालको संविधानमा संघीयता र समावेशीकरणको व्यवस्था गरेकोमा उच्च प्रशंसा गरिन् ।

    उनले नेपालका विभिन्न आयोजनामा स्वीस सरकारको लगानीले विशेष स्थान लिएको उल्लेख गर्दै दुई देशबीचको ठूलो स्तरको विकास साझेदारीले ६० वर्ष पूरा गरिसकेको र यो अझै अभिवृद्धि हुने विश्वास दिलाइन् ।

  • नेपालमा चर्को गर्मीले जनजिवन प्रभावित

    नेपालमा चर्को गर्मीले जनजिवन प्रभावित

    काठमाडौं । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटफुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ । मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ ।

    कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरुमा हुरी चल्ने सम्भावना रहेको छ ।

    आगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेश र मधेस प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • पाल्पामा कार दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    पाल्पामा कार दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा ९छविलाल०, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर बुटवल–१३ बंदेलपोखरी माथिको सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

    दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी पण्डितले बताए ।

  • कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय

    कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय

    काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएको छन् ।

    मृतकहरु २० देखि ५० वर्ष उमेर समूहका छन् । भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह आज कुवेत जान लागेका छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ । आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।

    कुवेतका मिडियाहरुका अनुसार ६ तले भवनमा बुधबार बिहान स्थानीय समय अनुसार ६ बजे आगलागी भएको थियो । सो भवनलाई एक स्थानीय कम्पनीले श्रमिक क्याम्पको रुपमा प्रयोग गर्दै आएको थियो । त्यहाँ करिब २ सय प्रवासी कामदारहरुलाई राखिएको थियो । यद्यपि सो भवनको क्षमता भने त्योभन्दा कम रहेको बताइएको छ । सो भवनमा नेपाली कामदारहरु पनि थिए । आगलागीमा परी ५ जना नेपालीहरु घाइते भएको प्रारम्भिक सूचना छ । आगलागीको कारण खुलेको छैन । कुवेत सरकारले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान थालेको जनाएको छ ।

  • कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते

    कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते

    काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसका अनुसार दुईजना सुरक्षित भएको र बाँकी तीन जना सामान्य छन् । आगलागीबाट शिवशंकर पासवान र दोर्जे लामा घाइते भएका छन् । उनीहरूको अदान अस्पतालमा उपचार भइरहेको छ । उपचाररत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ ।

    त्यस्तै दिनेश कुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भै सकेको दूतावसाले जनाएको छ । त्यस्तै जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको दूतावासले जारी दिएको छ । उक्त घटनाबारे श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कुवेतको श्रमिक क्याम्पमा आगलागी हुँदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका हुन् ।

  • सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार

    सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेका मन्त्रालयका क्यान्टिनबाट बालबालिकाको उद्धार गरेको छ। महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेको तीन मन्त्रालयका क्यान्टिनबाट बालबालिका उद्धार गरेको हो। सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्यान्टिनमा कार्यरत पाँच जना बालबालिकालाई उद्धार गरेको हो।

    पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो। तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ। यसअघि महानगरले विभिन्न ठाउँमा श्रममा लगाएका बालबालिकालाई उद्धार गरेको थियो। उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रममा राखिँदै आएको छ।

  • विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ

    विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ

    काठमाडौं । विदेश पठाउने भन्दै करिब एक हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । कन्सल्टेन्सी खोलेर पोल्यान्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायत देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेलधुराका राजेश साउद र अछामका टंकराज खनाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

    उनीहरूले काठमाडौंको तीनकुनेमा युनिक कन्सल्ट्स, वर्ल्डवाइड कन्सल्ट्स, ग्लोबल ह्युमेन म्यानेजमेन्ट, रायन इजुकेसन कन्सल्टेन्सी र रावल टार्भल एन्ड टुर्स कम्पनी स्थापना गरेका थिए । यी कम्पनीका नाममा उनीहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्ने र विदेशी पठाउने आश्वासनमा सक्कली कागजपत्र लिने गरेका थिए । हरेक व्यक्तिसँग ३५ हजार रुपैयाँ असुलेर १७ हजार रुपैयाँको मात्रै रसिद दिने गरेको प्रहरीले जनाएको छ ।

    सक्कली कागज फिर्ता माग्दा प्रतिव्यक्ति डेढ लाखदेखि २ लाखसम्म मागेको प्रहरीले जनाएको छ । यसरी करिब एक हजार जनाबाट २ करोड ५० लाख जति ठगी गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

  • श्रमाधान मेलामा २७ हजारले दिए आवेदन

    श्रमाधान मेलामा २७ हजारले दिए आवेदन

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले जेठ १७ गतेदेखि सुरु गरेको श्रमाधान रोजगार मेला सकिएको छ । कोशी प्रदेशदेखि सुरु भएको रोजगार मेला सातवटै प्रदेशमा दुई दुई दिन सञ्चालन भएको थियो । बुधबार बागमती प्रदेशको भक्तपुरमा पुगेर उक्त मेला समापन गरिएको छ ।

    युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले देशभरका सातैवटा प्रदेशमा मेला सञ्चालन गरेको थियो । मेलामा सातवटा प्रदेशमा गरी साढे २७ हजार बढी युवाले रोजगारीका लागि आवदेन दिएका छन् । मेलामा करिब ५० हजार बढीले अवलोकन गरेको मन्त्रालयको जनाएको छ ।

    निजी क्षेत्रसँगको समन्वयमा सातैवटा प्रदेशमा आयोजना गरिएको रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगार र सीप सम्बन्धी जानकारी दिने उद्देश्यले रोजगारसम्बन्धी तालिम प्रदायक संस्था, बैंक तथा वित्तीय संस्था, बिमा, निजी उद्योगहरु, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेशका मन्त्रालय, स्थानीय तह लगायत स्टलहरु राखिएका थिए ।

    जसमा स्वास्थ्य क्षेत्र, उत्पादन मुलुक क्षेत्र, होटल, अटोमोबाइल, बैंक लगायतका विभिन्न क्षेत्रका निजी कम्पनीहरुले पनि स्टलहरु पनि राखिएका थिए । उक्त मेलमा रोजगारीको खोजी गरी रहेका युवाहरुलाई रोजगारी र सीप सम्बन्धी स्टलहरु अवलोकन गरे भने रोजगारीका लािग आवदेन समेत दिएका छन् । त्यस्तै रोजगार मेलामा रोजगारदाताले समेत आवश्यक श्रमिकको माग गरेका छन् ।

    रोजगार मेलाले रोजगारीको खोजीमा रहेको युवा र रोजगारदाताबीच अन्तर्क्रिया र समन्वयको काम गरेको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजाल बताउँछन् । उनले रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु बनेको बताए ।

    श्रमाधान मेला अन्तर्गत जेठ १७ र १८ गते कोशीको प्रदेशको विराटनगरमा भएको मेलामा आयोजना गरिएको थियो । जहाँ पाँच हजार भन्दा धेरैले अवलोकन गरेका छन् । करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिए भने ४० जनाको रोजगारी सुनिश्चित भएएको थियो । २५० धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् ।

    त्यस्तै मधेश प्रदेशको जनकपुरमा आयोजना गरेको मेलामा दुई हजार जनाले आवदेन दिएका छन् भने २४७ जनालाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।
    त्यस्तै गण्डकी प्रदेशको पोखरामा भएको मेलामा एक हजार तीन सयले आवेदन छन् भने मेलामा ५ हजार भन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै लुम्बिनी प्रदेशको बुटवलमा भएको आठ हजारले अवलोकन गरेका छन् । मेलामा ३ हजार ८ सयले आवदेन दिए भने एक हजार जनाको लागि रोजगारी सुनिश्चित भएको छ ।

    कर्णाली प्रदेशको सुर्खेतमा भएकोे मेलामा तीन हजार ५०० जनाले अवलोकन गरेका छन् । ती मध्ये २६३ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा भएको रोजगार मेलामा १० हजारले अवलोकन गरे भने १ हजार १३३ जनाले रोजगारीको सुनिश्चिता पाएका छन् । मेलामा ४ हजार १६६ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।

    यस्तै बागमतीको ललितपुरमा भएको मंगलबार र बुधबार चलेको मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले निजी क्षेत्र उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एसोसिएसनलगायत रोजगारी प्रदायक उद्योगीसँग समन्वय गरी मेला आयोजना गरेका थियो ।

  • अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने

    अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने

    काठमाडौं । असार १ गतेदेखि भदौ मसान्त (३ महिना)सम्म कुनै पनि बाहानामा सडक खन्न नपाइने भएको छ ।

    सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

    वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भन्दै कार्यालयले मातहतका सडक डिभिजनहरूलाई कुनै पनि सडक खन्ने स्वीकृति नदिइने बताएको छ ।

    कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ।

  • काभ्रेमा भएको दम्पती हत्यामा संलग्न सार्वजनिक

    काभ्रेमा भएको दम्पती हत्यामा संलग्न सार्वजनिक

    काठमाडौं । काभ्रेमा भएको दम्पती हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपीलाई सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ घर भई बलेफी गाउँपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

    गत जेठ ८ गते महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा ६१ वर्षीय मानबहादुर बल र उनकी ६१ वर्षीया श्रीमती केकैमाया तामाङको शव फरक-फरक ठाउँमा फेला परेको थियो। दम्पती हत्या चोरी गर्ने मनसायले भएको प्रहरीको निष्कर्ष छ।

  • पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु, दुई जना घाइते

    पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु, दुई जना घाइते

    खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

    मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ ।

    उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

  • यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत

    यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे ।

    राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्ध (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घाटन समारोहमा भाग लिनेछन् ।

    राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नेछन् । सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्धघाटन मञ्चलाई सम्बोधन जेठ ३१ ग्ते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले भेटवार्ता गर्ने कार्यक्रम तय छ । त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । स्विट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् ।

    उनले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् ।

  • काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

    काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।

    सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ ।

  • राष्ट्रपति यूरोप भ्रमणमा प्रस्थान

    राष्ट्रपति यूरोप भ्रमणमा प्रस्थान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन् । पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले ३० जेठमा स्वीट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । जेनेभाबाट राष्ट्रपति पौडेल १ असारमा बर्लिन जानेछन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा बर्लिन जाने पौडेलले ३ असारमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

    जेनेभा र बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा। सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन् । राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • अमेरिकाको अमेजन नदीमा पाइने प्रजातिको माछा मोरङमा भेटिएपछि..

    अमेरिकाको अमेजन नदीमा पाइने प्रजातिको माछा मोरङमा भेटिएपछि..

    काठमाडौं । मोरङको बेलबारी र धनपालथानमा दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने माछाको प्रजाति फेला परेको छ । अनुसन्धानकर्ताहरु जसहाङ लिम्बु, दीपक राजवंशी, अस्मित सुब्बा, लक्ष्मण खनालसहितको टोलीले टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नामको नयाँ प्रजातिको माछा फेला पारेका हुन् । उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो ।

    नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु लिम्बू, राजवंशी, सुब्बा र खनालले त्यसलाई पछ्याउन थालेका थिए । पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिन क्वान याङ र चेन होङ लीको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरेका थिए ।

    यो माछाको विषयमा अनुुसन्धानकर्ताले लेखेको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अंकमा छापिएको छ । त्यसमा उल्लेख भएअनुसार अनुसन्धानका लागि लोहन्द्रा खोलाबाट यस माछाका ४३ वटा नमूना संकलन गरिएको थियो ।पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति फेला परेको थियो । यही जातको अर्को प्रजाति दमकतिरका खोलाहरुमा भेटिएको लेखमा उल्लेख छ ।

    दुई सयदेखि तीन सय ग्राम तौलसम्मका यी माछा हेर्दा आकर्षक लाग्छन् । अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्ता मध्येका एक जसहाङ लिम्बुले भने, ‘यसमा हामीले दुई बाटो अनुमान गरेका छौँ । कि कसैको एक्वारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो, कि भारतबाट नदीमा खेल्दै आएको हुनसक्छ ।’

    उनले भने, ‘जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइयो, जसकारण हाम्रा स्थानीय माछाहरु नासिने सम्भावना हुन्छ । यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।’

    उनका अनुसार यो पहिला लजालु र स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई खाइदिने गर्छ । ‘सन् २०१९ देखि यसको खोजीमा लाग्दा थाहा भयो कि लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ, संख्या निरन्तर बढिरहेको छ, अब अरु नदी तथा माछापालन गरिएका पोखरीमा विस्तार हुँदैन भन्न सकिन्न,’ लिम्बु भन्छन्, ‘व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठूलो क्षति हुन्छ । यो माछालाई खासमा एक्वारियममा राखी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो ।’

    यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्नका लागि अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् । अनुसन्धानकर्ताहरुले लेखमा लेखेका छन्, ‘यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ । नियन्त्रित नगरिएमा माछा मारेर जीविको चलाउनेको जीवनयापन नै संकटमा पर्ने, देशले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।’

    तथ्यांकअनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित करिब २६० प्रजातिका माछा पाइन्छन् जसमध्ये १८ प्रजाति गैरदेशीय छन् भने १७ प्रजाति नेपालबाहेक अन्त पाइँदैनन् । राससको सहयोगमा

  • अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ

    अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ

    काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको छ । उनले अमेरिका पठाउने नाममा ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ ठगी गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । जाहेरी आउने क्रम जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने बताइएको छ ।

    दुर्गाबहादुर वली, कमला डाँगीसहितका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । खड्काले आफ्नो हाई लिंक एजुकेशन कन्सल्टेन्सी रहेको र वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप छ । तर उनको कुनै पनि कन्सल्टेन्सी नरहेको खुलेको छ । रकम लिएपछि विश्वासमा दिलाउन उनले भारत लगेर बायोमेट्रिक समेत गर्न लगाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

    अमेरिका पठाउने भन्दै सिंगापुर, आइबरीकोस्ट हुँदै घानासम्म पुर्‍याएर अलपत्र पार्ने गरेको खुलेको छ । खड्काविरुद्ध ८ वटा बैंकिङ कसुर र १ वटा ठगीको मुद्दा समेत चलेको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा देखिएको छ । खड्काविरुद्धको बैंकिङ कसुर र ठगीको बिगो ७८ लाख ८८ हजार छ ।

  • तराईमा अझै अत्यधिक गर्मीको सम्भावना, तातो लहरको चेतावनी

    तराईमा अझै अत्यधिक गर्मीको सम्भावना, तातो लहरको चेतावनी

    काठमाडौं । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । आगामी तीन दिन (आजदेखि ३१ गतेसम्म) अत्याधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ती भूभागमा तातो लहरको सम्भावना रहेको छ ।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले विशेष बुलेटिन जारी गरेर आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    “…ती भूभागहरूमा आगामी तीन दिन (२०८१ जेठ २९ गतेदेखि २०८१ जेठ ३१ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” महाशाखाको बुलेटिनमा उल्लेख छ ।

    तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन अनुरोध गरेको छ ।

  • ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न-‘गिरीबन्धुको फाइल कहिले खुल्छ’ ?

    ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न-‘गिरीबन्धुको फाइल कहिले खुल्छ’ ?

    काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले ‘गिरीबन्धु टी–इस्टेटको फाइल कहिले खोल्ने ?’ भन्दै गृहमन्त्री लामिछानेलाई अर्को प्रश्न गरे ।

    उनले ‘मेलम्ची, वाइडबडी, फोरजीलगायत ठूला अनियमितताको फाइल कहिले खोल्ने ?’ भन्दै थप प्रश्न गरे ।

    उनले जीबी राई ठूलो कि सरकार ठूलो भन्दै अहिले जीबी राई ठूलो देखिएको बताउँदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए। उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

    उनले भने-आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं।’

  • देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    काठमाडौं । माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका छन् ।

    माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरे ।

    उनीसँगै कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले पक्षमा मतदान गरका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् । एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् ।

    मुख्यमन्न्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा जेठ १६ मा नियुक्त भएका थिए ।

  • पूर्वी नेपालबाट मनसुन भित्रियो, देशैभर फैलिन केही दिन लाग्ने

    पूर्वी नेपालबाट मनसुन भित्रियो, देशैभर फैलिन केही दिन लाग्ने

    काठमाडौं । यो वर्षको मनसुन प्रणाली आज नेपाल प्रवेश गरेको छ । सरदर मितिभन्दा तीन दिन अगाडि नै सोमबार (जुन १०) भारतबाट कोशी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जानेछ ।

    नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि हुने गर्दछ । नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ ।

    यो वर्ष पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायुको वेग रहेकाले देशभर मनसुन फैलन केही दिन लाग्न सक्ने जनाइएको छ । यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

  • भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

    भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

    काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्।

    नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता भएको हो ।

    सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

    त्यसैगरी उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो।

    प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच भेटवार्ता भएको थियो।