Category: समाचार

  • खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु

    खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका ५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो ।

    जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका ५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ ३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको हो ।

    निरु लिम्बु घाइते छिन् । उनको उपचार भइरहेको छ । लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए । प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

  • विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका

    विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका

    काठमाडौं । दक्षिण अफ्रिकाको घातक बलिङसामु श्रीलंका धरासायी बन्न पुगेको छ । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेन २२ बलमा १ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । क्विन्टन डी ककले २७ बलमा १ चौकासहित सर्वाधिक २०, रिजा हेन्ड्रिक्स ४, एडेन माक्ररम १२, ट्रिस्टन स्टब्स १३ र डेविड मिलरले ६ रन बनाए ।

    श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले २, दासुन शानका र नुवान थुसराले एक–एक विकेट लिए । त्यसअघि नासौं काउन्टी इन्टरनेशल क्रिकेट स्टेडियम न्यूयोर्कमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा अल आउट भयो । श्रीलंकाका एन्जिलो म्याथ्युजले १६ बलमा २ छक्कासहित १६ रन बनाए । कुशल मेन्डिसले ३० बलमा १ चौकासहित सर्वाधिक १९ र कामिन्दु मेन्डिसले ११ रन बनाए ।

    श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडा र केशव महाराजले दुईरदुई विकेट लिएका थिए । समूह डी को दोस्रो खेलमा मंगलबार ग्राण्ड प्रेरी रंगशाला डालसमा नेपाल र नेदरल्यान्ड्सबीच राति ९ः३० मा सुरु हुनेछ ।

  • क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक

    क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको जानकारी गराएको छ ।

    पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् । उनीहरुले उडान सुरक्षा अन्तर्गतका नियम मिचेको प्राधिकरणको भनाई छ । सेलिब्रेटी पाइलट लामालाई प्राधिकरणले पटक पटक सचेत र कारवाही गर्दै आइरहेको छ ।

  • ओलीको आक्रोश –’गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्नू’

    ओलीको आक्रोश –’गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्नू’

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रश्न सोध्न भनेका छन्।

    सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रयमा दिएका हुन्। संसद् भवन परिसरमा सञ्चारकर्मीको ‘गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्नमा अध्यक्ष ओलीले आक्रोशित हुँदै ‘बालेनलाई सोध्नु’ भन्ने जवाफ दिएका हुन्।

    मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए ।

  • गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

    गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

    काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

  • सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच

    सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच

    काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले महारनगरलाई क्षतिपूर्ति भराउनेगरी न्यूरोडको सडक आफैँ कालोपत्रे गर्न थालेको छ।

    महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारकोलागि सडक काटेपनि सडक विभागले समन्वय नगरेको भन्दै रोकेको काम कालोपत्रे गर्न लागेको हो। नगरप्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवाद भयो । केही स्थानीयले नगरप्रहरीविरुद्ध नाराबाजी गरे । त्यसपछि घटनास्थलमा नेपाल प्रहरी प्रवेश भएको थियो ।

    सडक डिभिजन कार्यालयले महानगरलाई २ दिनभित्र कालोपत्रे गर्ने अल्टिमेटम दिएको थियो। महानगरले फुटपाथ निर्माणको अधिकार महानगरको भएकाले कानुनी लडाईमा जाने उल्लेख गरेको थियो।

  • बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’

    बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा स्ट्याटस राख्दै आलोचना गरेका हुन् ।

    उनले भनेका छन् ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।’

    यस्तो छ बालेनको स्ट्याटस

    झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

    यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

    अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

    अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

  • निर्देशक सुदर्शन थापा पक्राउ

    निर्देशक सुदर्शन थापा पक्राउ

    काठमाडौं । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई ‘प्रसाद-२’को विवादमा नियन्त्रणमा लिएको हो ।

    गत असोजमा ‘प्रसाद-२’का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक थापाविरुद्ध बौद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेको करिब ७ महिनापछि उनी पक्राउ परेका हुन् । उनी ‘प्रसाद-२’का निर्देशक हुन् ।

    आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

  • श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु

    श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । श्रीलंकमा बाढी र पहिरोमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । आपतकालिन प्रवन्धन केन्द्रले सो जानकारी गराएको हो । कोलम्बो भन्दा बाहिर पर्ने सितावामा एकै परिवारका तीन जना बाढीमा परेको समाचार छ । श्रीलंकाका कतिपय स्थानमा विजुली बन्द भएको छ । सोमबार विद्यालयहरु बन्द गरिएका छन् । कुल ९ जिल्लामा भूस्खलनको चेतावनी जारी गरिएको छ ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।

    सोमबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात

    विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात

    काठमाडौं । आइसिसी टी–२० विश्वकपमा वेस्ट इण्डिजले विजयी सुरूवात गरेको छ। गतराति भएको खेलमा वेस्ट इण्डिजले पपुवा न्युगिनीलाई पाँच विकेटले पराजित गर्दै विश्वकपममा विजयी सुरुवात गरेको हो। पपुवा न्युगिनीले दिएको १३७ रनको लक्ष्य वेस्ट इण्डिजले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्‍यो।

    त्यस क्रममा रोष्टन चेस ४२ रन बनाएर नट आउट रहे। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ब्रान्डन किङले २९ बलमा ७ चौका प्रहार गरी ३४ रन जोडे। निकोलस पुरनले २७ बल १ चौका र २ छक्का प्रहार गरी २७ रन बनाए। कप्तान रोभमन पावेलले १५ रन जोड्दा आन्द्रे रसेल १५ रन बनाएर नट आउट रहे।

    बलिङतर्फ पपुवा न्युगिनीका अशद भालाले २ तथा एलेइ नाओ, चाड सोपर र जोन कारिकोले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेट गुमाएर १३६ रन बनाएको थियो। त्यस क्रममा सेसे बाउले अर्धशतक हाने। उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरी ५० रन बनाए। किप्लिन डोरिगा २७ रन बनाएर नट आउट रहे।

    कप्तान असद भालाले २२ बलमा २ चौका र १ छक्का प्रहार गरी २१ रन जोडे। बलिङतर्फ अल्जरी जोसेफ र आन्द्रे रसेलले २–२ तथा अकिल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोटीले १–१ विकेट लिए। टी२० विश्वकपमा सोमबार बिहान ओमान र नामिबिया खेलिरहेका छन्।

  • बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल

    बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल

    काठमाडौं । नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा पुगेको छ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी प्रतियोगिताको फाइनल पुगेको हो ।

    ढाकामा आइतबार भएको सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९.५ ले पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो । निर्धारित समयमा दुवै टोलीले ५०–५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त पाँच रेडबाट गरिएको थियो । जहाँ नेपालले बाजी मार्‍यो ।

    नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । अब नेपालले उपाधिका लागि घरेलु बंगलादेशसँग आज खेल्नेछ । समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको बंगलादेशले थाइल्याण्डलाई हराएर फाइनलम स्थान बनाएको हो ।

  • सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित

    सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित

    काठमाडौं । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा जादु देखाएको छ । अप्रिल १९ मा सम्पन्न विधानसभा चुनावको नतिजा आइतबार सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार एसकेएमले कुल ३२ सिटमध्ये ३१ सिटमा जित निकालेको छ । पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले १ सिटमा मात्र जित निकाल्न सक्यो ।

    पूर्वमुख्यमन्त्री चाम्लिङ आफैं दुवै क्षेत्रबाट पराजित भए । पोक्लोक(कामराङ विधानसभा क्षेत्रमा पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का भोजराज राईसँग पराजित भए । राईसँग चाम्लिङ ३ हजार ६३ मतको अन्तरले पराजित भए ।


    पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रबाट पनि पराजित भएका छन् । उनलाई यस क्षेत्रमा एसकेएमका राजु बस्नेतले हराए । वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) भने रेनोक र सोरेङ(चाकुङ दुवै क्षेत्रमा विजयी भए । सोरेङ–चाकुङमा तामाङले एसडीएफ उम्मेदवार डा. एडी सुब्बालाई ७ हजार ३ सय ९६ मतको अन्तरले हराए । रेनोक क्षेत्रमा मुख्यमन्त्री तामाङले पूर्वमन्त्रीसमेत रहेका एसडीएफ उम्मेदवार सोमनाथ पौड्याललाई ७ हजारभन्दा बढी मतले हराए ।

  • जेल फर्किए केजरीवाल

    जेल फर्किए केजरीवाल

    काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् । भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । २१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएको एनडीटीभीले उल्लेख गरेको छ ।

    उनले भनेका छन्, ‘मलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन अनुमति दिएको थियो । यो समय अविष्मरणीय रह्यो । मैले देशका लागि अभियान चलाएँ । पहिला देश अगाडि आउँछ, अनिमात्रै आम आदमी पार्टी ।’

    पुनः जेल जानुअघि केजरीवालले केही समाचार संस्थाले प्रकाशन गर्दै आएको चुनावी प्रक्षेपण गलत भएको प्रतिक्रिया दिएका छन् । जेल जानुअघि उनी महात्मा गान्धीको समाधिस्थल र हनुमान मन्दिर पुगेका थिए । केजरीवाललाई मदिरासम्बन्धी नीतिमा अनियमितता गरेको अभियोगमा ईडीले २१ मार्चमा पक्राउ गरेको थियो ।

  • ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउन नपाइने

    ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउन नपाइने

    काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उलंघन गरेबापत कुनै पनि नागरिकलाई सडकमा खटाउन नपाउने गरी सरकारलाई कारण सोध्दै आइतबार अन्तरिम आदेश जारी गरेको हो।

    कृष्ण बिकसमेत ७ जनाले संविधानले नागरिकलाई दिएको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकविरुद्ध भएको भन्दै शुक्रबार गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।

  • ‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?

    ‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधिसम्मत नरहेको बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने बताएका हुन् ।

    ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद खतिवडाले माग गरे ।

    महिनावारी भएको समयमा महिला प्रहरीलाई बिदा दिने विषय सकारात्मक भए पनि कानुन बनाएर मात्र कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए ।

  • पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी

    पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी

    काठमाडौं । पर्यटक आवगमनमा उत्साह कायमै रहेको छ । सन् २०२४ को पहिलो ५ महिनामा औसतमा १ लाख बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

    नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका छन् ।

    नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २११ पर्यटक नेपाल आएका छन् । यस महिना सबैभन्दा धेरै ३८ हजार २८८ भारतीय पर्यटक आएका छन् ।

    त्यसैगरी, ८ हजार ५२७ अमेरिकी, ८ हजार ३८१ चिनियाँ, ३ हजार ४५८ बंगलादेश, २ हजार ८०२ वेलायत, २ हजार १९४ अस्ट्रेलिया, १ करोड ८१४ मलेसिया, १ हजार ४३७ रुस, १ हजार ३९२ जर्मनी र १ हजार २७३ पर्यटक दक्षिण कोरियाबाट आएका छन् ।

    सन् २०२४ मा मार्चमा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए । त्यस्तै, जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ र अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटक भित्रिएका थिए ।

    सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ मा वार्षिक १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३. ०४ विन्दुमा पुगेको हो ।

    यसदिन ३२५ कम्पनीको ४ अर्ब ३१ करोड १० लाख १५ हजार २२९ रुपैयाँ बराबरको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच भएको छ ।

    आज नेपाल फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ६४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । बढ्दो बजारमा आज २ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुरी चल्ने सम्भावना पनि छ । मुलुकका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस र वाग्मती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, मधेब, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले जनाउँदै विभागले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । रासस

  • मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु

    मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु

    काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका ।छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो ।

    शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढालाई पनि स्वास्थ्य चौकीबाट गमगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

    छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका जीवन बुढाको उपचार जारी छ । गत वर्ष पनि यार्सागुम्बा टिप्न गएका चार जनाको मृत्यु भएको थियो । गत वर्ष तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुमकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गतेदेखि यार्सागुम्बा संकलन खुला गरेको छ । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सागुम्बा संकलन हुने गरेको छ ।

  • भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा

    भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा

    काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षणका नतिजा सार्वजनिक हुन थालेका छन् । अहिलेसम्म भएका एक दर्जन मत सर्वेक्षणले नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा ह्याट्रिक गर्ने देखिएको छ । विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण गरेका छन् । यद्दपी सिट संख्या भने फरक छ ।

    भारतका लोक सभाका ५४२ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुने छ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ । नतिजा सार्वजनिक हुनु अगाडि सार्वजनिक मत सर्वेक्षणको नतिजामा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ ।

    भारतको दैनिक भाष्करले ग्राउण्ड जिरो रिपोर्टको आधारमा २८१ देखि ३५० सिट भाजपा नेतृत्वको एनडीए गठबन्धनले पाउनसक्ने र १४५ देखि २०१ सिटसम्म कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनले पाउनसक्ने जनाएको छ । सर्वेक्षणअनुसार यस पटक एनडीएले तमिलनाडु र केरलामा खाता खोल्न सक्ने अनुमान छ । साथै कर्नाटकका सबै सिटमा कब्जा गर्न सक्ने उल्लेख छ ।

  • युरोपियन च्याम्पियन्स लिगको उपाधि रियलले जित्यो

    युरोपियन च्याम्पियन्स लिगको उपाधि रियलले जित्यो

    काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल गरे ।

    पहिलो हाफको खेल गोलरहित बरारबरीमा सकिएको थियो । तर, रियलले दोस्रो हाफमा अन्तिम २० मिनेटमा दुई गोल गर्‍यो । ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि भिनिसियसले ८३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

    डर्टमण्डले पनि गोल गर्ने केही अवसर नाएको थियो तर सदुपयोग गर्न सकेन । च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो । रियलले एसी मिलानले जितेको ७ उपाधिभन्दा दोब्बर बढी उपाधि जितेको छ । सन् १९९७ मा च्याम्पियन्स लिग जितेको डर्टमण्ड २०१३ को फाइनलमा पनि पराजित भएको थियो ।

  • मनसुन तत्काल नेपाल नभित्रने, तापक्रम बढ्दा जनजिवन प्रभावित

    मनसुन तत्काल नेपाल नभित्रने, तापक्रम बढ्दा जनजिवन प्रभावित

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन भने अझै केही दिन लाग्ने बताएको छ । नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको समेत बताइएको छ ।

    यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमितरुपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ । नेपालको तराई भेगमा तापमान ४० डिग्रि भन्दा माथि पुग्दा जनजीवन नराम्रोसँग प्रभावित बनेको हो ।

  • काठमाडौं महानगरले माग्यो २५८ नगर प्रहरी

    काठमाडौं महानगरले माग्यो २५८ नगर प्रहरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २५८ जना नगर प्रहरी जवान माग गरेको छ । महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ । ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

  • यार्सा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु

    यार्सा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु

    काठमाडौं । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा रासस प्रतिनिधिलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएको जानकारी आएको बताए ।

    सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको उनले जानकारी दिए । गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न गुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

    rss

  • तराई भेगमा तातो हावाको लहरको चेतावनी

    तराई भेगमा तातो हावाको लहरको चेतावनी

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी गरेको छ । पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन-तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्थ्यो ।

    विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्ला नै तातो हावाबाट प्रभावित हुनेछन् । पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

    अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।

  • मेयर बालेन शाहको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकमा निर्णयहरु

    मेयर बालेन शाहको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकमा निर्णयहरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को सिंगापुर भ्रमण सरकारले स्वीकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको हो ।

    यस्तै प्रधानमन्त्री कार्यालयकै प्रस्तावमा जर्मनीको बोनमा सञ्चालन हुने यूएन क्लाइमेट कन्फ्रेन्स अन्तरगतको एक्सपर्ट डाइलग अन माउन्टेन एण्ड क्लाइमेट चेन्ज कार्यक्रममा योजना आयोगकै सदस्य डा.अरनिकोकुमार पाँडेलाई जेठ २१ गतेदेखि २५ गतेसम्म सहभागि हुन स्वीकृति दिने निर्णय गरेको छ।

  • ट्राफिक नियम मिच्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर

    ट्राफिक नियम मिच्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर

    काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेका नागरिकलाई ‘स्वयंसेवक’को नाममा सडकमा उभ्याउने कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    बझाङको थलरा गाउँपालिका १ सिम्तोला बस्ने २२ वर्षीय कृष्ण विकसहित ६ जनाले रिट दायर गरेका हुन्।

    उनीहरुले रिटमा गृह मन्त्रालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन्।

    उनीहरूले सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत र संविधानले अवलम्बन गरेका सिद्धान्त एवं मौलिक हकको हनन भएको रिटमा उल्लेख गरेका छन्।

    गणतन्त्र दिवसका दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमा लेख्दै मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयंसेवकका रुपमा साटो सडकमा सघाउने बताएका थिए ।

    गृहमन्त्रीको त्यस जानकारीपछि भोलिपल्टदेखि नै सडकमा ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई उभ्याएर श्रम गराउन थालिएको छ ।

    कानुनको उचित प्रबन्ध बिना नागरिकलाई सडकमा उभ्याउने कदमको विरोध हुँदै आएको छ ।

  • सुख्खा पहिरोले थुनिएको तामाकोशी खुल्यो

    सुख्खा पहिरोले थुनिएको तामाकोशी खुल्यो

    काठमाडौं । सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी अहिले सामान्य छ । शुक्रबार विहान करिब ११ बजेतिर सडक खन्ने क्रममा देउराली नजिकै खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको थियो । आफैँ पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । पहिरोका कारण नदी १ घण्टा थुनिएको स्थानीयले बताएका छन् ।
    गर्मी याममा नदीमा पानी धेरै नभएकाले पानीले जोखिम नरहेको बताइएको छ । पहिराेले लप्ची जाने पैदलमार्ग पूर्णरूपमा क्षतिग्रस्त बनेपछि लप्ची लाममवगर सम्पर्क टुटेकाे छ ।