Category: समाचार

  • सहकारी ठगी छानविन गर्न संसदीय समिति बन्ने निश्चित

    सहकारी ठगी छानविन गर्न संसदीय समिति बन्ने निश्चित

    काठमाडौं । सहकारी संस्थाहरुको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुने निश्चित भएको छ । मंगलबार सात सदस्यीय संसदीय समिति गठन गर्ने दलहरुको तयारी छ ।त्यसअघि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने नेताहरुले बताएका छन् ।

    कार्यादेशको व्यहोरालाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलले अन्तिम रुप दिने भएको छ । त्यसपछि कांग्रेस र एमालेका २–२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक–एक जना सदस्य रहने गरी संसदीय समिति बन्ने छ । समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ ।

    नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा संसदीय समिति गठन गर्न दलहरु सहमत भए पनि सो समितिको कार्यादेशमा सहमति जुट्न सकेको थिएन ।

    कांग्रेसले गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय समितिको कार्यादेश बनाउने अडान राखेको थियो । तर, सत्ता साझेदार एमाले र रास्वपा त्यसमा सहमत नभएपछि सदनको गतिरोध अन्त्य हुन सकेको थिएन ।

    मंगलबार बेलुका प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा बोलाएको सत्ता पक्ष र प्रतिपक्षको संयुक्त बैठकमा गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गर्न दलहरु सहमति नजिक पुगेका छन् ।

  • गाजामा इजरायलले गर्यो आक्रमण, दर्जनौं मारिए

    गाजामा इजरायलले गर्यो आक्रमण, दर्जनौं मारिए

    काठमाडौं । रफाहस्थित एउटा शरणार्थी शिविरमा आइतवार भएको विस्फोटनमा दर्जनौँ मानिस हताहत भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले रफाहमा हमासले प्रयोग गरेको एउटा ठाउँलाई निसाना बनाउँदै हमला गरिएको जनाएको छ।

    आईडीएफले उक्त घटनाको समीक्षा भइरहेको जनाएको छ। त्यसअघि हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी महिनायता हमासले उक्त इजरेली सहरमा गरेको पहिलो लामो दूरीको आक्रमण हो।

    दक्षिणी गाजा स्ट्रिपबाट प्राप्त भिडिओमा ठूलो विस्फोटन भएको र आगो लागेको देखिन्छ। हमासले रफाहको पश्चिमोत्तर भागमा भएका विस्थापित प्यालेस्टिनीहरूको शिविरमाथि हवाई हमला गरिएको जनाएको छ। उक्त क्षेत्र हालै सैन्य कारबाही भएका ठाउँभन्दा पर सुरक्षित क्षेत्र तोकिएको ठाउँमा पर्ने हमासको भनाइ छ। मृत्यु हुनेमा महिला र बालबालिका रहेको हमासले जनाएको छ।

    आईडीएफले उक्त क्षेत्रमा हमासका लडाकुलाई निसाना बनाइएको र त्यसका लागि निश्चित ठाउँमा प्रहार गरिएको जनाएको छ। आईडीएफले पश्चिमोत्तर रफाहमा गरिएको आक्रमणमाू हमासका दुई वरिष्ठ नेता मारिएको आईडीएफएको दाबी छ। हमासको स्वास्थ्य मन्त्रालयले एउटा इजरेली आक्रमणमा ३५ जनाको मृत्यु भएको र अरू दर्जनौँ मानिस घाइते भएको जनाएको छ।

    मृतकको सङ्ख्या बढ्ने सम्भावना भएको विवरणहरू आएका छन्। इजरेली हवाई हमलाका कारण लागेको आगोले सर्वसाधारणलाई हानि पुगेको विवरणबारे आफू अवगत रहेको आईडीएफले जनाएको छ। उक्त घटनाबारे समीक्षा भइरहेको उसको दाबी छ। शुक्रवार इन्टर्न्याश्नल कोर्ट अफ जस्टिस (आईसीजे)ले इजरेललाई रफाहमा आक्रमण रोक्न भनेको भए पनि इजरेलले सैन्य कारबाही जारी राखेको छ।

    त्यसअघि आइतवार मध्यइजरेलमा रफाहनजिकैबाट हमासले रकेट गर्दा तेल अभिभनजिकै रहेका क्षेत्रमा चेतावनी दिन साइरन बजाइएको थियो। हमासले प्रहार गरेका रकेटहरूलाई या त हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएका थिए वा ती खुला ठाउँमा खसेका थिए। हमासले गरेको रकेट हमलाका कारण इजरेलपट्टि कोही हताहत भएका विवरण नआएको भए पनि इजरेलवासीहरूमा अझै हमासबाट खतरामा रहेको देखिन्छ।

    अहिले इजरेली सेना हमासलाई सखाप पार्न भन्दै दक्षिणी गाजातर्फ अघि बढिरहेको छ। उक्त क्षेत्र हमासको पकडमा रहेको अन्तिम ठाउँ भएको उसको दाबी छ। तर हमासले तेल अभिभतिर गरेको रकेट आक्रमणले इजरेली सेनाले कस्ता चुनौती खेप्नुपर्छ भन्ने सङ्केत गर्छ।
    बीबीसी

  • सिरोहिया थप ३ दिन हिरासतमा रहने

    सिरोहिया थप ३ दिन हिरासतमा रहने

    काठमाडौं । नागरिकता कीर्तेको उजुरीमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा रहने भएका छन् । दुई पटक ३–३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो । तर जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

    सोमबार उनलाई काव्य अस्पतालबाट एम्बुलेन्समा राखेर जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत लगिएको थियो । नागरिकता दुरुपयोगसम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया ८ जेठमा पक्राउ परेका थिए । उनी स्वास्थ्यमा समस्या आएको भन्दै गत शुक्रबार अस्पताल भर्ना भएका थिए ।

  • सिरोहिया पक्राउ घटना: आलोचनापछि महजोडीले माफी मागे

    सिरोहिया पक्राउ घटना: आलोचनापछि महजोडीले माफी मागे

    काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अदालतमा विचाराधीन मुद्दामा आफुहरुले बोलेर गल्ती गरेको भन्दै माफी मागेका छन् । अष्ट्रेलियाबाट सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनीहरुले बोलेर गल्ती गरेको स्वीकारेका हुन् ।

    भिडियो सन्देशमा श्रेष्ठले भनेका छन्, ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो । अचानक आएको प्रस्तावमा बोल्दा हामीबाट त्रुटी भएको छ । नबोलेको भए पनि हुने थियो ।’ हरिवंशले थपे, ‘हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’ यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफ गर्दिन समेत हरिवंशले अनुरोध गरेका छन् ।

    अष्ट्रेलिया उड्नुअघि महजोडीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे टिप्पणी गरेका थिए । लगत्तै, सामाजिक संजाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए । महजोडी यतिबेला महाजात्रा कार्यक्रमका लागि अष्ट्रेलिया टूरमा छन् ।

  • नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे’ अफर, यस्ता छन् सुविधा

    नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे’ अफर, यस्ता छन् सुविधा

    काठमाडौं । जेठ १५ मा मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि रिपब्लिक डे अफर उपलब्ध गराउने भएको छ । सो अफर सोमबार (जेठ १४) देखि प्रारम्भ भई जेठ १६ सम्म लागु हुनेछ ।

    यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

    यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

    यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

    आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट 141511# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

  • गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

    गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।

    गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन हुँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भन्दै अधिवक्ता अतुल विष्टले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । जेठ १६ गतेका लागि रिटको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

    ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारणा गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनि नेपाल सरकार मन्त्री प्रधानमन्त्री तथा मन्त्री परिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ,’ रिट निवेदनमा उल्लेख छ ।

    रिट निवेदनमा भनिएको छ,’ मिति २०८१-०१-१० मा रवि लामिछानेले द.न.१४०५१ बाट माग गरे अनुसार विपक्षी कार्यालयबाट मिति २०८१-०१ -२४ मा च.नं.३२७५ बाट जारी भएको पत्रको कुनै कानुनी वैधानिकता नहरेको र उक्त पत्रकले फौजदारी न्याय प्रणालीलाई अनुचित तवरले प्रभावित पार्ने स्पष्ट रहेको हुँदा मिति २०८१-१-१० मा रवि लामिछानेले द.नं. १४०५१ बाट माग गरे अनुसार विपक्षी कार्यालयबाट मिति २०८१-०१-२४ मा च .नं. ३२७५ बाट जारी भएको पत्र सम्बन्ध भएको सम्पूर्ण कारवाही,सूचना,पत्राचार कार्यान्वयन नगर्नु नगराउनु भनी सम्पूर्ण विपक्षीका नाउँमा अन्तरिम आदेश जारी पाउँ।’

  • मुग्लिन दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

    मुग्लिन दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

    काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

    मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।

  • काठमाडौंको बानियाँटारमा आगलागी हुँदा एक जनाको मृत्यु

    काठमाडौंको बानियाँटारमा आगलागी हुँदा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा आगलागीबाट एक जनाको मृत्यु भएको छ। टोखा नगरपालिका-१० बानियाँटार हाईटस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-२ घर भएका २१ वर्षीय किरण बुढाथोकीको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
    किरणको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते भएका उनको त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

  • बंगालको खाडीमा ‘रेमल’ चक्रवात, नेपालमा के पर्छ असर ?

    बंगालको खाडीमा ‘रेमल’ चक्रवात, नेपालमा के पर्छ असर ?

    काठमाडौं । उत्तरी बङ्गालको खाडीमा उत्पत्ती भएको शक्तिशाली ‘रेमल’ चक्रवातको असर नेपालमा समेत देखिने भएको छ । चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट आज र भोलि कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने सम्भावना छ ।

    कोशी र बाग्मती प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन, चटयाङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी प्रदेशका तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ ।

    मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार बाग्मती प्रदेशको थोरै ठाउँ र गण्डकी प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चटयाङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • विश्वकपको पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

    विश्वकपको पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

    काठमाडौं । आइसिसी टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ। वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा अभ्यास खेल खेलेर जेठ ७ गते अमेरिका गएको नेपाली टोलीले त्यहाँ ह्युस्टन हुरिकेनसँग दुईवटा अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।

    आजदेखि भने नेपालले टी–२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो। टेक्ससको ग्रान्ड प्रेइरी स्टेडियममा नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे खेल सुरू हुनेछ। क्यानडासँग खेलेपछि नेपालले बिहीबार अमेरिकासँग खेल्नेछ।

    नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्।

    करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि लेग स्पिनर सन्दीप लामिछानेलाई पनि विश्वकप खेल्न पठाउने तयारी क्यानले गरेको छ।

    टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

    अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी २० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्। विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको छ। चार समूहका शीर्ष २–२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर ८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर २ को दुई समूहका शीर्ष २२ टोली सेमिफाइनलमा पुग्नेछन्।

  • कोलकाता बन्यो आइपीएल च्याम्पियन

    कोलकाता बन्यो आइपीएल च्याम्पियन

    काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधी जितेको छ । फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले तेस्रो पटक उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे ।

    रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६र६ रन बनाए । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक–एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो ।

    हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । एडेन माक्ररम २०, नितेश कुमार रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले दुई\दुई विकेट लिए । वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले एक–एक विकेट लिए ।

    लिगमा कोलकाता लिगमा १४ खेलमा ९ मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा थियो । हैदराबाद १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनलमा पुगेको थियो । हैदराबादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

  • चितवनमा चार सवारी साधन एकै ठाउँ ठोक्किए, एक जनाको मृत्यु, लर्जनौं घाइते

    चितवनमा चार सवारी साधन एकै ठाउँ ठोक्किए, एक जनाको मृत्यु, लर्जनौं घाइते

    काठमाडौं । चितवनको नारायणगढ(मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं। २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किएका छन् । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २३ जना यात्रु घाइते भएका छन् । परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन् ।

    घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट प्युठान जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजेतिर एकैठाउँमा ठोक्किएका थिए ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएका थिए । दुर्घटनाका घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनास्थलबाट सबै सवारी साधनहरु हटाएर आज बिहान करिब ५ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

  • गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन

    गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले काठमाडौंमा सडक प्रदर्शन गरेको छ ।

    सदनमा विरोध जारी राखेको कांग्रेसले काठमाडौं जिल्लाको समन्वयमा काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको हो । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।

    कांग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समिति संयुक्त बैठकले केही दिनअघि गृहमन्त्री विरुद्ध सडकमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो ।

  • बीपीलाई सम्झिँदै स्वर्णिम वाग्लेले भने -‘कांग्रेसको यो लज्जास्पद दृश्यको भर्त्सना गर्छु’

    बीपीलाई सम्झिँदै स्वर्णिम वाग्लेले भने -‘कांग्रेसको यो लज्जास्पद दृश्यको भर्त्सना गर्छु’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सदनमा कांग्रेसले गरिरहेको नाराबाजी औचित्यहीन भएको बताएका छन् ।

    कांग्रेस सांसदले नाराबाजीका बीच जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले कांग्रेसलाई बीपी कोइरालाले स्थापना गरेको मानक पढाउँदै उनले भने, “६५ वर्षअघि नेपाली लोकतान्त्रिक आन्दोलनको धरोहर, हामी सबैको प्रेरणा, मेरो राजनीतिक आदर्श बीपी कोइरालाले ६५ वर्षअघि स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्‍याउनलाई यो लज्जास्पद, औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ । संसद्को ओझ, संसद्को गरिमा, संसद्को उपदेयता असान्दर्भिक बनाउने कदम असान्दर्भिक छ ।”

    उनले सहकारीका समस्या समाधान गर्ने कि व्यक्ति तोकेर खराब नजिर बनाउने भन्दै भने, “समाधान गर्ने कि ७४ लाख बचतकर्ताको सहकारीमा बचत राखिएको छ, समाधानउन्मुख हुने कि व्यक्तिकेन्द्रित भएर खराब नजिर बनाउने ?”

    उनले सो अभिव्यक्ति दिइरहँदा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका थिए । केही सांसदले चर्को आवाजमा होहल्ला समेत गरे ।

    सभामुख देवराज घिमिरेले समेत विषयवस्तुमा आफ्ना कुरा राख्न उनको ध्यानाकर्षण गराएका थिए ।

  • कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित

    कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

    आइतबारको बैठकमा पनि नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको छानबिन गर्नुपर्ने माग राख्दै अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ ।

  • आइपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै

    आइपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ । गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो ।

    शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँग फाइनल खेल्न लागेको हो । कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

  • पोखरीमा डुबेर जनकपुरमा २ जना बालकको मृत्यु

    पोखरीमा डुबेर जनकपुरमा २ जना बालकको मृत्यु

    काठमाडौं । जनकपुरमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा नुहाउने क्रममा शनिबार बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६ वर्षीय शिवनन्दन महतो र आदित्य महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

    उनका अनुसार गर्मी छल्न पोखरीमा नुहाउन हिँडेका दुवै जना केही बेरमै डुबेका थिए। स्थानीयले दुवैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउँदा बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • पीएसजी बन्यो फ्रेन्च कप च्याम्पियन

    पीएसजी बन्यो फ्रेन्च कप च्याम्पियन

    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गतराति फाइएनलमा लियोनलाई २–१ ले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।
    पीएसजीले १५ औं पटक फ्रेन्च कप जितेको हो । पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे ।

    लियोनका लागि जेक ओ’ब्रेनले एक गोल फर्काएका थिए । केलिएन एमबाप्पेले पीएसजीमा आफ्नो करियरको अन्तिम खेलमा उपाधि जित्दै अन्त्य गरेका छन् । उनले यसअघि नै यस सिजनपछि पीएसजी छाड्ने घोषणा गरेका थिए । २५ वर्षीय एमबाप्पेले पीएसजीका लागि ३०८ खेलमा सर्वाधिक २५६ गोल गरेका थिए ।

    उनी अर्को सिजन रियल मड्रिड जाने चर्चा छ । एमबाप्पेले सात वर्ष पेरिसमा बिताउँदा ६ फ्रेन्च लिग वानको उपाधि जितेको छन् । यस्तै चार फ्रेन्च कप र दुई लिग कपको पनि उपाधि जितेका छन् ।

  • सदनमा कांग्रेसलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने तयारी

    सदनमा कांग्रेसलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने तयारी

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडानमा छ ।

    गत शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहे पनि कांग्रेसको अवरोधका कारण पास भएन । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।


    आज पनि नेपाली कांग्रेसले अवरोध जारी राखे विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ । सहकारी प्रकरणको विषयलाई लिएर अवरुद्ध संसद खुलाउने प्रयासमा प्रधानमन्त्रीले आज पनि बालुवाटारमा शीर्ष नेताको बैठक आह्वान गरेका छन् ।

  • कांग्रेसले आज सडक प्रदर्शन गर्दै

    कांग्रेसले आज सडक प्रदर्शन गर्दै

    काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्ने कार्यक्रम छ । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ । काठमाडौंका १० क्षेत्रअनुसार क्रमशः उमेशजंग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ ।

    ललितपुरका ३ क्षेत्रमा क्रमशः दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् । काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

  • बालेनको आदेशमा महानगरले सडक विभाग र कार्यालयको गेटमा खन्यायो एक\एक ट्रक धुलो

    बालेनको आदेशमा महानगरले सडक विभाग र कार्यालयको गेटमा खन्यायो एक\एक ट्रक धुलो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक\ट्रक धुलो र फोहोर खन्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत ती दुई कार्यालयको गेट अगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडिओ सार्वजनिक गरेका छन्।

    मेयर बालेनले भिडिओ सार्वजनिक गर्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठप्रति लक्षित गर्दै स्टाटस समेत लेखेका छन्। उनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नामममा धेरै धुलो र कष्ट ब्यहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भनेका छन्।

    ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ जसले गर्दा महानगरवासीद्ये धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। पुग्न अबेला भोग्नु परेको छ। र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नुहोला,’मेयर बालेनले मन्त्री महासेठलाई सम्बोधन गर्दै लेखेका छन्।

  • चीनसँग जोडिएका १४ नाका एकसाथ पुनः सञ्चालनको घोषणा

    चीनसँग जोडिएका १४ नाका एकसाथ पुनः सञ्चालनको घोषणा

    काठमाडौं । संखुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे।

    नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए।

    उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका शनिबारर्देखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुनेछन् । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उनले बताए। गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

    उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेको थियो । किमाथांका नाका खुलेपछि भोटखोलावासी उत्साहित भएका छन् ।

    विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएपछि उनीहरुलाई समस्या भएको थियो । किमाथांकामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो। सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ। किमाथांका नाका सदरमुकामदेखि एक सय ६२ किलोमिटर टाढा पर्छ । रासस

  • नुवाकोटमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

    नुवाकोटमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

    काठमाडौं । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याइएको थियो ।

    तर चिकित्सकले मृत घोषणा गरे । तादीखोलामा पौडी खेल्ने गएका छजना युवामध्ये मृत्यु भएका दुई युवकलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो ।
    अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको थियो । पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जानेक्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ ।

  • भियतनाममा अपार्टमेन्टमा आगलागी, कम्तिमा १४ जनाको मृत्यु

    भियतनाममा अपार्टमेन्टमा आगलागी, कम्तिमा १४ जनाको मृत्यु

    काठमाडौं । भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ । मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

    भियतनाम समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो । आगो निभाउन एक घन्टा लागेको थियो । छिमेकी गुयेन थान ट्रुङले आफू सुतिरहेका बेला विस्फोटको आवाज सुनेको र हेर्न बाहिर निस्केको बताउनुभयो । “मैले घरमा झटका महसुस गर्न सक्थेँ” उहाँले भन्नुभयो । आगलागीको समयमा उक्त भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्नेगरी २४ जना रहेको सञ्चारमाध्यमले बताएको छ । घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोई ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ ।

    सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मरम्मत गर्न ग्यारेजका रूपम प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो । पछि प्रहरीले गल्लीलाई घेरा हालेको थियो । अपार्टमेन्टमा जलेका मोटरसाइकल र रुखहरू जलेका अवशेष तथा छरिएका सामानहरू थिए ।

    मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप एक हजार नौसय ६२ डलर र घाइतेलाई एक हजार एकसय ७७ डलर दिने अधिकारीहरूले बताएका छन् । यो आगलागीले गत वर्ष सेप्टेम्बरमा हनोइमा भएको आगलागीलाई सम्झना गराउँछ । उक्त समयमा ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको थियो । सो बेला पनि उद्धार कार्यमा साँघुरो गल्लीले अवरोध गरेको थियो । रासस

  • अमेरिकामा अभ्यास खेलमा नेपाल विजयी

    अमेरिकामा अभ्यास खेलमा नेपाल विजयी

    काठमाडौं । अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले हराएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो ।

    नेपालका लागि सोमपाल कामी र करण केसीले २–२ विकेट लिए । रोहित पौडेल, अभिनाष बोहरा, सागर ढकाल र कुशल भूर्तेलले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल साहले सर्वाधिक ४७ रन बनाए। त्यस्तै गुल्सन झाले २०, सन्दीप जोराले २१, कप्तान रोहित पौडेलले २३, कुशल मल्लले १२ र करण केसीले नट आउट १० रन जोडे।


    ओपनर आशिफ शेख ४ रन बनाएर आउट हुँदा कुशल भूर्तेल एक रनमै पेभिलियन फर्के। ह्युस्टनसँग नेपालले आइतबार बिहान दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ। नेपालले जेठ १४ मा क्यानडा र जेठ १७ मा अमेरिकासँग खेल्नेछ।

    टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

    अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।

  • सिरोहिया अस्पताल भर्ना

    सिरोहिया अस्पताल भर्ना

    काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएको सञ्चारमाध्यमले जनाएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको हो ।

    उनी डायबेटिज, उच्च रक्तचाप लगायतका समस्याबाट गुज्रिरहेको बताइएको छ । सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको हो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ ।

    सिरोहियाको पछिल्लो अवस्था चिन्ताजनक पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको त्यहाँस्थित डाक्टर एसके सिंहले बताएका छन् ।
    मंगलबार कान्तिपुर अफिसबाट गिरफ्तार सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो ।

    सिरोहिया शुक्रबार अपराह्नसम्म सामान्य अवस्थामा रहे पनि हिरासतमा स्वास्थ्य प्रतिकूलता भोगेका थिए । उनलाई मुटुको चालमा कठिनाई परेको र रिंगटा लागेको थाहा पाएपछि परिवारले तुरुन्त अस्पताल पठाउन आग्रह गरेका थिए । तर प्रशासनले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

  • बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

    बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गरेको छ । उनको स्थानमा जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक हान्सी फ्लिकलाई नियुक्त गरेको छ। जाभीले आइतबार अन्तिम पटक बार्सिलोनाको जिम्मेवारी सम्हाल्नेछन् ।

    २०२५ सम्म करारमा रहेका ४४ वर्षीया जाभीलाई शुक्रबार क्लबका अध्यक्ष जोन लापोर्टा र खेलकुद निर्देशक डेकोसँगको बैठकमा क्लबको निर्णयको बारेमा जानकारी दिइएको थियो। पूर्व स्पेनी मिडफिल्डर जाभीले जनवरीमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए। तर अप्रिलमा लापोर्टाले उनलाई क्लबमा राख्न सहमत गराएका थिए। तर जाभीको भर्खरका टिप्पणीले क्लब रिसाएको थियो। जाबीले क्लबको आर्थिक संघर्षको बारेमा बोलेपछि लापोर्टा रिसाएका थिए।

  • सगरमाथा आरोहणका क्रममा यो सिजन ५ जनाको मृत्यु, ३ वेपत्ता

    सगरमाथा आरोहणका क्रममा यो सिजन ५ जनाको मृत्यु, ३ वेपत्ता

    काठमाडौं । जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ रहेका छन् ।

    क्याम्प थर्डमा रोमानियाका नागरिक ४६ वर्षीय ग्याब्रियल भायोरेल तबराको २१ मेका दिन मृत्यु भएको छ । उनको टेन्टमा सुतिरहेको अवस्थामा मृत्यु भएको पाइएको छ । केन्याका नागरिक ४० वर्षीय जोसुआ चेरियट किरुईको समेत सोही दिन मृत्यु भएको विभागले जनाएको छ । उनको चुचुरो नजिकै शव भेटिएको छ । सोही दिन कास्कीका विनोदबाबु बस्ताकोटीको समेत ज्यान गएको छ । उनको साउथ कोल नजिकै ८२ सय मिटरमा ज्यान गएको हो ।

    विभागका अनुसार तीन जना आरोही र सहयोगी भने हराइरहेका छन् । २१ तारिखका दिन बेलायती नागरिक ४० वर्षीय ड्यानियम पौल हिलारी स्टेपबाट झरेको र सोही स्थानमा हराइरहेको विभागले जनाएको छ । उनको साथमा रहेका सहयोगी पासतेन्जी शेर्पा समेत हराइरहेका छन् ।

    केन्याली नागरिकको साथमा रहेका ङवाङ शेर्पा समेत चुचुरो नजिकबाट हराइरहेको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार बिहीबारसम्म कुल ५७० जना भन्दा बढी आरोही र सहयोगीहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । बिहीबार मात्र ६५ जनाले चुचुरो चुम्न सफल भएका थिए ।

  • सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति

    सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति

    काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

    जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो भने सिरोहियाको तर्फबाट कानुन व्यवसायीहरूले गैरकानुनी धरपकड गरेको र विवाद थुनामा राखिराख्नु नपर्ने खालको भएको भन्दै रिहा गर्न माग गरेका थिए । पक्ष विपक्षको बहस सुनेपछि न्यायाधीशले ३ दिन (आइतबारसम्मका लागि) म्याद थपेका छन् ।

    सिरोहियाको पक्राउ प्रर्तिशोधपूर्ण भएको भन्दै विरोध भएको छ । गृहमन्त्री रवि लामिछानेले प्रतिशोध राखेर सिरोहियालाई पक्राउ गराएको आरोप लागेको छ । सिरोहियाको नागरिकतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता इन्द्रजित महतोले प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा प्रहरीले एकैपटक पक्राउ पुर्जी जारी गराएर मंगलबार सिरोहियालाई पक्राउ गरी जनकपुर ल्याइएको थियो ।

    बुधबार अदालतमा उपस्थित गराइएका उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइयो । शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्नुअघि सरकारी वकिलको कार्यालयमा झण्डै तीन घण्टा बयान लिइएको थियो ।

  • ५७ जिल्लामा फैलियो डेंगी, सचेतना अपनाउन आग्रह

    ५७ जिल्लामा फैलियो डेंगी, सचेतना अपनाउन आग्रह

    काठमाडौं । डेंगी रोगको संक्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगी राेगको संक्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए ।

    उनका अनुसार ५७ जिल्लामा ९०४ जनामा संक्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरू भएकाले डेंगीको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे । “पानी पर्न थालेपछि डेंगी रोगको संक्रमण पनि बढ्छ,” उनले भने, “त्यसैले संक्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।” गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेंगी रोगको संक्रमण देखिएको थियो ।

    उनका अनुसार यसपटक धेरैको संख्यामा कुनै पनि जिल्लामा संक्रमण देखिएको छैन । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी लाग्दछ ।

    “गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ, त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ,” उनले भने। डेंगी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन ।

    लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन । रासस