Category: समाचार

  • महानगरले भन्यो- ‘कसैको घरमा नातागोताबाहेकका बालबालिका राखेको भए विवरण दिनू’

    महानगरले भन्यो- ‘कसैको घरमा नातागोताबाहेकका बालबालिका राखेको भए विवरण दिनू’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफन्तबाहेक कोही कसैको घरमा राखिएका बालबालिकाको खोजी थालेको छ ।

    महानगरपालिकाले आज (शुक्रबार) सार्वजनिक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना नातागोताबाहेकका बालबालिका रहेका भए २१ दिनभित्र वडा कार्यालयमा त्यस्ता बालबालिकाको विवरण पेस गर्न भनेको हो।

    ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना तथा नातागोताबाहेकका बालबालिका रहे-बसेका भए यो सूचना जारी भएको मितिले २१ दिनभित्र महानगरपालिकाले जारी गरेको बाल संरक्षण तथा बाल अधिकारसम्बन्धी कार्यविधि, २०८० को दफा १६ को उपदफा (५) सँग सम्बन्धित अनुसूची (३) मा तोकिएको फाराम भरी सम्बन्धित वडा कार्यालयमा विवरण पेस गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

  • राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणमा जाने

    राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणमा जाने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्वीट्जरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो।

    जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

  • भारतमा बस दुर्घटना, कम्तिमा २२ जनाको मृत्यु

    भारतमा बस दुर्घटना, कम्तिमा २२ जनाको मृत्यु

    काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ६९ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा विहीबार बस दुर्घटना भएको हो । बस करिब १५० फिट तल खसेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तर प्रदेशको हाथरस र राजस्थानका करिब ९० जना तीर्थ यात्री बसमा थिए ।

    उनीहरु हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । घाइतेहरुलाई जम्मुको अखनुर अस्पतालमा र सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

  • दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

    उनका अनुसार तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • काठमाडौंको तापक्रम ३४ डिग्री नाघ्यो

    काठमाडौंको तापक्रम ३४ डिग्री नाघ्यो

    काठमाडौं । बिहीबार काठमाडौँको तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको छ । केही दिन यता उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बागमती प्रदेशदेखि पश्चिममा तत्काल पानी पर्ने सम्भावना छैन ।

    मौसमविद्ले यस वर्ष गतवर्षको भन्दा तापक्रम बढ्ने र वर्षा पनि बढी हुने प्रक्षेपण गरेका छन् । काठमाडौँ उपत्यकामा अहिलेसम्मको सबैभन्दा बढी तापक्रम ३६.५ डिग्री सेल्सियस पुगेको रेकर्ड छ । सन् १९८९ मे ७ का दिन सो तापक्रम मापन भएको थियो ।


    देशमा सबैभन्दा बढी तापक्रम धनगढीमा पुगेको छ । धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगन्जको तापक्रम ४३.५ डिग्री सेल्सियस पुगेको छ । वीरेन्द्रनगरको तापक्रम ४१ डिग्री पुगेको छ ।

  • सामाजिक सुरक्षा कोषमा थपिएको स्कीमले विदेश गएका कामदारका परिवार लाभान्वित हुने

    सामाजिक सुरक्षा कोषमा थपिएको स्कीमले विदेश गएका कामदारका परिवार लाभान्वित हुने

    काठमाडौं । सामाजिक सुरक्षा कोषले नयाँ स्किम थप गरेको छ । अब कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि औषधोपचार सुविधा पाउने भएका छन् । बिहीबारदेखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले औपचारिक घोषणा गरेका हुन् ।

    यसअघि २०७९ पुसदेखि औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले १७ जेठदेखि लागु हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको हो ।

    यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउने भएका छन् । कोषले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई नै उपचार सुविधामा समेट्ने गरी तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशक उत्तमराज नेपालले जानकारी दिए ।

    अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समायावधिलाई ९ महिनाबाट घटाएर ३ महिनामा झारेको छ । यसअघि कोषमा योगदान गर्न थालेको ९ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्था रहेकोमा अबदेखि ३ महिनाको नियमित योगदानपछि नै योग्य हुने गरी कार्यविधि संशोधन गरिएको निर्देशक नेपालले जानकारी दिए । ‘

  • ४४ डिग्री नाघ्यो धनगढीको तापक्रम, जनजीवन कष्टकर

    ४४ डिग्री नाघ्यो धनगढीको तापक्रम, जनजीवन कष्टकर

    काठमाडौं । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ ।

    मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

    बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ । लगातार चलेको तातो हावा र अत्यधिक गर्मीका कारण धनगढीको जनजीवन प्रभावित भएको छ।

    दिउँसोको समय सडकमा अत्यन्त कम संख्यामा मानिसहरू देखिन्छन्। सडकमा सवारी साधनको आवतजावत पनि कम नै छ।

  • नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो

    नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो

    काठमाडौं । नेपालले भारतलाई दैनिक ४०० मेगावाट बिजुली पठाउन शुरू गरेको छ । नेपाल विद्युत प्राधिकरणले गत सोमबार (जेठ १४) रातिदेखि भारतीय ऊर्जा एक्सचेञ्‍ज (आइएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा बिजुली बेच्न थालेको हो ।

    वर्षायाम लागेसँगै र गर्मी बढेसँगै हिमालको हिउँ पग्लिएर खोला तथा नदीहरूमा पानीको बहाव बढ्दा यतिखेर नेपालका विद्युत गृहहरूमा उत्पादन बढेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतमा बेच्न थालेको हो ।

    खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए । ‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि बृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ, विगत ७/८ वर्षअघि दैनिक रुपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४/साढे ४करोड युनिट पुगेको छ’, घिसिङले भने ।

    आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजार देखि एक हजार २०० मेगावाट विद्युत् प्रतिष्पर्धी बजार र द्धिपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ, निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौं,’ घिसिङले थपे ।

    द्विपक्षीय सम्झौता बमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएन सँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिए ।

    केन्द्रीय विद्युत प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाहरुबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिष्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभिभिएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ ।

    एनभिभिएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा बिद्युत खरिद बिक्रीको पनि अनुमति पाएको छ ।

    ६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

    कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार ९कन्डक्टर० बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगहरुमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गरे ।

    ‘पिलुवा–परपानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटिएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ, एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्बाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगहरुमा विद्युत् आपूर्तिको केही समस्या छ, कन्डक्टर बदल्ने काम २/३ दिनमा सकिने छ, त्यसपछि हालको समस्या समाधान हुनेछ ।’

    दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब २ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर १३२ केभी प्रसारण लाइनका क्षमता डबल हुने छ । परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुनेछ ।

    हिउँदमा १५ अर्बको विद्युत आयात

    नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ ।

    सुख्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

    प्राधिकरणले गत वर्षको जेठदेखि यसवर्षको हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो ।

    आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा रहेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असार महिनामा निर्यात हुने विद्युत् परिणामबाट चालू आर्थिक वर्षमा आयातभन्दा निर्यात बढी भई खूद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए ।

    ‘६/७ वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था थियो, २/३ वर्षअघिबाट विद्युत्को निर्यात सुरु गरेतापनि निर्यातभन्दा आयात बढी भई खूद आयातकर्ता बन्ने अवस्था थियो भने अब यस वर्षबाट खूद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ’, घिसिङले भने ।

    ‘चालू आवमा निर्यातभन्दा आयात १ अर्ब ७४ करोड रुपैयाँले बढी देखिएको छ, आवको बाँकी अवधिमा निर्यात हुने विद्युत्‌को परिणामले यो ग्यापलाई पूरा गरी खूद निर्यातकर्ताका रुपमा रहने छौं ।’

  • तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द

    तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द

    काठमाडौं । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार धनगढीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको छ । गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

    नेपालगञ्जमा हिजो यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । आज र भोलि अझै गर्मी बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । गर्मी बढिरहँदा नेपालगञ्जमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् ।

    नेपालगञ्जसहित तराई, मधेशका धेरै ठाउँमा बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । गर्मी बढेपछि तराई मधेशका धेरै पालिकाहरुले विद्यालयमा बिदा दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले केही दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । गर्मी बढेकाले काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेलाबेला पानी र सर्वत तथा फलफूलको जुस पिउन प्रकोप विज्ञहरुको सुझाव छ ।

  • न्यूरोडमा महानगरले भत्काएको सडक दुई दिन भित्र यथास्थितिमा राख्न सडक विभागको अल्टिमेटम

    न्यूरोडमा महानगरले भत्काएको सडक दुई दिन भित्र यथास्थितिमा राख्न सडक विभागको अल्टिमेटम

    काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ। महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने समेत डिभिजन कार्यालयले बताएको छ। बुधबार डिभिजन प्रमुख नारायणदत्त भण्डारीले काठमाडौं महानगरका नाममा एक पत्र जारी गर्दै भत्काएको सडक दुई दिनभित्र बनाइदिन अनुरोध गरेका हुन्।

    डिभिजन कार्यालयका अनुसार यसअघि पनि महानगरलाई उक्त सडक खन्न र भत्काउन रोकेर पुनर्स्थापना गरिदिन भनिएको थियो। उक्त काम सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप देखिएकाले तुरून्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन फेरि अनुरोध गरिएको थियो। तर हालसम्म काम नभएको भन्दै डिभिजन कार्यालयले महानगरलाई दुई दिनको समय दिएको हो।

  • सुर्खेतमा सडकबाट जिप खस्यो, कम्तिमा चार जनाको मृत्यु

    सुर्खेतमा सडकबाट जिप खस्यो, कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । सुर्खेतमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गतराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटना भएको सूचना प्रहरीले बिहीबार बिहान सवा २ बजे आएको थियो । दुई जनाको शव बिहानै निकालिएको छ भने दुई जनाको शव भीरमै रहेको र निकाल्ने प्रयास जारी रहेको डिएसपी विश्वकर्मालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    मृतकको सनाखत भएको छैन । प्रहरीले दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको छ। घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८–२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका ९ पाखाका नरेन्द्र विष्ट छन्।

  • विश्वकप वार्मअपमा आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप वार्मअपमा आज नेपाल र अमेरिका भिड्दै

    काठमाडौं । नेपालले आज टी–२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी–२० अभ्यास खेल खेलेको थियो ।

    अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।

  • हिरासतमुक्त भए सिरोहिया

    हिरासतमुक्त भए सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरेको हो ।


    ८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । हाल उनको नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उपचार भइरहेको छ ।

    सोमबार तेस्रो पटक हिरासतमा राख्ने अनुमति दिँदा जिल्ला अदालत, धनुषाले उनको स्वास्थ्य अवस्थालाई देखाउँदै उपयुक्त अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउन उपयुक्त हुने आदेश दिएको थियो । साथै अनुसन्धानमा ढिलाइ नगर्न प्रहरीलाई सचेत पनि गराएको थियो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा श्रृंखलाबद्ध समाचार प्रकाशन भइरहेका बेला कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध प्रहरी कहाँ नागरिकतासम्बन्धी जाहेरी परेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले १७ वैशाखमा जाहेरी दर्ता गरेको थियो । प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।

  • साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, ठगी गर्नेहरूका कारण केही संकटग्रस्त बने

    साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, ठगी गर्नेहरूका कारण केही संकटग्रस्त बने

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त बनेको बताएका छन् ।

    सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले केही ठूला सहकारी बदनाम र संकटग्रस्त हुन गएको ओलीको तर्क छ । उनले साँच्चैका सहकारी संस्थाहरू संकटग्रस्त नभएको जिकिरसमेत गरे ।
    काठमाडौंमा आजदेखि सुरु भएको राष्ट्रिय महिला भेलामा ओलीले सहकारीको माध्यमबाट भए पनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए ।

    “साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरू, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू सहकारी प्रवेश गरेको हुनाले केही ठूला सहकारी बदनाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन् । तर साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, छैनन् पनि,” उनले भने ।

  • दोहोरो अंकले घट्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले घट्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९. ४२ विन्दुमा पुगेको हो ।

    यसदिन ३१४ कम्पनीको ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ४वटा बाहेका सबैको घटेको छ ।

    आज पोखरा फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ५२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा आज ४ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

    गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

    बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

    सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो। सोमबार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो।

  • ट्राफिक कारबाहीमा परेकाहरु एक घण्टा सडकमा स्वयंसेवक

    ट्राफिक कारबाहीमा परेकाहरु एक घण्टा सडकमा स्वयंसेवक

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालेको छ ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नुनपर्ने घोषणा गरेका थिए । त्यसको साटो मापसे लगायतका कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकको रुपमा खटाइने उनले बताएका थिए ।

    त्यसै अनुरुप मापसे लगायतका कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकको रुपमा सडकमाा निकालेको छ । ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतमा स्वयंसेवकको रुपमा खटिएकाहरु देखिने गरेका छन् ।

    ट्राफिक प्रहरीको तथ्यांक अनुसार, अहिले दैनिक कम्तीमा ३ हजार जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् । तीमध्ये सचेतना कक्षा लिनुपर्नेहरु दैनिक ६ सय जना हुने गरेको जनाइएको छ ।

  • आज सगरमाथा दिवस मनाइँदै

    आज सगरमाथा दिवस मनाइँदै

    काठमाडौं । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ ।

    नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो ।

    प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल , नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स , ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो ।

    अर्थमन्त्री वर्षमान पुनद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाइने र हिमाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने उल्लेख छ ।

  • बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित

    बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित

    काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ ।

    मौसमविदहरुका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आगामी केही दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले यसबाट जोगिन आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ । तराईका भू–भागहरूमा आगामी ३ दिन जेठ १८ गतेसम्म तातो हावाको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सचेत हुन भनेको छ ।

  • रंगशाला नसुधारिएका कारण विश्वकप छनोट नेपालमा नहुने निश्चित

    रंगशाला नसुधारिएका कारण विश्वकप छनोट नेपालमा नहुने निश्चित

    काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने खेल साउदी अरेबियामा हुने भएको छ। जुन ६ मा नेपालमै हुने भनिएको खेल दशरथ रंगशालाको खराब अवस्थाका कारण उक्त खेल साउदीमा सारिएको हो। खेल साउदीको प्रिन्स महम्मद फहद रंगशालामा जुन ६ अर्थात् जेठ २४ गते राति ९:४५ बजे हुनेछ।

  • बुटवल–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

    बुटवल–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

    काठमाडौं । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो । अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।

    इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए । दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

    विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् । रासस

  • हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति

    हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । समिति बनेसँगै झण्डै तीन महिना लामो संसदको गतिरोध अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ बनाउने सर्वसम्मत पास गर्‍यो ।

    एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा कांग्रेसका बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् । समितिलाई चारबुँदे कार्यादेश र ३ महिना समय दिइएको छ ।

    मंगलबार विहान मात्र कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलले संसदीय विशेष समितिको चारबुँदे कार्यादेश (टीओआर) टुंगो लगाएको थियो । कार्यादेशअनुसार संसदीय समितिले सहकारी संस्थाहरुमा देखिएको संकट, यससँग जोडिएका कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणाालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरेर सुझाव दिनेछ । त्यस्तै समस्यामा परेका सहकारीको बचत रकम सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको वचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायको पनि अध्ययन गरेर सिफारिस गर्नेछ ।

    टीओआरमा आरेन्टललगायत सहकारी विभागले समस्याग्रस्त घोषणा गरेका विभिन्न २० सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीका वचतकर्ताको वचत फिर्ताको प्रक्रिया कहाँ पुगेको छ भन्ने अध्ययन गरी वचत फिर्ताको उपायको सुझाव दिने विषय पनि राखिएको छ । कार्यादेशमा सबैभन्दा बढी विवाद भएको विषय भने चौथो बुँदामा राखिएको छ । यही बुँदामा राखिएको व्यहोराका विषयमा दलहरुबीच लामो छलफल भएको थियो ।

    सहकारीको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरेको भनी संसद र सार्वजनिक रुपमा प्रश्न उठेका भनी विभिन्न ९ वटा सहकारीको नाम उल्लेख गरिएको छ र ती सहकारीबाट गोर्खा मिडिया नेटवर्क र अन्य कम्पनी तथा संस्थामा प्रपवाह भएको रकमको स्थितिबारे अध्ययन गर्ने विषय यो बुँदामा छ ।

    ती सहकारीबाट गैरकानुनी रुपमा रकम लगेको वा नलगेको र गैरकानुनी ढंगले रकम लगेको भए त्यसमा संलग्न व्यक्तिहरुको बारेमा अध्ययन तथा छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरुलाई कारबाहीको लागि सिफारिस गर्ने पनि कार्यादेशमा राखिएको छ ।

    यो बुँदामा उल्लेख भएको सहकारीमा पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानो पाइला सहकारीको नाम राखिएको छ । त्यस्तै आइडल नमुना, इमेज, समानता र स्वर्णलक्ष्मी सहकारीको नाम पनि राखिएको छ ।

  • भारतमा रेमल चक्रवातका कारण २७ जनाको मृत्यु

    भारतमा रेमल चक्रवातका कारण २७ जनाको मृत्यु

    काठमाडौं । भारतको मिजोरम राज्यमा रेमल चक्रवातबाट २७ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा पानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ । मिजोरममा रेमल चक्रवातको प्रभावका कारण भारी वर्षा भएको थियो । सोही वर्षापछि पहिरो गएको र पहिरोमा च्यापिएर २७ जनाको मृत्यु भएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको हो ।

    मिजोरम प्रहरीका प्रमुख अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार रेमल चक्रवातका कारण धेरै स्थानमा बिजुलीका खम्बा र रुखहरुसमेत उखेलिएका छन् । सरकारले पहिरोमा ज्यान गुमाएकाका परिवारलाई चार–चार लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको छ । साथै विपद कोषमार्फत् १५ करोड रुपैयाँ छुट्याएको छ ।

  • जटिल बिरामीका खातामा मासिक ५ हजार

    जटिल बिरामीका खातामा मासिक ५ हजार

    काठमाडौं । सरकारले आगामी वर्ष २०८१/०८२ को बजेटमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका लागि ८६ अर्ब २४ करोड रकम विनियोजन गरेको छ। निर्माणाधीन अस्पतालको लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको छ। विपन्न नागरिकलाई मुटुरोग, क्यान्सर, मिर्गौला प्रत्यारोपण, अल्जाइमर, पार्किन्सन्स, स्पाइनल र हेड इन्जुरी, सिकलसेल उपचार सहुलियतका लागि प्रतिव्यक्ति १ लाख बराबरको रकम प्रदान गर्न ३ अर्ब विनियोजन गरिएको छ। संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने भनिएको छ। क्यान्सर, मेरुदण्ड पक्षघात, मिर्गौला प्रत्यारोपण र डायलाइसिस सेवा लिइरहेका बिरामीलाई उपचार खर्चवापत दिँदै आएको प्रतिव्यक्ति मासिक ५ हजार रूपैयाँ खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ।

  • सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक, नेपाली नै किन्नुपर्ने

    सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक, नेपाली नै किन्नुपर्ने

    काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ।

    संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।

    आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नका लागि यस्तो व्यवस्था गरिएको सरकारको दाबी छ । अर्थमन्त्री पुनले यसपालि स्वदेशी उत्पादनलाई प्रोत्साहनस्वरूप बजेट भाषण बोक्न पनि नेपाली कपडाको झोला प्रयोग गरेका छन् । उनको सचिवालयका अनुसार बजेट भाषण बोक्न ठमेलबाट झोला किनिएको हो ।

  • प्रदेश र स्थानीय तहमा पाँच खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गरिने

    प्रदेश र स्थानीय तहमा पाँच खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गरिने

    काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा ५ खर्ब ६७ अर्ब रुपैयाँ बजेट पठाउने भएको छ । राजश्व बाँडफाँट, समानीकरण अनुदान, समपूरक अनुदान तथा विशेष अनुदान समेत गरी सो बराबरको बजेट पठाउन लागिएको हो ।

    त्यसमध्ये समानीकरण अनुदानका लागि प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब छुट्याइएको छ । त्यस्तै, सशर्त अनुदानका लागि प्रदेशलाई २५ अर्ब ८४ करोड र स्थानीय तहलाई २ खर्ब ८ अर्ब ८८ करोड छुट्याइएको छ ।

    त्यस्तै सशर्त अनुदानतर्फ प्रदेशमा ६ अर्ब २० करोड तथा स्थानीय तहमा ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । विशेष अनुदानतर्फ प्रदेशमा ४ अर्ब ४० करोड र स्थानीय तहमा ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

  • सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम उल्लेख

    सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम उल्लेख

    काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएको छ । कार्यदलबीचको सहमतिपत्र कानूनमन्त्री पदम गिरीले सदस्यहरूको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन् ।

    टीओआरमा विभिन्न २९ वटा सहकारीको नाम उल्लेख गरिएको छ। त्यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको कम्पनी ‘गोरखा मिडिया’ को पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ। सात सदस्यीय समितिमा कांग्रेस र एमालेबाट दुई/दुई, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक/एक जना रहने बताइएको छ। समितिलाई प्रतिवेदन बुझाउनका लागि ३ महिनाको समय दिइएको छ। कार्यदलले टिओआरसँगै अनुसूची १ र २ मा गरी अध्ययन गर्ने २९ वटा सहकारीका नाम उल्लेख गरेको छ।

  • बुटवल–नारायणगढ खण्डमा महेन्द्र राजमार्ग अवरुद्ध

    बुटवल–नारायणगढ खण्डमा महेन्द्र राजमार्ग अवरुद्ध

    काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट थुम्सीमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले दिएको जानकारी अनुसार सडक भासिएको ठाउँमा ट्रकसमेत फसेकोले त्यसलाई निकाल्ने प्रयास गरिएको छ ।

    भाँसिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन पुगेको थियो।

    नारायणगढ बुटवल सडक विस्तार आयोजनाले अवरुद्ध सडक खुलाउन अझै १ घण्टा लाग्ने जनाएको छ । सोही सडकखण्डको दाउन्नेमा अबरुद्ध बनेको सडक भने सञ्चालनमा आइसकेको आयोजनाले जानकारी दिएको छ ।

  • आगामी आवको बजेट आज सार्वजनिक हुँदै

    आगामी आवको बजेट आज सार्वजनिक हुँदै

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।

    बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरण छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेकाले आजको संसद बैठकमा सौहाद्रपूर्ण वातावरणमा सञ्चालन हुने नेताहरुले बताएका छन् ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो । यसअघि सरकारले यही जेठ १ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच जेठ १३ गते पारित भएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार १९ खर्ब हाराहारीको बजेट आउने छ ।

    यस पटक बजेटमार्फत नयाँ कार्यक्रमभन्दा पुराना र क्रमागत आयोजनालाई प्राथमिकता राखेर त्यसको स्रोत सुनिश्चिततामा जोड दिइने स्रोतले जनायो ।
    करको दर हेरफेरमा हुने आलोचना कम गर्दै त्यसलाई पारदर्शी बनाउने उद्देश्यले तीन महले राखेर करको दर हेरफेर हुने कारणसमेत उल्लेख गर्ने तयारी छ ।

    साथै निजी क्षेत्रलाई प्रवर्द्धन गर्न उत्पादन र निर्यातमा सहुलियत तथा अनुदान, स्टार्टअपलाई प्रोत्साहन, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन र सामाजिक सुरक्षाबापत हुने खर्चलाई न्यायिक बनाउने लगायतका विषय बजेटमा समेट्ने तयारी सरकारको छ ।

  • आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

    आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

    यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ । वि।सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

    वि।सं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । वि।सं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि।सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

    वि।सं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

    यसैको जगमा वि।सं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । वि।सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

    संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो ।

    विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।