Category: समाचार

  • नेपालमा कोरानाका दुई नयाँ भेरियन्ट ‘केपी वान’ र ‘केपी टु’ भेटियो

    नेपालमा कोरानाका दुई नयाँ भेरियन्ट ‘केपी वान’ र ‘केपी टु’ भेटियो

    काठमाडौं । नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।

    प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा, ओमिक्रोन (केपी.२) एक नमुनामा र ओमिक्रोन (केपी.३) (केपी.४) क्रमशः १ नमुनामा भेटिएको हो।

    छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियाे। तर, हाल विश्वमा महामारीको रूपमा देखिन थालेकाे नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ।

  • त्रिभुवन विमानस्थल ४५ मिनेटका लागि बन्द

    त्रिभुवन विमानस्थल ४५ मिनेटका लागि बन्द

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ।

    धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण बन्द गरिएको हो ।

    अहिले धेरै वायुसेवाका जहाज ललितपुरमाथि होल्ड गरिरहेका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेजदेखि आन्तरिक उडान पनि होल्ड गरिरहेका छन् ।

  • तोलाको १८ सय रुपैयाँ घट्यो सुनको भाउ

    तोलाको १८ सय रुपैयाँ घट्यो सुनको भाउ

    काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भैइरहेको छ । यसअघि बिहीबार सुन तोलामा १ लाख ३८ हजार ७०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँ थियो ।
    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • भीर मौरीको मह निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली नेपालमा

    भीर मौरीको मह निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली नेपालमा

    काठमाडौं । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छायांकनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए । टोलीले डोरी (पर्‍याङ) मा झुन्डिएर भीर मौरीको मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेको वडाध्यक्ष विकले बताए ।

    लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भीर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए । भीर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा २ समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्छ ।

    झण्डै पाँच सयदेखि १ हजार ५ सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनको भनाइ छ । ‘पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ’, उपाध्यक्ष पुनले भने ।

    RSS

  • थाई एयरवेजले नेपाल उडानको आधिकारिक घोषणा गर्यो

    थाई एयरवेजले नेपाल उडानको आधिकारिक घोषणा गर्यो

    काठमाडौं । थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रूपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैङ्ककदेखि कोलकाता हुँदै काठमाडौँसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो । थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रा कोभिड महामारीका कारण २०२२ मार्चमा रोकिएको थियो ।

    थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको हो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७ र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।

  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

    प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । यो सम्भावित कार्यसूची संसद सचिवालयले सभामुख देवराज घिमिरेसँगको समन्वयमा राखेको हो । यो कार्यसूची यथावत रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ । संसद् सचिवालयका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रममाथि छुट्टाछुट्टै संशोधनको सूचना दिएका छन् । उनीहरूले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव राखेका छन् ।

    नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने सांसदहरूलाई बैठक बस्नुभन्दा एक घण्टा अगावै नाम टिपाउन संसद सचिवालयले भनेको छ । त्यसक्रममा हुने छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा तयार पारिएको सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुनेछ ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक दिनहुँजसो बस्दै आए पनि संसदीय समितिको कार्यादेशमा सहमति जुट्न नसक्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन । आज संसदीय समितिको कार्यादेश टुंगो लगाएर सहज ढंगले संसद बैठक सन्चालन गर्ने तयारी सत्ता पक्षको छ । त्यसैले कार्यदलको बैठक आज पनि बस्दै छ ।

  • भारतको केमिकल उद्योगमा आगलागी, कम्तिमा ८ जना मारिए

    भारतको केमिकल उद्योगमा आगलागी, कम्तिमा ८ जना मारिए

    काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क उपचार गर्ने बताएका छन् ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रको अमुदान केमिकल्सबाट आगलागी सुरु भएको थियो । आगोले वरपरका अन्य ७ फ्याक्ट्रीमा पनि क्षति पुगेको छ । स्थानीयबासीलाई पनि आगोले क्षति पुर्याएको भन्दै त्यहाँबाट केमिकल फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने मुख्यमन्त्री सिन्धेले बताएका छन् ।

  • ताइवानलाई घेर्दै छ चीन, आक्रमणको तयारी हो ?

    ताइवानलाई घेर्दै छ चीन, आक्रमणको तयारी हो ?

    काठमाडौं । ताइवानको नयाँ राष्ट्रपतिमा विलियम लाईले शपथ लिएको तीन दिनपछि चीनले उक्त प्रायःद्वीपवरपर सैन्य अभ्यास सुरु गरेको छ। चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता ली सीले उक्त अभ्यासलाई ‘पृथकुतावादी गतिविधिहरू’ विरुद्धको कठोर सजाय भनेका छन्। चीनको सैन्य अभ्यास बिहीवार सबेरैबाट सुरु भएको हो। चीनसँगको सम्बन्ध हेर्ने ताइवानको सरकारी निकायले नेतृत्वले ताइवानको स्वतन्त्रता र लोकतान्त्रिक पद्धतिको प्रतिरक्षा गर्ने बताएको छ।

    उक्त अभ्यास मुख्य टापुसहित ताइवान स्ट्रेट र त्यसको पश्चिम अनि ताइपेईको नियन्त्रण रहेका जिन्मन, मात्सु, वुचियु र डोङ्यिन क्षेत्रवरपर भइरहेको छ।
    ताइवानको रक्षा मन्त्रालयले बेइजिङको कदमलाई अर्थहीन उत्तेजना भनेको छ। ताइपेईले आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि जल, वायु र स्थलसेना खटाएको मन्त्रालायको भनाइ छ।

    जापानले चिनियाँ सैन्य अभ्यासबारे चासो व्यक्त गरेको छ। जापानको मन्त्रिपरिषद्का मुख्य प्रवक्ताले ताइवान स्ट्रेटमा विकसित घटनाक्रमलाई जापानले नियालिरहेको बताउँदै त्यहाँ शान्ति र स्थिरताको महत्त्वको विषयमा सोझै चीनसँग कुरा गर्ने बताएका छन्। चीनको सेनाले आफ्नो अभ्यास समुद्री र वायु युद्धको तयारी गस्ती, प्रमुख निसानाहरूमा हमला र उक्त टापुको भित्री र बाहिरी क्षेत्रमा एकीकृत कारबाहीमा केन्द्रित रहेको जनाएको छ।

    त्यसको उद्देश्य आफ्नो फौजको वास्तविक संयुक्त युद्ध क्षमता परीक्षण गर्नु उसको भनाइ छ। “यो ताइवानमा स्वतन्त्रता खोज्ने पृथक्तावादी गतिविधिविरुद्धको कठोर सजाय र बाह्य शक्तिहरूको हस्तक्षेप र उत्तेजनाविरुद्धको कडा चेतावनी पनि हो,” उसले भनेको छ। लामो समयदेखि स्वशासन भएको ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र भएको ठान्छ। तर चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ।


    बेइजिङले लाईलाई विगतमा उनले ताइवानको स्वतन्त्रताको पक्षमा दिएको अभिव्यक्तिका कारण पृथक्तावादी र समस्याकारी मान्ने गरेको छ। गत साता लाईले चीनलाई ताइवानविरुद्ध धम्की दिन बन्द गर्न भनेका थिए। बेइजिङले उक्त मन्तव्यको निन्दा गरेको थियो र विदेशमन्त्री वाङ यीले लाई कलङ्क भनेका थिए। बीबीसी

  • इलाममा पौंडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

    इलाममा पौंडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

    काठमाडौं । इलामको माई खोलामा पौडी खेल्न गएका माइ नगरपालिका – ८ का दुई बालकको खोलामा डुबेर ज्यान गएको छ । विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ८–९ वर्षीय किस्मन आङदेम्वेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पानीमा फेला परेका मिङसुहाङलाई उद्धार गरि स्थानीय मेडिकलमा लगिएको थियो ।

    त्यहाँ उपचार संम्भव नभएपछि थप उपचारका लागि विएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सँगै पौडी खेल्न गएका अर्का बालक किस्मनलाई भने खोजी गर्नेक्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा मृत अवस्थामा भेटिएको प्रहरीले डिएसपी प्रकाश जबेगूले बताए ।

  • सहकारीको ठगी प्रकरण :  समितिको कार्यादेशमा अझै बनेन सहमति

    सहकारीको ठगी प्रकरण : समितिको कार्यादेशमा अझै बनेन सहमति

    काठमाडौं । सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारमा बिहीबार अपराह्न कानुन मन्त्री पदम गिरीसहित नेकपा एमाले, रास्वपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरूबीच छलफल भएको थियो। एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार शुक्रबार बिहान ८ः३० मा बस्ने गरी बैठक सकिएको छ । उनकाअनुसार संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्ने वा नलेख्नेबारे सत्ता र प्रतिपक्षीबीच अझै सहमति जुटिसकेको छैन।

    रास्वपाबाट कार्यदल सदस्य रहेका सांसद शिशिर खनालका अनुसार व्यक्ति तोकेरै समितिको कार्यादेश बनाउन न्यायोचित हुँदैन भन्ने सत्ता पक्षको भनाइ छ।
    कांग्रेसबाट कार्यदल सदस्य रहेका सहमहामन्त्री जीवन परियारका अनुसार गृहमन्त्रीको नाम नराखी संसदीय छानबिन समिति गठनको प्रस्ताव सत्ता पक्षले मौखिक रूपमा राखेको थियो। ‘गृहमन्त्रीको नाम नै नराखी संसदीय छानबिन समिति बनाउन सकिन्छ भन्ने उहाँहरूको भनाइ रह्यो,’ उनले भने, ‘यस्तो तरिकाबाट हुन्न भनेर हामीले प्रष्ट भनेका छौं। उहाँहरूले राखेका प्रस्ताव स्वीकार्न सक्ने अवस्था रहेन।’ सहमहामन्त्री परियारले कांग्रेस अडानबाट पछि नहटेको बताए।

  • चीनको ग्वान्जाओमा नेपाली पर्यटनको प्रवर्द्धन

    चीनको ग्वान्जाओमा नेपाली पर्यटनको प्रवर्द्धन

    काठमाडौं । चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरूसहित १६ देखि १८ मेसम्म चीनको ग्वान्जाओमा नेपालको प्रचार प्रसार गरेका छन् । ३२औं ग्वान्जाओ इन्टरनेसनल ट्राभल फेयर (जीआईटीएफ) मा नेपालले सक्रिय सहभागिता जनाएको पाटा नेपालले जनाएको छ ।

    ३० हजार स्क्वायर मिटर क्षेत्रमा आयोजित उक्त ब्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशहरूबाट ४० हजारभन्दा बढी सहभागी थिए । नेपाल पर्यटन बोर्डले १६ मेका दिन स्थानीय अपरेटर तथा सहभागी माझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुति दिएको थियो । सोही दिन साँझ आयोजित ‘बायर्स नाइट’ कार्यक्रममा पाटा नेपाल च्याप्टरले चाइना आउटबाउन्ड रिसर्च इन्टिच्युटबाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षक अन्तर्गत गोल्ड अवार्ड र जीआईटीएफ आयोजकबाट ‘द बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ ।

    सोही अवसरमा नेपाल पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरे । १७ मेमा आयोजित जीआईटीएफ २०२४ कन्फ्रेन्समा पाटा नेपाल कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरू’ शीर्षक अन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाए ।

  • सगरमाथामा केन्याली आरोहीको मृत्यु, नेपाली गाइड बेपत्ता

    सगरमाथामा केन्याली आरोहीको मृत्यु, नेपाली गाइड बेपत्ता

    काठमाडौं । विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार ‘एसएसटी एभरेस्ट एस्पिड २०२४ स्प्रिङ टिम २’ पर्वतारोहण दलका ४० वर्षीय आरोही सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्न गएका थिए ।

    उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए ।

    २१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मे बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए । आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरेरनगरेको यकिन नभएको समेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन गाइन परिचालन गरी क्याम्प २ माथि खोजतलास गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो । सहयोगी शेर्पाको भने अझै खोजी जारी रहेको र अवस्था समेत अज्ञात रहेको पर्यटन विभागले जनाएको छ ।

  • गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री

    गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिंदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए ।
    प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

    सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूले आमनेपाली जनताको सकारात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए । ‘आजका सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ’, शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

    प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरे । उनले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

    वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ ।

  • राजस्थानसँग हारेसँगै विराट कोहलीको टीम बेंगलुर आइपीएलबाट बाहिरियो

    राजस्थानसँग हारेसँगै विराट कोहलीको टीम बेंगलुर आइपीएलबाट बाहिरियो

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ । तेस्रो हुँदै प्लेअफमा पुगेको राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरलाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । अहमदाबादमा बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थानले बेंगलुरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको हो ।

    लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग पराजित भएको थियो । विजयी भएको कोलकाता भने फाइनल पुगिसकेको छ । इलिमिनेटर खेलमा बेंगलुरले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा १९ ओभरमै भेटाएको हो ।

    राजस्थानका यशस्वी जैसवालले ४०, रियान परागले ३६, सिमरन हेटमायरले २६ र टम कोहलर(क्याडमोरले २० रनको योगदान गरे । बेंगलुरका मोहम्मद सिराजले २, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान एक–एक विकेट दिलाए । पहिले ब्याटिङ गरेको बेंगलुरले ८ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

    रजत पतिदरले ३४, विराट कोहलीले ३३, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रन जोडेका थिए । राजस्थानका आवेश खानले ३, रवीचन्द्रण आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले एक–एक विकेट लिए । दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ । यो खेल जित्ने टोलीले आइतबार कोलकातासँग फाइनल खेल्नेछ ।

  • आज बुद्ध जयन्ती, विश्वभर मनाइँदै

    आज बुद्ध जयन्ती, विश्वभर मनाइँदै

    काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको जयन्ती नेपालसहित विश्वभर मनाइन्छ ।


    बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले बुद्धलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।

    बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्दछन् । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप प्रज्वलन गरेका थिए ।

    बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझलाई पनि उनले सम्बोधन गरेका थिए ।

    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको ।लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको सन्तानको रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका अनौं दुःख देखेर चिन्तित भई २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएको बताइन्छ ।

    बुद्धजयन्तीको अवसरमा बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले सबैलाई आह्वान गरेको छ । आज बुद्ध जयन्ती र उँभौली पर्व एकै दिन परेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

  • आज उभौली पर्व, किराँत समुदायमा मनाइँदै

    आज उभौली पर्व, किराँत समुदायमा मनाइँदै

    काठमाडौं । किराँत राई समुदायको महत्वपूर्ण पर्व उँभौली अर्थात् चण्डी पूर्णिमा आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा गरी उँभौली पर्व मनाउने र चण्डी नाच्ने प्रचलन छ । बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी गाउँ–गाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ ।

    गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको बताइन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

    मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।


    किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ ।

    खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।

  • तीन यूरोपेली मुलुकले दिए प्यालेष्टाइनलाई अलग राष्ट्रको मान्यता

    तीन यूरोपेली मुलुकले दिए प्यालेष्टाइनलाई अलग राष्ट्रको मान्यता

    काठमाडौं । आयरल्यान्ड, नर्वे र स्पेनले मे २८ तारिखबाट प्यालेस्टाइनलाई राज्यको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका छन्। स्पेन र आयरल्यान्डले आफूहरूको निर्णय इजरेलको विपक्षमा र हमासको पक्षमा नभई शान्तिप्रति समर्थन भएको बताएका छन्। तर उक्त कदमप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाउँदै इजरेलले त्यसको अर्थ सो क्षेत्रमा थप अस्थिरता हुनु रहेको प्रतिक्रिया दिएको छ। इजरेलले आयरल्यान्ड, नर्वे र स्पेनबाट आफ्ना राजदूतहरू फिर्ता बोलाउन लागेको छ। हमास र उसको प्रतिद्वन्द्वी प्यालेस्टिनी अथोरिटी दुवैले तीन देशको कदमको स्वागत गरेका छन्।

    प्यालेस्टिनी अथोरिटीले युरोपका अरू देशलाई पनि अन्तर्राष्ट्रिय सङ्कल्पहरू एवं सन् १९६७ का सीमामा आधारित “दुई राष्ट्रको सिद्धान्त”को प्राप्तिमा सघाउन अपील गरेको छ। आयरल्यान्ड र स्पेनसँग समन्वय गरी कदम चालेको नर्वेले ती दुई देशभन्दा पहिला प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेको हो।
    नर्वेका प्रधानमन्त्री यूनास गार स्टूराले “लम्बेतान र बर्बर द्वन्द्व”ले गर्दा पछाडि धकेलिने अग्रपङ्क्तिमा रहेका मध्यमार्गी बलको समर्थनमा यो कदम भएको बताए।

    “यो लगानी मध्यपूर्वमा दीर्घकाली शान्ति ल्याउन सक्ने समाधानमा गरिएको हो,” उनले भने। दुई राष्ट्रको सिद्धान्तलाई उनले इङ्गित गरेका हुन्, जसअनुसार प्यालेस्टाइन र इजरेल छुट्टाछुट्टै राष्ट्रका रूपमा एकसाथ शान्तिपूर्ण रूपमा बस्न सक्छन्। नर्वेले घोषणा गरेको केही समयपछि आयरल्यान्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेका हुन्।

    “आज स्पष्ट रूपमा भन्न चाहन्छौँ कि सुरक्षा, आत्मसम्मान र आत्मनिर्णयको अधिकार प्यालेस्टिनी र इजरेली नागरिकलाई समान रूपमा हुने कुरामा हाम्रो सर्वसम्मत समर्थन छ,” आयरल्यान्डका विदेशमन्त्री माइकल मार्टिनले भने। पछि आयरल्यान्डका प्रधानमन्त्री सिमोन ह्यारिसले “हमास प्यालेस्टिनी नागरिक नभएको”मा जोड दिए।

    “प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने आजको निर्णय एउटा शान्तिपूर्ण भविष्यको निर्माणका लागि हो,” उनले अगाडि भने। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले पनि सोही आशयको अभिव्यक्ति दिँदै यो निर्णय “इजरेल र यहुदीविरुद्ध नभएको” उल्लेख गरे। “हमासको बारेमा जे भनिएको छ त्यो हमासको पक्षमा यो निर्णय होइन। यो मान्यता कसैको विरुद्धमा होइन, यो शान्ति र सहअस्तित्वको पक्षमा हो,”उनले थपे। विश्वका अधिकांश देशले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिए पनि युरोपका केही देशले मात्र त्यस्तो मान्यता दिएका छन्।

    तर तीन देशको कदमप्रति इजरेलले आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ। इजरेली विदेशमन्त्रीले “सरसल्लाह”का लागि तीनवटै देशबाट आफ्ना राजदूतहरू बोलाउन लागेको बताए। “यो विषयमा इजरेल मौन बस्नेछौँ( यसका अरू गम्भीर परिणाम हुन सक्छन्,” विदेशमन्त्री इजरेल कात्सले भने। विश्वका करिब १४० देशहरूले प्यालेस्टाइनलाई राज्यको रूपमा स्वीकार गर्छन् जसमा अरब समूहका देशहरू, इस्लामिक कोअपरेसन अर्गनाइजेसन र असंलग्न आन्दोलनका पक्षधर देशहरू छन्।

    तर अमेरिका, यूके, फ्रान्स, जर्मनी र अस्ट्रेलियासहितका कैयौँ अन्य देशले प्यालेस्टाइनलाई अलग राष्ट्रको मान्यता दिएका छैनन्। प्यालेस्टाइनलाई अलग राष्ट्रको रूपमा मान्यता नदिने देशहरूले इजरेलसँग वार्ता र विवाद समाधान नगरेका कारण मान्यता नदिएका हुन्। यी दुई पक्षबीच सन् १९९०को दशकमा शान्ति वार्ता सुरु भएको थियो।

    उक्त वार्ता दुई देशको मान्यताका आधारमा समाधान गर्नेतर्फ अघि बढेको थियो जसमा इजरेल र प्यालेस्टाइन अलक देशको रूपमा रहने भनिएको थियो।
    तर शान्ति प्रक्रिया निकै सुस्त भयो र सन् २००० को पहिलो दशकदेखि निकै कम वार्ताहरू भए। सन् २०१४ मा वासिङ्टनमा इजरेल र प्यालेस्टाइनबीचको वार्ता असफल भयो।

    वार्तामा टुङ्गो लाग्न नसकेका विषयहरू दुई पक्षबीच तय हुन बाँकी सीमा, प्यालेस्टिनी राज्यको भविष्य, जेरुसेलमको अवस्था र इजरेल बन्ने क्रममा भएको युद्धका प्यालेस्टिनी शरणार्थीहरूको व्यवस्थापन सहितका विषय थिए।
    इजरेलले प्यालेस्टाइनले राष्ट्रसङ्घको सदस्यता लिन गरेका प्रयासहरूको कडा विरोध गर्ने गरेको छ।

    इजरेलसँग नजिकको सम्बन्धमा रहेका देशहरू पनि प्यालेस्टाइनलाई राष्ट्रसङ्घको सदस्यता दिने पक्षमा उभिँदा इजरेल चिढिनेतर्फ सचेत हुने गरेका छन्। इजरेलका समर्थकहरूले सन् १९९३को मन्टुभिडिओ अभिसन्धि अनुसार अलग राज्य बन्नका लागि प्यालेस्टाइनको मापदण्ड नपुग्ने दाबी गर्दै आएका छन्।

    जसअनुसार राष्ट्रको मान्यताका लागि स्थायी जनसङ्ख्या, निश्चित भूगोल, सरकार र अरू देशहरूसँग सम्बन्ध स्थापित गर्ने क्षमता आवश्यक हुन्छ। तर अरू देशहरूले राष्ट्रको मान्यता पाउने परिभाषा लचक हुनुपर्ने भन्दै कैयौँ देशहरूले मान्यता दिइसकेको कुरामा जोड दिने गरेका छन्।


    बीबीसीबाट

  • प्रदेशगत रुपमा बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो

    प्रदेशगत रुपमा बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो

    काठमाडौं । नेपालको अर्थतन्त्रको आकारमा सबैभन्दा ठूलो योगदान बागमती प्रदेशको रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रदेश लेखा तथ्यांक अनुसार राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहने देखिएको हो ।

    चालु आर्थिक वर्ष (आव) २०८०–८१ मा नेपाली अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार भई ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसमा बागमती प्रदेशले सबैभन्दा धेरै ३६.४ प्रतिशत ओगट्छ । दोस्रोमा कोशी प्रदेश रहेको छ । कोशीले अर्थतन्त्रमा १५.८ प्रतिशत हिस्सा ओगट्छ ।

    लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत हिस्सा ओगट्ने कार्यालयले जनाएको छ ।

    तथ्यांक अनुसार बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब रहेको छ । कोशीको ९ खर्ब ३ अर्ब, लुम्बिनीको ८ खर्ब १४ अर्ब, मधेशको ७ खर्ब ४८ अर्ब, गण्डकीको ५ खर्ब १७ अर्ब, सुदूरपश्चिमको ४ खर्ब ४ अर्ब र कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ ।

  • सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

    सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियालाई

    जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्‍याएको थियो।

  • सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

    सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागले जनाएको छ । दुवै जनाले ८ जेठमा बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बेपत्ता दुवै जनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले जनाएको छ ।

  • कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन

    कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित सडक आन्दोलन गर्ने भएको छ।

    बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

    सहकारी प्रकरणमा ससदिय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पिडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।

    सरकारको अलोकतान्त्रिक संस्कारविरुद्ध कांग्रेस नेताहरू अब सडकमा आन्दोलन गर्न लागेको उनले बताइन्। ‘अब कांग्रेस नेताहरू सडकमा उत्रिन लागेका छौं। हामीले संसदमात्र होइन, सडकबाट पनि आन्दोलनको थालनी गर्न लागेका हौं। संसदीय छानबिन समिति नबनेसम्म, सहकारी पीडितले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ सञ्चारकर्मीसँग उनले भनिन्।

    पहिलो चरणमा यहि शुक्रबार काठमाडौको भृकुटीमण्डपमा आन्दोलन गर्ने पनि संग्रौलाले बताइन।

    सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति कांग्रेस बनाएको संग्रौलाले भनिन्, ‘शुक्रबारदेखि काठमाडौंबाट आन्दोलन घोषणा भएको छ । आन्दोलन देशव्यापी जान्छ ।’

  • ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र, यी हुन् जोगिने उपायहरू

    ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र, यी हुन् जोगिने उपायहरू

    काठमाडौं । गृह मन्त्रालयले तातो हावाको लहर (लू) बाट नागरिकलाई जोगाउन तयारीमा जुट्न तराई-मधेशका जिल्ला प्रशासन तथा अन्य निकायलाई परिपत्र गरेको छ।

    मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो।

    लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई-मधेशका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिएको उनले बताए। परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ।

    सन्देश बनाउँदा स्थानीय भाषा, स्थानीय कलाकार, स्थानीय लवज, स्थानीय पहिरन तथा आधिकारिक निकायका व्यक्तिलाई प्रयोग गर्न पनि भनिएको छ ।

    एउटा सन्देश रेडियोको हकमा एक मिनेट र भिडियो हो भने दुई मिनेटभन्दा लामो नबनाउन, स्थानीय परिवेशअनुसार महत्त्वपूर्ण लागेका सन्देश धेरै जनालाई माध्यम बनाएर उत्पादन र प्रसारण गर्न, विपद् व्यवस्थापनमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाको सहायता लिएर उनीहरु स्वयंको सामाजिक सञ्जाल र प्रसारण माध्यमबाट पनि प्रचारप्रसार गर्न लगाउन पनि निर्देशन गरिएको छ ।

    स्थानीय सञ्चारमाध्यममा दैनिक-साप्ताहिक-अर्धमासिक रूपमा बनाइरहेका कार्यक्रममा यी सन्देश प्रसारण गर्ने व्यवस्था मिलाउन पनि सबै जिल्लालाई परिपत्र पठाइएको प्राधिकरणले जनाएको छ ।

    यी हुन् लू बाट जोगिने उपायहरू

    – दिउँसो घरबाट बाहिर ननिस्कने

    – चिसो पानीले नुहाउने

    – क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने

    – फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने

    – खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने

    – बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने

    – मदिरा सेवन नगर्ने

    – चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने

    यसका असरहरु

    – हृदयको गति तीव्र हुने

    – श्वासप्रश्वास र रक्तचाप कम हुने

    – शरीरबाट पसिना ननिस्कने

    – टाउको अत्यधिक दुख्ने

    – चक्कर लाग्ने, अचेत हुने

    – शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने

    – छाला सुक्खा, रातो र तातो हुने

  • पोलको भाडा नतिर्ने कम्पनीहरुको तार हटाउने टेलिकमको चेतावनी

    पोलको भाडा नतिर्ने कम्पनीहरुको तार हटाउने टेलिकमको चेतावनी

    काठमाडौं । नेपाल टेलिकमले पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । टेलिकमले जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाएमा सबै तार हटाउने सूचना जारी गरेको छ ।

    टेलिकमले जारी गरेको सूचना अनुसार टिभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०–८१ सम्मको पोल भाडा बापतको रकम मिति २०८१ ज्येष्ठ मसान्तभित्र बुझाउन पर्ने छ ।

    कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने जनाएको छ ।

  • रास्वपाले भन्यो-‘सिरोहिया पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइन’

    रास्वपाले भन्यो-‘सिरोहिया पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइन’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ । तर, एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलिभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ ।’

    सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रताको हननको रुपमा सञ्चार क्षेत्रका व्यक्तिलाई अर्थ्याइरहेका बेला रास्वपाले भने यसलाई अस्वीकार गरेको छ । अदालतबाट अनुमति लिएर र पर्याप्त आधारमा पक्राउ गरिनुलाई प्रेस स्वतन्त्रताको हनन नहुने रास्वपाले भनेको छ ।

    ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ । न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस्,’ विज्ञप्तिमा उल्लेख छ ।

  • सिंगापुर एयरलाइन्सको जहाजमा उड्दाउड्दै अत्यधिक झट्का, एक जनाको मृत्यु

    सिंगापुर एयरलाइन्सको जहाजमा उड्दाउड्दै अत्यधिक झट्का, एक जनाको मृत्यु

    काठमाडौं । सिंगापुर एयरलाइन्सको बोइङ ७७७–३०० इआर जहाजमा उड्दा उड्र्द आएको घातक झड्काका कारण मानवीय क्षति भएको छ । मंगलबार लण्डनबाट सिंगापुर आइरहेको जहाजमा प्राविधिक समस्या देखिएको थियो । जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य थिए । मृत्यु हुनेमा ७३ वर्षीय बेलायती नागरिक छन्।

    १८ जना घाइते अस्पताल भर्ना भएका छन् । १२ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर भएको सिएनएनले उल्लेख गरेको छ। त्यस्तै बाँकी यात्रु र चालक दलका सदस्यको स्वास्थ्य परीक्षण भइरहेको एयरलाइन्सले जनाएको छ।

    टर्बुलेन्सका कारण विमानमा गम्भीर गडबडी भएको र विमान स्थानीय समय अनुसार अपराह्न ३ः४५ मा बैंककमा आपतकालीन अवतरण गरिएको थियो। सिंगापुरका राष्ट्रपति थर्मन शनमुगरत्नमले आफ्नो सामाजिक सञ्जालमार्फत् मृतकको परिवार र प्रियजनहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

  • कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तार

    कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तार

    काठमाडौं । प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेको छ । मंगलबार उनलाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहित सिरोहियाको कार्यकक्षमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ पूर्जी थमाएको थियो ।

    कार्यालयबाट निस्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सिरोहियाले २०६३\६३ मा ज्यानको बाजी लगाएर ल्याएको गणतन्त्र भएको भन्दै कसैको उजुरी पर्दैमा गिरफ्तारी हुनु गलत भएको बताए । उनले गृहमन्त्रीको दुई पासपोर्टमा उजुरी भएको समेत आरोप लगाए ।


    छानबिनको विषयमा आफूले पहिल्यैदेखि सहयोग गर्ने बताएको भन्दै उनले भने, ‘सरकारले हचुवामा अधिनायकवाद देखिएको छ, यो देशमा कानून छ भने दुई पासपोर्ट बोक्ने र सहकारी ठगलाई पनि कारबाही हुनुपर्छ । भोलि उहाँको नाममा वारेन्ट जारी हुन्छ भन्नेमा विश्वस्त छु ।’

    सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता एने, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले पछिल्लो समय निरन्तर उपप्रधान एवं गृहमन्त्री मुछिएको सहकारी ठगी र दोहोरो नागरिकताबारे समाचार प्रकाशन गरिरहेको थियो ।

  • श्रममन्त्री अर्यालको सम्पत्ति:सुन १५० तोला, बैंकमा सवा २ करोड

    श्रममन्त्री अर्यालको सम्पत्ति:सुन १५० तोला, बैंकमा सवा २ करोड

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग देशका १३ स्थानमा घरजग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । विवरण अनुसार १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको बताएका छन् । यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा छन् । विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मेगा बैंकको १० हजार कित्ता, बिग इन्भेस्टमेन्टको ३५ हजार, पिपुल इन्भेस्टमेन्टको नौ हजार, जनसागर सहकारीको १० हजार, संयम सहकारीको दुई हजार र सुवर्णभूमि सहकारीको एक हजार कित्ता सेयर रहेको उनले खुलाएका छन् ।

  • रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री, कति सम्पत्ति ?

    रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री, कति सम्पत्ति ?

    काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्रीमा दरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाएका प्रधानमन्त्री सहित मन्त्रीमध्ये महासेठसँग नगद र जिन्सी सबैभन्दा बढी देखिएको छ । उनको धेरैजसो सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा उल्लेख गरेका छन् ।

    महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।

    २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

  • गृहमन्त्रीको सम्पत्ति ८० तोला सुन र एक रोपनी जग्गा

    गृहमन्त्रीको सम्पत्ति ८० तोला सुन र एक रोपनी जग्गा

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको उल्लेख छ । बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ । लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।

  • प्रचण्डको सम्पत्ति १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद

    प्रचण्डको सम्पत्ति १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद सम्पत्ति रहेको सार्वजनिक भएको छ।

    बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार दाहालको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी पत्नी सीता दाहालको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ।

    सो जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ। यस्तै प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन र एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ।