Category: समाचार

  • ललितपुरमा गत २३ वैशाखमा आगोलागीमा परी घाइते परिवारका चार सदस्यको मृत्यु

    ललितपुरमा गत २३ वैशाखमा आगोलागीमा परी घाइते परिवारका चार सदस्यको मृत्यु

    काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी भएको थियो । आगलागीमा सञ्जय गिरी परिवारका सदस्य घाइते भएका थिए । शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिएका छन् । उनको ग्वार्कोस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

    सोही अस्पतालमा सञ्जयकी श्रीमती रुपा गिरीको गत ३१ वैशाखमा मृत्यु भएको थियो । आगलागी भएको भोलिपल्टै उनका दुई छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाकाको मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएका सञ्जयका भतिज १५ वर्षीय नित गिरीको उपचार जारी छ । उनको अवस्था सामान्य छ । उनलाई नर्मल वार्डमा सारिएको ललितपुर प्रहरीले जनाएको छ ।

  • मकवानपुरमा कार दुर्घटना, २ जनाको मृत्यु

    मकवानपुरमा कार दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ गइरहेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका ६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका १२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । उनीहरुको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो । कारका चालक बाराको निजगढ नगरपालिका ६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

  • तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

    तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

    काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

    छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए । अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए ।

  • सहकारी ठगीका विषयमा छानविन गर्न समिति बनाउने सहमति

    सहकारी ठगीका विषयमा छानविन गर्न समिति बनाउने सहमति

    काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । समितिको कार्यादेश के हुने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘संसदीय छानबिन समिति बनाएर जाने विषयमा समान धारणा छ, समितिको कार्यादेश के हुने भन्ने विषयमा भोलि विहानदेखि काम हुन्छ’, उनले भने ।

    समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक समिति बनाइएको छ । जसलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजक गर्नेछन् । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका कानुनमन्त्री गिरीले जानकारी दिए ।

    यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्नेछ । ‘भोलि नै सक्ने गरी काम हुन्छ, उहाँहरुसँग बस्ने सहमति खोज्ने, थप नेताहरुसँग छलफल गर्नुपर्‍यो भने गरेर यसलाई टुंग्याउँछौं’, गिरीले भने । सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । तर सरकार र सत्ता गठबन्धनले भने यसलाई अस्वीकार गर्दै आएका थिए ।

    २८ वैशाखमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन लगातार अवरोध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भनेपछि दलहरुबीच संसदको अवरोध खोल्ने बारेमा छलफल सुरु भएको थियो ।

  • टिपतालामा पहिलो पटक पुगे नेपाली निर्माण उपकरण

    टिपतालामा पहिलो पटक पुगे नेपाली निर्माण उपकरण

    काठमाडौं । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलो पटक नेपालतर्फका गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा शुक्रबार एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्याक खोल्ने कार्य यसअघि नै सकिएको थियो ।

    सो सडक निर्माणको ढेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्याक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।

    सडक निर्माणसँगै ओलाङचुङगोलावासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको छ । टिपतालादेखि विराटनगरस्थित रानी भन्सार करिब दुई सय ९२ किलोमिटरको दूरीमा जोडिन्छ । टिपताला नाकामा सडक पुगे पनि कोरोना महामारीमा बन्द भएको सो नाका अझै खुलेको छैन ।
    रासस

  • पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल

    पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल

    काठमाडौं । आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ । घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

    अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे । लखनउका नवीन उल हक र रवि विश्नाइले दुईरदुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एकरएक विकेट लिए । यसअघि लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

    निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे । मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीनरतीन विकेट लिए । यो हारसँगै मुम्बइ अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।

  • मनमैजुमा ट्राफिक प्रहरी मृत फेला

    मनमैजुमा ट्राफिक प्रहरी मृत फेला

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका—९, मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् ।

    अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको हो । घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतका अनुसार, निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।

  • नेपाली सेनाले सगरमाथा क्षेत्रबाट निकाल्यो २ मानव शव

    नेपाली सेनाले सगरमाथा क्षेत्रबाट निकाल्यो २ मानव शव

    काठमाडौं । नेपाली सेनाले ‘सफा हिमाल अभियान’अन्तर्गत सगरमाथाको क्याम्प ४ र ल्होत्से हिमालको शिखर नजिकबाट एक–एक गरी दुई जनाको शव काठमाडौं ल्याएको छ । लामो समयदेखि अलपत्र दुई शवलाई सफा हिमाल अभियानअन्तर्गत काठमाडौं ल्याइएको सैनिक प्रवक्ता गौरव केसीले बताए । उनका अनुसार बेस क्याम्पबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवै शवलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । ‘पहिचान नखुल्ने भएकाले पोष्टमार्टम गरेर डीएनए संकलन लगायतका प्रक्रिया अघि बढाइने छ’, उनले भने, ‘यो वर्ष कम्तिमा ५ वटा शव हिमालबाट ल्याउने लक्ष्य छ ।’

    अभियानका क्रममा हालसम्म ८ हजार ६ सय २० केजी फोहोर संकलन गरेर तीमध्ये २५० किलो कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको केसीले बताए । उनका अनुसार यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर संकलन गर्ने योजना छ । नेपाली सेनाका सेनानी आदित्य कार्कीको नेतृत्वमा २ वैशाखबाट १२ सैनिक र एक शेर्पासहित १३ जनाको टोलीले हिमालबाट फोहोर संकलन गर्ने अभियान चलाइरहेको छ ।

  • कपनबाट दुई पेस्तोलसहित एक जना पक्राउ

    कपनबाट दुई पेस्तोलसहित एक जना पक्राउ

    काठमाडौं । काठमाडौंको कपनबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन पैयुटारस्थित डेराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो। शुक्रबार बिहान ६ बजे एक युवकलाई हतियार लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

    उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर २ घर भई कपनमा डेरा गरी बस्ने २३ वर्षीय अर्जुन दर्नाल सुनार छन्। उनलाई प्रहरीले डेराबाटै पक्राउ गरेको हो। उनीबाट दुई वटा पेस्तोल फेला परेको एसपी अधिकारीले बताए। प्रहरीले उनीमाथि हातहतियार खरखजाना शीर्षकमा अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

  • सरकारले लगायो भारतीय दुई ब्रान्डका ४ मसला आयातमा प्रतिबन्ध

    सरकारले लगायो भारतीय दुई ब्रान्डका ४ मसला आयातमा प्रतिबन्ध

    काठमाडौं । सरकारले भारतबाट ४ प्रकारका मसला आयातमा प्रतिबन्ध लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय दुई ब्रान्डका ४ मसला आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

    विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर र करी पाउडर मिक्स्ड मसला आयातमा प्रतिबन्ध लगाएको हो ।

    त्यस्तै, एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाएको हो । एमडीएचका उक्त मसलाहरू १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ रहेको छ ।

    यसअघि विश्व बजारमा हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएका थिए । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको समाचारका आधारमा तत्काललाई ४ प्रकारका मसला आयातमा रोक लगाइएको विभागले जनाएको छ ।

    यस्तै, विभागले विभागले उल्लिखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिएको छ ।

  • कीर्तिपुरमा ग्याङ फाइट हुँदा खुकुरी प्रहार, ९ जना पक्राउ

    कीर्तिपुरमा ग्याङ फाइट हुँदा खुकुरी प्रहार, ९ जना पक्राउ

    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा दुई पक्षबीच झडपको क्रममा खुकुरी प्रहार भएको छ। नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो । झडपको क्रममा खुकुरी प्रहार गर्ने समूहका ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर विष्ट, २० वर्षीय उपेन्द्र सिंह, २० वर्षीय सुदीप गिरी, २३ वर्षीय नवीन भनिने नृप भण्डारी, २७ वर्षीय जयन्त धानुक, २० वर्षीय तेज थापा, २२ वर्षीय तपेन्द्रराज खाती र २१ वर्षीय सुनिल रोकाया छन्। पक्राउ परेकाहरु विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

  • ‘गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, प्रतिबन्ध लगाउनु हुँदैन’

    ‘गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, प्रतिबन्ध लगाउनु हुँदैन’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउका छन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न रोक्दै आएकोमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्न दिनुपर्ने बताएका हुन् ।

    लामिछानेको सहकारी ठगी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका प्रतिपक्ष दलहरुको बैठकमा शाहीले सो कुरामा जोड दिएका हुन् ।

    लामिछानेले बोल्न पाउनुपर्छ भन्नेकुरा आफूहरुले बैठकमा राखेको उनले बताए । शुक्रवार संसद भवन परिसरमा काँग्रेससहितका विपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाहीले आफूहरुले संसदीय छानविन समिति बनाएर सहकारी ठगी छानविन गर्नुपर्ने कुरा राखेको बताए ।

    उनले भने, ‘सरकारले वातावरण सहज बनायो भने राप्रपाको तर्फबाट हामीले गृहमन्त्रीलाई बोल्नु दिनुपर्छ भन्ने भन्नेकुरा त्यो बैठकमा राखेका छौं । र हामीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ । बोल्नुपर्छ गृहमन्त्रीले । तर छानविन समिति बन्ने कुरामा हामी पछाडि हट्दैनौं । किनभने यो विषयवस्तु आज एक जना गृहमन्त्रीको मात्रै होइन । विषयवस्तु के हो भने समग्र देशका सहकारीहरुका कारण हजारौं जनता, लाखौँ जनता सडकमा अलपत्र छन ।’

    शाहीले थपे, ‘कसैले साग बेचेर, कसैले मकै पोलेर, कसैले बिहान, बेलुका आफ्नो रोजीरोटी नै खोसेर जम्मा गरेको गरिवको पैसा खाएर आज करोडपति, अर्वपति बनेर, कोही भ्रष्टाचार गरेर देश भित्र बस्ने, कोही देश छोडेर भाग्ने र राज्य व्यवस्था कमजोर बन्ने कानून पनि दुई प्रकारको बनाउने बन्ने नीतिबाट हामी पछाडि नहट्ने छानविन समिति बन्ने र गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने हाम्रो माग छ । यसमा छलफल भईराखेको छ । बोल्ने कुरामा प्रतिवन्ध लगाउनु हुँदैन । सुन्नपर्छ, त्यसले चित्त बुझेन भने प्रतिवाद गर्नेकुरा अर्कै रह्यो । तर सभामुख तटस्थ रहनु भएन । सभामुखले चाहीँ बिरोध प्रदर्शन भईरहेको बेला प्रतिपक्ष, प्रमुख प्रतिपक्ष वा सत्तापक्ष जे सुकै होस् । सभाको मर्यादा हुनुपर्छ ।’

  • तराईमा पुनः बढ्यो गर्मी, लुको सम्भावना

    तराईमा पुनः बढ्यो गर्मी, लुको सम्भावना

    काठमाडौं । पानी पर्ने क्रम कम भएपछि पुनः गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुग्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर लगायतका ठाउँको तापक्रम ४० डिग्री आसपाससम्म पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको छ । केही दिनदेखि अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएको छ ।

    महाशाखाले तराई क्षेत्रमा अबको केही दिन तातो हावाको लहर अर्थात् ‘लू’ चल्न सक्ने भएकाले सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो हावा अर्थात् ‘लू’ का कारण सास फेर्न गाह्रो हुने, आलस्य बढ्ने, आँखाको समस्यालगायत हुन सक्छ ।

    गर्मीको समयमा घरभित्र अथवा चिसो ठाउँमा बस्न, घाममा ननिस्कन, हल्का, पातला लुगा लगाउन, टाउको छोप्न, झोलिला पदार्थ पानी, जुस, सर्वत प्रशस्त पिउन र स्वास्थ्यमा समस्या भएमा अस्पताल जान डाक्टरको सुझाव छ ।

    यसैबीच आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • प्रतिनिधिसभा बैठक आज पनि बस्दै, अन्यौल कायमै

    प्रतिनिधिसभा बैठक आज पनि बस्दै, अन्यौल कायमै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए । विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।

    सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी रहेपछि लामिछानेले बोल्न पाएनन् ।
    नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरुले मानेका छैनन् ।

  • विश्वकप अगाडी नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै

    विश्वकप अगाडी नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै

    काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ । आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ ।

    टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

  • आजको संसदको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

    आजको संसदको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

    तर त्यो मागलाई सत्ता साझेदार दलहरुले मानेका छैनन् । सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसदको गतिरोध अन्त्य हुन सकेको छैन । विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

    विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी राखेपछि लामिछानेले बोल्न पाएका थिएनन् ।

  • प्रधानमन्त्रीले ७ जेठमा पुनः विश्वासको मत लिन

    प्रधानमन्त्रीले ७ जेठमा पुनः विश्वासको मत लिन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिने भएका छन् । उनले ७ जेठमा विश्वासको मत लिने भएका हुन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ ।


    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।

    उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।

  • संसदमा भएको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

    संसदमा भएको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । यस्तो अवस्था आउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेस महामन्त्री गगन थापाले बताए । प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवनमा पत्रकार सम्मेलन गरेर थापाले प्रधानमन्त्री प्रचण्डले के चाहेको हो त्यो भन्नुपर्ने बताएका हुन् ।

    ‘एमालेको त हेर्‍यौं, थाहा पायौं आज । तर, प्रधानमन्त्रीको के हो ? प्रधानमन्त्रीले के चाहनुभएको छ ? प्रधानमन्त्रीले समझदारी चाहनुभएको हो कि ? प्रधानमन्त्रीले सदनभित्र, बाहिर सबैतिर मुठभेडको स्थिति बनोस् भन्ने चाहनुभएको हो कि ? यो सन्दर्भमा प्रधानमन्त्रीको जवाफको अपेक्षा गर्दछौं’, महामन्त्री थापाले भने ।
    एमाले संसदमा अप्रिय स्थिति सिर्जना होस् भनेर लागेको प्रष्ट देखिएको उनको आरोप छ ।

    ‘एमालेका अध्यक्ष आफैं लाग्नुभयो, आउनुभयो । हिजो पनि उहाँका वचनहरु हामीले सुन्यौं । आजको सदनका निम्ति हिजोदेखि गरेको तयारी, सदनको बैठकमा नआउनुभएको’, महामन्त्री थापाले थपे, ‘हिजो एउटा कार्यक्रम राखेर एउटा स्थिति जसरी पनि बनाउनुपर्छ भन्ने मनोविज्ञान बनाउनुभएको एमालेको त हामीले थाहा पायौं र हेर्‍यौं ।’ एमालेको व्यवहार हेरिसकेपछि आफूहरु प्रधानमन्त्रीले के चाहेको हो त्यो थाहा पाएर अगाडि बढ्न खोजेको उनको भनाइ छ ।

  • अब संसदीय समिति बन्दैन : रास्वपा

    अब संसदीय समिति बन्दैन : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय समिति नबन्ने बताएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै रास्वपा सहप्रवक्ता मनिष झाले अब समिति नबन्ने बताए ।


    संसद बैठकपछि उनले भने, अब समिति त्यो बेलामा मात्र बन्छ, जब कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार हुन्छ ।’ कांग्रेस सभापति देउवाका साथै उनका श्रीमती र छोराको पनि छानबिन गर्नुपर्ने उनले बताए ।

  • एमालेले भन्यो : संसदमा ओलीमाथि अपमानजनक व्यवहार गरियो

    एमालेले भन्यो : संसदमा ओलीमाथि अपमानजनक व्यवहार गरियो

    काठमाडौं । नेकपा एमालेले बिहीबार संसदमा कांग्रेस सांसदहरुले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । साथै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस संसदहरु उनलाई रोक्न गएका थिए । त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विवाद भएको थियो । त्यतिबेला दुबै दलका सांसदहरुबीच धकेलाधकेलसमेत भयो ।

    बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताए । ‘हौसिएर सरकारको रोमा आएर अवरोध गर्ने, उपसभामुखको चेयरमा आएर बस्ने असंसदीय व्यवहार गर्नुभयो । हाम्रा संसदीय दलका नेतामाथि अपमानजक व्यवहार गर्नुभयो’, उनले भने, ‘कांग्रेसले आजको संसदमा घोर अलोकतान्त्रिक र असंसदीय व्यवहार प्रदर्शन गर्नुभयो ।’

    कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोजेको भन्दै उनले अगाडि भने, ‘अराजकता मच्चाउने जे काम भयो, यसको एमाले संसदीय दलको तर्फबाट भर्त्सना गर्न चाहन्छु । आगामी दिनमा यसप्रकारका असंसदीय व्यवहार प्रदर्शन नगर्न आग्रह गर्न चाहन्छु ।’

  • संसद बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

    संसद बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए । उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे ।

    त्यहीबीचमा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नको लागि समय दिए । कांग्रेस सांसदहरूले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन अवरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेल भयो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद धनराज गुरुङ भनाभनमा उत्रिए । सांसदहरूबीच धकेलाधकेल र भनाभना भएपछि सभामुख घिमिरेले भोलि बिहानसम्मका लागि बैठक स्थगित गरेका छन् ।

  • प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच घम्साघम्सी

    प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच घम्साघम्सी

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच घम्साघम्सी भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको छ । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । सोही समयमा सत्तारुढ सांसद उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरेका थिए । कांग्रेस सांसद गृहमन्त्री रोष्ट्रम जाने बाटो छेक्न उनको कुर्सी नजिकै पुगेर नाराबाजी गरेका थिए । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे ।

    एमाले अध्यक्ष ओलीले नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई केही भनेको भिडियोमा देखिन्छ । गृहमन्त्रीतर्फ फर्केर नाराबाजी गरिरहेका गुरुङ त्यसपछि ओलीतिर फर्केर नाराबाजी गर्छन् । त्यस क्रममा एमालेका सांसदहरु पनि वेलमा आएर कांग्रेस सांसदहरुसँग धकेलाधकेल गर्दै गृहमन्त्रीलाई रोष्ट्रम जाने बाटो खाली गराउन खोज्छन् । सत्तापक्ष र विपक्षी सांसदहरुबीच धकेलाधकेल सुरु भएपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न आग्रह गरे र संसद बैठक स्थगित गरे ।

  • मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रञ्जिता पक्षले मत दिँदा रेशम पक्षको बहिष्कार

    मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रञ्जिता पक्षले मत दिँदा रेशम पक्षको बहिष्कार

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । सोडारीको पक्षमा नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी मतदान गरेका हुन।

    विपक्षमा शून्य मत पर्‍यो । कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए ।

  • झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन दिन नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा पुगेको हो ।

    यसदिन ३१५ कम्पनीको ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये २ वटा बाहेका सबैको घटेको छ ।

  • ८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ

    ८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको लागूऔषध ब्यूरोले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला, युगाडाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल छन् । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट २ किलो ६५४ ग्राम कोकिन बरामद गरिएको छ ।

  • चीन भ्रमणमा पुगे रुसी राष्ट्रपति

    चीन भ्रमणमा पुगे रुसी राष्ट्रपति

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिन्पिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन्। पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा बिहीवार बिहान बेइजिङ पुगेका हुन्। रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ औँ वार्षिकोत्सव पारेर दुई नेताबीच बिहीवार भेट हुने छ। सात महिनाको अवधिमा क्रेम्लिन प्रमुखको यो दोस्रो चीन भ्रमण हो। रुसले युक्रेनमाथि सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि दुई नेताबीच तीन पटक भेट भइसकेको छ।

    युक्रेन युद्ध सुरु भएपछि बेइजिङ मस्कोको महत्त्वपूर्ण साझेदार बनेको छ। चीन रुसमाथि अमेरिकासहित विभिन्न देशले लगाएको प्रतिबन्धको प्रभाव कम गराउन चाहन्छ। चीनले रुसलाई हतियार उपलब्ध गराएको आरोप बारम्बार अस्वीकार गर्दै आएको छ। ‘चीनले रुसलाई युक्रेनमा प्रयोग गर्ने गरी वास्तविक हतियार उपलब्ध गराउने काम चाहिँ गरेको छैन, गत महिना बेइजिङ भ्रमणका क्रममा बीबीसी न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भनेका थिए।

    तर चीनमाथि अत्यन्तै महत्वपूर्ण सामग्रीहरू उपलब्ध गराएर मस्कोको सैन्य सामर्थ्यलाई सुदृढ बनाउन सघाएको आरोप छ। पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि चीन अहिले रुसका निम्ति कार, लत्ताकपडा र कच्चा पदार्थ पठाउने मुख्य निर्यातकर्ता बनेको छ। चीनले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कका अनुसार सन् २०२१ यता यी दुई देशबीचको व्यापार ६४ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब डलरको उच्च बिन्दुमा पुगेको छ।

  • संसद बैठक आज, चल्ने-नचल्ने अन्यौल

    संसद बैठक आज, चल्ने-नचल्ने अन्यौल

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ। आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ।

    आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन २०८०’पेस गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यसूची छ। उनैले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म उनलाई रोष्ट्रम प्रयोग गर्न नदिने अडानमा छ। कांग्रेसकै अवरोधका कारण गृहमन्त्री लामिछाने यसअघिका बैठकहरूमा बोल्न पाएका छैनन्।

    बुधबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आजको बैठकमा गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताएका थिए। उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिए एमालेले त्यसको प्रतिवाद गर्ने समेत बताएका थिए।

  • पन्जावले राजस्थानलाई हरायो

    पन्जावले राजस्थानलाई हरायो

    काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । १४५ रनको लक्ष्य पञ्जाबले१८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२–२२ र आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई–दुई र ट्रेन्ट बोल्टले एक विकेट लिए ।

    त्यसअघि ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो । राजस्थानका रियान परागले ४८, रविचन्द्रण आश्विनले २८, सञ्जु स्यामसन र टम कोहलर(क्याडमोरले १८–१८ रन बनाए । पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चाहरले दुई–दुई, अर्शदिप सिंह र नेथन एलिसले एक–एक विकेट लिए ।

  • पाल्पामा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका ४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    दुर्घटनामा १३ जना घाइते भएका छन् । बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।

    दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् । १५ जना सवार उक्त जिप बुधबार बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ ।

    हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ । भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।