Category: समाचार

  • गोविन्द केसी २२ औं पटक आमरण अनसनमा, सर्त प्रचण्डको राजिनामा

    गोविन्द केसी २२ औं पटक आमरण अनसनमा, सर्त प्रचण्डको राजिनामा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा.गोविन्द केसी २२ औं पटक आमरण अनशनमा बसेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् ।


    ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैंभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरुले न्यायको अनुभूति गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया नटुंगिउन्जेल पदमा बस्ने उनको कुनै पनि नैतिक तथा कानुनी धरातल छैन । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ’, उनले विज्ञप्तिमा भनेका छन् ।

    बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरु नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाएका छन् । ‘हजारौं पीडितहरुले अहिलेसम्म न्याय पाएका छैनन् । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि मानवताविरोध र युद्ध अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय कम हुने तथा माफी हुने प्रावधान छैन’, उनले विज्ञप्तिमा भनेका छन् ।

    मानवताविरोधी अपराध र युद्ध अपराधमा जोडिएका कतिपय माओवादी नेताहरु अहिले शक्ति र सत्ताको आडमा सजायबाट जोगिन खोजिरहेको भन्दै केसीले दण्डहीनता कायम गर्न प्रचण्डसँगै केपी शर्मा ओली, शेरबहादुर देउवा र माधवकुमार नेपालको भूमिका पनि बराबर रहेको बताएका छन् ।

    उनले अगाडि भनेका छन्, ‘त्यसैले नेपालमा लोकतन्त्रको साख बचाउने हो भने ओली, देउवा र माधव नेपालले सत्ता र आआफ्ना पार्टीहरुमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु दल, देश र जनताको बृहत हितमा हुनेछ ।’

    केसीले ३ बुँदे माग राखेर पशुपति क्षेत्रको मृगस्थलीमा अनशन सुरु गरेका छन् । उनका अन्य मागमा सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने पनि रहेको छ ।

    केसीले सुदूरपश्चिमको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने, गण्डकी र मधेश प्रदेशका साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज वा प्रतिष्ठान निर्माण गर्न पनि माग गरेका छन् ।

    त्यस्तै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी ऐन तुरुन्त पारित गर्न माग गरेका छन् । केसीले गौरीबहादुर कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरुलाई कारबाही गर्न पनि माग गरेका छन् ।

  • कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : ओली

    कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाए । ‘नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति, होइन, सत्ता रुवार्थमा चुर्लुम्म भएको शक्ति हो’, उनले भने । कांग्रेसले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएको विषय उठाउँदै ओलीले आफू आरोप लगाउने तर आरोपको खण्डन गर्न नदिनु लोकतन्त्र नभएको बताए ।

    ‘कांग्रेस संसद चल्न दिन्न भन्छ किन ? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ, आरोपित मान्छेले बोल्छु भन्दा बोल्न दिँदैन । आरोपलाई खण्डन गर्छु भन्दा दिँदैन, यस्तो लोकतन्त्र हुन्छ कहीँ ?’, ओलीले प्रश्न गरे । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्न माग गरेको छ । संसदीय छानबिन नभएसम्म संसद अवरोध गर्ने र गृहमन्त्रीलाई संसदमा बोल्न नदिने अडान लिएको छ ।

    उनले अहिलेको सत्ता गठबन्धन बन्न नदिने कोशिस भएको र अहिले बनिसकेपछि अटाउन कोशिस भइरहेको टिप्पणी गरे । ओलीले काठमाडौंको १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित हासिल भएको भन्दै यो एमालेका लागि नसुहाउने बताए । उनले आगामी निर्वाचनसम्म यो अवस्थालाई बदल्न नेता कार्यकर्तालाई निर्देशन दिए । ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका १० क्षेत्रका एमाले उम्मेदवारमध्ये क्षेत्र नं ९ मा कृष्णगोपाल श्रेष्ठ मात्र निर्वाचित भएका थिए ।

  • सगरमाथामा तयार भयो नयाँ सिजनको बाटो

    सगरमाथामा तयार भयो नयाँ सिजनको बाटो

    काठमाडौं । सगरमाथा चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार आइसफल डाक्टर र सहयोगीको टोली २८ वैशाश शुक्रबारको दिन राती ८ बजेर १५ मिनेट जाँदा चुचुरोसम्म पुगेका छन् । टोलीमा १० जना सहभागी थिए । शुक्रबार बिहान ५ बजेबाट सगरमाथाको चौथो शिविरबाट बाटो बनाउन थालिएको थियो । चुचुरोसम्म डोरी टाँगने तथा बाटो बनाउने काम सम्पन्न भएसँगै अब आरोहीका लागि सगरमाथा चुचुरो चुम्ने बाटो खुला भएको छ ।

    यस पटक सेभेन समिट प्रालिले बाटो बनाउने कामको जिम्मेवारी पाएको थियो । यस टोलीको प्रमुख दोलखाका डेन्डी शेर्पा थिए । उनको साथमा सोलुखुम्बुका तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा रिन्जे शेर्पा, दावा शेर्पा, पाम दोर्जि शेर्पा, सुक बहादुर तामाङ, नामग्याल दोर्जे तामाङ र लाक्जा रिन्जी शेर्पाले सफल आरोहण समेत गरेका छन् ।

  • कुवेती राजाले गरे संविधान निलम्बन, संसद भंग

    कुवेती राजाले गरे संविधान निलम्बन, संसद भंग

    काठमाडौं । कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले संविधान र संसद दुबै भंग भएको घोषणा गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंग र संविधान निलम्बनको घोषणा भएको हो । अमिरले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षहरूको अध्ययन गरी चार वर्षभन्दा बढी अवधिका लागि संविधानका केही धारा निलम्बन गरिएको जनाएका हुन् ।

    अब राष्ट्रिय सभाको शक्ति अमिर र मन्त्रिपरिषद्ले ग्रहण गर्ने सरकारी टिभीले जनाएको छ । कुवेत, हालै केही कठिन समयबाट गुज्रिरहेको छ । ‘देश बचाउन र यसको उच्चतम हितहरू सुरक्षित गर्न कठिन निर्णय गर्न हिचकिचाहट वा ढिलाइको लागि कुनै ठाउँ छोडिन्न’, अमिरले भनेका छन् ।

    उनले देश बचाउन कठोर निर्णय लिएको बताएका छन् । ‘हामीले असह्य कठिनाइ र अवरोधहरूको सामना गर्‍यौं। केहीले अमिरको शक्तिको मूल भागमा हस्तक्षेप गर्नसम्म पुगेका छन्,’ उनले सम्बोधनमा भनेका छन् ।

    अमिरका लागि सुरक्षित रहेको युवराज छनोटमा समेत केहीले हस्तक्षेप गर्न चाहेको बताएका छन् । ‘विगतका वर्षहरूमा देशले अनुभव गरेको अस्वस्थ वातावरणले भ्रष्टाचार फैलाउन प्रोत्साहित गरेको छ । भ्रष्टाचार राज्यका अधिकांश क्षेत्रमा पुगेको छ, अमिरले भनेका छन् ।

  • इपिएसमा साढे ५ हजार विद्यार्थी उत्तिर्ण

    इपिएसमा साढे ५ हजार विद्यार्थी उत्तिर्ण

    काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जान भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ ।

    सो शाखाका अनुसार उत्पादनतर्फ पहिलो चरणको परीक्षामा सहभागी ४० हजार ५८० जना सहभागी भएका थिए । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सय हो । सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।

    सो शाखाका अनुसार भाषा र सिप परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने गरी नाम नम्बर सार्वजनिक गरेको छ । स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुव्रmराज ट्रपिकल अस्पताल टेकुु, नेपाल कोरियामैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मीनभवन तोकिएको इपिएस शाखाले जनाएको छ ।

    पहिलो चरणको सिप परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशोधन विभागले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ । गएको फागुुन २७ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको एचआरडीले वैशाख ९ गतेदेखि १५ सम्म सिप परीक्षा सञ्चालन गरिएको थियो । इपिएस शाखाले कोरियन भाषा र सिप परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रव्रिmयामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ ।

    कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार सिप परीक्षाको नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने सो शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । उनले भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार छनोट गरेर पठाउने योजना रहेको बताइन् । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

    दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ । २०२३ सालमा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकामा २०२४ सालको हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् ।

    यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । विगतको वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकोले देशभर आंशिक बदली भई वर्षा भएको हो ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    आज राति मुलुकभर आंशिकदेखि साधारणतया बदली हुने तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । आगामी २४ घण्टामा मुलुकका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।

    देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • चतराधाममा लाग्ने कुम्भ मेला सम्पन्न, करीव ४० लाख गरे दर्शन

    चतराधाममा लाग्ने कुम्भ मेला सम्पन्न, करीव ४० लाख गरे दर्शन

    काठमाडौं । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको थियो । मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए । मेला आयोजना गर्न सङ्घीय सरकारले ७० लाख र प्रदेश सरकारले ५५ लाख प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।

    कुम्भस्नान गर्न जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुगेका थिए । प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ ।

  • केजरीवाल जमानतमा रिहा

    केजरीवाल जमानतमा रिहा

    काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ। उक्त अदालतका दुई जना न्यायाधीशहरू सम्मिलित एक इजलासले उनलाई अन्तरिम जमानत दिने निर्णय गरेको हो। आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुनः उपस्थित हुनुपर्ने छ। केजरीवाललाई गत मार्च २१ तारिखदेखि हिरासतमा राखिएको छ।

    अदालतको निर्णय अनुसार अब उनले जुनसम्म लोकसभा चुनावका लागि प्रचारप्रसार गर्न पाउने छन्। अन्तरिम जमानत दिँदै अदालतले उनको गिरफ्तारीलाई चुनौती दिने खालका सबै मामिलाहरूको सुनुवाइ चाँडै सक्ने पनि जनाएको छ। अदालतको आदेशमा भनिएको छ, हामी चाँडै नै यो सुनुवाइ गरेर यो मामिला टुङ्ग्याउनेछौँ। हालसम्म उक्त आदेशको लिखित विवरण प्राप्त भएको छैन। उक्त विवरण प्राप्त भएपछि मात्र त्यसमा उल्लेख गरिएका सर्तहरूबारे थाहा हुनेछ।

    अदालतले जमानतसम्बन्धी आदेश दिइएको पत्र जेल अधिकारीहरूलाई पठाउन भनेको छ। त्यसो गर्दा उनी चाँडै रिहा हुने सम्भावना रहन्छ। सन् २०२२ को अगस्टमा दर्ता गरिएको मामिलामा केजरीवाललाई डेढ वर्षपछि मात्र गिरफ्तार गरिएको अदालतले जनाएको थियो। न्यायाधीश सञ्जीव खन्नाले भने, गिरफ्तार पहिले नै वा (चुनाव) पछि पनि गर्न सकिन्थ्यो। एक्काइस दिनमै केही फरक पर्दैन थियो।

    केजरीवालको पक्षमा मुद्दा लडिरहेका शादान फरासतले सञ्चारमाध्यमहरूसँग भने, अदालतले संक्षिप्त आदेश दिएको छ। हामीले अहिलेसम्म लिखित आदेश पाएका छैनौँ। उक्त आदेश वेबसाइटमा राखिन्छ भन्ने हामीलाई लागेको छ। अन्तरिम आदेशमार्फत् अदालतले अरविन्द केजरीवाललाई अन्तरिम राहत दिइरहेको छ भन्ने सङ्केत गरेको छ। उनका अनुसार यो आदेश जुन २ तारिखसम्म कायम रहनेछ। त्यो भनेको भारतमा संसदीय निर्वाचनको समय हो।

    त्यस्तै अदालतले उनलाई चुनाव प्रचारप्रसार गर्न कुनै खालको रोक लगाएको छैन। आदेशमा उनले के गर्न पाउने वा नपाउने भन्ने कुनै विषयबारे उल्लेख नगरिएको पनि उनले बताए। अन्य विषयबारे आदेश पूरा हेरेपछि मात्र थप बताउन सकिने केजरीवालका वकिलको भनाइ छ।

    BBC

  • संसदमा कांग्रेसको अवरोध

    संसदमा कांग्रेसको अवरोध

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । शुक्रबार बोलाइएको पहिलो बैठकमा सुरुमै उठेका कांग्रेस सांसदहरु सांसद गगन थापा बोलिसकेपछि नाराबाजीमा उत्रिएकृा थिए । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि सुरु बैठकमा समेत कांग्रेस नाराबाजीमा उत्रिएको थियो ।

    बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिएका थिए । रोष्टममा जान अगाडि बढेका उनलाई कांग्रेस सांसदहरूले रोकेका थिए । त्यसपछि सभामुखले संसद बैठक १ जेठसम्मका लागि स्थगित गरेका छन् ।

  • कांग्रेसलाई रविको चूनौति: प्रमाणित गर्नुस

    कांग्रेसलाई रविको चूनौति: प्रमाणित गर्नुस

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिएका छन् ।
    शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए ।

    संसद् बैठकपछि सञ्चारकर्मीहरू कुरा गर्दै गृहमन्त्री लामिछानेले यो प्रमाणित गर्न चुनौती दिए । ‘गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न तयार हो ?’ लामिछानेले थापालाई भनेका छन् ।

    उनले आफूलाई एक पटक सदनमा बोल्न दिन माग गरे । आफू तयारीका साथ आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले भने, ‘के जनताको प्रतिनिधिले २ महिनासम्म आरोपहरू लागिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने अवसर पाउँदैन ?’

  • संसदमा रविविरुद्ध आक्रामक गगन

    संसदमा रविविरुद्ध आक्रामक गगन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी अनियमिततामा गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् । आक्रामक रुपमा संसदमा प्रस्तुत भएका उनले यस्तो बताएका हुन् । समिति गठनको माग गर्दै कांग्रेसले शुक्रबार दुई पटक बसेको संसद बैठक अवरुद्ध गरेको थियो ।

    बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रवि लामिछानेले आफूले ऋण लिएको प्रमाणित गर्न कांग्रेस महामन्त्री थापालाई चुनौती दिएका थिए । आफूले ऋण लिएको प्रमाणित गरे राजनीति छाड्ने र प्रमाणित नभए राजनीति छाड्न तयार हो भनेर थापालाई प्रश्न गरको थिए । कांग्रेस महामन्त्री थापाले पनि सबै चुनौती स्वीकार गर्न तयार रहेको बताएका छन् ।

    सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि, गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस् ।’

    गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर जे-जे प्रमाण लुकाउनुपर्ने हो, लुकाइससकेको उनको दाबी छ । त्यसेले अब कांग्रेसले उनको राजीनामा पनि नमाग्ने भन्दै उनले भने, यति प्रमाण छ कि पुष्टि हुन्छ भन्ने विश्वास छ ।’अब संसदीय समिति नबनेसम्म संसद नचल्ने थापाले बताए । साथै पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘सडकमा आउँछ, त्यसअनुसार सामाना गर्न सरकारले तयार हुनुपर्छ ।’

  • संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै, कांग्रेसको रणनीति के ?

    संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै, कांग्रेसको रणनीति के ?

    काठमाडौं । संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ। प्रतिनिधि सभाको बैठक दिउँसो २ संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । शुक्रबार अधिवेशनको पहिलो दिन सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पनि कार्यसूची छ।

    सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० अनुसार सभामुखले बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जानकारी दिएको छ।

    बजेट अधिवेशन सुरू भएको सन्दर्भमा शुक्रबार दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची रहेको पनि संसद सचिवालयले बताएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्।

    त्यस्तैउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि संसद सचिवालयले जानकारी दिएको छ। संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने, नगर्नेमा भन्ने अन्यौल छ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ। सत्ता पक्ष भने संसदीय छानबिन बनाउनु नपर्ने भन्दै आफ्नो अडानमा यथावत छ। अघिल्लो अधिवेशनमा कांग्रेसले गृहमन्त्रीलाई संसदमा बोल्न अवरोध गर्दै आएको थियो।

    यसबीचमा सभामुख घिमिरेले संसदलाई निर्बाध सञ्चालन गर्ने विषयमा सर्वदलीय छलफल पनि राखेका थिए। सभामुखको कार्यकक्षमा भएको छलफल दलहरू आ-आफ्नो अडानमा यथावत रहेकाले निष्कर्षमा पुग्न सकेको थिएन।

  • उच्च लयमा रहेको बेंगलुरूले पञ्जाब किंग्सलाई हरायो

    उच्च लयमा रहेको बेंगलुरूले पञ्जाब किंग्सलाई हरायो

    काठमाडौं । रोयल च्यालेञ्जर्स बेंगलुरूले पञ्जाब किंग्सविरूद्ध सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा बेंगलुरूले पञ्जाबामाथि ६० रनको सानदार जित निकालेको हो। बेंगलुरूले दिएको २४२ रनको लक्ष्य पछ्याएको लखनउ १८१ रन बनाएर १७ ओभरमा अल आउट भयो।

    पञ्जाबका लागि रिली रोसोले सर्वाधिक ६१ रन बनाए। उनले २७ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै सशांक सिंहले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए भने जोनी बैर्स्टोले १६ बलमा ४ चौका र १ छक्का प्रहार गरी २७ रनको योगदान गरे। कप्तान साम करण १६ बलमा २ चौका प्रहार गरी २२ रन बनाएर आउट भए। ओपनर प्रवशिमरन सिंह ६ रनमा, जितेश शर्मा ५ रनमा, लियम लिभिङस्टोन शून्यमा, आशुतोश शर्मा ८ रनमा, अर्शदीप सिंह ४ रनमा र हर्षल पटेल शून्यमा आउट भए।

    ५ रन बनाएर राहुल चाहर नट आउट रहे। पञ्जाबलाई अल आउट गर्ने क्रममा बेंगलुरूका मोहम्मद सिराजले ३ तथा स्वप्निल सिंह, लकी फर्गुशन र कर्ण शर्माले २र२ विकेट लिए। पहिले ब्याटिङ गरेको बेंगलुरूले २० ओभरमा ७ विकेट गुमाएर २४१ रनको विशाल योगफल तयार गरेको थियो।

    त्यस क्रममा ओपनर विराट कोहलीले ९२ रन बनाए। उनले ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। रजत पाटीदारले २३ बलमा ३ चौका र ६ छक्का प्रहार गरी ५५ रन जोडे। क्यामरून ग्रीनले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४६ रनको योगदान दिए। दिनेश कार्थिकले ७ बलमा १ चौका र २ छक्का प्रहार गरी १८ रन बनाए। कप्तान फाफ डु प्लेसिस ९ रनमा आउट भएका थिए।

    बलिङतर्फ पञ्जाबका हर्षल पटेलले ३ विकेट, विद्वथ काभेरप्पाले २ तथा अर्शदीप सिंह र साम करणले १–१ विकेट लिए। लिग चरणका दुई खेल बाँकी रहँदा बेंगलुरू १० अंक जोडेर सातौं स्थानमा छ। पञ्जाब ८ अंकसहित नवौं स्थानमा छ।

  • भारतको निर्वाचनले कैलालीमा आजबाट सीमा नाका बन्द

    भारतको निर्वाचनले कैलालीमा आजबाट सीमा नाका बन्द

    काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।
    जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए । नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ ।

  • माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता

    माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता

    काठमाडौं । भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक दिन अगाडि मालदिभ्सका विदेशमन्त्री मुसा जमिर विहीबार भारत भ्रमणमा आएका छन् ।


    यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरी मालदिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी गराएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइसकिएको छ । भारतको सरकारी आँकडा अनुसार मालदिभ्समा ८८ जना सैनिक थिए । मालदिभ्समा तीन विमानस्थलमा भारतीय सैनिकहरु तैनाथ थिए । उनीहरुले हिन्द महासागरमा पनि निगरानी गर्दथे ।

    ‘इण्डिया आउट’ चुनावी नारा दिएर सत्तामा आएका मुइज्जुले भारतीय सैनिकहरुलाई फिर्ता हुन १० मार्चदेखि १० मेसम्मको समयसीमा दिएका थिए । मालदिभ्सको मिहारु पत्रिकाका अनुसार एड्डु विमानस्थलमा २५ भारतीय सैनिक तैनाथ थिए । उनीहरु १० मार्चभन्दा अघि नै भारत फिर्ता भइसकेका थिए ।
    एड्डु विमानस्थलमा भारतका दुई हेलिकप्टर र एउटा हवाईजहाज छन् । तिनको सन्चालन अब गैरसैनिक कर्मचारीहरुले गर्ने छन् ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । आज कोशी, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ ।

    विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा बाँकी पहाडी भागका आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी र बागमती प्रदेशलगायत देशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशलगायत मुलुकका पहाडी भागका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    rss

  • स्रोत नखुलेका ९८ लाख रकमसहित दुई जना पक्राउ

    स्रोत नखुलेका ९८ लाख रकमसहित दुई जना पक्राउ

    काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

  • सरकारको नीति तथा कार्यक्रम १ जेठमा आउने

    सरकारको नीति तथा कार्यक्रम १ जेठमा आउने

    काठमाडौं । सरकारले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंगलबार दिउँसो ३ गते संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संविधान र कानूनको व्यवस्थाबमोजिम आगामी मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्‌को बैठकमा राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने जानकारी दिइन् ।

  • चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने

    चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने

    काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ। दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो। विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ। बैठकमा अर्थमन्त्री वर्षमान पुन सहभागी थिए। समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिने जानकारी दिइन्।

    पहिलो पटक ६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो। तर, ऐनको प्रभावकारी कार्यान्वयन नभएपछि सरकारले गत ४ चैतमा अर्थ मन्त्रालयमार्फत् राष्ट्रियसभामा ऐनको पहिलो संशोधन विधेयकसम्बन्धी प्रस्ताव दर्ता गराएको हो। राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधि सभामा पठाइन्छ। प्रतिनिधिसभाले प्रक्रिया पूरा गरेर पुनः राष्ट्रिय सभामा पठाएपछि विधेयक पारित हुन्छ। विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा लागू हुन्छ।

    ऐन कार्यान्यवनमा आएसँगै घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन पाइन्छ। अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमति प्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ।

    यसअघि बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिन्छ, अर्थमन्त्री पुनले भने। अब पशु, कृषि बाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खननका लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिने छ। सभापति राईले सरलीकृत रूपमा कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सहज होस् भन्ने उद्देश्यका साथ विधेयक आएको बताइन्।

  • संसदमा प्रस्तुत हुने विषयबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    संसदमा प्रस्तुत हुने विषयबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बोलाइएको छ । शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दै छ ।

    हिउँदे अधिवेशनमा कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको थियो । कांग्रेसले संसदीय समिति माग गरिरहँदा ३ वैशाखमा सरकारले हिउँदे अधिवेशन नै अन्त्य गरेको थियो ।


    शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पनि कांग्रेसले आफ्ना माग उठाउने जनाएको छ । विहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको थियो ।

  • लखनउ विरुद्ध हैदरावादका ओपनरको तुफानी इनिङ

    लखनउ विरुद्ध हैदरावादका ओपनरको तुफानी इनिङ

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराएको छ । बुधबार राति सम्पन्न खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो । हैदरावादका ओपनर ट्राभिस हेड ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन र अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाएपछि लखनउ निरिह देखियो । हैदराबादको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

    आयुष बडोनीले ५५, निकोलस पूरनले ४८, केएल राहुलले २९ र क्रुणाल पाण्ड्याले २४ रन बनाए । दोस्रो नम्बरका क्वेन्टन डे कक २ र मार्क्युस स्टोनिस ३ रनमै आउट भए । हैदरावादका भुवनेश्वर कुमारले २ र प्याट कमिन्सले एक विकेट लिए । जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । लखनउ छैटौं स्थानमा छ । लिग तालिकाको पहिलो स्थानमा कोलकाता नाइट्स राइडर्स र दोस्रो स्थानमा राजस्थान रोयल्स् रहेका छन् । पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोलीको अंक समान १६–१६ छ ।

  • कोशीमा नयाँ सरकार गठन गर्न आह्वान

    कोशीमा नयाँ सरकार गठन गर्न आह्वान

    काठमाडौं । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५)अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

    कोशीमा मुख्यमन्त्री केदार कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

    २६ चैतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । एमाले र माओवादीले आफूहरुले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्रीले २५ वैशाखसम्म प्रदेशसभामा विश्वासको मत लिनुपर्ने मत राख्दै आएका थिए । र प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने र नलिए २५ वैशाखपछि पदमुक्त हुने व्यहोराको संकल्प प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त संकल्प प्रस्ताव प्रदेशसभाले पारित पनि गरेको थियो ।

  • त्रिभुवन विमानस्थलभित्र भल पस्यो

    त्रिभुवन विमानस्थलभित्र भल पस्यो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासि भल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ । बुधबार १ बजेतिर परेको वर्षका कारण विमानस्थलको बोर्डिङ पास लिएर ह्यान्ड ब्याग सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थानमा भल पसेको थियो। यो दुई भवन (पुरानो र नयाँ) जोडिएको स्थान हो। यहाँको १० फिट भित्रैको स्थानमा पहिले ओरालो, त्यसपछि सम्म र फेरी ओरालो स्थान छ। यही ठाउँमा जमेको पानी निस्किने ठाउँ नभएपछि यात्रु तथा कर्मचारीहरूलाई केही समय समस्या भएको जनाइएको छ ।

  • राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न माग

    राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न माग

    काठमाडौं । एक सयको नोटमा संविधानमा उल्लेखित नक्सा (चुच्चे) राख्ने सरकारी निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार डा. चिरञ्जीवी नेपालले विरोध जनाएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिले उनलाई पदबाट बर्खास्त गर्न माग गरेका छन्।

    नागरिकहरूको एक समूहले नेपाललाई सल्लाहकार पदबाटै बर्खास्त गर्न माग गरेको छ। पूर्वमन्त्री एवं भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य, पूर्वप्रशासक सूर्यनाथ उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल र पत्रकार कनकमणि दीक्षितले एक विज्ञप्ति जारी गरी नेपालको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै तत्कालै पदबाट हटाउन माग गरेका छन्।

    नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर पनि हुन्। बैशाख २४ गते बीबीसी नेपाली सेवासँगको कुराकानीमा पनि सरकारको उक्त निर्णयलाई ‘लहड’को संज्ञा दिएर सार्वभौमिकताबारे थप अपरिपक्व टिप्पणी गरेको उनीहरूको भनाइ छ।

    “सीमा नाघेका यस्ता सार्वजनिक अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखको पदको गरिमामा चोट पुर्‍याएको छ। राष्ट्रपति कार्यालय माैन रहेको अवस्थामा सरकारको निर्णयलाई ‘अन्तर्राष्ट्रिय मान्यता विपरीत’ र ‘अविवेकी’ भन्ने सल्लाहकार नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पाैडेलकै तर्फबाट आएको भनी हामी बुझ्न बाध्य छाैँ,” वक्तव्यमा भनिएको छ, “राष्ट्रपति संस्थाको गरिमालाई कायम राख्न हामी अविलम्ब राष्ट्रपति कार्यालयबाट माग गर्दर्छौँ, साथै सल्लाहकार चिरञ्जीवी नेपाललाई तत्कालै पदबाट हटाउन माग गर्दर्छौँ।”

    अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नयाँ नोट मुद्रणमा स‌ंविधानमा उल्लेखित नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै भारतका विदेशमन्त्री एस जयशंकरले नेपाल सरकारको एकपक्षीय निर्णयले भौगोलिक अवस्था नबदलिने अभिव्यक्ति दिएका थिए।

  • आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइँदै

    आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइँदै

    काठमाडौं । बुधबार मातातीर्थ औंसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ।

    धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ। आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।

    आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ। आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका स्थानीय नवीन न्यौपानेले राससलाई बताए। मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ।

    मातातीर्थ कुण्ड परिसरमा मङ्गलबार साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरेर रातभर जागा रहेका जानकारी दिँदै उनले मातातीर्थ संरक्षण तथा विकास संस्थाले मेला व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको बताए।
    रासस

  • राजस्थानलाई दिल्लीले रोक्यो, रोमान्चक बन्दै प्ले अफ यात्रा

    राजस्थानलाई दिल्लीले रोक्यो, रोमान्चक बन्दै प्ले अफ यात्रा

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ । दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो । कप्तान सन्जु सामसनले ८६ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । रियान प्रयागले २७, शुभम दुबेले २५ रन, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन बनाए । ओपनर यशस्वी जैसवाल भने ४ रनमै आउट भए ।

    दिल्लीलाई जिताउन खलिल अहेमद, कुलदीप यादव र मुकेश कुमारले समान २–२ विकेट लिए भने अक्षर पटेल र रसिक सलामले एकरएक विकेट लिए । यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ६५, जेक फ्रेजर मैकगर्कले ५०, ट्रिस्टान स्टुब्स्ले ४१ रन बनाए । यस्तै, गुलबदनले १९, अक्षर पटेल र ऋषभ पन्तले १५–१५, रसिक सलामले ९ र कुलदीप यादवले ५ रन जोडे ।

    राजस्थान रोयल्सका रविचन्द्र अश्वनीले तीन, युजभेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक–एक विकेट लिए । यो जितसँगै दिल्ली १० अंकका लखनउलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ । पराजित भए पनि राजस्थानमा भने १६ अंकका साथ दोस्रो स्थानमै छ । समान १६ अंक भएको कोलकाता नाइटराइडर्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ ।

  • युक्रेनका राष्ट्रपतिको हत्या प्रयास विफल पारेको दावि

    युक्रेनका राष्ट्रपतिको हत्या प्रयास विफल पारेको दावि

    काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्या गर्ने षडयन्त्रलाई विफल पारेको युक्रेनी अधिकारीहरुले दावि गरेका छन् । जेलेन्सीको हत्या षडयन्त्रमा संलग्न भएको आरोपमा युक्रेनी सेनाका दुई जना कर्णेललाई पक्राउ गरिएको छ । उनीहरुमाथि राज्यद्रोह आतंकवादसम्बन्धी अभियोग लगाइएको छ । युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)का अनुसार जेलेन्स्कीको हत्या गर्ने उद्देश्यले उनका अङ्गरक्षकहरुसम्म पुग्ने र प्रभावमा पार्ने कोसिसमा रुसको गुप्तचर निकाय (एफएसबी)को सन्जाल सक्रिय थियो । उक्त सन्जालको लागि जासुसी गरेको आरोप ती कर्णेहरुलाई लगाइएको छ ।

    रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै जेलेन्स्कीको हत्याको षडयन्त्र भइरहेको समाचार सार्वजनिक हुने गरेका थिए । तर बहालवाला कर्णेल नै जेलेन्स्कीको हत्याको षडयन्त्रमा संलग्न भएको भन्ने आरोपसहितको समाचार बीबीसीले लेखेको छ । रुसले युक्रेनका सैनिक जासुसी निकाय प्रमुख किरिलो बुदानोभ र सेक्युरिटी सर्भिसका प्रमुख भासु म्यालुयकको पनि हत्या योजना बनाएको एसबीयुले जनाएको छ । बुदानोभको हत्या योजना इशाई धर्मावलम्बीहरुको पर्व ईस्टरको अघिल्लो दिन बनाइएको थियो ।

    त्यसका लागि रुसले एन्टी ट्यांक मिसाइल समेत उपहारस्वरुप पठाएको थियो । उक्त हतियार बरामद गरिएको हत्या योजना विफल पारेको युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)ले जनाएको छ ।

  • सुहाङले सांसद पदको सपथ लिँदै

    सुहाङले सांसद पदको सपथ लिँदै

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

    अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङले जित हासिल गरेका थिए ।

  • नुवाकोटमा सवारी दुर्घटना, २ जनाको मृत्यु

    नुवाकोटमा सवारी दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । देवीघाटबाट काशीटारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र वाग्मती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा काठमाडौँ बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको प्रहरीको भनाइ छ । उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

    घाइते दुई जनालाई उपचारका लागि काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सुनिल पौडेललाई ९ वर्ष जेल सजाय तोकियो

    सुनिल पौडेललाई ९ वर्ष जेल सजाय तोकियो

    काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनील पौडेललाई भ्रष्टाचार कसूरमा नौ वर्ष कैद सजाय तोकेको छ। यसका साथै २३ करोड २७ लाख ५८ हजार बिगो भराउने र बिगो बराबर थप जरिवाना हुने फैसला सुनाएको छ। यसअघि गत वैशाख ७ गते पौडेललाई दोषी ठहरिएको थियो । त्यति वेला २३ करोड २७ लाख ५८ हजार रुपैयाँमा गेटवेको परामर्श सेवा तथा सफ्टवेयर खरीद गरिएको थियो। संस्थाको नेतृत्वको हैसियतमा रहेका पौडेलले लापरवाहीपूर्वक सञ्चालनमा नल्याएर राज्यलाई हानि पुर्‍याएको विशेष अदालतको ठहर छ।

    अन्य आठ जनालाई भने सफाइ दिइएको थियो। पौडेललाई पूर्वाधार नै नबनाई अस्वाभाविक लागत तयारी गरी पेमेन्ट गेटवे खरीद गरेर अपचलन गरेको अभियोग लागेको थियो। पौडेल २०६१ जेठ २० गतेदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भई ०६२ माघसम्म कार्यरत रहेका थिए। ०६५ असारदेखि २०७५ साउनसम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियर काम गरका थिए भने २०७५ साउनदेखि २०७८ चैतसम्म नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक भएका थिए।