Category: समाचार

  • अमेरिकाबाट फिर्ता गरियो २४ कलाकृति

    अमेरिकाबाट फिर्ता गरियो २४ कलाकृति

    काठमाडौं । अमेरिकाबाट २४ वटा कलाकृतिहरु नेपाललाई फिर्ता गरिएको छ । अमेरिकाको हवाई राज्य निवासी सुसन ब्राडफोर्डले नेपालको पुरातत्व विभागलाई फिर्ता गरेकी हुन् । उनले कलाकृतिहरु वासिङटन डीसीस्थित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरेलाई हस्तान्तरण गरेकी हुन् ।

    दूतावासका अनुसार ब्राडफोर्डले व्यक्तिगत पहलमै उक्त कलाकृतिहरु नेपाल पठाउनका लागि हस्तान्तरण गरेको हो । ती कलाकृतिहरु १३ औं, १७ औं र १८ औं शताब्दीका रहेका छन् ।

    ती कलाकृतिहरुलाई ब्राडफोर्डले नै खर्च बेहोरेर नेपाल पठाउन लागिएको दूतावासले जनाएको छ । पहल गरेकोमा ब्राडफोर्डलाई दूतावासले धन्यवाद दिएको छ । दूतावासका अनुसार विगत एक वर्षको अन्तरालमा अमेरिकाबाट ६३ कलाकृतिहरु नेपाल पठाइएका छन् ।

  • आजबाट खुल्दैछ डीभीको नतिजा

    आजबाट खुल्दैछ डीभीको नतिजा

    काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

  • क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ

    क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ

    काठमाडौं । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ परेका छन् । ४५ वर्षिय हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह पक्राउ परेका हुन् । उनीहरु तीनदेखि पाँच वर्ष क्यानडामा रहेको प्रहरीले जनाएको छ ।

    सिख पृथकतावादी नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेपछि दुई देशबीच ठूलो कूटनीतिक विवाद उत्पन्न भएको बीबीसीले लेखेको छ । निज्जरको अघिल्लो वर्ष जुन १८ तारिखमा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको एक सिख मन्दिर बाहिर गोली हानी हत्या भएको थियो ।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारत सरकारको संलग्नता हुनसक्ने आरोप लगाएपछि त्यसबेलादेखि नै कूटनीतिक विवाद बढेको थियो । तर दिल्लीले यो आरोपलाई अस्वीकार गरेको छ । हत्यामा अरु पनि संलग्न हुन सक्ने र थप पक्राउ वा मुद्दा लाग्न सक्ने क्यानडाको प्रहरीले जनाएको छ ।

  • कोलकाता सामु मुम्बई निरिह

    कोलकाता सामु मुम्बई निरिह

    काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ । कोलकाताको यो मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बइ लिगबाट बाहिरिन अब औपचारिकता मात्रै बाँकी छ । १७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८।५ ओभरमा १४५ रनमा अल आउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, इशान किशन १३, रोहित शर्मा ११, तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए ।

    कोलकाताका मिचेल स्टार्कले ३।५ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २–२ विकेट लिए । त्यसअघि वानखडे स्टेडियम मुम्बइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९।५ ओभरमा १६९ रनमा अल आउट भयो । वेंकटेश ऐरले ५२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । मनिष पाण्डे ३१ बलमा २ चौका र २ छक्कासहित ४२ रघुवंशीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन भने बनाउन सकेनन् । फिलिप साल्ट ५, सुनिल नारायण ८, श्रेयस ऐर ६, रिंकुसिंह ९ र आन्द्रे रसेल ७ रनमा आउट भए ।

    मुम्बइका नुवान थुशरा र जस्प्रित बुमराहले ३(३ विकेट लिए । हार्दिक पान्ड्याले २ र पियुया चवालाले १ विकेट लिए । राजस्थान १० खेलमा ८ मा जितेर १६ अंकका साथ शीर्षस्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ । समान १० खेलमा १२(१२ अंकका साथ लखनउ तेस्रो र हैदराबाद चौथो स्थानमा छन् ।

    मुम्बइ ११ खेलमा ३ मा जितका साथ ६अंकका साथ नवौं स्थानमा छ । मुम्बइले अब तीन खेल खेल्न बाँकी छ । बाँकी तीनै खेलमा विजयी हुँदा पनि मुम्बइ १२ अंकमा मात्रै पुग्न सक्छ । तर, शीर्ष चारमा रहेर प्लेअफ खेल्न कुनै पनि टोलीलाई १२ अंक पर्याप्त हुँदैन । त्यसैले मुम्बइ लिगबाट बाहिरिन औपचारिकता मात्रै बाँकी छ ।

  • नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल

    नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल

    काठमाडौं । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ ।
    पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो । नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो पाएको थियो । यदि आज नेपालले टस जितेको खण्डमा पहिला ब्याटिङ गर्ने पक्का जस्तै छ ।

    नेपालले चौथो खेलमा विश्राम गरेका करण केसीले आज मौका पाउन सक्छन् । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट प्रदर्शन चाहन्छ । यस सिरिजमा कप्तान रोहित पौडेलले खेलेका तीन खेलमा ११२, ७१ र ८२ रन बनाएका थिए । रोहित बाहेक अन्य ब्याटरको प्रदर्शन आएको छैन । विश्वकप अघि नेपाल सबै ब्याटरबाट प्रदर्शन चाहन्छ । उता नेपाल भ्रमणमा आएका ओपनर जोनसन चाल्र्स, स्पिन अलराउण्डर गुणाकेश मोती र रोश्टन चेश वेष्टइण्डिजको टी–२० विश्वकप टोलीमा परेका छन् । सिरिज जितेको वेष्टइण्डिज विना दबाब खेल्नेछ ।

    नेपाली टोली यस खेलपछि आज राती नै वेष्टइण्डिज जाने कार्यक्रम छ । त्यहाँ केही अभ्यास गरेर नेपाल अमेरिका खेल्न आउनेछ । विश्वकप २ जुनदेखि सुरु हुनेछ । नेपालले ४जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

  • भारतका प्रधानन्यायाधीश पहिलो पटक नेपाल भ्रमणमा

    भारतका प्रधानन्यायाधीश पहिलो पटक नेपाल भ्रमणमा

    काठमाडौं । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड नेपालको तीन दिने औपचारिक भ्रमणमा शुक्रवार काठमाडौं आइपुगेका छन्। पदमा रहँदै भारतका प्रधानन्यायाधीश नेपाल आएको यो पहिलो पटक हो । भारतको न्याय प्रणालीमा कतिपय साहसी खालका निर्णय गरेका भनेर चिनिएका चन्द्रचूडको भारतमा आमनिर्वाचन जारी रहँदा भएको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    नेपालमा रहँदा उनले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने तथा दुई देशका न्यायपालिकाबीच सहकार्यबारे चर्चा गर्ने बताइएको छ। शुक्रवार काठमाडौं ओर्लिएका प्रधानन्यायाधीश चन्द्रचूडलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले स्वागत गरे। चन्द्रचूडले शनिवार राजधानी काठमाडौंमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने नेपालको सर्वोच्च अदालतले जनाएको छ।

    उनी शनिवार काठमाडौंमा केन्द्रीय बाल न्याय समितिले आयोजना गर्ने न्याशनल सिम्पोजिअम अन जुभिनायल जस्टिसका मुख्य वक्ता रहेका छन्। उक्त कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्। शनिवारै साँझ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उनीबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम छ ।


    त्यसै दिन नेपालका प्रधानन्यायाधीशले भारतका प्रधानन्यायाधीशको सम्मानमा रात्रिभोज आयोजना गर्ने छन्। चन्द्रचूडको भ्रमणका बेलामा नेपाल र भारतको न्यायिक क्षेत्रबीच एउटा समझदारीपत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम रहेको छ।

    त्यस्तो समझदारी गर्नका लागि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार वा रजिष्ट्रारलाई स्वीकृति दिने निर्णय बिहीवारको मन्त्रिपरिषद्‌को बैठकले निर्णय गरेको थियो। दुई देशका सर्वोच्च अदालतबीच हुने समझदारीले न्यायिक क्षेत्रमा पनि सहकार्यको ढोका खोल्ने नेपाली अधिकारीहरूले बताएका छन्। उक्त भ्रमण दलमा भारतका चन्द्रचूडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि आएका छन्। चन्द्रचूड नेतृत्वको भारतीय टोली आगामी आइतवार स्वदेश फर्कनेछ।

  • यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द

    यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ । संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला चेतावनी जारी गरिएको थियो । पछिल्लो केही दिनदेखि युएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ ।

    यसै क्रममा सबै क्षेत्रका मानिसलाई सुरक्षाका उपायहरू अपनाउन सल्लाह दिइएको छ । विद्यालयहरू दूर शिक्षामा छन् भने कम्पनीहरूलाई घरबाटै काम गर्न अनुमति दिन आग्रह गरिएको छ । पार्क तथा समुद्र तटहरू बन्द गरिएका छन् । खालिज टाइम्सका अनुसार दुबईले इमिरेटमा अस्थिर मौसमका कारण मे २ र ३ मा सरकारी कर्मचारीहरूका लागि घरबाट काम गर्ने घोषणा गरेको थियो ।

    युएईको विपद् व्यवस्थापन प्राधिकरणले आगामी मौसमी अवस्थालाई सामना गर्न तयारी दोहोर्‍याएको छ । सम्बन्धित एजेन्सीहरू उपायहरू कार्यान्वयन गरेर पूर्वानुमानित मौसमको उतारचढाव सामना गर्न तयार रहेको उल्लेख गरिएको छ । यसअघि एनसिएम विज्ञले आगामी मौसमको अवस्था अप्रिल १६ को जस्तो नहुने अनुमान गरेका छन् । अधिकारीहरूले आवश्यक सावधानीका उपायहरूबारे छलफल गरेका छन् ।

    युएईले विद्यार्थीहरूले विद्यमान मौसमको कारण मे २ र ३ मा देशका सबै सरकारी विद्यालयहरूका लागि अनलाइन कक्षा लिने घोषणा गरेको छ । सरकारले सम्भावित अस्थिर मौसमी अवस्थाका कारण दुबईका सबै निजी विद्यालयमा मे २ र ३ मा अनलाइन सिकाइ हुने घोषणा गरेको छ । ज्ञान तथा मानव विकास प्राधिकरण ९केएचडिए० ले यो निर्णय सबै निजी विद्यालय, नर्सरी र विश्वविद्यालयमा लागु हुने घोषणा गरेको छ ।

    दुबई विमानस्थलका लागि पाँचवटा इनबाउन्ड उडान रातारात डाइभर्ट गरेको नौ आगमन तथा चार आउटबाउन्ड उडान रद्द गरेको विमानस्थलका प्रवक्तालाई उद्धत गर्दै खालिज टाइम्सले जनाएको छ । विमानस्थलका प्रवक्ताले भन्नुभयो, “दुबईको विमानस्थलबाट प्रस्थान गर्नेहरूलाई लागि थप समय छुट्याउन सल्लाह दिइएको छ । सडक भीडभाडको पूर्वानुमान गर्दै सम्भावित टर्मिनल १ र ३ मा पुग्न दुबई मेट्रोको उपयोग गर्न दृढतापूर्वक प्रोत्साहित गरिएको छ ।”

    इमिरेट्सले बिहीबार युएईभर खराब मौसमका कारण धेरै उडान रद्द गरी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन कम गरेको छ । एक विज्ञप्तिमा मे २ मा दुबई विमानस्थलबाट आगमन–प्रस्थान गर्ने उडानहरू पुनःर्निर्धारित भएका कारण केही ढिलाइ हुनसक्ने उल्लेख गरिएको छ ।

    फ्लाईदुबईका प्रवक्ताले बिहीबार दुबईमा प्रतिकूल मौसमका कारण उडान सञ्चालनमा केही ढिलाइ भएको बताएको खालिज टाइम्सले उल्लेख गरेको छ । उहाँले यात्रुहरूलाई डीएक्सबीको यात्राका लागि अतिरिक्त समय दिन सल्लाह दिनुभयो ।

    शारजहास्थित एयर अरेबियाले अबुधाबी, शारजाह र रास अल खैमाहबाट उडान गर्ने यात्रुहरूलाई मौसमको अवस्थाका कारण विमानस्थलमा थप यात्रा समयको योजना बनाउन सल्लाह दिएको छ । अबुधाबीस्थित इत्तेहाद एयरवेजले जायद अन्तर्राष्ट्रिय विमानस्थल र दुबईबीचको इत्तेहाद बस सेवा प्रयोग गर्ने यात्रुहरूलाई विमानस्थलमा पुग्न थप समय दिन तथा स्थानान्तरणका लागि चाँडै जाँच गर्न आग्रह गरेको छ ।

    इन्डियन एयरलाइन्स इन्डिगोले दुबई, शारजाह, रास अल खैमाह र अबुधाबीमा खराब मौसमका कारण उडान सञ्चालन प्रभावित भएको बताएको छ । भिस्तारा र स्पाइसजेटले पनि खराब मौसमका कारण प्रस्थान, आगमन र उडानमा असर पर्ने बताएका छन् । रासस-एएनआई

  • करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

    करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
    बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए ।

    राजस्वका दर हेरफेर गर्दा सरोकारवालासँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो । ‘करका दर घटाउने, बढाउने, विस्तार गर्ने वा छुट दिने जे गर्दा पनि विगतमा अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ’, मन्त्री पुनले भने, ‘मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका अधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन भन्ने हाम्रो प्रतिबद्धता हो ।’उनले कुन वस्तुमा पहिला कति थियो र अहिले किन घटाइयो वा बढाइयो भन्ने तर्कपूर्ण कारण देखाएर करका दरमा हेरफेर गरिने बताए ।

    आफूले सरकारवालाको सहभागितामा बजेट बनाउन लागेको भन्दै मन्त्री पुनले यसअघि पूर्वअर्थमन्त्री, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, पूर्वअर्थसचिव, पूर्वाधार , स्वास्थ्य र शिक्षा क्षेत्रका विज्ञसँग छलफल गरी सुझाव संकलन गरिसकेको उल्लेख गरे । निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स र महिला उद्यमीसँग पनि छिट्टै छलफल गर्ने तय भएको जानकारी मन्त्री पुनले दिए ।

    मुलुकको भू–अवस्थिति, प्राकृतिक श्रोत र जनशक्तिका आधारमा विकासका योजना बनाउने सरकारको नीति रहेको बताए । सरकारको नीति र नीतिगत निरन्तरताका कारण पर्यटन, ऊर्जा र सिमेन्ट उद्योगमा नेपालमा पछिल्लो डेढ दशकमा राम्रो प्रगति गरेको चर्चा गर्दै युवा वर्गलाई लक्षित गरी सूचना प्रविधि क्षेत्र, स्टार्टअप र नवप्रवर्तनलाई आगामी दिनमा प्राथमिकतामा राख्ने नीतिमा सरकार रहेको उनको भनाइ थियो ।

    एक अध्ययनले आगामी ५ वर्षमा सूचना प्रविधिका ५ खर्ब बराबरका उत्पादन निर्यातको सम्भावना औंल्याएकाले उक्त क्षेत्रको सम्भावनालाई व्यक्त गर्ने भनाइ मन्त्री पुनको छ । पछिल्लो तीन दशकमा नेपालको सरदर आर्थिक वृद्धि ४. २३ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले त्यसको कारण सबै मिलेर खोज्नुपर्ने बताए । विशाल विशाल जनसंख्या र ठूलो अर्थतन्त्र भएका भारत र चीनको बीचमा रहेको भन्दै उनले दुवै छिमेकीको गरेका विकासको प्रतिफल लिन सक्नुपर्नेमा जोड दिए ।

    नेपालभित्रै र बाहिर रहेका युवाहरुमा सूचना प्रविधि क्षेत्रमा आकर्षण देखिएको भन्दै मन्त्री पुनले लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले ल्याएको अध्यादेशमा नेपालमा लगानी गरेर आर्जन गरेको धन बाहिर लैजान र बाहिर आर्जन गरेको नेपाल ल्याउन दिने व्यवस्था गरिएको जानकारी उनले दिए ।

  • एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

    एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

    काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार एक सय रुपैयाँको नयाँ नोटको डिजाइन परिमार्जन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । एक सय रुपैयाँको नोटमा यसअघि नेपालको पुरानो नक्सा थियो ।

    भारत अधीनस्थ रहेको कालापानी–लिपुलेक क्षेत्र समेटेर सरकारले बनाएको चुच्चे नक्सालाई विसं २०७७ सालमा संघीय संसद्‌ले अनुमोदन गरेको थियो ।

  • एक वर्षको अवधिमा विपद्‌बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति

    एक वर्षको अवधिमा विपद्‌बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति

    काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरूबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारण करिब १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।

    उनले यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्‌बाट ६३ जना र आगलागीबाट २६ जना नेपाली नागरिकको मृत्यु भएको पनि बताए । एक वर्षमा सडक दुर्घटनाबाट १ हजार ५ सय ४७ जनाको मृत्यु भएका र ४ हजार १४७ जना गम्भीर घाइते भएका उनले उल्लेख गरे ।

    सचिव अर्यालले विपद्‌बाट विगत दश वर्षमा ४१ अरब ६० करोड रुपैयाँको क्षति भएको पनि बताए । त्यस्तै दश वर्षको अवधिमा २२ हजार ८२२ जनाको सडक दुर्घटनामा मृत्यु भएको र ४८ हजार ६१६ जना घाइते भएका पनि उनले बताए ।

    डढेलो प्रभावितहरूलाई प्रमुख जिल्ला अधिकारीमार्फत १५ देखि २० हजार रुपैयाँ उपलब्ध गराइराखिएको र अस्थायी आवास बनाउनका लागि कार्यविधिलाई संशोधन गरेर ५० हजार रुपैयाँ दिइने पनि उनले बताए ।

    उनले भने, ‘प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारणले कुल गार्हस्थ्य उत्पादनमा पनि ह्रास भएको छ। राहत, उद्धार र अरु कामहरुमा खर्च गर्नुपर्ने र विकास निर्माणमा खर्च गर्न नसक्ने अवस्थाले गर्दा विपद् नेपालको लागि चुनौतीको विषय भएको छ। २०७० सालदेखि २०७९ सम्म करिब १० वर्षको आकलन हेर्ने हो भने ४१ अर्ब ६० करोड क्षति भएको अनुमान छ।’

  • रङ्ग्याइँदै रातो मच्छिन्द्रनाथको मूर्ति

    रङ्ग्याइँदै रातो मच्छिन्द्रनाथको मूर्ति

    काठमाडौं । अर्को साता मच्छिन्द्रनाथको रथारोहणको साइत रहेकाले रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउन सुरु गरिएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रापूर्व मूर्तिलाई लगनखेलमा राखी विधिवत् रुपमा नुहाइदिने प्रचलन छ । त्यसपछि मन्दिरका पुजारीहरूले चोखो गरी मूर्तिमा रङ लगाउने गर्छन्। रङरोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म समय लाग्ने गर्छ । रङ लगाउनुअघि माटोले मच्छिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ । मच्छिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रङको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ । रङ रोगनका लागि सिम्रिक हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाजल) र म्हैपी अजिमाबाट ल्याएको माटोको आवश्यकता पर्छ । रङ रोगन पश्चात् मूर्ति दश कर्मको लागि तंः बहालस्थित मच्छिन्द्रनाथ मन्दिरको एक कुनामा राख्ने चलन छ ।

  • परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

    परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

    काठमाडौं । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्। शुक्रबार दिउँसो सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन्। गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। घाइते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।

  • नेपालमा इन्टरनेट सेवा सूचारु

    नेपालमा इन्टरनेट सेवा सूचारु

    काठमाडौं । झन्डै सात घण्टा अवरुद्ध इन्टरनेट सेवा सुचारु भएको छ । अपराह्न ४ बजेदेखि अवरुद्ध सेवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि राति १० बजेपछि सुचारु भएको हो । यसअघि मन्त्रालयले इन्टरनेट जस्तो अत्यावश्यकीय सेवा अवरुद्ध गर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई चेतावनी दिएको थियो । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकले ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा सेवा अवरुद्ध भएको भनी प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेबापत ग्राहकबाट अग्रिम रूपमा महसुल लिने गरेको, यसरी लिएको महसुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कुल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ३० र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा रहेको मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

    “नियमावलीको नियम २६ मा (१) नियम १० को उपनियम (५) र (६) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको वार्षिक कुल आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष रोयल्टीका रूपमा नेपाल सरकारलाई बुझाउनुपर्ने छ र सो अवधिभित्र नबुझाएमा बुझाउन बाँकी रहेको रकमको दुई प्रतिशतका दरले प्रत्येक महिना थप दस्तुर लाग्ने छ ।

    यस नियमको प्रयोजनका लागि ‘वार्षिक कुल आम्दानी’ भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि करलगायत अन्य अप्रत्यक्ष कर तथा दूरसञ्चारसम्बन्धी उपकरण बिक्री गर्दा प्राप्त हुने रकमबाहेक दूरसञ्चार सेवा प्रदान गरेबापत अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको आम्दानीलाई जनाउँछ” भन्ने व्यवस्था रहेको र सोबापतको शुल्क बुझाउन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पटक पटक अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका १२२ वटा इन्टरनेट सेवा प्रदायक र २३ वटा नेटवर्क सेवा प्रदायकमध्ये केही इन्टरनेट सेवा प्रदायकबाहेक अन्य दूरसञ्चार सेवा प्रदायकले नियमानुसार तिर्नु बुझाउनुपर्ने शुल्क बुझाएको र शुल्क बुझाउने सेवा प्रदायकको विदेशी मुद्रा सटही सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित रूपमा सिफारिस भइरहेको छ ।

    “आमउपभोक्ताबाट अग्रिम रूपमा सङ्कलन गरेको महसुलबाट कानुनबमोजिम राज्यलाई तिर्न बुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास शुल्क तथा रोयल्टी रकम समयमा नबुझाई इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध हुने गरी कोही कसैले कुनै कार्य नगर्न नगराउनु हुन सम्बद्ध सबैमा हार्दिक अनुरोध गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।

    बिहीबार दिउँसो करिब ४ बजेदेखि इन्टरनेटमा समस्या आएको छ । खासगरी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरू वल्र्डलिङ्क, सुबिसु र भायनेटका उपभोक्ताले इन्टरनेट नचल्ने, चले पनि अत्यन्त न्यून गतिमा चल्नेजस्ता समस्या भोग्नुपरेको हो । नेपालमा इन्टरनेट ब्यान्डविथ उपलब्ध गराइरहेको अपस्ट्रिम सेवा प्रदायक एयरटेलले ब्यान्डविथ निर्यात रोकेपछि यस्तो समस्या आएको नेटवर्क सेवा प्रदायकहरूले जनाएका छन् । ब्यान्डविथ खरिदबापतको रकम भुक्तान नगरेपछि एयरटेलले ब्यान्डविथ निर्यात रोक्का गर्दा यस किसिमको समस्या देखिएको सेवा प्रदायकहरूको दाबी छ ।

    नेटवर्क सेवा प्रदायकहरूले भारतीय अपस्ट्रिम सेवा प्रदायकहरूसँग ब्यान्डविथ खरिद गरेर नेपालका इन्टरनेट सेवा प्रदायकहरूलाई बिक्री गर्ने गर्छन् । नेपाल भित्रिने कुल ब्यान्डविथमध्ये एयरटेलको हिस्सा करिब ७० प्रतिशत छ । वल्र्डलिङ्क, नेपाल टेलिकम, सुबिसु नेपालका ठुला नेटवर्क सेवा प्रदायकमध्ये पर्छन् । नेपाल टेलिकमसहित अन्य केही सेवा प्रदायकको इन्टरनेटमा भने कुनै समस्या थिएन ।

    दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले तिर्नुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) मा जम्मा गर्नुपर्ने रकम भुक्तान नगरेकाले उक्त बक्यौता भुक्तान गरेपछि मात्र विदेशी मुद्रा सिफारिस गर्ने जनाउँदै आएको छ । नियामकले बारम्बार सार्वजनिक सूचना जारी गरेर बक्यौता रहेका सेवा प्रदायकहरूलाई भुक्तानी गर्न निर्देशन दिँदै आएको छ तर दूरसञ्चार सेवा प्रदायकहरूले भने मर्मतसम्भार शुल्क दूरसञ्चार सेवाभित्र नपर्ने तर्क गर्दै त्यसको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास शुल्क तिर्नु नपर्ने अडान लिँदै आएका छन् ।

  • अमेरिकामा किन भइरहेको छ विद्यार्थीको प्रदर्शन ?

    अमेरिकामा किन भइरहेको छ विद्यार्थीको प्रदर्शन ?

    काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयमा भएको हिंसामा प्रहरीको कारबाहीप्रति क्यालिफोर्नियाका गभर्नरको कार्यालयले आलोचना गरेको छ। मास्क लगाएका इजरेल समर्थक समूहले प्रहरी अधिकारीहरू बोलाइनुअगाडि नै प्यालेस्टिनी समर्थक विद्यार्थीको एउटा शिविरमाथि हमला गरेका थिए।

    गभर्नर ग्याभिन न्यूसमका प्रवक्ताले प्रहरीको “सीमित र ढिला गरी गरिएको” कारबाही “अस्वीकार्य” रहेको बताए। बुधवार सयौँ प्रहरी अधिकारीहरू क्याम्पस परिसर र वरिपरि तैनाथ थिए। राज्यका अधिकारीहरू तथा विश्वविद्यालयका अधिकारीहरूले मङ्गलवार मध्यरातमा झडप हुनेबित्तिकै तत्काल सुरक्षाकर्मीलाई प्रदर्शनकारी बसेका स्थानवरपर तैनाथ गरिएको बताएका छन्।

    तर घटना भएका बेला त्यस क्षेत्रमा रहेका कैयौँ मानिसले प्रहरीले तत्काल कारबाही नथालेको बताएका थिए। शिविरमा सामेल भएको एउटा समूह ुयूसी डाइभेस्ट एट एलएुले एक विज्ञप्तिमा भनेको छ, “कानुन कार्यान्वयन गर्ने निकाय चौरको छेउमा बसेको थियो, हामी सहायताका लागि चिच्याइरहेका थियौँ तर सुरक्षाकर्मीहरू अगाडि बढेनन्।”

    बीबीसीले यूसीएलए र एलएपीडीलाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ। प्रदर्शनकारीहरूले हमला सुरु भएको करिब दुई घण्टापछि त्यो ठाउँ छोडेर हिँडे र प्रहरीले बुधवार बिहान भएपछि आफ्नो नियन्त्रण कायम गर्न सक्यो

    गभर्नर न्यूसमले उनको कार्यालयको विज्ञप्तिबाहेक त्यहाँको हिंसाको भर्त्सना गर्दै एक्समा समेत पोस्ट गरेका छन्। “कानुन स्पष्ट छ,” उनले भने। “अभिव्यक्ति स्वतन्त्रता भनेको हिंसा भड्काउनु, तोडफोड गर्नु र कानुनविहीन अवस्था ल्याउनु होइन।” उनले भने, “जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही ठहर्‍याइनुपर्छ‘आपराधिक मुद्दा चलाउनु निलम्बन गर्नु या निष्कासन पनि त्यसमा पर्छ।”

    कानुन कार्यान्वयनकारी स्रोतहरूलाई उद्धृत गर्दै द लस एन्जलस टाइम्सले लेखेको छ( त्यहाँ केही यूसीएलए प्रहरी अधिकारी मात्र थिए र उनीहरूभन्दा भिडको सङ्ख्या बढी भएकाले पछि हटेका थिए। पत्रिकाका अनुसार क्यालिफोर्निया हाइवे प्याट्रोल र लस एन्जलसबाट थप फौज मगाइएको थियो अनि परिस्थिति नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको थियो।


    गाजा युद्धको विपक्षमा कोलम्बियामा भएको विरोध प्रदर्शन अरू साना र ठूला तथा सार्वजनिक र निजी विश्वविद्यालय र कलेजमा पनि सरेको छ। उनीहरूले इजरेल तथा युद्धमा नाफा कमाउने कम्पनीहरूसँग ती संस्थाहरूले आर्थिक सम्बन्ध विच्छेद गर्नुपर्न माग गरेका छन्। बीबीसीका टम बेट्म्यानले बुधवार राज्यका फौजले टेक्सस विश्वविद्यालय ड्यालसमा १७ युद्ध विरोधी प्रदर्शनकारी गिरफ्तार गरेको र एनवाईपीडीले फोर्डाम विश्वविद्यालयबाट १५ जना गिरफ्तार गरेको बताएका छन्।

    यूसीएलएले उसको क्याम्पसभित्र उत्पन्न तनाव साम्य पार्न प्रयत्न गरिरहेका क्रममा बुधवारका कक्षाहरू रद्द गरेको थियो । विश्वविद्यालयले उसको रोयस हलनजिकै जम्मा भएका प्यालेस्टीनी समर्थकको समूहलाई अवैधानिक घोषणा गरेको थियो। प्राप्त अनलाइन फुटेजका अनुसार मध्यरात हुनै लाग्दा मङ्गलवार इजरेल समर्थक एउटा ठूलो समूह कालो लुगा र सेतो मास्क लगाएर क्याम्पस प्रवेश गरेको थियो।

    क्याम्पसमा विरोध प्रदर्शनमा बसेकाहरू कैयौँले कालो चस्मा र हेल्मेट लगाएका थिए। अन्यले प्ल्याकार्ड र छाता बोकेका थिए अनि आफूहरू बसिरहेको ठाउँ नछोड्न र्‍याली गरेका थिए। त्यसपछि दुई समूहबीच झडप भएको थियो। एक प्यालेस्टीन समर्थक विद्यार्थी अभियानकर्मीले बीबीसीलाई भने, “आजको रात तनाव अर्कै तहमा पुग्यो र हिंसा उत्पन्न भयो। ”

    विद्यार्थीहरूको पत्रिका डेली ब्रुइनका एक संवाददाता डाइलन विन्वार्डले प्रदर्शनकारीका विरोधीहरूले ूपटाका, स्कूटर, पानीका बोतल र अश्रुग्यास प्रहार गरेका” बताए। ब्रुइनले सोशल मिडियामा भनेअनुसार अन्य चार संवाददाताहरूमाथि पनि हमला भएको थियो र उनीहरूमाथि केही पदार्थ छर्किइएको थियो।

    यूसीएलएकी उपकुलपति मेरी ‌ओसाकोले प्रहरीहरूलाई हिंसा भएको ठाउँमा बुधवार बिहानै बोलाइएको बताइन्। “हामी यो संवेदनहीन हिंसाबाट वाक्क भइसकेका छौँ र यो अन्त्य हुनुपर्छ,” उनले भनिन्। त्यसै गरी लस एन्जलसका मेयरले पनि झडपको निन्दा गर्दै यो “घृणित र अक्षम्य” भएको बताए। बिहानसम्ममा त्यहाँ कडा सुरक्षा व्यवस्था कायम गरिएको थियो। रातमा भएको अराजकतामा कति मानिस संलग्न थिए भन्ने स्पष्ट छैन। देशभर फैलिरहेको प्यालेस्टाइन समर्थक विरोध प्रदर्शन नियन्त्रणमा लिन कलेज नेतृत्वहरूमाथि दबाव बढिरहेको छ।
    बीबीसी

  • जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । जापानी विदेशमन्त्री योको कामीकावा नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी आगामी आइतवार काठमाडौं आउने बताइएको छ । उक्त भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम भने तय नभएको समेत बताइएको छ । तर, दुई पक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गरिने भएको छ ।

    जापानले दुई देशबीच अर्को वर्ष कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पुग्न लागेको भन्दै यो भ्रमणले त्यसलाई थप टेवा दिनसक्ने विश्वास व्यक्त गरेको छ। कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य अनि पूर्वाधारका क्षेत्रमा नेपाल र जापानबीच सहकार्यको सम्भावना छ । हालैका महिनाहरूमा भारत, चीन र अमेरिकाबाट नेपालमा भइरहेका भ्रमणका शृङ्खलाहरूमाझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्रीको तहको भ्रमण हुन लागेको हो।

    फ्रान्स र श्रीलङ्कासहित छ वटा देशहरूको भ्रमणको कार्यसूची अन्तर्गत कामीकावाले नेपाललाई आफ्नो अन्तिम गन्तव्य बनाएकी हुन्। काठमाडौंस्थित जापानी राजदूतावासले जापानको सर्वाधिक अग्लो पर्वत माउन्ट फुजीको मुन्तिर अवस्थित सिजुओका प्रिफेक्चरकी कामिकावाको यो पहिलो नेपाल भ्रमण भएको बताएको छ ।


    “जापान र नेपालले लामो समयदेखिको विकास सहकार्य र जनस्तरको सम्बन्धमा आधारित गहिरो सम्बन्ध कायम राखिराखेका छन्,” राजदूतावासको विज्ञप्तिमा छ। “जापानी राजदूतावासले उनको यस पटकको भ्रमणले सन् २०२६ मा कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पुग्ने दौत्य सम्बन्धलाई थप बलियो बनाउन सकारात्मक गति दिनेछ।”

  • नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशन आजबाट

    नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशन आजबाट

    काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने तय भएको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् ।

    केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।
    यसअघि गत चैत ७ गते बसेको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकले वैशाख २१ गते लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर पछि काठमाडौंमा सारिएको थियो ।

    केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ । यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ । केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने छ । निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुंगो लगाउने छन् ।

  • हैदरावादसँग राजस्थान एक रनले हार्यो

    हैदरावादसँग राजस्थान एक रनले हार्यो

    काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५० औं खेलमा राजस्थान रोयल्समाथि १ रनको रोमान्चक जित हात पारेको छ । २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितको लागि २ रन चाहिँदा भुवनेश्वर कुमारले रोभम्यान पावेललाई एलबीडब्लू आउट गर्दै रोमान्चक जित दिलाए ।

    एक समय १८ बलमा २७ रन चाहिँदा राजस्थानको ६ विकेट हातमा थियो । अन्तिम तीन ओभरमा भने राम्रो गर्न सकेन । पहिलो ओभर मै भुवनेश्वर कुमारले जस बटलर र सञ्जु स्यामसनलाई शून्यमा आउट गर्दै हैदराबादलाई खेलमा ल्याएका थिए । तर तेस्रो विकेटका लागि रियान पराग र यशस्वी जैसवालले १३४ रनको शतकीय साझेदारी गर्दै राजस्थानको सहज जितको आधार तय गरेका थिए ।

    टी नटराजनको १४ औं ओभरको तेस्रो बलमा जैसवाल योर्कर बलमा ल्याप सट खेल्ने धुनमा बोल्ड भएपछि हैदराबाद खेलमा फर्किएको थियो ।
    शिम्रन हेटमायर १३, रोभम्यान पावेल २७, ध्रुव जुरेल १ रनमा आउट भए । हैदराबादका भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्स र टी नटराजनले २–२ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ जितेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।

    हैदराबादका नितेश कुमार रेड्डी ४२ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनमा नट आउट रहे । हेनरिक क्लासेन १९ बलमा ३ चौका र ३ छक्कासहित ४२ रन बनाए । ट्रविस हेड ४४ बलमा ६ चौका र ३ छक्कासहित ५८, अभिषेक शर्मा १२ र अमोलप्रीत सिंह ५ रनमा आउट भए । राजस्थानका आवेश खानले २ र सन्दीप शर्माले १ विकेट लिए ।

    राजस्थान १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । हैदराबाद १० खेलमा ६ मा जित र ४ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ । कोलकाता ९ र लखनऊ १० खेलमा १२र१२ अंक भएपनि नेटरनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन् । आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

  • उपनिर्वाचनको समिक्षाका लागि आज रास्वपाको बैठक

    उपनिर्वाचनको समिक्षाका लागि आज रास्वपाको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जानकारी गराएको छ ।

    सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

  • कुमारीसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा

    कुमारीसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा

    काठमाडौं । आफ्नो निर्देशन पालना नभएको भन्दै राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ।

    राष्ट्र बैंकको कारवाहीमा पर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मीसनराइज बैंक छन् । बाँकी दुई वटा लुम्बिनी विकास बैंक र एक्सल डेभलपभेष्ट बैंक हुन् ।
    लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ।

    त्यस्तै, कुमारी बैंकले जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि,२०७५ विपरीत ब्याज अनुदान दिएकोले सञ्चालक समिति र सीईओलाई सचेत गराइएको छ ।

    साथै, बैंकका सीईओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख रुपैयाँ भुक्तानी दिने निर्णय गरेकोले संचालक समितिलाई सचेत गराएको छ ।

    साथै, ३५ दिनभित्र उक्त रकम असुलउपर गर्न निर्देशन दिइएकोमा सो रकम असुलउपर भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरी, इन्भेष्टमेन्ट मेगाले कमलादी शाखाबाट खोलिएको प्रतीतपत्र कालिमाटी शाखाले कन्फर्म गरी सो प्रतीतपत्र अन्तर्गत भएको कारोबारमा निवेदक कम्पनीबाट प्रोमीसरी नोट जारी गरी ४१.६३ करोड कर्जा बराबरको बिल पर्चेज गरेको, प्रतीतपत्रको म्याद थप गरी इभरग्रीन गरी असल कर्जामा देखाइ पूँजीकोष गणना गरेको भन्दै कारबाही गरेको छ ।

    त्यस्तै, लुम्बिनी विकास बैंकले ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रुपमा लागू हुन नसकेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । एक्सल डेभलपमेन्ट बैंकले एकीकृत निर्देशन परिपालना नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

  • सुकुम्बासीका छाप्रा भत्काउनु हुँदैन : ओली

    सुकुम्बासीका छाप्रा भत्काउनु हुँदैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासीका छाप्रा भत्काएर हटाउन नहुने बताएका छन् । भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुकुमबासी समस्या व्यवस्थित रूपमा समाधान गर्न आग्रह गरेका हुन् ।

    ‘लोकतन्त्रमा जे पनि गर्न मिल्दैन । समस्याको व्यवस्थापन गर्नुपर्छ, समाधान गर्नुपर्छ । जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊँ, नखाए मर भन्ने सरकार हुँदैन,’ ओलीले भने, ‘त्यो केन्द्रीय सरकार होस कि, प्रदेश सरकार होस कि, स्थानीय सरकार । जनताप्रति उत्तरदायित्व नलिने, अनुत्तरदायी, गरिब भनेको देख्न नसक्ने, सुकुमबासी देख्नै नहुने गर्न हुँदैन ।’

    ‘मैले पोहोर, परारको साल पनि भनेको थिएँ, सुकुमबासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर । प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाँड्न बन्चरो लिएर जाने ? सुकुमबासीलाई लखेट्ने होइन, समस्या समाधान गर्नुपर्‍यो,’ उनले भने । ओलीले देशभर प्रशस्त जमिन भएकाले व्यवस्थापनको समस्या नरहेको बताए ।

    उनले भने, ‘यत्रो देशमा यति जनता व्यवस्थापन गर्न पुग्ने जमिन छ, ठाउँ छ । अवसर छ । ती चिजहरू गरौं । नगरपालिकासँग यति धेरै पैसा छ, सुकुमबासी बस्तीको एउटा छेउमा घरहरू बनाइदिऊँ ।’ योजनावद्ध ढंगले बस्तीको विकास गरेर सुकुमबासी राख्ने र रोजगारीलगायतमा काम गर्न ओलीले तीनै तहका सरकारलाई आग्रह समेत गरे ।

  • संसदको बजेट अधिवेशन २८ वैशाखबाट

    संसदको बजेट अधिवेशन २८ वैशाखबाट

    काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • सरकारले रोक्यो इन्टरनेटको भुक्तानी, भारतले काटिदियो सेवा

    सरकारले रोक्यो इन्टरनेटको भुक्तानी, भारतले काटिदियो सेवा

    काठमाडौं । भारतबाट ब्यान्डविथ आपूर्ति रोकिएको छ । जसले गर्दा नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोकिरहेको छ । भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको छ ।

    मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा बिहीबार साँझदेखि प्रभावित भएका छन् । नेपाललाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनी एयरटेलले एक्कासी आपूर्ति रोकेको हो । एयरटेलबाट ब्यान्डविथ आपूर्ति रोकिएपछि टाटा लगायतका वैकल्पिक कम्पनीका ब्यान्डविथ इन्टरनेट सेवा चलाइए पनि सुस्त छ । यसले गर्दा सेवाग्राहीहरु इन्टरनेट सेवा प्रयोग गर्नबाट वञ्चित हुन पुगेका छन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणले पनि पटक–पटक सञ्चार मन्त्रालयलाई पत्र लेखेर इन्टरनेट सेवा नै रोकिने अवस्था आउने भन्दै विदेशी मुद्रा सटही सुविधा दिन आग्रह गर्दै आएको थियो । तर, मन्त्रालयले इन्टरनेट मर्मत सम्भारको शुल्कमा रोयल्टी र आरटीडीएफ दस्तुरको विवादलाई कारण देखाएर इन्टरनेट सेवाप्रदायक कम्पनीका अपस्ट्रिम इन्टरनेट सेवा प्रदायक कम्पनीलाई तिर्नुपर्ने रकम बराबर राष्ट्र बैंकबाट भुक्तानीका लागि विदेशी मुद्रा सटही गर्न आवश्यक सिफारिस पत्र रोक्दै आएको छ।

    करिब एक वर्षदेखि इन्टरनेट ब्यान्डविथ खरिद बापतको भुक्तानी गर्न नसक्दा इन्टरनेट सेवाप्रदायकलाई अपस्ट्रिम कम्पनीले चरम दबाव सिर्जना गर्दै आएका छन् । इन्टरनेट सेवा रोक्ने पटक–पटकको चेतावनीका बीच बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन भारतीय कम्पनी एयरटेलले ब्यान्डविथको आपूर्ति बन्द गरिदिएको हो ।

    एयरटेलले आपूर्ति रोक्दा करिब ६० प्रतिशत फाइबर इन्टरनेट बजार प्रभावित भएको अनुमान छ । नेपाल टेलिकमसहितका केही निजी सेवा प्रदायक बाहेकका करिब ७० लाख रुपैयाँभन्दा बढी इन्टरनेट प्रयोगकर्ता मर्कामा परेको अनुमान छ ।

    बेरुजु सल्टाउन भन्दै इन्टरनेट सेवा प्रदायकहरुको विदेशी मुद्राको सटही सिफारिस रोक्दा सेवा नै रोकिने र उपभोक्ताहरु मारमा पर्ने अवस्थाबारे संस्थाले पटक–पटक सरकारको ध्यानाकर्षण जनाउँदै आएको थियो । अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनीहरुलाई तिर्नुपर्ने रकम करिब ३ अर्ब रुपैयाँ पुगिसकेको छ ।

  • धादिङमा घरमा आगलागी, दम्पत्तिको निधन

    धादिङमा घरमा आगलागी, दम्पत्तिको निधन

    काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए। डिएसपी मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे पाएको थियो। सूचना प्राप्त भएपछि इन्स्पेक्टरको कमाण्डमा प्रहरी खटिएको थियो। ‘प्रहरी पुग्दा दुवै जनाको मृत्यु भइसकेको थियो,’ डिएसपी मिश्रले भने।

    उनका अनुसार सो घरमा मकै पिस्ने विद्युतीय घट्ट पनि छ। राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ। ‘घरमा वयोवृद्ध बुढाबुढीमात्रै बस्नुहुँदो रहेछ, उहाँहरू निस्कन सक्नुभएन होला,’ डिएसपी मिश्रले भने। राति १२ बजेपछि आगो नियन्त्रणमा लिएको उनले बताए। थाक्रे गाउँपालिका ५ का वडाध्यक्ष सन्त बहादुर तामाङका अनुसार दुवै जनाको शव आगलागी भएको घरमै छ। मुचुल्लकाका लागि प्रहरीहरू आउँदै हुनुहुन्छ । हामी कुरिरहेका छौं, उनले भने। वडाध्यक्ष तामाङका स्थानीयले पानी ओसारेर आगो निभाएका थिए।

  • नेपाल र वेस्टइण्डिज-ए बीच आज चौथो खेल

    नेपाल र वेस्टइण्डिज-ए बीच आज चौथो खेल

    काठमाडौं । नेपालले चौथो टी–२० खेलमा आज वेष्टइण्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ :१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २(१ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि १० रन र ७६ रनले पराजित भएको थियो ।

    नेपालले बुधबार अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ । यसअघि तीन खेलमा विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली टुङ्गो लगाउन नेपालले परीक्षण मात्रै गरेको थियो । त्यसैले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्न पाएको थिएन । तर आज नेपालले विश्वकप खेल्ने प्लेइङ ११ मैदान उतार्ने सम्भावना छ । विश्वकपमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको राम्रो परीक्षा हुनेछ ।

    ओपनर कुशल भुर्तेल पछिल्लो समय लयमा छैनन् । नेपालले उनीमाथि भरोसा गर्दै आएको छ । अर्का ओपनर आसिफ शेख यसअघि तीन खेलमा थिएनन् । उनले आज खेल्ने छन् । ओपनरबाट नेपाल राम्रो प्रदर्शन चाहन्छ । मध्यक्रममा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन महत्वपूर्ण हुनेछ । कप्तान रोहितले सुरुवाती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए । आज भने रोहित खेलमा फर्किने छन् ।

    वेष्टइण्डिजका ब्याटर स्पिनमा बढी संघर्ष गरेको हुँदा ललित र सागर ढकाल दुबैमा मैदान उतार्ने सम्भावना रहन्छ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहराको सम्भावना छ । विश्वकप टोलीमा पर्न नसकेका लोकेश बम, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी र आरिफ शेखले आजको खेलमा खेल्ने मौका नपाउने सम्भावना छ । मुख्य प्रशिक्षक मोन्टी देशाईले तेस्रो खेलपछि बाँकी दुई खेलमा विश्वकप खेल्ने टोली नै मैदान उतार्ने बताएका थिए ।

    उता वेष्टइन्डिजका ओपनर जोनसन चार्ल्सले तेस्रो खेलमा नेपालविरुद्ध ११९ रन बनाएका थिए । उनलाई आउट गर्न सके नेपाल खेलमा बढी हाबी हुनसक्छ । आन्द्रे फ्लेचरको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपाली ब्याटरले दुई स्पिनर गुडाकेश मोती र हेडन वाल्स जुनियरविरुद्ध भने राम्रो खेल्नुपर्ने हुन्छ । पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ ।

  • इंग्ल्याण्ड-सी टीमसँग नेपालले प्रतिस्पर्धा गर्ने

    इंग्ल्याण्ड-सी टीमसँग नेपालले प्रतिस्पर्धा गर्ने

    काठमाडौं । इंग्ल्याण्ड सी टिमसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल बेलायत जाने भएको छ । नेपाली टोलीमा रहेका ३० जनाको भिसा आएको छ । जसमा खेलाडी र व्यवस्थापकको टोली मंगलबार विभिन्न फ्लाइटमा बेलायत उडिसकेका छन् । हेड अफ डेलेगेट्स मुख्य प्रशिक्षकसहित ६ जना अफिसियल भने आज बिहान ११ बजेपछि बेलायत प्रस्थान गर्दैछन् ।

    विदेशी लिग खेल्न इन्डोनेसियामा रहेका रोहित चन्द भने उतैबाट बेलायत जाने एन्फाले जनाएको छ । बेलायत जान २३ खेलाडीसहित ३० जनाको मात्र भिसा प्राप्त भएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

    एन्फाले ३० सदस्यीय टोली बाहेक ५ भीआईपी र अन्य १५ गरी थप २० जनाको लागि पनि भिसा प्रक्रिया अघि बढाएको थियो । तर ३० जनाको मात्र भिसा आएको हो । बाँकी २० जनाको भिसा आएको छैन । नेपाली टोली मंगलबारै उड्ने कार्यक्रम थियो । तर, भिसा आउन ढिलाई भएपछि बेलायत प्रस्थान पनि प्रभावित हुन पुगेको हो । नेपालले यही मे ६ (वैशाख २४)मा इंग्ल्याण्ड सी टिमसँग एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा खेल्ने कार्यक्रम छ ।

  • सूचना-प्रविधि दिवस आज, विविध कार्यक्रमसहित मनाइंदै

    सूचना-प्रविधि दिवस आज, विविध कार्यक्रमसहित मनाइंदै

    काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

    रकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक(आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

    उनले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको बताइन् । ‘यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भन्थ्यौँ, पछिल्लो समय सूचना प्रविधि पनि थपिएको छ, युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास र देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह छ’, मन्त्री शर्माले भने, ‘यसलाई सहजीकण गर्ने उद्देश्यका साथ सरकार क्रियाशील छ ।’ रासस

  • अर्थतन्त्र सुधार गर्न नेतृत्वले जोखिम लिनुपर्छ : अर्थमन्त्री

    अर्थतन्त्र सुधार गर्न नेतृत्वले जोखिम लिनुपर्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गर्दै अर्थमन्त्री पुनले भने, ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ ।

    राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको छ ।’ बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएपछि उनले अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशील र चिन्तित भएको समेत बताए ।

    उनले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गरे। अर्थतन्त्रमा संकट हुँदा गरिएका कडाइहरुमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्रबैंकसँग छलफल भइरहेको जानकारी पनि दिए । राजनीतिक र प्रशासनिक नेतृवले कामका लागि आँट गर्नुपर्ने र त्यसमा समाजका अरु पक्षले साथ दिनुपर्ने उनले बताए । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाएका थिए ।

  • आइपीएल : चेन्नइलाई पन्जावले सहजै हरायो

    आइपीएल : चेन्नइलाई पन्जावले सहजै हरायो

    काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज जित हात पारेकोछ ।
    १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जोनी बेयरस्टोले ३० बलमा ७ चौका र १ छक्कासहित ४६, प्रभशिम्रन सिंह १३, शशांक सिंह २५, साम करन २६ र राइली रोसोऊले २३ बलमा ५ चौका र २ छक्कासहित ४३ रन बनाए । चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लासेन,शिवम दुबेले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनायो ।

    चेन्नईका कप्तान ऋतुराज गायकवाडले ४८ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । अजिंक्या रहाणे २९, समिर रिज्वी २१, मोईन ओली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट भए । पञ्जाबका दुई स्पिनर राहुल चाहर र हरप्रीत ब्रारले २–२ विकेट लिए । कागिसो रबाडा र अर्शदीप सिंहले १–१ विकेट लिए । चेन्नई १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । पञ्जाब १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ सातौं स्थानमा छ ।

  • आइसीसी विश्वकपका लागि नेपालको टोली घोषणा

    आइसीसी विश्वकपका लागि नेपालको टोली घोषणा

    काठमाडौं । आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा सागर ढकाल र कमलसिंह ऐरीलाई स्थान दिइएको छ । १५ सदस्यीय खेलाडीमा कप्तान रोहितसँगै आशिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी हुनुहुन्छ ।

    विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यस्तै नेपालले समूहको दोस्रो खेल जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्नेछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

  • श्रम मन्त्रालयले सार्वजनिक गर्यो श्रमाधान योजना

    श्रम मन्त्रालयले सार्वजनिक गर्यो श्रमाधान योजना

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच श्रमाधान योजनाको घोषणा गर्दे श्रममन्त्री डोल प्रसाद आयलले श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने बताए ।

    ‘मन्त्रालयले अहिले सञ्चालन गरेको कल सेन्टरको काम सीमित भयो । त्यसैले वृहत रुपमा श्रमिकको समस्या समाधान देखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो,’ उनले भने ।

    श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् । इन्द्रेणीका सात रगंहरुसँग मेल खाने गरी प्रत्येक कार्यक्रमहरुलाई एक विशेष रगंसँग जोडिएको उनको भनाइ थियो । जसले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलई प्रतिविम्बित पनि गर्छ । श्रमाधान योजनाको पहिलो ‘सेकेन्ड इनिङ’ कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकास भएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने बिषयमा काम गर्ने मन्त्री अर्यालले बताए ।

    दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ । तेस्रोमा रहेको ‘समता’ कार्यक्रमले समानतको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । जसमा विशेष समुदायलाई प्राथमिकता दिने उनले बताए । चौथोमा ‘कानुन’ कार्यक्रम छ । यस कार्यक्रममार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रम सम्बन्धी कानुन सबैले जानुन भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए ।
    अर्को ‘कनेक्ट’ कार्यक्रम रहेको छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिक लाई प्रतिस्पर्धी बनाउने यसको उद्देश्य रहेको छ । अर्को ‘साथ’ कार्यक्रम रहेको छ । यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ । त्यस्तै, अर्को ‘कल सेन्टर’ कार्यक्रम छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पुर्याएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

    श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री डोल प्रसाद अर्यालले बताए । श्रमाधान दोस्रो चरणमा वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरुको सीप, श्रम र अनुभवलाई पुन स् सक्रिय बनाउन मद्धत गर्ने मन्त्री अर्यालले बताए । यस कार्यक्रमले सेनानिवृत्त व्यक्तिहरुलाई आफ्नो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयम्सेवा वा उद्यमशीलताका विभिन्न अवसरहरुमा संलग्न हुन सहयोग पुर्याउने छ ।