Category: समाचार

  • इलाममा मतदान जारी

    इलाममा मतदान जारी

    काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । सोही मतदानस्थलको ‘क’ केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले पनि मतदान गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेबी माबि शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् ।

    एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् । त्यही क्याम्पसको केन्द्रबाट सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मतदान गरिसकेका छन् । उनले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

    आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । इलाम २ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

  • विश्वकप अगाडी नेपालले वेस्ट-इण्डिजमा अभ्यास गर्ने

    विश्वकप अगाडी नेपालले वेस्ट-इण्डिजमा अभ्यास गर्ने

    नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ । नेपाल क्रिकेट संघ९क्यान० का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्नेछ । नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ ।

    हाल नेपाली टोली वेष्ट इन्डिजकै ए टिमसँग घरेलु मैदानमा ५ खेल सम्मेलित टी–२० सिरिज खेल्दैछ । नेपालले वैशाख १५ गतेबाट त्रिवि मैदानमा विश्वकपको तयारी स्वरुप घरेलु मैदानको खेल सकेपछि वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको छ ।

  • धरौटी बुझाएर रिहा भए लगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा

    धरौटी बुझाएर रिहा भए लगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा

    काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले अदालतले तोकेको ४ लाख धरौटी रकम बुझाएका छन्। धरौटी बुझाएसँगै रिहा हुने तरखरमा रहेका पुनलाई रुपन्देही प्रहरीले फेरि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बुझाएको छ।

    वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै थिए । दीपेश रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

    सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले उनी पक्राउ गरिएको बताइएको छ ।

    सीआईबीले काठमाडौं ल्याउँदै छ। अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।

  • डेढ किलो सुन र १ करोड ४३ लाख नगदसहित पक्राउ परेका ७ जना सार्वजनिक

    डेढ किलो सुन र १ करोड ४३ लाख नगदसहित पक्राउ परेका ७ जना सार्वजनिक

    काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोडबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगदसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने दुई जना नेपाली छन् ।

    जसमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३, टाँटे बस्ने वर्ष ४७ का गणेश दत्त बडु, झापा बिर्तामोड नपा–३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नपा वडा नं. ३ का २१ वर्षीय आयुष बहु र झापा बिर्तामोड नपा वडा नं. ३ का २२ वर्षीय भातराज खोल छन्।

    तीन भारतीय नागरिकमा भारत महाराष्ट्र सांगली आटपाडी थाना ठेगानाका ३७ वर्षीय अमोल विभूत, सोही ठेगानाका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन्। पक्राउ परेकाहरूबाट एक केजी ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार नगद बरामद गरिएको छ ।

  • दक्षिण कोरियाले दियो नेपाली श्रमिकलाई कार्यक्षेत्र परिवर्तनको अवसर

    दक्षिण कोरियाले दियो नेपाली श्रमिकलाई कार्यक्षेत्र परिवर्तनको अवसर

    काठमाडौं । दक्षिण कोरियाले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकलाई कार्यक्षेत्र परिवर्तनको मौका दिएको छ

    ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनाका अनुसार कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली युवाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने कोरियाले अवसर दिने भएको हो ।

    दक्षिण कोरियाले दिएको उक्त अवसर सदुपयोग गर्न चाहनेले आफूले चाहने सेवा क्षेत्रमा आवेदन दिन ईपीएस शाखाले भनेको छ ।

    ‘कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमुलक क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण भई रोजगार आवेदन फाराम भरी रोष्टरमा रही रोष्टरको अवधि ३१ डिसेम्बर २०२४ भित्र सकिने व्यक्तिले कार्य क्षेत्रतर्फ रोष्टर परिवर्तन गर्न सकिने भनी नामावलीसहितको तालिका प्राप्त हुन आएकोले यसै साथ संलग्न सूचीमा नाम समावेश भएका र रोष्टरको अवधि सन् ३१ डिसेम्बर २०२४ भित्र समाप्त हुने ईच्छुक व्यक्तिहरुले वैशाख १८ सम्म आवेदन पेस गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सार्वजनिक सूचनामा उल्लेख छ ।

  • सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरूले ६ लाख १८ हजार रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा सोलुखुम्बुस्थित नापी कार्यालयका तत्कालीन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका–१ का बुद्धमाया थापामगर र उनको नाति रामकृष्ण थापामगर, फुर गोल्जे शेर्पा, डिम याङजी शेर्पा, ल्हाक्पा दिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्वं मिङमा ल्हमू शेर्पा रहेका छन् ।

    साविक जुभिङ गाविस–५ को सरकारी जग्गा नक्कली श्रेष्ता खडा गरी व्यक्तिको नाममा दर्ता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले सरकारी जग्गा व्यक्ति नाममा गरी ६ लाख १८ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । शुक्रबार दायर गरिएको मुद्दामा उनीहरूसँग ६ लाख १८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

  • कानून विपरित व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी गृहले फिर्ता बोलायो

    कानून विपरित व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी गृहले फिर्ता बोलायो

    काठमाडौं । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ । प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन ति दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    निर्देशनमा भनिएको छ, “सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाइ सोसम्बन्धी विवरण उपलब्ध गराउनू ।”

    त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।

    विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमणलगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी सङ्गठनलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

  • इन्टरनेट सेवा प्रदायकले किन दिए सेवा बन्द गर्ने चेतावनी ?

    इन्टरनेट सेवा प्रदायकले किन दिए सेवा बन्द गर्ने चेतावनी ?

    काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) ले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन आग्रह गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले सरकारलाई उक्त आग्रह गरेको हो। ब्यान्डविथको रकम नतिरेको भन्दै इन्टरनेट अवरूद्ध हुने चेतावनी आएको आइस्पानले जनाएको छ। त्यसैले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन उसले आग्रह गरेको हो। इन्टरनेट प्रदायक संस्थाहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मतसम्भार शीर्षक अन्तर्गतको बक्यौता नतिरेको भन्दै विगत नौ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन।


    ुमुद्रा सटही सिफारिस नपाउँदा अपस्ट्रिम प्रोभाइडरहरूलाई ब्यान्डविथको रकम भुक्तानी गर्न सकिएको छैन,ु आइस्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इन्टरनेट सेवा अवरूद्ध हुने यसै साता पत्र आइसक्यो। सरकारले तुरून्तै विदेशी मुद्रा सटही सिफारिस गर्नुपर्छ।’

    मर्मतसम्भार शीर्षक अन्तर्गतको बेरूजु बक्यौता असुल उपर गर्ने विषयमा वर्षौंदेखि इन्टरनेट सेवा प्रदायकहरू र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबीच विवाद छ। सेवा प्रदायकहरूले मर्मतसम्भार गैरदूरसञ्चार सेवा भएको दाबी गर्दै आएका छन्। यसबारे कुनै बेरूजू नरहेको अडान उनीहरूको छ। ग्राहकबाट लिइएको शुल्कको सम्बन्धमा सो शुल्कको ग्रामीण दूरसञ्चार कोष (आरटिडिएफ) तथा रोयल्टी इन्टरनेट सेवा प्रदायकले नियम बमोजिम नेपाल सरकारलाई तिरिरहेको उनीहरूको भनाइ छ।

  • भारतको लोकसभामा आज दोस्रो चरणको मतदान

    भारतको लोकसभामा आज दोस्रो चरणको मतदान

    काठमाडौं । भारतको लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान सुरू भएको छ। विभिन्न १३ राज्यका ८८ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान गर्नेछन्। मतदान बेलुका ६ बजेसम्म सञ्चालन हुने बताइएको छ।

    असमका ५, बिहारमा ५, छत्तीसगढमा ३, जम्मू र कश्मिरमा १, कर्नाटकामा १४, केरलामा २०, मध्यप्रदेशमा ७, महाराष्ट्रमा ८, मणिपुरमा एक, राजस्थानमा १३, त्रिपुरामा १, उत्तर प्रदेशमा ८ र पश्चिम बंगालका ३ सिटका लागि आज मतदान हुँदैछ। पहिलो चरणमा २१ राज्यका १०२ सिटका लागि वैशाख ७ गते मतदान भएको थियो।

  • कक्षा १२ को परीक्षा आजबाट, झण्डै ४ लाख विद्यार्थी सहभागी

    कक्षा १२ को परीक्षा आजबाट, झण्डै ४ लाख विद्यार्थी सहभागी

    काठमाडौं । कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे।

    उनकाअनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी हुने भएका छन्। त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

    परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए। सबैभन्दा बढी काठमाडौंमा एक सय ४४ र मनाङरमुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो।

    परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन्। परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्‍याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ। इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ।

  • लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो

    लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो

    काठमाडौं । लगातार हारपछि रोयल च्यालेन्जर्स बेंगलोर खेलमा फर्किएको छ । उसले सनराइजर्स हैदराबादलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा ३५ रनले हराएको हो । खेल हैदरावादको घरेलु मैदानमा भएको थियो । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो ।

    हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्रविस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७–७ रनमा आउट भए । प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए । बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २–२ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो । बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए । विराट कोहली ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । फाफ डु प्लेसिस २५, विल ज्याक्स ६, महिपाल लोमरोर ७ र क्यामरन ग्रीनले २० बलमा ५ चौकासहित ३७ रन बनाए ।

    हैदराबादका जयदेव उनादकटले ३, टि नटरजानले २, प्याट कमिन्स र मयंक मारकण्डेले १–१ विकेट लिए । बेंगलोर ९ खेलमा २ मा जितसहित ४ अंकका साथ पुछारमा छ । हैदराबाद ९ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ ।

  • भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

    भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो ।

    सर्वोच्चले थुनामै राख्न आदेश दिएकाहरुमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा रहेका छन् ।

    सर्वोच्चले नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा आरोपित उनले जिल्ला अदालतमा भएको थुनछेक बहसमा इन्कारी बयान दिएका थिए ।

    उनीविरुद्ध जाहेरी दिएका जिमा शेर्पेनी लगायतले ‘५४ लाख लेनदेन भएको, तर अमेरिका लैजान होइन प्रहरीले जाहेरीमा हामीले नभनेको कुरा लेखी सही छाप गराएको’ भनेर जिल्ला अदालतमा ११ जेठ २०८० मा नै निवेदन दिएका थिए ।

    उनलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै सर्वोच्चको संयुक्त इजलासले जिल्ला अदालत, काठमाडौं र उच्च अदालतको आदेश बदर गरेको छ र ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै जिल्ला र उच्च अदालतले थुनामा पठाउन आदेश दिएका गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

    चौधरीले अदालतमा इन्कारी बयान दिएको, उनले रकम उठाएको वा लिएको मिसिल संलग्न प्रमाणबाट नदेखिएको र जाहेरवाला सुमन दाहालको बैंकमा जम्मा भएको भनिएको २४ लाख रुपैयाँ के वापत जम्मा भएको हो प्रष्ट नभएको इजलासको ठहर छ ।

    साथै चौधरीकी पत्नी निजु चौधरीले मोरङ कसेनी को जग्गा नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त केशवप्रसाद दुलालले भनेको मानिसको नाममा पास गरिदिसकेको पाइएकाले पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश बेरीतको देखिएको सर्वोच्चको ठहर छ । १० लाख रुपैयाँ नगद वा त्यस बराबरको जेथा जमानत वा बैंक जमानतमा दिए उनलाई छाड्न आदेश दिएको छ ।

    त्यस्तै केन्द्रीय हज समितिका तत्कालीन अध्यक्ष शमशेर मियालाई पनि साधारण तारेखमा छाड्न आदेश दिएको छ । उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर पीडितहरुले उनलाई रकम दिएको भनेर नाम उल्लेख नगरेको, उनले इन्कारी बयान दिएको र कसैले उनको नाम समेत नपोलेकाले सर्वोच्चले १० लाख धरौटी लिने उच्चको आदेश बदर गरेर साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा १ असार २०८० मा जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यतिबेला जिल्ला अदालतले तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, कांग्रेस नेता आङटावा शेर्पालाई पनि थुनामा पठाएको थियो ।

    त्यस्तै केन्द्रीय हज समितिका तत्कालिन अध्यक्ष शमशेर मिया, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, बालकृष्ण खाँणका पीए नरेन्द्र केसी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, गोविन्द चौधरी र हरिभक्त महर्जनलाई पनि जिल्ला अदालतले थुनामा पठाएको थियो । आरोपितहरु लक्ष्मी महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

    यो मुद्दामा उच्च अदालत पाटनले एमाले नेता रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो कांग्रेस नेता बालकृष्ण खाँणलाई ३० लाख, टेकनाथ रिजाललाई १५ लाख, रामशरण केसी १५ लाख र शमशेर मियालाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा पठाइएका र धरौटीमा छाड्ने आदेश भएका शमशेर मियाले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।

  • कांग्रेस नेता आलममाथि जन्मकैदको सजाय

    कांग्रेस नेता आलममाथि जन्मकैदको सजाय

    काठमाडौं । जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।

    अदालतका श्रेस्तेदार उद्धव ढोडारीका अनुसार यस्तो फैसला आएको हो । रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो । उनीहरुले घटना भएको समयमा प्रचलित मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।

    त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिए । पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको थियो ।

    प्रत्यक्षदर्शीहरुका अनुसार, त्यसक्रममा केही घाइतेहरु आफूलाई बचाउन आग्रह गर्दै चिच्याएका थिए । घटना सार्वजनिक हुने डरले आलमले सहयोगीहरुसँग मिलेर नजिकको इँटाभट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीको बयान थियो । घटनापछि प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो ।

    प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए । ३० असार, २०६५ मा तत्कालिन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मुद्दा नचल्ने निर्णय गरे । उनको निर्णयमा भनिएको थियो, ‘मारिएका भनिएका व्यक्तिहरुको मृत्यु भएको भन्ने यकिन हुन नसकेको साथै उनीहरुको मृत्यु कर्तव्यबाट हुन गएको भन्ने पुष्टि हुन सकेको नदेखिएको ।’

    बम काण्डमा मृत्यु भएका ओसी अख्तरकी आमा रुक्सनाको समेत गोली हानी हत्या भएको थियो । २०६७ माघ ८ गते साँझ दुर्गाभगवती गाउँपालिकास्थित माइतीबाट आफ्नो घर आउँदै गर्दा गौडा कुरेर बसेका हतियारधारी समूहले रुक्सनाको गोली हानी हत्या गरेको थियो । उक्त घटनामाथि अहिलेसम्म अनुसन्धान भएको छैन ।

    किटानी जाहेरी, घटनास्थलको प्रकृति मुचुल्का, तत्काल मौकामा बुझिएका शेख सराजुल मियाँ र ओहिद मियाँको कागज, मानव अधिकार आयोग लगायतका निकायहरुको प्रतिवेदनका आधारमा विस्फोटको घटना सार्वजनिक हुने डरले बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा जलाई हत्या गरेको घटना पुष्टि हुने विवरणहरु थियो । आलममाथि राज्यको सुरक्षा बलको सहयोग लिई शव बेपत्ता पारेको भन्ने आरोप समेत थियो ।

    आलम विरुद्धको जाहेरी लामो समयसम्म कारवाही नभई त्यत्तिकै रह्यो । पीडितहरुले अनुसन्धान अघि बढाउन माग राखी सर्वोच्च अदालतमा निवेदन दिए । न्यायाधीशद्वय सुशीला कार्की र डा। भरतबहादुर कार्कीको इजलासले केही न केही प्रमाण भेटिएको अवस्थामा महान्यायाधिवक्ताले स्वेच्छाचारी निर्णय गर्न नहुने फैसला गरेका थिए ।

    फैसलामा भनिएको थियो, ‘पीडित आफैं घटनाको व्यहोरा सहित प्रहरीमा किटानी उजुर गर्दा समेत प्रहरी र सरकारी वकिलले मुद्दा हेर्ने अदालतमा मुद्दा नचलाउदा त्यो अवस्थामा पीडितले न्याय पाउने मौलिक हकबाट बञ्चित हुन पुग्छ ।’

    सर्वोच्च अदालतको आदेशपछि १९ असोज २०७६ मा प्रहरीले रौतहट क्षेत्र नं। २ का तत्कालिन सांसदसमेत रहेका आलम पक्राउ परेका थिए । उनी र उनका महताबसहितविरुद्ध घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको थियो ।

    थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । आलमविरुद्धको यो मुद्दामा विगत तीन दिनदेखि जिल्ला अदालतमा जारी बहस बिहीबार सकिएको थियो । बहसका क्रममा वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल दयानिधि रिजाल, बद्री कार्की, पुष्पराज पौडेलले बहस गरेका थिए ।

    प्रतिवादी आलमका तर्फबाट नेपाल बारका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे, यदुनाथ खनाल, अजय पटेल, मजरुल हक, सञ्जीव मल्लिक, साबिर हुसैनसहित ९ जनाले बहस गरेका थिए ।

  • कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

    बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए ।

    कँडेलले माओवादी र एमाले र एकीकृत समाजवादीका सांसदको मत प्राप्त गरेको हुन् ।

    उनलाई नेकपा एमाले १० र नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

    उनी चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

  • उपनिर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपतिले दिए स्वीकृति

    उपनिर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपतिले दिए स्वीकृति

    काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ। मन्त्रिपरिषदको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पत्रका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्। वैशाख १५ गते इलाम–२ प्रतिनिधि सभा र बझाङमा (१) प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ।

    ‘उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१/१/१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१/१/१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको २०८१/१/१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान’ गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

  • चन्द्रागिरिमा सुमो दुर्घटना

    चन्द्रागिरिमा सुमो दुर्घटना

    काठमाडौं । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा सुमो दुर्घटनाग्रस्त भएको छ । बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खसेको हो ।

  • फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु

    फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु

    काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्म गर्मी बढ्दा ६ जनाको मृत्यु भएको जानकारी गराएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताए । गर्मीसम्बन्धी ३४ वटा घटनामध्ये फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो ।

    राज्य मौसम ब्युरोले गर्मी सूचकाङ्क ४२ डिग्री सेल्सियसभन्दा बढी खतराको स्तरमा पुग्ने चेतावनी दिएपछि मेट्रो मनिलासहित पाँच क्षेत्रका एघार क्षेत्रले बुधबार व्यक्तिगत कक्षाहरू स्थगित गरेका छन् । ब्युरोले तातो मौसमका कारण दुखाइ, गर्मीको थकान र गर्मीको स्ट्रोक पनि निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

    यसै महिनाको सुरुमा ब्युरोले फिलिपिन्सभर केही क्षेत्रमा ५१ डिग्री सेल्सियससम्मको तापक्रमको चेतावनी दिएको थियो । यसले आगामी महिनासम्म गर्मी बढ्दै जाने देखाएको छ । बढ्दो गर्मी मौसमले विद्यालयलाई विद्यार्थी तथा बालबालिकालाई उच्च गर्मीको प्रभावबाट जोगाउन अनलाइन कक्षाहरू सञ्चालन गर्न बाध्य पारेको छ ।अत्यधिक गर्मीबाट हुने सम्भावित जटिलताबाट बच्न ब्युरोले जनतालाई बाहिरी गतिविधिहरू सीमित गर्न र प्रशस्त पानी पिउन सल्लाह दिएको छ । रासस

  • सरकारको स्थायित्वमा चलाइएका हल्ला निराधार : पौडेल

    सरकारको स्थायित्वमा चलाइएका हल्ला निराधार : पौडेल

    काठमाडौं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१–०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए ।

    अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्ला निराधार रहेको बताए । उनले हल्लाहरुको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताए । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गरे ।

    ‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरुले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो’, पौडेलले भने, ‘संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन । ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’

  • गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

    गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

    काठमाडौं । गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले सनसनीपूर्ण जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्लीले गुजरातमाथि ४ रनको सनसनीपूर्ण जित निकालेको हो। दिल्लीले दिएको २२५ रनको लक्ष्य पूरा गर्न गुजरातलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो। रसिद खान ब्याटिङमा थिए। दिल्लीले मुकेश कुमारलाई अन्तिम ओभर बलिङमा पठाएको थियो। पहिलो र दोस्रो बलमा रसिदले चौका प्रहार गरे। तेस्रो र चौथो बल डट हुन पुग्यो। पाँचौं बलमा रसिदले छक्का प्रहार गरे। अन्तिम बलमा जितका लागि पाँच रन आवश्यक थियो।

    रसिदले अन्तिम बललाई बाउन्ड्री पार गराउने कोशिस गरे पनि प्रयास निरर्थक बन्दा गुजरात ४ रनको हार ब्यहोर्न पुग्यो। खेलमा रसिद खान ११ बलमा ३ चौका र १ छक्का प्रहार गरी २१ रन बनाएर नट आउट रहे। त्यसअघि साई सुदर्शनले सर्वाधिक ६५ रन बनाएका थिए। उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। डेविड मिलरले अर्धशकीय पारी खेले। उनले २३ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५५ रनको योगदान गरे।

    ओपनर रिद्धिमन साहले ३९ रन जोडे। उनले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कप्तान शुभमन गिल पाँच बलमा ६ रन बनाएर आउट हुन पुगेका थिए। त्यस्तै अजमतुल्लाह ओमरजइ १ रनमा साहरूख खान ८ रनमा र राहुल टेवाटिया ४ रन बनाएर आउट भएका थिए। साइ किशोरले ६ बलमा २ छक्का प्रहार गरी १३ रनको योगदान दिए।

    बलिङमा राशिख सलामले ३ र कुलदीप यादवले दुई विकेट लिए। एनरिच नोर्त्जे, मुकेश कुमार र अक्षर पटेलले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २२४ रनको योगफल तयार गरेको थियो। त्यस क्रममा कप्तान रिसभ पन्तले विस्फोटक ब्याटिङ गरे। उनले अन्तिम ओभरमै ४ छक्का र १ चौका प्रहार गरी ३१ रन बनाएका थिए। उनी ४३ बलमा ८८ रन बनाएर नट आउट रहे। त्यस क्रममा ५ चौका र ८ छक्का प्रहार गरे।

    त्यस्तै ट्रिस्टन स्टुब्सले अविजित २६ रन बनाए। ७ बल मात्रै खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यसअघि अक्षर पटेलले ६६ रन जोडेका थिए। ४३ बलमा उनले ५ चौका र ४ छक्का हाने। ओपनर पृथ्वी श ११ रन बनाएर आउट हुँदा अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका जेक फ्रेजर मिकगर्क गुजरातविरूद्धको खेलमा १४ बल खेलेर आउट हुन पुगे। त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरी २३ रन जोडेका थिए।

    त्यस्तै शाई होप पनि ५ रन बनाएर आउट भएका थिए। बलिङमा गुजरातका सन्दीप वारियरले ३ विकेट लिए। जितसँगै दिल्लीले अंक तालिकामा सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ भने गुजरात सातौं स्थानमा झरेको छ।

  • कर्णालीका मूख्यमन्त्री कंडेलले आज विश्वासको मत लिने

    कर्णालीका मूख्यमन्त्री कंडेलले आज विश्वासको मत लिने

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ। विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए।

    सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ। एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ। मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन।

    बुधबार माओवादी केन्द्रले रणसिंह परियारलाई सरकारमा पठाएको थियो। उनलाई मुख्यमन्त्री कँडेलले विना विभागीय मन्त्री बनाएका थिए। बुधबार नै उनले सपथ लिइसकेका छन्। चैत २७ गते मुख्यमन्त्री बनेका कँडेलेले मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मंगलबार नै विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन्। नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ।

  • अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?

    अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?

    काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ मन्त्रालयमा भेटेको हो ।

    त्यस क्रममा प्रतिनिधिमण्डलका सदस्यहरूले नेपालमा लगानीको क्षेत्र विस्तारका लागि इच्छुक रहेको भन्दै थप लगानी ल्याउने प्रतिबद्धता जनाएका थिए । हालसम्म वाणिज्य बैंकहरूसँग मात्र सहकार्य गर्दै आएकामा आगामी दिनमा विकास बैंक र लघु वित्तमार्फत पनि लगानी गर्न चाहेको उनीहरूले बताए ।

    उक्त संस्थाले हालसम्म नेपालमा बैंकहरूमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि ६ सय मिलियन डलर लगानी गरेको छ । भेटमा मन्त्री पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको बताए । सरकारले देशभित्र र बाहिरको निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उनको भनाइ थियो ।

    प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी), एसियन विकास बैंक (एडीबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम ९डीएफसी०, बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिस इन्टरनेसनल इन्मेस्टमेन्ट, बेल्जियमको बीआईओ इनभेस्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड, स्वीडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए ।

    ००७ सालमा नेपाल आएको इन्स्टिच्युसनले ०७८ सालमा नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीको तेस्रो संशोधन गरेपछि कर्जा लगानी बढाएको हो । चालु आर्थिक वर्षको हालसम्म उक्त संस्थाले नेपालमा करिब १ सय ५० मिलियन अमेरिकी डलर लगानी गरेको छ । सो संस्थाले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एउटा छुट्टै सत्रको समेत आयोजना गरेको छ ।

    यसअघि सोही प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसँग भेटेको थियो । त्यस क्रममा सचिव मरासिनीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको भन्दै केही दिनअघि मात्र अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका विभिन्न ९ वटा ऐन संशोधनको निर्णय गरेको बताए । नेपालले आगामी सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नती गर्न तथा सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) को उद्देश्य पूरा गर्ने अभियानमा रहेकाले सरकारले वैदेशिक लगानीमा जोड लिने नीति लिएको उल्लेख गरे ।

  • इलाम र बझाङमा मौन अवधि लागु

    इलाम र बझाङमा मौन अवधि लागु

    काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा हुने उपनिर्वाचन हुने भए पनि जिल्लाभर मौन अवधि लागु गरिएको छ । ४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

    निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न निषेध गरिएको हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस्, कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन्, मतदातालाई दबाव र प्रभावविना स्वतन्त्र ढंगले मतदान गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । शान्त वातावरणमा निर्वाचन गर्न र उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ ।

    निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार गर्न पाइँदैन । साथै एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम र सामाजिक सन्जालबाट समेत मत माग्न निषेध गरिएको छ ।

    मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । यदि आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि विशेष संयन्त्रमार्फत् सुक्ष्म अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

  • सुनिल पौडेललाई थुनामा पठाउन आदेश

    सुनिल पौडेललाई थुनामा पठाउन आदेश

    काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बिन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

    अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये २३ करोड ७५ लाखको स्रोत नखुलेको अख्तियारको दाबी थियो । विशेष अदालतको आदेशपछि पौडेललाई डिल्लीबजार कारागारमा लगिएको नेपाल प्रहरी स्रोतले जनाएको छ । पौडेललाई नेशनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि विशेष अदालतले दोषी ठहर गरेको थियो ।

  • महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयौं घर खरानी

    महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयौं घर खरानी

    जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । करिब एक घण्टा अगाडि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । परालको कन्युबाट सल्केको आगो घरसम्म पुगेको अनुमान छ। आगलागीमा सयौं घर जलिसकेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए । आगलागी नियन्त्राणका लागि महोत्तरी र धनुषाका विभिन्न पालिका, नेपाल प्रहरी र भारत समेतबाट दमकल ल्याइएको छ।

  • अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित

    अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित


    बीबीसी । संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा विवादास्पद विधेयक अनुमोदन गरेको छ जसले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ। यो विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ।

    यो विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडनसमक्ष पठाइने छ। बाइडनले उक्त विधयेक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताएका छन्। बाइटड्यान्सले अमेरिकी सिनेटको निर्णयबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बताएको छ। यसअघि उक्त कम्पनीले टिकटक बिक्री गर्न लगाउने दबावको विरोध गर्ने जनाएको थियो।

    अब के हुन्छ

    अमेरिकाले बाइटड्यान्सलाई टिकटक बिक्री गर्न बाध्य पार्न सक्यो भने पनि त्यसका लागि चिनियाँ अधिकारीहरूबाट स्वीकृति आवश्यक पर्छ। बेइजिङले त्यसको विरोध गर्ने जनाइसकेको छ।

    विश्लेषकहरूका अनुसार यो प्रक्रिया टुङ्गिन वर्षौँ लाग्ने औँल्याएका छन्। सिनेटले टिकटकसम्बन्धी विषयसहित युक्रेन, इजरेल, ताइवान र इन्डो-प्यासिफिक क्षेत्रका अन्य अमेरिकी साझेदारहरूलाई सैन्य सहयोग दिने विषय गरी चारवटा विधयेक पारित गरेको हो।

    सिनेटमा व्यापक समर्थन पाएको उक्त विधेयकको पक्षमा ७९ र विपक्षमा १८ जनाले मतदान गरेका थिए।

    यूनिभर्सिटी अफ रिच्मन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले लामो कानुनी लडाइँ सुरू हुन सक्ने र त्यो झन्डै दुई वर्षसम्म चल्न सक्ने बताएका छन्।उनका अनुसार यदि नौ महिनाभित्र बाइटड्यान्सबाट स्वामित्व किन्न इच्छुक पक्ष नभेटिए अमेरिकामा टिकटिकविरुद्ध हुने कारबाहीमा विलम्ब हुने छ।

    अमेरिका किन टिकटक नियन्त्रण गर्न चाहन्छ

    ‘वर्षौँसम्म हामीले चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकामा सर्वाधिक लोकप्रिय एउटा एप नियन्त्रण गर्न दियौँ जुन खतरनाक र अदूरदर्शी काम थियो,’सिनेटको इन्टेलिजन्स कमिटीका प्रमुख रिपब्लिकन नेता मार्को रुबियोले भने।

    उनका अनुसार नयाँ कानुनले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनीलाई त्यो एप बिक्री गर्न बाध्य पार्ने भएकाले त्यो अमेरिकाका लागि लाभप्रद हुन्छ। लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित डेटा टिकटकबाट चीनले हात पारेको वा पार्न सक्ने आशङ्का अमेरिकी पक्ष छ। त्यसैले अमेरिकी संसद्ले टिकटकलाई चीनमा भएको कम्पनीबाट छुट्ट्याउने प्रयास गरेको हो।

    टिकटकले अब के गर्ला

    यस विषयमा प्रतिक्रियाका लागि अनुरोध गर्दा टिकटकले तत्कालै जबाफ दिएन।

    तर गत साता उक्त सामाजिक सञ्जाल कम्पनीले सो विधेयकले ‘१७ करोड अमेरिकीको अभिव्यक्ति स्वतन्त्रमाथि कुल्चने, ७० लाख जनाको रोजगारी ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा बर्सेनि २४ अर्ब डलर योगदान पुर्‍याइरहेको मञ्च बन्द गरिदिने’ टिप्पणी गरेको थियो।

    टिकटकका प्रमुख कार्यकारी शोउ जी चूले गत महिना उक्त सञ्जालको रक्षाका लागि आफ्नो ‘कानुनी अधिकार’ प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताएका थिए। टिकटकले बाइटड्यान्स ‘चीन वा अरू कुनै देशको एजेन्ट नभएको ‘ दाबी गर्दै आएको छ। बाइटड्यान्सले विश्वका लगानी कम्पनीहरूको ६० प्रतिशत स्वामित्व भएको भन्दै आफू चिनियाँ कम्पनी नभएको तर्क गर्दै आएको छ।

  • कतारलाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ पठाउन ढिलाइ हुने

    कतारलाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ पठाउन ढिलाइ हुने

    काठमाडौं । सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ। सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो।

    गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले कतारलाई पहिलोपटक हात्ती उपहार दिन लागेको हो। पठाउन लागिएका हात्ती जङ्गली हात्ती रोनाल्डोका क्रस हुन्। २०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा खगेन्द्रप्रसाद जन्मिएको थियो।

    संकटापन्न सूचीकृत वन्यजन्तुको आयात-निर्यातका लागि स्विट्जरल्यान्डमा रहेको साइटिस सचिवालयबाट अनुमति प्राप्त नभएकाले उपहार लैजाने प्रक्रिया लम्बिने भएको छ। साइटिसको नियमअनुसार एसियाली हात्ती साइटिस महासन्धिमा सूीचकृत रहेकाले व्यावसायिक उद्देश्यले आयात-निर्यात गर्न पाइँदैन। यद्यपि उपहारका लागि भने पाइने व्यवस्था छ। उपहारका लागि कतै लैजानु परेमा अनुमति लिनुपर्न व्यवस्था छ।

    साइटिसबाट अनुमति पाएसँगै जोडी हात्ती कतार पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ।

  • यी हुन् नेपाल र कतारबीच हस्ताक्षर भएको ७ समझदारी

    यी हुन् नेपाल र कतारबीच हस्ताक्षर भएको ७ समझदारी

    काठमाडौं । नेपाल र कतारबीच सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

    यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारी पत्रमा नेपालमा कानुन मन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरेका हुन् ।

    त्स्तै संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबिच सहकार्यसम्बन्धी पनि सम्झौता भएका छन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।

    यी हुन् नेपाल–कतारबिचका सम्झौताहरू

    १. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबिच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र

    २. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता

    ३. नेपाल सरकार र कतार राज्यको सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयू)

    ४. नेपाल सरकार र कतार राज्यको सरकारबिच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

    ५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबिच सहयोगका लागि समझदारी पत्र

    ६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबिच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

    ७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता

    ८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच भएको समझदारी पत्रको नवीकरण

  • कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज

    कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरिएको छ । रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति छ ।

    राष्ट्रपति पौडेलको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका हमाद अल थानी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । राष्ट्रपति पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले विमानस्थलमा उनको स्वागत गरेका थिए । विमानस्थलमै कतारका राजालाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । त्यसपछि विमानस्थलबाट उनी राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच भेटवार्ता भएको थियो ।

  • कतारका अमिर थानी काठमाडौंमा

    कतारका अमिर थानी काठमाडौंमा

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ । त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको छ ।


    राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सोही विशेष प्रतिनिधि मण्डल साथमा रहने छ । भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी छन् ।

    यसैगरी अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण ९क्यूआईए०को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिर ९राजा० का निजी सहायक मन्सुर फलेह अल–हजरी भ्रमण दलमा छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेल र अल थानीबीच साढे ५ बजेदेखि शीतल निवासमा आधा घण्टाको द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा आयोजना गरेको राजकीय रात्रिभोज हुनेछ ।

    प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच बुधबार बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । उक्त औपचारिक वार्ताका लागि ४५ मिनेट समय तय भएको छ । उक्त वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

    उक्त कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा होटेल द्वारिकामा दिवा भोज आयोजना गर्नेछन् । दिवा भोजमा सहभागी भएपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । निजी विमानमा आएका उनी दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

  • केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगो लाग्यो

    केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगो लाग्यो

    काठमाडौं । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान धादिङमा आगलागी भएको छ।

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए ।

    गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

    धुनिवेँसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।