Category: समाचार

  • आज यी रुटमा सवारी चलाउन नपाइने

    आज यी रुटमा सवारी चलाउन नपाइने

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज दुईदिने नेपाल भ्रमणमा आउँदै छन् ।

    एकीन समय नतोकिए पनि उनी अपराह्न साढे ४ बजेदेखि ५ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ । उनी आउने समय आधा घण्टा विमानस्थल बन्द गरिने भएको छ ।

    उनी विमानस्थलबाट सोल्टीमोडस्थित पाँचतारे सोल्टी होटलमा जाने छन् । सोक्रममा विमानस्थलदेखि सोल्डीमोडसम्मको सडक पूरै खाली गराइने छ ।

    ट्राफिक प्रहरीका अनुसार कतारी राजाको सवारीको बेला सिनामंगल, तीनकुने, शान्तिनगर, नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टीमोडसम्मको सडकमा सवारी चलाउन रोक लगाइने छ । सो बेला सवारीसाधन करिडोरहरूमा डाइभर्ट गरिने छ ।

    उनको सुरक्षको लागि सरकारले नेपाली सेनाको नेतृत्वमा अति विशिष्ट स्तरको सुरक्षाकर्मीको टोली खटाएको छ । साथै, कतारबाट पनि १०० बढी सुरक्षाकर्मी आएका छन् ।

  • इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?

    इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?

    काठमाडौं । इजरेलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण आक्रमण गर्नुअघि त्रुटिहरू भएको स्वीकार गर्दै राजीनामा दिएका छन्। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार उनको उत्तराधिकारीको नाम टुङ्गो लागेपछि मेजर जेनरल आरोन हालिभा पदबाट हट्ने छन्।

    एउटा पत्रमा हालिभाले आफ्नो नेतृत्वमा रहेको निर्देशनालयले दिइएको जिम्मेवारी यथोचित वहन गर्न नसकेको स्वीकार गरेका छन्। अक्टोबर ७ का दिन सयौँ लडाकुहरू गाजास्थित सीमाको तारबार नाघेर इजरेलभित्र छिरेको भन्ने सूचनालाई इजरेली सैन्य र गुप्तचर अधिकारीहरूले बेवास्ता गरेका थिए।

    इजरेलको इतिहासमा भएको उक्त भयानक आक्रमणमा केही विदेशीसहित झन्डै १,२०० जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेमध्ये केही नेपाली विद्यार्थी पनि थिए। आक्रमणपछि हमासका लडाकुहरूले आफूसँगै २५३ जनालाई बन्धक बनाएर लगेका थिए। उक्त अप्रत्याशित घटनापछि इजरेलले हमासलाई सखाप पार्ने उद्घोष गर्दै गाजामा सैन्य कारबाही थालेको थियो। इजरेली आक्रमणमा परी गाजामा अहिलेसम्म ३४,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    उसका अनुसार मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। युद्धका कारण गाजामा भोकमरी निम्तिन सक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घ र अन्य दाताहरूले दिँदै आएका छन्।
    बीबीसी

  • इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा

    इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा

    काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् । २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ ।

    तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पल जस्ता खेलाडी टोलीमा छन् । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आगामी शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

    ओपनर इभिन लुइस छनोटमा उपलब्ध नभएकाले र ब्रेन्डन किंग भने चोटका कारण नेपाल आउने छैनन् । वेस्टइन्डिज क्रिकेट टोली आफ्नो इतिहासमै पहिलो पटक नेपाल आउन लागेको हो । नेपाल आउने वेस्टइन्डिज टोलीमा रहेका जोनसन चार्ल्सले वेस्टइन्डिजलाई २०१२ र २०१६ मा टी-२० विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेका थिए ।

    २०१६ को सेमिफाइनलमा भारतलाई ७ विकेटले हराउन उनले ५२ रन बनाएका थिए । २०१२ को विश्वकपमा इंग्ल्यान्डलाई हराउन ८४ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । गत वर्ष मात्रै दक्षिण अफ्रिकाविरुद्ध उनले ४६ बलमा १० चौका र ११ छक्कासहित ११८ रनको सानदार शतक हानेका थिए ।

    ३५ वर्षीय चार्ल्सले ५८ ओडीआई र ४८ टी-२० आई खेल खेलेका छन् । यसैगरी यसअघि राजस्थान रोयल्सबाट आईपीएल खेल्ने ओबेद म्याककोय पनि नेपाल आउने छन् । ओबेद वर्तमान वेस्टइन्डिजका प्रमुख बलर हुन् । वायाँ हाते तीव्र गतिका बलर उनले २०२२ मा दोस्रो टी-२० आई खेलमा भारतविरुद्ध ४ ओभरमा १७ रन खर्चेर ६ विकेट लिएका थिए ।

    २७ वर्षीय तीव्र गतिका बलर थोमस पनि अर्का ठूला नाम हुन् । उनले २५ ओडीआई र २१ टी-२० आई खेल खेलेका छन् । चोटका कारण नियमित भने खेल्न सकेका छैनन् ।

    वेस्टइन्डिजको टोली

    रोस्टन चेश, एलिक एथानाजे, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

  • कतारका राजा पहिलो पटक नेपाल आउँदै

    कतारका राजा पहिलो पटक नेपाल आउँदै

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ । उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ । कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ ९नोटाम० जारी गरिएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् । भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ ।

    वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।

    उनी बुधबार स्वदेश फर्किनेछन् । बुधबार अमिर थानी फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ ।

  • आज लोकतन्त्र दिवस, राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिन

    आज लोकतन्त्र दिवस, राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिन

    काठमाडौं । आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२–६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।

    तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

    २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदैहटाउँदै गरे ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०बीच १२ बुँदे समझदारी भयो । तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

    २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए ।

    आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । उनले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे । यसैले यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

    यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

    संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

  • मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी

    मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी

    काठमाडौं । तीव्र गतिका बलर सन्दीप शर्माको पाँच विकेट र युवा ओपनर यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ । सातौं जितका साथ राजस्थान शीर्षस्थान कायमै राख्दै प्लेअफ नजिक पुगेको छ । १८० रनको लक्ष्य राजस्थानले १८।४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

    ओपनर यशस्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्कासहित १०४ रनको अविजित इनिङ खेले । सुरुवातमा लय समाउन संघर्ष गरेका जैसवाललाई यो शतकले ठूलो राहत दिनेछ । कप्तान सञ्जु स्यामसन २८ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाए । जस बटलर २५ बलमा ६ चौकासहित ३५ रन जोडे । मुम्बईको एक मात्रै विकेट स्पिनर पियुष चावलाले लिए ।

    त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । मुम्बईका तिलक बर्माले ४५ बलमा ५ चौका र ३ छक्कासहित ६५ रन बनाए । नेहाल बढेराले २४ बलमा ३ चौका र ४ छक्कासहित ४९ रन बनाए । एक समय ७।३ ओभरमा ५२–४को अवस्थामा पुगेको मुम्बईलाई नेहाल र तिलकले ९९ रनको साझेदारी गरेका थिए ।

    ओपनर रोहित शर्मा ६, ईशान किशन शून्य, सूयकुमार यादव १०, मोहम्मद नाबी २३ र हार्दिक पान्ड्या १० रनमा आउट भए । राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर २, आवेश खान र युजभेन्द्र चहलले १–१ विकेट लिए । राजस्थान ८ खेलमा ७ मा जित र १ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ । मुम्बई प्लेअफमा पुग्न बाँकी ६ खेल नै जित्नुपर्ने हुन्छ ।

  • चीनमा भिषण आँधी : ११ जना बेपत्ता

    चीनमा भिषण आँधी : ११ जना बेपत्ता

    दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता भएका छन् । दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको चिनियाँ मिडियाले जनाएको छ । पछिल्लो समय गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा गम्भीर बाढीको डर बढेको बताइएको छ । यस्तो भिषण आँधी ‘शताब्दीमा एक पटक’ हुने चिनियाँ मिडियाले जनाएका छन् ।

    गुआङ्गडोङका धेरै भागमा लगातारको भारी वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागलाई उदृत गर्दै राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । बाढीको जोखिमबाट बचाउन ५३ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको एजेन्सीले जनाएको छ ।

    तीमध्ये ४५ हजारभन्दा बढीलाई उत्तरी गुआङ्गडोङ सहर किङयुआनबाट विस्थापित गरिएको थियो । उक्त सहर फराकिलो नदी डेल्टामा सहायक नदी बेई नदीको किनारमा फैलिएको छ ।

    मौसम विज्ञान अधिकारीहरूले ‘गुआङ्गडोङको तटीय पानीमा आँधीबेहरी र तीव्र हावा’ हङकङ र शेन्जेनलगायत प्रमुख सहरहरूको सिमानामा रहेको समुद्री क्षेत्रमा रहेको पूर्वानुमान गरेका छन् । फुजियान, गुइझोउ र गुआङ्सीलगायत छिमेकी प्रान्तहरू पनि ‘अल्पकालीन भारी वर्षा’ बाट प्रभावित हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । गुआङडोङ चीनको सघन जनसङ्ख्या भएको प्रान्त हो । यहाँ करिब १२ करोड ७० लाख मानिस बस्छन् ।

    जियाङवान सहरमा भारी वर्षाका कारण भूस्खलनमा छ जना घाइते भएका छन् भने धेरैजना प्रभावित भएका छन् । राज्य प्रसारणकर्ता सिसिटिभीको तस्बिरहरूमा खैरो माटोको पर्खालले घरहरू ध्वस्त पार्दा मानिसहरू प्रवाभित भई सार्वजनिक खेलकुद कोर्टमा शरण लिइरहेको देखाइएको छ । पर्ल नदीको सहायक नदीहरूमा सोमबार बिहान चेतावनी सीमाभन्दा पाँच दशमलव आठमाथि बाढी आउने सिसिटिभीले रिपोर्ट गरेको छ । रासस

  • कतारका राजालाई स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने

    कतारका राजालाई स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने

    काठमाडौं । पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् । अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

    परराष्ट्र मन्त्रालयले अमिर नेपाल आउन लागेको आधिकारिक घोषणा गरेको थियो । उनको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको छ । नेपाल भ्रमणमा रहँदा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।


    भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । थानी २४ अप्रिलमै काठमाडौंबाट कतार प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी बुधबार स्वदेश फर्किनेछन् ।

  • माथिल्लो अरुण र दूधकोशी जलविद्युतको सुरुङ टीबीएमले खन्ने

    माथिल्लो अरुण र दूधकोशी जलविद्युतको सुरुङ टीबीएमले खन्ने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने भएको छ । टीबीएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दुधकोसी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको छ ।

    अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ ८।४ किलोमिटर छ । दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ । निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत् आयोजनाहरुको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडका प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशी, दूधकाशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ सम्मिलित टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टीबीएममार्फत खनिएको सुरुङको जानकारी लिएको छ ।

    टोलीले टीबीएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा बेहोर्नु परेका समस्या तथा चुनौतीहरु, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारितालगायतका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी जानकारी लिएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिंचाइका दुईवटा आयोजनाहरुको सुरुङ टीबीएममार्फत खन्दा समय थौरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधिलाई ठूला सुरुङ भएका दुई जलविद्युत आयोजनाहरू प्रयोगमा ल्याउन लागिएको बताए ।

    घिसिङले माथिल्लो अरुण र दुधकोसी जलविद्युत् आयोजनाहरुको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको र अब निर्माणका लागि टेण्डर आह्वान गर्न लागिएकाले भेरी बबई र सुनकोशी मरिणमा टिबिएमबाट सुरुङ खन्दा देखिएका समस्या र अनुभवलाई सम्बोधन गर्ने गरी टेन्डर कागजात तयार गरिने बताए ।

    ‘सुनकोशी मरिण डाइभर्सन र दुधकोसीको मुख्य सुरुङको लम्बाइ बराबर भएकाले टीबीएमबाटै खन्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छौं, माथिल्लो अरुणमा टीबीएम पुर्याउन प्रवेश सडक समस्या देखिएको छ, मेसिन पुर्‍याउन सम्भाव्य देखिएका उक्त आयोजनामा पनि टीबीएम नै प्रयोगमा ल्याइने छ,’ घिसिङले भने ।

    ‘एकपल्टको लगानीका हिसाबले केही महँगो देखिएता पनि टीबीएममार्फत सुरुङ खन्दा अन्य प्रवेश सुरुङ निर्माण गर्नु नपर्ने, न्यून वातावरणीय तथा सामाजिक मुद्दा, निर्माणमा लाग्ने कम समयलगायतलाई हिसाब गर्दा टीबीएमको प्रयोग सस्तो र प्रभावकारी नै हुने देखिएको छ ।’

    टीबीएमको प्रयोगमार्फ सुरुङ निर्माण छिट्टो सकिने तर अन्य संरचना नसकिने अवस्था आउन नदिन सुरुमै आयोजनाको समग्र व्यवस्थापन गरिनु पर्ने उनले उल्लेख गरे ।

    मुख्य सुरुङको लम्बाइ १३ किलोमिटर र उक्त सुरुङ खन्न निर्माण गर्नु पर्ने दुईवटा प्रवेश ९एडिट० सुरुङको लम्बाइ ५ किलोमिटर गरी दुधकोसी आयोजनाले कुल १८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने छ । टीबीएमबाट खन्दा एडिट सुरुङहरू बनाउनु पर्दैन । एडिट सुरुङ पुग्न बनाउनुपर्ने करिब ७ किलोमिटर प्रवेशमार्ग आवश्यक हुँदैन ।

    माथिल्लो अरुण विश्व बैंक र दुधकोसी एसियाली विकास बैंकको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको छ । सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायत सहित १ अर्ब ७५ करोड डलर ९करिब २ खर्ब १४ अर्ब० अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी ९इक्विटी० बाट जुटाइने छ । विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ ।

    दुधकोसी आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर रहेको छ । यसमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

    एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाहरुबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।

  • यूएनडीपीका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउँदै

    यूएनडीपीका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउँदै

    काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाडौं आइपुग्ने छन् । यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयसानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा उक्त जानकारी दिएकी हुन् ।

    त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौंमा बस्नेछ । यूएनडीपीको यति ठूलो बैठक नेपालमा बस्न लागेको यो पहिलोपटक हो । यसअघि उक्त बैठक थाइल्यान्डको राजधानी बैंककमा बस्ने गरेको थियो ।

    बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवम् यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि आउनेछिन् । त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ । वग्नाराजासहितको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रको भ्रमणमा जानेछ । त्यहाँ इम्जा ताल निरीक्षण गर्ने कार्यक्रम छ ।

    यूएनडीपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त जोखिम घटाएको थियो । तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि यूएनडीपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराइ बढाएको थियो । यूएनडीपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो ।

    आगामी दिनमा त्यस्तै जोखिममा रहेकामध्ये सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको लाबेले बताइन् । भेटमा लाबेले यूएनडिपीले नेपालको गरिबी निवारण तथा स्वास्थ्य क्षेत्रमा गरिरहेको कामबारे मन्त्री पुनलाई अवगत गराइन् । उनले ग्लोबल ग्रिन क्लाइमेट फण्डको कार्यक्रम नेपालमा लागू गर्न लागेको विषयमा समेत जानकारी दिइन् । आगामी दिनमा यूएनडीपीले नेपालमा गर्ने कामलाई सरकारसँग जोड्न चाहेको उनको भनाइ थियो । त्यस क्रममा मन्त्री पुनले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक नेपालमा गर्न लागेकोमा धन्यवाद दिए ।

  • प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

    प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गत राति त्यसतर्फ प्रस्थान गरेका हुन् । हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ ।

    सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले भारत, चीन, जापान, मलेसियालगायतका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

    प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललगायत प्रहरी अधिकृतले बिदाइ गरे । महानिरीक्षक कुँवरसँगै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह पनि फ्रान्स प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

  • प्रधानमन्त्री भन्छन् : बामपन्थी शक्तिबीच एकता जरुरी

    प्रधानमन्त्री भन्छन् : बामपन्थी शक्तिबीच एकता जरुरी

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुनसमेत अपील गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको बताएका छन् । ‘यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ ‘, उनले भनेका छन् ।

    नेपालमा २००६ वैशाख १० गतेका दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थापना भएको थियो । प्रधानमन्त्री प्रचण्डले विचारधारात्मक संघर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवले एकातर्फ समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गरिरहेको र अर्कातर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने बताए ।

    उनले भनेका छन्, ‘तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि हो ।’

    प्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा संकल्प, सहकार्य र एकताको आधारमा मात्रै देशका चुनौतीलाई सम्बोधन गर्न सकिने निष्कर्षका साथ सत्ता सहयात्रा सुरु गरिएको बताउँदै भनेका छन्, ‘सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु हामी सबैको साझा जिम्मेवारी हो ।’

  • दलमा आवद्ध शिक्षकलाई कारवाही गर्न निर्देशन

    दलमा आवद्ध शिक्षकलाई कारवाही गर्न निर्देशन

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक र कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । अघिल्लो हप्ता वैशाख ४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईलाई निर्देशन दिएको हो ।

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भन्दै उजुरी परेपछि यसबारे आवश्यक अनुसन्धान गरेर कारबाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले केन्द्रलाई निर्देशन दिएकी थिइन् । यसैबमोजिम केन्द्रले इकाइलाई परिपत्र गर्दै अनुसन्धान गरेर कारबाही गर्न भनेको हो । शिक्षा मन्त्रालयको यो निर्णयमा शिक्षक, कर्मचारीका संघ, संगठनले बिरोध गर्दै आएका छन् ।

  • श्रीलंकामा भिडमा गुड्यो कार, कम्तिमा ७ जनाको मृत्यु

    श्रीलंकामा भिडमा गुड्यो कार, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । श्रीलंकामा खेल प्रतियोगिताको क्रममा एउटा कार मानिसहरुको भिडमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । टाइम म्यागेजिनको अनलाइन संस्करणका अनुसार यो दुर्घटना राजधानी कोलम्बोबाट करिब १८० किलोमिटर पूर्वमा पर्ने दियातालावा भन्ने शहरमा आइतबार भएको हो । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । श्रीलंकाको सैनिक एकेडेमीमा आयोजित प्रतियोगिता हेर्दा करिब ४५ हजार दर्शक सहभागी थिए ।

    श्रीलंका सैनिक र श्रीलंका अटोमोबाइल स्पोर्ट्सले प्रतियोगिता आयोजना गरेका थिए । यो घटनापछि प्रतियोगिता रोकिएको थियो । प्रहरी प्रवक्ताले एउटा कार ट्र्याक छोड्दै कार्यक्रमका दर्शक र खेल अधिकारीहरुको भीडमा ठोक्किएको बताए । उनका अनुसार चार अधिकारीसहित सात जनाको दुर्घटनामा मृत्यु भएको छ । घाइते २० जनाको उपचार अस्पतालमा भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

  • सगरमाथा दिवस आधार शिविरमा  मनाउने तयारी

    सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी

    काठमाडौं । सरकारले यस वर्षको सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितराज तामाङले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अघिल्लो साता मन्त्रीको अध्यक्षतामा हुने सगरमाथा आयोजक समितिको बैठक बसेको थियो । सो बैठकले सगरमाथा दिवसको मूख्य कार्यक्रम प्रधानमन्त्रीको उपस्थितिमा आधार शिविरमा गर्न तयारी थाल्ने निर्णय गरेको उनले जानकारी दिए । सगरमाथा दिवस २९ मेमा पर्छ ।

    सामान्यतया १५ जेठका दिन गणतन्त्र दिवस र बजेट समेत पर्ने गर्छ । सोहीकारण प्रधानमन्त्रीलाई लैजान सम्भव हुने थिएन । यस पटक २९ मे १६ जेठमा पर्ने भएकाले प्रधानमन्त्रीको समय मिलाउन समेत सम्भव देखिएको उनले बताए ।

  • कतारका आमिर दुई दिने भ्रमणमा मंगलबार नेपाल आउने

    कतारका आमिर दुई दिने भ्रमणमा मंगलबार नेपाल आउने

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् । भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

    थानी २४ अप्रिलमै काठमाडौंबाट कतार प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किने र त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्नेछन् । अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन् । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो ।

  • आयात र निर्यात दुबै घट्दा व्यापार घाटा खुम्चियो

    आयात र निर्यात दुबै घट्दा व्यापार घाटा खुम्चियो

    काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को नौ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ । तर, निर्यात भने साढे १२ अर्ब रुपैयाँमा सीमित छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ । जुन औसत मासिक १ खर्ब २९ अर्ब हुन आउँछ । चैतमा मात्र १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँबराबर आयात भएको छ । पछिल्ला केही महिनायता आयात क्रमशः बढ्दै गएको देखिन्छ । फागुनमा १ खर्ब ३३ अर्बको वस्तु आयात भएको थियो । चाडबाडका बेला केही बढेको आयात त्यसपछि खुम्चिन थालेको थियो ।

    गत असोजमा १ खर्ब ४८ अर्बको वस्तु आयात भएको थियो । चैतसम्मको तथ्यांकअनुसार आयात २.८४ प्रतिशतले खुम्चिएको छ । गत वर्ष चैतसम्म १२ खर्ब १ अर्बबराबर आयात भएको थियो । यस वर्ष निर्यात औसत मासिक १२ अर्ब ६६ करोडबराबर मात्र भएको छ । तथ्यांकअनुसार नौ महिनामा १ खर्ब १३ अर्ब ९४ करोडबराबर भएको छ । तथ्यांकअनुसार निर्यातको तुलनामा नेपालको आयात आकार ९१ प्रतिशतभन्दा माथि छ । कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१।११ र निर्यात हिस्सा ८.८९ प्रतिशत छ ।

    आयात र निर्यात दुवैमा आएको कमीले यस वर्ष कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवैमा कमी आएको छ । भन्सार विभागका अनुसार चैतसम्म कुल वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ छ । यो गत वर्ष यसै अवधिको तुलनामा २।९२ प्रतिशतले कम हो । अघिल्लो वर्ष चैतसम्म १३ खर्ब १९ अर्बबराबर कुल वैदेशिक व्यापार थियो । विभागका अनुसार व्यापार घाटा १० खर्ब ५३ अर्ब छ । यो गत वर्षको यसै अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । गत वर्ष व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ कम हो । नौ महिनामा भन्सारले ३ खर्ब ६ अर्बबराबर भन्सार राजस्व उठाएको छ ।

  • एमालले पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव पदक’बाट सम्मान गर्ने

    एमालले पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव पदक’बाट सम्मान गर्ने

    काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । ललितपुरको गोदावरीमा चलिरहेको एमालेको राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा प्रतिनिधिहरुले सहमति जनाएका हुन् । प्रस्ताव प्रश्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए ।

    ‘‘पार्टीका पूर्वउपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्वपूर्ण ढंगले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले गणतन्त्र गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउँ’, पोखरेलले बैठकमा प्रस्ताव प्रस्तुत गर्दै भनेका थिए । नेकपा एमालेले सोमवार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछ ।

  • १५ वर्ष भित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुने श्रम मन्त्रीको दावि

    १५ वर्ष भित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुने श्रम मन्त्रीको दावि

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ वर्षमा बाध्यकारी वैदेशिक रोजागरीको अन्त्य हुने बताएका हुन् । ‘हामीले अहिले देखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ,’ उनले भने ।

    श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरू बीच समन्वय गर्ने उद्धेश्यका साथ बृहत रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आइतबार छलफल आयोजना गरेको थियो ।

    मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरी रहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए । “मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सिपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सिपको बारेमा जानकारी पाउनेछन् । साथै मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहे अनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन्,’ उनले बताए ।

    त्यस्तै, छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्र्धन गर्ने उद्देश्यले बृहत रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने समेत उनले बताए ।

    मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवर्द्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत रोजगार मेलाको परिकल्पना गरिएको बताए ।

  • एसिया कपमा पुग्यो यूएई, ओमान पराजित

    एसिया कपमा पुग्यो यूएई, ओमान पराजित

    काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकको सहयोगमा यूएईले एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै एसिया कपमा पुगेको छ । युएई २०१६ पछि एसिया कपमा पुगेको हो । सन् २००४, २००८, २०१६ र २०२४ गरी उसले समग्रमा चार पटक एसिया कप खेल्नेछ । आइतबार २०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनायो । ओमानका मध्यक्रमका ब्याटर प्रतीक अथभलेले ३० बलमा ४ चौका र ३ छक्कासहित ४९ र खालिद कैलले ३० रन बनाए । अकिब इल्यास ७, नसिम खुसी शून्य, जिशान मकसुद १४ र कश्यप प्रजापति १ रन बनाएर आउट भए ।

    यूएईका जुनैद सिद्दिकले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद फारुक र आयन खानले २–२ विकेट लिए । ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । यूएईका कप्तान मोहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्कासहित १०० रन बनाए । टी–२० आईमा वासिमको यो तेस्रो शतक हो । अलिशान शराफू २८ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । आशिफ खान १६ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे ।

    पहिलो विकेटका लागि अलिशान र वासिमले ९।४ ओभरमा ९३ रनको राम्रो सुरुवात दिलाएका थिए । ओमानका बिलाल खानले २, शकिल अहमद र जिशान मकसूदले १–१ विकेट लिए । युएईले सेमिफाइनल खेलमा नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । ओमानले हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । एसिया कपमा युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । भारत र पाकिस्तानको समूहमा यूएई पर्ने सम्भावना छ ।

  • सनराइजर्सको आक्रामक ब्याटिङ अगाडी टिक्न सकेन दिल्ली

    सनराइजर्सको आक्रामक ब्याटिङ अगाडी टिक्न सकेन दिल्ली

    काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङको मद्दतमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्क्यापिटल्समाथि ६७ रनको जित निकालेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादको प्लेअफ खेल्ने सम्भावना समेत बलियो बनेको छ । २६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो ।

    दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए । ऋषभ पन्त ४४, अभिषेक पोरल ४२, पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए । हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । मयंक मारकंडे र नितेश रेड्डीले २–२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।

    त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो । हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो । हैदराबादका ट्रविस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए । अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए । यी दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए । आईपीएलमा पावर प्लेमा बनेको सर्वाधिक रन हो । यसअघि कोलकाताले बेंगलोरविरुद्ध २०१७ मा १०५ रन बनाएको थियो ।

    शहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्कासहित ५९, एडेन माक्ररम १, हेनरिक क्लासेन ३७ र अब्दुल सामदले १३ रन बनाए । दिल्लीका कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४, मुकेश कुमार र अक्षर पटेलले १–१ विकेट लिए । राजस्थान ७ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ ।

  • अमेरिका भ्रमण पुरा गरी स्वदेश फर्किए अर्थमन्त्री

    अमेरिका भ्रमण पुरा गरी स्वदेश फर्किए अर्थमन्त्री

    काठमाडौं । अमेरिकाको वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर अर्थमन्त्री वर्षमान पुन शनिबार स्वदेश फर्किएका छन् । मन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी भए ।
    । पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेटघाट गरे ।

    मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

    सम्बोधन तथा भेटघाटहरुमा मन्त्री पुनले आगामी १७ र १६ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका उनको सचिवालयले जनाएको छ । मन्त्री पुन र विश्व बैंकका उच्च अधिकारीहरुबीचको वार्तामा संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजनाको वित्तिय ढाँचाबारे महत्वपूर्ण सहमति भएको छ । आगामी जुनमा विश्व बैंकले उक्त आयोजनाका लागि वित्तिय व्यवस्थापन टुंग्याउने तयारी अघि बढाउने भएको छ ।

  • गोविन्द केसीले किन दिए पुनः अनसन बस्ने चेतावनी ?

    गोविन्द केसीले किन दिए पुनः अनसन बस्ने चेतावनी ?

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही र तथा सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी आफूले उठाउँदै आएका माग सम्बोधन गर्न उनले तीन हप्ताको समय दिएका छन् ।

    ६ वर्षअघि कार्की नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन गत २८ चैतमा सार्वजनिक भएको थियो । त्यस्तै नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने, गेटामा तुरुन्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेशका साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्नुपर्ने उनले माग राखेका छन् ।

    केसीले उच्च शिक्षा र प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्नुपर्ने नभए आफू सत्याग्रहलगायत दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले रुसी सेनामा भर्ना भएका सबै नेपालीहरुलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् ।

  • एमालेको नीति र नेतृत्वमा विवाद छैन : ओली

    एमालेको नीति र नेतृत्वमा विवाद छैन : ओली

    काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक भएको बताए । अध्यक्ष ओलीले भने, “गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेकोे हो ।” अध्यक्ष ओलीको प्रस्तुति जारी छ ।

  • थाई र म्यानमार सीमामा किन भइरहेको छ झडप ?

    थाई र म्यानमार सीमामा किन भइरहेको छ झडप ?

    काठमाडौं । एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबिच थाइल्यान्डको सीमा नजिकैको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र नजिकै पुनः झडपहरू सुरु भएको एक सशस्त्र समूहका प्रवक्ता र थाई सेनाले शनिबार बताएका छन् । सन् २०२१ मा सेनाले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । यसै महिनाको प्रारम्भमा म्यान्माको व्यापारिक केन्द्र म्यावाडी वरपर भीषण लडाइँ सुरु भएको थियो र सेना सहरमा आफ्नो स्थितिबाट पछि हट्न बाध्य भएको थियो ।

    गत साता यस क्षेत्र अधिकांश शान्त रहेको थियो र स्थानीय बासिन्दाले कुनै लडाइँ नभएको बताएका थिए । यद्यपि एउटा क्षेत्रीय गुटले शुक्रबार जारी स्थितिमाथि ‘गहिरो चिन्ता’ व्यक्त गरेको थियो । जुन्ताविरोधी करेन नेसनल युनियन ९केएनयु० का अनुसार पहिलेका झडपहरूमा केही सैनिकले म्याडवाड्डीलाई थाई सहर माई सोटसँग जोड्ने एउटा पुलमुनि शरण लिएका थिए । केएनयुका प्रवक्ता पडोह साव ताव नीले म्यावाडीमा समूहले जुन्ताविरुद्ध लडिरहेको पुष्टि गर्नुभयो । यद्यपि उहाँले थप विवरण दिनुभएन ।

    शनिबार बिहान सीमामा तैनाथ थाई सेनाको एउटा एकाइले पुलमुनि जुन्ता सैनिकलाई निशाना बनाउने बलहरूसँग झडप भइरहेको बताएको छ । राजम्नु स्पेसल टास्क फोर्सले फेसबुकमा भनेको छ, “अहिले लडाइँ जारी छ, कुनै क्षतिको जानकारी प्राप्त भएको छैन ।”

    दोस्रो मैत्रीपूर्ण पुलमुनि सशस्त्र बलहरूले सैनिकहरूविरुद्ध ‘ड्रोन’ तैनाथ गरेको राजम्नु स्पेसल टास्क फोर्सले बताएको छ । नगदको अभावमा रहेको म्यान्माको सेनाका लागि म्यावाडी प्रमुख व्याापरिक विन्दु हो । थाई टास्क फोर्सले पुल बन्द भएको पुष्टि गर्दै त्यहाँ आफ्ना सैनिक उभिएको बताएको छ ।

    थाई विदेशमन्त्री पर्नप्री बहिधा–नुकाराले ट्विट गर्दै शुक्रबार राति भएको झडपको रिपोर्टपछि स्थितिलाई नजिकबाट नियालिरहेको बताउनुभएको छ ।

    व्यापारिक सहर म्यावाडीका पोस्टहरूबाट सैनिकहरूलाई हटाउने निर्णय जुन्ताका लागि ठूलो झट्का थियो । यसबाट हालका महिनामा जुन्ताले धेरै घाटा बेहोर्नुपरेको छ । जुन्ताका लागि म्यावाडी विशेष महत्त्वपूर्ण छ । यहाँबाट अप्रिलसम्मको १२ महिनामा एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार भएको थियो ।

    म्यावाडीका एक ट्रक चालकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा आफूले झडपहरूको आवाज सुनेको बताउनुभयो । “लडाइँ सहरमा नभएर सहरबाहिर भएको छ, हामीले अहिलेसम्म केही सुनेका छैनौँ ।” स्थानीय थाई मिडियाले शनिबार बिहानै थाइल्यान्डमा प्रवेश गर्नका लागि लाइनमा उभिएका मानिसहरूको भिडियो साझा गरेका थिए । राससएएफपी

  • भारतमा पहिलो चरणको निर्वाचन सम्पन्न

    भारतमा पहिलो चरणको निर्वाचन सम्पन्न

    काठमाडौं । भारतमा सात चरणमा हुने आमचुनावको पहिलो चरण सम्पन्न भएको छ। छ सातासम्म चल्ने यो चुनावमा पहिलो दिन मत खसाल्न लाखौँ मानिस पुगेका थिए भने प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको छ। हिंसाका छिटपुट घटनाबाहेक समग्रमा देशैभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको अधिकारीहरूले बताएका छन्। दिल्लीमा रहेकी बीबीसीकी समिरा हुसैनले चुनाव बृहत् भएको बताइन्। उनले भनिन्, ‘भारतमा मतदान यति ठूलो कार्य हुनुका विभिन्न कारणमध्ये जनसङ्ख्या धेरै हुनुमात्रै नभई देश ठूलो हुनु पनि हो र देशभित्रै पनि धेरै विविधता छन्।’

    लोकसभा चुनाव शुक्रवार बिहान सात बजेबाट सुरु भएको थियो। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०२ सिटका लागि मतदान भएको हो। निर्वाचनलाई संसारकै हालसम्मको सबैभन्दा ठूलो चुनाव भनिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि चुनिने लक्ष्य राखेका छन्। मोदीलाई चुनौती दिन कैयौँ विपक्षी दलहरूले मिलेर गठबन्धन बनाएका छन्।

    चुनावको परिणाम जून ४ मा घोषणा गरिनेछ। भारतको संसद् दुई सदनात्मक छ। तल्लो सदनलाई लोकसभा र माथिल्लो सदनलाई राज्यसभा भन्ने गरिएको छ। शुक्रवार लोकसभाका सदस्यहरू चुन्नका लागि मतदान हुन लागेको हो। भारतमा बसोबास गरिरहेका १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरू मत दिनका लागि योग्य छन्। चुनाव जित्नका लागि गठबन्धनलाई ५ सय ४३ सदस्य रहेको सदनमा २७२ सीट आवश्यक पर्छ।

    अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी ९बीजेपी० ले ३०३ सिट ल्याएको थियो। अहिले उसले लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्य लिएको छ। कंग्रेससहित दूई दर्जनभन्दा बढी दल मिलेर इन्डिया गठबन्धन निर्माण गरेका छन् र उनीहरूले मोदीलाई चुनौती दिइरहेका छन्। सन् २०१४ मा बीजेपीको उदय हुनुअघि ६० वर्षसम्म भारतको राजनीतिमा कंग्रेसको दबदबा थियो।

    पहिलो चरणको चुनाव अन्तर्गत २१ वटा राज्य र केन्द्र शासित प्रदेशका १०२ सीटमा मतदान हुन लागिरहेको छ। यो चरणमा मोदीको मन्त्रिमण्डलका ८ सदस्य, ३ पूर्व मुख्य मन्त्री र एक पूर्व राज्यपाल चुनावी मैदानमा छन्। पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड , रास्थान, सिक्किम, तामिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखन्ड, पश्चिम बङ्गाल, अंडमान निकोबार, जम्मू र कश्मीर अनि लक्षद्वीप र पुद्दुचेरीमा मतदान भइरहेका छन्।

    तामिलनाडुका सबै ३९ सीटमा मतदान भइरहेको छ। राजस्थानका १२, उत्तर प्रदेशका ८, महाराष्ट्रका ५ र बिहारका ४ सीटमा पहिलो चरणमा मतदान हुँदैछ। भारतको निर्वाचन प्रक्रिया लामो, विशिष्ट र रोमाञ्चक रहने कैयौँले बताउने गरेको पाइन्छ। त्यहाँ योग्य मतदाताको सङ्ख्या नै ९६ करोड ९० लाख रहेको छ जुन संसारकै सबैभन्दा ठूलो सङ्ख्या हो। निर्वाचनका लागि १५ लाख मतदान केन्द्र स्थापना गरिएको छ र ५५ लाख विद्युतीय भोटिङ मसिन जडान गरिएका छन्।

    निर्वाचन आयोगले १ करोड ५० लाख निर्वाचन र सुरक्षा अधिकारीलाई तालिम दिएर खटाइएको र उनीहरूको आवतजावतका लागि ४ लाख सवारी साधन प्रयोग गरिने जनाएको छ। अधिकारीहरूले दोस्रो चरणको मतदान ८८ सीटका लागि एप्रिल २६ मा हुने जनाएका छन्। भारत संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो। त्यहाँका २८ राज्य र ८ केन्द्र शासित भूभागहरूका प्रत्येक योग्य मतदाताले भोट खसाल्ने अवसर पाउनेछन्।

    यो अभ्यास डेढ महिनासम्म चल्नेछ र चुनावलाई योजनाबद्ध र शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न व्यापक तयारीहरू आवश्यक पर्छ। साना राज्यहरू र सङ्घले शासन गरिरहेका भूभागमा एक दिनमै मतदान सम्पन्न हुनेछ। कतिपय ठूला राज्यहरूमा दुईदेखि चार दिनसम्म मतदान चल्नेछ। ठूलो जनसङ्ख्या भएका उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालमा सातै चरणमा मतदान हुनेछ।

    BBC

  • एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारबाट

    एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारबाट

    काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरू हुँदैछ। ललितपुर गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे महाधिवेशन परिषद् बैठकको उद्घाटन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। प्रतिनिधि परिषद् महाधिवेशनपछिको सर्वोच्च निकाय हो।

    दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी हुनेछन्। जसमा राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरू दुई हजार ७३ जना छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनीत गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना र आयोजक गरी दुई हजार ४५४ पुगेको प्रचार विभाग प्रमुख गौतमले बताए।

    आइतबारसम्म चल्ने बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै अनुशासन, लेखा, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गर्ने कार्यसूची रहेको छ। एमालेको प्रतिनिधि परिषद् बैठक डिजिटल हुने बताइएको छ।

    मोबाइल एपमा दस्तावेजहरू राखिने र त्यहीँबाट छलफल गर्न सकिने व्यवस्था मिलाइएको महासचिव पोखरेलले जानकारी दिएका छन्। त्यसका अतिरिक्त प्रतिनिधिको नाम दर्ता र ओपिनियन पोलको समेत व्यवस्था गरिएको महासचिव पोखरेलले जानकारी दिएका छन्। परिषद् बैठकमा सहभागी प्रतिनिधिहरूलाई समूहमा विभक्त गरेर छलफल गरिने पनि पोखरेलले बताएका छन्। महाधिवेशन प्रतिनिधि परिषद्ले केन्द्रीय कमिटीलाई निर्देशनसमेत दिन सक्ने निकाय भएकाले सोही अनुसार बैठकले निचोड निकाल्ने पनि महासचिव पोखरेलले जानकारी दिएका छन्।

    यसैबीच एमालेले वैशाख १० गते नेकपा स्थापनाको ७५ औं वर्ष पूरा भएको सन्दर्भमा हीरक महोत्सव आयोजना गर्दैछ। महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नेछन्।

  • एसीसी प्रिमियर कप : नेपाल र हङकङ तेस्र्रो स्थानका लागि भिड्दै

    एसीसी प्रिमियर कप : नेपाल र हङकङ तेस्र्रो स्थानका लागि भिड्दै

    काठमाडौं । एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेटमा आज नेपालले तेस्रो स्थानका लागि भिड्दै छ। ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएको नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो। खेल अपराह्न सवा ४ बजे हुनेछ। सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग पराजित भएको थियो। दोस्रो सेमिफाइनलमा आयोजक ओमानसँग हङकङ पराजित भएको थियो।

    तेस्रो स्थान हात पार्न सके नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गर्नेछ। सेमिफाइनलमा पराजित भएपछि नेपाल एसिया कप २०२५ का लागि भने छनोट हुन असफल भएको थियो। अब इमर्जिङ टिम्समा स्थान बनाउन आजको खेलमा नेपालले जित्नुपर्नेछ। यसअघि समूह चरणको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो।

  • नेपालमा निजी क्षेत्रले समेत हाइड्रोजन उत्पादन गर्ने

    नेपालमा निजी क्षेत्रले समेत हाइड्रोजन उत्पादन गर्ने

    काठमाडौं । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत् आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालयसँग ग्रिन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न शुक्रबार एक सम्झौतामा हस्ताक्षर गरेको हो ।

    यसअघि काठमाडौं विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्डभित्रै हाइड्रोजन ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर निजी क्षेत्रबाट भने यसअघि हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् ।

    बुद्धभूमि हाइड्रोपवार कम्पनीले नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा ल्याएको ५ मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गर्नेगरी केयूसँग मिलेर अध्ययन प्रक्रिया अघि बढाएको बुद्धभूमि हाइड्रोपावर कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का महासचिव बलराम खतिवडाले बताए ।

    ‘वर्षामा विद्युत् उत्पादन बढी हुने तर खपत नबढ्दा हरेक वर्ष निजी ऊर्जा उत्पादकहरूको विद्युत् खेर गइरहेको छ,’ खतिवडाले भने, ’यसरी खेर जाने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरेर हिउँदको समयमा प्रयोग गर्न सकिए धेरै विद्युत् आयोजनाको वर्षाको समस्या समाधान हुन्छ ।’

    दुई पक्षबीच भएको तीन बुँदे सम्झौतामा ग्रिन हाइड्रोजन उत्पादन गर्न केयूका प्राविधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजना क्षमता अनुसार उत्पादन सुरु गर्ने बताइएको छ ।

    सम्झौतामा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन प्रा।डा। मनिष पोखरेल, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा। विराजसिंह थापा र एकेडेमिया इन्डस्ट्रीका संयोजक डा। राम लामा तथा कम्पनीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ, कार्यकारी निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

    सम्झौतापछि थापाले उक्त जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रिन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढंगले सुरक्षितरुपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याउने गरी उत्पादन गरिने बताए ।

    थापाका अनुसार केयूलाई थप अनुसन्धान गर्न निजी क्षेत्रको जलविद्युत् आयोजनासँग भएको सम्झौताले सहज भएको र निजी क्षेत्रका अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्ने बाटो खुलेको पनि बताए ।

    कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रिन हाइड्रोजन उत्पादन एवम् यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताए ।

    उनले पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र बिजुलीबाट ग्रिन हाइड्रोजन उत्पादन गर्ने र त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजना रहेको पनि बताए ।

    उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गर्ने योजना बनाइएको छ ।

  • आइपीएल : चेन्नईविरुद्ध लखनउको सानदार जित

    आइपीएल : चेन्नईविरुद्ध लखनउको सानदार जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले हराएको छ । चेन्नाइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे ।

    केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रन बनाए भने डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रनको योगदान गरे । निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा अविजित हुँदै टिमलाई जिताए । चेन्नाइका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले एक–एक विकेट लिए ।

    त्यसअघि ब्याटिङ गरेको चेन्नाइले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । रवीन्द्र जडेजाले सर्वाधिक ५७, अजिन्के रहानेले ३७, मोइन अलीले ३०, महेन्द्रसिंह धोनीले २८ र र रितुराज गायकवाडले १७ रन बनाए । लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले एक–एक विकेट लिएका थिए । यो जितसँगै ८ अंक जोडेको लखनउ पाँचौं स्थानमा छ । समान अंक भए पनि चेन्नाइ राम्रो रनरेटका कारण तेस्रो स्थानमा छ ।