Category: समाचार

  • निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र गतिशिल बन्छ : प्रधानमन्त्री

    निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र गतिशिल बन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघको २१औं वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए । ‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।’

    उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै उनले अर्थतन्त्रको सवलीकरण मात्रै नभइ देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए ।

    ‘दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सोहीअनुरूप मौद्रिक नीतिलाई समेत अगाडि बढाउने छौं । अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरुरी छ, त्यसो गरिन्छ ।’

    निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेको समस्या भनेको अर्थतन्त्रको समस्या हो । अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ ।’

    पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचक देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गरे ।

    ‘नयाँ वर्षको सुरुवातमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौं । विदेशी लगानी भित्र्याउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधन प्रक्रियामा छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ ।’

    वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विद्युत्, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरे । पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उनले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पूँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।

  • निर्मल पुर्जाले बनाए धेरै पटक अग्ला हिमाल चढ्ने कीर्तिमान

    निर्मल पुर्जाले बनाए धेरै पटक अग्ला हिमाल चढ्ने कीर्तिमान

    काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ ले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४४ औं आरोहण गरेका छन्।

    नेपाली नयाँ वर्षको दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर, एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् ।

    उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनेको हो । निम्सदाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटकपटक आरोहण गरिसकेका छन्।

  • सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी

    सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी

    काठमाडौं । महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ ।

    निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन्।

    सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने उनले बताइन् ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ ।

    ‘यही वैशाख ५ गतेदेखि तोकिए बमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ,’ उपप्रमुख डङ्गोलले भनिन् ।

  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार नाघ्यो

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार नाघ्यो

    काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।

    मंगलवार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चैत ३० गते सुनको मूल्यमा नयाँ रेकर्ड कामय भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो।

    तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ। चैत ३० गते तेजावी सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो।

    यस्तै, सोमबार सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो।

    आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो।

  • टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

    टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

    काठमाडौं । टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती गर्न लागेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क, इलेक्ट्रेक र ब्लुमबर्ग न्यूजले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा उल्लेख छ ।

    ‘हामी कम्पनीलाई हाम्रो विकासको अर्को चरणका लागि तयार गर्ने हो भने लागत कटौती र उत्पादकत्व बढाउनका लागि कम्पनीको हरेक पक्षलाई हेर्नु अत्यन्त महत्त्वपूर्ण छ,’ मस्कले उक्त इमेलमा लेखेका छन् ।

    ‘टेस्लाको वृद्धिले ‘केही क्षेत्रहरूमा भूमिका र कार्य कार्यहरूको डुप्लिकेसन’ निम्त्याएको छ । यस प्रयासको एक भागको रूपमा, हामीले सङ्गठनको गहन समीक्षा गरेका छौं र विश्वव्यापी रूपमा हाम्रो जनशक्तिलाई १० प्रतिशतभन्दा बढी घटाउने कठिन निर्णय गरेका छौँ । मलाई योभन्दा बढी घृणा गर्ने कुनै कुरा छैन, तर यो गर्नैपर्छ,’ उनले भने, ‘यसले हामीलाई अर्को विकास चरणको चक्रमा जान, परिवर्तित हुन सक्षम बनाउनेछ ।’

    १४ हजारभन्दा बढी रोजगारदाताहरूलाई असर पार्न सक्ने कटौती (समायोजन) को योजना विद्युतीय सवारी साधन उत्पादनका लागि ख्यातिप्राप्त टेस्ला कम्पनीले तीन वर्षमा बिक्रीमा पहिलो वर्ष वार्षिक बिक्री दरमा गिरावट आएको बताएको दुई हप्तापछि सार्वजनिक भएको हो ।

    कम्पनीले सन् २०२४ मा हरेक वर्ष ५० प्रतिशतको वृद्धि दर हासिल गर्ने लक्ष्य राखेकोमा सन् २०२४ मा बिक्री वृद्धि दर ‘उल्लेखनीयरूपमा कम’ हुने चेतावनी दिएको छ ।

  • बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । मोरङको उर्लाबारी र सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका कानेपोखरीबाट बिर्तामोड तर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको नम्बरको भारतीय नम्बर प्लेटको ट्याङ्करसँग ठोक्किएको थियो ।

    सो दुर्घटनामा परी मोटरसाइकल चालक ३३ वर्षीय धनबहादुर जोगीको मृत्यु भएको प्रहरीले बताएको छ । पैदल यात्री उर्लावारीका ४५ वर्षीय रामकिशोर चौधरी र मोटरसाइकलमा सवार दर्पण जोगी घाइते छन् । सोमबार नै चतराबाट पकली तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुनसरीको बराहक्षेत्र ५ जमटोकीस्थित पकली–चतरा सडकखण्डमा विद्युतको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

    दुर्घटनामा भोजपुरको षडानन्द १ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते छन् ।

  • आज चैते दशैं, देशैभर मनाइँदै

    आज चैते दशैं, देशैभर मनाइँदै

    काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । चैते दशैंमा पनि दहि–चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ । काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।

    चैते दशैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ । यसैगरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ । रामनवमीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।


    संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविदहरु बताउँछन् ।

    राष्ट्रिय अभिलेखालयमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ । राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ ।

    अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदुर्गालाई चढाउने गरिन्छ ।

  • मधेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    मधेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

    सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

  • सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित

    सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित

    काठमाडौं । रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले कीर्तिमानी ब्याटिङ गरेको छ । उसले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले हरायो । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको छ । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनायो । बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ८३ रनको योगदान दिए । फाप डु प्लेसिसले ६२, विराट कोहलीले ४२, अनुज रावतले २५ र महिपाल लोमरोरले १९ रन बनाए । हैदराबादका प्याट कमिन्सले तीन, म्यांक मार्कान्डेले २ र टि नटराजनले एक विकेट लिए ।

    यसअघि ब्याटिङ गरेको हैदराबादले २८७ रनको विशाल योगफल बनाएको थियो । ट्रविस हेडको शतक र छक्काको वर्षासँगै हैदराबादले आईपीएल इतिहासकै कीर्तिमानी लक्ष्य दिएको थियो । चिन्नास्वामी स्टेडियम बेंग्लोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो । हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको सानदार शतकीय इनिङ खेले । त्यसपछि हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको विष्फोटक पारी खेलेका थिए । ओपनर अभिषेक शर्मा २२ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

    तल्लोक्रममा एडेन माक्ररमले १७ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए । अब्दुल सामदले १० बलमा ४ चौका र ३ छक्कासहित ३७ रन बनाए ।
    बेंग्लोरका लोकी फर्गुसनले २ र रिस टोप्लीले १ विकेट लिए । यो जितसँगै हैदराबाद चौथो स्थानमा उक्लिएको छ भने बेंग्लोर अन्तिम १० स्थानमा छ ।

  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुने छ ।

  • राप्रपाको आन्दोलनमा घाइते डाँगीको उपचारकै क्रममा निधन

    राप्रपाको आन्दोलनमा घाइते डाँगीको उपचारकै क्रममा निधन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ ।

    राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको सोमबार बिहान उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार आन्दोलनका क्रममा प्रहरीको अश्रग्यासबाट डाँगी गम्भीर बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

    उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट डाँगीको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

  • सामसङ विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड, एप्पल दोस्रोमा

    सामसङ विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड, एप्पल दोस्रोमा

    काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलाई उछिन्दै सामसङ नम्बर वान स्मार्ट फोन कम्पनी बनेको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आइडीसी)को रिपोर्ट अनुसार सन् २०२४ को पहिलो त्रैमासमा सासङले सर्वाधिक ६ करोड १० लाख स्मार्ट फोन सिपमेन्ट गर्दै नम्बर वान स्मार्ट फोन ब्राण्ड बनेको हो । सामसङको बजार हिस्सा २०.८ प्रतिशत छ ।

    यद्यपि, सन् २०२३ को पहिलो त्रैमासको तुलनामा यस वर्ष सामसङको सिपमेन्ट ४० लाखले घटेको छ । गत वर्ष पहिलो त्रैमासमा सामसङले ६ करोड ५ लाख ५० लाख स्मार्ट फोन सिपमेन्ट गरेको थियो ।

    पहिलो त्रैमासमा सिपमेन्टका आधारमा एप्पल दोस्रो स्थानमा रहेको छ । एप्पलले ५ करोड १० लाख फोन डेलिभरी गरेको छ । यो संख्या अघिल्लो वर्षको यसै अवधिको ५ करोड ५४ लाखको तुलनामा ९.६ प्रतिशतले कम हो ।

    एप्पलको बजार हिस्सा गत वर्ष २०.७ प्रतिशतका साथ शीर्ष स्थानमा रहेकोमा यस वर्ष घटेर १७.३ प्रतिशतमा झरेको छ ।

    साओमीले गत वर्षको तुलनामा ३३.८ प्रतिशत बढी अर्थात् कुल ४ करोड ८० लाख फोन सिपमेन्ट गरेको छ । यसको बजार हिस्सा १४.१ प्रतिशत छ ।

    यस्तै, टेक्नो, आइटेल, इन्फिनिक्स ब्रान्डका फोन उत्पादन गर्ने ट्रान्सिनले गत वर्षको तुलनामा ८४.९ प्रतिशतध धेरै फोन सिपमेन्ट गरेको छ । यस वर्ष ट्रान्सिनले २ करोड ८५ लाख फोन ढुवानी गरेको छ । ट्रान्सिनको बजार हिस्सा ९.९ प्रतिशत पुगेको छ ।

    अर्को चिनियाँ ब्राण्ड ओप्पोको पनि व्यापार खस्किएको छ । गत वर्षको तुलनामा यस वर्ष ओप्पेको सिपमेन्ट ८.५ प्रतिशतले घटेर २ करोड ५२ लाखमा सीमित भएको छ । ओप्पोको बजार हिस्सा ८.७ प्रतिशतमा झरेको छ ।

    विश्वभर यो वर्ष मोबाइलको सिपमेन्ट ७.८ प्रतिशतले बढेर २८ करोड ९४ लाख पुगेको छ ।

  • नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट

    नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट

    काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

    अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो ।

    कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।
    टस हारेर बलिङ रोजेको नेपालले सुरुबाटै हङकङलाई दबाबमा राखेको थियो । नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए ।

    स्पिनरद्वय ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट बाँडे । ललितले अन्तिम ओभरको चौंथो र पाचौं बलमा लगातार विकेट लिएका हुन् ।

  • नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले गरे उद्घाटन

    नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले गरे उद्घाटन

    काठमाडौं । काठमाडौं उपत्यका जोड्ने मुख्य सडकमा नेपालको यातायात क्षेत्रले पहिलो सुरुङमार्ग पाएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’काे उद्घाटन गरेका हुन्।

    यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ।

    यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने योजना थियो। तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो। त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो। जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन्।

    २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ।

    यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ। सुरुङमार्गमा अब करिब १ मिटर मात्रै पूरा हुन बाँकी छ।

  • इजरायललाई अमेरिकाको जवाफ, इरानसँगको लडाईंमा साथ दिँदैनौं

    इजरायललाई अमेरिकाको जवाफ, इरानसँगको लडाईंमा साथ दिँदैनौं

    काठमाडौं । अमेरिकाले इजरायल इरानसँग युद्ध लडेमा साथ नदिने भएको छ । ह्वाइट हाउसका अधिकारीहरुले यस्तो जवाफ इजरायललाई दिएको अन्तर्राष्ट्रिय समुदायले जनाएका छन् । शनिबार राती इरानले इजरायलमा ३ सय भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो ।


    सिरियास्थित आफ्नो दूतावासमा आक्रमण भएपछि इरानले जवाफमा इजरायलमाथि आक्रमण गरेको हो । १ अप्रिलमा सो दूतावासमा आक्रमण भएको थियो । इजरायलले भने इरानले प्रहार गरेका सबै ड्रोन र क्षेप्यास्त्र आकासमै निस्तेज पारेको बताएको छ । इजरायलको बलियो प्रतिरक्षा प्रणालीमा अमेरिका र बेलायतको हात छ ।


    इजरायली प्रधानमन्त्री नेतन्याहुसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति जो बाइडनले समेत रणनीतिक रुपमा कदम चाल्न सुझाव दिएका छन् । उनले प्रतिकारमा हमला नगर्न समेत सुझाव दिएको समाचारहरुमा उल्लेख छ ।

  • एसीसी प्रिमियर कप नेपाल र हङकङ आज भिड्दै

    एसीसी प्रिमियर कप नेपाल र हङकङ आज भिड्दै

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।
    नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

    आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अलआउट भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनैपर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एकदिनको विश्रामपछि खेल्दैछ । त्यसैले नेपाललाई केही फाइदा हुनसक्छ ।
    यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

    प्रमुख बलर करण, सोमपाल र अभिनाशले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । शीर्षक्रमका ब्याटर आसिफ शेख, कुशल भुर्तेल र रोहित पौडेलले राम्रो स्ट्राइकरेटमा रन बनाउनु पर्ने हुन्छ । नेपालले विवेक यादवको स्थानमा करण केसीलाई टोलीमा फर्काउने सम्भावना छ । दोस्रो खेलमा नेपालले करणलाई विश्राम दिएको थियो ।

    यता हङकङका कप्तान निजाकत खान, बाबर हायत, मार्टिक कोट्जी र अंशुमन रथ प्रमुख ब्याटर हुन् । शीर्ष चार ब्याटरमा बढी निर्भर हुँदा समयमै विकेट लिन आवश्यक देखिन्छ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा नेपाललाई हराउन बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित ११० रनको शतकीय इनिङ खेलेका थिए । नेपालको फ्रेन्चाइज लिग खेल्दै खेलाडीबारे जानकार हायत घातक बन्न सक्ने खेलाडी हुन् ।

  • अर्थमन्त्री अमेरिका प्रस्थान

    अर्थमन्त्री अमेरिका प्रस्थान

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् ।

    भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन् ।

    तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्नेछन् ।

    यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ ।

  • इजरायलमा सुरक्षित छन् नेपाली

    इजरायलमा सुरक्षित छन् नेपाली

    काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो । ‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ ।

    सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा आक्रमण गरिरहेको छ ।

    यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ । सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ । यसअघि प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् ।

  • सार्वजनिक ऋण २४ खर्ब नजिक

    सार्वजनिक ऋण २४ खर्ब नजिक

    काठमाडौं । नेपालमा सार्वजनिक ऋण २४ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्ष थप सार्वजनिक ऋण र भुक्तानी गरिएको सार्वजनिक ऋणको बीचमा ठूलो अन्तर छैन । सोहीकारण यस वर्ष सार्वजनिक ऋणको वृद्धिदर भने उल्लेख्य भने छैन । कार्यालयका अनुसार यस वर्ष असारसम्म २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण चैत मसान्तसम्म २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।

    यसमा आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब ४८ करोड र बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब पुगेको छ । बाह्य ऋण १२ खर्ब ६ अर्ब पुगेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस वर्ष ९ महिना बितिसक्दा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व उठेको छ । जुन मात्र ७ खर्ब ४८ अर्ब हुन आउँछ । यस अवधिसम्म सरकारले ९ खर्ब ९ अर्ब रुपैयाँ सार्वजनिक खर्च गरिसकेको छ ।

    ९ महिनामा बाह्य अनुदान मात्र २ अर्ब ७५ करोड आउँदा अन्य खर्चका लागि सार्वजनिक ऋणमा भर पर्नु परेको हो । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । तर, शुक्रबार अर्थात ३० चैतसम्म साढे ७ अर्ब रुपैयाँ मात्र राजस्व उठेको हो ।

    ९ महिनामा सार्वजनिक लक्ष्यको ५१।९३ प्रतिशत छ । जसमा चालु खर्चको हिस्सा अधिक छ । यस वर्ष सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत मसान्तसम्म कुल बजेट खर्च ९ खर्ब ९ अर्ब पुगेको छ । जुन ५२ प्रतिशत मात्र हुन आउँछ । चालु खर्च ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

    यो लक्ष्यको ५६.४१ प्रतिशत हो । पूँजीगत खर्च ३२.२४ प्रतिशत भएको छ । ९ महिनामा ९७ अर्ब ३७ करोड रुपैयाँ मात्र पूँजीगत खर्च भएको हो । वित्तीय व्यवस्थापनमा १ खर्ब ६७ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ५४.६४ प्रतिशत हो ।

  • आइपीएल : रोहितको शतकका वावजुत मुम्बई पराजित

    आइपीएल : रोहितको शतकका वावजुत मुम्बई पराजित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो । २०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए ।

    इशान किसनले २३, तिलक बर्माले ३१ र टिम डेभिडले १३ रन बनाए । अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा मुम्बइ चेन्नाइसामु निरीह भयो । मुम्बइलाई रोक्न चेन्नाइका मतिशा पाथिराना एक्लैले जम्मा २८ रन खर्चेर चार ओभरमा चार विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले एकरएक विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले चार विकेट गुमाएर २०६ रन बनाएको थियो । रुतुराज गायकवाडले ६९, शिभम दुबेले ६६ रनको योगदान गरे । रचिन रविन्द्रले २१, महेन्द्रसिंह धोनीले २० र र्डेल मिचेलले १७ रन बनाए । मुम्बइका हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले एक–एक विकेट लिए । यो खेल जितेसँगै चेन्नाइ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बइ ८औं स्थानमा रहेको छ ।

  • जुम्लामा पुग्यो नेपाल टेलिकमको हाइस्पीड इन्टरनेट

    जुम्लामा पुग्यो नेपाल टेलिकमको हाइस्पीड इन्टरनेट

    काठमाडौं । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच) सेवा विस्तार गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गरेसँगै डोल्पा यो सेवा प्राप्त गर्ने ७५ औं जिल्ला बनेको छ। यसअघि रुकुमपूर्वमा ७४ औं जिल्लाको रुपमा यो सेवा विस्तार गरिएको थियो। मुगुमा हाल जडान भइरहेको छ भने हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ। अब दुई जिल्लामा सेवा विस्तार गरेसँगै सरकारले ७७ वटै जिल्लामा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिसक्ने छ।

    सेवा शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेट डिजिटल नेपाल निर्माणको महत्वपूर्ण पूर्वाधार भएकाले सरकारले देशैभरि उच्च गतिको इन्टरनेट विस्तारको कामलाई अभियानकै रुपमा अघि बढाएको बताइन्। डोल्पामा उच्च गतिको इन्टरनेट पुग्नु सञ्चार क्रान्ति नै भएको उनले बताइन्। ‘डोल्पामा सेवा पुगेको छ भने मुगुमा जडानको काम भइरहेको छ,’ उनले भनिन्, ‘हुम्लामा अर्को वर्ष जडानको काम अघि बढ्ने छ। वर्षौंदेखि पछाडि पारिएका यी जिल्लामा उच्च गतिको इन्टरनेट पुर्याएर सरकार दुर्गम र सुगमको दूरी मेट्न खोजिरहेको छ। सरकारले मुलुकभर इन्टरनेट सेवा पुर्याउने नीतिलाई प्राथमिकता दिएको छ।’

    दूरसञ्चार सेवा आर्थिक व्यापारसँग पनि जोडिने र दुर्गममा सेवाग्राही थोरै हुने भएकाले लगानीअनुसारको प्रतिफल नहुने भए पनि नागरिकको बसोबास हुने सबै ठाउँमा सेवा विस्तार गर्ने राज्यको दायित्व भएकाले दुर्गमको सेवा विस्तारमा जोड दिइएको उनले स्पष्ट पारिन्। सेवा विस्तारससँगै सेवाग्राहीलाई सन्तुष्ट बनाउने गरी काम गर्न नेपाल टेलिकमको उच्च व्यवस्थापनलाई आग्रह गर्दै मन्त्री शर्माले सेवाग्राहीको गुनासो सुनुवाईका लागि टेलिकममा बिहान ७ देखि साँझ ७ बजेसम्म मर्मत सम्भारका काम गर्ने गरी नीतिगत निर्णय गराइएको जानकारी दिइन्।


    आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि राजमार्ग तथा सबै सडक क्षेत्रमा दूरसञ्चारको पहुँच स्थापित गर्न हाइवे कभरेज, नमूनाको सेवा थालनीका लागि १९ जिल्लालाई नमूना जिल्ला घोषणा, एफटिटिएच विस्तार र सेवाग्राहीसम्म पुगेर गुनासो सुनुवाई गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताइन्।
    राजनीतिक नेतृत्वको गतिअनुसार दूरसञ्चार सेवा विस्तारका लागि नेपाल टेलिकमले पनि उत्तिकै ध्यान दिनुपर्ने मन्त्री शर्माको आग्रह थियो।

  • पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

    पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

    काठमाडौं । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदिप केसीले जानकारी दिए । उनका अनुसार शनिबार साँझ ६.३० बजे आफ्नै घरको पिँढीमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    हावाहुरी, र वर्षा भइरहेका बेला तिमिल्सिना भैँसी दुहुन गोठमा जान पिँढीमा निस्किँदा एक्कासि चट्याङ लागेको थियो । त्यसैगरी चट्याङ लागेर घाइते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक केसीले जानकारी दिए । प्रहरीको टोली अहिले दुवै घटनास्थलमा मुचुल्काका लागि पुगेको र थप विवरण पछि आउने उनले बताए । शनिबार साँझ परेको वर्षासँगैको असिनाले पनि पर्वतको मोदी गाउँपालिकामा ठूलो नोक्सानी पुर्‍याएको छ । सुन्तलाको पकेट क्षेत्र रहेको वडा नं २ देउपुरमा भर्खरै फल लाग्न थालेका सुन्तला झारेर नष्ट गरिदिएको स्थानीय प्रकाश चापागाइँले जानकारी दिए ।

  • दाङमा माटोको ढिस्कामा पुरिएर दुई बालकको मृत्यु

    दाङमा माटोको ढिस्कामा पुरिएर दुई बालकको मृत्यु

    काठमाडौं । दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

    आन्द्राभरैयाका ४ बालक घरदेखि करिब ५ सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ । आज दिउँसो खेल्न गएकामध्येबाट तीन खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अन्य दुईजना गहिरो खाल्डोमा गएर पुरिएका थिए ।

    पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए । उनीहरुको शव अहिले शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • धादिङमा मिनी ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

    धादिङमा मिनी ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

    काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

    नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा मल बोकेको बा २ ख ८९४७ नम्बरको आइचर ट्रक खाल्टेको पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना हुँदा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेलको मृत्यु हो ।

    दुर्घटनामा परेर पाँच जना बालबालिकासहित आठ जना घाइते भएका छन् । घाइते हुनेहरुमा एकैपरिवारका ५ जना रहेका छन् ।

    घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । छ ।घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

  • नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

    नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

    काठमाडौं । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् ।

    अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ । विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ ।

    अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि सहजीकरण कार्ययोजना तयार पारेको छ ।

    त्यसलाई कार्यान्वयन गर्न सबै पालिका, विद्यालय तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ । गएको चैत १५ गतेदेखि आवश्यक पाठ्यपुस्तक वितरण शुरु भएको र देशका धेरै ठाउँमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई विद्यालय भर्नाकै समयमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन अनुरोध गरिएको छ ।

  • इरानले इजरायलमा थाल्यो आक्रमण, ड्रोन र क्षेप्यास्त्र प्रहार

    इरानले इजरायलमा थाल्यो आक्रमण, ड्रोन र क्षेप्यास्त्र प्रहार

    काठमाडौं । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला थालेको छ । इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको छ । ती धेरैजसोलाई निस्तेज पारिएको सेनाले जनाएको छ । मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्। इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरेली अपराधको जबाफ बताएको छ।

    जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न वार क्याबिनेटको बैठक बोलाएका छन्। यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले ूअवस्थालाई थप चर्काउन खोजेकाले नतिजा झेल्नुपर्ने चेतावनी दिएको थियो। इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ।


    इजरेली सेनाले दक्षिणी इजरेलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ। एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ। एउटा पछिल्लो विज्ञप्तिमा आइडिएफले धेरैजसो हमलालाई आफ्नो एरो हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा इजरेली भूमि पार गर्नु अगावै निस्तेज पारिएको जनाएको छ।

    आइडिएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरेलमा खस्दा एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताए तापनि त्यसबारे थप खुलाएनन्। इजरेलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू रहेको थाहा पाएपछि जेरुसेलममा साइरनहरू बजेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडन सप्ताहन्तको बिदा छोट्याउँदै आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीहरूलाई भेट्न ह्वाइट हाउस फर्केका छन्। ह्वाइटहाउसको सिचुएसन रुमुमा भएको बैठकको तस्बिरसहित उनले इरान र उसका प्रोक्सीबाट हुने जोखिमसँग जुझ्नका लाग इजरेलप्रतिको वासिङ्टनको प्रतिबद्धता फलामे कवच जस्तो रहेको बताएका छन्।

    अमेरिकी अधिकारीहरूका अनुसार इरानले प्रहार गरेका केही ड्रोनलाई निस्तेज पार्न अमेरिकी लडाकु जेटहरू समेत संलग्न भएका थिए। इजिप्टले आफ्नो हवाई प्रतिरक्षालाई अधिकतम सजग अवस्थामा राखेको जनाएको छ। कायरोले उक्त क्षेत्र र त्यहाँका मानिसहरूलाई अधिकतम रूपमा संयमित रहन आह्वान गरेको छ। ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई लापरबाही भन्दै निन्दा गरेका छन्। उनले इरानलाई आफै पछाडि भद्रगोल सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

    फ्रान्सले समेत इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ विन्दुमा पुगेको भन्दै चेतावनी दिएको छ। राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले आफू क्षेत्रीय रूपमा चर्कने अवस्थाको निकै वास्तविक खतरालाई लिएर गहिरो चिन्तामा परेको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन्।

    BBC

  • मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ

    मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ

    काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ । जनकपुरधामको गंगासागर, अर्गजासरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठको लागि गंगासागर र अर्गजासर दुल्ही झै सजाइएको छ । चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

    चारदिनसम्म मअत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय(खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।

    आज सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठी माताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ । ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुने चलन छ । कात्तिकमा मनाइने छठ पर्व जतिको उल्लेख्य संख्यमा चैती छठपर्व मनाउनेको नभए भएपनि बर्सेनि संख्या बढ्दै गएको छ ।

  • आइपीएल : राजस्थानले पन्जावलाई हरायो

    आइपीएल : राजस्थानले पन्जावलाई हरायो

    काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गरेको हो । राजस्थानका यसस्वी जैसवालले ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाए भने सिमरन हेटमेरले अविजित २७ रनको योगदान गरे ।

    पन्जाबका कागिसो राबडा र साम कुरानले दुई–दुई तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान एक–एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । जसमा अशुतोष शर्माले ३१, जितेश शर्माले २९, लिभिङटनले २१, अर्थभ टेडी र जोनी ब्रेस्टोले १५र१५ बनाए ।

    राजस्थानका अभेस खान, केशव महाराजले दुई–दुई तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले एक–एक विकेट लिएका थिए । राजस्थान ६ खेलमा ५ खेल जित्दै १० अंकसहित शीर्षस्थानमा छ भने समान खेलबाट ४ अंकमात्रै जोडेको पन्जाब ८औं क्रममा छ । ६ अंक जोडेका कोलकाता नाइटराइडर्स, चेन्नाइ सुपर किंग्स, लखनउ सुपर जायन्ट, सनराइज हैदराबाद र गुजरात टाइटान्स क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

  • प्रतिनिधिसभा बैठक आज, कांग्रेसले के गर्ला ?

    प्रतिनिधिसभा बैठक आज, कांग्रेसले के गर्ला ?

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको लगायतका विषयमा छलफल हुने बताइएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभाको बैठक पनि वैशाख २ गते बिहान ११ बजे राखिएको छ ।

    संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटा विधेयकमात्र पारित गरेको छ । प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका २० वटा बैठक बस्दा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक मात्र पारित भएका छन् ।

  • दीपेन्द्रको अलराउण्ड प्रदर्शन, नेपालले कतारलाई हरायो

    दीपेन्द्रको अलराउण्ड प्रदर्शन, नेपालले कतारलाई हरायो

    काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो ।


    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ रन र आसिफ शेखले ५२ रनको योगदान गरेपछि कतारले २११ रनको विशाल लक्ष्य पाएको थियो । कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले २२ रन जोडे पनि टिमको जितका लागि पर्याप्त भएन ।

    बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २र२ तथा कुशल मल्ल र अविनाश बोहराले ११ विकेट लिए । यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । आजको खेलमा दीपेन्द्रले अलराउण्ड प्रदर्शन गरेका छन् ।