Category: समाचार

  • ‘प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थाल्यो’

    ‘प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थाल्यो’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् । इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे ।

    ‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला । अलिअलि गनगन गर्न थाल्नुभयो होला,’ लामिछानेले कांग्रेसप्रति टिप्पणी गरे । रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुको पक्षमा मत माग्दै लामिछानेले इलाम–२ का स्वास्थ्य चौकी, अस्पताल बाटो हेरेर ३० वर्षमा पुराना पार्टीहरूले गरेको काम देखिने बताए ।

    ‘जे छ, त्यही ठीक छ भन्ने लाग्छ भने त्यस्तैलाई निरन्तरता दिनुपर्दछ । होइन अब हामीले मत परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ भने अब सोच्नै पर्दछ,’ गृहमन्त्री लामिछानेले भने । अस्तित्व र पहिचान रास्वपाले स्वीकारेको उनले मतदातासँग प्रतिवद्धता जनाए । ‘एउटा मात्रै पहिचान भएको ठाउँ होइन यो । यहाँ धेरै पहिचान छन् । यसमा गौरव गर्ने ठाउँमा कहिले पनि कञ्जुस्याईं गरेका छैनौं,’ लामिछानेले भने । उनले पहिचानको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे ।

  • ९ महिनामा २८६ उद्योग दर्ता, साढे १ खर्ब लगानी प्रतिवद्धता

    ९ महिनामा २८६ उद्योग दर्ता, साढे १ खर्ब लगानी प्रतिवद्धता

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ । चैत महिनामा मात्र २८ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ३६ वटा ठूला उद्योग दर्ता भएका छन् । २७ वटा मझौला उद्योग र २२३ वटा साना उद्योग दर्ता भएको विभागले जनाएको छ । यस वर्ष विभागले ८० ठूला, ८५ मझौला र २०० वटा साना उद्योग दर्ता हुने प्रक्षेपण गरेको थियो ।

    यस अवधिमा १ खर्ब ६५ अर्ब रुपैयाँ प्रस्तावित लगानी आएको छ । चैतमा मात्र १० अर्ब ५९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । विभागका अनुसार चैतसम्म दर्ता हुन आएका उद्योगमा २० हजार १३७ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । चैतसम्म विदेशी लगानीका २६९ उद्योग दर्ता भएका छन् ।

    १६ वटा चैतमा दर्ता भएको विभागको तथ्यांक छ । यस अवधिमा ३० अर्ब १० करोड विदेशी लगानी प्रस्तावित भएको छ । चैत महिनामा मात्र आएका उद्योगले १ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको विभागले जनाएको छ । विभागका अनुसार यसरी आएका उद्योगले १३ हजार ८३४ जनालाई रोजगारी दिने अनुमान गरिएको छ ।

  • निजी विद्यालयले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने

    निजी विद्यालयले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने

    काठमाडौं । निजी विद्यालयहरूले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयहरूले वर्षेनी भर्ना शुल्क लिन नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराएको हो ।

    विद्यालयमा अध्ययनरत पुराना विद्यार्थीहरूलाई पनि हरेक वर्ष भर्ना शुल्क लिने गरेपछि महानगरले सूचनामार्फत सबैलाई कानुनी व्यवस्था सम्झाएको हो ।

    नयाँ विद्यार्थीको हकमा एउटा विद्यार्थीको हकमा एक पटक मात्रै भर्ना शुल्क लिन पाइने महानगरले जनाएको छ । महानगरका अनुसार विद्यालयहरूले भर्ना शुल्क पनि जथाभावी लिन पाउने छैनन् । निजी विद्यालयहरूले भर्ना शुल्क लिँदा एक महिनाको मासिक शुल्कभन्दा बढी लिन नपाउने महानगरले जनाएको छ ।

    ‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५, शिक्षा व्यवस्थापन नियमावली २०७४ तथा संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ मा विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको विद्यार्थी शुल्कको १ महिनाको भन्दा बढी लिन पाइने छैन भन्ने व्यवस्था छ । सोही निर्देशिकामा कुनै कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा भर्ना शुल्क लिन पाइने छैन,’ महानगरद्धारा जारी सूचनामा भनिएको छ ।

  • नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

    नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

    काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ ।ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको हो।

    नेपालका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे। गुल्सन झा २० रन बनाउँदा क्याच आउट हुन पुगे। १६ बलमा १ चौका र १ छक्का हानेका गुल्सन जुनैद सिद्दीकीको बलमा क्याच आउट भए।
    करण केसीले १७ रन थपे। १२ बलमा २ छक्का हानेका करण अलि नसिरको बलमा बोल्ड आउट भए। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

    नेपाललाई सस्तैमा रोक्न यूएईका बसिल हमिद, अलि नासिर र जुनैद सिद्दिकीले समान दुई विकेट लिए । मुहम्मद फारुक, अयान अफजल खान र ओमिद सफी रहमानले एक–एक विकेट हात पारे ।

  • इजरायलबाट इरानमा मिसाइल हानियो

    इजरायलबाट इरानमा मिसाइल हानियो

    काठमाडौं । अमेरिकाका अधिकारीहरुले इसराइलबाट ईरानमा मिसाइल प्रहार भएको जानकारी गराएका छन् । यसको पुष्टी ईरानका सरकारी सञ्चारमाध्यमले समेत गराएका छन् । उनीहरुका अनुसार इरानको एयर डिफेंस सिस्टमलाई विभिन्न प्रान्तमा सक्रिय बनाइएको छ । ईरानको एक समाचार एजेंसीलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार ईरानको उत्तर–पश्चिमी शहर इस्फ़हानमा शुक्रवार बिहान ठूलो विष्फोटको आवाज आएको थियो ।

    समाचार एजेंसी एपीका अनुसार इरानका कतिपय शहरमा हवाई उडान रद्द गरिएको छ । यसमा तेहरान, शिराक्स र इस्फ़हान छन् । यसअघि ईरानक्ँ विदेश मंत्री हुसैन अमीर अब्दुल्लाह्यानले इजरायलको तर्फबाट कुनै हमला भए त्यसको उच्चस्तरबाट जवाफ दिने बताएका थिए । गत आइतबार इरानले इजरायलको भूमीतर्फ ड्रोन र मिसाइल हानेको थियो । दुई शक्तिशाली मुलुकबीच बढ्दो तनावका बीच मध्यक्षेत्रमा अशान्ती बढेको छ ।

  • नेपालमा लगानी भित्राउन बेलायतले सहयोग गर्ने

    नेपालमा लगानी भित्राउन बेलायतले सहयोग गर्ने

    काठमाडौं । लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’

    बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं वर्षगाँठ मनाउन बिहीबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राजदूत फेनले भने, ‘बेलायत नेपालको मानवीय विकासका लागि सँधै नै प्रयत्नशील मित्र हो, । तर, लगानीका लागि चाहिँ अनुकूल नीति र संयन्त्रको विकास गर्नु पर्ने देखेको छु ।’

    नेपालमा बेलायतले गरेका केही लगानीमा सरकारले नियमभन्दा बाहिर गएर कर लगाएको र त्यसमा आफ्नो देशको फरक मत रहेको राजदूत फेनले बताए । ‘तपाईंहरु बेलायतको अनुदानमात्रै चाहनु हुन्छ कि लगानी पनि भनेर मैले सरकारका अधिकारीहरुलाई भेटमा भन्ने गरेको छु,’ भूतलक्षीत कानुन बनाएर अवाञ्छित कर लगाए त्यसले लगानीकर्ताहरुलाई नेपालमा जाऊ भन्न नसकिने बताउँदै राजदूत फेनले भने, ‘जे रोजे पनि नेपालको स्वतन्त्रता हो र त्यसका हामी सम्मान गर्छौं ।’

    बेलातमा पढेर आएकाहरुको संगठन आबानले दुई देशबीचको सम्बन्धलाई व्यावसायिक र सामाजिक विकासका लागि साझेदारीमा लगाउन विविध कार्यक्रहरु गर्दै आएको छ । ‘यसका लागि दूतावासको सँधै साथ र सहयोग मिलेको छ,’ अबानकी अध्यक्ष पद्मा वैद्यले भनिन्, ‘आगामी दिनमा हामी यो साझेदारीलाई थप फराकिलो दायरमा लैजाने योजनामा छौं ।’

    ठूलो संख्यामा बेलायतीहरु नेपालका लागि सहयोग गर्न र नेपाल घुम्न आउन इच्छुक भएको र उनीहरुको नेपाल प्रतिको माया सदा रहेको पाएको भन्दै दूतावासले त्यो सद्भाव नयाँ पुस्ताका बेलायतीमा पनि सार्न थप पहलको जरुरत भएको बताएको छ । दुई देशका तन्नेरीलाई जोड्न र बेलायतको नयाँ पुस्तामा नेपालबारे चासो जगाउन त्यहाँ पढेर आएका विद्यार्थीहरुको संस्थाले ठूलो भूमिका निर्वाह गर्न सक्ने भन्दै राजदूत फेनले थप सहकार्यका लागि आफू इच्छुक रहेको बताए ।

  • सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । घटनामा कम्तिमा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटनामा परेको थियो । ५२ जना घाइते भएको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

    दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस बिहान सात बजेर २० मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे लगिदैछ ।

  • भारतमा आजबाट लोकसभा निर्वाचन, मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा

    भारतमा आजबाट लोकसभा निर्वाचन, मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा

    काठमाडौं । भारतमा लोकसभा चुनाव आजबाट सुरु हुँदैछ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदानको कार्यक्रम राखिएको छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल चुनावी भिडन्तमा उत्रिएका छन् ।
    पहिलो चरणमा अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालयमा मतदान छ ।

    मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबारमा पनि आजै मतदान हुने भएको छ । पहिलो चरणमा चुनाव हुने अन्य क्षेत्रमा जम्मु(कश्मीर, लक्षद्वीप, पुडुचेरी छन् । कुल २१ राज्यबाट पहिलो चरणको चुनावमा १०२ लोकसभा सदस्य चयन हुनेछन् ।

    पहिलो चरणमा उत्तर प्रदेशको आठ सिट, पश्चिम बंगलाको तीन सिट, महाराष्ट्रको पाँच सिटमा चुनाव छ । यस्तै, छत्तीसगढको एक, राजस्थानको १२, मणिपुरको २ र तमिलनाडुको ३९ सिटमा चुनाव छ । यता उत्तराखण्डको पाँच सिटमा, अरुणाचलको २ सिट र मेघालयको २ सिटमा पनि चुनाव छ । पुडुचेरी र सिक्किममा पनि पहिलो चरणमा एक–एक सिटका लागि मतदान छ । यो चुनावपछि प्रधानमन्त्री मोद ितेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको दावेदार छन् ।

  • एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

    एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

    काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

    नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।

    नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाललाई त्यस हारको समेत बदला लिने अवसर समेत छ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा महत्वपूर्ण हुनेछ । कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्र राम्रो लयमा पनि छन् ।

    युएईका कप्तान मोहम्मद वासिम, एलिशान शराफु र आसिफ खान प्रमुख ब्याटर हुन् । एलिसान शराफुले ४ खेलमा २ अर्धशतकसहित १८९ रन बनाउँदै यो प्रतियोगितामा धेरै रन जोड्नेको सूचीमा तेस्रो स्थानमा छन् । आसिफ खान ४ मध्ये ३ खेलमा अर्धशतकका साथ २११ रन जोड्दै शीर्ष स्थानमा छन् । मोहम्मद वासिम १५८ रनका साथ पाँचौं स्थानमा छन् । बासिल हामिद, आयन खान र अली नासिर पनि मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्ने खुबी भएका क्रिकेटर हुन् । यसअघि जस्तो वासिममा मात्रै युएई निर्भर देखिँदैन । बलिङ युएईको कमजोर पक्ष हो ।

  • आइपीएल :मुम्बईको तेस्रो जित, पञ्जाव हार्यो

    आइपीएल :मुम्बईको तेस्रो जित, पञ्जाव हार्यो

    काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा तेस्रो जित निकालेको छ । उसले पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको हो । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए । सशांक सिंह २५ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । एक समय ९.२ ओभरमा ७७–६ को अवस्थामा पुगेको पन्जाबलाई शंशाक र आशुतोषले जितको आशा देखाएका थिए ।

    मुम्बईका जोराल्ड कोट्जी र जस्प्रित बुमराहले ३–३, आकाश माधल, हार्दिक पान्ड्या र श्रेयस गोपालले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रन बनाए । रोहित शर्मा ३६, ईशान किशन ८, तिलक बर्मा ३४, हार्दिक पान्ड्या १० र टिम डेविड १४ रनमा आउट भए ।

    पन्जाबका हर्षल पटेलले ३ र साम करनले २ विकेट लिए । मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । पञ्जाब ७ खेलमा २ मा जितका साथ नवौं स्थानमा छ । राजस्थान ७ खेलमा ६ मा जितका साथ शीर्ष स्थानमा छ । कोलकाता, चेन्नई र हैदराबादको समान ६ खेलमा ८–८ अंक भए पनि नेटरनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

  • सत्तारुढ दलका शीर्ष तीन नेताबीच भेट, के भयो कुराकानी ?

    सत्तारुढ दलका शीर्ष तीन नेताबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदबारमा भेटवार्ता भएको छ । प्रदेश सरकार गठनको विषयमा सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिबारे तीन नेताले छलफल गरेका हुन् ।

    बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले समग्र राजनीति परिस्थितिको समीक्षा गरिएको बताए । सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार साँझ भेटघाट गरेका थिए ।

    त्यस्तै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर सरकार बनाउन खोजेका थिए । तीन नेताबीच यस विषयमा पनि छलफल भएको लामिछानेले बताए । तर प्रदेशमा देखिएका सामान्य समस्याले केन्द्रमा गठबन्धनमा खटपट नआउने उनले बताए ।

  • कामको खोजिमा ९ महिनामा विदेशिए साढे ५ लाख नेपाली

    कामको खोजिमा ९ महिनामा विदेशिए साढे ५ लाख नेपाली

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०\८१ को ९ महिना (साउन–चैत)मा नेपालबाट कामको खोजीमा विदेशिनेको संख्या ५ लाख ३९ हजार ६९ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा केही कम हो । गत वर्षको ९ महिनामा ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका थिए । नेपालबाट कामको खोजीमा चैत महिनामा मात्र झन्डै ७१ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो । यो संख्या गत वर्ष चैतको तुलनामा समेत धेरै हो ।

    विभागका अनुसार २०७९ चैतमा ६१ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका थिए । यस आवको मंसिरमा जारी ६८ हजार २०१ श्रम स्वीकृति जारी भएको थियो । त्यसपछि चैतमा धेरै श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ ।

    चैत २०८० मा यूएईमा मात्र १७ हजार ८१८ जना नेपाली विदेशिएका छन् । साउदी अरेबियामा १३ हजार ६४१ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा १२ हजार ६०२, कतारमा ११ हजार २०४ र कतारमा ४ हजार ७६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस महिनामा रोमानियामा २२ सय ९९, जापानमा १३ सय ५१, बहराइनमा ९६४, क्रोएसियामा९६०, साइप्रसमा ७८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

  • काठमाडौं विमानस्थलबाट एक किलो सुन बरामद

    काठमाडौं विमानस्थलबाट एक किलो सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए । विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको उनले बताए । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुनसक्ने आशंका गरिएको छ ।

    फ्लाइट नम्बर ६ई११५१ नम्बरको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ चार्लीको पछाडि र २८ चार्लीको अगाडिको सिट पाकेटको तल बेवारिसे अवस्थामा रहेका झोलाबाट उक्त सुन बरामद भएको हो । कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन बरामद भएको एसएसपी पोखरेलले बताए । जसमा ३ थान सिक्री, ६ थान बिस्कुट, त्रिभूज आकारको सुनको टुक्रा २ थान र सिक्री जोड्ने साना रिङ गरी १ किलो ७० ग्राम बराबरको सुन बरामद भएको हो ।

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी, एमालेको पनि समर्थन

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी, एमालेको पनि समर्थन

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

    बिहिवार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

    त्यहाँ एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित छ ।

    वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए।

  • नेप्सेमा लगातार दोहोरो अंकको गिरावट

    नेप्सेमा लगातार दोहोरो अंकको गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ ।

    आज पनि गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड ८२ लाख रुपैयाँ बराबरको २ लाख १५ हजार १४५ कित्ता शेयर किनबेच भएको छ ।

    घट्दो बजारमा आज खानीखोला हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ७.९४ प्रतिशत कमाएका छन् भने रुरु जलविद्युत्का लगानीकर्ताले ९.९९ प्रतिशत गुमाएका छन् ।

  • मनकामना केबलकार एक दिनका लागि बन्द हुने

    मनकामना केबलकार एक दिनका लागि बन्द हुने

    काठमाडौं । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही बैशाख ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने जनाइएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

  • पाकिस्तानमा बाढी र पहिरोको वितण्डा, कम्तिमा ६३ जनाको मृत्यु

    पाकिस्तानमा बाढी र पहिरोको वितण्डा, कम्तिमा ६३ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानमा चार दिनदेखिको वर्षा र त्यसपछि आएका विपदजन्य घटनामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ। मंगलबार मात्रै त्यहाँ १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उत्तरपश्चिम खिबर पख्तुनख्वा प्रान्तमा ३२ जना, पञ्जाबमा २१ जना र बलुचिस्तानमा १० जनाको मृत्यु भएको समाचार संस्था एशोसियट प्रेसले उल्लेख गरेको छ। खिबर पख्तुनख्वा प्रदेशमा चार दिन देखि खराब मौसम र त्यसपछि आएका बाढी पहिरोले १ हजार भन्दा बढी घरहरूमा क्षती पुर्‍याएको विपद व्यवस्थापन विभागका प्रवक्ता खुर्शीद अन्सारीले बताएका छन्।

    कश्मिरमा पनि भारी वर्षा भएको छ। कराँची लगायतका कैयौं सहरहरूमा भारी वर्षाको नयाँ चरण सुरू हुने पूर्वानुमान त्यहाँको मौसम विभागले गरेको छ।
    उद्धार कार्यका लागि टोलीहरू खटाइए पनि अत्यधिक खराब मौसमका कारण उद्धार कार्य सहजताका साथ हुन सकिरहेको छैन। बलुचिस्तानमा अघिल्लो वर्षको यही महिनाको तुलनामा यसपालि ३५३ प्रतिशत बढी पानी परेको र देशभर ९९ प्रतिशत बढी पानी परेको एपीले उल्लेख गरेको छ।


    यसको कारण जलवायु परिवर्तन भनिएको छ। २०२२ मा बाढी पहिरा लगायत विपदका घटनामा १ हजार ७३९ मानिसहरूको मृत्यु भएको थियो। पाकिस्तानको छिमेकी मुलुक अफगानिस्तानमा पनि भारी वर्षा भएको जनधनको क्षति भएको बताइएको छ।

  • हिजबुल्लाहले इजरायलमा गर्यो हमला, क्षति भने न्यून

    हिजबुल्लाहले इजरायलमा गर्यो हमला, क्षति भने न्यून

    काठमाडौं । लेबनानको सैन्य समूह हिजबुल्लाहले उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला गरेको छ। बुधबार हिजबुल्लाहले इसराइलको उत्तरी भूभाग अरब अल अरमशीको बेदोइनमा रहेको सैन्य अड्डामा हवाई हमला गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार उक्त हमलामा परी १४ जना इसराइली सेना घाइते भएका छन्।

    इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि लेबनानबाट हिजबुल्लाहले इसराइलमाथि आक्रमण गरेको पुष्टि गरेको छ। हिजबुल्लाहले उक्त हमलालाई मंगलबार इसराइलले मंगलबार लेबनानमा गरेको आक्रमणको जबाफ भनेको छ।इसराइलको उक्त आक्रमणमा हिजबुल्लाहको फिल्ड कमाण्डरसहित ३ लडाकुको मृत्यु भएको थियो।


    हिजबुल्लाहको आक्रमणबाट घाइते भएका १४ इसराइली सैनिकमध्ये ६ जनाको अवस्था गम्भीर रहेको रोयटर्सले उल्लेख गरेको छ। हिजबुल्लाह र इसराइलबीच ६ महिनादेखि आक्रमण प्रत्याक्रमण भइरहेको छ। इसराइलले गजामा लगातार हमला गर्न थालेपछि इसराइलमाथि दबाब बढाउन हिजबुल्लाहले लेबनानबाट आक्रमण गरिरहेको छ।

    इसराइलको जवाफी आक्रमणमा अहिलेसम्म त्यहाँ ३७० जना मारिएको रोयटर्सले उल्लेख गरेको छ। जसमध्ये २४० जना हिजबुल्लाह लडाकु र ६८ जना लेबनानी नागरिक रहेका छन्। हिजबुल्लाहको आक्रमणमा १८ जना इसराइली सैनिक मारिएको बताइएको छ।

  • गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित

    गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सविरुद्ध दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हरायो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ ।

    गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे । गुजरातका सुदीप वारियर २, स्पेसर जोन्सन र रासिद खानले समान एक–एक विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । रासिद खानले ३२ रन जोडे पनि अरुले राम्रो गर्न सकेनन् । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाएनन् । दिल्लीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टुबले २२, खलिल अहमद र अक्षर पटेलले एक–एक विकेट लिए ।

  • त्रिशूली नदी पारी १० करोड लगानीमा खुल्यो नयाँ रिसोर्ट

    त्रिशूली नदी पारी १० करोड लगानीमा खुल्यो नयाँ रिसोर्ट

    काठमाडौं । त्रिशूली नदी पारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलको लगानीमा त्रिशूली भिल्ला सञ्चालनमा आएको हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेलले बताएका छन् । त्रिशूली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको उनले जानकारी दिए ।

    २२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने सञ्चालक कँडेलले बताए । भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ । भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ । भिल्लामा न्यूनतम ४ हजार रुपैयाँदेखिको प्याकेज बुक गर्न सकिने कम्पनीले बताएको छ । भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउने भएका छन् ।

    भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ । रुमको बालकोनीबाट त्रिशूली नदीको सुन्दर दृश्यावलोकन गर्न सकिने कँडेलले बताए । रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ । त्रिशूली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशूली नदीमा र्‍याफ्टिङ जस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टका पाहुनाले लिन सक्नेछन् ।

    भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्‍गा झरेपछि त्रिशूली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ । एडभेन्चर नरोज्ने पाहुनाहरू झोलुङ्‍गे पुल तरेर भिल्ला पुग्न सक्छन् । सवारी साधन लिएर जानेका लागि नदी वारि नै पार्किङको सुविधा छ । बाइकमा भने झोलुङ्‍गे पुल हुँदै भिल्लासम्मै पुग्न सकिन्छ ।

  • सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो

    सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो

    काठमाडौं । लितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो । यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ । ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो । दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।

  • रुट परिवर्तन गरी सगरमाथा चढ्ने बाटो बनाइदैं

    रुट परिवर्तन गरी सगरमाथा चढ्ने बाटो बनाइदैं

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा प्रयोग भइरहेको रुट १० वर्षपछि परिवर्तन गरिएको छ । सन् २०२४ को वसन्त ऋतुका लागि आरोहण रुट बनाइरहेका ‘आइसफल डाक्टर’ हरू बुधबार ‘क्याम्प वान’ नजिकै नयाँ रुटबाट बाटो बनाउँदै ‘क्याम्प टु’ सम्म उक्लिन सफल भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार ‘ल्हो ला पिक’ नजिकैबाट साविकभन्दा अलग रुट खोली आइसफल डाक्टरहरू क्याम्प वानबाट माथि उक्लिन सफल भएका हुन् ।

    २०१४ भन्दा अगाडि प्रयोग भएको बाटो नजिकैबाट नयाँ रुट खोलिएको हो । विगत वर्षहरूमा प्रयोग भएको रुटमा हिउँ अस्थिर भएको र पटक–पटक रुट खोल्ने प्रयास असफल भएपछि आइसफल डाक्टरहरूले नयाँ रुट खोलेर अगाडि बढ्न सफल भएको उनले जानकारी दिए । यहाँ बाटो बनाउन खटिएको विशेषज्ञ टोलीले कम्तीमा १५ दिनसम्म हिउँको अवस्थिति अवलोकन गरी जोखिम विश्लेषण गरेका थिए । हिँउ बढी नै चलायमान भइरहेपछि नयाँ रुट खोलेर अगाडि बढेको उनले बताए ।

    अबको एक सातामै बाटो बनाउने टोली सगरमाथा चुचुरो पुग्ने अपेक्षा गरिएको विभागले जनाएको छ । सगरमाथामा सगरमाथा प्रदूषण नियन्त्रण समितिले रुट बनाउने काम गर्दै आएको छ । सगरमाथाको ५ हजार ३ सय ८० मिटरमा आधार शिविर रहेको छ । पहिलो शिविर ६ हजार ६५ मिटरमा छ । दोस्रो, तेस्रो र चौथो शिविरपछि चुचुरो पुग्ने गरी रुट बनाइन्छ । यसपालि बाटो बनाउने काममा आठजना विज्ञ आरोही खटिएका छन् ।

  • विवाह बन्धनमा बाधिँइन् गायिका एलिना चौहान

    विवाह बन्धनमा बाधिँइन् गायिका एलिना चौहान

    काठमाडौं । गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले बागलुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।

    विष्णु जन्ती लिएर मंगलबारै झापा पुगेका थिए । उनी बागलुङबाटै गएका हुन् । हिजो उनीहरुको हल्दी र मेहन्दी समारोह भएको थियो ।

    विष्णु सापकोटा भने अष्ट्रेलियामा बस्दै आएका छन् । एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए ।

  • भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि

    भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि

    काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् ।

    छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो । सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो । पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो ।

    बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो । भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा माओवादीलाई मार्न सफल भएको भन्दै प्रहरीलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘आज छत्तीसगढमा सुरक्षा बलको अपरेसनमा ठूलो संख्यामा नक्सली मारिएका छन् । यो अपरेसनलाई सफल बनाउने सबै सुरक्षाकर्मीलाई बधाई दिन्छु र वीर प्रहरीहरु घाइते छन्, उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

    नक्सलवाद विकास, शान्ति र युवाहरुको उज्ज्वल भविष्यको सबैभन्दा ठूलो दुश्मन भएको भन्दै गृहमन्त्री शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशलाई नक्सलवादीहरुको आतंकबाट मुक्त गर्ने संकल्प लिइएको जानकारी पनि गराएका छन् । उनले भारत छिट्टै नक्सलवादीबाट मुक्त हुने पनि बताएका छन् ।

    छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायले यो घटनालाई इतिहासकै सबैभन्दा ठूलो सफलता भनेका छन् । भारतीय प्रहरीका आईजी पी सुन्दरराजका अनुसार प्रहरी कारबाहीमा भारतीय माओवादी नेताहरु शंकर राव, ललिता माडवीसहित २९ जना माओवादीहरु मारिएका छन् । भारत सरकारले शंकर राव र ललिता माडवीको टाउकोको मूल्य २५–२५ लाख भारतीय रुपैयाँ तोकेको थियो । प्रहरीका अनुसार एके फोर्टिसेभेन, एन्सास, कार्बाइन लगायतका हतियारहरु पनि बरामद भएका छन् ।

  • एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल

    एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल

    काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।

    नेपालले सेमिफाइनल अघि दीपेन्द्रसिंह ऐरीसहित केही खेलाडीलाई विश्राम दिनसक्छ । बेन्चमा भएका अनिलकुमार शाह र प्रतिश जि.सीले मौका पाउन सक्छन् । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो । साउदीका कप्तान हिशाम शेख, ओपनर अब्दुल वाहिद र स्पिनर जैन उल अबिदीन प्रमुख हतियार हुन् । मनान अली साउदीका क्लिन हिटर हुन् ।

    नेपालले टी–२० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दैछ । यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका नेपालका दीपेन्द्र प्रमुख हतियार हुन् । दीपेन्द्र, कुशल भुर्तेल र कुशल मल्ल नेपाल मुख्य खेलाडी हुन् । नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

    बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् । आज ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन् । ओमान र यूएई दुवै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र यूएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ । नेपाल समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । मलेसिया र हङकङ पनि समान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो र पुछारमा छन् ।

  • आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित

    आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित

    काठमाडौं । इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । बटलरको जारी प्रतियोगिता दोस्रो र आईपीएल करिअरको ७ औं शतक हो ।

    यस सिजनमा बेंग्लोरविरुद्ध १०० रन बनाएका थिए । अन्तिम ६ बलमा जितको लागि ९ रन चाहिएको थियो । पहिलो बलमा लङअनमा छक्का हाने पनि बटलरले त्यसपछि लगातार तीन बल डट खेलेका थिए । पाँचौं फुलटस बलमा दुई रन बटुल्दै बराबर गरेका थिए । अन्तिम बलमा एक रन बटुल्दै जित दिलाए ।

    एक समय ३६ बलमा ९६ रन चाहिएको अवस्थाबाट बटलरले अन्तिम समयसम्म खेल्दै टोलीलाई जिताएका हुन् । रियान पराग १४ बलमा ४ चौका र २ छक्कासहित ३४ तथा रोभम्यान पावेलले १३ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए । यशस्वी जैसवाल १९, सञ्जु स्यामसन १२, रविचन्द्रन आश्विन ८ र शिम्रन हेटमायर डक आउट भए । कोलकाताका हर्षित राना, सुनिल नारायण र बरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।

    त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनटस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।
    कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्कासहित सर्वाधिक १०९ रन बनाए । नारायणको यो आईपीएल करिअरको पहिलो शतक हो । फिलिप साल्ट १०, रघुवंशी ३०, श्रेयस ऐर ११, आन्द्रे रसेल १३ र रिंकु सिंहले २० रन बनाए ।

    राजस्थानका आवेश खान र कुलदीप सेनले दुईरदुई विकेट लिए । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एकएक विकेट लिए । राजस्थान ७ खेलमा ६ मा जितका साथ १२ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ।

  • सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण

    सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत सो प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गरेका हुन् ।


    उनले आफ्नो नाममा नक्कली खाता खोलेर ऋण प्रवाह भएको जनाउँदै आफूले ऋण नलिएको र व्यक्तिगत खातामा सहकारीको पैसा नआएको दाबी पनि गरेका छन् । उनले अनुसन्धानले देखाएअनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फारम, तीनपुस्ते विवरण लगायतका कुनै विवरण नभएको तथा ल्याप्चे, हस्ताक्षरसमेत नभएको बताएका छन् ।


    के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ? भन्दै प्रश्न पनि गरेका छन् । उनले गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालीन समयमा शेयरधनी रहेको बाहेक अरु केही नभएको जानकारी गराउँदै अभियोगपत्रमा पनि सोही कुरा उल्लेख भएको दाबी गरेका छन् । उनले सहकारी ठगी कार्यमा कहीँकतैबाट नजोडिएको र नदेखिएको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न पनि अनुरोध गरेका छन् ।

  • आज रामनवमी पर्व मनाईदैं

    आज रामनवमी पर्व मनाईदैं

    काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

    भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उनले भने , “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।”

  • चर्चित श्रृङगारिक गजलकार पंगेनीको निधन

    चर्चित श्रृङगारिक गजलकार पंगेनीको निधन

    काठमाडौं । गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ७० वर्षका थिए । उनी केही समयदेखि जण्डिस र निमोनियाका बिरामी थिए । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । उनको उपचारमा आर्थिक अभावसमेत देखिएपछि आफन्त र घर परिवारको आग्रहमा साँस्कृतिक परिवारले मंगलबारदेखि नै आर्थिक संकलन अभियान सुरु गरेको थियो । उनको उपचारमा पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

    कास्कीको रूपा गाउँपालिका–५ निवासी उनका श्रीमती, १ छोरा र १ छोरी छन् । शृंगारिक र प्रेमरसले भरिएका उनका चर्चित गजल छन् । उनको कविताकृति ‘अक्षरभरि अक्षता’, गीत संग्रह ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ र गजल संग्रह ‘प्रणयवेदका ऋचाहरू’ प्रकाशित छन् । बुधबार पोखरामा उनको अन्त्येष्टि गरिने पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष पौडेलले जानकारी दिए ।

  • काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

    काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

    काठमाडौं । काठमाडौं उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएसँगै प्रहरीले एकैदिन १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको हो।

    यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको, पाँच वर्षभन्दा बढी समय नवीकरण नगरेको समेत फेला परेको एसपी रेग्मीले बताए। छापा मार्ने क्रममा प्रहरीले २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरिएको एसपी रेग्मीले बताए। ‘यी सवारी साधनमाथि आवश्यक कारबाही गर्न हामीले सम्बन्धित निकायलाई पत्र लेखिसकेका छौं,’ उनले भने, ‘ब्लुबुक नै नभएका र नवीकरण नगर्ने सवारीसाधनहरू भेटिएका छन्।’