Category: समाचार

  • नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री

    नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथली सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले सुरक्षामा सम्झौता नहुने बताए ।

    गृहमन्त्री लामिछानेले कर्मचारीमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए । उनले काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको पनि उल्लेख गरे ।

  • अष्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहारबाट कम्तिमा ५ जनाको हत्या

    अष्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहारबाट कम्तिमा ५ जनाको हत्या

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या भएको छ। शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। त्यस्तै ९ महिनाका एक बालकसहित ८ जना घाइते भएको र उनीहरुलाई सिड्नीको विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको घटनापछि आयोजित प्रेस ब्रिफिङमा न्यू साउथ वेल्सका सहायक कमिश्नर एन्थोनी कुकले भने।

    उनीहरूको अवस्था गम्भीर रहेको पनि सहायक कमिश्नर कुकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा मृत्यु भएकाहरूको परिचय खुलिसकेको छैन। छुरा प्रहारको घटनापछि प्रहरीले अभियुक्तलाई गोली हानी मारेको छ। बिबिसीका अनुसार छुरा प्रहार गर्ने व्यक्ति अपराह्न ३ः१० बजे सपिङ मलमा प्रवेश गरेका थिए। सपिङ मलमा प्रवेश गरेको १० मिनेटमै अर्थात ३ः२० बजे मलबाट बाहिरिएका थिए।

    संदिग्ध व्यक्ति बाहिरिएपछि मलबाट सयौं मानिसहरू आत्तिँदै बाहिर निस्किएका थिए। छुरा प्रहार भएको सूचनापछि उपस्थित भएको प्रहरीले त्यहाँबाट सयौं मानिसहरूलाई बाहिर निकालेको थियो। सपिङ मल परिसरमा दर्जनौंको संख्यामा एम्बुलेन्स तैनाथ राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ।

  • दीपेन्द्र ऐरीले ६ बलमा ६ छक्का प्रहार गर्दै बनाए कीर्तिमान

    दीपेन्द्र ऐरीले ६ बलमा ६ छक्का प्रहार गर्दै बनाए कीर्तिमान

    काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका छन् । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बने । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् ।

    दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए । नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।

  • आजबाट ठमेल र दरवारमार्ग २४ सै घण्टा खुला

    आजबाट ठमेल र दरवारमार्ग २४ सै घण्टा खुला

    काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरी उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए।

    उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए। ‘जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहेपनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला रहन्छ,’ उनले भने। ‍ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको उनको भनाइ छ।

    प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ। ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ। ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ।

    रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएकोछ। उनले भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको बताए। ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ।

    यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाईन सवारी साधानको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताए। यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको बताए। उनले व्यवसायको पाटोबाट गर्नुपर्ने आन्तरिक तयारी पुरा भएको उल्लेख गरे।

    दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।
    उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्यतामा विभिन्न सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज अपराह्न एक कार्यक्रम आयोजना गरी उक्त क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा हुनेछ।

  • आजबाट नयाँ वर्ष सुरु, २०८१ साल सुरु

    आजबाट नयाँ वर्ष सुरु, २०८१ साल सुरु

    काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

    नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।

    नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

    विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ ।

    विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविदहरू बताउँछन् ।

  • एसीसी प्रिमियर कप आज नेपाल र कतार खेल्दै

    एसीसी प्रिमियर कप आज नेपाल र कतार खेल्दै

    काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान १ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा २६ रनले पराजित भएको थियो ।

    नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा पूरा गरेको थियो । नेपाली ब्याटरलाई आजको खेलमा आक्रामक क्रिकेट खेल्न आवश्यक देखिन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । आजको खेलमा नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ ।

    उता कतारका कप्तान मोहम्मद तनवीर प्रमुख हतियार हुन् । उच्च लयमा रहेका तनवीरको विकेट समयमै लिन आवश्यक देखिन्छ । कतारको शीर्षक्रम ब्याटिङ मजबुत छ । नेपाल र कतारबीच हालसम्म एक मात्रै टी–२० आई खेल भएको छ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । १० टोली सहभागी यस प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ ।

  • ९ महिनामा ३० अर्ब एफडीआई

    ९ महिनामा ३० अर्ब एफडीआई

    काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को ९ महिना (साउन–चैत) मा नेपालमा ३० अर्ब ९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस्तो प्रतिवद्धता गत वर्षको यसैअवधिको तुलनामा सामान्य वृद्धि भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत वर्ष चैतसम्म २८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।

    उद्योग विभागका अनुसार चैतसम्म कुल २६९ वटा एफडीआई स्वीकृत भएको छ । जसमध्ये १६ वटा चैतमा स्वीकृत भएको हो । विभागका अनुसार ९६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी एफडीआई प्रतिवद्धता आएको हो ।

    यससँगै नेपालमा कुल एफडीआई ४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपालमा हालसम्म ६ हजार १२८ वटा विदेशी लगानी स्वीकृत भएको छ । यसवर्ष चैतसम्म स्वीकृति भएका प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामध्ये २५३ वटा साना उद्योगमा आएको छ । मध्यम खालका उद्योगमा १३ र ३ ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ । यसवर्ष आएको कुल लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन उद्योगमा आएको छ ।

    यस क्षेत्रमा १२२ एफडीआई स्वीकृत भएको छ । जसको हिस्सा ४५ प्रतिशत हुन आउँछ । दोस्रो नम्बरमा सेवा क्षेत्र रहेको छ । यस क्षेत्रमा ९३ एफडीआई स्वीकृति भएको छ । जसको हिस्सा ३५ प्रतिशत हुन आउँछ । तेस्रो नम्बरमा उत्पादन क्षेत्र रहेको छ । यसमा १२, सूचना प्रविधिमा ९, पूर्वाधारमा ६, कृषिमा ५ र खानीमा २ वटा लगानी स्वीकृत भएको विभागले जनाएको छ । यस वर्ष साउनदेखि चैतसम्म १ हजार ७२० जनाले विजनेश भिसा लिएका छन् ।

  • रुस र युक्रेन जान नेपालीले श्रम स्वीकृति नपाउने

    रुस र युक्रेन जान नेपालीले श्रम स्वीकृति नपाउने

    काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

    श्रम स्वीकृति दिँदा युद्धरत देशको सेनामा सहभागी हुनसक्ने र त्यसबाट सृजना हुनसक्ने मानवीय जोमिखलाई हेरेर अर्को व्यवस्था नभएसम्म रुस र युक्रेन जाने नेपाली कामदारलाई पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगत गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

  • जेरूसलेम, तेल अविभको भ्रमणमा नजान अमेरिकाले गर्यो यात्रा एडभाइजरी

    जेरूसलेम, तेल अविभको भ्रमणमा नजान अमेरिकाले गर्यो यात्रा एडभाइजरी

    काठमाडौं । अमेरिकाले इसराइलस्थित दूतावासमा कार्यरत आफ्ना कर्मचारीहरूलाई यात्रा प्रतिबन्ध लगाएको छ। इसराइलमा इरानले आक्रमण गर्ने खतरा रहेकाले अमेरिकी दूतावासमा कार्यरत आफ्ना नागरिकहरूलाई बाहिर ननिस्कन भनेको हो। बिबिसीका अनुसार इसराइलस्थित अमेरिकी दूतावासले जेरूसलेम, तेल अविभ, बेरसेवा लगायतका क्षेत्रहरूमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ। इसराइलले ११ दिनअघि सिरियास्थित इरानी दूतावासमा आक्रमण हुँदा त्यहाँ इरानी कुड्स फोर्सका वरिष्ठ कमाण्डर र सैन्य अधिकारीसहित १३ जना मारिएका थिए।

    इरानले उक्त आक्रमणमा इसराइलको हात रहेको बताउँदै त्यसको बदला लिने घोषणा गरेको थियो। यद्यपि इसराइलले उक्त आक्रमणको जिम्मा लिएको छैन। इसराइल अक्टोबरदेखि प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासँगको लडाईंमा छ। सोही क्रममा हिजबुल्लाह लगायत हमासका अन्य सहयोगी विद्रोही समूहसँग उसको युद्ध जारी छ।

    बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइलमा इरानी आक्रमणको खतराबारे बताउँदै त्यसमा इसराइललाई रक्षा गर्न अमेरिका तयार रहेको बताएका थिए। इसराइलमा इरानले आक्रमण गर्छ कि उसको तर्फबाट सहयोगी राष्ट्र तथा अन्य विद्रोही समूहले आक्रमण गर्छ भन्ने निश्चित नभएको बिबिसीले उल्लेख गरेको छ।

  • माइतीघरदेखि नयाँ बानेश्वरसम्मको निषेधाज्ञा हट्यो, तोडफोड भए बील आउने

    माइतीघरदेखि नयाँ बानेश्वरसम्मको निषेधाज्ञा हट्यो, तोडफोड भए बील आउने

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ । सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो । गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । सुरूमा २ महिनाका लागि भनेर जारी गरिएको निषेधाज्ञा पटक पटक थप भएको थियो ।


    निषेधाज्ञा हटाएसँगै उपप्रधान तथा गहृमन्त्री रवि लामिछानेले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति ताडफोड भए आयोजकबाट क्षतिपूर्ति भराउने निर्णय गरेका छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताएको छ । साथै सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पुर्‍याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने बताएको छ ।

    स्थानीय प्रशासन ऐनमा सार्वजनिक वा व्यक्तिगत सवारी, घर वा सम्पत्ति तोडफोड, आगजनी वा लुटपाट गरी क्षति पुर्‍याए प्रमुख जिल्ला अधिकारीले कसूर हेरी १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय र हानी नोक्सानीको बिगो असुल गरी बिगो बराबर जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।

  • एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको जित

    एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको जित

    काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे ।
    कप्तान रोहित पौडेल २४ बलमा १ छक्कासहित २८ रनमा क्याच आउट भए ।

    नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २४ बलमा ३ चौकासहित २४ रनमा स्पिनर पवनदीप सिंहको बलमा एलबीडब्लू आउट भए ।

    आसिफ शेख ३५ बलमा ४ चौकासहित ३२ र कुशल मल्ल ७ रनमा आउट भएका थिए । दीपेन्द्र ११ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे । मलेसियाका विरनदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । पवनदीपसिंह र मोहम्मद वाकिफले १९१ विकेट लिए । त्यसअघि अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रनको सुस्त इनिङ खेलेका थिए ।

    ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । आमि १६ रनमा दीपेन्द्रको बलमा कट एण्ड बोल्ड आउट भएका थिए । त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए ।

    नेपालका दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । आज समूह बीतर्फ ओमानले बहराइनलाई ३ रनले हराएको थियो । युएईले कुवेतलाई ७ विकेटले हराएको थियो । नेपालले शनिबार कतारसँग खेल्नेछ । १० टोली सहभागी प्रतियोगिता विजेताले एसिया कप खेल्न पाउनेछ ।

  • मुख्यमन्त्री महराले पाए विश्वासको मत, कांग्रेस र जनमत विपक्षमा

    मुख्यमन्त्री महराले पाए विश्वासको मत, कांग्रेस र जनमत विपक्षमा

    काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा उनले ४८ मत प्राप्त गरेका छन्।

    मुख्यमन्त्री महराको पक्षमा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले मतदान गरेका हुन् भने विपक्षमा नेपाली कांग्रेस, जनमतका सांसद रहेका थिए । राप्रपाका ३ र लोसपाका ३ सांसद तटस्थ बसेका छन् । जम्मा सांसद ८७ जना रहेकोमा राप्रपाका एक निलम्बित छन् ।

    चैत २२ गते नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि २३ गते महरा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

  • वैशाख २ गतेदेखि संसदको चालु अधिवेशन अन्त्य

    वैशाख २ गतेदेखि संसदको चालु अधिवेशन अन्त्य

    काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

    शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

  • नाउपाभित्र दुई गुटबीच नेतृत्व हत्याउने होडबाजी, रञ्जिताले गरिन् घनश्यामलाई निलम्बन

    नाउपाभित्र दुई गुटबीच नेतृत्व हत्याउने होडबाजी, रञ्जिताले गरिन् घनश्यामलाई निलम्बन

    काठमाडौं । सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पदसहित भौतिक पूर्वाधार मन्त्रालय पार्टीलाई दिने सहमति भएसँगै नाउपाभित्र दुई गुटबीच नेतृत्व हत्याउने होडबाजी सुरु भएको छ ।

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

    पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन परेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन् ।

    यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् ।

    सुदूरपश्चिम प्रदेश सभामा नाउपाका ७ सांसदमध्ये ४ जना रेशमनिकट मानिन्छन्। तर रमेशनिकट ४ जनामध्ये समानुपातिक सांसद इन्द्रिरा गिरीलाई रञ्जिताले बर्खास्त गरिसकेकी छन्।

    रञ्जिता समूहमा २ सांसद मात्र छन्।

    आफूनिकट सांसदलाई मुख्यमन्त्री बनाउने रणनीतिअन्तर्गत रञ्जिताले केही दिनअघि मात्र कैलाश चौधरीलाई संसदीय दल नेता बनाएकी छन्। यसअघि संसदीय दलको नेता रेशमनिकट घनश्याम चौधरी थिए।

  • आइपीएल : मुम्बईको सानदार ब्याटिङ, आरसीबी पराजित

    आइपीएल : मुम्बईको सानदार ब्याटिङ, आरसीबी पराजित

    काठमाडौं । तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङ र शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित निकालेको छ । १९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए ।

    सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रनको आक्रामक क्रिकेट खेल्दै पुनरागमन गरे । रोहित शर्मा २४ बलमा ३ चौका र ३ छक्कासहित ३८, हार्दिक पान्ड्या २१ र तिलक बर्मा १६ रन बनाए । बेंगलोरका आकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले १–१ विकेट लिए ।

    त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बेंगलोरका कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए । रजत पाटिदार २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्कासहित ५३ रनमा नट आउट रहे । विराट कोहली ३, विल ज्याक्स ८ र ग्लेन म्याक्सवेल शून्यमा आउट भए।

    मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले १–१ विकेट लिए । मुम्बई ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ । बेंगलोर ६ खेलमा १ मा जितसहित नवौं स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ४ मा जितसहित ८ अंक जोड्दै शीर्षस्थानमा छ ।

  • एसिया कप छनोटका लागि महत्वपूर्ण खेल प्रिमियर कप आजबाट, नेपालको खेल मलेसियासँग

    एसिया कप छनोटका लागि महत्वपूर्ण खेल प्रिमियर कप आजबाट, नेपालको खेल मलेसियासँग

    काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । नेपाल उपाधि दाबेदार टोली हो । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि–२० विश्वकपपछि हुने टि–२० एसिया कप खेल्न पाउनेछ ।

    नेपालको दीपेन्द्रसिँह ऎरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । उता मलेसियाका विरनदिप सिंह,शर्विन मुनिआन्डि र सैद अजिज प्रमुख ब्याटर हुन् । यी तीन विकेट समयमै लिन सके नेपाल खेलमा हाबी हुन सक्छ । स्पिनर पवनदिप सिंह प्रमुख बलिङ हतियार हुन् ।

    नेपाल र मलेसियाबिच हालसम्म ९ टि-२० आई खेल भएका छन् । नेपाल ८ र मलेसिया १ खेलमा विजयी भएका छन् । नेपाल २०२० को एसीसी इस्टर्न रिजनमा मलेसियासँग २२ रनले पराजित भएको थियो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा अल आउट भएको थियो । अन्य सबै खेलमा भने नेपाल विजयी भएको छ ।

  • माथिल्लो अरुण र दूधकोशी  आयोजना अगाडी बढाउन सरकार र दातृ निकाय सहमत

    माथिल्लो अरुण र दूधकोशी आयोजना अगाडी बढाउन सरकार र दातृ निकाय सहमत

    काठमाडौं । सरकार र दुई ठूला जलविद्युत आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । दुई पक्षबीच बिहीबार भएको छलफलमा माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना अगाडि बढाउने सहमति भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फारिस हजाद जर्भोस तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोसबीच दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको हो ।

    संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुणको विश्व बैंकले वित्तीय व्यवस्थापन गर्नेछ । खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने ६३५ मेगावाटको जलासययुक्त दूधकोशी जलविद्युत आयोजनामा एसियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्था लगानी रहने छ । दुवै आयोजनामा ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ ।

    आयोजना प्रवर्द्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले आगामी सन् २०२६ को सुरुबाटै आयोजना निर्माण थालिने बताएको छ । आयोजना निर्माणका लागि अनुमानित पाँच वर्षको समयसीमा तोकिएको छ । माथिल्लो अरुणको तयारीस्वरुप २ किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको छ । जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ ।

    विद्युतको उच्च माग हुने हिउँदको ६ महिना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिने माथिल्लो अरुण नेपालकै गेमचेन्जर आयोजना हो । सो आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत ६ किलोमिटर ४ सय केभीको प्रसारण लाइनमार्फत् संखुवासभाको हाइटारमा नयाँ बन्ने सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।

    रभुँवाघाटमा निर्माण हुने ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा सामावेश गरेको छ । आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इञ्जिनियरिङ डिजाइन, वातवारणीय प्रभाव अध्ययन मूल्याङ्कनलायतका काम यसअघि नै सकिएका छन् । पहुँच मार्ग निर्माण र मुआब्जा वितरणको काम अन्तिम चरणमा छ । दुवै आयोजनाको अनुमानित लागतबारे प्राविधिक तहमा छलफल गर्ने बताइएको छ ।

  • डोल्पामा डढेलोमा परी तीन बालक गम्भीर घाइते

    डोल्पामा डढेलोमा परी तीन बालक गम्भीर घाइते

    काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् । च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले स्थानयि सञ्चारमध्यमलाई जानकारी गराएका छन् ।

    दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेको समाचारमा उल्लेख छ । गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो । डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जार जना सैनिक समेत गम्भीर घाइते भएका थिए । तीमध्ये दुई जनाको उपचारका क्रममा निधन भएको छ । थप दुई जनाको उपचार जारी छ ।

  • काठमाडौंमा वर्षा, प्रदूषणबाट राहत

    काठमाडौंमा वर्षा, प्रदूषणबाट राहत

    काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङ सहित वर्षा भएको छ । प्रदूषणका कारण प्रभावित वातावरणमा राहत मिलेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा अपरान्ह वर्षा भएसँगै प्रदूषण समेत घटेको छ । ‘वायुमण्डलमा थुप्रिएको प्रदूषित हावाका कणलाई पानीले तल झारेको छ । त्यसले गर्दा काठमाडौं नजिकका पहाडहरु छ्याङ्ग देखिन थालिसकेका छन् ।

    केही दिनयता पानी पनि नपर्दा र हावा पनि नचल्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो । आज बिहान पनि काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेको थियो ।


    आज गण्डकी प्रदेशमा विकसित भएको स्थानीय वायुको प्रणाली गोर्खा हुँदै काठमाडौं उपत्यका छिरेको थियो । गण्डकी, बागमती र कोशी भेगका पहाडी क्षेत्रतिर यसको प्रभाव रहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सुन्दरीजलमा ९ मिलिमिटर वर्षा भएको छ । यसैगरी कीर्तिपुरमा ७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

    अहिले प्रिमनसुनको समय भएकाले साँझपख हावाहुरी, चट्याङ र पानी पर्ने क्रम भोलि र पर्सितिर पनि हुन सक्ने मौसमविदले पूर्वानुमान गरेका छन् । महाशाखाले आज साँझ जारी गरेको बुलेटिनमा भोलि पनि कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उल्लेख छ ।

  • सीमाक्षेत्र अवलोकनका लागि रक्षा र भौतिक मन्त्री लिएर ओलाङचुङगोला पुगे ओली

    सीमाक्षेत्र अवलोकनका लागि रक्षा र भौतिक मन्त्री लिएर ओलाङचुङगोला पुगे ओली

    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको हेलिकप्टर चढेर ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन्।

    बिहीबार सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षा मन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन् ।

    साथमा एमाले सचिव योगेश भट्टराई पनि रहेका छन् । निर्माणाधीन तमोर करिडोरले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोलालाई भर्खरै जोडेको छ। गत फागुन ८ गते तमोर करिडोरको ट्र्याक ओलाङचुङगोलासम्म जोडिएको थियो।

    त्यहाँबाट चीनको सीमासम्म २२ किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ। तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोलासम्म पुग्ने ट्र्याक खन्ने काम २०७४ फागुनबाटै सुरू भएको थियो।

  • भोजपुरमा पौडी खेल्दा दुई युवकको मृत्यु

    भोजपुरमा पौडी खेल्दा दुई युवकको मृत्यु

    काठमाडौं । भोजपुरको आमचौक गाउँपालिका-१० स्थितमा दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

  • भारतमा लगानी बिस्तारको योजना मस्क

    भारतमा लगानी बिस्तारको योजना मस्क

    न्यूयोर्क । टेस्ला कम्पनीका मालिक एलन मस्क भारतमा लगानी बिस्तारको योजनामा छन् । सोही क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने जानकारी गराएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोष्ट जारी गर्दै उनले यस्तो जानकारी गराएका हुन् । मस्कले स्पेसमा समेत रकेट मार्फत यात्रा गराउने कम्पनी खोलेर काम थालिसकेका छन् ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कले भारतमा ठूलो लगानी घोषणा गर्ने बताइएको छ । उनी २२ अप्रिलमा भारत भ्रमणमा आउने सम्भावना छ । मस्क र मोदीबीच यसअघि जुन २०२३ मा न्यूयोर्कमा भेट भएको थियो । भारत र यस आसपासमा विद्युतीय कारको बढ्दा मागलाई सम्बोधन गर्न मस्कले विद्युतीय कार निर्माण गर्ने प्लान्ट लगाउने सम्भावना छ ।

  • पीएसजीमाथि बार्सिलोनाको जित

    पीएसजीमाथि बार्सिलोनाको जित

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेञ्च क्लब पिएसजीलाई हराएको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले ३–२ गोलको जित हात पारेको हो । खेलको ३७ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४८ मिनेटमा पिएसजीका लागि डेम्बेलेले बराबरी गोल गरे ।

    ५१ मिनेटम भिटिन्हाले गोल गरेपछि पिएसजीले खेलमा अग्रता लिन सफल भयो । ६२ मिनेटमा राफिन्हाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दा खेल २–२ को बराबरीमा पुग्यो । ७७ मिनेटमा क्रिस्टिनसन अर्को गोल गरेपछि बार्सिलोना विजयी भएको हो । दोस्रो लेग अप्रिल १६ मा बार्सिलोनाको मैदानमा हुनेछ।

  • आइपीएल : राजस्थानको पहिलो हार, गुजरातले निकाल्यो पहिलो जित

    आइपीएल : राजस्थानको पहिलो हार, गुजरातले निकाल्यो पहिलो जित

    काठमाडौं । अन्तिम बलमा राशिद खानले चौका हानेपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्समाथि तीन विकेटको रोमाञ्चक जित हात पारेको छ । राजस्थानको यो पहिलो हार हो । १९७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातको जितमा ओपनर शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साई सुदर्शन ३५, विजय शंकर १६, राहुल टेवाटिया २२ र राशिद खानले २४ रन बनाए । गुजरातलाई अन्तिम ओभरमा जित्नलाई १५ रन चाहिएको थियो । अन्तिम बलमा २ रन चाहिंदा आवेश खानलाई राशिद खानले चौका हान्दै रोमाञ्चक जित दिलाए ।्

    राजस्थानका कुलदिप सेन ३, युजभेन्द्र चहल २ र आवेश खानले १ विकेट लिए । त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । राजस्थानका रियान परागले ४८ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ७६ रन बनाए । सन्जु स्यामसन ३८ बलमा ७ चौका र २ छक्कासहित ६८ रन बनाए । तेस्रो विकेटला लागि सन्जु र रियानले ७८ बलमा १३० रनको शतकीय साझेदारी गरेका थिए ।

    ओपनर यशस्वी जैसवाल २४, जस बटलर ८ र शिम्रन हेटमायरले १३ रन बनाए । गुजरातका राशिद खान, मोहित शर्मा र उमेश यादवले एकरएक विकेट लिए । राजस्थान ५ खेलमा ४ मा जित र एक मा हारसहित ८ अंकका साथ शीर्षस्थानमा छ । गुजरात ६ खेलमा समान ३ मा जित र हारसहित छैटौं स्थानमा छ । समान ६ अंक भए पनि नेटरनरेटको आधारमा कोलकाता दोस्रो, लखनउ तेस्रो, चेन्नाइ चौथो र हैदराबाद पाँचौ स्थानमा छन् ।

  • भारतीय अर्थतन्त्रबाट लाभ लिन चाहन्छौं : अर्थमन्त्री

    भारतीय अर्थतन्त्रबाट लाभ लिन चाहन्छौं : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भारतीय अर्थतन्त्रबाट लाभ लिने नीतिमा सरकार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघ प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा उनले भारतीय अर्थतन्त्रबाट लाभ लिने गरी नीति बनाइने बताए । भारतीय अर्थतन्त्र राम्रो हुँदा नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।

    ‘भारतको आर्थिक वृद्धि अघिल्लो वर्ष पनि राम्रो थियो । यो वर्ष पनि राम्रो हुने देखिएको छ,’ मन्त्री पुनले भने, ‘भारतीय अर्थतन्त्र सुधार हुँदा एक हदसम्म नेपालमा पनि त्यसको राम्रो प्रभाव पर्छ ।’ उनले सन् २००८ को आर्थिक मन्दी र कोरोना महामारीका बेला भारतीय अर्थतन्त्र नबिग्रिएका कारण नेपली अर्थतन्त्र मन्दीको प्रभावबाट छिट्टै सुधारिएको उनको भनाइ थियो । मन्त्री पुनले नेपालमा थप लगानीमैत्री वातावरण बन्दै गएकाले लगानी ल्याउन पनि अपिल गरे ।

    ‘विगतमा पनि भारतीय लगानीकर्ताको नेपालमा राम्रो योजना छ,’ उनले भने, ‘तेस्रो लगानी सम्मेलनको सँघारमा म यसअघि लगानी गरिरहेकालाई लगानीको क्षेत्र विस्तार गर्न आग्रह गर्छु र नयाँ लगानीकर्तालाई नेपालमा स्वागत गर्ने नीति रहेको जानकारी गराउन चाहन्छु ।’ आफूले यसअघि ऊर्जा मन्त्रालयको समेत नेतृत्व गरेको स्मरण गर्दै अर्थमन्त्री पुनले नेपालमा ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

    लगानी सम्मेलनका लागि भारतीय लगानीकर्ताको राम्रो उपस्थिति हुने विश्वास व्यक्त गरेका पुनले लगानीमैत्री वातावरण बनाउन एक दर्जन कानुन संशोधन गर्न लागिएको बताए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट डेजिग्नेट सञ्जीव पुरीले नेपालमा लगानी ल्याउन भारतीय लगानीकर्ता सकारात्मक रहेको उल्लेख गरे । भेटमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकाल पनि सहभागी थिए ।

  • आन्तरिक रोजगारी सरकारको प्राथमिकतामा : श्रम मन्त्री

    आन्तरिक रोजगारी सरकारको प्राथमिकतामा : श्रम मन्त्री

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले मुलुक बन्न मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताए ।

    रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षण सहित प्रोत्साहन गर्नुपर्ने उनले बताए । ‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ,’ उनले भने ।

    निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न मन्त्रालय सधै तयार रहेको पनि उनले स्पष्ट पारे । आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिएको उनको भनाइ छ ।

    ‘मन्त्रालय अन्तर्गत भैंसेपाटीमा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान छ । जहाँ हामीले ६ महिना भन्दा कम अवधिको भोकेसनल तालिम प्रदान गर्ने योजना बनाएका छौं । त्यस्तै शिक्षा मन्त्रालय अन्र्तगत रहेको सीटीईभीटीसँग पनि समन्वय गरी हरेकलाई सिप सिकाउनु पर्छ भन्नेमा हामी छौ,’ उनले भने । आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहन्छ भने पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन सबैलाई आग्रह गरे ।

  • ईपीएसमा ६ हजार परीक्षार्थी उत्तीर्ण

    ईपीएसमा ६ हजार परीक्षार्थी उत्तीर्ण

    काठमाडौं । ईपीएस काेरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पहिलो चरणको नतिजा सार्वजनिक गरेको हो । जसमा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्। गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म सञ्चालन भएको परिक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए। सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ । पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै तिमि, स्थान र समयममा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।

  • राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे विजयी

    राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे विजयी

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे विजयी भएकी छन् ।
    फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराएकी हुन्। उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्‍यो । विपक्षमा १६ मत खसेको थियो । बैठकमा ५५ सांसद उपस्थित रहेका थिए । उनको विपक्षमा नेपाली कांग्रेससहित १६ सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

  • बिहीवार सार्वजनिक बिदा

    बिहीवार सार्वजनिक बिदा

    काठमाडौं । ईदको अवसरमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै बिहीबार विदा सार्वजनिक दिएको जनाएको छ । सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

    मिति २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,गृह मन्त्रालयले भनेको छ ।

  • डोल्पामा आगो निभाउने क्रममा घाइतेमध्ये थप दुई सैनिकको मृत्यु, मानवीय क्षति तीन पुग्यो

    डोल्पामा आगो निभाउने क्रममा घाइतेमध्ये थप दुई सैनिकको मृत्यु, मानवीय क्षति तीन पुग्यो

    काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका नेपाली सेनाले जनाएको छ ।

    रावलको उपचारको क्रममा अस्ति बेलुका जिल्ला अस्पताल डोल्पामा ज्यान गएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको जलन अस्पतालमा हिजो ज्यान गएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरकै जलन उपचार अस्पतालमा उपचार भैरहेको छ । सोमवार डढेलो निभाउनेक्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।