Category: समाचार

  • इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

    इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

    इलाम । आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् ।

    खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन् । पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो ।

  • इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

    इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

    काठमाडौं । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । उपनिर्वाचन १५ वैशाखमा हुँदैछ । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी भएका थिए ।

  • इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर

    इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर

    इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् । रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् ।

    रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन् । मनोनयन दर्तापछि मन्त्री समेत रहेका रास्वपा उपसभापति अर्यालले अन्य पार्टीलाई गाली गलौच नगरी आफ्नो पार्टीलाई मात्र चिनाउने काम गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

  • सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो

    सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो

    काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएसँग कर्फ्यू खुकुलो पारिएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको छ । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो । शनिबारको सहमति पछि कर्फ्यू विस्तारै हट्ने सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।

    बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको छ । समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने पनि सहमति भएको छ ।

    ‘आवश्यक भए छानविन आयोग गठन गर्ने निर्णय भएको छ’, फुयालले भने,‘कुन मोडालिटीमा बनाउने भन्ने ब्याख्या चाहिँ भएको छैन, आवश्यकता अनुसार बनाउने निर्णय भएको छ ।’ हरिनगर गाउँपालिका– १ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । स्थीति नियन्त्रणमा लिन प्रहरीले ८० राउन्ड हवाई फायर र ३९ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

  • नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर

    नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर

    काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो ।

    उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए ।

    आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए । ‘फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिंदैनौं,’ उनले भने । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहोर व्यवस्थापन हुने गरेको छ । रासस

  • उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

    उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

    काठमाडौं । इलाम-२ र बझाङ १ (१) मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन कार्यतालिका अनुसार मनोनय दर्तापश्चता आजै साँझ नै मनोनयन सूची प्रकाशन हुनेछ । आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिनको अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिनेछ ।

    २६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन भएपछि २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पाँचबजेसम्म निर्वाचन निह्न प्रदान गरिने कार्यतालिका छ । मतदान २०८१ वैशाखा १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

    इलाममा तत्कालीन सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो भने बझाङमा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएकोले निर्वाचन हुन लागेको हो । इलाम-२ मा पहिचानवादीहरूको समर्थनमा डाकेन्द्रसिंह थेगिम, एमालेबाट सुवासकै छोरा सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरूङले लगायतले उम्मेदवारी दिंदैछन् ।

    बजाङमा एमालेबाट दमनबहादुर भण्डारी, कांग्रेसबाट अभिषेक सिंहले उम्मेदवारी दर्ताको तयारी गरेका छन् । इलाममा एमालेलाई समर्थन गरेको माओवादीले बजाङमा भने कुनै निर्णय गरिसकेको छैन ।

  • आइपीएल : चेन्नईको लगातार दोस्रो हार

    आइपीएल : चेन्नईको लगातार दोस्रो हार

    काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो । चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    हैदराबादलाई जिताउन ऐडन मार्क्रमले ५०, ओपनर अभिषेक शर्माले ३७, ट्राभिस हेडले ३१, नितिश कुमार रेड्डीले १४ र हेनरिच क्लासेनले अविजित १० रनको योगदान गरे । चेन्नाईका मोइन अलीले २, दीपक चाहर र महिश थिकशानाले एक–एक विकेट लिए ।

    यसअघि ब्याटिङ गरेको चेन्नाईले पाँच विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १६५ रन बनाएको थियो । चेन्नाईका शिवम दुवेले ४५, रवीन्द्र जडेजाले ३१, अजिंक्या रहानले ३५ रन, रुतुराज गायकवाडले २६ रन जोडे । हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले एकएक विकेट लिए ।

  • राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई

    राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गृह र अर्थ मन्त्रालयको समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका छन् । शुक्रबार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरूका सचिवहरूसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा उनले यस्तो जानकारी गराएका हुन् । चालु आवको हालसम्मको राजस्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचक सुधार हुन नसकेको उनको भनाइ छ ।

    लक्ष्य महत्त्वाकाङ्‍क्षी राखिए पनि राजस्व वृद्धि अपेक्षित नभएको उनले बताए । चालु आवको ९ महिनामा हालसम्म ९ प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन हुनु राम्रो नभएको उनले बताए । यद्यपि आफू मन्त्री भएर आएको करिब एक महिनामा राजस्व संकलनमा केही सुधारका संकेत देखिएको उनको दाबी छ ।


    राजस्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वबीच समन्वयमा काम अघि बढेको भन्दै मन्त्री पुनले आर्थिक वर्षको बाँकी तीन महिनामा राजस्व संकलनमा सकारात्मक वृद्धि गर्ने लक्ष्य राखिएको बताए । ‘चालु आवमा ४१ प्रतिशत राजस्व संकलनको लक्ष्य राखिएकामा म आउँदा ९ प्रतिशत हारामारीमा मात्र वृद्धि रहेछ,’ पुनले भने, ‘अर्थ र गृहको अन्तर मन्त्रालय समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु गरिसकेका छौं । अब राजस्व संकलन बढ्छ ।’

    मन्त्री पुनले स्रोतको सीमितताभित्र रहेर सत्ता गठन्धनले संविधानको दायराभित्रै बसेर तय गरेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमअनुसार आगामी आवको बजेट निर्माणको काम सुरु भइसकेको जानकारी दिए । यो वर्षको बजेट कृषि उत्पादन वृद्धि, विगतमा पूँगीगत खर्चको अवस्था उत्साहजनक नहुने गरेको चर्चा गर्दै मन्त्री पुनले विना अध्ययन र तयारी हचुवाका भरमा कार्यान्वयन हुन नसक्ने योजना यो वर्षको बजेटमा समावेश नगरिने मन्त्री पुनले स्पष्ट गरे ।

    उनले स्रोत सुनिश्चित भएका राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त अयोजनामा समेत बजेट खर्च हुन नसक्नुको जवाफ राजनीतिक र प्रशानिक नेतृत्वले दिनुपर्ने औंल्याए । मन्त्री पुनले नियामक निकायका अनुसन्धानहरूका कारण कर्मचारीतन्त्र काम गर्न हच्किएको भन्ने चर्चा सुनेको भन्दै विधि, प्रक्रिया र कानुनसम्मत काम गर्दा कोही आत्तिनु नपर्ने स्पष्ट गरे ।

    ‘कर्मचारी तन्त्रमा काम गर्ने वातावरण छैन भनिन्छ । कसैले नियामक निकायको हस्तक्षेपले काम भएन भनेको पनि सुनिन्छ’, पुनले भने, ‘कानुनसम्मत काम गर्नेले नियामक निकायसँग डराउनुपर्दैन ।’ फरक प्रसंगमा मन्त्री पुनले प्रक्रिया पुगेर आएका पुरानो दायित्व भुक्तानीका फाइल मन्त्रालमा नरोकिने प्रतिबद्धता जनाए ।आफू मन्त्री भएको एक महिनामा सामाजिक सुरक्षा, दुग्ध किसान तथा विकास आयोजनाका गरी ७० अर्ब भुक्तानी भइसकेको उनले जानकारी दिए । उनले खर्च हुन सक्ने र नतिजा आउने योजनालाई मात्र बजेटको प्राथमिकतामा राखिने जनाए ।

  • सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा, भुटाहा तनावग्रस्त

    सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा, भुटाहा तनावग्रस्त

    काठमाडौं । सुनसरी प्रशासनले दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा आज मध्याह्न १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको सूचनामा उल्लेख छ ।

    बिहीबार एसइईको परीक्षा हुँदै गर्दा सुनसरीको हरिहर गाउँपालिका-१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा भएको कुटपिटपछि दुई समूहबीच तनाव उत्पन्न भएको थियो । सोही विषयलाई लिएर हिजो दुई समूहबीच झडपसमेत भएको थियो ।

    सुनसरीको भुटाहा तनावग्रस्त भएको छ। दुई समूहबीच झडप हुँदा प्रहरीले ६ राउण्ड हवाइ फायरसमेत गरेको छ।

    प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ। दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

    दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएको र घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ।

  • बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन

    बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन्।

    गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बिच प्रधानमन्त्री दाहालले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे।

    गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले गोरखकाली उद्योग, बुढी गण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए।

    गोरखा जिल्लामा फेला पारिएको ५२।३३० केजीको उक्त धातु पुरातत्त्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो।

  • गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति

    गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

    यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेवल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए ।

    सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिब एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको सो भवनको चैत्र २३ गते बिहान ११ बजे राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख केशवराज काफ्लेले जनाएका छन् ।

  • आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित

    आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित

    काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेले ।

    आशुतोष शर्मा १७ बलमा ३ चौका र १ छक्कासहित ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए । गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १–१ विकेट लिए ।

    त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई प्रयाप्त हुन सकेन ।


    साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १–१ विकेट लिए ।

  • भारतमा बरोडा र नेपाली टीम बीच आज खेल

    भारतमा बरोडा र नेपाली टीम बीच आज खेल

    काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । बरोडाका बाबा खान, भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन् ।

    यता नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिनसक्छ । यसअघिको खेलमा करण केसी र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिइएको थियो । नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो । अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ । नेपाल उतैबाट ओमान जानेछ ।

  • नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल

    नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल

    काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
    नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो ।

    नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल बाहेक अन्य सबै सिनियर टोलीबाट खेलेका खेलाडी थिए । ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ ।

    नेपालको तीव्र गतिका बलरमा कमल र रिजन ढकाल हुनेछन् । स्पिनरमा सागर ढकाल, साहब आलम र मौसम ढकाल हुनेछन् । आयरल्यान्डका खेलाडीले पहिलो खेलमा स्पिनरको संघर्ष गरेका थिए । नेपालको टोलीमा परिवर्तनको सम्भावना आज कम छ । उता पिटर मुर, स्टेफन डोहेनी र निल रक प्रमुख ब्याटर हुन् । ग्यारेथ डेलानी र केड कार्माइकल पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । तल्लोक्रम ब्याटिङ भने कमजोरीको रुपमा छ ।

    आयरल्यान्ड ‘ए’ र नेपालको सिनियर टोलीबीच दुई टी–२० खेल भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल ‘ए’सँग तीन टी–२० सिरिज आयरल्यान्डले २–१ ले जितेको थियो । तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

  • आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल

    आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालय बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तर्क्रिया गरेका हुन् । सचिवहरू तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको सुझाव सुनेपछि अर्थमन्त्री पुनले सबैको अपनत्व हुने गरी आगामी वर्षको बजेट निर्माण हुने बताए ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय बाहेक मन्त्रालयको पूँजीगत खर्च ४० प्रतिशतभन्दा तल रहेको तथ्यांक प्रस्तुत गर्दै उनले खर्च क्षमता बढाउनुपर्नेमा जोड दिए । पूँजीगत खर्च कम हुनुमा खर्च गर्ने क्षमता कमजोर हुनुमात्र नभई बजेट विनियोजन कुशलता अभाव पनि उनले कारणका रूपमा औंल्याए । ‘तर, योपटक त्यस्तो हुँदैन । खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन गर्ने सोचमा अर्थ मन्त्रालय छ,’ मन्त्री पुनले भने, ‘आफैंले राखेका योजना कार्यान्वयन गर्न सकिँदैन भने त्यस्ता अवस्तुगत योजनाले आगामी बजेटमा निरन्तरता पाउन सक्दैनन् ।’

    समयमै बजेट कार्यान्वयन नहुने प्रवृत्तिले अर्थतन्त्र चलायमान हुन नसकेको तथा रोजगारी सिर्जना र पूँजी निर्माणमा समेत नकारात्मक प्रभाव परेको उनको निष्कर्ष थियो । बजारमा पैसा गएमात्र अर्थतन्त्र चलायमान गर्न सकिनेमा कसैको विमति नरहे पनि समयमै खर्च नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । अर्थतन्त्रको वाह्य क्षेत्र सुधारोन्मुख रहेको तर पूँजीगत खर्चको सीमितता र राजस्व संकलनमा देखिएको संकुचनका कारण आन्तरिक अर्थतन्त्रमा शिथिलता रहेको उनको भनाइ थियो । फरक प्रसंगमा उनले विप्रेषण आप्रवाह बढ्नुमा विदेशिने नेपालीको संख्या बढेर नभई सुशासन कायम गर्ने सरकारको प्रयासले हुन्डी कारोबारमा आएको नियन्त्रणको प्रभाव देखिएको उल्लेख गरे ।

    अर्थ र गृह मन्त्रालयले राजस्व चुहावट नियन्त्रण गर्ने गरी कार्ययोजना बनाएर लागुसमेत गरिसकेकाले चालु आर्थिक वर्षको बाँकी तीन महिनामा राजस्व संकलन बढ्ने विश्वास मन्त्री पुनले गरे । उनले निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेकोमा जोड दिँदै व्यक्तिको ज्यान, सम्पत्ति र व्यवसायको सुरक्षा गर्नु राज्यको कर्तव्य भएको बताए ।

    मन्त्री पुनले आगामी आवको बजेट निर्माण गर्दा अनिवार्य दायित्वका लागि बजेट छुट्ट्याउने, यसअघि नै स्रोत सुनिश्चित गरिएका आयोजनालाई आगामी वर्ष खर्च हुने आवश्यक बजेट विनियोजन गर्ने, सिर्जित दायित्व भुक्तानीका लागि आवश्यक रकम प्रस्ताव गर्ने बताए । शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा उत्पादन र रोजगारी सिर्जना हुने खालका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।

  • ‘सर्त’मा रिहा भए गायक राजेश पायल, भोलि इटहरीमा कन्सर्ट

    ‘सर्त’मा रिहा भए गायक राजेश पायल, भोलि इटहरीमा कन्सर्ट

    काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो।

    उनलाई बिहान ९ बजेतिर साथीभाइको जिम्मा लगाएर छोडिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । उनीसहित अन्य चार- पाँच जना रिहा भएको प्रहरीले बताएका छन् ।

    आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहितलाई विनायकनगर, नयाँ बानेश्वर क्षेत्रबाट गएराति पक्राउ गरेको थियो।

    छुटेलगत्तै गायक राईले फेसबुकमा लेखेका छन्, ‘तपाईँहरूको इटहरी। भोलि भेट्ने हामी। चैत्र २३ योयो, दर्शन नमस्ते।’

  • कांग्रेसले टुंग्यायो उम्मेदवार, इलाममा खड्का बझाङमा सिंह

    कांग्रेसले टुंग्यायो उम्मेदवार, इलाममा खड्का बझाङमा सिंह

    काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले इलाम क्षेत्र नम्बर-२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्रमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

    खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा. शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

    अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । देउवाको जोडबलमा पृथ्वी पुत्र अभिषेक उम्मेदवार बनेका छन् ।

    अन्य दलले भने दुवै क्षेत्रमा यसअघि नै उम्मेदवार टुंगो लगाइसकेका छन्।

  • गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा

    गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा

    काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिएका छन् ।

    गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ । गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • चितवनमा भाले गैडा मृत फेला

    चितवनमा भाले गैडा मृत फेला

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ । चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    सो गैंडा प्राकृतिक कारणले मरेको उनको भनाइ छ । निकुञ्जले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा मात्रै १९ वटा गैंडा मृत भेटिएका छन् । तीमध्ये १५ वटा प्राकृतिक कारण (बुढो भएर, बाघको आक्रमण र रोग लागेर), चोरी सिकारीबाट तीन र कारण नखुलेको एक गैंडाको मृत्यु भएको छ ।

    निकुञ्जमा चालु वर्षको चैत २१ गतेसम्म ३ वटा बाघ, ५ वटा हात्ती, मगर गोही २ र घडियाल गोही १ वटाको मृत्यु भएको छ । यो वर्ष जम्मा ५८ वटा विभिन्न वन्यजन्तुको मृत्यु भएको छ भने १६३ वटा वन्यजन्तुको उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

  • दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित

    दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ ।

    कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो । डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान स्टुब्सले ५४ रन बनाए भने ओपनर डेभिड वार्नरले १८ र पृथ्वी शले १० रन जोडे । त्यसबाहेकका ब्याट्स म्यानले दोहोरो अंक नै जोड्न नसकेपछि डीसी १६६ रनमै समेटिएको हो ।


    केकेआरका वैभव अरोरा र वरुण चक्रववर्थीले तीनरतीन, मिचेल स्ट्राकले दुई र आन्द्रे रसेल र सुनिल नारायणले एक–एक विकेट लिए । विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । यो आईपीएल इतिहासको दोस्रो ठूलो योगफल हो ।

    आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । उक्त कीर्तिमान तोड्न कोलकातालाई अन्तिम ओभरमा १४ रन चाहिएको थियो । ईशान्त शर्माले ८ रन खर्चेर २ विकेट लिएपछि कोलकाताले उक्त कीर्तिमान तोड्न सकेन ।

    कोलकाताको यसअघि आईपीएलमा उच्च योगफल २०१८ मा पन्जाब किंग्सविरुद्ध २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन थियो । कोलकाताका ओपनर सुनिल नारायणले ३९ बलमा ७ चौका ७ छक्कासहित सर्वाधिक ८५ रनको आक्रामक इनिङ खेले । युवा ब्याटर अंग्क्रिस रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । रघुवंशी र नारायणले दोस्रो विकेटका लागि ४८ बलमा १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

    आन्द्रे रसेल १९ बलमा ४ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । रिंकु सिंह ८ बलमा १ चौका र ३ छक्कासहित २६ रनमा क्याच आउट भए । ओपनर फिलिप साल्ट र श्रेयस ऐर १८१८ रनमा आउट भए । दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । ईशान्त शर्माले २, खलिल अहमद र मिचेल मार्शले १–१ विकेट लिए ।

  • एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य

    एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य

    काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।
    बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो ।

    त्यति मात्रै होइन त्यसअघिको महाधिवेसनबाट चुनिएको तीनजना अध्यक्ष भएको कार्यसमितिलाई पनि सर्वोच्चले अमान्य घोषणा गरेको छ । साथै, अघिल्लो महाधिवेशनपछि शेष घले पक्षले गठन गरेको विनोद कुँवर नेतृत्वको समितिलाई पनि सर्वोच्चले खारेज गरिदिएको छ ।

    इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ । २०७८ चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भएको एनआरएनएको दशौं महाधिवेशनबाट कुल आचार्य, रविना थापा र बद्री केसी एक एक वर्ष अध्यक्ष रहने घोषणा भएको थियो । तर अर्को समूहले विनोद कुँवर अध्यक्ष, उमेशकुमार पुडासैनी उपाध्यक्ष र जानकी गुरुङ महासचिव भएको समिति गठन गरेको थियो ।

    विनोद कुँवरसमेतले आफूहरु वैधानिक समिति रहेको दाबी गर्दै अर्को पक्षले गरेको विधान संशोधनलाई मान्यता दिने परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

    सर्वोच्चले एनआरएनएको महाधिवेशनअघि सदस्यता सम्बन्धी विवाद उठाएर उच्च अदालत पाटनमा मुद्दा परेको र महाधिवेशन नगर्न अन्तरिम आदेश जारी भएको फैसलामा उल्लेख गरेको छ । सर्वोच्चले एनआरएनएको त्यतिबेलाको निर्वाचन, विधान संशोधन सम्बन्धी काम कारबाही एनआरएनएसम्बन्धी ऐन, नियम एवं गैरआवासीय नेपाली समुदायको आदर्श मूल्य मान्यता विपरीत भएको ठहर गरेको छ । त्यसैले संघको गरिमा, एकता, उद्देश्य र प्रभावकारितालाई नकारात्मक प्रभाव पर्नबाट जोगाउन उपयुक्त आदेश जारी गर्नुपर्ने भन्दै त्यतिबेलाको दुबै समितिलाई अमान्य घोषित गरेको हो ।

    एनआरएनएमा पूर्वअध्यक्षहरु शेष घले, उपेन्द्र महतोलगायत सघंलाई जन्माउन र पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरु संलग्न उच्चस्तरीय समितिमा कसैको विवाद नभएको भन्दै उक्त समितिलाई यथावत कायम राख्ने आदेश दिएको छ ।

    उच्चस्तरीय समितिमा कुल आचार्य, डा बद्री केसी र रविना थापा, विनोद कुँवर, उमेशकुमार पुडासैनी जानकी गुरुङ गरी ६ जनालाई थप गर्न पनि सर्वोच्चले आदेश दिएको छ । उच्चस्तरीय समितिले पहिलो बैठक बसेको मितिले ६ महिनाभित्र संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनोट लगायत सबै विवाद समाधान गरी एकता महाधिवेशन गराउन आदेश दिएको छ ।

    गैरआवासीय नेपाली संघको गत कात्तिकमा भएको अधिवेशनमा पनि विवाद भएको थियो । एउटा पक्षले बद्री केसीको अध्यक्षतामा र अर्को पक्षले आरके शर्माको अध्यक्षतामा समिति गठन गर्दै आधिकारिक भएको दाबी गरेका थिए । तर सर्वोच्चले उनीहरुको कार्यसमिति गठन हुनुभन्दा पहिलेकै कार्यसमिति बदर गरिदिएपछि अब एनआरएनएमा शेष घले संयोजक रहेको उच्चस्तरीय समितिबाहेक सबै समितिहरु अवैधानिक भएका छन् ।

  • ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

    ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

    काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीले बताएका छन्। अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको खबर छ । आठ सयभन्दा बढी मानिस घाइते भएका छन्।

    क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङ भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिस फसिरहेको जानकारी आएको छ । तटीय सुहुआ राजमार्गमा पर्ने एउटा सुरुङभित्र मात्र साठी जना मानिसहरू फसेको ठानिएको छ जसमध्ये होटलका कर्मचारीहरूले भरिएका चार मिनिबस समेत छन्।

    एक पर्वतीय ह्वालिएन क्षेत्रमा दर्जनौँको सङ्ख्यामा खानीका कामदारहरू समेत सम्पर्कविहीन भएको बताइएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।

    भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको थियो। तर पछि चेतावनी फिर्ता गरियो। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन्। भूकम्पका कारण पहाडी भेगमा ठाउँठाउँमा पहिरो गएको छ। ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्म १०१ वटा परकम्प मापन गरिएको जनाएको छ।

    ताइवानकी राष्ट्रपतिले उद्धारकार्यमा सेना परिचालन गरिने बताएकी छन्। जापान र चीनले ताइवानलाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका छन्। राजधानी ताइपेईमा खिचिएको भिडिओमा भवनहरू हल्लिएको देखिन्छ। स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो।

  • भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

    भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

    काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम लगातार तेस्रो जित निकालेको छ । बुधबार नेपालले भारतको स्टेट टिम गुजरातलाई ८ रनले पराजित गर्‍यो। जितसँगै नेपालले अन्तिम खेलअघि फाइनलमा स्थान पक्का गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ।

    नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको क्षतिमा १७३ रन जोड्यो। गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन जोडे। बलिङमा नेपालका सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले २–२ विकेट लिए।

    बुधबार टस जितेको गुजरातले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८१ रन जोड्यो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। दुईबीच १२५ रनको साझेदारी भयो। कुशलले ६७ रन र आसिफले ८५ रन जोडे। तर त्यसपछिका ब्याटर भने लगाातार आउट हुँदा नेपालले अन्तिममा सोचे जस्तो रन प्रहार गर्न सकेन।

    यसअघि नेपालले सुरुवाती दुई खेलमा जित निकालेको थियो। पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले मंगलबार बरोडालाई २७ रनले पराजित गरेको थियो।

    गुजरातमा जारी सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी–२० खेल खेल्नेछ। एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ। नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

  • साझाको पेट्रोल पम्प २४ सै घण्टा खुला

    साझाको पेट्रोल पम्प २४ सै घण्टा खुला

    काठमाडौं । साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरे ।

    अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सुरक्षा निकायले आफ्ना पम्प चौबिसै घण्टा खुला गरेका थिए ।

    नेपाल आयल निगम प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार देशभरि नै एउटा पालिकाभित्र कम्तीमा एउटा पम्प चौबिसै घण्टा खुला गर्ने योजना छ । यसका लागि आवश्यक तयारी पूरा गरी क्रमशः खुला गर्दै लैजाने उनले बताए ।

  • पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै गरिन् विष सेवन

    पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै गरिन् विष सेवन

    काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको बताइएको छ । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने अवस्थामा रहेकी बताइएको छ । गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी छन्।

    श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा आन्दोलन गर्दै आएकी छन्।

  • सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेको सिन्डिकेटधारी यातायात समिति

    सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेको सिन्डिकेटधारी यातायात समिति

    काठमाडौं । सर्वोच्च अदालतले सरकारले खारेज गरेका यातायात समितिहरू ब्युँत्याइदिएको छ ।

    तत्कालीन सरकारले यातायात क्षेत्रमा सिण्डिकेट लगाएको भन्दै २०७५ वैशाख ४ गते देशभरका यातायात समिति खारेज गरेको थियो ।

    सरकारको सो निर्णय विरुद्धमा परेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र सपना प्रधान मल्लको संयुक्त इजलासले सयातायात व्यवसायीको पक्षमा फैसला सुनाएको हो । यससँगै सरकारले त्यो बेला खारेज भएका यातायात समिति ब्युँतिएका छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले यातायात समिति गैरसरकारी संस्था शैलीमा चलेको भन्दै यातायात समितिहरू खारेज गरेको थियो ।

    त्यसपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र कोसी बस व्यवसायी संघले सरकारको विरुद्ध मुद्दा दायर गरेका थिए । । त्यसको साढे ५ वर्षपछि सर्वोच्चले फैसला गरेको हो ।

  • गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

    फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

    विश्वासको मत लिने भए मंगलबार अपराह्न ३ बजेसम्ममा प्रदेश प्रमुखलाई जानकारी गराईसक्नुपर्ने थियो। तर, विश्वासको मतका लागि सूचना दिने समय गुजारेका उनले बुधबार प्रदेश प्रमुख भट्ट समक्ष राजीनामा दिएका हुन्।

    गण्डकीमा कांग्रेस २७, एमाले २२, माओवादी ८ (सभामुखसहित), राप्रपा २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद छन्।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा पाण्डेले आफ्नो पार्टी कांग्रेस सहित राप्रपाको २, दीपक मनाङे र माओवादीको गणना गरिँदै आएको तर नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गर्दै आएका छन्।

  • इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु

    इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु

    काठमाडौं । इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो । अग्निनियन्त्रकहरूले आगो निभाएको भए पनि आगलागीमा २५ जनाको ज्यान गएको छ र गम्भीर घाइते तीन जनाको अस्पतालमा उपचार भइरहेको छ”, गभर्नर दाभट गलको कार्यालयले विज्ञप्तिमा भनेको छ ।

    “मध्य इस्तानबुल जिल्ला बेसिक्टासस्थित गेरेटेपेमा रहेको १६ तल्ले भवनको बेसमेन्टमा निर्माण कार्य चलिरहँदा आगलागी भएको हो”, गलले पत्रकारहरूलाई भने । घटनास्थलमा पुगेका इस्तानबुलका नवनिर्वाचित मेयर एक्रेम इमामोग्लुले बेसमेन्टमा नाइटक्लब सञ्चालनमा रहेको जानकारी दिए । “आगलागी नियन्त्रणमा छ । आशा गरौँ त्यहाँ थप पीडितहरू छैनन्”, इमामोग्लुले मृतक र घाइतेका आफन्तहरूप्रति समवेदना प्रकट गर्दै भने ।

  • कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने तय थियो।

    तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभाको बैठक आजका लागि सारिएको हो । सत्ता गठबन्धनको भागबन्डामा कर्णाली प्रदेश एमालेले पाउने सहमति भएको थियो। तर गठबन्धनले भागबन्डाको निर्णय गर्नुअघि नै कर्णालीमा मुख्यमन्त्री शर्माले प्रदेश सभालाई विश्वासको मत लिने सूचना दर्ता गराएका छन् ।


    भागबन्डामा कर्णाली एमालेले लिने भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत नलिई राजीनामा गर्न एमालेले आग्रह गरेको थियो। तर मुख्यमन्त्री र माओवादी केन्द्रले विश्वासको मत लिएर एक–दुइ दिनमै राजीनामा गर्ने प्रस्ताव राखेपनि एमाले सहमत नहुँदा मंगलबार विश्वासको मत लिनका लागि तय भएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो।


    एमालेले माओवादीसँग यसमा लिखित प्रतिबद्धता मागेको थियो। उक्त मागमा माओवादी सकारात्मक रहेको माओवादीको कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिएका छन्। ४० सदस्यीय कर्णालीमा बहुमतका लागि २१ सांसद चाहिन्छ। प्रदेशमा एमालेका १० र माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ जना सांसद छन्। कांग्रेसका १४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल

    काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी २० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी २० खेलको सिरिज आयरल्यान्ड ए ले २–१ ले जितेको थियो ।

    नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी–२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् । नेपालको बलरमा कमलसिंह ऐरी, रिजन ढकाल र मौसम ढकाल पनि छन् । नेपाल र आयरल्यान्डबीचको खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

    उता आयरल्यान्डका पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । उता सिनियर टोलीले आज भारतमा गुजरातसँग खेल्दैछ । नेपाल र गुजरातबीचको खेल दिउँसो २ : ४५ मा सुरु हुनेछ ।