Category: समाचार

  • नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य

    नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य

    काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

    गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो । नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । करण र गुलशन दुवै राम्रो लयमा देखिएका छन् । बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक क्रिकेट खेलेका थिए । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो प्रदर्शन चाहन्छ ।

    अनिल शाहले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने हुन्छ । नेपालले सुरुवाती दुई खेलमा आकाश चन्द, विवेक यादव, ललित राजवंशी र प्रतिश जि।सीलाई बेन्चमा राखेको छ। आज यी चारमध्ये दुईलाई मौका दिनसक्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । गुजरातका रुद्रमयुर पटेलले बरोडाविरुद्ध ७० रन बनाएका थिए । कप्तान उमांग पटेल, अर्यान देशाई र रुद्र प्रमुख ब्याटर हुन् ।

  • लगानी आकर्षित गर्न एक दर्जन कानून संशोधन गरिने

    लगानी आकर्षित गर्न एक दर्जन कानून संशोधन गरिने

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानुन संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए । लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो ।

    लगानी वातावरण बनाउन संघीय संसदका दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको जानकारी उनले दिए । मन्त्री पुनले सन् २०२६ भित्र नेपाल अति कम विकसित मुलुक ९एलडीसी० बाट मध्यम आययुक्त विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै विकास साझेदार संस्थासँग सहुलीयतपूर्ण कर्जा लिने नीतिमा रहेको बताए ।

    मन्त्री पुनले कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको उल्लेख गरे । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि विशेष कार्ययोजना बनाएर काम अघि बढाएको जनाए । कर प्रणाली सुधार सुझावसम्बन्धी समितिले हालै मात्र बुझाएको प्रतिवेदन अध्ययन चरणमा रहेको भन्दै उनले समितिको सुझावका आधारमा कर नीतिमा सुधार गर्ने बताए ।

    विगतमाजस्तो ट्रेड युनियन समस्या नरहेको, राजनीतिक कारणले हुने बन्द, हड्तालको स्थिति अन्त्य भएको तथा नेपालका दुवै छिमेकी मुलुकले गरिरहेको तीव्र आर्थिक वृद्धिको सकारात्मक प्रभावका कारण नेपाल वैदेशिक लगानीका लागि उयपुक्त गन्तब्य भएको दाबी मन्त्री पुनको थियो । पूँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको स्वीकार गर्दै मन्त्री पुनले सरकारी निकायहरुको खर्च गर्ने क्षमता वृद्धि गरिने उल्लेख गरे ।

    भेटमा आईएमएफकी आवासीय प्रतिनिधि सान्चेजले नेपालको पछिल्लो आर्थिक सूचक राम्रो रहेको बताइन् । नेपालको आर्थिक प्रणाली स्थिर रहेकामा पनि उनले प्रशंसा गरिन् । यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने लगानी सम्मेलनमा आईएमएफका तर्फबाट उच्चस्तरको प्रतिनिधित्व हुने जानकारी मन्त्री पुनलाई गराइन् ।

  • दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

    दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को दोस्रो त्रैमास (साउन–पुस) मा ४ प्रतिशतले आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार २०७९–८० को दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने देखिएको हो ।

    यस त्रैमासमा अर्थतन्त्र वृद्धि हुनुमा धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धि मुख्य कारण मानिएको छ । होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिले समग्र अर्थतन्त्रमा योगदान गरेको छ । व्यापार क्षेत्रमा झिनो वृद्धि तथा उद्योगबाहेक अन्य क्षेत्रमा समेत सकारात्मक वृद्धि भएको कार्यालयले जनाएको छ । २०८०–८१ को पहिलो त्रैमासको तुलनामा अर्थतन्त्र ०.७ प्रतिशतले वृद्धि भएको छ ।

    क्षेत्रगत हेर्दा सबैभन्दा धेरै वृद्धि आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको २९.३ प्रतिशतले वृद्धि भएको छ । ग्यास क्षेत्रमा १७.१ प्रतिशत वृद्धिदर भएको छ । यातायात तथा भण्डारण क्षेत्रमा १४.३ प्रतिशत वृद्धि देखिएको छ । त्यस्तै खानी तथा उत्खनन क्षेत्रमा ९.४ प्रतिशत वृद्धि भएको छ । निर्माण क्षेत्रमा भने २।२ प्रतिशतको संकुचन आएको छ । वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशत छ । थोक तथा खुद्रा व्यापार भने ०.५ प्रतिशत मात्र बढेको छ ।

    चालु आवसँग तुलना गर्दा पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १२ क्षेत्रमा वृद्धि भएको छ भने ६ क्षेत्रमा संकुचन आएको छ । विद्युत्, ग्याँस, आपूर्ति सेवा क्षेत्रमा सबैभन्दा धेरै ९.३ प्रतिशत वृद्धि भएको छ । यातायात र भण्डारणमा ६.५ प्रतिशत वृद्धि भएको छ । कृषिमा २.६ प्रतिशत वृद्धि भएको छ ।

    यस वर्ष सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि प्राप्त हुने बजेटमा अनुमान गरेको थियो । कार्यालयको तथ्यांकले लक्ष्यभन्दा धेरै कममात्र आर्थिक वृद्धि हुने देखिन्छ । यसअघि मंगलबार नै विश्व बैंकले यस वर्ष ३.३ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

  • माओवादी पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ

    माओवादी पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ

    काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।

    उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।

  • काठमाडौंमा मेयर हर्क साम्पाङको एकल विरोध प्रदर्शन

    काठमाडौंमा मेयर हर्क साम्पाङको एकल विरोध प्रदर्शन

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ केहीदिन देखि काठमाडौंमा छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन लगायतसँग भेटेका छन्। धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौं आएका उनले
    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरे । ‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।

  • जर्मनीमा गाँजाले पायो वैधानिकता

    जर्मनीमा गाँजाले पायो वैधानिकता

    काठमाडौं । जर्मनीले सन् २०२४ को एप्रिल १ देखि गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ। उता, प्रहरी सङ्गठनहरूले भने त्यसले नोक्सान पुर्‍याउन सक्ने चेतावनी दिइरहेका छन्। एप्रिल फूल अर्थात् १ एप्रिलका दिन कानुनमा परिवर्तन भएको भए पनि यो ठट्टा भने होइन। गाँजालाई कानुनी नबनाएर अपराध मान्दा समेत दशौँ लाखले गाँजा सेवन गर्ने गरेका थिए । गाँजा कानुनी रूपमा उपलब्ध हुनुपर्ने वकालत गर्दै आएका समर्थकहरू भन्छन्( यसले कालो बजार अन्त्य गर्नेछ र गाँजाको गुणस्तर नियन्त्रणमा सुधार हुनेछ।

    नयाँ नियम अनुसार १८ वर्ष माथिका व्यक्तिले सार्वजनिक स्थानमा जाँदा २५ ग्रामसम्म गाँजा आफ्नो साथमा राख्न पाउँछन् । हरेक घरमा तीन वटासम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ । मानिसहरूले विद्यालय र खेल केन्द्र वा पैदल यात्री हिँड्ने क्षेत्रमा बिहान ७ देखि बेलुका ८ बजेसम्म देखिने गरी गाँजा खान पाउने छैनन् । ५०० सदस्यसम्म रहन पाउने गरी गाँजा हुर्काउनेहरूको सङ्गठन वा “सोसल क्लब”हरू खोल्न पाइनेछ । त्यस्ता क्लबका सदस्यको उमेर १८ वर्ष माथि हुनु पर्नेछ र जर्मनीमा बसोबास गर्ने हुनुपर्नेछ । क्लबहरूले गाँजा खेती र गाँजा वितरण गैरनाफामुखी तवरमा मात्र गर्न पाउनेछन् । गाँजाखेती हुने ठाउँमै गाँजा खाने अनुमति हुनेछैन ।

    नयाँ व्यवस्थाले कालो बजारीलाई झन् बलियो बनाउने जर्मन प्रहरी युनियनका एलेक्जेन्डर पोइट्ज ठान्छन् । जर्मन प्रहरी यूनियन गेवेर्कसाफ्ट डेर पोलित्जाई ९जीडीपी०का एलेक्जेन्डर पोइट्ज भन्छन्, “यस्तो व्यवस्थाले कालो बजार झन् बलियो बनाउने हामी ठान्छौँ।” उनको विश्वास छस् “मागचाहिँ कानुनी मान्यताले दिने आपूर्ति भन्दा बढी हुनेछ। किनभने घरमा गाँजा लगाउनु भनेको त्यसको देखभाल गरेर महिनौँ लगाएर मात्र गाँजा उपलब्ध हुनु हो।”

    बच्चाहरूको खेल्ने चौर, विद्यालय र खेल केन्द्रको १०० मिटर वरपरसम्म गाँजा खान पाइने छैन। व्यस्त र भिडभाडयुक्त सहरमा गाँजा खान मात्र पाइने स्थान बनाउनुपर्ने हुन सक्छ। प्रहरीले उपभोक्ता र विक्रेता भनेर छुट्याउन पनि मुस्किल पर्न सक्छ। किनभने एक जनाले सार्वजनिक स्थानमा जाँदा २५ ग्राम सम्म गाँजा साथमा राख्न पाउने भनिएको छ र त्यो दर्जनौँ पटक गाँजा खान सकिने मात्रा हो।


    गाँजालाई वैध बनाउँदा हुने फाइदा र बेफाइदाबारे बहस गरिरहेका मुलुकहरूको लामो सूचिमा जर्मनी समेत छ। जर्मन सरकारले सन् २०२१ मा गरेको एक सर्वेक्षणमा १०.७५ पुरुष र ६.८५ महिलाले गत १२ महिनामा कम्तीमा एक पटक गाँजा प्रयोग गरेको पाइएको उल्लेख गरेको छ।

    BBC

  • नेपाल र बरोडाबीच आज खेल

    नेपाल र बरोडाबीच आज खेल

    काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो । भोलि नेपाल र गुजरात तथा शुक्रवार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

  • आइपीएल : मुम्बईको लगातार तेस्रो हार

    आइपीएल : मुम्बईको लगातार तेस्रो हार

    काठमाढौं । हार्दिक पान्ड्याको कप्तानीमा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सुरुवाती ३ खेलमा पराजित भएको छ । सोमबार राति मुम्बइ राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी आईपीएलमा जितविहीन हुनेमा मुम्बइ एक्लो टोली हो । जितको लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । रियान पराग ३९ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा नट आउट रहे । यशस्वी जैसवाल १०, जस बटलर १४, सन्जु स्यामसन १३ र रविचन्द्रन आश्विन १६ रनमा आउट भए । मुम्बइका क्वेना मफकाले १ र आकाश मधवालले ३ विकेट लिए ।

    त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बइले २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । मुम्बइका कप्तान हार्दिकले २१ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । तिलक बर्मा २९ बलमा २ छक्कासहित ३२ रन बनाए । इशान किशन १६, रोहित शर्मा, डेवाल्ड ब्रेभिस र नमन धिर शून्यमा आउट भए । पीयूष चवाला ३ र टिम डेविड १७ रन बनाए । राजस्थान रोयल्सका ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । नाद्रे बर्गर २ र आवेश खानले १ विकेट लिए ।

    यस सिजन देखी रोहित शर्मालाई हटाउदै हार्दिकलाई मुम्बईले कप्तानको रुपमा फर्काएको थियो । गुजरात टाइटन्स छाडेर मुम्बइ आएका हार्दिकको भारतीय क्रिकेटमा चर्को आलोचना भएको छ । आईपीएलमा आज बेंग्लोर र लखनउबिच खेल हुनेछ । राजस्थान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नाइ ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।

  • बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनको प्रस्तावको पक्षमा ५६ मत खसेको छ । विपक्षमा ३७ जना सांसदले मत दिए । १५ जना सांसद तटस्थ बसे । एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए ।

    बहुमतका लागि ५६ जना सांसदको समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै सांसदको समर्थन पाए । उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिए ।
    २०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलो पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।

  • अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक

    अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक

    काठमाडौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन् ।


    चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी हुन् । यस प्रतियोगितामा सहभागि नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भए । चार सदस्यीय नेपाली कराँते टोलीको‌ प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ छन् ।

  • पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु

    पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु

    काठमाडौं । भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गर्मीको समयमा आउने काल वैशाखी नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । आँधीमा परेर घाइते भएका तीनसय जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । जलपाईगुडीका एक स्थानीय बासिन्दाले धेरै शक्तिशाली आँधीले त्यस क्षेत्रका धेरै ठाउँमा असर गरेको बताएका छन् ।

    पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस विपत्तिसँग जुध्न नागरिकलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएकी छिन् । उनी गत राति नै घटनाको जानकारी लिन र घाइतेहरूलाई भेट्न आँधी प्रभावित क्षेत्रमा पुगेकी छिन् । उनले मृतक र घाइतेका आफन्तलाई जिल्ला प्रशासनले आचारसंहिता पालना गरी नियम कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने बताइन् । उनले विपद् व्यवस्थापन कार्यमा सम्बन्धित सबैलाई संलग्न भएर राहत दिन आग्रह गरिन् । यस प्रकोपबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।

  • आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार

    आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार

    काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीले उत्कृष्ट खेल प्रदर्शन गरेको खेलमा चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले हारेको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो । १९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाउन सक्यो । चेन्नाईका धोनी १६ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । धोनीले अन्तिम ओभरमा एनरिच नोर्कियालाई समान २ छक्का र चौकासहित कुल २० रन हानेका थिए ।


    अजिंक्या रहाणे ३० बलमा ५ चौका र २ छक्कासहित ४५, कप्तान ऋतुराज गायकवाड १, रचिन रविन्द्र २, डर्याल मिचेल ३४, शिबम दुबे १८ र समिर रिज्वी शून्यमा आउट भए । जडेजा १७ बलमा २ चौकासहित २१ रनमा नट आउट रहे । दिल्लीका मुकेश कुमार ३, खलिल अहमद २ र अक्षर पटेलले एक विकेट लिए । त्यसअघि विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनायो । दिल्लीका डेविड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५२ तथा अर्का ओपनर पृथ्वी शाले २७ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाए ।

    कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चाका र ३ छक्कासहित ५१ र मिचेल मार्श १८ रनमा आउट भए । चेन्नाईका मथिशा पाथिरानाले ४ ओभरमा ३१ रन खर्चेर ३, मुश्ताफिजुर रहमान र रविन्द्र जडेजाले १–१ विकेट लिए । आईपीएलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कोलकाता २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नाई ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । राजस्थान २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।

  • बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्थ्यो । त्यसैले गत शुक्रबार नै मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।

    ११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

  • चीन भ्रमण पुरा गरी उपप्रधानमन्त्री आज स्वदेश फर्कने

    चीन भ्रमण पुरा गरी उपप्रधानमन्त्री आज स्वदेश फर्कने

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कंदै छन् । उनी आज बिहान साढे १० बजे काठमाडौं पुग्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीन भ्रमणमा गएका थिए ।

    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।

    उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो । नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए ।

  • २७ निर्माण व्यवसायीसँग सरकारले सोध्यो स्पष्टीकरण

    २७ निर्माण व्यवसायीसँग सरकारले सोध्यो स्पष्टीकरण

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ । सुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो ।

    स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका दुई र चीनको एक कम्पनीसमेत छन् । बाँकी सबै नेपाली कम्पनीहरु छन् । यो स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ । कालोसूचीमा परेमा कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाइँदैन ।

    कार्यालयले सात दिने स्पष्टीकरण मागेका कम्पनीहरुमा चीना श्रेष्ठको रोशिस कन्सट्रक्सन रौतहट, दीपेन्द्र विकको उमंग ट्रेडर्स रौतहट, रुपेश पण्डितको पौराई बाबा कन्स्ट्रक्सन रौतहट,, राजेन्द्र चाईको साहनी विल्डर्स रुपन्देही, दिपेश कर्माचार्यको न्यू जगतदेवी निर्माण सेवा नवलपरासी, रमेश राईको विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, मदन खड्काको एमडी ब्रो कन्स्ट्रक्सन इलाम, पुष्पनाथ यादवको शोभा विल्डर्स एण्ड सप्लायर्स भक्तपुर, विजयकुमार मोक्तानको नेपाल भूमि कन्स्ट्रक्सन काठमाडौं लगायत छन् ।

    यसैगरी सन्तोष प्रसाद भट्टको युसब कन्स्ट्रक्सन डडेलधुरा, ललितबहादुर बोहराको न्यु कालिका निर्माण सेवा बझाङ, दिलबहादुर भण्डारीको तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स डोटी, सतिश आचार्यको सुप्रभात निर्माण सेवा बाँके, कृष्णप्रसाद ओलीको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन बाजुरा, घनश्याम बस्नेतको भुमा निर्माण सेवा दाङ, साविर मियाको मान्यता निर्माण सेवा सुर्खेत, गुनेश्वर साहको जी।एस।एण्ड एमएस कन्स्ट्रक्सन, अजित शाक्यको मुस्कान कन्स्ट्रक्सन पर्सासँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ ।

    स्पष्टीकरण माग गरिएका अन्य कम्पनीहरुमा पदमबहादुर तामाङको मस्टा जेबीडी कन्स्ट्रक्सन काठमाडौं, प्रदीप पन्त र आशिष गौतमको समृद्धि यशहश्वी कन्स्ट्रक्सन काठमाडौं, सुन्दर श्रेष्ठको जलेश्वर महादेव यासवि कन्स्ट्रक्सन काठमाडौं, कृष्ण पौडेलको कृशव निर्माण सेवा रुपन्देही, रामु खनालको खनाल कान्छा सप्लायर्स रुपन्देही, दीपेन्द्रबहादुर शाहीको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, राजिव गर्गको भारत कन्स्ट्रक्सन, अभिषेक गुप्ताको गुप्ता पावर इन्फ्रास्ट्रक्चर भारत र सु फुगुईको शुफा एन्हे ग्रुप सिचुवान (चीन) छन् ।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल

    काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो । दोस्रो खेलमा २२५ रनको लक्ष्य पछ्याउँदा ६ ओभरमा नेपालले ८७ रन बनाए पनि त्यसपछि राम्रो रन बनाउन सकेको थिएन ।

    पहिलो खेलमा लोकेश बमले १०६ र दोस्रो खेलमा २५ रन बनाएका थिए । नेपालका शीर्षक्रमका ब्याटर देव खनाल र विनोद भण्डारी राम्रो सुरुवात दिलाएका थिए । नेपालका मध्यक्रम र तल्लोक्रमका ब्याटरले आज राम्रो गर्नुपर्ने हुन्छ । सुरुवाती दुई खेलमा मौका नपाएका नारायण जोशी र तीव्र गतिका बलर विकाश आग्रीले आज खेल्ने मौका पाउन सक्छन् । लोकेशबाट नेपाल आज पनि आक्रामक ब्याटिङ चाहन्छ । उता आयरल्यान्ड ए का पिटर मुरले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ६५ रन बनाएका थिए । कप्तान निल रकले पहिलो खेलमा ३८ र दोस्रोमा ७१ रन बनाएका थिए । नेपालले यी दुई खेलाडीको विकेट समयमै लिन सक्नुपर्छ ।

    बलिङमा नेपालले दुवै खेलमा २२० माथि रन खर्चेको छ । त्यसैले आजको खेलमा बलरले राम्रो बलिङ गर्नुपर्ने हुन्छ । त्यसपछि तीन एक दिवसीय सिरिज हुनेछ । पहिलो खेलमा बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । नेपाल ए ले टी(२० र एक दिवसीयलाई फरक(फरक टोली घोषणा गरेको थियो ।

  • पेट्रोलको मूल्य बढ्यो, अन्यको यथावत

    पेट्रोलको मूल्य बढ्यो, अन्यको यथावत

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४ रुपैयाँले बढेको निगमले जनाएको छ । जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।

  • तनहुँ हाइड्रोको मूख्य सुरुङको भयो ‘ब्रेक थ्रु’

    तनहुँ हाइड्रोको मूख्य सुरुङको भयो ‘ब्रेक थ्रु’

    काठमाडौं । तनहुँ ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

    आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशय मुहान ९इनटेक० बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४ सय ९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । मुख्य सुरुङको ब्यास ७।४ मिटर रहने छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ । मुख्य सुरुङबाट गएको पानीलाई २ सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने छ ।

    सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा जलस्रोत सचिव सिग्देलले धेरै समय अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे । ‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाड, बूढीगण्डकी जस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने ।

    सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । ‘मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरी आयोजनाका मुख्य माइलस्टोन पूरा भएका छन् । निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणको कामलाई तीव्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेवार भएर लाग्नु पर्छ,’ उनले भने ।

    आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाब र मादी नदीको पानी प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिएको १ सय २६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण छिट्टै अगाडि बढाइने उनले बताए । आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्या लगायत विषयमा जानकारी गराए ।

    मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । समग्र निर्माण २०८३ असार भित्र सक्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध ९कफर ड्याम० निर्माण कार्य धमाधम भइरहेको छ ।

    आगामी असार दोस्रो साताभित्र जग खन्ने काम सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण सुरु गर्ने लक्ष्यसाथ काम भइरहेको छ । प्याकेज–१ को समग्र भौतिक प्रगति २९ प्रतिशत छ । प्याकेज–१ अन्तर्गत १ सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ ।

    आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत प्याकेज–२ निर्माण सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने काम सम्पन्न गरी कंक्रिटिङ स्विजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरण जडान लगायत काम भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ ।

    प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवन भरतपुरसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका केईसी इन्टरनेसनल लिमिटेड भारतले गरिरहेको छ ।

    ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७६ टावरको जग हालिएको छ भने ६२ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत छ । आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँमा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुइटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

    ती सबस्टेसनसम्म विद्युत् पुर्‍याउन ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

    सामुदायिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माण लगायत गरी ५६ परियोजना सम्पन्न भएका छन् । सात परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितको जीविकोपार्जन तथा आय आर्जन वृद्धिका लागि विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको छ ।

    कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एसियाली विकास बैंक (एडीबी) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाईका० ले १८ करोड ४० लाख, युरोपियन इन्भेस्टमेन्ट बैंकले ८ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

  • गुजरातविरुद्ध नेपालको प्रभावशाली जित

    गुजरातविरुद्ध नेपालको प्रभावशाली जित

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप)मा प्रभावशाली जित निकालेको छ । पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरूवात गरेको हो । जितको लागि ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ रनमा नट आउट रहे । नेपालका ओपनर कुशल भुर्तेल १६ बलमा २ छक्कासहित १७ र आसिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजास पटेल र हेमांग पटेलले १–१ विकेट लिए ।

    त्यसअघि साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो ।
    गुजरातका ओपनर रुद्र मयुर पटेलले २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रन जोडेका थिए । आर्यन देशाई ४, सराल प्रजापति १७, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए ।

    नेपालको जितमा गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । दुई टोलीले फाइनल खेल्नेछन् । दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कप तयारीको लागि नेपालले भारतमा अभ्यास गरेको हो ।

  • कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो । पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप भीरबाट खसेको छ । सल्लाघारीममा बस खस्दा १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

  • पानी माग्न गएका मेयर साम्पाङलाई अर्थमन्त्रीले भने, ‘तपाईंको अभियानमा म पनि सँगै हुनेछु’

    पानी माग्न गएका मेयर साम्पाङलाई अर्थमन्त्रीले भने, ‘तपाईंको अभियानमा म पनि सँगै हुनेछु’

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन मन्त्रालय पुगेका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताएका हुन् ।

    मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइँ सरेर अन्यत्र गएकोसमेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए ।

    ‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु,’ उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ ।’

    मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयसँग पनि कुरा गर्न सुझाए ।

    ‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु । यहाँले पनि उताबाट योजना माग गर्नुहोला,” मन्त्री पुनले, “म तपाईंको अभियानमा सँगै हुनेछु ।’

    मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दुरीमा पर्ने चतरास्थित सप्तकोसी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराए । उक्त आयोजनाका लागि करिब पाँच अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो ।

    राईले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे । मन्त्री पुनले पनि राईको काम गर्ने शैलीको प्रशंसा गरे ।

  • केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन

    केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन

    काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफतारीपछि आज दिल्लीमा विपक्षी दलहरुले विशाल शक्ति प्रदर्शनको तयारी गरेका छन् । भारतको राजधानी दिल्लीमा इण्डिया गठबन्धनमा आवद्ध २८ वछा दलका नेता सहभागी हुने भएका छन् । प्रदर्शनमा सोनिया गान्धी, राहुल गान्धी, लालू यादव, ममता बनर्जी, फारूक अब्दुल्ला, एमके स्टालिन, उद्धव ठाकरे, अखिलेश यादव समेत सहभागी हुने समाचारमा उल्लेख छ ।

    कांग्रेसले यस प्रदर्शनलाई लोकतन्त्र बचाउ अभियानका रुपमा लिएको बताएको छ । यसको उद्देश्य कुनै व्यक्तिलाई बचाउने नभई समग्र लोकतन्त्रको रक्षा गर्नु रहेको कांग्रेसको भनाई छ । आइतबार प्रधानमन्त्री निवास नजिकै हुने प्रदर्शनले विपक्षी दलले भाजपालाई चूनौति दिन खोजेका छन् । दिल्लीका मूख्यमन्त्री केजरीवाललाई केन्द्र सरकारले पक्राउ गरेको छ । उनीमाथि घाटालाको आरोप लगाइएको छ ।

  • आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने प्रधानमन्त्रीको आश्वासन

    आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने प्रधानमन्त्रीको आश्वासन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको छ,’ प्रधानमन्त्रीले भने। उनले गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी २ गते अदालतको फैसला पछि निर्णय गरिने बताए ।

    हाल देखिएको तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखी सहमति प्रयत्न गर्ने कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिई सकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने बताए । प्रधानमन्त्रीले विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने बताए ।

    प्रधानमन्त्रीले अर्को एक प्रसङ्ग उल्लेख गर्दै सरकारले तिन करोड रूपियाँ तलका आयोजना ,परियोजना सङ्घीय सरकारले नभै प्रदेश सरकारले निर्णय लिन सक्ने गरी अगाडी जाने तयारी भैसकेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले प्रवासमा अब पार्टी र मोर्चा फरक फरक बन्ने बताइन् ।

  • संवैधानिक परिषद्को बैठक आज बस्दै

    संवैधानिक परिषद्को बैठक आज बस्दै

    काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ ।


    बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

  • नेपालले भारतमा आजबाट अभ्यास सिरिज खेल्दै

    नेपालले भारतमा आजबाट अभ्यास सिरिज खेल्दै

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकोछ ।

    गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानी गर्ने छन् । नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऎरि र कुशल मल्ल प्रमुख हतियार हुन् । डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन राम्रो छैन । त्यो सुधारको आवश्यक देखिन्छ । विवेक यादव, सन्दिप जोरा र प्रतिश जिसि जस्ता युवा खेलाडीलाई मौका दिएर हेर्न सक्छ । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

  • संसद बैठक आज बस्दै, के छ एजेण्डा ?

    संसद बैठक आज बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । सभामुख देवराज घिमिरेको विदेश भ्रमणका कारण १० दिनपछि बस्न लागेको बैठकमा झन्डै आधा दर्जन सम्भावित कार्यसूची छन् । यद्यपि सम्भावित कार्यसूचीमा सभामुखले केही हेरफेर पनि गर्न सक्ने छन् । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सुरुमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् ।

    त्यसपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०८० प्रस्तुत गर्ने र भन्सार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

  • पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटरमा सवार एक जनाको मृत्यु

    पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटरमा सवार एक जनाको मृत्यु

    काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा उपचारकै क्रममा दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    सो घटनामा परी स्कुटर चालक तानसेन नगरपालिका वडानम्बर २ बडिज्ञान टोल बस्ने २० वर्षीय प्रथम शाही घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शनिबार ५ बजेर ५० मिनेटमा हावाहुरी चल्दा रुख जरैबाट ढल्दा लु ८१ प ११३६ नम्बरको स्कुटरसहित उनीहरु च्यापिएका थिए ।

  • अर्थमन्त्रीले ४० देशस्थित नेपाली राजदूतहरुसँग गरे भर्चुअल छलफल

    अर्थमन्त्रीले ४० देशस्थित नेपाली राजदूतहरुसँग गरे भर्चुअल छलफल

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् । जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबेर परराष्ट्र मन्त्रालय गएका थिए । बैठकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्टलगायत सहभागी थिए ।

    मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरुलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिए । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरुलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’

    मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरुलाई यसअघि नै निम्ता पठाइसकिएको स्मरण गर्दै सम्मेलनमा आउन निश्चित भएकाहरुको सूची तयार पारेर पठाउन निर्देशन दिएका थिए ।

    लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानूनी सुधारको काम अघि बढाएको बताए । त्यसका लागि एक दर्जन बढी कानूनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरुलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरे ।

    ‘१२ वटा कानून र कतिपय द्विपक्षीय समझदारीहरु गर्ने कुरामा पनि छलफ चलिरहेको छ । लगानीत्रैकी कानून बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरुलाई भन्नुस्’, उनले भने । यस्तै मन्त्री पुनले सरकारको मुल नेतृत्व उही रहेको र एकाध मन्त्रीहरु मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अनतर्राष्ट्रिय समुदालयलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताए ।

    मन्त्री पुनले गैरआवासीय नेपालीले आर्जन गरेका ज्ञान, सिप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै सो समुदायमा यो सन्देश प्रवाह गर्न राजदूतहरु र नियोग प्रमुखहरुलाई अनुरोध गरे । भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरुमा भइरहेका पूर्वतयारीका कामलाई थप तीव्रता दिन मन्त्री पुनले निर्देशन दिए । बैठकमा संयुक्त राज्य बेलायत, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियालगायतका राजदूत तथा नियोग प्रमुख सहभागी थिए ।

  • आयरल्याण्डसँग हार्यो नेपाल-ए

    आयरल्याण्डसँग हार्यो नेपाल-ए

    काठमाडौं । नेपाल ए टी–२० सिरिजमा आयरल्यान्ड ए सँग पराजित भएको छ । दोस्रो खेल ४० रनले हारेसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित भयो । २२५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा अल आउट भयो । नेपाललाई ओपनर लोकेश बम र देव खनालले ३.१ ओभरमा ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । लोकेश १३ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए । पहिलो खेलमा लोकेशले १०६ रन बनाएका थिए ।

    दोस्रो विकेटका लागि देव र विनोदले ४६ रनको साझेदारी गरेका थिए । एक समय नेपाल ६.५ ओभरमा ९३–१ को अवस्थामा थियो । सातौं ओभरको पहिलो बलमा विनोद प्वाइन्टमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । देव खनाल २५ बलमा ७ चौकासहित ४७ रनमा बोल्ड आउट भए । विनोद भण्डारी १३ बलमा १ चौका र ३ छक्कासहित २६ र किरण ठगुन्ना ३ रनमा आउट भए । आरिफ शेख १४, पवन सरार्फ १०, रासिद खान र विपिन खत्री १-१ रनमा आउट भए । कलम सिंह ऐरी ११ रनमा आउट भए ।

    आयरल्यान्डका स्पिनर बेन ह्वाइटले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । फिन ह्यान्ड र थोमस मेयसले २(२ विकेट लिए । ग्यारेथ डेलानी म्याथ्यु फस्टर १–१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । आयरल्यान्डको जितमा कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउटको इनिङ खेलेका थिए ।

    पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए । कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउट रहे । रस आडैर १७, जेम्श म्याकुलम २६, ग्यारेथ डेलानी १० र फिन ह्यान्ड १९ रन बनाए । नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र पवन सरार्फले ११ विकेट लिए । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । अन्तिम टी२० खेल सोमबार हुनेछ । त्यसपछि तीन खेलको ५० ओभरको अभ्यास खेल हुनेछ ।

  • शीर्ष नेताबीच वालुवाटारमा छलफल

    शीर्ष नेताबीच वालुवाटारमा छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो ।

    २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताएका थिए ।

    संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक परिषदको बैठक आइतबार बोलाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन् । प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका बेला ओली संवैधानिक परिषदका सदस्य थिए भने अहिले देउवा सदस्य रहेका छन् ।