Category: समाचार

  • हर्क साम्पाङले भने-‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन’

    हर्क साम्पाङले भने-‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन’

    काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन । ईलाम– २ संस्कृतिवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई जिताऔँ । ’ डकेन्द्र प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता तथा जनताको उनलाई साथ छ ।

  • गाउँपालिका अध्यक्षमा एमालेसँग पराजित जीतबहादुर नेकपा एसका सांसद उम्मेदवार

    गाउँपालिका अध्यक्षमा एमालेसँग पराजित जीतबहादुर नेकपा एसका सांसद उम्मेदवार

    काठमाडौं । उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाएको छ ।
    एकीकृत समाजवादीले इलामा-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा १ मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको हो । राई ०७४ को स्थानीय तह निर्वाचनमा माइजोगमाइ गाउँपालिका अध्यक्ष भएका व्यक्ति हुन् ।

    गत मंसिरमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । इलामको माई जोगमाई गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका जीतबहादुर एमालेका कुशबहादुर थेबेसँग २२२ भोटले पराजित भएका हुन् । थेबेले ५ हजार १३५ मत ल्याउँदा राईले ४ हजार ९१३ मत पाएका थिए ।

  • बेलायत सरकारले आफ्नो मुलुकमा भएको साइबर हमलामा चीनलाई लगायो आरोप

    बेलायत सरकारले आफ्नो मुलुकमा भएको साइबर हमलामा चीनलाई लगायो आरोप

    काठमाडौं । यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि दुर्भावनापूर्वक भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ।
    सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक र कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ। यूकेका उपप्रधानमन्त्री ओलिभर डाउडनले ती व्यक्ति र कम्पनीले बेइजिङको आलोचना गर्दै आएका ब्रिटिश सांसदहरूको विवरणमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेको बताएका छन्। सन्दिग्ध साइबर आक्रमणकारीहरूले चार करोड ब्रिटिश मतदातासँग सम्बन्धित डेटामा पहुँच पाएको पनि विश्वास गरिएको छ।

    तर डाउडनले उक्त आक्रमणका कारण चुनावको सुरक्षामा गम्भीर सम्झौता हुने खालको कार्य नभएको बताए। चीनले चाहिँ लगातार जासुसी तथा गलत काम गरेको भन्ने आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। यूकेस्थित चिनियाँ दूतावासले निराधार दाबी गरिएको भन्दै त्यसलाई दुर्भावनापूर्ण लाञ्छना को सङ्ज्ञा दिएको छ। ब्रिटेनले प्रतिबन्ध लगाएका दुई चिनियाँ नागरिक चाओ गुआङ्जोङ र नि गाओबिन हुन् भने कम्पनी वुहान श्याओरुइची साइन्स एन्ड टेक्नोलजी हो।

    ती चिनियाँ नागरिक र कम्पनीले चीन सरकारसँग सम्बन्ध भएको साइबर जासुसी समूह एड्भान्स्ड पर्सिस्टन्ट थ्रेट ग्रूप ३१ (एपीटी३१) का लागि काम गरेको ब्रिटिश सरकारको दाबी छ। ब्रिटिश प्रतिबन्धअन्तर्गत ती व्यक्ति तथा कम्पनीको सम्पत्ति रोक्का गरिएको छ। त्यसले गर्दा ब्रिटिश नागरिक वा व्यवसायीहरूले ती चिनियाँहरूको स्रोत र सम्पत्ति कुनै किसिमले पनि उपयोग गर्न पाउँदैनन्। उनीहरूलाई ब्रिटेनको भ्रमण गर्न र ब्रिटेनमा बस्न पनि निषेध गरिएको छ।

  • पाल्पामा किशोरीको शव भेटियो, हत्याको आशंका

    पाल्पामा किशोरीको शव भेटियो, हत्याको आशंका

    काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्याहामा स्थानीय १८ वर्षकी पद्‍मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् । बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।

    घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले धारितो हतियार प्रयोग भएको देखिएकाले हत्याको आशंका रहेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित

    फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।
    रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको छ । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक सता भित्र बहराइनसँग दोस्रो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ । दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।

    समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहिन छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ । तर एसियन कपमा छनोट हुने नेपालको बाटो भने अझै सकिएको छ । समूहमा तेस्रो र चौथो हुने टिमले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछन् । आजै भएको खेलमा खेलमा युएईले यमनलाई पराजित गर्दै शतप्रतिशत जित निकालेको छ । चार खेलबाट युएई १२ अंकसहित समूह एचको शीर्ष स्थानमा छ । युएईले समूहको अन्तिम दुई खेलअईघि नै शीर्ष दुईमा स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

    ३ जित र १ हरासहित ९ अंक जोडेको बहराइन दोस्रो स्थानमा छ । ४ खेलबाट ३ अंकसहित यमन तेस्रो स्थानमा छ । यसअघि पहिलो खेलमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले बहराइन विरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्ने लक्ष्य बनाएको थियो । तर यस खेलमा पहिलो अघिल्लो खेलमा जस्तै नेपालले ३ गोल बेहोर्‍यो । मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेसले अघिल्लो खेलबाट पहिलो रोजाईँमा चार परिवर्तन गरेका थिए ।

    अघिल्लो खेल खेलेका अन्जन विष्ट, मनिष डाँगी, सुमित श्रेष्ठ र हिसुब थपलियाको स्थानमा आज भरत खवास, जिलेस्पी जंग कार्की, सन्जिव विष्ट र सौभाग्य राई खेलेका थिए । अन्जन विष्ट अघिल्लो खेलमा घाइते भएका थिए भने मनिष डाँगी कार्डका कारण निलम्बनमा थिए । सुमित श्रेष्ठ र हिसुव थपलिया बेन्चमा थिए ।
    खेलको सातौं मिनेटमा सायद महदी बाकेरले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । कर्नरबाट आएको बल नेपालका गोलकिपर किरण कुमार लिम्बुले पन्च गरेपनि पूर्ण रुपमा क्लियर नभएपछि बहराइनमा हमद अलसामसनले हेड गरेका थिए । त्यसमा नेपाली खेलाडीले बल क्लियर गर्न सकेनन् र नेपाली खेलाडीको तालमेल नमिल्दा बाकेरले गोल गरे ।

    कप्तान अब्दुल्लाह युसुफ हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । नेपालका कप्तान किरणले बल रोक्ने क्रममा बहराइनका मोहमद मारहुनलाई फल गरेपछि रेफ्रीले बहराइनलाई पेनाल्टी दिएका थिए । त्यसमा कप्तान हेलाले सहजै गोल गरे ।

    त्यसपछि ३६औं मिनेटमा कमिल अल-अस्वादले गोल गर्दै बहराइनलाई ३–० को अग्रता दिलाए । काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली डिफेण्डरहरुलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानको अवस्थामा गोल गरे । यसअघि बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो र पहिलो हाफमा ३ गोल नै बेहोरेको थियो ।

    पहिलो हाफमा तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरेपनि सफल भएन । ७३औं मिनेटमा नेपालले गोल गरेपनि अफसाइड भएको थियो । सनिश श्रेष्ठको क्रसमा सन्जिव विष्टले बक्बाट वान टच गोल गरेका थिए र तर सहयाक रेफ्रीले अफसाइडको झण्डा उठाए । बहराइनले दोस्रो हाफमा पनि नेपालमाथि दबाब बनाएको थियो तर गोल थप्न भने सकेन । हुसेन अब्दुलकरिमले ८९औं मिनेटमा राम्रो अवसर पाएङ्का थिए तर उनको प्रहार क्रस बारको थोरैमाथिबाट बाहिरियो ।

  • आइपीएल : चेन्नईको लगातार दोस्रो जित

    आइपीएल : चेन्नईको लगातार दोस्रो जित

    काठमाडौं । साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो । २०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो ।

    गुजरातका साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ओपनर ऋद्धिमान शाह २१, शुभमन गिल ८, विजयशंकर १२ र डेविड मिलर २१ रनमा आउट भए । चेन्नईका दीपक चाहर, मुश्ताफिजुर रहमान र तुषार देशपाण्डेले दुई–दुई विकेट लिए । डर्याल मिचेल र मथिसा पाथिरानाले एक–एक विकेट लिए ।

    त्यसअघि चेपौकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो । चेन्नईका शिवम दुबेले २३ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाए । रचिन रविन्द्र २० बलमा ६ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक सुरुवात दिलाएका थिए ।

    ऋतुराज गायकवाड ४६, अजिंक्या रहाणे १२, डर्याल मिचेल २४ र समिर रिज्वीले १४ रन जोडे । गुजरातका राशिद खानले २, साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए । आईपीएलमा आज राति सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

  • परराष्ट्र मन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट

    परराष्ट्र मन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको छ । साथै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि दुवै नेताले प्रतिबद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

  • ग्याङ फाइट प्रकरण: होटल सञ्चालकसहित चार जना सार्वजनिक

    ग्याङ फाइट प्रकरण: होटल सञ्चालकसहित चार जना सार्वजनिक

    काठमाडौं । ललितपुर महानगरपालिका -२६ ढोलाहिटीमा दुईजनाको ज्यान जानेगरी भएको घटनामा संलग्न चार जना आरोपितहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा चारजनालाई सार्वजनिक गरेको हो।

    दुई समूहबीच विवादका क्रममा छुरा प्रहार हुँदा पूजन राई र रेबस राईको हत्या भएको थियो।

    सार्वजनिक हुनेमा खाजा घरका सञ्चालक खोटाङका साकेला गाउँपालिका-२ का विजय राई,सोही ठाउँका सुलभ राई,भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरको छेङविहाङ राई रहेका छन्। घटनामा संलग्न रहेका एक आरोपी अझै फरार रहेको प्रहरीले बताएको छ ।

  • परराष्ट्र मन्त्री चीन भ्रमणमा, आज समकक्षीसँग भेटवार्ता

    परराष्ट्र मन्त्री चीन भ्रमणमा, आज समकक्षीसँग भेटवार्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त छन् । बेइजिङ पुगेलगत्तै उनले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गरेका थिए । भेटमा नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (.सिपिपिसिसी)का अध्यक्ष हुनिङले दुई देशले बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर गर्ने विश्वास व्यक्त गरेका थिए ।

    उपप्रधानमन्त्री श्रेष्ठले आज समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले रात्रिभोजसहित श्रेष्ठलाई स्वागत गर्नेछन् । उपप्रधानमन्त्री श्रेष्ठ आज बिहान हुवावे रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा सहभागी हुने र त्यहाँबाट नेपाली राजदूतावास पुगेर लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी नौ दिन लामो औपचारिक भ्रमणमा आइतवार चीन प्रस्थान गरेका हुन् ।

  • सुरक्षा परिषदबाट गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव पारित

    सुरक्षा परिषदबाट गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव पारित

    काठमाडौं । गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ । लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ । चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे । यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए ।

    चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ । यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन् । गत ७ अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल

    नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल

    काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् । नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।

    सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी–२० आई खेल खेलेका छन् । यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ । पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई आज मौका दिने सम्भावना छ ।

  • अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

    अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

    काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यसक्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका सदस्यहरुले नेपाल बैंकको उच्च प्राथमिकतामा रहेको बताए ।

    रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे । उनले नेपाललाई एआईआईबीले प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए । ५० प्रतिशत पुँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न मन्त्री पुनले आग्रह गरेका थिए ।

    मन्त्री पुनको उक्त आग्रहका लागि धन्यवाद दिँदै रथनायेकेले बहुवर्षीय आयोजनाहरुको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औंल्याए । मन्त्री पुनले आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिए । रथनायेकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए ।

    मन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न टोलीसँग आग्रह गरेका छन् । एआईआईबीको ब्याजदर तुलनात्मक रुपमा महंगो भएकाले नेपालले अपेक्षित रुपमा ऋण लिन नसकेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल एआईआईबीको संस्थापक सदस्य भए पनि महंगो ब्याजदरका कारण सोचेजति लाभ लिन नसकेको स्पष्ट गरे । नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न काँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी हुने मन्त्री पुनले बताए ।

    सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै आन्तरिक श्रोतको सीमितताका कारण बाह्य श्रोत जुटाउन आवश्यक रहेको उनले स्पष्ट गरे ।
    पुनले पूर्वाधार विकाससहित जलविद्युत, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न टोलीलाई आग्रह गरे । जलविद्युतका लागि क्षेत्रीय बजारको सुनिश्चितता भएकाले सो क्षेत्र लगानीका लागि आकर्षक रहेको पुनले औंल्याए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतसँग १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको जानकारी दिंदै उनले बजारको समस्या नरहेको स्पष्ट गरे । यस्तै बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भएको र ४० मेगावाट बिजुली छिट्टै बंगलादेश निर्यात गर्न लागिएको बताए ।

    आगामी सन् २०२६ मा नेपालले सहश्राब्दी विकास लक्ष्य हासिल गर्नैपर्ने भन्दै उनले उक्त लक्ष्य छुन नेपालमा लगानी विविधिकरण गर्न उनको आग्रह थियो । यस्तै नेपालले विकास आयोजनामा जलवायु वित्तको परिचालन गर्ने सोच बनाइएकाले त्यसका लागि समेत सहयोग गर्न मन्त्री पुनले भने । देशभित्र र बाहिरको समेत निजी क्षेत्रलाई लगानीका लागि थप विश्वासको वातावरण निर्माण गर्न विद्यमान कानूनमा सुधार गर्र्दै लैजाने प्रतिबद्धता मन्त्री पुनको थियो ।

    एआईआईबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको २ सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी छ । यस्तै लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत प्रसारण लाइनमा पनि एआईआईबीले लगानी गरेको छ ।

  • कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

    कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

    काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा एक साथ १७ जनाले हाम फालेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । त्यसमध्ये एक जना बेपत्ता भएका छन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीका अनुसार शाहीको खोजी भइरहेको छ ।

    उनका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्न खोजेको थियो । तर सामूहिक रूपमा तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ । ‘उनीहरुलाई प्रहरीले रोक्न खोजेको बताइएको छ । तर पुलमा फोटो खिचेर फर्किने भन्दै उनीहरु पुलको बीचमा गएका थिए ।

  • जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने

    जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने

    काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो । सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो ।

    भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम र बझाङमा गरी ७ सय बढी विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए । छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

    जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिक राति ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट तीन जिल्लामा पूर्ण र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका थिए । यस्तै दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष २०८१–८१ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट विनियोजन नगर्ने सहमति भएको छ । सरोकारवालाबाटै उक्त कार्यक्रम प्रभावकारी नभएको गुनासो पटक(पटक आउने गरेको थियो ।

    यद्यपि आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताए । ‘परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ,’ उनले भने ।

  • अछाममा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु

    अछाममा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु

    अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मेल्लेख–७, नन्देगडाको सुयडीमा सोमबार भएको सो दुर्घटनामा तीनजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

    षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडीनजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका प्रहरी निरीक्षक साउदले बताए ।

    मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका निम्ति बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस

  • नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार डीएभी हायर सेकेन्डरी स्कुलमा ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा २०० भन्दा बढि विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो ।

    कार्यक्रममा नेपाल एसबीआई बैंक न्यूरोड शाखाको शाखा प्रवन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

    हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । नेपाल राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ ।

    हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाएको छ ।

  • ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

    ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

    काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई छन् । पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ ।

    ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको बताइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा

    तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा

    काठमाडौं । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइएको थियो । पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।

    हिमाली र पहाडी जिल्लाहरुमा भने आइतबार सार्वजनिक बिदा थियो । त्यसो त तराई मधेशमा दिनदिनै होली पर्वको रौनक छ । आइतबारदेखि सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेशमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवर्त्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू समुदायले आइतबार नै होली मनाएका छन् ।

    साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा छ । यसअनुसार तराई मधेशका अधिकांश ठाउँमा सोमबार (आज) होली पर्व मनाइँदैछ । मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मंगलबार होली खेलिनेछ ।

    स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेगमा ‘फागु पूणिर्मा’ र तराई(मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई-मधेशका अधिकांश क्षेत्रमा पूणिर्माको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।

    पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ(आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

    हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

  • आइपीएल : गुजरातसँग हार्यो मुम्बई

    आइपीएल : गुजरातसँग हार्यो मुम्बई

    काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो ।

    मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्कासहित ४३, इशान किशन शून्य, तिलक बर्मा २५, टिम डेविड र हार्दिक पान्ड्या ११–११ रनमा आउट भए । गुजरातका आजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोनसन र मोहित शर्माले २–२ विकेट लिए ।


    त्यसअघि घरेलु मैदान अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । गुजरातका साई सुदर्शनले ४५, शुभमन गिल ३१, राहुल टेवाटिया २२ र डेविड मिलर १२ रनमा आउट भए । मुम्बइका जसप्रित बुमराहले ४ ओभरमा मात्रै १४ रन खर्चेर ३ र जेराल्ड कोट्जीले २ विकेट लिए । आईपीएलमा आज साँझ रोयल च्यालेन्जर्स बेंग्लोर र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

  • नेपाल र आयरल्याण्ड-ए बीच आज पहिलो टी-२० खेल

    नेपाल र आयरल्याण्ड-ए बीच आज पहिलो टी-२० खेल

    काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब प्रतिस्पर्धामा हुनेछन् ।

    नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् । सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी–२० आई खेल खेलेका छन् । यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।

  • इलाम-२ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङ

    इलाम-२ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङ

    काठमाडौं । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ’, उपमहासचिव ज्ञवालीले भने ।

    सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।

  • होली मनाएर पौडी खेल्ने क्रममा सुनकोशीमा तीन बालबालिका वेपत्ता

    होली मनाएर पौडी खेल्ने क्रममा सुनकोशीमा तीन बालबालिका वेपत्ता

    काठमाडौं । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए ।

    उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए । बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले बताए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ । उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।

  • होली खेल्ने क्रममा झण्डै १ सय जना पक्राउ

    होली खेल्ने क्रममा झण्डै १ सय जना पक्राउ

    काठमाडौं । होली मनाउने क्रममा जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ८३ पुरुष र ९ महिला काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी दीपेश बस्यालका अनुसार पक्राउ परेकाहरूलाई अवस्था हेरेर आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।

    त्यसैगरी काठमाडौंबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९५ वटा २ पांग्रे सवारी (मोटरसाइक–स्कुटर) र ७ वटा ४ पांग्रे सवारी गरी ३०२ थान सवारी साधन नियन्त्रणमा लिइएको छ । अन्य अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ । होलीलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

  • होलीमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता थप मजवुत बनोस

    होलीमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता थप मजवुत बनोस

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागुपूर्णिमा (होलीपर्व) को शुभकामना दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने बताएका छन् ।

    उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् । उपराष्ट्रपति यादवले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होलीपर्व शालिनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर भएको बताएका छन् ।

    बहुआयामिक महत्व बोकेको यस पर्वका ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मकतालाई अङ्गीकार गर्दै यसलाई जीवन्त बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

  • आज होली, पहाडी भेगमा सार्वजनिक बिदा

    आज होली, पहाडी भेगमा सार्वजनिक बिदा

    काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो ।

    स्थानअनुसार मनाइने होलीको नाम पनि फरक(फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई(मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।

    सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।

  • आईपील : कोलकाताको पहिलो जित, हैदरावाद हार्यो

    आईपील : कोलकाताको पहिलो जित, हैदरावाद हार्यो

    काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन खर्चेर २ विकेट लिएका थिए ।

    हैदराबादका ब्याटर हेनरिक क्लासेनले पहिलो बलमा छक्का हाने पनि त्यसपछि हर्षित रानाले पुनरागमन गरेका थिए । हैदराबादका हेनरिक क्लासेनले २९ बलमा ८ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर मयंक अग्रवाल र अभिषेक शर्मा ३२र३२ रनमा आउट भए । त्यस्तै राहुल त्रिपाठी २०, एडेन माक्ररम १८, अब्दुल सामद १५ र शाहबज अहमद १६ रनमा आउट भए ।

    कोलकाताका हर्षित रानाले ३, आन्द्रे रसेलले २, बरुणचक्रवर्ती र सुनिल नारायणले १–१ विकेट लिए । त्यसअघि इर्डेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो । कोलकाताको जितमा आन्द्रे रसेलले २५ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन बनाए । फिलिप साल्ट ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रन बनाए । हैदराबादका टि नटराजनले ३, मयंक मारकण्डे २ र प्याट कमिन्सले १ विकेट लिए ।

  • दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    काठमाडौं । राजपुर गाउँपालिका ५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
    शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा१ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा७प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा राजपुर गाउँपालिका ५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

    मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको उनले जानकारी दिए ।

  • रविको चेतावनी : कांग्रेससँग खुला बहस गर्न तयार छु

    रविको चेतावनी : कांग्रेससँग खुला बहस गर्न तयार छु

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्दैमा राजीनामा नदिने बताएका छन् । बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न तयार रहेको बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले काम गर्न नसकेको बेला राजीनामा माग्नै नपर्ने बताए ।

    उनले अघि भने, ‘खल्तीमा राजीनामा बोकेर हिंडेका छौं ।’ सहकारीको विषयमा भने आफूले पार्टीभित्र र सञ्चारमाध्यममा प्रष्ट भन्ने गरेको बताए ।संसदमा भने कांग्रेसले आफूलाई सुन्न नचाहेको भन्दै गृहमन्त्री लामिछानेले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, प्रभावशाली नेताहरुलाई । तपाईं कहाँ, कहिले र कुन मितिमा बोलाउनु हुन्छ, खुला ठाउँमा बहस गर्न चाहख्छु ।’

    ‘तपाईंले भनेको ठाउँमा बोलाउनुस्, भए भरको सम्पूर्ण प्रमाण लिएर आउनु होला । तपाईंकै निर्वाचनको क्षेत्रका मान्छेको अगाडि बहस गर्न चाहन्छु,’ आफूमाथि प्रश्न गर्ने कांग्रेस महामन्त्री गगनकुमार थापातर्फ संकेत गर्दै गृहमन्त्री लामिछानेले भने, ‘यो बहस काठमाडौंको क्षेत्र नम्बर ४ मा भयो भने मलाई अझ सहज हुन्छ । त्यहाँका मतदाताले थाहा पाउनुपर्छ, जसलाई ठगीको आरोप लगाइएको छ, ठगी त्यसले गरेको छ अरु कसैले गरेको छ ?’ उनले कुन मुद्दामा आफूलाई प्रतिवादी बनाइएको छ, त्यो देखाउन समेत कांग्रेसलाई चुनौती दिए ।

  • विश्व बैंकका उपाध्यक्षलाई लगानी सम्मेलनमा नेपालले दियो निम्तो

    विश्व बैंकका उपाध्यक्षलाई लगानी सम्मेलनमा नेपालले दियो निम्तो

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् । बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका लागि निम्ता गरेको उनको सचिवालयले जनाएको छ ।

    उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उनीहरुलाई औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएका हुन् । जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिनुहुँदै नेपाल र विश्व बैङ्कबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए ।

    लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी अर्थमन्त्री पुनले गराए । सम्मेलनलाई नेपालले अवसरका रुपमा लिएको बताउँदै उनले विश्व बैङ्कसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

  • दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

    दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं । दाङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा राप्ती गाउँपालिका ३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै ज्यान गएको हो ।

    त्यस्तै करेन्टबाट ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएको र उनलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।