Category: समाचार

  • गुरुप्रसाद न्यौपाने ‘इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर

    गुरुप्रसाद न्यौपाने ‘इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर

    काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर भएका छन् ।

    विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधिश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

    सेयरको इन्साइडर ट्रेडिङ गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै गत कात्तिक २३ गते न्यौपानेविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीसँग १ करोड ९९ लाख रुपैयाँ बिगो दाबी समेत मागिएको थियो ।

    अदालतले दोषी ठहर गरे पनि अहिले सजाय भने तोकेको छैन । अब चैत १५ गते बस्ने इजलासले उनलाई सजाय तोक्ने अदालतले जनाएको छ ।

    न्यौपानेलाई यसअघि नेपाल धितोपत्र बोर्डले १० वर्ष कुनै पनि पब्लिक कम्पनीमा संचालक हुन नपाउने गरी कारबाही गरेको थियो । ;साथै, बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१ (७) अनुसार कारबाही गर्दै ७५ हजार रुपैयाँ जरीवाना समेत तिराएको थियो ।

  • विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड, भारतभन्दा नेपाल अगाडि

    विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड, भारतभन्दा नेपाल अगाडि

    काठमाडौं । फिनल्याण्डले लगातार सातौं वर्ष विश्वको सबैभन्दा खुसी देशको उपाधि जितेको छ । विश्वव्यापी चुनौतीहरूको बाबजुद फिनल्याण्डले लगातार खुसी देश बनेको हो । यसअघिका प्रतिवेदनमा अमेरिका र जर्मनी शीर्ष २० खुसी देशको सूचीमा परे पनि यसपटक भने सूचीबाट बाहिरिएका छन् । अमेरिका २३ औं स्थानमा छ । जर्मनी २४ औं स्थानमा छ । सूचीको शीर्ष स्थामा नर्डिक मुलुक छन्। नेपाल ९३ औँ स्थानमा छ। छिमेकी भारत १२६ औँ स्थानमा छ भने उत्तरी छिमेकी चीन ६० औँ स्थानमा सूचीमा रहेका १४३ मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा छ।

  • मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या

    मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या

    काठमाडौं । मोरङमा अर्को विभत्स घटना दोहोरिएको छ । जिल्लाको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेको समाचारमा उल्लेख छ ।

    उनका छोरा भाग्न सफल भएका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरी हत्या गरेका छन् । गीताको घटनास्थलमै ज्यान गएको थियो । लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताएका छन् ।

    मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो । गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

    नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गर्दै आइसीसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उनीहरुबीच नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो ।

    सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आउँदो दिनमा पनि कायम राख्न प्रयासरत रहेको भन्दै पूर्वाधार विकासमा सरकारले चासो दिएर लगानी गरिरहेको बताए । उनले नेपाल र बङ्गलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने १९ वर्ष मुनिको महिला टी–२० विश्वकपका लागि आइसीसीबाट सहयोगका लागि आग्रह गरे । सदस्य सचिव घिसिङले विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा अध्यक्ष बारक्लेमार्फत आइसीसीलाई धन्यवाद दिए ।

  • आज काठमाडौंसहित पूर्वी नेपालमा वर्षातको सम्भावना

    आज काठमाडौंसहित पूर्वी नेपालमा वर्षातको सम्भावना

    काठमाडौं । बुधबार देशभर मौसम बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

    आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको बताइएको छ । एक–दुई स्थानमा मध्यम खालको वर्षा भइरहेको छ । काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । ‘काठमाडौंमा आज र भोलि पनि छिटपुट वर्षा हुने सम्भावना छ । गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली छ ।

  • रिडी–तमघास सडक आजबाट दैनिक १२ घण्टा बन्द

    रिडी–तमघास सडक आजबाट दैनिक १२ घण्टा बन्द

    काठमाडौं । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो । उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन् ।

    सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ । सडकको ७.७५ चौडाइ कालोपत्रे गरिंदैछ । अहिले भएको सडक निकै साँघुरो र कालोपत्रे पनि भत्किंदै गएको थियो । सडकखण्डको २३ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०८२ साल फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने गरी २०७९ साल फागुन २८ गते सम्झौता भएको हो । एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँ लागतमा सडक स्तरउन्नतिका साथै कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको हो ।

    सडकको २५ प्रतिशत भौतिक प्रगति र ११.५३ वित्तीय प्रगति भएको छ । तम्घास(रिडी सडक गुल्मी जिल्ला सदरमुकाम आउने मुख्य सडक हो । यही सडक भएर गुल्मी जिल्लाबाट अन्य जिल्लामा जाने सवारीसाधन छुट्ने गर्दछन् ।

  • १० महिनामा निर्यात १ खर्ब, आयात १० खर्ब

    १० महिनामा निर्यात १ खर्ब, आयात १० खर्ब

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिना (फागुन)सम्म निर्यात १ खर्ब नाघेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत आव २०७९–८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो । गत आव फागुनसम्म १ खर्ब ४ अर्ब ७९ रुपैयाँको निर्यात भएको थियो । तथ्यांक अनुसार फागुनसम्म आयात भने १० खर्ब नाघेको छ । ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो गत आव यसै अवधिको तुलनामा २.६६ प्रतिशत कम हो ।

    अघिल्लो वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको तथ्यांकमा छ । फागुनमा मात्र १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दवबै घटेको अवस्था छ । तथ्यांक अनुसार फागुन मसान्तसम्म कुल वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड देखिएको छ । यो अघिल्लो आवको तुलनामा २.७८ प्रतिशत कम हो ।

    अघिल्लो आवमा ११ खर्ब ६३ अर्ब १८ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो । आठ महिनामा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड देखिएको छ । यो अघिल्लो वर्ष यसै अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो । उक्त आवमा ९ खर्ब ५३ अर्ब रुपैयाँ व्यापार घाटा थियो । नेपालको कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ८.९० प्रतिशत र आयातको हिस्सा ९१.१० प्रतिशत रहेको देखिन्छ ।

    आठ महिनामा नेपालले पेट्रोलियम पदार्थ आयातमा मात्र २ खर्ब १४ अर्ब २७ करोड बराबर वैदेशिक मुद्रा खर्च गरेको छ । यस तथ्यांक अनुसार नेपालको कुल निर्यात व्यापारले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था छ ।

    पेट्रोलियम पदार्थमा नेपालले सबैभन्दा धेरै व्यापार घाटा बेहोरिरहेको अवस्था छ । आठ महिनामा आइरन र स्टिल ८६ अर्ब ८१ करोड बराबर आयात भएको छ । विद्युतीय सामग्री र यसका उपकरण आयातमा ६७ अर्ब ६९ करोड रुपैयाँ विदेशिएको छ । सवारीसाधन आयातमा ४८ अर्ब १० करोड रुपैयाँ विदेशिएको तथ्यांक छ । तरकारीजन्य वस्तु आयातमा २१ अर्ब २० करोड रुपैयाँ विदेशिएको तथ्यांक छ । तथ्यांक अनुसार भारतसँग सबैभन्दा धेरै व्यापार रहेको छ ।

    आयात–निर्यात दुवैमा भारत अगाडि छ । व्यापार घाटाको ठूलो हिस्सा समेत भारतसँगै देखिन्छ । आठ महिनामा भारतबाट नेपालमा ६ खर्ब ३८ अर्ब रुपैयाँको सामान आयात भएको छ । नेपालबाट ६८ अर्ब ५१ करोड रुपैयाँको वस्तु भारतमा निर्यात भएको छ । भारतसँग ५ खर्ब ६९ अर्ब बराबर व्यापार घाटा रहेको देखिन्छ ।

    उत्तरी छिमेकी चीनसँग १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । त्यहाँबाट १ खर्ब ९४ अर्बको वस्तु आयात भएको छ । चीनमा नेपालबाट भने १ अर्ब ९५ करोडको मात्र वस्तु निर्यात भएको छ । आठ महिनामा नेपालले १ सय ५८ भन्दा धेरै देशसँग व्यापार गरेको छ ।

  • भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने पाँच दलीय गठबन्धनको संकल्प

    भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने पाँच दलीय गठबन्धनको संकल्प

    काठमाडौं । सत्तारुढ दलहरुले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    जसमा कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख छ । कार्यदलका संयोजक पौडेललेले भने, ‘भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारवाही अघि बढाउने, भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थागित गर्नेछ ।’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

  • ‘हामी कामले जवाफ दिन्छौं, कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्’

    ‘हामी कामले जवाफ दिन्छौं, कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्’

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई कामबाटै जवाफ दिने बताएका छन् । उनले आज संसद बैठकबाट निस्किने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले बुझेका छन् ।

    हामीले कामले जवाफ दिने बताए । संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कांग्रेसको अधिकारको कुरा भएको लामिछानेले बताए ।

    उनले भने, ‘माग गर्ने कुरा एउटा छ, अब कुन ढंगले जान्छ हेर्दै जाउँ । म (राजीनामा होइन) काम गर्छु ।’ ‘म भन्छु, नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्। अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस्। अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने? सुशासनको कुरा गर्ने? चार वर्ष अवरूद्ध गरोस् कांग्रेसले,’ गृहमन्त्री लामिछानेले भने।

  • काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, लाहोर दोस्रोमा

    काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, लाहोर दोस्रोमा

    काठमाडौं । काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ ।

    एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको मंगलबार दिउँसो १ः४५ बजेको लाइभ अपडेटअनुसारको रिपार्टलेले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।

    काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १५८ रहेको छ ।

    सबैभन्दा प्रदूषित थाइल्याण्डको च्याङ माइ सहर रहेको आईक्यू एयरको तथ्यांक छ । त्यहाँ प्रदूषणको मात्रा १९८ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेको छ ।

    एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । अन्य प्रदूषित सहरहरूमा बंगलादेशको ढाका, भारतको दिल्ली, मुम्बइसहित सेनेगल, दक्षिण कोरिया र बहराइन छन् ।

  • प्रधानमन्त्रीको जवाफ-‘सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन’

    प्रधानमन्त्रीको जवाफ-‘सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन्।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री लामिछानेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘हालसम्मको अनुसन्धानले कहीँकतै उहाँ (रवि लामिछाने) सहकारी ठगी प्रकरणमा जोडिएको देखाएको छैन’, उनले भने, ‘सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको उजुरीमा सहकारीको रकम हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण पनि पेश भएको छैन।’

    प्रधानमन्त्रीले रवि लामिछाने प्रतिपक्षमै रहेका बेला सो सहकारी प्रकरणको अनुसन्धान भएको र उनको भूमिका कतै नदेखिएको भन्दै अहिले सरकारमा सहभागी भएका बेला स्वार्थको द्वन्द्व हुने भनी कांग्रेसले उठाएको प्रश्नको औचित्य नरहेको बताए ।

  • संसदमा आज प्रधानमन्त्रीले जवाफ दिँदै

    संसदमा आज प्रधानमन्त्रीले जवाफ दिँदै

    काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।
    कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने उल्लेख छ । यो कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् ।

  • सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै

    सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै

    काठमाडौं । सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो । उक्त कार्यक्रम शीर्ष नेताले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो । गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

    कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए । कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए । कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीका साथै शीर्ष नेताहरूलाई बुझाएको थियो ।

  • साहित्यकार परशु प्रधानको निधन

    साहित्यकार परशु प्रधानको निधन

    काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । सोमबार राति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग २० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परशु प्रधानका छोरा एवम् बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिएका छन् ।

    विसं २००० मा भोजपुरमा जन्मिएका परशु प्रधानले गद्य अर्थात् कथा र उपन्यास विधामा कलम चलाउने गरेका थिए । पी।आर। प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना वि।सं। २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारीमा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो ।

    सुरुमा उनले कविता लेख्ने गरे पनि पहिलो कविता संग्रह ‘जीवनपथ’ प्रकाशित भएपछि भने कवितालाई चटक्कै छाडेर कथालाई मूल विधाका रुपमा अपनाएका थिए । उनका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । उनका बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह प्रकाशित छन् । प्रधानले बाल साहित्यमा पनि कलम चलाएका थिए । उनका नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित छन् ।

  • बागलुङ दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो- सबैको सनाखत

    बागलुङ दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो- सबैको सनाखत

    काठमाडौं । बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ । २८ जना घाइते भएका छन् । बागमती प्रदेश ०१(००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटनामा परेको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

    दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट १ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका २ रातामाटाका सवारी धनी बबिदेल नेपाली, मुसिकोट नगरपालिका ४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका ३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका ५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिएका छन् ।

    घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्य २७ जनाको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट १५० मिटर तल खसेको थियो ।

  • श्रम मन्त्रीले मागे विदेशी जेल र अस्पतालमा रहेका नेपालीको विवरण

    श्रम मन्त्रीले मागे विदेशी जेल र अस्पतालमा रहेका नेपालीको विवरण

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृहमा रहेका तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाको बारेमा खोजखबर थाल्न निर्देशन दिएका छन् । गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्याङ्क उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिए ।

    सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने भन्दै श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन निर्देशन दिए ।


    सबै गन्तब्य मुलुकबाट तथ्याङ्क संकलन उद्धार तथा समस्या समाधानको योजना बनाइने समेत उनले बताए । उनका अनुसार विदेशी हस्पिटलमा रहेका श्रमिकका स्थानिय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाइनेछ । ‘बन्दीगृहमा रहेका श्रमिकलाई कानुनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौं’ उनले भने । विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाईने व्यवस्था गरिने मन्त्री अर्यालले बताए ।

    बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमाको सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिए । ‘विदेशी मुलकले आप्रवासी श्रमिकलाई बिमाको सुविधा प्रदान गरेका हुन्छन् । तर, सबै नेपाली श्रमिकलाई यस विषयमा जानकारी नहुन सक्छ । त्यसैले धेरै श्रमिक यो सुविधाबाट बन्चित भएको सुनेको छु,’ उनले भने,‘यस्तो सुविधाबाट नेपाली श्रमिकले पाउने अर्बो रुपैयाँ बाँकी रहेको जानकारी पाएको छु ।’ नेपाली श्रमिकले पाउने यस्तो सुविधाको लागि पहल गर्न उहाँले बोर्डलाई निर्देशन दिए ।

    छलफलमा श्रम सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगार बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशिल हुन समेत आग्राह गरे । ‘बोर्डले श्रमिकको मुद्धामा संवेदनशिल नभएको गुनासो छ । त्यसैले आफनो जिम्मेवारी प्रति सचेत हुनुहोस,’ उनले भने । सोमबार मन्त्री अर्यालले नेपालका श्रम गन्तब्य मुलुक मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सलरसँग श्रमिकको समस्याको बिषयमा भर्चुअल छलफल गरेका छन् ।

  • बागलुङमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    बागलुङमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

  • सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

    सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरबाट दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको हो । प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट हतियार एक थान, म्याग्जिन साना–ठूलोे दुई–दुई थान, म्याक्जिन होल्डर एक थान, गोली १०० राउन्ड बरामद गरिएको छ । उनीहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।

    प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ थियो ।

  • मन्त्री बने दीपक मनाङे, पाए भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

    मन्त्री बने दीपक मनाङे, पाए भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

    काठमाडौं । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।

    समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका मनाङेलाई समेत समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री थिए ।

    केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । यसअघि मनाङे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा खेलकुद तथा युवामन्त्री बनेका थिए ।

    गण्डकी प्रदेशमा एमालेका २२ र माओवादीका सभामुखसहित ८ सांसद छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस ठूलो दल छ । राप्रपाका २ सांसद छन् । दीपक मनाङेले समर्थन गर्दा मुख्यमन्त्री पाण्डेले थप ३ सांसदको समर्थन जुटाउनुपर्नेछ । उनलाई राप्रपाले समर्थन गर्दा पनि बहुमत(३१) पुग्ने अवस्था छैन।

  • गगनको प्रश्न-‘जो मुछिएको छ, उसले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने’ ?

    गगनको प्रश्न-‘जो मुछिएको छ, उसले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने’ ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगीमा जोडिएका गृहमन्त्रीबाट निष्पक्ष छानबिन हुन्छ भन्नेमा विश्वास नभएको बताएका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिनुभएकाले उहाँ पदमा रहन उपयुक्त नहुने थापाको भनाइ थियो । ‘सुप्रिम, इमेज, शिवदर्शन जस्ता सहकारीको पैसा फिर्ता गराउन सक्ने कि नसक्ने ?,’ उनले प्रश्न गरेका छन्।

    जीबी राईसँग मिलेर पोखराको सूर्यदर्शनसहित अरू सहकारीबाट लामिछानेले पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोपबारे स्पष्ट पार्नुपर्ने उनले माग गरे । “पोखरा महानगरपालिकाको प्रतिवेदनले नै भन्छ– कसैको धितो छैन, तर पनि एक अर्ब झ्वाम ! यसरी छोड्ने भए यसरी सबैलाई छोड्नुपर्छ,” उनले भने, “धेरै लगानी गोरखा मिडिया नेटवर्कमा भएको छ ।

    सहकारीमा जसले ठगी गरेको छ, मेरो मित्र रवि लामिछाने गृहमन्त्री हुुनुहुन्छ । भोलि प्रधानमन्त्री पनि बन्नुहोला, शुभकामना । तर, अध्ययन फियर होस् । प्रमाण नस्ट नहोस् । अहिले प्रमाण प्रहरीहरूसँग छ । जो मुछिएको छ, उसले आफैँले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने ?”

  • कपिलवस्तुबाट पक्राउ परेका माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो

    कपिलवस्तुबाट पक्राउ परेका माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो

    काठमाडौैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

    यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए । उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

  • विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

    विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

    काठमाडौं । विराटनगरको नोवेल टिचिङ अस्पतालकी स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका युवक मृत फेला परेका छन् । उनको हत्या २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानमा देखिएको बताइएको थियो । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । खोजीमा प्रहरी सक्रिय भएकै बेला दाससमेत मृत भेटिएका हुन् ।

    विराटनगर – ४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको प्रहरीले जनाएको छ । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । चन्द्रिकाको बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको थियो । नेपालमा पछिल्लो समय प्रेम र यौनका लागि महिलामाथिको हिंसा बढ्दै गएको देखिएको छ ।

  • गाजामा थप आक्रमणको योजनामा इजरायल

    गाजामा थप आक्रमणको योजनामा इजरायल

    काठमाडौं । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमणको योजना रहेको बताएका छन् । यसबाट थप ठूलो मात्रामा नागरिक मारिने आशङ्का बढेको छ । “हमासलाई समाप्त पार्न, हाम्रा सबै बन्धकलाई रिहा गर्न र गाजाबाट इजराइलविरुद्ध खतरा सिर्जना नहोस् भन्ने सुनिश्चित गर्न कुनै पनि अन्तर्राष्ट्रिय दबाबले हामीलाई युद्धका सबै लक्ष्य साकार गर्नबाट रोक्न सक्तैन”, नेतान्याहुले मन्त्रिपरिषद्को बैठकमा जारी गर्नुभएको भिडियोमा भने, “यस्तो गर्नका लागि हामी रफामा पनि काम गर्नेछौँ ।”

    कतारको राजधानी दोहामा गाजामा युद्धविरामको दिशामा पुनः वार्ता सुरु हुने अपेक्षा गरिएको बेला उनको यस्तो टिप्पणी आएको हो । गाजामा इजराइलले पाँच महिनाभन्दा बढी समयदेखि हमास लडाकूविरुद्ध सैन्य अभियान सञ्चालन गरेको छ ।

    नेतान्याहुले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्ने तयारी गरेका छन् । भेटमा सोल्सले रफामा स्थल आक्रमणविरुद्ध आफ्नो चेतावनी दोहोराउने अपेक्षा गरिएको थियो । रफामा अधिकांश गाजाबासीले लगातारको इजराइली आक्रमणबाट शरण मागेका छन् ।

    गाजा युद्धमा इजराइलको समर्थन गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वसनीय नागरिक सुरक्षा योजनाबिना रफामा गरिने आक्रमणले इजराइल ‘वार्ताबाट भागेको’ हुने बताए । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानम घेब्रेयससले शुक्रबार ‘मानवताको नाममा’ इजराइलसँग रफामा आक्रमण नगर्न आग्रह गरेका छन् ।


    नेतान्याहुले रफामा अपरेसनका लागि सेनाको योजनालाई अनुमति दिएको उनको कार्यालयले बताएको छ । यद्यपि आक्रमणका लागि कुनै समयतालिका दिइएको छैन । रफा गाजामा अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र हो । यहाँ अहिलेसम्म युद्धमा स्थल आक्रमण भएको छैन । दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको आक्रमणपछि युद्ध सुरु भएको थियो । राससको सहयोगमा

  • साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीलाई एक्टिज भिसाले राहत

    साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीलाई एक्टिज भिसाले राहत

    काठमाडौं । साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीले दूतावासको सिफारिसमा बहिर्गमन (एक्जिट) भिसा पाउन थालेका छन् । विभिन्न कारणले गैरकानुनी बनेकाहरूलाई रियादस्थित नेपाली दूतावासले स्वदेश फर्कने भिसा प्राप्त गर्न आवश्यक पहल गरेको बताएको छ । सन् २०२३ मा मात्र दुई हजार जनाभन्दा बढी नेपाली नागरिकहरूले रियादस्थित नेपाली दूतावासको पहलमा त्यस्तो भिसा पाएका छन्।

    सन् २०२४ को साढे दुई महिनामा पनि उल्लेख्य सङ्ख्यामा कामदारहरूले त्यस्तो भिसा पाएको बीबीसीले लेखेको छ । कागजातविहीन बनेको दूतावासमा निवेदन दिएपछि सम्बन्धित निकायमा पहल गरी दूतावासले भिसा मिलाउने काम गरेको छ । यस वर्षको पहिलो साढे दुई महिनामा ८८६ जना नेपाली नागरिकले यस्तो भिसा लिएर स्वदेश फिर्ता भएका छन् । साउदी अरबमा हजारौँको सङ्ख्यामा कागजपत्रविहीन कामदारहरू रहेको अनुमान गरिएको छ ।


    गैरकानुनी बनेर गत वर्ष एक्जिट भिसा पाएका दुई हजार जनाभन्दा बढी नेपालीमध्ये अधिकांशले साउदी अरेबियामा आवासीय अनुमति (आईकमा) नवीकरण नगरेको पाइएको छ। यस्तो अनुमतिको नवीकरण रोजगारदाताले गरिदिनुपर्ने हो तर रोजगारदाताले नवीकरण नगरिदिने र कामदारहरूले पनि त्यसको बेवास्ता गर्दा उनीहरू गैरकानुनी बन्ने रहे गरेका छन् ।

  • बढ्न थाल्यो गर्मी, कुन शहरमा कति पुग्यो तापक्रम ?

    बढ्न थाल्यो गर्मी, कुन शहरमा कति पुग्यो तापक्रम ?

    काठमाडौं । देशभर गर्मी बढ्न सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्छ । मार्च पहिलो साता अर्थात फागुन अन्तिमबाट तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ ।

    आइतबार जनकपुरको तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस, धरानको ३४ डिग्री सेल्सियस, विराटनगरको ३३ दशमलव ६ डिग्री सेल्सियस, सिमराको ३३ दशमलब ८ डिग्री सेल्सियस, भैरहवाको ३२ दशमलव ६ डिग्री सेल्सियस, नेपालगञ्जको ३१ दशमलव २ डिग्री सेल्सियस, धनगढीको ३१ डिग्री सेल्सियस, दिपायलको ३० दशमलव ५ डिग्री सेल्सियस र वीरेन्द्रनगरको ३० दशमलव १ डिग्री सेल्सियस मापन भएको छ ।


    आज पनि यही हाराहारीमा तापक्रम पुग्ने महाशाखाको अनुमान छ । प्रिमनसुनको समय मार्च, अप्रिल र मे महिनामा तापक्रम बढ्ने महाशाखाको भनाई छ । यस वर्ष प्रिमनसुनको समयमा ३० देखि ४० डिग्री सेल्सियस तापक्रम रहने गर्छ । आज मधेश र कोशी प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ ।

    अरु बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई ठाउँमा आज हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पानी पर्ने सम्भावना छैन ।

  • लालिगा : एथ्लेटिक माथि सानदार जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    लालिगा : एथ्लेटिक माथि सानदार जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    काठमाडौं । एथ्लेटिक मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस लालिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। गएराति एथ्लेटिकोलाई ऊसकै घरमा ३–० गोलले पराजित गर्दै बार्सिलोनाले अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

    बार्सिलोनाको जितमा जोआओ फेलिक्स ३८ औं मिनेटमा, ४७ औं मिनेटमा रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले ६५ औं मिनेटमा गोल गरे। दोस्रो स्थानको बार्सिलोनाले २९ खेलबाट ६४ अंक जोडेको छ। शीर्षस्थानमा रहेको रियल मड्रिडले समान खेलबाट ७२ अंक जोडेको छ। गिरोना ६२ अंकसहित तेस्रो स्थानमा छ।

  • पुटिन पुनः राष्ट्रपति बन्ने निश्चित

    पुटिन पुनः राष्ट्रपति बन्ने निश्चित

    काठमाडौं । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन आउने निश्चित बनेको छ । चुनावी सर्वेक्षणमा उनले ८८ प्रतिशतभन्दा बढी मतसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भइसकेको छ । सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलमा पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जो रुसको सोभियत इतिहासमा सबैभन्दा ठूलो परिणाम हो ।

    यसैगरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ । यी रिसर्च सेन्टरका अघिल्ला एग्जिट पोलहरु सटिक थिए । यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन उनी एकल दाबेदार थिए । यद्यपि प्रतिस्पर्धामा क्रेमलिनद्वारा समर्थित तीन उम्मेदवार थिए । उनीहरु सशक्त उम्मेदवार थिएनन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित थियो । उनका केही विरोधीहरु अहिले पनि जेलमै छन् ।

    त्यसैले कतिपयले रुसमा भएको राष्ट्रपतिको निर्वाचन निष्पक्ष नभएको भनेर आलोचना पनि गरेका छन् । निर्वाचनको दिन पनि पुटिनका विरोधीहरुले मतदान केन्द्र बाहिर विरोध प्रदर्शन गरेका थिए । अमेरिकाले निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भनेर आलोचना गरेको छ । जर्मनीले पनि सेन्सरसिप, दमन र हिंसाको जगमा छद्म चुनाव गराइएको टिप्पणी गरेको छ । बेलायतले पनि चुनावलाई अवैध भनेर निन्दा गरेको छ ।

    तर पुटिनले भने रुसको लोकतन्त्र अन्य देशहरुको तुलनामा अधिक पारदर्शी रहेको जिकीर गरेका छन् । पुटिन सन् १९९९ देखि रुसको सत्तामा छन् । बोरिस यल्तसिनले आफ्नो खराब स्वास्थ्यका कारण पुटिनलाई सत्ता सुम्पिएका थिए । त्यसयता उनले चुनाव हारेका छैनन् । थप ६ वर्षका लागि राष्ट्रपति पदमा औपचारिक रुपमा निर्वाचित भएपछि पुटिनले जोसेफ स्टालिनको रेकर्ड तोड्ने छन् ।

  • युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी

    युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी

    काठमाडौं । युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक–एक गरी ८ जनालाई सार्वजनिक गरेको हो। उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ। ‘अन्य देशले आफ्ना नागरिकहरूलाई विदेशी सेनामा भर्ती नगराउन् र उनीहरू पनि सचेत होऊन् भन्नका लागि हामीले युद्धबन्दीलाई सार्वजनिक गरेका हौं ताकी उनीहरू नफसुन्,’ युद्धबन्दीहरुको उपचार समन्वय विभागका प्रतिनिधि पेट्रो यात्सेन्कोले शुक्रबार पत्रकार सम्मेलनमा भने।

    पत्रकार सम्मेलनमा युद्धबन्दीहरूलाई बर्दीमा उपस्थित गराइएको थियो। त्यहाँ दुई पङ्क्तिमा उनीहरुलाई राखिएको रोयटर्सले उल्लेख गरेको छ। प्रवक्ता यात्सेन्कोले उनीहरूलाई पनि अन्य युद्धबन्दीहरूलाई जस्तै व्यवहार गरिएको पनि बताए। युक्रेनले उनीहरूको परिचय भने खुलाएको छैन।

    तस्बिरमा अघिल्लो लहरमा बायाँतर्फका तीन र पछिल्लो लहरमा दायाँबाट दुईजना नेपाली नागरिक हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सार्वजनिक गरिएको भनिएकाहरू थप नयाँ व्यक्तिहरू नभएको पाइएको बताएका छन् । ‘उहाँहरूलाई दोस्रो पटक बयान लिइएको रहेछ। त्यही क्रममा सार्वजनिक गरिएको हो । नयाँ युद्धबन्दी होइनन्,’ उनले भने।

    रूसी सेनामा भर्ती भएका ६ जना नेपाली युवकहरूलाई युक्रेनले बन्दी बनाएको विषय यसअघि नै मन्त्रालयको जानकारीमा रहेको उनले बताए। राजापुर नगरपालिका १ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका ६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ २ मोरङका विकास राई, दाङका प्रतिक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने युक्रेनमा बन्दी बनाइएका हुन्। उनीहरुलाई युक्रेनको नियन्त्रणबाट मुक्त गरी स्वदेश ल्याउने प्रक्रिया भइरहेको प्रवक्ता राईले बताए। त्यहाँ नेपालको दूतावास पनि नभएकाले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र जर्मनीस्थित नेपाली दूतावासबाट पहल भइरहेको उनले बताए।

  • श्रम स्वीकृति एक घण्टा भित्र दिन श्रम मन्त्रीको निर्देशन

    श्रम स्वीकृति एक घण्टा भित्र दिन श्रम मन्त्रीको निर्देशन

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिए ।

    वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । तर, प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि श्रमिकहरु समस्यामा पर्ने गरेका छन् । प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ । यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएका हुन् ।

    मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिदाँ एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिएका छन् । ‘तपाइहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भएपनि एक महिना भित्रमा एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु,’ आपूर्तिकर्तासँग छलफल गर्दै उनले भने ।

    मन्त्रालयको सुचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ । फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो । सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाईन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो ।

  • एकीकृत समाजवादी त्यागेको दीपक मनाङ्गेको घोषणा

    एकीकृत समाजवादी त्यागेको दीपक मनाङ्गेको घोषणा

    काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र बुझाएका छन् ।

    एकीकृत समाजवादीमा प्रवेश गरेपछि त्यही दलको सदस्यका रुपमा संसदमा जानकारी आएको थियो र त्यहीरुपमा सूचीकृत गराइएको थियो । अहिले दल त्यागेर स्वतन्त्र नै रहेको जानकारी उनले गराएका छन् । मनाङेले आफूले स्वतन्त्र हैसियतमा चुनाव जितेकाले स्वतन्त्र नै रहने भन्दै पत्र दिएपछि प्रदेशसभा सचिवालय परामर्शमा जुटेको छ ।


    प्रदेशसभा सदस्य मनाङेले गण्डकीमा अप्ठेरो अवस्था देखिएकाले मध्यावधि चुनावमा जान सक्ने अवस्था रोक्न आफूले स्वतन्त्र रहने निर्णय गरेको बताएका छन् ।

    २१ फागुनमा एमाले–कांग्रेससहितको गठबन्धन बनेपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । कांग्रेसबाट निर्वाचित पाण्डेले २२ फागुनमै माओवादी केन्द्रका मन्त्री बर्खास्त गरे भने माओवादीले पनि समर्थन फिर्ता लिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे छन् । यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन । उता एमाले र माओवादीले मात्र सरकार बनाउन सक्ने अवस्था छैन ।

    गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङे पनि स्वतन्त्र बसिदिँदा अहिलेको सत्ता समीकरणको सजिलै सरकार बन्ने स्थिति पनि छैन । माओवादी सांसदको रुपमा गणना भएका फणीन्द्र देवकोटा पनि नेपाल समाजवादी पार्टीका नेता हुन् । उनी माओवादी चुनाव चिह्नबाट निर्वाचित भएका थिए । उनलाई पनि नेपाल समाजवादी पार्टीको सांसद कायम गराइदिन अध्यक्ष बाबुराम भट्टराई निर्वाचन आयोगमा पत्र लेखेका छन् ।

    संघीय सांसद महिन्द्र राय यादव, बागमतीका सांसद गंगानारायण श्रेष्ठले माओवादीसँग एकता गर्ने निर्णय गरे पनि फणीन्द्र भने अहिले पनि बाबुरामकै साथमा छन् । शनिबारमात्र काठमाडौंमा भएको कार्यक्रममा पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र बाबुरामबीच सत्ता समीकरणबारे पनि छलफल भएको थियो ।

    २७ सांसदसहित कांग्रेस नेतृत्वमै सरकार कायम राख्न पाण्डेले राप्रपालाई पनि फकाइरहेका छन् । राप्रपाका २ सांसदसहित मनाङे र फणीन्द्र पनि पाण्डेकै पक्षमा उभिने स्थिति बनाउन मुख्यमन्त्री पाण्डेले कसरत गरिरहेका छन् ।