Category: समाचार

  • प्रसूति गृहबाट बच्चा चोर्नेलाई धरौटीमा छाड्न आदेश

    प्रसूति गृहबाट बच्चा चोर्नेलाई धरौटीमा छाड्न आदेश

    काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

    फागुन ११ गते राती मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन्। पूजन श्रेष्ठले आफ्नो नवजात शिशु अस्पतालबाटै चोरी भएको उजुरी गरेपछि तत्कालै प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

    मानकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन्।

  • प्रेम अस्वीकार गर्दा बाटो ढुकेर सुष्माको हत्या

    प्रेम अस्वीकार गर्दा बाटो ढुकेर सुष्माको हत्या

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै सुष्माको हत्या आरोपमा गोकर्णेश्वर ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

    पक्राउ परेका लामाले युवतीलाई एकतर्फी मन पराएको र पटक–पटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रूपेन्द्रले सुष्मालाई मन पराउन थालेका थिए। उनले विगत आठ महिनादेखि सुष्मालाई ‘एकतर्फी प्रेम’ गरेका थिए।

    माघ २२ गते कलेजु जान्छु भनी घरबाट निस्किएकी १८ वर्षीया लामा सम्पर्कविहीन भएकी थिइन्। फागुन २५ गते उनको परिवारले हराएको भन्दै खोजि गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए। खोजिका क्रममा फागुन २६ गते साँझ प्रहरीले गोकर्णेश्वर नगरपालिका -३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो।

  • पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा

    पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा

    काठमाडौं । पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ ।

    आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

    कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शीर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्याति प्राप्त सुन्दर पोखरालाई मुलुकै पर्यटकीय राजधानीको रूपमा औपचारिक रूपमा घोषणा गरिएको बताए ।

    पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो ।

  • भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

    भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

    काठमाडौं । भोजपुरको हतुवागडी गाउँपालिका ७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो । खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो ।

    भोजपुर नगरपालिका १२ टक्सारको मालबाँसेमा पनि आगलागी भएको छ । जंगलको डढेलो बस्तीमा पस्दा ६ घरगोठ जलेको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको हो । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आगो निभाउन परिचालन गरिएको थियो ।

  • प्रज्ञा-प्रतिष्ठानको पुरस्कार को-कसले पाउने भए ?

    प्रज्ञा-प्रतिष्ठानको पुरस्कार को-कसले पाउने भए ?

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० पुरस्कार घोषणा गरेको छ । पुरस्कृत हुनेहरुमा खगेन्द्र संग्रौलादेखि मोहनविक्रम सिंहसम्म छन् । खगेन्द्र संग्रौलालाई अनुवाद पुरस्कार र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई दर्शन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

    यसैगरी शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई समालोचना तथा साहित्येतिहास पुरस्कार, प्रा.डा. देवीप्रसाद गौतमलाई भाषा पुरस्कार, वम देवानलाई साहित्य पुरस्कार (पद्य), राजवलाई साहित्य पुरस्कार (गद्य), गंगा कर्माचार्यलाई बालसाहित्य पुरस्कार र पदम विश्वकर्मालाई अन्तर्देशीय पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए ।

    यसअघि मातृभाषा साहित्य पुरस्कार पहाडी–हिमाली क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्गलाई र मधेश क्षेत्रबाट बेचन उराँवलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा प्रदान गरिएको थियो । नेपाल प्रज्ञान प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने यी पुरस्कारहरुको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

  • भारतमा लोकसभा चुनावको मिति घोषणा, कुन कुन दिन तोकियो ?

    भारतमा लोकसभा चुनावको मिति घोषणा, कुन कुन दिन तोकियो ?

    काठमाडौं । भारतको केन्द्रीय निर्वाचन आयोगले १८ औँ लोकसभा चुनावको मिति घोषणा गरेको छ । आयोगले शनिबार गरेको घोषणा अनुसार २० मार्चबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ । सात चरणमा सम्पन्न हुने चुनावको पहिलो चरणको मतदान १९ अप्रिलमा सुरु हुनेछ र यो क्रम १ जुनसम्म चल्नेछ । त्यसपछि ४ जुनमा मतगणना हुनेछ । आयोगका अनुसार आम निर्वाचनसँगै तीन चरणमा विधानसभाका २६ सिटमा उपचुनाव पनि हुनेछ । निर्वाचनमा ५५ लाख इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गरिने भएको छ । भारतको १७ औं लोकसभाको कार्यकाल आगामी १६ जुन २०२४ मा पूरा हँदैछ ।

    पहिलो चरणमा २१ वटा राज्यका १०२ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि २० मार्चमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने १९ अप्रिलमा मतदान हुनेछ । त्यस दिन अरुणाञ्चल, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कश्मीर, लक्ष्यद्वीप र पोन्डीचेरीमा मतदान हुनेछ ।

    दोस्रो चरणमा १३ राज्यका ८९ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि २८ मार्चमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने २६ अप्रिलमा मतदान हुनेछ । त्यस दिन आसाम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीरमा मतदान हुनेछ ।

    तेस्रो चरणमा १२ राज्यका ९४ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि १२ अप्रिलमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने ७ मेमा मतदान हुनेछ । त्यस दिन आसाम, बिहार, छत्तीसगठ, गोवा, गुजरात, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नागर हवेली र दमन दीपमा मतदान हुनेछ ।
    चौथो चरणमा १० राज्यका ९६ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि ८ अप्रिलमा राजपत्रमा सूचना जारी हुनेछ भने १३ मेमा मतदान हुनेछ । त्यस दिन आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगना, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीरमा मतदान हुनेछ ।

    पाँचौ चरणमा ८ राज्यका ४९ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि २६ अप्रिलमा राजपत्रमा सूचना जारी हुनेछ भने २० मेमा मतदान हुनेछ । त्यस दिन छत्तीसगढ, झारखण्ड, महाराष्ट्र, ओडिसा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर र लद्दाखमा मतदान हुनेछ । छैटौ चरणमा ७ राज्यका ५७ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि २९ अप्रिलमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने २५ मेमा मतदान हुनेछ । त्यस दिन बिहार, हरियाणा, झारखण्ड, ओडिसा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीमा मतदान हुनेछ ।

    र अन्तिममा सातौं चरणमा ८ राज्यका ५७ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि ७ मेमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने १ जुनमा मतदान हुनेछ । जसअन्तर्गत बिहार, हिमाचल प्रदेश, झारखण्ड, ओडिसा, पञ्चाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चण्डीगढमा मतदान हुनेछ ।

    संसदीय चुनावका साथै चारवटा राज्यमा विधानसभा चुनाव पनि हुनेछ । ओडिसामा चार चरणमा विधानसभा चुनाव हुने आयोगले जनाएको छ । १३ मे, २० मे, ५ मे र १ जुनमा मतदान हुनेछ । अरुणाञ्चल प्रदेश विधानसभाका ६० सिटका लागि २० मार्चमा सूचना प्रकाशित हुने हुने र १९ अप्रिममा मतदान हुने जनाइएको छ ।

    सिक्किम विधानसभाका लागि यही समयमा चुनाव हुनेछ । आन्ध्र प्रदेश विधानसभाका १७५ वटै सिटका लागि १८ अप्रिलमा सूचना प्रकाशित गरी १३ मेमा मतदान हुनेछ । यसका साथै, अलग–अलग राज्यका २६ वटा विधानसभाका लागि उपचुनाव पनि आम चुनावसँगै हुने भएको भारतको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    भारतको केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल ९६ करोड ८० लाख मतदाता सूचीकृत भएका छन् । जसमा ४७ करोड १० लाख महिला र ४९ करोड ७० लाख पुरुष मतदाता छन् । यसमा पनि १ करोड ८९ लाख मतदाता पहिलोपटक मतदानमा भाग लिनेछन् । जसमा १९ करोड ७४ लाख मतदाता २० देखि २९ वर्ष उमेरका छन् । यसमा १ जनवरी २०२४ सम्म १८ वर्ष उमेर नपुग्नेहरूको संख्यासमेत जोडिएको छ । यसमा १३ लाख ४० हजार मतदाता १ अप्रिलसम्म १८ वर्ष उमेर पूरा गर्नेछन् र मतदानमा भाग लिन पाउनेछन् ।

    साथै, ८८ लाख ४० हजार मतदाता अपाङ्ग, ८२ लाख मतदाता ८५ वर्षभन्दा बढी उमेरका र ४८ हजार मतदाता ट्रान्सजेन्डर समूहका छन् । ८५ वर्षभन्दा बढी उमेर भएकाहरूका लागि घरबाटै मतदान गर्ने सुविधा उपलब्ध गराउने निर्वाचन आयोगले जनाएको छ ।

    भारतीय संविधानमा प्रत्येक पाँच वर्षमा हुने लोकसभाको चुनावका लागि अधिकतम ५५२ वटा सिट हुन सक्ने व्यवस्था छ । अहिले भारतको लोकसभाको सिट संख्या ५४५ छ । जसमा सबै राज्य र केन्द्र शासित प्रदेशमा ५४३ सिटका लागि चुनाव हुन्छ भने राष्ट्रपतिलाई एंग्लो इन्डियन समुदायको लोकसभामा प्रतिनिधित्व पुगेन भन्ने लाग्यो भने दुई जनालाई मनोनित गर्न सक्ने व्यवस्था छ ।

    यसका साथै, लोकसभाका कुल सिटमध्ये १३१ सिट आरक्षणका लागि छुट्याइएको छ । त्यसमा अनुसूचित जातिका लागि ८४ र जनजातिका लागि ४७ सिट छुट्याइएको छ । भारतको लोकसभामा कुनै पनि पार्टीले एकल बहुमत ल्याउनका लागि २७२ सिटमा जित निकाल्नुपर्छ । यदि यसभन्दा केही सिट कम भएमा अर्को दलसँग गठबन्धन बनाएर सरकार बनाउन सक्छ । लोकसभामा विपक्षी दलको नेता बन्नका लागि कम्तीमा कुल सिटको १० प्रतिशत अर्थात ५५ सिट चाहिन्छ । २०१४ को चुनावमा कांग्रेसले ४४ सिट मात्रै पाएको थियो भने २०१९ मा पनि ५२ सिट मात्रै पाएको थियो ।

  • जलवायु परिवर्तनका असरलाई ख्यालमा राखी लगानी गर्न गभर्नरको आग्रह

    जलवायु परिवर्तनका असरलाई ख्यालमा राखी लगानी गर्न गभर्नरको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूलाई जलवायु परिवर्तनबारे सचेत गराएका हुन् । यसका लागि गभर्नर अधिकारीले मेलम्ची खानेपानी आयोजना बाढीले बगाएको उदाहरण पेस गरे ।

    उनले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे । गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सबल ढंगले अघि बढाउन सकिन्छ ।’ गभर्नर अधिकारीले ‘ग्रिन फाइनान्स ट्याक्स इकोनमी’बारे अध्ययन भइरहेको पनि बताए । उनले जोखिमको क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रहसमेत गरेका छन् ।

  • कैलालीमा फेरी लाग्यो ट्रकमा आगो

    कैलालीमा फेरी लाग्यो ट्रकमा आगो

    काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको साता नबित्दै सोही प्रकृतिको घटना दोहोरिएको छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका( ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दका अनुसार प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोली, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको हो । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि सोमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा एक्कासि ट्रकमा आगो लागेको थियो । उक्त आगोले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारको काम भइरहेको प्रहरीले जनाएको छ ।

  • बाबुराम भट्टराई पुनः एक्लिए, नेताहरु माओवादी केन्द्रमा विलय

    बाबुराम भट्टराई पुनः एक्लिए, नेताहरु माओवादी केन्द्रमा विलय

    काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिएर डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) समेत फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो ।

    बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् । माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ । बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ ।

    साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ । कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आजबाट लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टीतेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जनाएको छ । भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ ।

    यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम गरिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।

  • पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

    पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

    काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।

    सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो । स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका थिए । सीआईबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई समेत स्वीकार गरेका थिए । तर, सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए ।

    छानबिन आयोगका एक सदस्यका अनुसार, दिपेश दावासहित अन्य चिनियाँ नागरिकहरुसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ । ०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइँकुण्ड गएका थिए। अमला रोका सुन प्रकरणमा फरार छिन् ।

  • सीआईबी प्रमुखमा ज्ञवाली नियुक्त

    सीआईबी प्रमुखमा ज्ञवाली नियुक्त

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् ।
    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको उनले बताइन् । ‘जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र तत्काल कार्यान्वयन गरेर जानको निम्ति नयाँ लिडरसिपलाई सहज हुन्छ भनेर सरुवा गरिएको हो’, मन्त्री शर्माले भनिन् ।

    सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो । आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

  • सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय

    सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदनको गम्भीर अध्ययन गरी कार्यान्वयनमा लैजाने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आचार्यले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदन लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।

    प्रतिवेदनले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्न सिफारिस गरेको छ । त्यस्तै सुन तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको भूमिकामाथि पनि प्रश्न उठाएको छ । शुक्रबार नै बसेको मन्त्रिपरिषद बैठकले सीआईबीकी निर्देशक किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरेको छ । सीआईबीमा भने कार्यविभागका प्रमुख श्यामलाल ज्ञवाली सरुवा भएका मन्त्री शर्माले जानकारी दिइन् ।

    जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा सहज हुने गरी सीआईबीमा सरुवा गरेको उनको भनाइ छ । ‘जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र तत्काल कार्यान्वयन गरेर जानको निम्ति नयाँ लिडरसिपलाई सहज हुन्छ भनेर सरुवा गरिएको हो’, मन्त्री शर्माले भनिन् ।

  • सार्वजनिक यातायातभित्र ‘ब्याड टच’ गर्नुहुन्छ ? पर्नुहोला ‘सेफ्टी पिन क्याम्पियन’को फन्दामा

    सार्वजनिक यातायातभित्र ‘ब्याड टच’ गर्नुहुन्छ ? पर्नुहोला ‘सेफ्टी पिन क्याम्पियन’को फन्दामा

    काठमाडौं । सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकालाई हुने यौन दुर्व्यवहार र चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’लाई तीव्रता दिएको छ।

    सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुर्व्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई
    रोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाइरहेको छ।

    उपत्यकाका विभिन्न क्षेत्रमा आठवटा टोलीले अहिले निगरानी गरिरहेको र उक्त अभियानले सकारात्मक नतिजा दिइरहेको उपत्यका प्रहरीले जनाएको छ।

    अभियानअन्तर्गत चालु आर्थिक वर्षमा मात्रै एक हजार आठ सयजनालाई नियन्त्रणमा लिइएको छ। उनीहरुमध्ये एक सय ७८ जनाविरुद्ध मद्दा नै चलाइएको र बाँकी एक हजार छ सयभन्दा बढीलाई अब त्यस्तो व्यवहार प्रदर्शन नगर्ने सर्तमा परिवारको जिम्मा लगाएर छाडिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए।

    उनले यो अभियान प्रहरीले २०७४ देखि नै सुरु गरेको र २०७७ देखि भने कार्ययोजना नै स्वीकृत गरी अभियान जारी रहेको जानकारी दिए। उपत्यका प्रहरीले महिला बालबालिकाको मानसिक तथा अमर्यादित क्रियाकलापमा पीडित र साक्षी मौन बस्ने गरेको देखिएको र विभिन्न पार्क, सार्वजनिकस्थल, मनोरञ्जनात्मक स्थल, सेवा प्रवाह हुने ठाउँ, कार्यालय वा जमघट हुने स्थानमा यौन दुर्व्यवहार बढी हुने गरेको पाइएकाले त्यस्ता गतिविधि र अन्य आपराधिक क्रियाकलाप रोक्न उक्त अभियान थालेको हो।

    साथै अपराधीलाई कानुनी कारबाही गर्न, सार्वजनिक स्थान र सार्वजनिक यातायातमा महिला बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनाबारे खुलेर आवाज उठाउनसक्ने बनाउन तथा पीडकलाई कानुनी कारबाही गर्ने उद्देश्यले उक्त अभियान थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली बताउँछन्। उनले उक्त अभियानले सकारात्मक प्रभाव परिरहेको र अझै प्रभावकारी बनाउने योजनाका साथ प्रहरी लागेको बताए।

    यसका लागि आठ टोली बनाएर उनीहरुलाई सादा पोसाकमा परिचालन गर्ने गरिएको छ। टोली आफ्नो तोकिएको क्षेत्रमा सूक्ष्म निगरानी गरी त्यस्ता गतिविधि गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्ने र कारबाहीको दायरामा ल्याउन सक्रिय भइरहेका छन्। अहिले बढी भीडभाड हुने समय बिहान ८ देखि मध्याह्न १२ र अपराह्न ३ देखि साँझ ७ बजेसम्म टोली परिचालिन हुनेछ। रासस

  • सीआईबीकी प्रमुख बज्राचार्यलाई कारवाहीको सिफारिस

    सीआईबीकी प्रमुख बज्राचार्यलाई कारवाहीको सिफारिस

    काठमाडौं । सुन तस्करीसम्बन्धी अनुसन्धानमा कतिपय व्यक्ति जोगाउन पदको दुरुपयोग गरेको ठहर गर्दै छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ । मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो । एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ । गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन अध्ययन गरेपछि प्रधानमन्त्रीलाई जानकारी दिएर उनीमाथि विभागीय कारवाही अघि बढाउन लागेका छन् ।

  • अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

    अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

    काठमाडौं । अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर (एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ । विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न भन्दै परिपत्र गरेको हो । नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न पनि विभागले निर्देशन दिएको छ ।

    कुनै प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर पाएपछि मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न पनि परिपत्रमा भनिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा नेपाली नागरिकका सन्तानको जन्म दर्ता गर्दा नै स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएबमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर दिनुपर्ने व्यवस्था छ ।

    त्यसैअनुसार विभागले २७ फागुन २०८०को निर्णयअनुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरको सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्न भन्दै परिपत्रमा गरेको छ । ऐन र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ मा विदेशस्थित नेपाली नियोगबाट समेत पञ्जीकरण गर्ने व्यवस्था भएअनुसार २१ फागुनदेखि विभिन्न नेपाली नियोगबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता प्रक्रिया सुरुवात भइसकेको छ ।

    नेपाली राजदूतावास बेइजिङ चीन, टोकियो जापान, पेरिस फ्रान्स, दोहा कतार, मड्रिड स्पेन, लण्डन संयुक्त अधिराज्य, क्यानबेरा अस्ट्रेलिया, वासिङ्टन डीसी अमेरिका, बर्लिन जर्मनी, क्वालालम्पुर मलेसिया, रियाद साउदी अरेबिया, सियोल दक्षिण कोरिया, अबुधाबी संयुक्त अरब ईमिरेट्स, बैंकक थाईल्याण्डर ओटवा क्यानडाबाट जन्म तथा मृत्यु दर्ता गर्न सुरु भएको छ ।

  • नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

    नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।

    त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले होम र अबे दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ । नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ । विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार व्यहोरेको छ । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्ससँग ४–शून्य र दोस्रो खेलमा यमनसँग २–शून्य गोलले पराजित भएको थियो ।

  • प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?

    प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

    त्यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धि (दोस्रो संसोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आजकै बैठकमा आर्थिक वर्ष २०८१–२०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिक सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल जारी रहने कार्यसूची पनि रहेको छ।

  • आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने

    आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले यसबारे बिहीबार जानकारी गराएका हुन् । स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आवमा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी पनि दिए । आफू १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको उनको भनाइ छ ।

    बजेटमा आफूले संक्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति कोषको व्यवस्था गर्न लागेको समेत उनले जानकारी गराए । त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह उनले गरे । ‘हामीले अमेरिका, बेलायतसहित विभिन्न मुलुकसँग सहयोगको प्रस्ताव राखेका छौं,’ उनले भने, ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ । स्वीस सरकारका तर्फबाट पनि यसमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।’

  • कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

    कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

    काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।

    नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।

    नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।

    अरब टाइम्सले भने महाबुल्ला क्षेत्रको सडक दुर्घटनामा दुई जना नेपाली नागरिक र अर्का एक अपरिचित व्यक्तिको मृत्यु भएको जनाएको छ । एउटा शवको सुरुमा पहिचान नखुले पनि पछि कम्पनीसँग सम्पर्क गर्दा उनी पनि नेपाली नै रहेको पुष्टि भएको हो । साथै शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको समाचारमा उल्लेख छ ।

  • रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

    रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

    काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

    परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २०० भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ । यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ ।

    नेपाल सरकारको उपरोक्त प्रयासहरुका बावजुद रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकहरुले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यसअघि नै जनाएको थियो । मन्त्रालयले १८ मंसिर र ४ पुसमा प्रेस विज्ञप्तिमार्फत सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाएको छ ।

  • लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

    लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शहरमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अनु भट्टराईले रिट दायर गरेकी हुन् । नेपालमा हालसम्म लिभिङ टुगेदरसम्बन्धी कानुन छैन । कानून नभएकाले त्यसको व्याख्या हुनुपर्ने माग गरिएको छ । रिटको प्रारम्भिक सुनुवाइका लागि चैत ४ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

  • उदयपुर जीप दुर्घटनाका मृत्यु हुनेको संख्या ८ पुग्यो, ९ जना घाइते

    उदयपुर जीप दुर्घटनाका मृत्यु हुनेको संख्या ८ पुग्यो, ९ जना घाइते

    काठमाडौं । भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते घाइते भएका छन् ।

    मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो । मृत्यु हुनेमा मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ (चालक), चन्द्रप्रकाश राई- हतुवागढी-२, रामकुमारी राई (ममता)- हतुवागढी-५, पदमबहादुर थापा- बराहक्षेत्र- ३, दिशान राई- हतुवागढी-२, ,किसन राई -हतुवागढी-५ , कमला अधिकारी इटहरी, पर्वतमाया राई-हतुवागढी- २ का रहेका छन् ।

  • धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

    धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं । धरानबाट भोजपुरका लागि छुटेको को. १ ज २५९३ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

    बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट निकै तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

  • विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ

    विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ

    काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन ज्यादै कष्टकर हुने भएकाले सुरुमै सजगता अपनाउन आम नागरिकलाई आह्वान गरेका छन् । दुईपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत मिर्गौला जोगाउन आम नागरिकलाई आग्रह गरेका हुन्।

    उनले लेखेका छन्, ‘आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु।
    हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं ।’

  • शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने

    शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले अघिल्ला श्रममन्त्री शरतसिंह भण्डारीले गरेका अलोकप्रिय निर्णयमाथि पुनर्विचार गर्ने भएका छन्। यसअघि भण्डारीले गरेका कतिपय निर्णयहरू श्रमिकको हित विपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो। उनले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई दिइने अभिमुखीकरण तालिम शुल्क सात सय रूपैयाँबाट बढाएर २८ सय (परीक्षा शुल्क समेत) रूपैयाँ पुर्‍याएका थिए।

    अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ संशोधन गरी शुल्क बढाएपछि यो निर्णयको चौतर्फी आलोचना भएको थियो। त्यस्तै भण्डारीले वैदेशिक रोजगार विभागको फेमिस सफ्टवेयरका लागि वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए।

    यसमा भ्रष्टाचारको आशंका गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोकिदिएको थियो। यस्तै, जापानसँग यसअघि यहाँको सरकारी संयन्त्रमार्फत् श्रमिक पठाउने गरी समझदारी भए पनि म्यानपावरलाई जिम्मा दिने कार्यविधि भण्डारीले जारी गरेका थिए। युरोपमा पनि म्यानपावर कम्पनीमार्फत् श्रमिक पठाउने गरी कार्यविधि ल्याइएको थियो।

    उनका अधिकांश निर्णयहरूमाथि प्रश्न उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्सन लिएका थिए। भण्डारीले कतिपय निर्णय तत्काल लागू नगर्न र विस्तृत अध्ययन गरी श्रमिक हितलाई ध्यानमा राख्न १६ बुँदे निर्देशन दिएका थिए।

  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ ।


    यसअघि प्रतिनिधि सभा बैठकमा डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए । सत्ता समीकरण बदलिएसँगै उनी निवर्तमान अर्थमन्त्री भइसकेका छन् । सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी गराएका थिए ।

    तर, सत्ता गठबन्धन परिवर्तन भई मन्त्रिपरिषद् पुनर्गठन भएपछि छलफल आजदेखि हुन लागेको हो । आजैको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची छ ।

  • सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

    सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

    काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् । प्रदर्शन गर्न कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ ।

    ती पाँच स्थानबाट बिहान ११ बजे पैदलमार्च सुरु गर्दै पीडितहरु सुन्धारामा भेला हुने छन् । सबै टोली सुन्धारामा भेला भएर भृकुटीमण्डप पुग्ने र कोणसभा गर्ने कार्यक्रम तय भएको छ । सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ ।

  • रेशमको निर्देशन नागरिक उन्मुक्ति पार्टीका सांसदले टेरेनन्, ४ जनाले नै दिए विश्वासको मत

    रेशमको निर्देशन नागरिक उन्मुक्ति पार्टीका सांसदले टेरेनन्, ४ जनाले नै दिए विश्वासको मत


    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले संस्थापक रेशम चौधरीको निर्देशन विरुद्ध उभिएर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका छन् ।

    पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रञ्जिता श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिनह्विप जारी गरेपछि ४ जना सांसदले नै मत दिएका हुन् ।

    रन्जिताका श्रीमानसमेत रहेका पार्टीका संरक्षक चौधरीले प्रचण्डलाई मत नदिने बताइरहँदा अध्यक्ष रन्जिताले सदनको रोस्ट्रममै उभिएर मत दिने पक्षमा नागरिक उन्मुक्ति पार्टी रहेको जानकारी गराईन्।

    नागरिक उन्मुक्ति पार्टीमा रन्जितासहित लालवीर चौधरी, गंगाराम चौधरी र अरुण कुमार चौधरी सांसद रहेका छन् । केन्द्रमा प्रचण्ड सरहकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेश सरकारमा भने कांग्रैसलाई समर्थन गरेको छ ।

  • प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका १५७ सांसदको विश्वास

    प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका १५७ सांसदको विश्वास

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलवार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ।

    मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।