Category: समाचार

  • प्रचण्डमाथि पाण्डेको आक्रोश-‘विष पिएर हामी तपाईंका साथमा थियौं, बाटामा छाडेर किन हिँड्नुभयो’ ?

    प्रचण्डमाथि पाण्डेको आक्रोश-‘विष पिएर हामी तपाईंका साथमा थियौं, बाटामा छाडेर किन हिँड्नुभयो’ ?

    काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा पाण्डेले ‘प्रचण्ड’ ले नयाँ समीकरण बनाउँदा आफ्नो पार्टीलाई छाडेर बनाएकोमा असन्तुष्टि जनाए ।

    पाण्डेले भने, ‘एकीकृत समाजवादीको तर्फबाट संविधान रक्षाका लागि पार्टीभित्र जन्मेको व्यक्तिवादका विरूद्धमा उत्रेर हामी बिद्रोह गरेर आएको शक्ति हो, विष पिएर हामी तपाईंहरूको पासमा उभिएका थियौं। हामीलाई बाटामा छाडेर हिँड्नुभयो, योभन्दा अनैतिकता के हुन्छ?’

    मैले विश्वासको मत दिने एउटा ठाउँमा हो । तर उहाँप्रति मैले भन्न पाउने अधिकार पनि छ । यो तेस्रो पटक भोट हाल्दै छु उहाँलाई’, पाण्डेले भने, ‘फागुन १८ गतेसम्म म प्रधानमन्त्रीसँगै थिए । दुई दिनपछि गठबन्धन बदलिएको छ । चार दलले हस्ताक्षर गरेका छन् । ’ पाण्डेले एकीकृत समाजवादी पार्टी व्यक्तिवादका विरुद्ध विद्रोह गरेर जन्मेको शक्ति भएको पनि बताए ।

    प्रधानमन्त्रीलाई मानिसहरुले कति छिटो रंग फेर्न सकेको भनेर टिप्पणी गरेको समेत उनले सुनाए । ‘१७ हजार २ भनेर छातिमा प्ले कार्ड बोकेर हिँड्ने मान्छे पनि यही छौं । पाँच हजारको जिम्मा लिन्छु भन्ने पनि यही छौं’ उनले भने, ‘यो सबै गठजोड कसरी अगाडि बढ्छ हेर्न बाँकी छ ।’

  • ‘रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएका छ’- स्वर्णिम वाग्ले

    ‘रास्वपाले जोखिम मोलेर प्रधानमन्त्रीलाई साथ दिएका छ’- स्वर्णिम वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राष्ट्र हितको सवालमा दरिलो बनाउनलाई पार्टीले जोखिम मोलेरै साथ दिएको बताएका छन्।

    प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै वाग्लेले प्रधानमन्त्रीको लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले साथ दिएको बताएका हुन्। सांसद वाग्लेले अगाडी भने, ‘नया पार्टी हो, सरकारमा नगएर चोखो बसेको भएपनि हुन्थ्यो। पुराना दलसँग नटासिएको भएपनि हुन्थयो। २०८४ मा बहुमत ल्याएर सरकारमा गएको भए पनि हुन्थ्यो। तर राजकाजको अवसर आउँदा अभ्यास गर्नै पर्छ। प्रधानमन्त्रीको सम्बन्धमा हाम्रो चाल यही हो।’

    उनले राजनीतिमा फ्रेसनेस र अनुभवको प्रिमियम हुने उल्लेख गर्दै भने, ‘अवसरको सुदपयोग गर्नुपर्छ भनेर आएका छौं। चेसमा जसरी गोटी चाल्न हामीआएका छौं। व्याज खाएर होइन कामै गरेर राष्ट्र हितको सवालमा काम गर्न आएका र्छौ।’

    वाग्लेले रास्वपा देश बिगार्न, भत्काउन, तोडन र उखेल्न नआएको बताए। ‘काम देखाउन आएका छौं। सरकारबाट डेलिभरी गर्न सकिन्छकी भनेर आएका छौ। मन्त्रालयहरु रोजेर लिएका छौं। गर्न नसको दिन प्रधानमन्त्रीलाई सजिलो बनाइदिन्छौ’, उनले भने।

    रास्वपा चार मन्त्रीसहित अहिलेको सरकारमा सहभागी छ।

  • विश्वप्रकाशको प्रश्न-‘प्रधानमन्त्री ज्यू ! तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ’ ?

    विश्वप्रकाशको प्रश्न-‘प्रधानमन्त्री ज्यू ! तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ’ ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?

  • कांग्रेसलाई ओलीको प्रश्न-‘अघिल्लो पटक हौसियर समर्थन गर्ने, अहिले किन नगर्ने’ ?

    कांग्रेसलाई ओलीको प्रश्न-‘अघिल्लो पटक हौसियर समर्थन गर्ने, अहिले किन नगर्ने’ ?


    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको कांग्रेसलाई अहिले पनि समर्थन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीले भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’

    ‘प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेका होइन्। मलाई प्रधानमन्त्रीको इच्छा पनि छैन। मेरो नाम पनि जोडिएको छ,’ उनले भने।

    उनले अखबारहरूमा १५/१५ महिनाको कार्यकाल बाँडेको भन्ने समाचार आएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए।

    ‘मैले अखबारमा देखेँ, आज प्रधानमन्त्रीको कार्यकाल १५/१५ महिना बाँडेको बजारभरि देख्छु। यो सरकार परिवर्तन किन भएको, सहकार्य किन गरेको भन्ने कुराको गरिमालाई घटाएको छ, यस्ता खबरको अनुचित सम्प्रषेणले,’ उनले भने।

  • विश्वासको मत माग्दै प्रचण्डले भने- ‘यो आफैँमा उथलपुथल हो, मैले मात्रै गरेको होइन हामी सबै सहभागी छौँ ‘

    विश्वासको मत माग्दै प्रचण्डले भने- ‘यो आफैँमा उथलपुथल हो, मैले मात्रै गरेको होइन हामी सबै सहभागी छौँ ‘


    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आह्वान गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गठबन्धन परिवर्तन भएकाले आफूलाई पुनः विश्वासको मत चाहिएको बताए।

    उनले भने- अहिले फेरि नयाँ राजनीतिक परिस्थिति बन्यो। म तेस्रो पटक विश्वासको मत लिन उपस्थित भएको छ। मेरो उथलपुथल शब्दसँग अहिले पनि कुरा उठाउनुभयो। पहिलो र दोस्रो विश्वासको मत कुन पृष्ठभूमिका लिइएको थियो भन्ने यहाँहरूलाई थाहा नै छ। अहिले फेरि नयाँ सन्दर्भमा विश्वासको मत लिनुपरेको छ। यो आफैँमा उथलपुथल नै हो। मैले मात्रै गरेको होइन तपाईँ हामी सबै सहभागी छौँ।

  • अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना

    अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना

    काठमाडौं । विमानमा प्राविधिक समस्या आएपछि यात्रारत १२ जना यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गर्नु परेको छ । सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको हो । विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार यसको जानकारी गराएका छन् ।

    तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण विमानमा कम्पन आएको थियो । त्यसमध्ये कम्तीमा एक जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार विमानको उचाइ एक्कासि गुमेको र सिटबेल्ट नभएकाहरू सीटमा उफ्रेका थिए ।

    लाटामका अनुसार ‘बोइङ ७८७ ड्रीमलाइनर’ विमानमा उडानका क्रममा समस्या आएको हो । अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरूमा दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याहरूको शृङ्खलाको सामना गर्नुपरेको छ ।

  • सरकार र आरती साहको परिवारबीच सहमति

    सरकार र आरती साहको परिवारबीच सहमति

    काठमाडौं । गृह मन्त्रालय र आरती साहको परिवारबीच सहमति भएको छ। मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मृतक आरती साहको परिवारसँग भेटवार्ता गरी पाँच बुँदे सहमति गरे । सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव एवं गृह प्रवक्ता नारायण प्रसाद भट्टराई, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरे । आरतीको परिवार पक्षबाट सहमति पत्रमा आरतीकी आमा निर्मला देवी साह, दाजु प्रेम र मामा सन्तोष कुमारले हस्ताक्षर गरेका छन्। आरतीको परिवार गत असार १ गतेदेखि काठमाडौंमा आन्दोलनरत थिए।

    सहमतिमा आरतीको कर्तव्य ज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुन बमोजिम अदालतमा पेस गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटाउने उल्लेख छ। अनुसन्धान टोलीले आरतीको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने भनिएको छ। अनुसन्धान गर्दा चार वटा विषयमा केन्द्रित गर्ने सहमति पत्रमा उल्लेख छ।

    पहिलोमा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमीकमजोरी सम्बन्धमा अनुसन्धान गर्ने उल्लेख छ। दोस्रोमा आरतीको परिवारमाथि प्रहरीबाट भएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान गर्नुपर्ने कार्यदेश दिइएको छ। तेस्रोमा घटना सम्बन्धमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदन विषयलाई समेत अध्ययन गर्ने भनिएको छ। घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू अध्ययन गर्ने पनि भनिएको छ।

    उक्त अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम पुनः अभियोजन गर्ने सहमति भएको छ। चौथोमा गृह मन्त्रालयले आरतीको परिवारलाई आर्थिक सहायता प्रदान गर्न आवश्यक सहजीकरण गर्ने सहमति भएको छ। र, अन्तिममा आरतीको परिवारबाट भइरहेको आन्दोलन कार्यक्रम मंगलबारबाट फिर्ता लिने सहमति भएको छ।

    धनुषाकी २२ वर्षीया आरती गत जेठ ७ गते श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। उनको माइती पक्षले हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आएको थियो। सहमतिपछि गृहमन्त्री लामिछानेले आरतीको परिवारलाई न्याय दिलाउने आश्वासन दिएका आरतीका दाजु प्रेमले जानकारी दिए। मंगलबार बेलुकी ७ बजेदेखि साढे १० बजेसम्म छलफल गरेपछि गृह मन्त्रालय र आरतीको परिवारबीच ५ बुँदे सहमति भएको हो।

  • प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नाउपालगायत दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

  • त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै

    त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै

    काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी र नेपाल भिड्दैछन् । खेल नेपाली समय अनुसार बिहान ११ ः ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

    नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो । नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ५९ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।

  • प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप

    प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप

    काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार संसदीय दलको बैठकले सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सेचतक महेश बर्तोलाले जानकारी दिए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको छ,’ उनले भने, ‘सरकारलाई बलियो बनाउनु पर्ने छ । प्रभावकारी काम गर्नुपर्ने अवस्था छ ।’ प्रतिनिधिसभामा एमालेका ७६ सांसद छन् ।

    नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले बुधबार विश्वासको मत लिँदैछन् । संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र सांसदले सरकार बलियो बनाउन निर्देशन दिए । उनले अघिल्लो गठबन्धन सरकारबाट कमजोरी भए पनि नयाँ गठबन्धनले राम्रो काम गर्ने विश्वास व्यक्त गरे ।

    ‘जनताको कामलाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्नुस्’ ओलीको निर्देशन थियो, ‘मन्त्रीलाई सुस्त हुने छुट छैन । तपाईंहरु प्रश्नको घेरामा नपरेर काम गर्नुस् ।’ उनले सरकारले अघि सारको सुशासन, समृद्धि, सामाजिक न्याय र विकासमा केन्द्रित हुन मन्त्री र संसद्‌मा प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिए ।

  • सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ

    सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ

    काठमाडौं । पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

    पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई द्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई पक्राउ गरी अदालतमा म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

    विवादमा क्रममा पक्राउ परेका बेहुली पक्षका मानिसहरुको नाम भने गोप्य राखेको छ । सोमबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २४ स्थित सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसँग विवाहको लागि जन्ती आएको थियो । सामाजिक परम्परा अनुसार विवाहको लागि विधि स्वयम्बर भइसकेपछि मण्डपमा बसेको बेला बेहुलाले सुनको सिक्री नपाएको भन्दै बिहे इन्कार गरी जन्ती फर्काउन खोजेपछि विवाद भएको थियो । विवाद लगतै पुगेको वडा प्रहरी कार्यालय श्रीपुरले बहुलासहित आठजनालाई पक्राउ गरेको थियो

  • बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा

    बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा

    काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेत नयाँ अनुहार छन् । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ । यही टोलीले मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।


    नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग उसकै घरेलु मैदानमा दुई खेल खेल्दैछ । नेपालले चैत ८ गते बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालमा नहुने भएको हो । त्यो खेल पनि अब बहराइनमै हुनेछ ।

    नेपाली टोली

    गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, अभिषेक बराल

    डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ

    मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

    फरवार्ड : अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट

  • नयाँ समीकरणको पक्षमा खुले वामदेव, दाहालका पक्षमा गरे मतदान

    नयाँ समीकरणको पक्षमा खुले वामदेव, दाहालका पक्षमा गरे मतदान

    काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका नारायण प्रसाद दाहालका पक्षमा मतदान गरेका छन् । तत्कालीन नेकपाको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गौतम नयाँ समीकरणको पक्षमा खुल्दै दाहाललाई मतदान गरेका हुन् ।

    कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत विभाजन भएको हो ।

    माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत ल्याए । जम्मा ५६ भोट खसेको थियो ।

  • युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत

    युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत

    काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेको थियो। शर्माले बहुमत प्राप्त गर्न नसकेपछि सो प्रस्ताव अस्वीकृत भएको हो।

    शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना, समर्थकमा किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका शेखर कुमार सिंह थिए। बैठकमा ५६ जना सांसद उपस्थित थिए।

    हाल राष्ट्रिय सभामा माओवादी १८,कांग्रेस १६,एमाले १०,एकीकृत समाजवादी ८,जसपा ३,लोसपा १,राष्ट्रिय जनमोर्चा १,स्वतन्त्र १ सदस्य छन्।

  • राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित

    राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।

    कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

    दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुन् ।

  • ओली र राजेश हमालबीच सिनेमा संवाद हुने

    ओली र राजेश हमालबीच सिनेमा संवाद हुने

    काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ ।

    नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ । चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए ।

    महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने, नम्रता शर्माले चलचित्रमा लैङ्गिक असमानताले पारेको प्रभावका बारेमा र अभिनेतृ रिमा विश्वकर्माले गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्ने कार्यक्रम रहेको छ । बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटन बोर्डको हलमा हुने छ ।

    छलफलका शृङ्खला अन्तर्गत नै शनिबार प्रविधिविज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्न सक्ने असरका बारेमा एकल प्रस्तुति दिने कार्यक्रम रहेको छ । शनिबार नै फिल्म समीक्षक प्रभाकर गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुङ्गानासँग ‘समीक्षा ताली कि गाली’ शीर्षकमा बहस चलाउने छन् ।

    शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसर शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउने कार्यक्रम रहेको छ । गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ को प्रदर्शनसँगै यो सालको निफ सुरु गरिने कार्यक्रम रहेको छ । यस पटकको संस्करणमा ४० देशका ८८ चलचित्र देखाइने जानकारी दिइएको छ ।

  • राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

    राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

    काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

    सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो । नयाँ गठबन्धन बनेपछि अध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । राष्ट्रिय सभामा माओवादी नै पहिलो दलसमेत हो ।

  • सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति

    सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति

    काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर उक्त आयोगको म्याद सकिइसकेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नै मिटरब्याज पीडितसँग छलफलमा बसेका थिए ।

    ‘मैले पहिले पनि संसद्‍मा कुरा उठाएको थिएँ, उहाँहरुको एक–एक मिनेट धेरै हो भनेको थिएँ’, उनले भने, ‘पीडितलाई न्याय दिनका लागि मेरो तर्फबाट आवश्यक निर्देशन दिएको थिएँ, वार्ता टोलीका संयोजकज्यू र सदस्यहरु पनि प्रतिबद्ध हुनुहुन्थ्यो ।’ लामो समय यात्रा गरेर काठमाडौंसम्म आउनुपर्ने अवस्था समेत सिर्जना हुनु नहुने उनले भनेका छन् । यद्यपि, सहमति भएको भन्दै उनले भने, ‘मिटरब्याजबाट पीडितहरुले पूर्ण न्याय पाएका दिनलाई उत्सवका रुपमा मनाउने छौं, यो संघर्ष लामो छ । हामीले यो सुरुवात गरेका छौं ।’

    वर्षौंदेखि जकडिएको समस्या समाधानका लागि सरकारले दरिलो कदम चालेको उनले भनेका छन् । उनले सम्झौतामा भएका बुँदाहरुसँग सरकार प्रतिबद्ध रहने बताएका छन् । योसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित हुने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएर आफैंले उनीहरुको कुरा सुनेका थिए । त्यसपछि पीडितसँग सहमति गर्न सरकार हदैसम्म लचक बन्न तयार रहेको बताएका थिए ।

    मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

  • त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै

    त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजमा अहिले नेपाल र पपुवा न्यूगिनी भिडिरहेका छन् । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको छ । पपुवा न्यूगिनी लक्ष्य भेटाउन उत्रिएको छ ।

    नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए । टी–२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो । नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७।३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।

    लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे । पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले ११ विकेट लिए । फाइनलमा पुग्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ ।

  • स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

    स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

    काठमाडौं । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित पाँचजनालाई पक्राउ गरिएको जानकारी दिए । आइतबार साँझ प्रहरीले ३९ लाख २० हजार रुपियाँसहित तीनजनालाई पक्राउ गरेको थियो ।

    उनले नेपालगन्जबाट दुई दिनमा प्रहरीले स्रोत नखुलेको एक करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपियाँ र १५ लाख ४० हजार भारतीय रुपियाँ बरामद गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गाली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपियाँ बरामद गरेको थियो ।

    प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए । उनीहरुको साथबाट भारतीय ११ लाख रुपियाँ पनि बरामद भएको एसपी बोहराले बताए । बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र आसिफ अन्सारीलाई ३४ लाख नेपाली रुपियाँ र चार लाख ४० हजार भारतीय रुपियाँसहित पक्राउ गरिएको एसपी बोहोराले बताए ।


    यसअघि आइतबार साँझ प्रहरीले स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगन्जका हबिब जसगढलाई पक्राउ गरेको थियो । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ तर त्यसको हालसम्म पुष्टि नभएको प्रहरीको भनाइ छ ।

  • कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो

    कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो

    काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगो लागेको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए । लम्कीचुहा नगरपालिकाको दमकल समेत पुगेर आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको यकिन भइसकेको छैन ।

  • उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने

    उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी दिएका हुन् । अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवम व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने उनले बताए ।

    कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ हुने र यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले जानकारी दिए ।
    कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारमा पहल भइरहेको समेत बताए । राजनीतिक दलहरुको आर्थिक विषयमा एकै एजेन्डा हुन नसक्दा समन्यव र सुधार नभएको बताउँदै उनले महासंघको चैत्र अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने बताए ।

    महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित वृहत आर्थिक बहस यसको कोशेढुंगा भएको उनको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको दाबी गरे । ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’

  • भागेका थुनुवा समात्न गएका जवानको लडेर मृत्यु

    भागेका थुनुवा समात्न गएका जवानको लडेर मृत्यु

    काठमाडौं । दार्चुला प्रहरीको हिरासतमा रहेका एक थुनुवा भागेपछि उनलाई पक्राउ गर्न पछ्याएका एक प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ ।

    हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उनलाई लखेट्दै गरेका प्रहरी जवान सुवान चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।

  • ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’

    ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेका हुन् । यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सहकार्य गरेपछि उनले विश्वासको मत लिन लागेका हुन् । नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो।

  • राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ

    राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्मा र माओवादीको तर्फबाट नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्।

    संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको छ।

    उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। सत्ता गठबन्धनको तर्फबाट माओवादीले अघि सारेको दाहाललाई एमाले, रास्वपा, नेकपा एस, जसपाको समर्थन रहेको छ । दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । नयाँ गठबन्धनमा माओवादी अध्यक्ष र एमालेलाई उपाध्यक्ष लिने सहमति भएको थियो । मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

  • राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता

    राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत् आज उम्मेदवारी दर्ता हुन लागेको हो। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्टयाइएको छ। आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।

    सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो। गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका हुन्। आइतबार बसेको माओवादी केन्द्रको बैठकले नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को मनोनीतको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ।

    नेपाली कांग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।
    राष्ट्रिय सभा अध्यक्ष पदका लागि यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी थिए।

    उनलाई सभापति देउवाले शनिबार राष्ट्रिय सभा दल नेता मनोनीत गरेका थिए। सत्ता गठबन्धन परिवर्तन भएसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवार भएनन्। मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रिय सभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जानकारी दिएको छ।

  • उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

    उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ । तिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

    चार वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको रास्वपामा उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि नउठाउने भन्नेमा छलफल चल्दै आएको छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको छ ।

  • शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री

    शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होछार’ का अवसरमा आज शुभकामना दिँदै उनले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताएका हुन् । प्रधानमन्त्रीले ग्याल्पो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरे ।

    प्रधानमन्त्री दाहालले पूर्वी हिमाली क्षेत्रलगायत देशका विभिन्न भू(भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । शेर्पा समुदायको मौलिक परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनबाट आशीर्वाद लिनका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन छ ।

  • शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा

    शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा

    काठमाडौं । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होछार मनाउँदैछन् । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

    यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् । ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।


    शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

  • एमसीसी परियोजना समयमै सक्न अमेरिकाको आग्रह

    एमसीसी परियोजना समयमै सक्न अमेरिकाको आग्रह

    काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजना समयमै सक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
    नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेर ध्यानाकर्षण गराएका हुन् ।

    भेटमा उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र एमसीसी परियोजनाबारे चासो राखेका थिए । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटमा राजदूत थम्पसनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।

    ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ,’ राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’ उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरू धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे ।

    भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए । यस्तै उनले एमसीसी परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्ने चासो राखेका थिए । जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिए । यस्तै उनले एमसीसी परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।