Category: समाचार

  • कांग्रेसले भन्यो-‘प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरे’

    कांग्रेसले भन्यो-‘प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरे’

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको बताएको छ।

    बिहीबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

    प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो। यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा ठहर गरेका छौं।’

    प्रधानमन्त्री दाहालले गठबन्धन भत्काएर देशलाई अस्थिरतातिर धकेलेको कांग्रेसको आरोप छ। ‘अविश्वसनीय ढंगले गठबन्धन भत्काउनुभयो। गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल, अनिश्चितातर्फ लैजाने काम गर्नुभयो,’ लेखकले भने।

    लेखकले नेपाली कांग्रेसले अब संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताए।

    पार्टीले संघीय संसदमा रहेका नेपाली काँग्रेसका सम्पूर्ण सदस्यहरुलाई संसदमा देश र जनताका हीतमा प्रभावकारी रुपले प्रश्तुत हुन र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न निर्देशनसमेत दिएको छ ।

  • पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?

    पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?

    काठमाडौं । महाशिवरात्रि पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात उपसमिति गठन गरी काम अन्तिम चरणमा पुर्याएको छ । कोषले महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवम् धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई निर्बाधरूपमा सञ्चालन गर्ने जनाएको हो ।


    यसैगरी महाशिवरात्रिका दिन राति २ बजेदेखि पशुपतिनाथ मन्दिरको चार वटै ढोका खोली भक्तजनलाई सहज दर्शन गराइने कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । उनले यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको जानकारी दिए ।

    पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ । महाशिवरात्रिका दिन पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना सवयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।

  • टी-२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

    टी-२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपियाँ सहयोग गरेको छ । सरकारले यसै आगामी जुनमा आयोजना हुने विश्वकपमा नेपाली टोलीको तयारीका लागि पाँच करोड रुपियाँ विनियोजन गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

    ‘‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङ सङ्घ हार्दिक आभार व्यक्त गर्दछ,’’ क्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । क्यानले सरकार र राखेपको सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समेत गरेको छ । नेपालले १० वर्षपछि टी–२० विश्वकप क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादशेमा भएको टी–२० विश्वकप खेलेको थियो ।

  • हवाई नीति संशोधन हुने

    हवाई नीति संशोधन हुने

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् । बुधबार सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनलेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै पर्यटनमन्त्री तामाङले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । हवाई क्षेत्रलाई युरोपेली संघ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरे । पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए ।

    उनले भने, ‘नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको उडान प्रतिबन्ध हटाउन योजनाबद्ध पहल गर्नेछु । यो चाँडैनै हट्छ भन्ने विश्वास लिएको छु ।’ इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो सूची (एसएससी)मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ ।

    मन्त्री तामाङले नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्ध काम गर्ने विश्वास व्यक्त गरे । उनले सङ्घीयताको मर्म र भावना अनुरुप मुलुकको पर्यटन नीतिलाई समयसापेक्ष बनाइने विश्वास व्यक्त गरे । मन्त्री तामाङले पर्यटन व्यवसायी एवं विज्ञ सरोकारवालासँग छलफल गरेर पर्यटन क्षेत्रको विकास तथा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनेबारे योजनाबद्ध कार्यक्रम अगाडि बढाइने बताए ।

  • संसद बैठक आज, के छ कार्यसूची ?

    संसद बैठक आज, के छ कार्यसूची ?

    काडमाढौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

    यस्तै, राष्ट्यिर सभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

  • नेपाली कांग्रेस संसदीय दलको बैठक आज

    नेपाली कांग्रेस संसदीय दलको बैठक आज

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संघीय संसदको लोत्से हलमा बिहान साढ ८ बजेका लागि बैठक बोलाइएको छ । सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।

    देउवाको पहलमा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनमा सामेल भएका छैनन् भने नागरिक उन्मुक्तिले पनि निर्णय गरिसकेको छैन । आज बस्ने संसदीय दलको बैठकले थप रणनीति तय गर्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसेका छन् ।

  • काठमाडौंमा अब खटिने भयो ‘क्विक रेस्पोन्स टिम’

    काठमाडौंमा अब खटिने भयो ‘क्विक रेस्पोन्स टिम’

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ‘क्विक रेस्पोन्स टिम (क्युआरटी’ परिचालन गरेको छ। बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले क्युआरटीका प्रहरीहरूलाई आवश्यक सामग्री प्रदान गरेका हुन्। उक्त सामग्री प्रदान गरेसँगै क्युआरटी प्रहरी परिचालन भएका हुन्।

    काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटनारदुर्घटनास्थलमा खटिनका लागि क्युआरटी परिचालन गरिएको हो। क्‍युआरटीको जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरूलाई जिपिएस ट्र्याकिङ डिभाइस, शरीरमा लगाउने क्‍यामेरा, हेल्मेट, नी(गार्ड, एल्बो(गार्ड, पञ्जा, भेष्ट, चस्मा, रेडिसेट र साइरेन उपलब्ध गराएको हो। बुधबार आयोजित कार्यक्रममा क्युआरटी टिमले परेड गरेका थिए।

  • रविले सम्हाले गृह, के भने ?

    रविले सम्हाले गृह, के भने ?

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम नगर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिए । आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा र बढुवाको चिर्कटो बोकेर कोही आएमा जानकारी दिन भन्दै उनले त्यस्तो व्यक्तिलाई सिंहदरबार प्रवेशमै रोक लगाउने उनले बताए ।

    उपप्रधानमन्त्री लामिछानेले सरकारी जग्गा हडप्नेहरुलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णय पनि गरेका छन् । उनले न्याय माग्नलाई मन्त्रीनै भेट्ने चलनको अन्त्य गर्ने घोषणा पनि गरेका छन् । उनले मिटरव्याज पीडित हुन् वा अरु कुनै पीडित न्याय माग्न काठमाडौंसम्म आउन नपर्ने गरी काम गर्ने बताए । लघुवित्तका ऋणी र मिटरब्याज पीडितले काठमाडौंमा आएर नियमित जसो प्रदर्शन गर्दै आएका छन् ।

    उनले नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति काम गर्ने पनि उनले बताए । उनले कुनै पनि व्यापारीले व्यापर गर्न पाइनँ, सुरक्षा भएन भनेर गुनासो गर्ने ठाउँ नरहने गरी काम गर्नु पर्ने बताए । शहर २४ सै घण्टा खुल्ने वातावरण बनाउनु पर्ने उनले बताए । अघिल्लो पटक ३४ दिनको कार्यकालमा तस्करी नियन्त्रणमा आफूले काम गरेको भन्दै उनले अहिले पनि तस्करी नियन्त्रणमा काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् । उनले अघिल्लो कार्यकालको तुलनामा अहिले आफू दृढ भएर आएको उनले बताए ।

  • नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् ।

    त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् ।

    शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचनाप्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।

  • मधेश केन्द्रित तीन दलका अध्यक्षसँग बूढानिलकण्ठमा कांग्रेसको छलफल

    मधेश केन्द्रित तीन दलका अध्यक्षसँग बूढानिलकण्ठमा कांग्रेसको छलफल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश केन्द्रित तीन वटा दलका अध्यक्षहरूसँग बूढानिलकण्ठमा छलफल गरेका छन्।

    देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलमा गरेका हुन् ।

    छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता शेखर कोइराला पनि सहभागी छन्। सभापति देउवाले बुधबार बिहान कोटेश्वर पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।

  • तीन पार्टीका १७ जना मन्त्रीको टुंगो लाग्यो मन्त्रालय, तीन नयाँ अनुहार

    तीन पार्टीका १७ जना मन्त्रीको टुंगो लाग्यो मन्त्रालय, तीन नयाँ अनुहार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।

    बुधबार बसेको नयाँ सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँट टुंग्याएको छ। जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी बाहेकले मन्त्रीहरूको नाम दिइसकेको छैन।

    तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् । तीन पार्टीले सिफारिस गरेका मन्त्रीहरूमा जम्मा तीन जना नयाँ अनुहार देखिएका छन्। बाँकी सबै जना पहिल्यै मन्त्री भइसकेका व्यक्ति नै दोहोरिएका छन्।

    यी हुन् मन्त्रालय टुंगो लागेका मन्त्री

    एमाले
    रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
    पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
    हरि उप्रेती, रक्षा
    भगवती चौधरी, महिला बालबालिका
    राजेन्द्र राई, खानेपानी
    दामोदर भण्डारी, उद्योग
    ज्वालाकुमारी साह, कृषि
    बलराम अधिकारी, भूमि व्यवस्था

    माओवादी
    नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
    वर्षमान पुन, अर्थ
    शक्ति बस्नेत, उर्जा
    रेखा शर्मा, सञ्चार
    हितबहादुर तामाङ, पर्यटन

    रास्वपा
    रवि लामिछाने, उपप्रधान तथा गृह
    डीपी अर्याल, श्रम
    विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
    सुमना श्रेष्ठ, शिक्षा

    नेकपा एमालेका सां‌सद बलराम अधिकारी यसअघि मन्त्री भएका छैनन्। उनी भूमि व्‍यवस्था तथा सहकारी मन्त्री बन्दैछन्।

    अर्का दुई नयाँ अनुहार राष्ट्रिय स्वतन्त्र पार्टीका छन्।

    सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने भएका हुन्।

  • रास्वपाले टुंग्यायो मन्त्रीः गृहमा रवि, शिक्षामा सुमना,श्रममा डीपी

    रास्वपाले टुंग्यायो मन्त्रीः गृहमा रवि, शिक्षामा सुमना,श्रममा डीपी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाउने टुंगिएसँगै सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।

    रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्नेछन् । उनी गृहमन्त्री बन्ने भएका छन् । श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

  • लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त, सरकारलाई दिएको समर्थन फिर्ता

    लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त, सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

    मुख्यमन्त्री चौधरीले माओवादीबाट मन्त्री बनेका धनबहादुर मास्की र कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । मास्कीले अर्थ तथा केसीले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    केन्द्रमा सत्ता समीकरण फेरिएसँगै चौधरीले माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्रीले मन्त्रीहरूलाई बर्खास्त गरेसँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

  • त्रिशूली दुर्घटना : उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    त्रिशूली दुर्घटना : उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी बनाउने निर्देशन दिएका छन् । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो।

    दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई जीवितै उद्धार गरिएको थियो। एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको र केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन नभएको र मृतकहरूको सनाखत भएको छैन । चालक लुम्बिनी संस्कृति नगरपालिका ९ का हरि रामलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ट्रम्पलाई राष्ट्रपतिमा उठ्न रोक्ने प्रयासलाई अदालतले लगायो अंकुश

    ट्रम्पलाई राष्ट्रपतिमा उठ्न रोक्ने प्रयासलाई अदालतले लगायो अंकुश

    काठमाडौं । राज्यद्रोहसम्बन्धी संविधानको धारा प्रयोग गरी डोनल्ड ट्रम्पलाई राष्ट्रपतिका उम्मेदवार बन्न रोक्न खोज्ने राज्यहरूको प्रयासमाथि अमेरिकी सर्वोच्च अदालतले अङ्कुश लगाइदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूको सर्वसम्मत आदेशले कोलोराडो राज्यलाई किटान गरे पनि कानूनी चुनौती दिएका अन्य राज्यको हकमा पनि त्यो लागु हुन्छ। संविधानको धारा ३ ले “देशद्रोह वा विद्रोह” मा संलग्न व्यक्तिलाई अमेरिकाको सङ्घीय निर्वाचनमा भाग लिनबाट अयोग्य भनेको छ। अमेरिकी संविधानको १४औँ संशोधनले “देशद्रोह वा विद्रोहमा संलग्न” जो कोहीलाई सङ्घीय पद धारण गर्न अयोग्य ठहराउँछ।

    सन् २०२१ मा क्यापिटल हिलमा भएको दङ्गामा संलग्न भएको ठहर गर्दै कोलोराडोको सर्वोच्च अदालतले ट्रम्पलाई उक्त राज्यबाट आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न रोक लगाएको थियो। कोलोराडोको सर्वोच्च अदालतले “ट्रम्प देशद्रोहमा संलग्न भएको प्रस्ट र विश्वसनीय प्रमाण फेला पारेको” जनाएको थियो। राजद्रोहको आरोपमा फैसला गर्दै उनलाई उक्त राज्यमा चुनाव लड्न रोक लगाइएको थियो।

    तर राष्ट्रपतीय उम्मेदवार हुनबाट त्यसरी रोक्न लगाउन सक्ने अधिकार कङ्ग्रेससँग मात्र रहेको अमेरिकाको सर्वोच्च अदालतले बताएको छ। योसँगै मङ्गलवार हुने कोलराडोको प्राइमरी चुनावमा प्रतिस्पर्धा गर्ने बाटो ट्रम्पका लागि खुलेको छ। अमेरिकामा प्रमुख दुई पार्टीले आ(आफ्ना राष्ट्रपतिका उम्मेदवार छान्न हरेक राज्य र पार्टीका ककसहरूमा प्राइमरी चुनाव गर्छन्। ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका लागि अग्रणी उम्मेदवार हुन्।

    उनलाई यस वर्षको नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट राष्ट्रपति जो बाइडनको प्रतिस्पर्धी हुने ठानिएको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सोमवार आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै ट्रम्पले “अमेरिकाका लागि ठूलो जित” भनी टिप्पणी गरेका छन्। तर कोलोराडोकी विदेशमन्त्रीले सर्वोच्च अदालतको आदेशबाट आफू निराश भएको बताएकी छन्।

    उनले “राष्ट्रपतिको शपथमा अवरोध पुर्‍याउन खोजेर राज्यद्रोह गर्नेलाई हाम्रो मतपत्रसम्म पुग्नबाट कोलराडोले रोक्नुपर्ने” बताएकी छन्। कोलराडोमा मुद्दा हालेको निगरानी समूह सिटिजन्स फर रेस्पन्सिबिलिटी एन्ड इथिक्सले एउटा वक्तव्यमार्फत् भनेको छः “अदालतले अपेक्षा पूरा गर्न सकेन। तर अझै त्यो लोकतन्त्रका लागि जित होः इतिहासमा ट्रम्प राज्यद्रोहीको रूपमा चिनिनेछन्।”

  • बायर्न म्यूनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा

    बायर्न म्यूनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा

    काठमाडौं । बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेका छन् । मंगलबार भएका खेलमा जित निकाल्दै यी दुई टीम अन्तिम ८ मा पुगेका हुन् । बायर्नले अन्तिम १६ को दोस्रो लेगको खेलमा लाजियोलाई ३–० ले हरायो र समग्रमा ३–१ को अग्रता लियो ।

    पहिलो लेगमा बायर्न १–० ले पछाडि थियो । उसका लागि घरेलु मैदानमा प्राप्त जितमा ह्यारी केनले दुई र थोमस मुलरले एक गोल गरे । केनले ३८ र ६६ औं मिनेटमा गोल गरे । त्यसबीच मुलरले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल गरे ।

    पीएसजीले भने रियल सोसिडाडलाई उसकै घरमा २–१ ले हराएको हो । फ्रान्सेली टिमका लागि दुवै गोल केयलिन एमबापेले गरे । यो जितसँगै पीएसजीले समग्रमा ४–१ को सजिलो जित निकाल्यो । एमबापले १५ र ५६ औं मिनेटमा गोल गरेका हुन् ।

  • त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ५ जनाको मृत्यु

    त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ५ जनाको मृत्यु

    काठमाडौं । धादिङ गजुरीस्थित गलौदीबाट बस त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४ः४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
    बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

  • जब विश्वभर एकसाथ डाउन भए फेसबुक, मेसेन्जर र इन्स्टाग्राम

    जब विश्वभर एकसाथ डाउन भए फेसबुक, मेसेन्जर र इन्स्टाग्राम

    काठमाडौं । मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर एकसाथ अवरुद्ध बन्दा प्रयोगकर्तामा अन्यौल छाएको छ । करोडौँ प्रयोगकर्ताहरुले यी प्लाटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका थिएनन् । नेपाली समय अनुसार बेलुकी करीब ९ बजेतिर एक्कासी यी प्लाटफर्मका अकाउन्ट लगआउट भएका थिए । त्यसको एक घण्टापछि मात्र खुलेका छन् ।

    त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएनन् । फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अबरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लाटफर्म डाउन भएका हुन् ।

    विश्वभर फेसबुक र उसका भगिनी प्लाटफर्महरु एकसाथ अवरुद्ध हुनुको खास कारण चाहिँ हालसम्म खुलेका छैनन् । यसबाट मेटाका सोसल मिडिया साइटका एप तथा वेब दुबै भर्सन प्रभावित भएका छन् । मेटाकै अर्को प्लाटफर्म ह्वाट्सएप भने चलिरहेको छ । करिब एक घण्टा अवरुद्ध भएपछि फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम पुनःसञ्चालनमा आएका छन् ।

  • एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित, सचेतकमा बराल

    एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित, सचेतकमा बराल

    काठमाडौं । एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत भएका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । बर्तौला यसअघि सचेतक थिए ।

    बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि बराललाई सचेतकमा मनोनीत गरिएको हो । बर्तौला र बराल दुवै अनेरास्ववियुको राजनीतिकबाट आएका नेता हुन् । बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

  • घरेलु मैदानमा उपाधी उचाल्न असफल नेपाल

    घरेलु मैदानमा उपाधी उचाल्न असफल नेपाल

    काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।

    नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।

    कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । नेपालले २३ रन जोड्दा ३।३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

    रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए । गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

  • मोरङमा किशोरीको विभत्स हत्या, एक जना पक्राउ

    मोरङमा किशोरीको विभत्स हत्या, एक जना पक्राउ

    काठमाडौं । मोरङको पथरी शनिश्चरेमा एक किशोरीको विभत्स हत्या भएको छ । घटनामा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरामा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरी छन् । पथरी शनिश्चरे नगरपालिका– ७ लामा टोल बस्दै आएकी १५ वर्षीय सम्झना भनिने ज्ञानमती थुलुङ राईको सोमबार राति करिब साढे १० बजेतिर शौचालय जान घरबाहिर निस्किएको बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

    हत्यामा संलग्न रहेको आरोपमा चौधरीलाई राति करिब साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी किशोरीका बुबा छैनन् । दुई वर्षअघि मामाका छोरा दाजु विनोद राईको घरमा बसेर पढ्न पथरी आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने उनले बाँकी समय दाजुको घरमै भएको पसलमा काम सघाउँदै आएकी थिइन् ।

    प्रहरीका अनुसार घर पछाडिको आँगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या अभियोगमा पक्राउ परेका धीरेन सिमराका हुन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार उनी वैदेशिक रोजगारीका लागि कुवेत गएका थिए भने उनकी श्रीमती पनि वैदेशिक रोजगारीका क्रममा कतारमा छिन् । पछिल्लो समय श्रीमतीसँग राम्रो सम्बन्ध नभएका धीरेनले सम्झनासँग इमोमार्फत चिनजान भएको दाबी गरेका छन् । करिब एक वर्षअघि नेपाल फर्किएका धीरेनले १३ असारमा सम्झनालाई भगाएर लैजाने प्रयार गरेका थिए ।

    विराटनगर रानी बोर्डर हुँदै भारत जाँदै गर्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था ‘सुनौला हातहरु’का प्रतिनिधिले दुबैलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो । प्रहरीले दुबैलाई कागज गरेर परिवारको जिम्मा लगायो । परिवारका सदस्यले सम्झनालाई पनि धीरेनबाट टाढा रहन सम्झाए । धीरेनलाई पनि फोन गरेर पिछा नगर्न भनेका थिए, तर उनी रोकिएनन् । सम्झनाको नाममा फेसबुक, इस्टाग्राम र इमो खोलेर जथाभावी पोष्ट गर्न थाले । परिवारका सदस्यलाई पनि आपत्तिजनक तस्वीरहरु पठाएर तनाव दिएका थिए ।

    सोमबार बाराको जितपुर सिमराबाट पथरी आइपुगेका चौधरीले सम्झानाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घर पछाडिको आगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको सूचनापछि राति ११ बजे प्रहरी उपरीक्षक कार्कीसहितको टोली घटनास्थल पुगेको थियो । परिवारका सदस्यहरुसँग सोधपुछ गर्दा असारमा धीरेनले लिएर गएको बताए । लगतै प्रहरीले सम्भावित नाकामा कडाइ गर्‍यो, घरमा टोली पठायो । तर धीरेन तीन महिनादेखि गएका थिएनन् ।

    प्रहरी गस्तीमै थियो, राति साढे २ बजेतिर पूर्वपश्चिम राजमार्गको भाउन्ने चोकमा सडक किनारमा एक व्यक्ति हिँडिरहेका देखिए । प्रहरी देखेपछि उनी जंगलतर्फ भागे । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिर्तामोडबाट फर्किएको बताए । प्रहरीले उनी नै घटनामा संलग्न अभियुक्त हुनसक्छ भनेर शंका गरेको थिएन, तर स्पष्ट जवाफ नदिएका कारण नियन्त्रणमा लियो ।

    सम्झनाको हत्याको अनुसन्धान गरिरहेको टोलीले भने घटनास्थल क्षेत्रमा तरकारी रोप्न तयार गरिएको बारीमा जुत्ताको डाम देख्यो । चौधरीले लगाएको जुत्ता र घटनास्थलमा डाम देखिएको जुत्ता ठ्याक्कै मिल्यो । त्यसपछि धीरेनले मृतक आफ्नो पे्रमिका भएको स्वीकार गरे । केरकार गर्दा हत्या आफैंले गरेको बयान दिए ।

  • कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजिनामा

    कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजिनामा

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

    केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि राजीनामा दिएको मन्त्रीहरूले बताएका छन् । माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

  • सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

    सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका छन् । केन्द्रमा कांग्रेस(माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् ।

    बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । कर्णाली सरकारमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् ।

    सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

  • कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

    कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

    काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’

    प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

  • मंगोलियामा अधिक जाडोले मरे ३० लाख भन्दा धेरै गाइवस्तु

    मंगोलियामा अधिक जाडोले मरे ३० लाख भन्दा धेरै गाइवस्तु

    काठमाडौं । मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ । जुडका कारण मङ्गोलियामा अहिलेसम्म कम्तीमा ३० लाख ८९ हजार ४२० गाईबस्तु मरेको एसईसीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । जुड गम्भीर चिसोले अधिक जाडो बढेको अवस्थामा प्रयोग गरिने मङ्गोलियाली शब्द हो ।

    यो अवस्थामा जमिन हिउँले ढाकिएको कारण अधिक चिसो हुने र ठुलो सङ्ख्यामा गाईबस्तुहरू मर्ने गर्छन् । मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यस वर्षको जाडोमा सामान्यभन्दा धेरै हिउँ परेको छ । मङ्गोलियाको ८० प्रतिशतभन्दा बढी क्षेत्र अहिलेसम्म १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको थियो । रासससिन्ह्वा

  • सरकारी सेवामा प्रवेश गर्ने अधिकतम उमेर घटाउने प्रस्ताव

    सरकारी सेवामा प्रवेश गर्ने अधिकतम उमेर घटाउने प्रस्ताव

    काठमाडौं । निजामती सेवा प्रवेशका लागि उम्मेदवार बन्न पाउने अधिकतम उमेर सीमा घटाउन प्रस्ताव गरिएको छ । सोमबार संघीय संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्ष हुँदासम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने प्रस्ताव गरिएको छ । यसअघि पुरुषहरुले ३५ वर्ष र महिलाहरुले ४० वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउँथे ।

    यसअघि ४० वर्षको उमेरमा सेवा प्रवेश गरेका महिलाहरु ५८ वर्ष उमेरमा सेवा निवृत्त हुँदा सेवा अवधि १८ वर्ष मात्र हुन्थ्यो । पेन्सन पाउन सेवा अवधि कम्तिमा २० वर्ष हुनुपर्छ । १८ वर्षमै सेवानिवृत्त हुने कर्मचारीहरुलाई २ वर्ष सेवा थप गरी सरकारले पेन्सन उपलब्ध गराउँथ्यो ।

    तर आइतबार संसद सचिवालयमा दर्ता भएको निजामती सेवा विधेयकमा भने महिला र पुरुष दुवै उम्मेदवारको सेवा प्रवेशको अधिकतम उमेर घटाइएको छ । विधेयको दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता सम्बन्धी व्यवस्था छ । राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने र राजपत्रांकित वा अधिकृत तहको पदमा एक्काइस वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ।

    यसैगरी पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था दफा १८ को ‘ग’ मा उल्लेख छ । तर भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको संघीय निजामती सेवाको पदमा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने व्यवस्था राखिएको छ । यसैगरी अधिकृत नवौं तहको पदका लागि हुने खुला प्रतियोगितामा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने छन् ।

    पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता वा मध्यम अशक्त अपाङ्गता भएको व्यक्ति पनि ३७ वर्षसम्म उम्मेदवार हुन सक्ने छन् । संघीय निजामती सेवाका स्थायी कर्मचारी, कर्मचारी समायोजन सम्बन्धी संघीय कानुन बमोजिम सरकारी सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवामा स्थानीय नियुक्ति भएका कर्मचारीलाई भने उमेरको हद नलाग्ने व्यवस्था छ । संघीय संसदमा दर्ता भएको विधेयक अब संसदभित्रै छलफल, संशोधन र परिमार्जन भएर प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिबाट अनुमोदन भएपछि लागू हुनेछ ।

  • नयाँ गठबन्धनको बैठक आज, मन्त्रालयको टुंगो लगाइने

    नयाँ गठबन्धनको बैठक आज, मन्त्रालयको टुंगो लगाइने

    काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।
    गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल पनि बिनाविभागीय नै छन् ।

  • गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस

    गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस

    काठमाडौं । कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बोलाइएको छ । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।


    कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारदेखि नयाँ गठबन्धन बनाएपछि कांग्रेससहितको गठबन्धन टुटेको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादीको नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धनबाट एमालेका पदम गरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याल मन्त्री बनिसकेका छन् ।

  • त्रिकोणात्मक सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

    त्रिकोणात्मक सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्ने दाउमा छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराएको थियो ।

    २०२२ को त्रिकोणात्मक टी २० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको हो । यो सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्दैछ । नामिबिया ३ अंकसहित पुछारमा रह्यो ।

  • नयाँ गठबन्धनमा भयो ८ बुँदे सहमति

    नयाँ गठबन्धनमा भयो ८ बुँदे सहमति

    काठमाडौं । नयाँ गठबन्धनमा ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भएको छ । उपाध्यक्ष एमालेले पाउने भएको छ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने भएका छन् ।

    ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने’ सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने ।’साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।

    यसअघि कांग्रेससहितका दलसँग भएको सहमति उल्ट्याउँदै प्रचण्डले नयाँ गठबन्धन बनाएका हुन् । यसले उनको सत्ता लम्बिएको छ ।