Category: समाचार

  • वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

    वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

    काठमाडौं । पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्यायन समितिको प्रतिवेदन अध्यायन तथा कार्यन्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ ।

    पूर्व क्याप्टेन कुलबहादुर लिम्वु नेतृत्वको सिफारिस समितिले बिहीबार प्रतिवेदन बुझाएको हो । समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्त रुपमा प्रतिवेदन बुझाएको हो ।

    समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी ४ ओटा बुँद समावेश गरिएको छ । पहिलो बुँदामा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने रहेको छ ।

    त्यस्तै, चौथो बुँदामा निगमको यथार्थपरक व्यवशायिक कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनलाई प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिएको छ ।

  • उच्च अंकले घट्यो नेप्से, सोनापुरको सर्वाधिक कारोबार

    उच्च अंकले घट्यो नेप्से, सोनापुरको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा पुगेको हो ।

    यसदिन ३०९ कम्पनीको २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँ बराबरको ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच भएको छ ।

    आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ११ करोड १३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    घट्दो बजारमा आज १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजुको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार बनाउन टेण्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले बिहीबार टेण्डर आह्वान गरेको मेयर रेणु दाहालले जानकारी दिएकी छिन् । ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको छ ।

    रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर आह्वान गरिएको छ । रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३–३ तलाको टावर बनाइने छ ।

    एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।

  • गाजामा मारिए झण्डै ३० हजार सर्वसाधारण

    गाजामा मारिए झण्डै ३० हजार सर्वसाधारण

    काठमाडौं । इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् । इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार ३२५ पुगेको छ । केही पीडितहरू अझै भग्नावशेषमुनि रहेको अनुमान छ । बुधबार इजरायली मिडिया आउटलेटले गाजा पट्टीको लडाइँमा दुई अधिकृतको मृत्यु भएको र ७ जना सैनिकहरू घाइते भएको बताइएको छ । योसँगै मृत्यु हुने सैनिकको सङ्ख्या ५८२ पुगेको छ ।

    इजरायली सेनाले सुरुङहरू र हमासका अन्य पूर्वाधारहरू ध्वस्त पारेको, आतङ्कवादी कक्षहरूू नष्ट गरेको र ठूलो मात्रामा हतियारहरू कब्जा गरेको बताएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले गाजामा युद्धको लक्ष्य अक्टोबर ७ को आक्रमण फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने रहेको र त्यसका लागि समय लाग्ने बताउनु भएको छ। रासस, सिन्ह्वा

  • आज किन खोलिँदैछ सेती नदीको बाँध ?

    आज किन खोलिँदैछ सेती नदीको बाँध ?

    काठमाडौं । पोखरामा आज सेती नदीको बाँधी खोँलिदै छ । माछा मार्ने क्रममा बेपत्ता भएका युवकको खोजीका लागि यसो गर्नु परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोलिने छ । बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको छ । सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन भएका थिए ।

    १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको हो । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एकजना मृत फेला परेका थिए । मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छन् । सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

  • वाफ वुमन्स च्याम्पियनसिप : साम्बा बीनै उपाधीका लागि भिड्दै नेपाल

    वाफ वुमन्स च्याम्पियनसिप : साम्बा बीनै उपाधीका लागि भिड्दै नेपाल

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली महत्वपूर्ण स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बीनै उपाधीका लागि भिड्दैछ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि होडमा जोर्डनको सामना गर्दैछ । खेल राति १० बजे हुनेछ । नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा ५ पटकको विजेतालाई हराउनु निकै मुस्किल हुनेछ । त्यसमाथि प्रमुख खेलाडी साम्बा क्लवले बोलाएपछि फ्रान्स गएकी छिन् । यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३औं स्थानमा छ । नेपाल १०५ औं स्थानमा छ ।

    जोर्डन २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप र तीनपटक एसियन गेम्स खेलेको टीम हो । नेपालले भने अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली खेलकुद हो । जोर्डनलाई पराजित गर्न सके इतिहासमै नेपालले पहिलो ऐतिहासिक उपाधी जित्ने छ । जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी सावित्रा फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेको छ ।

  • प्राधिकरणले ६ महिनामै कमायो १५ अर्ब नाफा

    प्राधिकरणले ६ महिनामै कमायो १५ अर्ब नाफा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को ६ महिनामै १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा कर कटौतीअघिको हो । प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७९–८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो भने गत आर्थिक वर्ष भरिको खुद नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

    प्राधिकरणले सार्वजनिक गरेको चालु आवको ६ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको छ । सो आम्दानीबाट विद्युत् खरिद, प्रशासनिक लगायत खर्च ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ छ ।

    आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

    ‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौं, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरुमा हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने । विद्युतमा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०–१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्ने र नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र नपुग्ने उनले बताए ।

    प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद भएको छ । प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात भएको छ । प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ ।

  • उपनिर्वाचन : मतदाता नामावली प्रकाशन फागुन २८ मा

    उपनिर्वाचन : मतदाता नामावली प्रकाशन फागुन २८ मा

    काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि फागुन २८ गते मतदाताको नामावली प्रकाशिन गरिने भएको छ।

    निर्वाचन आयोगले बुधबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो। २०८० फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ।

    मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्ठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत ५ गतेसम्मको अवधि निर्धारण गरिएको आयोगले जनाएको छ। यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिनेछ।

    अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली २०८० चैत २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    इलाम २ र बझाङको प्रतिनिधिसभा–१ को प्रदेशसभा (क) मा वैशाख १५ गते मतदान हुने कार्यक्रम छ।

  • ‘मिटरब्याज र सहकारी पीडितका समस्या समाधानमा सरकार गम्भीर छ’- प्रधानमन्त्री

    ‘मिटरब्याज र सहकारी पीडितका समस्या समाधानमा सरकार गम्भीर छ’- प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।

    राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले सरकार पीडितप्रति गम्भीर भएकाले उच्चस्तरीय आयोग गठनका साथै ऐन निर्माण गरेर समाधानमा पहल गरिरहेको बताए। उनले यसै सन्दर्भमा केही मुद्दा अदालतले फुकाइदिनुपर्ने खालका भएकाले सरकारले अदालतलाई त्यसको संवेदनशीलतालाई ध्यान दिएर सहजीकरण गरिदिन आग्रह गर्ने बतारे ।

    प्रधानमन्त्री दाहालले भने, ‘समस्या सरकारका कारणले नभई कानुनीरुपमा आएको छ । यो समस्याको समाधानका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । पुराना कागज र तमसुकका आधारमा भएका कारोबारमा कानुन पीडककै पक्षमा हुन सक्ने भएकाले यसको प्रकृतिअनुसार सरकार र अदालतले मिलेर समाधान गर्नुपर्नेछ ।’

    ती क्षेत्रका पीडितहरूले विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् । प्रधानमन्त्री दाहालले ती विषयमा आजै सम्बन्धित निकाय र पक्षसँग वार्ता भएको पनि जानकारी दिए ।

    समितिका सदस्यहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको सुरु विन्दुको जग्गा विवादमा सहमति नभए विकल्प खोजर निर्णय गर्ने, सुनकोसी मरिन डाइभर्सनको निर्माण अघि बढाइने, गोर्खा भर्तीमा रहेका नेपालीका समस्या समाधानका लागि पहल गर्ने, रुसका सेनामा अवैध बाटोबाट गएका नेपालीलाई चाँडो उद्धार गर्ने, निजामती कर्मचारी विधेयक पेस गर्नेलगायत विषयमा सरकारले योजना बनाएर काम गरिरहेको जानकारी गराएका थिए ।

    प्रधानमन्त्री दाहालले समितिका निर्देशनहरू प्राथमिकतामा राखी आगामी १६औँ योजना, सरकारका नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बोधन गर्न सम्बन्धित निकायमा निर्देशन दिएको पनि अवगत गराए । उनले संसद्मा बजेटको अभावमा काम हुन नसक्ने स्थितिको अन्त्यका लागि पनि अर्थ मन्त्रालयलाई अवगत गराइएको बताउँदै आगामी दिनमा त्यस्तो अवस्था हुन नदिने बताए ।

    बैठकमा समितिका सभापति दिलकुमारी रावल (पार्वती)ले समितिले राष्ट्रिय सरकारका क्षेत्रमा दिएका निर्देशनहरु, तीन तहका सरकारबीचको समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार, परराष्ट्र, पीछडिएका क्षेत्र, समुदाय, राष्ट्रिय गौरवका आयोजना, संस्कृति, राष्ट्रिय सुरक्षा र संवैधानिक अयोगलगायत विषयमा दिइएका निर्देशनबारे स्मरण गराएकी थिइन् ।

  • माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

    माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

    काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

    नेपाली कांग्रेसबाट कृष्ण सिटौलालाई अघि सार्ने चर्चाबीच बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।

    साथै आउँदो चुनावमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय गरेको छ । राष्ट्रिय सभा अध्यक्षमा सत्ता साझेदार नेपाली कांग्रेसले दाबी गरिरहेको छ। कांग्रेसका नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउनेगरी उम्मेदवार बनाइएको नेताहरुले बताइरहेका छन्।
    माओवादीले अध्यक्ष छाड्न नहुने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन्।

    राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते हुँदै छ।

  • भारतले अन्तरिक्षमा मानव चालित यान पठाउँदै, वायुसेनाका चार चालक छानिए

    भारतले अन्तरिक्षमा मानव चालित यान पठाउँदै, वायुसेनाका चार चालक छानिए

    काठमाडौं । भारतले आगामी वर्ष अन्तरिक्षमा पहिलो मानवचालित यान पठाउने भएको छ । अन्तरिक्षयात्रा गर्न योग्य चार जनाको नाम सार्वजनिक भएको छ । उनीहरू भारतीय वायुसेनाका विमानचालक हुन्। गगनयान नामक उक्त अन्तरिक्षयानमा तीमध्ये तीन जनालाई अन्तरिक्षयात्रीका रूपमा पठाउने भारतको लक्ष्य छ। उक्त यान ४०० किलोमिटरमाथि पृथ्वीको कक्षमा पुग्ने र तीन दिनपछि फिर्ता हुने छ। भारतीय अन्तरिक्ष निकाय इसरोले उक्त उडानको तयारीका क्रममा परीक्षणहरू गरिरहेको छ। इसरोले गत अक्टोबरमा रकेटमा समस्या उत्पन्न भए चालकहरूलाई सुरक्षित रूपमा बाहिर निस्किन सक्ने उपाय सिकाउने एउटा मुख्य परीक्षण गरेको थियो।

    त्यसको सफलतापछि इसरोले सन् २०२५ मा मानवसहितको अन्तरिक्षयानलाई पठाउनुअघि एउटा रोबटलाई यसै वर्ष अन्तरिक्षमा पठाउने जनाएको थियो।
    दक्षिण भारतीय सहर तिरुवनन्तपुरमस्थित इसरो केन्द्रमा मङ्गलवार आयोजित एउटा कार्यक्रममा छानिएका चार अन्तरिक्षयात्रीहरूको प्रशंसा गरिएको थियो।
    उनीहरूलाई स्वप्नद्रष्टा, साहसिक, अन्तरिक्षमा जाने तयारीमा रहेका वीर पुरुष भनिएको थियो। ग्रूप क्याप्टेन प्रशान्त बालाकृष्णन नायर, ग्रूप क्याप्टेन अजित कृष्णन, ग्रूप क्याप्टेन अङ्गद प्रताप र विङ कमान्डर शुभांशु शुक्ल चारै जना भारतीय वायुसेनामा कार्यरत छन्।

    प्रधानमन्त्री नरेन्द्र मोदी र इसरो प्रमुख एस सोमनाथले उनीहरूको नाम घोषणा गरेका थिए। मोदीले ती चार जनालाई भारतको गौरव भनेका छन्। मोदीले भने, “यी चार नाम वा चार मानिसहरू मात्र होइनन्। एक सय ४० करोड आकाङ्कालाई अन्तरिक्षमा लैजाने शक्ति हुन्। म बधाई दिन्छु र सफलताको कामना गर्छु।”

    अधिकारीहरूले वायुसेनाका पाइलटमध्येबाट उनीहरूलाई छानिएको र सूचीमा पर्नुअघि उनीहरूको कडा शारीरिक र मनोवैज्ञानिक परीक्षण गरिएको बताएका छन्। उनीहरूले रुसमा गएर १३ महिनासम्म कठिन तालिम लिएका थिए र अहिले स्वदेश फर्केर पनि त्यसको निरन्तरता दिएका छन्। उक्त कार्यक्रममा प्रस्तुत भिडिओमा पनि उनीहरूले व्यायाम गरेको, पौडी खेलेको र योगाभ्यास गरेको देखिएको थियो।
    गगनयान भारतको मानवयात्री सवार हुने पहिलो अन्तरिक्ष अभियान हो। त्यसका लागि इसरोले ठूलो तयारी गरिरहेको छ। गगनयान परियोजनाको कुल लागत करिब ९० अर्ब भारतीय रुपैयाँ छ। यदि यो सफल भएमा भारत सोभियत सङ्घ, अमेरिका र चीनपछि अन्तरिक्षमा मानव पठाउने चौथो देश बन्ने छ। गत वर्ष भारतले अन्तरिक्षमा एउटा प्रमुख यात्रा गरेको थियो। अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुवनजिकै आफ्नो यानको सफल अवतरण गराएर भारतले नयाँ इतिहास बनाएको थियो।

    त्यसको केही सातापछि नै भारतले आदित्य(एलवन नामक सूर्यको अध्ययन गर्ने पहिलो यान अन्तरिक्षमा पठाएको थियो। त्यो यानले अहिले पनि सूर्यको अध्ययन गरिरहेको छ। भारतले अन्तरिक्षसम्बन्धी महत्वाकाङ्क्षी नयाँ योजनाहरू पनि घोषणा गरेको छ। उसले सन् २०३५ सम्ममा अन्तरिक्ष स्टेशन स्थापना गर्ने र २०४० सम्ममा चन्द्रमामा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखेको छ।

    BBC

  • चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

    चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

    काठमाडौं । चन्द्रमामा अवतरण गरेको जापानी अन्तरिक्षयानको ल्यान्डर यान त्यहाँ चिसो सकिएसँगै ब्यूतिएको छ । यसले यान सक्रिय रहेको सङ्केत प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार ऊर्जा प्रणालीमा समस्या उत्पन्न भएपछि र चन्द्रमामा रात परेपछि उक्त ल्यान्डरले काम नगर्ला कि भन्ने डर जापानी अन्तरिक्ष निकाय (जाक्सा)लाई थियो ।

    जाक्साका अनुसार चन्द्रमामाा रात सकिएपछि स्लिमलाई पृथ्वीबाट निर्देशन दिइएको र त्यसले पठाएको प्रतिक्रिया पनि प्राप्त भएको बताइएको छ । चन्द्रमामा हुने रातको अवधि पृथ्वीमा दुई साताजति हुन्छ। रात पर्दा चन्द्रमामा निस्पट्ट अन्धकार हुन्छ र तापक्रम पनि निकै घट्छ।

    गत महिना चन्द्रमामा अवतरण गर्दा गर्दा उक्त ल्यान्डर उत्तानो अवस्थामा थियो। त्यसमा जडित सौर्य प्यानलहरू सूर्यतिर नफर्किएकाले ऊर्जा प्रणालीमा सङ्कट उत्पन्न भएको थियो। त्यसैले स्लिमलाई निष्कृय अर्थात् ,स्लीप मोड मा राखिएको थियो। सूर्यको प्रकाश अर्को दिशाबाट प्राप्त भएपछि उक्त यानले पृथ्वीमा तस्बिरहरू पठाउन सकेको थियो। तर चन्द्रमामा रात परेपछि फेरि त्यसलाई बन्द गरिएको थियो। जाक्साका अनुसार स्लिम को निर्माण कठोर चन्द्ररात्रिमा हुने अवस्था खप्ने गरी भएको थिएन।

    त्यतिबेला उक्त निकायले चन्द्रमामा फेरि सूर्योदय भएपछि मध्यफेब्रुअरीदेखि स्लिमका सौर्य प्यानलमा प्रकाश पर्ने र उक्त ल्यान्डरलाई फेरि सञ्चालन गर्न प्रयास गर्ने जनाएको थियो। चन्द्रमामा दीर्घकालीन रोबटिक वा मानवसहितको अभियान चलाउने हो भने चन्द्रमाको रातमा जोगिनु भनेको एउटा ठूलो प्राविधिक चुनौती पार गर्नु हो। स्लिम चन्द्रमाको मध्यरेखानजिकै ओर्लिएको थियो।

    यस स्थानमा मध्याह्नतिर तापक्रम १०० डिग्री सेल्सिअस पुग्छ तर राति ह्वात्तै झरेर माइनस १३० डिग्री हुन्छ। अवतरण गरेको केही समयमै ल्यान्डरसँगको सञ्चारसम्पर्क विच्छेद गरेको जानकारी जाक्साले दिएको थियो। त्यतिबेला त्यहाँ मध्यदिन थियो र सञ्चार गर्न प्रयोग हुने उपकरण निकै तातेको थियो।

  • त्रिकोणात्मक टी–२०आई सिरिज : आज नेपाल र नेदरल्याड्स भिड्दै

    त्रिकोणात्मक टी–२०आई सिरिज : आज नेपाल र नेदरल्याड्स भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ ।

    पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । जान निकोल लोफ्टी एटनले ३६ बलमा १०१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमै शतक हान्दै टी(२० आई इतिहासकै छिटो १ सय रन पूरा गरेका थिए । कुशल मल्ललको ३४ बलको कीर्तिमान तोडेका थिए ।


    नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आई ९ खेल भएका छन् । नेपालले चार खेल जितेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए ।

  • वाफ च्याम्पियनसिप : नेपालको उत्कृष्ट पुनरागमन जित

    वाफ च्याम्पियनसिप : नेपालको उत्कृष्ट पुनरागमन जित

    काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको उत्कृष्ट गोलमा लेवनानविरुद्ध २(१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनल पुगेको छ । नेपालले उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्ने भएको छ । जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन जित निकाल्न सफल भयो । खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो । डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।

    दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्‍यो । ७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । जारी प्रतियोगितामा नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राको यो नवौं गोल हो । उनले पहिलो खेलमा सिरियाविरुद्ध १ गोल गरेकी थिइन् भने त्यसपछि इराकविरुद्ध ५ र प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् ।

    निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सीधै गोलमा परिणत भयो । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । बिहीबार उपाधी भिडन्त हुनेछ ।

  • रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई किन हटायो ?

    रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई किन हटायो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन प्रदेशमा महामन्त्री हटाएको छ। त्यस्तै कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा निलम्बनमा परेका छन्।
    बागमती प्रदेशकी महामन्त्री जिता बरालले कार्य(व्यस्ततालाई कारण देखाउँदै महामन्त्रीको भूमिकाबाट बहिर्गमित भएको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बराल २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार थिइन्। सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीले पनि आफैं बिदा लिएको बुर्लाकोटीले जानकारी दिए। जोशी केन्द्रीय विधेयक मन्थन विभागका सदस्यसमेत छन्।


    कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाले इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भोगचलन गरेर भाडा नतिरेको विषय बाहिर आएकाले निलम्बन गरिएको बुर्लाकोटीले बताए। थापा २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारसमेत थिए।

    गण्डकी प्रदेशका महामन्त्री अशोक खड्का भने कार्यसम्पादन मूल्यांकनमा कमजोर ठहरिएको बुर्लाकोटीले बताए। रास्वपाले कर्णाली प्रदेशको कमिटी नै विघटन गर्ने निर्णय गरेको छ। गत फागुन ६ गते बसेको सचिवालय बैठकले कर्णालीको प्रदेश कमिटी विघटन गरेर तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो। त्यहाँको प्रदेशदेखि जिल्ला हुँदै वडा तहको सम्पूर्ण संरचना विघटन गरिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए।

  • धितो मूल्यांकन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परे बैंकरसहित १० जना

    धितो मूल्यांकन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परे बैंकरसहित १० जना

    काठमाडौं । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा १० जना बैंकर पक्राउ परेका छन् उनीहरुलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो ।

    उनीहरुले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईं र उनको कम्पनीलाई १ अर्ब १४ करोड रुपैयाँको धितो राखेर २ अर्ब ११ करोड बढीको ऋण दिएको सीआईबीले जनाएको छ । उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐनअनुसार अनुसन्धानका लागि ७ लिन हिरासतमा राख्न अनुमति दिएको छ । सेञ्चुरी बैंक हाल प्रभु बैंकमा गाभिएको छ र न्यौपाने प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत छन् ।

  • प्राधिकरणले भन्यो -‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

    प्राधिकरणले भन्यो -‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न उचित नहुने निष्कर्ष निकालेको छ।

    प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो।

    मेयर साम्पाङको आग्रहपछि मन्त्री किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएका थिए । त्यही अध्ययन समितिले दिएको सुझावका आधारमा प्राधिकरणले मंगलबार धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएको हो ।

    आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत धरानमा विमानस्थल निर्माण सम्भव नहुने प्राधिकरणले बताएको छ।

    नजिकै विराटनगरमा विमानस्थल रहेकाले पनि धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने प्राधिकरणको भनाइ छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।

  • सिंहदरबार आसपास फुटपाथमा हिँड्न निषेध

    सिंहदरबार आसपास फुटपाथमा हिँड्न निषेध

    काठमाडौं । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि प्रहरीले सिंहदरबार आसपास फुटपाथमा हिँड्न पनि निषेध लगाएको छ । सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

    लघुवित्तका ऋणीको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन आसपास हिँड्न रोक त लगाइएको छैन, तर समूहमा हिँड्न भने प्रहरीले दिएको छैन । पर्खाल नजिकबाट हिँड्न पनि सुरक्षाकर्मीले रोक लगाएका छन् ।

  • रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

    रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्नो देशका ३१,००० सैनिकको ज्यान गइसकेको पुष्टी गरेका छन् । उनले रुसलाई सैन्य योजना बनाउन सहयोग पुग्न सक्ने भनी घाइतेहरूको सङ्ख्या भने सार्वजनिक गरेनन्। सामान्यतया युक्रेनले मृत्युको सङ्ख्या सार्वजनिक गर्दैन र अन्य स्रोतहरूले हाल बताइएको भन्दा धेरै जनाले ज्यान गुमाइसकेको अनुमान गरेका छन्।

    अमेरिकी अधिकारीहरूले गत अगस्टमा ७०,००० सैनिक मारिएको र १,२०,००० मानिस घाइते भएको तथ्याङ्क अगाडि सारेका थिए। तर युक्रेनी रक्षामन्त्रीले हालै पश्चिमा शक्तिले प्रतिबद्धता गरेको सहायताको आधा परिमाण प्राप्त हुन ढिला भइरहेकाले आफ्नो देशले जनधन र भूभाग गुमाउनु परिरहेको बताएसँगै यो तथ्याङ्क सार्वजनिक गरिएको छ।

    जेलेन्स्कीले रुसले युक्रेनले भोगेको मानवीय क्षतिको अतिरञ्‍जित तथ्याङ्क फैलाएकोले आफूले अद्यावधिक जानकारी दिएको बताए। यस युद्धमा ३१,००० युक्रेनी सैनिकहरूको मृत्यु भएको छ, ३,००,००० वा १,५०,००० वा पुटिन र उनका सहयोगीहरूले बताउँदै आएजस्तो अन्य कुनै मिथ्या सङ्ख्या होइन। तर मारिएको हरेक व्यक्ति हाम्रो लागि ठूलो क्षति हो। तर उनले रुसले कब्जा गरेको क्षेत्रहरूमा हजारौँ सर्वसाधारणको मृत्यु भइसकेको र ठ्याक्कै सङ्ख्या थाहा हुन नसकेको पनि बताए।

    उनले भने, ‘मलाई थाहा छैन कति मरे, कतिलाई मारियो, कतिलाई यातना दिइयो, कतिलाई निकाला गरियो।’ फेब्रुअरीमा ब्रिटेनको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ३,५०,००० रुसी सैनिकहरू मरिसकेको वा घाइते भएको बताएको थियो। राष्ट्रपति जेलेन्स्कीले यो सबै जानकारी उनका रक्षामन्त्री रुसटम उमेरभले पश्चिमा मित्रराष्ट्रहरूले सैन्य सहायता प्रदान गर्न ढिलाइ गरेको भनी असन्तुष्टि पोखेपछि प्रस्तुत गरेका हुन्।

  • वाफ महिला च्याम्पियनसिप : फाइनल यात्राका लागि नेपालले लेवनानको सामना गर्दै

    वाफ महिला च्याम्पियनसिप : फाइनल यात्राका लागि नेपालले लेवनानको सामना गर्दै

    काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ। नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो ।

    नेपाल र लेबनानबीच हुने सेमिफाइनलको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहमा रहेको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ । आजै हुने अर्को सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोलीले उपाधिका लागि पर्सि बिहीवार खेल्नेछन् ।

  • दुधको भुक्तानीमा किन प्रधानमन्त्रीले ताकेका गर्नु परेको हो ?

    दुधको भुक्तानीमा किन प्रधानमन्त्रीले ताकेका गर्नु परेको हो ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले सोमबार बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिएका हुन् ।


    प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी पनि तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्रीले किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारणबारे चासो राखेका थिए । उनले भुक्तानी नपाउने अवस्थालाई गम्भीरतापूर्वक लिन र त्यसैअनुसार संस्थान तथा निजी क्षेत्रबाट गर्नुपर्ने आवश्यक सहजीकरण गर्न पनि निर्देशन दिए ।

    दूध उत्पादकसहित विभिन्न १५ वटा किसान सङ्गठन अहिले आन्दोलनमा छन् । आफूहरुका माग सरकारले सम्बोधन नगरेको भन्दै उनीहरुले गएको बिहीवार आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् । किसान सङ्गठनले संयुक्त रुपमा १६ वटा माग राखेका छन् ।

    उनीहरुले दूधको भुक्तानी गर्न बाँकी वक्यौता रकम तत्काल भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्न, भारतबाट दूध र दूधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दूधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न, बिक्री नभएको दूधलाई पाउडर बनाई मिल्क होलिडे हुनबाट रोक्न, नेपाली किसानले उत्पादन गरेको दूध नेपाली सेना, नेपाल प्रहरीलगायतका निकायहरुले अनिवार्य खरिद गर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

  • संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै

    संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै

    काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदैछ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने परिवार स्रोतले जनाएको छ । आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतासहितले श्रद्धाञ्जली व्यक्त गरेका छन् । १९९९ साल असोज १६ मा धनकुटामा जन्मिएका आचार्यको सोमबार निधन भएको हो ।

    १६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय भक्तराज आचार्यका झण्डै साढे चार सय गीत रेकर्ड भएका छन् । आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायतका गीतमा आवाज दिएका छन् । आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् । दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशील छन् ।

  • त्रिकोणात्मक टी-२० आई सिरिज: आज नेपाल र नामिविया भिड्दै

    त्रिकोणात्मक टी-२० आई सिरिज: आज नेपाल र नामिविया भिड्दै

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत पहिलो खेल नामिबियासँग आज खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुने भएको छ । नेपालले टी–२० टोलीमा केही खेलाडी परिवर्तन गरेको छ । नामिबियाले आईसीसी विश्वकप लिग २ खेलेकै टीमाई निरन्तरता दिएको छ । लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया उच्च मनोबलसहित मैदान उत्रिने छ । नेपाल र नामिबियाबीच पहिलो पटक टी २० आई खेल हुँदैछ । त्रिकोणात्मक सिरिज नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच हुनेछ ।

  • भजन शिरोमणी भक्तराज आचार्य रहेनन्

    भजन शिरोमणी भक्तराज आचार्य रहेनन्

    काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षिय संगीतकार आचार्यको सोमबार अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । कालजयी गीतका गायक तथा संगीतकार भक्तराज आचार्य ३० वर्षदेखि क्यान्सरसँग जुधिरहेका थिए । यस अवधिमा उनले ठोस खानेकुरा समेत खान पाएका थिएनन् । उनले दूध जस्ता झोलिलो कुरा खाएरै बिताउनु परेको थियो । आचार्यको निधनसँगै नेपाली संगीत क्षेत्रले अग्रज पुस्ताका एक दरिलो धरोहरलाई गुमाएको छ । उनी स्वरसम्राट नारायणगोपाल, प्रेमध्वज प्रधानका समकालीन हुन् ।

    मुटु जलिरहेछ यो मन गलिरहेछ, तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ जस्ता अमर गीतले नेपाली संगितको श्रीवृद्धिमा उनको अतुलनीय योगदान रहेको छ । १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको परिवार त्यस समय पूर्वी नेपालमा महामारी फैलिएपछि भारतको कालिम्पोङ डुम्सीपाडामा बसाइँ सरेको थियो । पारिवारिक अवस्था राम्रो नभए पनि गायक बन्ने सपना बोकेर काठमाडौं आएका उनले त्यसपछि भने व्यवसायिक संगितमा रमाउन थालेका थिए ।

    उनको पार्थिव शरिरलाई मंगलबार बिहान ९ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने र ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । सोमबार बेलुका ट्वीट गर्दै राष्ट्रपतिले आचार्यको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । दुःखको घडीमा स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत राष्ट्रपतिले व्यक्त गरेका छन् ।

  • उपनिर्वाचन कार्यतालिका: चैत २४ गते उमेदवारी दर्ता

    उपनिर्वाचन कार्यतालिका: चैत २४ गते उमेदवारी दर्ता

    काठमाडौं । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

    जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ । फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

    २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ । १५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

  • आगामी बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस

    आगामी बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् ।

    आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

    सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्‍मा पेस गरेको हो ।

    बजेट पेस गर्नु १५ दिनअघि बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुपर्ने व्यवस्था थियो। तर, अहिले ऐन संशोधन गरेर बजेट सार्वजनिक गर्नुभन्दा ३ महिनाअघि नै संसद्मा पेस गरिएको हो।

    अर्थमन्त्री प्रकाशशरण महतले यथेष्ट छलफल गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरे अनुसार नै सिद्धान्त र प्राथमिकता पेस गरिएको जानकारी गराए।

    ‘नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले बजेट तथा कार्यक्रमको बारेमा छलफल गर्न यथेष्ट समय उपलब्ध गराउने बताउनुभएको थियो,’ उनले भने।
    प्रधानमन्त्रीको नै आग्रहमा यस वर्षको बजेट निर्माणका लागि क्यालेन्डर केही परिवर्तन गर्ने नीति सरकारले लिएको थियो।

    उक्त प्रस्तावमाथि छलफल गर्न सभामुख देवराज घिमिरेले सात दिनको समय तोकेका हुन् । बैठकमा उनले सो प्रस्तावमाथि यही फागुन २१, २२, २३, ३० र चैत १, २ र ४ गते छलफल हुने जानकारी गराएका हुन् ।

    दलीय आधारमा छलफल गरिने भएकाले छलफलमा भाग लिने आ–आफ्ना वक्ताको नाम बैठक शुरु हुनुभन्दा एक घण्टा अगाडि नाम टिपाउन उनले भनेका छन् ।

    साथै सभामुख घिमिरेले छलफलका क्रममा सांसदहरुले दिएको सुझावको टिपोट गर्न अर्थ मन्त्रालय र संघीय संसद सचिवालयलाई पनि निर्देशन दिएका छन् ।

    यसैका लागि भनेर सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरेको हो।

  • विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

    विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं । संसद्‌मा उठेका विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारकारलाई रुलिङ गरेका छन्।

    आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन) मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।

    भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तीको माग राख्दै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो ।

  • अर्थतन्त्र सुधार्न निजी क्षेत्रले गुहारे प्रधानमन्त्री

    अर्थतन्त्र सुधार्न निजी क्षेत्रले गुहारे प्रधानमन्त्री

    काठमाडौं । वाह्य क्षेत्र सुधार हुँदै गएपनि बजार चलायमान हुन नसकेको भन्दै निजी क्षेत्रले प्रधानमन्त्री गुहारेको छ । अर्थतन्त्र अझै पनि जोखिममा रहेको निजी क्षेत्रले बताएको छ । आइतबार व्यावसायिक वातावरण निर्माण गर्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आग्रह गरेका हुन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन्द्र मल्लले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका बारे जानकारी लिन तिनै संस्थाका अध्यक्षलाई बोलाएका थिए । न्यून मागका कारण औसतमा उद्योगहरु ४० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेको भन्दै निजी क्षेत्रले कोभिड–१९ पछिको तीव्र विस्तार व्यवस्थापन गर्न नसक्दा अपनाइएका नीतिले भुक्तानी सन्तुलन र विदेशी वनिमय संचितिमा उच्च सुधार भएपनि बजारमा कारोबार सुस्ताएको बताएका छन् । सरकार र अन्य नियामक निकायहरुको नीतिका कारण अर्थतन्त्रमा साना व्यवसायीबाट सुरू भएको समस्या बैंक वित्तिय संस्थामा पुगिसकेको समेत निजी क्षेत्रको गुनासो छ ।

    बैंक वित्तीय संस्थापछि यसको असर सरकारको राजस्वमा समेत परिरहेको तर्फ निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको हो । ‘न्यून माग छ, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रतिकूल छ र आयोजना निर्वाध रुपमा चलाउन सकिएको छैन,’ महासंघ अध्यक्ष ढकालले भेटमा भने, ‘सरकार समस्या समाधानका लागि तप्पर हुनैपर्छ ।’ उनले बजारमा माग बढाउन सरकारले पूँजीगत खर्च बढाउनुपर्ने, गाउँ र साना सहरमा रकम प्रवाह हुने गरी पुनर्कर्जा लगायतको कर्जा सुविधा विस्तार गर्नुपर्ने सुझाव दिए ।

    अख्तियार, सतर्कता केन्द्र जस्ता निकायले निजी क्षेत्रलाई हेर्ने प्रावधान न्यायसंगत नभएको हुँदा प्रस्तावित विधेयकहरुबाट यसलाई हटाउनुपर्ने बताए ।
    व्यवसायीको सम्मानका लागि निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्नुपर्ने माग अध्यक्ष ढकालले राखेका छन् । भेटमा परिसंघका अध्यक्ष अग्रवालले व्यवसायीहरुलाई निर्वाध काम गर्ने वतावरण हुनुपर्ने बताए । ‘भारतमा व्यवसायिक कसुरमा जेल जाने प्रावधान हटाएर जरिवाना बढाइएको छ,’ उनले भने, ‘यहाँ भने व्यवसायी आतंकित छन्, यस्तो व्यवस्थामा सुधार आवश्यक छ ।’

    अध्यक्ष अग्रवालले पूँजीगत लाभकरमा लाग्दै आएको दोहोरो कर हटाउनुपर्ने, धेरै निकायले निजी क्षेत्रलाई हेर्ने व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण पनि आवश्यक रहेको बताए । चेम्बर अध्यक्ष मल्लले घरजग्गा र सेयर कर्जामा रहेको जोखिम भारको व्यवस्थालाई एक सय प्रतिशतमा झार्नुपर्ने बताए । ‘अहिले १२५ प्रतिशत जोखिम भार छ,’ उनले भने, ‘यसलाई एक सय प्रतिशतमा घटाउन सके बजारमा माग बढछ । यसैगरी चालु पूँजी कर्जाको विषय बैंक र ऋणीले नै तय गर्न सक्ने गरी छुट दिइनुपर्ने उनको भनाइ छ ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको सुझाव अनुरुप अर्थतन्त्र सुधारका लागि सरकारले पहल गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र र सरकारी परियोजनाको काम समयमै सक्न सरकारले पहल गर्ने बताए । भेटमा नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल समेत उपस्थित थिए ।

  • त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टीम घोषणा

    त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टीम घोषणा

    काठमाडौं । मंगबारदेखि काठमाडौंमा सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० सिरिजका लागि नेपालले टिम घोषणा गरेको छ। विनोद भण्डारी, प्रतिश जिसी, बिबेक यादव, रशिद खान, सागर ढकाल र अभिनास बोहरा टिममा समेटिएका छन् । उनीहरु एकदीवसीय सिरिजमा थिएनन् । अन्य खेलाडी एकदिवसीय सिरिज खेलेका छन् ।

    एकदिवसीय टिममा रहेका पवन सर्राफ, सूर्य तामाङ, भीम सार्की र देव खनाललाई टी २० सिरिजमा राखिएको छैन । सिरिजमा पहिलो खेल नेपाल र नामिबियाबीच मंगलबार हुनेछ। बुधबार नेपाल र नेदरल्यान्ड्स भिड्नेछन्। नेपालले नामिबियासँग शुक्रबार र शनिबार नेदरल्यान्ड्ससँग फेरि खेल्नेछ। फाइनल फागुन २२ गते मंगलबार हुनेछ। सबै खेल त्रिवि मैदानमा विहान साढे ११ बजे सुरु हुनेछन्।

  • एम्बुलेन्समा गरिन्छ गाँजा तस्करी

    एम्बुलेन्समा गरिन्छ गाँजा तस्करी

    काठमाडौं । एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको भेटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेका हुन् । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएका छन् । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुने गरेको फाइदा उठाउँदै गाँजा तस्करी भएको हो ।

    धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएको पाइएको छ । दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिइएको छ । केही दिनअघि गाँजा तस्करीमा प्रयोग भएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

    ९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले दिए । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले को१च २९३७ नम्बरको एम्बुलेन्समा गाँजा बरामद गरेको थियो । चालक भने फरार छन् । सशस्त्रले बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

    यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो । शनिबार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    पूर्व पहाडी जिल्ला धनकुटामा व्यावसायीक रुपमा गाँजा खेती हुन्छ । धनकुटासँगै उदयपुर, भोजपुर, खोटाङ र सङ्खुवासभा पनि गाँजा खेती हुन्छ ।
    उत्पादित गाँजा मोटरसाइकल,एम्बुलेन्स, तेल बोक्ने ट्याक्टर, तरकारी बोक्ने गाडीलगायत साधन प्रयोग गरेर सुनसरी मोरङ हुँदै तस्करी हुने गरेको छ । प्रहरीका अनुसार सप्तकोशी नदीको ट्युबमा हालेर पनि गाँजा तस्करी हुने गरेको छ । प्रहरीले गत २ फागुनमा धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा लोड गरेको ५९४ किलो गाँजा बरामद गरेको थियो ।