Category: समाचार

  • महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

    महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् ।

    महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई यही फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर स्वास्थ्य विभागले गरेको पत्राचार अनुसार ४१ अस्पताल आबद्ध भएका हुन् ।

    आवद्ध ४१ अस्पतालमा कूल ३ हजार २३९ शय्या छन् । जसको १० प्रतिशत अर्थात् ३२३ वटा शय्या लक्षित वर्गका लागि रहेको महानगर स्वास्थ्य विभागकी निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन् ।

    स्वस्थ्य भएर बाँच्न पाउने तथा रोग लागेमा उपचारको सुविधा पाउने नागरिक अधिकार कार्यान्वयन गर्न विभिन्न चरणका प्रक्रिया पूरा भएको महानगरको भनाइ छ । आर्थिक रुपमा विपन्न र कोही नभएका व्यक्ति यस सेवाको लक्षित समूह हुन् । महर्जनले भनिन्, ‘लक्षित वर्गको सहजताकै लागि सबै अस्पताललाई उक्त प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ ।’

    लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा कामपाको प्रमुख बालेन्द्र साहकोे संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ । समितिमा महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य रहेका छन् ।

    उपचार प्रक्रियाका लागि बिरामीले वडालाई सिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने सिफारिस, वडाले गर्ने सर्जमिन, बिरामीलाई उपचार दिँदा भर्नुपर्ने फाराम, दैनिक रजिस्ट्रार, उपचार गर्ने बिरामी वा निजको आफन्तबाट प्राप्त गर्नुपर्ने विवरण, प्रतिवेदनका ढाँचा कार्यविधिको अनुसूचीमा राखिएका छन् । सेवा नेपालका जुनसुकै भागबाट आएका व्यक्तिलाई पनि तोकिएको मापदण्डबमोजिम उपलब्ध हुनेछ ।

    कसरी लिने निःशुल्क सेवा ?

    गरिबी परिचयपत्र भएका बिरामीले सोझै अस्पताल गई उपचार सेवा लिन सक्नेछन् । यदि गरिबी परिचयपत्र छैन भने बिरामीले कार्यविधिको अनुसूची–२ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची–५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिनुपर्छ । वडा कार्यालयबाट दिइने अनुसूची–४ बमोजिमको सर्जमिन र अनुसूची–३ अनुसारको सिफारिसपत्र लिई अस्पतालमा जानुपर्ने छ ।

    त्यस्तै, बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसका आधारमा निःशुल्क उपचार प्रदान गरिने, बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने तथा अन्योल भएमा सम्बन्धित वडाको सिफारिसपत्र लिई कामपा स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइ वा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सिधै सम्पर्क गर्न सकिनेछ ।

  • स्वयम्भू घटना: श्रीमती र दुई छोरीको हत्या, जंगलमा श्रीमान् गरे आत्महत्या !

    स्वयम्भू घटना: श्रीमती र दुई छोरीको हत्या, जंगलमा श्रीमान् गरे आत्महत्या !

    काठमाडौं । स्वयम्भूमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ। उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। मृत्यु हुनेमा ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ छन्।

    सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई छोराछोरीको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

    उनी पनि सितापाइला नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीस्रोतले बतायो। ईश्वरी राजुकी श्रीमती र अनिशा छोरी रहेको खुलेको छ । शिवानी भने राजुका भतिजाकी छोरी रहेको बुझिएको छ। राजुले घर बनाउने काम गर्दै आएको पाइएको छ ।

    तर के कारणले हत्या गरिएको र आत्महत्या भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

  • कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल

    कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज प्रतिवेदनहरुमा छलफल हुँदै छ । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक बिहान ९ बजे बस्दै छ । अघिल्लो बैठकमा पेस भएका प्रतिवेदनमाथि आज छलफल हुनेछ ।

    बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए । ती प्रतिवेदनहरुमा आजदेखि छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

  • नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल

    नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल

    काठमडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेको छ । नेपाल ब्याटिङमा उत्रिएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट समेत परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।

    नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए । नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।

  • ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी

    ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्न भनेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत् अदालतको फैसलाद्वारा सरकारको नाममा फिर्ता आएको ललिता निवासमा बनेका संरचना हटाउन महानगरले सूचना जारी गरेको हो।

    ‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने सम्बन्धी सार्वजनिक सूचना विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘अतः यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ।’

    यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाइने महानगरले बताएको छ। ‘सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकारवालालाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

  • आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै

    आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै

    काठमाडौं । नेपालले सन् २०२४ को आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेल र नामिवियासँग दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल यसअघि ३ फागुनमा भएको पहिलो खेलमा नामिवियासँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमै अल आउट भएको थियो ।

    तर दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै नेपालले शानदार पुनरागमन गरेको छ । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको हो । नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा छ । त्रिवि मैदानमा नै सोमबार भएको खेलमा नामिविया नेदरल्यान्ड्ससँग १२३ रनमा अल आउट हुँदै ७ विकेटले पराजित भएको थियो ।


    सुरुवाती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । पहिला ब्याटिङ गर्ने तीन टोली १४० रन भन्दा कम रनमा अल आउट भएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिवियाबीच ७ खेल भएका छन् । नेपाल २ खेलमा विजयी, ४ खेलमा पराजित र १ खेल नतिजा विहीन छ । त्रिविमा भने तीनमध्ये दुई खेलमा नेपाल विजयी भएको छ ।

  • नेपालको बैंकिङ क्षेत्र सवल छ : राष्ट्र बैंक

    नेपालको बैंकिङ क्षेत्र सवल छ : राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएको हो । ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ’, राष्ट्र बैंकले मंगलबार जारी विज्ञप्तीमा भनिएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण तथा सुपरीवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको पनि उल्लेख गरेको छ । बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अपिल गरेको हो ।

    कानुनले दिएको जिम्मेवारी बैंक तथा वित्तीय संस्थाहरूमा नियमित रूपमा निरीक्षण र सुपरीवेक्षण गरिरहेको जनाएको छ । ‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही सञ्चालनमा रहने बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकबाट निरीक्षण र सुपरीवेक्षण भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    ‘पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पूँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको जनाएको छ । कुनै बैंक तथा वित्तीय संस्थामा पूँजीकोष, तरलता र सीडी रेसियो जस्ता परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको राष्ट्र बैंकले प्रस्ट पारेको छ ।

  • कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव

    कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राखेका हुन् ।

    ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छहा, मी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, थापाले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

    उनले आफ्नै संगठनलाई उर्जाशील बनाउँदै नागरिकको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनस्स्थापित गर्ने पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । यसअघि २०७९ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा धेरै क्षेत्रमा गठबन्धन गर्दा कांग्रेसका समर्थक र शुभेच्छुकले आफ्नो चुनाव चिह्नमा मतदान गर्न नपाएको महामन्त्री थापाले बताएका छन् ।

    संघ र प्रदेशको निर्वाचनमा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा र नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत हाल्न नपाएको उनले बताएका छन् । ‘यसरी एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न पाएनन् नै, अर्को तर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिड्नुपर्ने बाध्यात्मक अवस्था सृजना भयो’ थापाले भनेका छन् ।

  • नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा

    नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा

    काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । कप्तान सन्दीप जोराले ६६ रन बनाए ।

    अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए । १४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए ।

    रशिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।

    यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

  • वैदिक सनातन हिन्दूराष्ट्र नेपाल’ को पक्षमा शशांकको पनि हस्ताक्षर

    वैदिक सनातन हिन्दूराष्ट्र नेपाल’ को पक्षमा शशांकको पनि हस्ताक्षर

    काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ । बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको हो।

    जसमा मंगलबार कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका अभियानको पक्षधरले बताएका छन् । मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरेका छन्।

    कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए। महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्ने जनाएका छन्।

    महासमिति वैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले वैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन्।

    तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काले थालेको यो अभियानले २०७९ को त्रिवेणी महासमिति बैठक र २०७८ को काठमाडौं महासमिति बैठकमा पनि हस्ताक्षर संकलन गरेको थियो ।

  • लुम्बिनी प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    लुम्बिनी प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्ट, सांसद जानकी प्रसादसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले गरेको काठ कटानमा अनियमितता भएको दाबीसहित मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    मुद्दा दायर गरेकामा तत्कालीन वन अधिकृतहरू कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले छन् । सांसद जानकी प्रसाद यादव कपिलवस्तु-३ (२)बाट राप्रपाका निर्वाचित सांसद हुन्।

    अख्तियारले सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाईं, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसादसिंह राजपुत, फरेस्टर रामरक्षा कुर्मी (चौधरी)विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

    आर्थिक वर्ष २०७४/०७५ मा गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुसँग मिलेमतो गरेर बिक्री गरेको अभियोग उनीहरूमाथि छ । ८०३ वटा रुखहरू काट्दा त्यसबाट निस्किएको ३५ हजार ७ सय ७८ दशमलव १० क्यूफिट काठ र ४९.२३ क्विन्टल चट्टा दाउरा सङ्कलन गर्नुपर्नेमा नापजाँच मूल्यांकन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन सङ्कलन भएको देखाएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।

  • विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा

    विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा

    काठमाडौं । टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएर्को जानकारी दिए । टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो ।

    उक्त समितिले आज टोखा नगरपालिका-८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । उनले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए ।

    नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने बताएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमति करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए ।

    टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिका लागेको बताए ।

    संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । फ्लोरोसेन्ट स्कुल आसपासमा नदीको किनारा आसपासमा घर बनाएर बस्दै आएका स्थानीयले नगरपालिका र प्रहरीलाई ढुङ्गामुढासमेत गरेका थिए । नगरपालिकाले केहीदिन अघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो ।

  • मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै

    मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै

    काठमाडौं । न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाडौं आइपुग्दैछन् । धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाडौं छिर्ने तयारीमा छन् । पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । अनि १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । त्यसपछि काठमाडौंतर्फ लागेका हुन् ।

    मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ आएका थिए ।

    पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

    झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो । तर आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाडौंसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताए । पैदलयात्रा गरिरहेका पीडितहरु काठमाडौंको शान्तिबाटिकामा बस्ने तयारीमा छन् । सरकारले तीन वर्षदेखि आश्वासन दिए पनि माग पूरा नगरेको अध्यक्ष कुशवाहले बताए ।

  • दोलखामा भूकम्पको धक्का महसुस

    दोलखामा भूकम्पको धक्का महसुस

    काठमाडौं । दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज

    नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज

    काठमाडौं । नेपाल ए ले क्यानडा ११ सँग एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो । नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ ।

    स्पिनर शेर मल्ल, बायाँ हाते ब्याटर सुजन थपलिया, तीव्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल पहिलो खेलमा बेन्चमा थिए । हेमन्त र रिजनले क्यानडासँग ओडीआई खेल खेलेका थिए । स्पिनर शेर र ब्याटर सुजन आज रोजाइमा पर्न सक्छन् । पूर्ण रुपमा फिट नहुँदा आशुतोष घिरैया पहिलो खेला टोलीमा थिएनन् । उनी फिट हुँदा मौका पाउने सम्भावना रहन्छ । कप्तान विनोद भण्डारी, सन्दीप जोरा र विवेक यादव प्रमुख खेलाडी हुन् । अर्जुन कुमाल र प्रतिश जिसीबाट अझ आशा राख्नेछ ।

    मुलपानी पिच स्पिनर सहयोगी हुँदा साहब आलम र सागर ढकालको जोडी पुनः हाबी बन्न सक्छन् । पहिलो खेलमा अर्धशतक प्रहार गरेका बसिर अहमद राम्रो लयमा छन् । तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ । त्यसपछि क्यानडा युएई जानेछ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो । नेपालको सिनियर टोलीसँग तीन खेलको ओडीआई सिरिज समेत खेलेको थियो ।

  • प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ

    प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ

    काठमाडौं । आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै सडकमा गाडी चलाइरहेका व्यक्तिलाई अपशब्द बोल्ने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविण श्रेष्ठ रहेका छन् । गए राति लाजिम्पाटमा वीरगञ्जका अङ्कित गुप्तालाई क्षेत्रीयताकै आधारमा गालीगलौज गर्दै श्रेष्ठले अपशब्द प्रयोग गरेका थिए ।

    गाडी चलाउँदा आफैँले गल्ती गरेका श्रेष्ठले अङ्कितलाई उल्टै थर्काउँदै कुटपिटको समेत प्रयास गरेका थिए । उनलाई सार्वजनिक हित, मूल्य मान्यता र नैतिकताविरुद्धका कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । धम्काउने व्यक्ति प्रहरीका कर्मचारी नभएको पनि नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

  • सुरु भयो कांग्रेस महासमिति बैठक

    सुरु भयो कांग्रेस महासमिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् ।

    नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् । यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गर्ने तयारी छ । बैठकमा दुई हजार बढी प्रतिनिधिहरु सहभागी छन् ।

  • पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

    पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए । दुर्घटनाको कारण खुलेको छैन ।

  • वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?

    वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?

    काठमाडौं । वीरगन्जमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।

    रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो । वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

  • ई:को लुम्बिनी-सिंहदरबार पैदलयात्रा समापन

    ई:को लुम्बिनी-सिंहदरबार पैदलयात्रा समापन

    काठमाडौं । अभियन्त्रा ई: को लुम्बिनी-सिंहदरबार पैदलयात्राको समापन भएको छ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापन एवं साना उद्यमी र सहरी गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै लुम्बिनदेखि सिंहदरबार पैदलयात्रामा कलंकीबाट फुटपाथ व्यवसायीले साथ दिएका थिए ।

    चितवनको रामनगर हुँदै कुरिनटार, धादिङको गजुरी, नौबिसे कलंकी आइपुगेका ई: लाई कलंकीबाट सडक व्यापारीहरुले ठूलो संख्यामा मार्चपास गरेर थिए ।

    संविधानमा समाजवाद उन्मुख लेखिएको भए पनि देशभरका पालिकाले सडक व्यापारी, अनौपचारिक क्षेत्रको व्यवस्थापनका नाममा गरिबलाई बिना विकल्प विस्थापन गरिएकाले त्यसो नगर्न माग गर्दै ईः ले करिब २८५ किमि पैदलयात्रा गरेका थिए । ९ दिन लामो पैदलयात्रा आज सिंहदरबार पुगेर समापन भएको हो । कलंकीबाट भद्रकाली मन्दिरसम्म आएर अभियन्त्रा ईस् लगायतका २० मिनेट मौन बसेका थिए।

  • इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु

    इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु


    काठमाडौं । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल–हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् । इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका छन् ।

    प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल–अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ। गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा शनिबार कम्तीमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

    प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार इजरायली लडाकू विमानले मध्य गाजा पट्टीको नुसिरात, अल–जावैदा र देइर अल–बलाह क्षेत्रका घरहरूमा सशस्त्र छापा मार्दा सयौं मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् । उद्धारकर्ताहरूले ४० वटा शव उद्धार गर्न सक्षम भए भने अझै पनि दर्जनौं भग्नावशेषमुनि छन् । मृतक तथा घाइतेहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा राखिएको छ।

    हमासले गाजापट्टीको छेउमा रहेका इजरायली सहरमा आक्रमण गरेपछि इजरायलले लगातार पाँचौं महिना गाजा पट्टीमा ठूलो मात्रामा सैन्य कारबाही चलाएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार २०० इजरायलीको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी बन्धक बनाइएका थिए । बन्धकमध्ये करिब एक सयलाई युद्धविराम सम्झौताअन्तर्गत मुक्त गरिएको छ भने करिब ३० जनाको मृत्यु भएको र बाँकी अझै हमासको नियन्त्रणमा रहेको उल्लेख छ । रासस–सिन्ह्वा

  • त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस

    त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। प्रा. डा चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा डा. टंकनाथ धमलाको नाम उपकुलपतिका लागि सिफारिस भएको हो। सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

    उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा सर्टलिस्ट मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सिफारिस गरिएको हो। चित्रबहादुर बुढाथोकी त्रिवि शिक्षा संकायका डिन हुन् भने, केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति र टंकनाथ धमला त्रिवि गणित विभागका प्रमुख हुन्।

  • कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन

    कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशअन्तर्गतका सम्पूर्ण पार्टी कमिटी विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशको संगठनका गतिविधिका बारेमा गहन समीक्षा गरेको रास्वपाले जनाएको छ। ‘यस क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षका साथ कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

    उनकाअनुसार अभियानमा संसदमा कर्णालीका मुद्दाहरूलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरूलाई व्यापक रूपमा अगाडि बढाउने निर्णय भएको छ। आइतबारको बैठकले विभागमा उपप्रमुख र सदस्यहरू पनि मनोनीत गरेको छ।
    केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुखमा पवन देवकोटालाई मनोनीत गरेको छ। केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा मनोनीत भएका छन्। केन्द्रीय विधेयक मन्थन विभागमा भोजराज क्वालिटी सदस्य थपिएका छन्।

    केन्द्रीय मानव अधिकार विभागको सदस्यमा गणेश पौडेल सदस्यलाई मनोनीत गरिएका प्रवक्तासमेत रहेका ढकालले जानकारी दिए। केन्द्रीय संगठन विभागको सदस्यमा दीपक विश्वकर्मा थपिएको पनि उनले बताए। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बालीनाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा सांसद लैजान लागेकमा रास्वपाले त्यसको सट्टा विज्ञ पठाउन अनुरोध गर्ने निर्णय गरेको छ। ‘सांसद पठाउने भन्ने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सो अध्ययन भ्रमणमा सांसदको सट्टामा सम्बन्धित विज्ञलाई पठाउँदा उपयुक्त हुने देखिएकोले विज्ञ पठाउन अनुरोध गर्ने निर्णय गरियो,’ ढकालले भने।

  • पपुवा न्यू गिनीमा गोली हानेर ५३ जनाको हत्या

    पपुवा न्यू गिनीमा गोली हानेर ५३ जनाको हत्या

    काठमाडौं । पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो । यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा आइतबार भएको हो । समाचार एजेन्सी एपीका अनुसार घात लगाएर बसेकाहरुले एक्कासी आक्रमण गरेका थिए । एपीले यस राजधानीको प्रहरीलाई सोधिएको तर कुनै उत्तर नपाएको जनाएको छ ।

    बीबीसीले भने राष्ट्रिय प्रहरी प्रवक्ताले एंगा प्रान्तमा गोली हानेर मानिसहरुको हत्या भएको पुष्टि गरेको जनाएको छ । यसैगरी एबीसीले शवहरु प्रहरीको ट्रकमा राखेर ओसारिएको फोटो सार्वजनिक भएको जनाएको छ । दक्षिण प्रशान्त द्वीप राष्ट्र पपुआ न्यू गिनीमा सुरक्षा व्यवस्था चुनौतीको विषय बन्ने गरेको छ । गत जनवरी महिनामा पनि त्यहाँ १६ जनाको हत्या भएको थियो ।

    उक्त घटनापछि देशमा आपतकाल घोषणा गरिएको थियो भने केही सरकारी सुरक्षा अधिकृतहरु निलम्बनमा परेका थिए । पपआ न्यू गिनी विकासशील देशमा गनिन्छ । यहाँ ठूलो संख्यामा आदिवासी जनजातीहरुको बसोबास छ भने करिब ८०० भाषा बोलिन्छ ।

  • आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा

    आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ । सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम पनि तय भएको छ ।

    दिवसको दिन फागुन ७ गते नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै विगुल बजाएको थियो भने तोप र बन्दुकको बढाईंको कार्यक्रम पनि राखिएको छ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ । तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।

    गत गत माघ २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूल समारोह समितिको बैठकले दिवसलाई फागु ६, ७ र ८ गते तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको थियो । बैठकले घर(घरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन आह्वान समेत गरेको थियो ।

    दिवस मनाउन सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरिएको छ । काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गरिएको छ । साथै सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

  • तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । तनहुँमा जन्ती बस दुर्घटनामा कम्तिमा २ जनाको मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बरादी, हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो मृत्य हुने दुवै जनाको खनाखत भइसकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल-ए टीम क्यानडासँग पराजित

    नेपाल-ए टीम क्यानडासँग पराजित

    काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भयो । नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।

    नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए । यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

  • भीम उपाध्यायसहित ३ पूर्वसचिवविरुद्ध मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा

    भीम उपाध्यायसहित ३ पूर्वसचिवविरुद्ध मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १४ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    उनीहरु मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षको रुपमा भ्रष्टाचारमा मुछिएका हुन् । भ्रष्टाचार मुद्दा लाग्ने अन्यमा अर्थ मन्लयका तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी आयोजना विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, बोर्ड सदस्य रुद्रसिंह तामाङ, बोर्ड सदस्य चन्द्रबहादुर थापा रहेका छन् ।

    त्यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, समितिका तत्कालीन लेखा उपसचिव मणिभन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, लेखा अधिकृत रामचन्द्र न्यौपाने, निर्माणस्थलका इन्जिनियर तत्कालीन उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    परामर्शदाता एप्टिसा बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मा, निर्माण व्यवसायी एप्टिसा र बेट्स कन्सल्टिङ जेभी र अर्को निर्माण व्यवसायी सीएमसी डि रविनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

  • सरकारविरुद्ध अनेरास्ववियुले चरणबद्ध आन्दोलन गर्ने

    सरकारविरुद्ध अनेरास्ववियुले चरणबद्ध आन्दोलन गर्ने

    काठमाडौं । सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै (नेकपा एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

    काठमाडौंमा फागुन २ देखि ४ गतेसम्म बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । संगठनले विधानबमोजिम केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनीत गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

  • काठमाडौँ–तराई-मधेस द्रुतमार्गको काम कति सकियो ?

    काठमाडौँ–तराई-मधेस द्रुतमार्गको काम कति सकियो ?


    काठमाडौं । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई(मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०\८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए ।

    “ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ । केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन् । मुद्दा मामिलामा पनि गएका छन् । तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, उनले भन, खरिद प्रक्रियालाई लिएर पाटन उच्च अदालतमा दायर भएको मुद्दाको चाँडो निरूपण भएर काम अघि बढ्न सके तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ ।

    राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानुनी, प्रशासनिक तथा अरू कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुङ्ग्याउन सक्नुपर्ने पोखरेल बताउछन्
    करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा चार दशमलव छ, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा सात दशमलव छ किलोमिटर पर्दछ । आयोजनाको कूल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ । प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) को भने खरिद प्रक्रिया नै विवादित छ । पटक–पटक ठेक्का आह्वान गर्दा पनि यी चार प्याकेजको खरिद प्रक्रिया टुङ्गिन सकेको छैन । अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ \

    त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु विन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ । यही कारणले सो क्षेत्रमा आयोजनाको खरिद प्रक्रिया सुरु हुन सकेको छैन । अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको आयोजनाको अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङ बताउँछन् । खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन् । अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये चार दशमलव ३२५ किलोमिटर अर्थात् ६७ दशमलव ४३ प्रतिशत खन्ने काम सकिएको छ ।

    लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए । एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको उनको भनाइ छ ।

    महादेवटार सुरुङमार्गको लम्बाइ तीन दशमलव ३५५ किलोमिटरमध्ये हालसम्म एक दशमलव ९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ एक दशमलव ६३ किलोमिटरमध्ये हालसम्म एक दशमलव १७३ किलोमिटर सुरुङ खनिसकेको छ । लेनडाँडा सुरुङमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बमोजिम कुल लम्बाइ एक दशमलव ४३ किलोमिटर रहेकामा हालसम्म एक दशमलव २०४ किलोमिटर सुरुङ खनिएको छ ।

    आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन् । सबै सुरुङमार्गको कुल लम्बाई १० दशमलव ५५ किलोमिटर छ । यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ शून्य दशमलव ३९, चन्द्राम भीर सुरुङ दुई दशमलव २५, महादेवडाँडा सुरुङ तीन दशमलव ३५५, धेद्रे सुरुङ एक दशमलव ६३० तथा लेनडाँडा सुरुङ एक दशमलव ४३० किलोमिटर छ ।

    त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन् । यसको कुल लम्बाइ १२ दशमलव ८८५ किलोमिटर हुनेछ । बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन् । त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन् । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुलअन्तर्गत रहेका कुल दुई दशमलव ८०२ पाउन्डेसन फाइलमध्ये एक दशमलव ६६५ पाइल निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

    द्रुतमार्गको सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार चार सय १६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार दुई ४४ र व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनी रहेको छ ।

    अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनीमध्ये हालसम्म चार हजार सात सय ७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । तीन सय ९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । खोकना–बुङ्गमती क्षेत्रमा दुई सय १४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने एक सय ६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन । यो क्षेत्रमा कुल तीन सय ७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ ।

    आयोजनाका लागि हालसम्म कटान गरिएका रुखको बदलामा एक अनुपात २५ का दरले वृक्षारोपण गरिएको सेनाले जनाएको छ । आयोजनाका लागि कूल सात लाख चार हजार चार सय ४० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा सात लाख पाँच हजार पाँच सय ५२ बिरुवा रोप्ने कार्य सकिएको छ ।

    मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो । आयोजनाको २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । विसं २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो । सोही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्र्याक निर्माणको काम थालिएको थियो । गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्‍याइएको थियो । त्यस्तै, गत साउनमा आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको थियो । यसबाट लागत घट्ने अनुमान गरिएको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ । यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण सुरु भएको हो ।