Category: समाचार

  • रुस पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    रुस पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । रोजगारीका लागि रुस पठाइदिने भन्दै रकम लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी घर भई काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने सयन्द्र राई र ललितपुर २६ का सविनकुमार राई छन् । उनीहरूले स्थानीय शेरबहादुर तुम्बापोलाई रुस पठाइदिने भन्दै ६ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ ।

    तुम्बापोलाई रसियाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र त्यहाँ ३ लाख ५० हजार रुपैयाँ तलब हुने प्रलोभवन देखाउँदै उनीहरूले ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सयन्द्रलाई फागुन १० र सविनलाई ११ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

  • कालिकोटमा उड्यो जहाज, सोमबार औपचारिक उद्घाटन

    कालिकोटमा उड्यो जहाज, सोमबार औपचारिक उद्घाटन

    काठमाडौं । कालीकोटको सुनथराली विमानस्थलमा सफल परीक्षण उडान गरिएको छ । आइतबार तारा एयरको ९एन–एकेएल जहाजले आइतबार बिहान पौने १० बजे नेपालगन्जबाट कालीकोटको सुनथरालीमा सफल अवतरण गरेको हो । यो विमानस्थलको सोमबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

    कुल ३०८ रोपनी क्षेत्रफलमा बनेको यो विमानस्थलको धावनमार्ग ६४० मिटर र चौडाई २० मिटर रहेको छ । ७ हजार फिट उचाईमा रहेको यो विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको लामो समय सम्म पनि जहाज नउडेपछि आलोचना भइरहेको थियो । कालीकोटमा २०४० को दशकबाटै विमानस्थल निर्माण थालिएको थियो ।

  • ओमसहित थप चार अस्पतालको फोहोर संकलनमा महानगरको रोक

    ओमसहित थप चार अस्पतालको फोहोर संकलनमा महानगरको रोक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थप चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ ।

    कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल र चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो ।

    महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आइतबार (आज) अनुगमन गरेको थियो ।

    यसरी फोहोर रोक लगाइएका अस्पतालहरुलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर ३ दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन भनिएको छ ।

    यसअघि महानगरले कान्ति बाल अस्पताल, एभरेष्ट अस्पताललगायतमा पनि फोहोर संकलनमा रोक लगाएको थियो ।

  • उप-निर्वाचनसम्म मतदाता नामावली दर्ता र अद्यावधिक स्थगित

    उप-निर्वाचनसम्म मतदाता नामावली दर्ता र अद्यावधिक स्थगित

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य उप-निर्वाचन अवधिसम्मका लागि स्थगित गरेको छ । आयोगको आइतबार बसेको बैठकले आगामी वैशाख १५ गतेका लागि उप-निर्वाचनका लागि मिति तोकेसंगै आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य स्थगित गरेको हो ।

    मतदाता नामावली ऐन, २०७३ को दफा चारको उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले अहिले नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने निर्णय भएको आयोगका उपसचिव एवम सहायक प्रवक्ता डा.थानेश्वर भुसालले जानकारी दिए ।

    उनका अनुसार २०७९ मंसिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त भएको इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. दुईको प्रतिनिधि सभा सदस्य तथा बझाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदका लागि २०८१ वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने गरी निर्णय भइसकेको छ ।

  • दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु

    दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु

    काठमाडौं । आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशैभर प्रारम्भ भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म चल्दैछ । दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ ।

    तराई–मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ ।


    यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो । अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ ।

    खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ८२ हजार ९९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने छ । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट लगाइने छ । नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको छ ।

  • रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक

    रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक

    काठमाडौं । रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक भएको छ । सेनाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले यो तथ्यांक सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार अहिलेसम्म १६ जनाको ज्यान गएको छ । एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेको बताइएको छ ।

    अभियानकी संयोजक कृतु भण्डारीका अनुसार यो तथ्यांक सम्पर्कमा आएका पीडित परिवारका आधारमा तयार पारिएको हो । रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन गरिएको उनको भनाई छ ।

    सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । रुसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा सम्पर्कमा रहेको समेत बताइएको छ ।

  • विश्वकप लिग २ : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै-टिकट सोल्ड आउट

    विश्वकप लिग २ : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै-टिकट सोल्ड आउट

    काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुँदैछ । लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया समेत छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेल हारेको छ ।

    नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको हो । नामिबियासँग नेपाल दुवै खेलमा पराजित भयो । नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक–एक खेल जिते । आजको खेलका लागि सबै टिकट बिक्रि भइसकेको नेपाल क्रिकेट संघले जनाएको छ ।

    नेपाल र नेदरल्याण्ड्स दुवै आफ्नो पछिल्लो खेलमा नामिबियासँग पराजित भएका हुन् । नेपाल नामिबियासँग २ विकेटले हारेको हो । नामिबियाले नेदरल्याण्ड्सलाई २४ रनले हराएको हो । नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार ओडिआई खेल भएको छ । जसलै दुवैले समान २(२ खेल जितेका छन् ।

  • नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सैं घण्टा चल्ने

    नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सैं घण्टा चल्ने

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सैं घण्टा चल्ने भएको छ । दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि सूचारु हुने भएको हो । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने आयोजनाले जनाएको छ ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन’ले पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरेको हो । कुल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।

  • वाफ वुमेन्स च्याम्पियनसिप-समूह चरणमा नेपालको क्लिन स्वीप

    वाफ वुमेन्स च्याम्पियनसिप-समूह चरणमा नेपालको क्लिन स्वीप

    काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपको समूह चरणमा तीन वटै खेल जित्दै नेपाल क्लिन स्वीप गर्न सफल भएको छ । स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन जारी रहँदा समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हरायो । नेपाल समूह विजेता समेत बन्न सफल भएको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक–एक गोल गरे ।

    समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवनानसँग खेल्नेछ । नेपालसँग हारेको प्यालेस्टाइनले समूह ए को विजेता जोर्डनको सामना गर्नु पर्ने भएको छ । तुलनात्मक रुपमा जोर्डन बलियो टोली हो ।


    ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । यो प्रतियोगितामा सावित्राको यो आठौं गोल हो । उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पायो । सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् ।

  • नेपालकै लामो झोलुंगे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन

    नेपालकै लामो झोलुंगे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन्। सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको शनिबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन्।

    नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ। झोलुङ्गे पुल उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले नेपालको भूगोलअनुसार झोलुङ्गे पूलको महत्व रहेको बताए। उनले निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याउने र दुई जिल्लाको पर्यटन प्रबर्द्धनमा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

    प्रधानमन्त्री प्रचण्डले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए। करिब २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ।

    झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ।

  • वाफ महिला च्याम्पियनसिप फुटबल : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

    वाफ महिला च्याम्पियनसिप फुटबल : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

    काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक तथा अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् ।

    समूह ‘बी’ बाट नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । नेपाल आज हारेमा प्यालेस्टाइन समूह विजेता बन्नेछ भने नेपाललाई बराबरी नै पर्याप्त हुनेछ । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० गोलले हराउँदै ६ अङ्क जोडेको छ ।

    इराकसँगको खेलमा पाँच गोल गोल गरेकी सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय फुटबलमा नेपालबाट ५० गोल गर्ने पहिलो खेलाडी बनेकी छन् । प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा पुगेको हो । समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।

  • टिकटिक चलिरहेका इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको स्पष्टीकरण

    टिकटिक चलिरहेका इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको स्पष्टीकरण

    काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

    सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ । यसअघि सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । तर, केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटकमा पहुँछ छ ।

    प्राधिकरणले सूचना जारी गर्दै टिकटक चलेका पाइए खबर गर्न समेत भनेको छ । सूचना दिंदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ ।
    पछिल्लो पटक टिकटकले केही प्रतिबद्धतासहित पत्र पठाए पनि टिकटक चलाउनेबारे सरकारले केही निर्णय गरेको छैन ।

  • प्रसुति गृहबाट चोरिएको बच्चा भेटियो, महिलासहित तीन जना पक्राउ

    प्रसुति गृहबाट चोरिएको बच्चा भेटियो, महिलासहित तीन जना पक्राउ

    काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शिशुलाई काँडाबारीमा फेला पारिएको हो । बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंह, उनका श्रीमान र दिदी समेत पक्राउ परेका छन् ।

    शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु लिएर सिंह सम्पर्कविहीन भएकी थिइन् । प्रहरीले शिशुसहित उनलाई गएराति नियन्त्रणमा लिएको हो । बिहे गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोर्ने योजना बनाएको बताइएको छ ।

  • रुसविरुद्ध आक्रामक अमेरिका, लगायो नयाँ प्रतिवन्ध

    रुसविरुद्ध आक्रामक अमेरिका, लगायो नयाँ प्रतिवन्ध

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। उसले व्यक्ति र संस्थाहरूविरुद्ध लगाएका प्रतिबन्धहरू ५०० भन्दा धेरै छन्।अमेरिकाले रुसद्वारा युक्रेनमाथि गरिएको हमला तथा युक्रेनी भूभाग कब्जा तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो।

    अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएका छन्।व्यक्तिगत वा संस्थागत गरी १०० जतिलाई निर्यात प्रतिबन्ध लगाइएको छ। पछिल्लो अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रमा कस्तो प्रभाव पर्नसक्छ भन्ने स्पष्ट छैन।

    एउटा विज्ञप्तिमा अमेरिकी राष्ट्रपति बाइडनले विदेशमा गरिएको आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझ ठूलो मूल्य चुकाउने कुरालाई सुनिश्चित गर्ने जनाएका छन्। रुसी विपक्षी नेता नभाल्नीको जेलमा निधन भएको एक सातापछि अमेरिकाले त्यस्तो प्रतिबन्ध लगाएको हो। उनको मृत्युमा रुसी राष्ट्रपति दोषी रहेकोमा कुनै शङ्का नभएको बाइडनले बताए।


    युरोपेली सङ्घ ईयूले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकाहरूलाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै २०० जनामाथि प्रतिबन्ध लगाएको छ। रुसले ती आरोपहरूको खण्डन गर्दै आएको छ। नयाँ प्रतिबन्ध घोषणाको प्रतिक्रियास्वरुप रुसी विदेश मन्त्रालयले रुसमा प्रवेश गर्न नपाउने सूचीमा युरोपेली सङ्घका थप अधिकारीहरूलाई समावेश गरेको बताएको छ।

  • जब महिलाले प्रसुती गृहबाट बच्चा चोरेर भइन् गायव…

    जब महिलाले प्रसुती गृहबाट बच्चा चोरेर भइन् गायव…

    काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटना बाहिरिएिको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार एक महिलाले बच्चा चोरेको पाइएको छ । प्रहरीले संदिग्ध महिलाको खोजी थालेको छ । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् ।

    मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको सीसी टीभीमा देखिएको छ । अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरीकहाँ खबर गरिएको थियो । पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताइएको छ । चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन गएका बेला महिलाले बच्चा लगेर भागेकी हुन् ।

  • कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ

    कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खान छन् । उनीहरुलाई पोखरा महानगरपालिका ११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताएका छन् ।

    उनका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई १२८ पोर्ट क्षमताको डिभाइससहित पक्राउ गरेको हो । उनीहरुको साथबाट एनसेलको प्रयोग नभएको सीम कार्ड २०९ वटा, भीओआईपी गेटवे ६४ पोर्टको दुई वटा लगायत बरामद भएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तरगतको कसूरमा कारबाही प्रक्रिया अघि बढ्ने एसपी बोगटीले बताए ।

  • ५० वर्षभन्दा बढी समयपछि अमेरिकी निजी यान पहिलोपटक चन्द्रमामा अवतरण

    ५० वर्षभन्दा बढी समयपछि अमेरिकी निजी यान पहिलोपटक चन्द्रमामा अवतरण

    अमेरिका । एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए ।

    खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिधै अवतरण गरेको पुष्टि गरेको छ । यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन । यानबाट कमजोर सङ्केत प्राप्त हुने बित्तिकै कम्पनीले आफ्नो लाइभ वेबकास्ट बन्द गरेको थियो ।

    मिसन निर्देशक टिम क्रेनले कम्पनीको ह्युस्टन नियन्त्रण केन्द्रमा तनावको स्थितिको बारेमा भने, “निस्सन्देह हाम्रो उपकरणहरू चन्द्रमाको सतहमा भएको हामी पुष्टि गर्न सक्छौँ ।” इन्ट्युटिभ मसिन्सका कार्यकारी प्रमुख स्टिभ अल्टेमसले भने, “मलाई थाहा थियो यो ठूलो चिन्तापूर्ण र तनावपूर्ण थियो तर हामी सतहमा छौँ र प्रसारण गर्दैछौँ, चन्द्रमामा तपाईंलाई स्वागत छ ।”

    टचडाउनको दुई घन्टापछि कम्पनीको घोषणाअनुसार अन्ततः डाटा प्रवाह सुरु भएको छ । नासाको प्रसिद्ध अपोलो मुनवाकर्सपछि पहिलो पटक अवतरणले अमेरिकालाई सतहमा फर्काएको छ ।

    इन्ट्युटिभ मसिन्स चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ । यो उपलब्धि केवल पाँच मुलुकले मात्र हासिल गरेका छन् । अर्को अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले गत महिना यसलाई सट दिएको थियो तर चन्द्रमामा पुग्न सकेन र यान पृथ्वीमा फर्कँदा दुर्घटनाग्रस्त भयो । दुवै कम्पनी चन्द्र अर्थतन्त्रलाई गति दिनका लागि नासा समर्थित कार्यक्रमका हिस्सा हुन् ।

    एस्ट्रोबोटिक सबैभन्दा पहिला बधाई दिने मध्येको एक थियो । “एउटा अविश्वसनीय उपलब्धि, हामी निकट भविष्यमा चन्द्रमाको सतहमा तपाईंसँग सामेल हुनका लागि प्रतीक्षा गर्न सक्तैनौँ”, कम्पनीले सामाजिक सञ्जाल एक्समा भनेको छ । नासाका प्रशासक बिल नेल्सनले ट्विट गरे, “इन्ट्युटिभ मसिन्सले जीवनभरको अवतरणलाई गति दियो ।”

    यानको नेभिगेसन प्रणाली विफल हुँदा अवतरणअघिको अन्तिम केही घन्टा थप तनावपूर्ण बनेको थियो । कम्पनीको उडान नियन्त्रण टोलीले प्रगोगात्मक नासा लेजर प्रणालीलाई कार्यान्वयनमा ल्याउनुपर्यो । यानले अन्तिम मिनेटको स्विचका लागि समयको अनुमति दिनका लागि चन्द्रमाको चारैतिर थप एउटा चक्कर लगाउनुपर्यो ।

    अन्ततः उक्त परिवर्तनसँगै ओडिसियस चन्द्रमा–स्किमिङ कक्षबाट उत्रियो र दक्षिणी ध्रुवनजिकै सबै चट्टान र क्रेटरहरूको बीचको तुलनात्मकरूपमा समतल स्थानलाई लक्ष्य बनाउँदै सतहतर्फ निर्देशित भयो ।

    निर्दिष्ट टचडाउनको समय आयो र गयो, कम्पनीको कमान्ड सेन्टरका नियन्त्रकहरू उत्सुकतापूर्वक करिब चार लाख किलोमिटर टाढा अन्तरिक्ष यानबाट सङ्केतको प्रतीक्षा गरिरहेका थिए । करिब १५ मिनेटपछि कम्पनीले यानबाट कमजोर सङ्केत प्राप्त भएको घोषणा गर्यो ।

    गत सात प्रक्षेपण गरिएको छ फुटको कार्बन फाइबर र टाइटेनियम यान (१४ फिट अग्लो) नासका लागि छ वटा प्रयोग थिए । केही वर्षमा अन्तरिक्ष याात्रीहरूको योजनाबद्ध फिर्ता हुनुअघि पहिलो चन्द्रमा डेलिभरीको व्यावसायिकरण गर्ने प्रयासको हिस्सास्वरूप अन्तरिक्ष एजेन्सीले कम्पनीलाई यान बनाउन र उडानका लागि ११ करोड ८० लाख डलर दिएको थियो ।
    रासस

  • घरमाथि लहरी पल्टिँदा एकै परिवारका दाजुबहिनीसहित तीन जनाको मृत्यु

    घरमाथि लहरी पल्टिँदा एकै परिवारका दाजुबहिनीसहित तीन जनाको मृत्यु

    काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक लहरी पल्टिँदा तीन बालबालिका च्यापिएर मृत्यु भएको छ ।

    प्रहरीका अनुसार मार्बलको कच्चा पदार्थ बोकेको ट्रक बुढीगंगाको जेएनजे मार्बल उद्योगका लागि आएको थियो ।

    आर.जे. २९ जी.बी. १५६१ नम्बरको लहरी पल्टिँदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । मृत्यु हुने एकै परिवारको दुई जना बालक सहित अर्का एक जना रहेको प्रहरीले जनाएको छ।

    बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रहरीले जनाएको छ।

    ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् ।

  • सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

    सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

    काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय थप ५० दिन लम्बिएको छ । यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ ।

    यसलाई दोस्रो चरणमा विस्तार गरी २७ चैतसम्म पुर्‍याइएको आयोजनाले जनाएको छ । पहिलो चरणमा ७ फागुनसम्म राजमार्ग बन्द रहने गरी निर्णय गरिएको थियो । माघे संक्रान्ति पर्वलाई लक्षित गरी दुई दिन राजमार्ग २४ सै घण्टा खुला गरिएको थियो ।

    सुरुङमार्गको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएपछि आयोजनाले प्रशासनको सहयोगमा रागमार्ग बन्द गरी काम भइरहेको छ । यसबीचमा एम्बुलेन्ससहितका अत्यावश्यक क्षेत्रका सवारी साधन भने रोकिने छैनन् ।

  • बुवा बने फुटबलर किरण चेम्जोङ

    बुवा बने फुटबलर किरण चेम्जोङ

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ बुवा बनेका छन् । राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै आफू बुवा बनेको जनाएका हुन् ।

    मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो करिब १२ बजे पुत्रलाई जन्म दिएको किरणले बताएका छन् । उनीहरुको यो पहिलो सन्तान हो । किरण र कन्चनको गत वर्ष भदौ १५ गते विवाह भएको थियो । किरणले गत वर्ष एयरहोस्टेस रहेकी कञ्चनसँग विवाह गरेका थिए ।

  • नारायणगढ-मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

    नारायणगढ-मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

    काठमाडौं । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।

    नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो । त्यहाँको ढिस्को भत्काउने काम अब तीन मिटर मात्रै बाँकी छ ।

    गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो । सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।

    सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्राध्यापक डा केशरजङ्ग बराल नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।

    दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । तीमध्येबाट प्रधानमन्त्रीकाे राेजाइमा बराल परेका हुन् ।

    पाल्पा कुवाडीका ६५ वर्षीय बराल यसअघि २०६४ सालमा पोखरा विश्वविद्यालयका उपकुलपति भएका थिए । त्यसबेला सम्बन्धन दिने क्रममा अनियमितताको आरोप उनीमाथि लागेको थियो । तर, उनले अदालतबाट सफाइ पाएका थिए ।

    बरालले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर र दिल्ली विश्वविद्यालयबाट पीएचडी गरेका छन् । बरालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट उपप्राध्यापकबाट अध्यापन सुरु गरेका थिए ।

    उनी अर्थशास्त्रको प्राध्यापक हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत उनले पाएका छन् । महेन्द्र विद्याभूषण पदक र राष्ट्रिय शिक्षा पुरस्कार पनि उनले पाएका छन् ।

  • गठबन्धन नगर्ने प्रस्तावसहित कांग्रेस महासमितिले पारित गर्‍यो चार प्रतिवेदन

    गठबन्धन नगर्ने प्रस्तावसहित कांग्रेस महासमितिले पारित गर्‍यो चार प्रतिवेदन

    काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका चारवटै प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् ।

    उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।

    महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले ताली बजाएका थिए । गगनले चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेश गरेका थिए ।

  • कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा कर्मचारी

    कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा कर्मचारी

    काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ । कोषले शुक्रबार एक सूचनामार्फत दरखास्त आह्वान गरेको हो ।
    जसअनुसार वरिष्ठ प्रबन्धकदेखि प्रमुख सहायकसम्मका पदमा आजदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना मागेको छ।

    सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन्।

  • कृषि विकास बैंकमा जागिरको अवसर, आठौंदेखि चौंथो तहसम्म दरखास्त माग

    कृषि विकास बैंकमा जागिरको अवसर, आठौंदेखि चौंथो तहसम्म दरखास्त माग

    काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ।

    शुक्रबार एक सूचना जारी गर्दै बैंकले चौथो तहको सहायकदेखि आठौं तहको अधिकृतसम्म ११२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

    बैंकले १६ जना व्यवसाय सहायक, ४६ जना लेखापाल, ३२ जना व्यवसाय अधिकृत, २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १ जना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियरका लागि आवेदन खुलाएको हो ।

    योग्यता पुगेका नेपाली नागरिकहरूले ती पदमा आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्। दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

    नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

  • राष्ट्रपति आज बागलुङ र अछाम जाँदै

    राष्ट्रपति आज बागलुङ र अछाम जाँदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ र अछाम जाने भएका छन् । राष्ट्रपति पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोट जाने कार्यक्रम छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन् । बिहान ९ बजेर तीस मिनेटमा राष्ट्रपति पौडेल पञ्चकोट जाने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिएका छन् । राष्ट्रपति आउने भएपछि बागलुङको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति पौडेलबाट पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको उद्घाटन, यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

    आजै राष्ट्रपति पौडेल अछाम जाने भएका छन् । नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा बिहीबार देखी सुरु हुने कोटि होम महायज्ञको उद्घाटनका लागी अछाम जान लागेका हुन् । जिल्लाको साँफेबगर नगरपालिका १ मा आजदेखि १४४ वर्ष पछि सुरु हुन लागेको कोटिहोम महायज्ञ शिवरात्रि सम्म चल्ने छ । राष्ट्रपति पौडेल आउने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ । कोटिहोम महायज्ञको तयारी पुरा भएको प्रचारप्रसार समिति संयोजक शिवबहादुर कुँवरले जानकारी दिएका छन् । वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्ध कुम्भ मेला , हरेक १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १४४ वर्षको अन्तरमा कोटि होम महायज्ञ सहितको महाकुम्भमेला लाग्छ ।

  • सात महिनामा ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात

    सात महिनामा ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०-८१ को सात महिनामा करिब नौ खर्ब रूपैयाँ बराबरको आयात भएको छ। साउनदेखि माघसम्ममा आठ खर्ब ९७ अर्ब रूपैयाँ बराबरको कारोबार भएको हो। गत आर्थिक वर्ष २०७९-८० को तुलनामा यसमा २.३१ प्रतिशतले कमी आएको हो। गत आर्थिक वर्षमा ९ खर्ब १९ अर्ब रूपैयाँ बराबरको कारोबार भएको थियो। सात महिनामा आठ खर्ब ९७ अर्ब बराबरको आयात हुँदा ८६ अर्ब ८३ करोडको मात्रै निर्यात हुन सकेको छ। निर्यात ७.०७ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षमा ९३ अर्ब ४३ करोड रूपैयाँको सामान निर्यात भएको थियो।

    अहिले मुलुकमा १०.३४ रूपैयाँको सामान भित्रिदा एक रूपैयाँ बराबरको सामान मात्रै निर्यात भइरहेको छ। आयात घटेको कारण व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा ८ खर्ब २५ अर्ब रूपैयाँको व्यापार घाटा हुँदा हाल ८ खर्ब ११ अर्ब रूपैयाँले घाटा देखिएको छ।

    यो अवधिमा सरकारले भन्सारमा दुई खर्ब ३६ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भने सरकारले मात्रै दुई खर्ब १२ अर्ब रूपैयाँ राजस्व संकलन गरेको थियो। सात महिनामा सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ, स्टिल प्यालेटबाट बनेका सामान, आइरन र स्टिल रोल, स्मार्ट फोन, औषधी, कोइला, सुन लगायतका वस्तु रहेका छन्।

    ७७ अर्ब ४१ करोड रूपैयाँको डिजेल, ३८ अर्ब ८२ करोडको पेट्रोल, ३० अर्ब ३१ करोड बराबरको ग्यास आयात भएको छ। यस्तै, २२ अर्ब ६६ करोडको स्टिल प्यालेटबाट बनेका सामान, २१ अर्ब ६१ करोडको आइरन र स्टिल रोल, १७ अर्ब ३८ करोड रूपैयाँको स्मार्ट फोन, १६ अर्ब १२ करोडको औषधीलगायत सामान आयात भएको हो।

  • कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?

    कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?

    काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक आज समापन हँदैछ । आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु भएको बैठक आज समापन हुने छ । महासमिति बैठकको अन्तिम दिन बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्दैछन् । आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई उदृत गर्दै राससले जनाएको छ ।

    बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमासमूहगत रुपमा छलफल भएको थियो । बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए । प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन् । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिबद्धता’ का साथ बैठकको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
    छलफलका क्रममा महासमिति सदस्यहरुले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रात्मक पद्धतिमाथि निरन्तर भइरहेका प्रहारलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्नेलगायत विषयमा आफ्नो धारणा राखेका थिए ।


    महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै देशको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, ऊर्जा र जलस्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्नुपर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसहरु बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने, सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्नेलगायत विषयमा सुझाव दिएका छन् ।

    शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदका पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने, जलवायु परिवर्तनको सङ्कटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्ने, सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्नुपर्ने सुझाव प्राप्त भएको विभागीय प्रमुख विश्वकर्माले बताए ।

  • महिला फूटबल टोलीले आज इराकको सामना गर्दै

    महिला फूटबल टोलीले आज इराकको सामना गर्दै

    काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र इराक बीच आज प्रतिस्पर्धा हुन भएको छ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ । समूह बीअन्तर्गत यस खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ ।

    पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो । उता इराक भने फ्नो पहिलो खेलमा प्यालेस्टाइनसँग ३-० ले पराजित भएको थियो । आजै समूह बी को अर्को खेलमा सिरिया प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र प्यालेस्टाइन दुवै आज विजयी भए एक खेल बाँकी छँदै सेमिफाइनल पुग्नेछन् ।

    नेपालले समूहको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । समूह ए बाट साविक विजेता जोर्डन र लेवनान लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । बुधबार भएको खेलमा जोर्डनले ग्वामलाई ३-० र लेवनानले साउदी अरेबियालाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अब शुक्रबार लेवनान र जोर्डनबीच हुने खेलले समूह ए को शीर्ष स्थानमा रहने टिमको टुङ्गो लाग्नेछ ।

  • श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश

    श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश


    काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ ।

    भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी र नातिनीको बुधबार बिहान हत्या भएको थियो । परिवारका तीन जनाको हत्या गरेका काजीले घर नजिकै झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ । ईश्वरी र काजी श्रीमान श्रीमती हुन् । उनीहरुसँगै परिवारमा ६ जना थिए । ईश्वरीको पहिलो श्रीमानतर्फका छोरा विदेशमा छन् भने उनका श्रीमती र छोरीसँगै थिए । ईश्वरी र काजीबाट छोरा (१५ वर्ष) र छोरी (८ वर्ष) थिए ।

    बुधबार बिहान बुहारी काममा गइसकेकी थिइन् । कक्षा ७ मा पढ्ने छोरालाई बिहान ७ः४० बजेतिर गोलामारी किन्न पठाए । पसलबाट फर्किएर गेटमा पुग्ने वित्तिकै उनलाई बुबाले ‘ममी मरिसकेँ, सबै मारिँसके’ भनेका थिए । किन यस्तो गरेको भन्दै कराउन थालेपछि धकेलेर आफूलाई भिडियो खिच्न लगाएको बताइएको छ ।

    उनको मोबाइलमा छोटो छोटो भिडियो क्लिप भेटिएको छ, जसमा काजीले श्रीमतीमाथि आरोप लगाएका छन् । आफ्नो सम्पत्तिबारे पनि बोलेको भेटिएको छ । उनले विभिन्न बैंकमा बचत रहेको आफ्नो पैसाबारे पनि भिडियो सन्देशमा भनेका छन् । ‘विदेशमा रहेका छोरा (श्रीमतीको पहिलो पतितर्फ) लाई सम्बोधन गर्दैै उनले भिडियोमा भाइलाई हेँला गरेको थाहा पाए राम्रो नहुने’ समेत बताएका छन् ।