Category: समाचार

  • राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने

    राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

  • क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ

    क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ

    काठमाडौं । राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विभागको टोलीले १८ फागुनमा उनीहरुलाई पक्राउ गरेर मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको आशंका छ । उनीहरु हाल क्रिप्टोकरेन्सी कारोबारमा फरार रहेका हुण्डी कारोबारी विमल पोद्दारसँग पनि जोडिएको बताइएको छ ।

    पक्राउ परेकामध्ये अमिरुदिन नामक भारतीय नागरिकले स्वयम्भुमा कोठा भाडामा लिएर शंकास्पद गतिविधि गरिरहेको सूचना विभागले पाएको थियो । त्यसपछि छापा मारेर भारतीय नागरिक ध्रुव शर्मा, प्रिन्स शर्मा, रोहित कश्यप, दिपांशु शर्मा लगायतलाई नियन्त्रणमा लिइएको हो ।

  • ‘प्रचण्ड’ ले गरे मन्त्रिपरिषद् विस्तार, उपप्रधानमन्त्रीको संख्या ४ पुग्यो

    ‘प्रचण्ड’ ले गरे मन्त्रिपरिषद् विस्तार, उपप्रधानमन्त्रीको संख्या ४ पुग्यो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवकिशोर शाह वनमन्त्री नियुक्त भएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

    यो सँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् । यसअघि नै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् ।

  • पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी

    पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी

    काठमाडौं । पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले जनाए अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर विजयी भएका हुन् । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरेका छन् ।

    पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरे । जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जरदारीले शुक्रबार विदाइ हुनु भएका निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिँदैछन् ।

    सन् २००८ देखि २०१३ सम्म ११ औं राष्ट्रपति रहनु भएका जरदारीको उक्त पदमा यो दोस्रो विजयी हो । जरदारी सन् २०२४ फेब्रुअरी ८ मा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिको शपथ लिनुअघि उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ। रासस, सिन्ह्वा

  • माओवादीले कसलाई बनाउँदैछ राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार ?

    माओवादीले कसलाई बनाउँदैछ राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार ?

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठकले मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने छ । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार छन् ।

    शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका थिए । यसअघि गठबन्धनका नेताहरू बीच राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने लिखित सहमति भएको थियो ।

  • जसपा आज सरकारमा जाँदै

    जसपा आज सरकारमा जाँदै

    काठमाडौं । जनता समाजवादी पार्टी आज सरकारमा सहभागी हुन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

    जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन । यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् । जसपालाई पनि समेटेपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने छन् । उनले फागुन ३० गते विश्वासको मत लिने तयारी छ ।

  • हङकङ र नेपालबीच आज पनि खेल

    हङकङ र नेपालबीच आज पनि खेल


    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

    हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङ आक्रामणको भरपूर्ण फाइदा उठाउँदै २१२ रन बनाएको थियो । बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित सर्वाधिक ११० रन बनाएका थिए । मार्टिन कोट्जी २१ बलमा ३१ रनमा आउट भएका थिए । बाबर र मार्टिन प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट निकै महत्वपूर्ण हुनेछ । निजाकत खान र अंशुमन रथ पनि घातक बन्न सक्ने खेलाडी हुन् । शनिबारको खेलमा आजाज खानले ४ र एहसान खानले ३ विकेट लिएका थिए । यी दुई प्रमुख बलर हुन् ।

    नेपालको ब्याटिङ शीर्ष क्रममा बढी निर्भर छ । कुशल भुर्तेल, विनोद भण्डारी र रोहित पौडेल प्रमुख ब्याटर हुन् । यी तीन मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । पहिलो खेलमा तीन ओभरमा ४८ रन खर्चेका राशिद खानको स्थानमा आज करण केसी खेल्ने बलियो सम्भावना छ । विवेक यादव र सन्दीप जोरालाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा सन्दीप २ र विवेक १ रनमा आउट भएका थिए ।

  • अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने

    अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने


    काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गर्ने लक्ष्य रहेको बताइन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औँ अग्लो आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेको बताइन् । सेभेन समिट ट्रेक्समार्फत अन्नपूर्ण–१ आरोहण गर्न लागेको उहाँले जानकारी दिइन् ।


    विना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको शुरुवात भने उनले सन् २००७ मा नेपालको माउन्ट चोयु हिमालबाट गर्नुभएको थियो । अस्ट्रेलियाली पर्वतारोही पेपरले आफ्नो लक्ष्यअन्तर्गत विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये अहिलेसम्म दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गरी सकेकी छिन् ।
    सन् २०२३ को जुलाई १५ मा विश्वको १२ औँ अग्लो आठ हजार ५२ मिटरको ब्रोडपिक र विश्वको पाँचौँ अग्लो आठ हजार एक सय ६३ को मनास्लु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ मा आरोहण गरिसकेको उनले जानकारी दिइन् ।

    ब्रोडपिक हिमाल विना अक्सिजन आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिला हुन् । ४८ वर्षीया पेपरले महिलाहरूले सामना गरिरहेका चुनौतीहरूलाई जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् । उनले भनिन्, ‘आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै लक्ष्य हासिल गर्ने कुरामा विश्वस्त छु । मैले सम्पूर्ण जीवन यसमै लगाएको छु । शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा आफैँलाई तालिम दिएको छु । यही सबै कुराले मलाई प्रेरित गरेको छ ।’

    हिमाल आरोहणमा एली पेपरको २३ वर्षको अनुभव रहेको छ । यो वसन्त ऋतृमा नेपालको अन्नपूर्ण–१ सहित तीन वटा हिमाल आरोहण गर्ने योजना रहेको उनले बताइन् । विश्वमा अहिलेसम्म छ जनाले मात्र अक्सिजनविना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका छन् । त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको मुख्य चुचुरोमा पुग्ने दुई जना पुरुष मात्र छन्, उनीहरूलाई १६ वर्ष लागेको थियो ।

    विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापाङ्मा पर्दछन् ।

  • राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बने सिटौला

    राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बने सिटौला

    काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेका छन्।
    शनिबार देउवाले सिटौलालाई राष्‍ट्रिय सभामा कांग्रेसका संसदीय दलको नेतामा मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए। देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई चयन गरेका हुन्।

    गत माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धनमा हुँदा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउनेबारे चर्चा भएको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्रकै हुनुपर्ने दाबी गरेका थिए। अहिले उनले सत्ता गठबन्धन परिवर्तन गरी नेकपा एमालेको साथ लिएका छन‍्।

  • हङकङसँग हार्यो नेपाल

    हङकङसँग हार्यो नेपाल

    काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । २२ बल खेलेका विनोदले ४ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाएका थिए आरिफले २१ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका थिए ।

    त्यस्तै रोहितले २३ बलमा २ चौका र १ छक्काको मद्दतमा ३० रन बनाए पनि अरु ब्याटरहरु टिक्न सकेनन् । ओपनर कुशल भुर्तेल जम्मा २ रनमा आउट भए भने गुल्सन झा ८, रासिद खान ३, सन्दीप जोरा र आकाश चन्द २, २ रन, विवेक यादवले १ रन बनाए । प्रतिश जिसी भने शून्य रनमा आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमार २१२ रन बनाएको थियो ।

    बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए । हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शून्य रनमै आउट भए ।

    नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक,एक विकेट लिए । त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङ्कङ्सँग शनिबार मैत्रीपूर्ण खेल खेलको हो । त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

  • कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

    कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

    घरनजिकै पोल ढलेर तारले छोएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । बिजुलीको तारले घर छोएको छ । केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् । गंग उनका छिमेकी हुन् । बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताएका छन् । घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल खटिएको छ ।

  • सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक दुवै काका भतिजा हुन् ।

    विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • नेपाल र हङकङबीच आज टी–२० आई खेल

    नेपाल र हङकङबीच आज टी–२० आई खेल

    काठमाडौं । नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका पहिलो रोजाइका खेलाडी छैनन् । हङकङ भ्रमण युवाहरुको लागि राम्रो अवसर हुनेछ । विवेक यादव र सन्दीप जोरा दुई फिनिसरमाथि नेपालले बढी ध्याान दिने देखिन्छ ।

    युवा अलराउन्डर राशिद खानलाई पनि पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हुनेछ । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र करण केसी नेपालका प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शनमा नेपाल धेरै निर्भर हुनेछ । नेपालको मुख्य उद्देश्य नै युवा खेलाडीको क्षमता परीक्षण गर्ने हुनेछ । उता हङकङका दक्षिण अफ्रिकी मुलका मार्टिन कोट्जीले एक हप्ताअघि कतारविरुद्ध १०२ रनको शतकीय इनिङ खेलेका थिए । उत्कृष्ट लयमा रहेका कोट्जीको प्रदर्शन महत्वपूर्ण हुनेछ । कोट्जी, बाबर हायत, अंशुमन रथ र निजाकत खान प्रमुख ब्याटर हुन् । अनुभवी स्पिनर एहसान खान घातक बन्न सक्ने बलर हुन् । हरुन अर्शद र नसरुल्ला राना प्रमुख तीव्र गतिका बलर हुन् ।

    नेपाल र हङकङबीच हालसम्म ७ टी-२० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । गत अक्टोबरमा मुलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । तर हङकङ घरेलु मैदान र कन्डिसनमा केही मजबुत हुनेछ । त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।

  • भारतीय पर्यटकले नेपालमा अब क्यूआर मार्फत भुक्तानी दिन सक्ने

    भारतीय पर्यटकले नेपालमा अब क्यूआर मार्फत भुक्तानी दिन सक्ने

    काठमाडौं । अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका हुन् ।

    भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो । सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा लाइएको दुई कम्पनीले जनाएका छन् । यसको अर्थ यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन् । तर, नेपालीले भने यस्तै सुविधा अहिल्यै भारतमा पाउने छैनन् ।

    यो परिघटना दुई मुलुकबीचको क्रसबोर्डर कारोबारमा क्रान्तिकारी रुपान्तरण भएको दुई कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेपालको फोन पेसँगको सहकार्यमा क्रसबोर्डर भुक्तानी सुरू हुँदा त्यसले दुई मुलुकबीचको व्यापार तथा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले बताए । क्रसबोर्डर कारोबारका कारण दुई मुलुकबीचको आर्थिक सम्बन्ध, व्यापार तथा पर्यटनलाई उल्लेखनीय रुपमा बढाउने फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जनाएका छन् ।

  • राष्ट्रपतिले गरे पशुपतिनाथको दर्शन

    राष्ट्रपतिले गरे पशुपतिनाथको दर्शन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गरेका छन् । शुक्रबार शिवरात्रिको अवसरमा राष्ट्राध्यक्षको रुपमा उनले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गरेका हुन् । शिवरात्रिमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्ने प्रचलन रहेको छ।

    पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गरेका छन् । राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, कोषका सदस्य सचिवलगायतले स्वागत गरेका थिए ।

    महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा छ। पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि हजारौंको सङ्ख्यामा भक्तजन लामबद्ध छन्। महाशिवरात्रिको अवसरमा शुक्रबार बिहान ३ बजेदेखि चारवटै ढोका खुला राखिएको छ।

  • शिवरात्रीका दिन नेपालगन्जबाट कैलास पर्वतका लागि भए ६ माउन्टेन फ्लाइट

    शिवरात्रीका दिन नेपालगन्जबाट कैलास पर्वतका लागि भए ६ माउन्टेन फ्लाइट

    काठमाडौं । महाशिवरात्रिको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रीप टू टेम्पल्स सँगको समन्वयमा नेपालगञ्जबाट डेढ सय भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको हो। ट्राभल कम्पनीद्वारा श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो।

    माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ। कोभिड अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रूटबाट मानसरोवर पुग्ने गरेका थिए।

    कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिसा नदिएपछि यो रूट सुनसान बनेको छ जसको सिधा असर सो रूटको पर्यटन व्यवसायमा परेको छ। यस अघि बाँकेको रूपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एक रात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्स सम्म हेलिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे।

    मानसरोवरको रूटको चहलपहल कम भएपछि नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा उक्त कम्पनीले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरेको हो।

    कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रूपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए। माउन्टेन फ्लाइटकै लागि १५० जना भारतीय पर्यटक बिहीबार नेपालगञ्ज आएर होटल सिद्धार्थमा बसेका थिए। उनीहरूलाई श्री एयरलाइन्सको जहाजमा फ्लाइट गराइएको हो।

    यस अगाडि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एयरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरूवात गरेको थियो। भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइट मार्फत कैलाश(मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान गराउने उद्देश्य रहेको मिश्राले बताए।

  • भिजिट भिसामा यूएई जान लागेका तीन जना महिला विमानस्थलबाट फर्काइए

    भिजिट भिसामा यूएई जान लागेका तीन जना महिला विमानस्थलबाट फर्काइए

    काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको उनले बताए । एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको शर्माले जनाए ।

    उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए । पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको एसएसपी शर्माले बताए । प्रहरीका अनुसार, भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोह नै सक्रिय छ । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरिएको भेटिएपछि प्रहरी जाँचमा कडाइ गरेको छ । रसियन सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा दूबई लगेर त्यहाँबाट मस्को पठाएको अनुसन्धानबाट देखिएको थियो ।

  • रेनु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

    रेनु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेशनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन्। बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो। प्रमुख दाहाललाई लन्डनका मेयर सादिक खानसहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिम लगायतको उपस्थितिका बीच एक समारोहमा अवार्ड वितरण गरिएको जनाइएको छ।

    उक्त अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो। पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड अन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायत लगायत विभिन्न देशका फरक-फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो।

  • एमालेले भन्यो-‘सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक

    एमालेले भन्यो-‘सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक

    काठमाडौं । नेकपा (एमाले)ले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको ठहर गर्दै सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गरेको हो ।

    बैठकपछि महासचिव शंकर पोखरेलले भने ‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ । प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दलमा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौं ।

  • अन्तर्राष्ट्रिय महिला दिवस आज

    अन्तर्राष्ट्रिय महिला दिवस आज

    काठमाडौं । आज ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ।

    महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ। सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

    नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन्। पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो।

    श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो। लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा ¥याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइने भएको छ।

    यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

  • महाशिवरात्रीमा पशुपतिमा मात्र ४ हजार सुरक्षाकर्मी

    महाशिवरात्रीमा पशुपतिमा मात्र ४ हजार सुरक्षाकर्मी

    काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेर सुरक्षाकर्मी परिचालन गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार प्रहरी जनशक्ति विहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीको नेतृत्वमा टोली खटिने छ । पशुपति क्षेत्रमा हुन सक्ने अवान्छित गतिविधिलाई ड्रोनबाट समेत निगरानीको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्रमा आपतकालीन उद्धार टोली र एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।

  • नेपाली सेना दिवस आज, टुडिखेलमा विशेष कार्यक्रम

    नेपाली सेना दिवस आज, टुडिखेलमा विशेष कार्यक्रम

    काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

    नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

    सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती पनि हुनेछ ।

    जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिएका छन् ।

  • महाशिवरात्रीमा पशुपतिको भिआइपी पास बन्द

    महाशिवरात्रीमा पशुपतिको भिआइपी पास बन्द

    काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ । विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो ।
    तर यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनहरुको सहजताका लागि प्रयोग गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार क्षेत्रीले जानकारी दिए ।

    पशुपतिनाथ मन्दिर दर्शनका लागि आज बिहान २ बजेदेखि नै खुला गरिएको छ । पहिले चार वटा ढोकामा चारवटा ¥याम्प दर्शनका लागि प्रयोग हुन्थ्यो भने यसपालि फरक छ । उत्तरतर्फ तीनवटा ¥याम्प बनाइएको छ । यसैगरी पूर्व, पश्चिम र दक्षिणतर्फबाट दुई–दुईवटा र्याम्प बनाइएको छ । बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिहरुका लागि गुह्येश्वरी भन्दा माथि यातायात कार्यालयसँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ । यसका लागि आठ नम्बर वडा कार्यालयसँग समन्वय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

  • महाशिवरात्री पर्व आज, शिवमन्दिरमा भीड

    महाशिवरात्री पर्व आज, शिवमन्दिरमा भीड

    काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।

    आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ । आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ ।

  • ऋण तिर्दैनौं भन्नेलाई छूट नदिने अर्थमन्त्रीको चेतावनी

    ऋण तिर्दैनौं भन्नेलाई छूट नदिने अर्थमन्त्रीको चेतावनी

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बधाई तथा शुभकामना दिन बिहीबार सिंहदरबार पुगेका नेपाल बैंकर्स संघका पदाधिकारीसँगको भेटमा मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नर्तिन भडकाउँदै हिंड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी उनले दिए ।

    ‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन’, पुनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने प्रतिबद्धता मन्त्री पुनको थियो ।

    मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले उल्लेख गरे ।
    ‘सरकारले लगानीको वातावरण बनाउँछ । सुरक्षाको प्रत्याभूति दिलाउँछ,’ पुनले भने, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ ।’ सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता उनले जनाए ।
    मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे । भेटमा संघका अध्यक्ष केसीसहित संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए । ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्स संघले आग्रह गरेको थियो ।

    मुलुकको आर्थिक वृद्धिमा बैंकिङ क्षेत्रले पुर्‍याएको योगदानबारे स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरुबारे ध्यानाकर्षण गराएको केसीले बताए । पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकड लगायत विषयमा अर्थमन्त्री पुनलाई जानकारी गराइएको उनले बताए । आगामी दिनमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक वृद्धिमा सहयोग गर्न, वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग हुने प्रतिवद्धता अर्थमन्त्री पुन समक्ष गरिएको उनले बताए ।

  • नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी नेतृत्वलाई अवैधानिक, रञ्जीता नै अध्यक्ष

    नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी नेतृत्वलाई अवैधानिक, रञ्जीता नै अध्यक्ष

    काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।

    आयोगको बिहीबारको बैठकले चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गर्दै गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको हो ।

    टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न माघको अन्तिम साता आयोगसमक्ष निवेदन दिएका थिए ।

    गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि, पार्टी अध्यक्ष रेशमपत्नी रञ्जीता श्रेष्ठ थिइन् ।

  • ‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन, यो सामान्य घटना हो, नछटपटिनू’

    ‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन, यो सामान्य घटना हो, नछटपटिनू’

    काठमाडौं । नयाँ गठबन्धनको ‍आयुबारे शंका गरेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलले इतिहास सेलरोटी जस्तो नघुम्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन। इतिहास स्प्रिङ जस्तो घुम्ने भन्दै जवाफ फर्काएका हुन् ।

    उनले हिजो आफूहरूले जे गरेका थियौं, अब पनि त्यही गर्छौं भनेर आशा नगर्न लेखकलाई आग्रह गरे। ‘अहिले सुरु भएको नयाँ सहयात्रा, यसले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्नेछ’, उनले भने, ‘यो स्वार्थको लेनदेनमा आधारित सहयात्रा होइन।’

    नयाँ सत्ता समीकरणलाई सहज र स्वभाविक परिघटनाका रुपमा लिन कांग्रेसलाई आग्रह गरे । ‘यो तहको पीडा, छटपटी, आक्रोश व्यक्त गर्न आवश्यक थिएन। यसलाई सहज र स्वाभाविक रुपमा लिनका लागि, संवैधानिक पहलका रुपमा लिन आग्रह गर्न चाहन्छु,’ उनले भने।

    ‘कांग्रेसलाई कति गहिरो पीडा र घाउ लागेको रहेछ भन्ने कांग्रेस नेताले व्यक्त गर्नुभयो’, पौडेलले भने, ‘तर यो अहिलेको जुन सहयात्रा आरम्भ भएको छ। यो संवैधानिक प्रबन्धअन्तर्गत चालिएको काम हो। त्यसकारण यसलाई सहज, स्वभाविक कदमको रूपमा लिऔं। बेचैनीले कोही कसैलाई कहीँ पुर्‍याउँदैन।’

  • ‘प्रधानमन्त्रीले जनमतको अपमान गरे, नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ’

    ‘प्रधानमन्त्रीले जनमतको अपमान गरे, नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले विश्वासघात गरेर जनमतको अपमान गरेको बताए।

    ‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनका तर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढे,’ उनले भने। ‘मुलुकमा दिगो शान्ति, सुशासन,संविधानको रक्षा विकास र समृद्धि प्राप्त गर्ने राजनीतिकलाई स्थिरता साथ अगाडि बढाउने हाम्राबीच सहमति भएका थिए।

    प्रचण्डजीले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फीरुपले अविश्वासनीयरुपले गठबन्धन तोड्नुभयो। त्यो हाम्रो ठहर हो,’उनले भने,’ निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचाहरू, प्रतिज्ञाहरूलाई वेवास्ता गर्दा नेपाली कांग्रेसप्रति मात्रै विश्वासघात होइन यो संविधान संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात हो। यो जनमतको पनि घोर अपमान हो।’

    कांग्रेस नेता लेखकले गठबन्धनका नाममा प्रधानमन्त्री प्रचण्ड आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाए। उनले भने,’जनताको जनमतको अपमान गर्दै कपोकल्पित कथा बुनेर,सानातिना मुद्दा उठाएर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गरेकाले यसलाई हामीले भन्नैपर्छ राजनीतिक बेइमानी हो।’

  • रुस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य

    रुस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रुसी सरकारलाई गराइसकिएको र रुस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन् ।

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक प्रयास अघि बढाइएको स्पष्ट पारे ।

    प्रधानमन्त्री दाहालले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए ।

    “पछिल्लो समयमा क्षतिपूर्ति र बीमा रकम नेपाली राजदूतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ”, प्रधानमन्त्री दाहालले भने, “अध्ययन छात्रवृति तथा पेसा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ ।”

  • ‘मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो’

    ‘मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् ।

    संसद्मा उठेका महत्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताएका हुन् ।

    ‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ ।’