Category: समाचार

  • रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो

    रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो

    काठमाडौं । रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ जना पुगेको छ । मस्कोको क्रोकस सिटी हलमा गएराति भएको आक्रमणमा कम्तिमा १ सय १५ जनाको ज्यान गएको र ९० जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । गएराति एउटा कार्यक्रम भइरहेको हलभित्र पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली बर्साएका थिए । त्यसपछि हलमा आगो लागेको थियो ।

    यो घटनाको जिम्मेवारी आतंकवादी सङ्गठन, इस्लामिक स्टेट्स (आईएस)ले लिएको छ । रुसको गुप्तचर निकायले अहिलेसम्म १८ जना पक्राउ परेका र ४ जना घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरेको छ । आज रुसभरी हुने सबै सार्वजनिक कार्यक्रम स्थगित भएका छन् । अमेरिकाले यसअघि नै रुसलाई आक्रमण हुन सक्ने चेतावनी दिए पनि रुसले बेवास्ता गरेकाले ठूलो आतंककारी हमला भएको जनाएको छ ।

    यसैबीच, नेपाल सरकारले आतंकवादी हमलाको निन्दा गर्दै मृतकमा श्रद्धाञ्जली व्यक्त गरेको छ । यो दुःखमा नेपाल सरकार रुसी सरकार र नागरिकसँगै रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, चिनियाँ राष्ट्रपति सि जिनपिङ, फ्रान्सका राष्ट्रपति इमानुुएल म्याँक्रो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समवेदना सन्देश पठाएका छन् । सन्देशमा आक्रमणको निन्दा गर्दैै ज्यान गुमाएकालाई श्रद्धाञ्जली व्यक्त गरिएको छ । तीनै जनाले आतंकवाद विश्वकै साझा चुनौतीको रुपमा रहेको र यसविरुद्ध एक भएर लड्नुपर्ने बताएको बीबीसीको खबरमा उल्लेख छ ।

  • हुम्लामा गाडी दुर्घटना, दुई जनाको मृत्यु

    हुम्लामा गाडी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए । सु प ०१००१ नम्बरको गाडी शानिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो ।

  • जीबी राई पक्राउ पर्ने गृहमन्त्री लामिछानेको स्पष्टीकरण

    जीबी राई पक्राउ पर्ने गृहमन्त्री लामिछानेको स्पष्टीकरण

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने बताए । ‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं’, उनले भने । लामिछानेले आफ्नो जीबी राईसँग कुनै सम्बन्ध नरहेको बताए । ग्यालेक्सी टेलिभिजनमा जीबी राईसँग काम गरेको र टेलिभिजन छाडेपछि उनीसँगको नाता सकिएको उनले बताए । उनले आफूलाई अनावश्यक रुपमा जीबी राईसँग जोडिएको पनि गुनासो गरे ।

    ‘जीबी राई जीबी राई म रवि लामिछाने हो, जीबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग टेभिजिनमा काम गरेको हुँ, टेभिजिनमै मेरो नाता सकिएको हो, त्योभन्दा बाहेक कहिँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ’, उनले भने । उनले सहकारीमा कसैले अवैध पैसा राखेको छ भने त्यसको खोजी गर्ने बताएका । छन् । त्यस्तै सहकारीका वचतकर्ताको रकम ब्याजसहित रकम फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उनले बताए ।

  • थाइल्याण्डमा अलपत्र १३ नेपालीलाई फिर्ता ल्याइयो

    थाइल्याण्डमा अलपत्र १३ नेपालीलाई फिर्ता ल्याइयो

    काठमाडौं । थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो । थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको समन्वयमा उद्धार गरी नेपाल फिर्ता गरिएको थाइल्याण्डस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    उद्धार गरिएका १३ नेपाली नागरिकलाई शुक्रबार थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाइ थाई–म्यानमार सीमा पार गराइएको थियो । त्यसपछि थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रा मार्फत बैंकक हुँदै नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत काठमाडौं पठाइएको दूतावासले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

  • होलीमा कसरी हुँदैछ राजधानीको सुरक्षा व्यवस्थापन ?

    होलीमा कसरी हुँदैछ राजधानीको सुरक्षा व्यवस्थापन ?

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली)लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ ।
    उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार होली पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ ।

    यसका साथै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्टसमेत राख्ने तयारी गरिएको छ । सुरक्षा योजना अनुसार मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गरिनेछ । यसका लागि करिब एक हजार जना ट्राफिक प्रहरी खटिने एसएसपी श्रेष्ठले बताए । अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाइ गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

    विशेषगरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झै-झगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने एसएसपी श्रेष्ठले बताए ।

  • रुसमा कन्सर्टमा आक्रमण, कम्तिमा ६० जना मारिए

    रुसमा कन्सर्टमा आक्रमण, कम्तिमा ६० जना मारिए

    काठमाडौं । रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ। इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन्।

    सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ। अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएको छ।

    दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भिडभाड हुने ठाउँमा नजान भनेको थियो। रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किएभले बताएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।

    संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ। रुसी विदेश मन्त्रालयले उक्त ‘बर्बर आक्रमण’ लाई निन्दा गर्न त्यसअघि विश्वलाई अपिल गरेको थियो। अमेरिकामा ह्वाइट हाउसका प्रवक्ताले पनि गोलीकान्डका पीडितहरूप्रति आफ्नो सहानुभूति रहेको जनाएको छ।

    ह्वाइट हाउसले आफूले रुसी अधिकारीहरूलाई मार्चको सुरुवातमा मस्कोमा ठूला भीडहरूमा निशाना बनाउँदै आक्रमण हुनसक्ने चेतावनी दिएको उल्लेख गरेको छ। फ्रान्स, स्पेन र इटलीले पनि आश्चर्य प्रकट गर्दै हमलाको निन्दा गरेका छन्। इस्लामिक स्टेटको एउटा भातृ सङ्गठले मस्कोमा भएको आक्रमणमा आफ्नो हात रहेको जनाएको छ।

    यदि त्यो सत्य प्रमाणित भएमा, इस्लामवादी उग्रवादीहरूले रुसभित्र वा रुसलाई निशाना बनाएर गरेको यो पछिल्लो हमला हुनजान्छ। सन् २०१५ मा इजिप्टको साइनाइ मरुभूमिमा २२४ जना यात्रु सवार एउटा रुसी विमानलाई खसालिएको थियो। २२४ जना सवार उक्त विमानमा अधिकांश यात्रु रुसी थिए।

  • परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन भ्रमणमा जाँदै

    परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन भ्रमणमा जाँदै

    काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा रहने मन्त्रालयले जानकारी दिएको छ ।

    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किनेछन् ।

  • आइपीएल : चेन्नईको विजयी सुरुवात

    आइपीएल : चेन्नईको विजयी सुरुवात

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ । चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो । चेन्नाइका लागि ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रनको योगदान गरेर आउट भए ।

    शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे । बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

    बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए । उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा अविजित रहे ।

    चेन्नाइका लागि मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए भने दीपक चहरले एक विकेट लिएका थिए । आईपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ ः ४५ मा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मल्लानपुरमा हुनेछ भने दोस्रो खेल साँझ कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ ।

  • बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

    बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

    काठमाडौं । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका–६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताए ।

    मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

  • नेपालमा लगानी भित्राउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन

    नेपालमा लगानी भित्राउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन

    काठमाडौं । नेपालमा ठूलो वैदैशिक लगानी भित्र्याउन पहल गर्ने नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले आश्वासन दिएका छन् । शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै उनले यस्तो आश्वासन दिएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वधार गरी हाल निर्माणाधीन ११ विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिए ।

    पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरे ।
    पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट गरेकाले त्यसका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन लागिएको जानकारी दिए । मन्त्री पुनले नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गरे ।

    संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उल्लेख गरे । ‘कोरिया एउटै पुस्ताले बनाएको देश हो । जसले भयावह गरिबीको दुश्चक्र पनि भोग्यो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ’, पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुशरण गर्नुपर्ने धेरै कुरा छन् ।’ राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोगजारी प्रणाली ९ईपीएस० लाई निरन्तरता दिने बताए ।

    नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिए । कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा ईपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको उनले जानकारी दिए । नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको उनले बताए ।

    उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको उल्लेख गरे । हाल गण्डकीमा सञ्चालित कोरियन भोकेसनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको उनको भनाइ थियो । नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएका कारण त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयात बढाउन चाहेको जानकारी उनले दिए ।

    आगामी मे महिनाबाट नेपालमै हुन्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन उनले आग्रह गरे ।

    कोरियाले नेपालमा धेरैधन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सिर्जना होस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । ‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं ।’

    नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेन्टी गर्नु पर्नेमा भने उनको चासो थियो । राजदूत थेयङले रोजगार प्रणाली अन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीहरुका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिए ।

  • बंगलादेशी नागरिकलाई यूरोप पठाउने प्रलोभनमा जब नेपालमा बनाइयो बन्धक…

    बंगलादेशी नागरिकलाई यूरोप पठाउने प्रलोभनमा जब नेपालमा बनाइयो बन्धक…

    काठमाडौं । बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याइ बन्धक बनाएको आरोपमा चार बंगाली नागरिकहरु पक्राउ परेका छन् ।
    पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे छन् । उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यो समूहले बंगलादेशी नागरिकहरुलाई रोजगारीका लागि युरोपका विभिन्न देशहरुमा पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।

    बंगलादेशबाट नेपाल ल्याई पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले चार जनालाई उद्धार गर्नुका साथै चार जनालाई पक्राउ गरेको हो । उनीहरुलाई ५ चैतमा बंगलादेशबाट काठमाडौं ल्याएर बन्धक बनाइएको थियो । होटलमा बन्धक बनाएर पासपोर्ट नियन्त्रणमा लिने, कुटपिट गर्ने र रकम असुल्न गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय परिसर पठाइएको छ ।

  • बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण

    बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण

    काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै जग्गा सरकारीकरण गर्ने निर्णय गरेको हो।

    कार्यालयले आज पत्रकार सम्मेलन गर्दै बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिएको छ।

    मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (२) मा ‘कसैले यो दफा प्रारम्भ हुनुभन्दा अघि वा पछि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आबाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ।

    त्यस्तो जग्गाको व्यक्ति विशेषका नाउँमा रहेको दर्ता लगत समेत मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले कट्टा गर्नेछ’ भन्ने व्यवस्था रहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले यसअघि उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरि अहिले हिरासतमुक्त गरिसकेको छ ।

    च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका उद्योगी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

  • हाजिरी जमानीमा छुटे महरा

    हाजिरी जमानीमा छुटे महरा

    काठमाडौं । सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छोरा एटम बोहराको जिम्मा लगाएर छाडिएको जनाएको छ ।

    महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले नै सरकारी वकिलसँग अनुमति मागेको थियो। उनलाई चैत ५ गते कपिलबस्तुबाट पक्राउ गरिएको थियो ।

    महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

  • शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

    शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं । शनिबार काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागिएको हो ।

    टेकु सवस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुनधारा, खिचापोखरी वसन्तपुर लगायतका स्थानहरूमा भोलि बिहान ११ः०० बजेदेखि दिउँसो ०१ः३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

  • आइपीएल भिडन्त आजबाट

    आइपीएल भिडन्त आजबाट

    काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र बेंगलुरु भिड्दैछन् । चेन्नई डिफेन्डिङ च्याम्पियन हो । धोनीले चेन्नईको नेतृत्व छोडेका छन् । तर खेलाडीका रूपमा भने सहभागी हुनेछन् । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा समेत यस पटक खेलाडीका रुपमा मुम्बई इन्डियन्सबाट खेल्नेछन् । उनले नेतृत्वको जिम्मेवारी हार्दिक पान्ड्येलाई दिएका छन् । मुम्बई पनि पाँचपल्टको विजेता हो । सन् २०२२ मा गुजरात टाइटन्सबाट खेलेका हार्दिकले त्यही वर्ष आफ्नो टिमलाई उपाधि दिलाए । पछिल्लो सिजन भने गुजरात उपविजेता रह्यो ।

    यसपल्ट उनी मुम्बई फर्केका छन् । मुम्बईले जतिपल्ट आईपीएलको उपाधि जितेको छ, सबैमा कप्तान शर्मा नै थिए । मुम्बईमा ११ वर्षयता पहिलो पटक नेतृत्व परिवर्तन भएको छ । हार्दिकको स्थानमा अब गुजरातको नेतृत्व शुभमन गिलले सम्हाल्नेछन् । अर्कोतर्फ ऋषभ पन्तलाई फेरि माथिल्लो स्तरको क्रिकेट खेल्न सक्षम भएको घोषणा गरिएको छ । सन् २०२२ को अन्त्यमा गाडी दुर्घटनामा परेयता उनले क्रिकेट खेलेका छैनन् ।

    राजस्थान रोयल्सको इनिङ्स सुरुआत गर्ने जिम्मा जस बटलरसँगै २२ वर्षीय यशस्वी जयसवालको काँधमा हुनेछ । जयसवालले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजमा कीर्तिमान ७ सय १२ रन बनाएका थिए । गत डिसेम्बरमा भएको खेलाडी लिलामीमा अस्ट्रेलियाली बलरद्वय मिचेल स्टार्क र प्याट कमिन्स सबैभन्दा महँगा खेलाडी साबित भएका थिए । सन् २०१५ यता स्टार्क पहिलो पटक आईपीएल खेल्दै छन् । त्यतिबेला भने उनले रोयल च्यालेन्जर्स टिमका लागि खेलेका थिए ।

  • किन पक्राउ परे भ्रष्टाचार विरोधी अभियानबाट उदाएका केजरीवाल ?

    किन पक्राउ परे भ्रष्टाचार विरोधी अभियानबाट उदाएका केजरीवाल ?

    काठमाडौं । भारतको राजधानी प्रदेश दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अनुसन्धान गरिरहेको छ । दिल्लीस्थित उनको सरकारी निवासमा प्रवेश गरेका ईडीका अधिकारीले दुई घण्टा उनीसँग सोधपुछ गरेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिइयो ।

    लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धनलाई धक्का पुग्ने आशंका छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव हुँदै छ । देश चुनावमा होमिएका बेला विपक्षी गठबन्धन ‘इन्डिया’ का एक जना प्रभावशाली नेता केजरीवाल पक्राउ परेका हुन् ।

    दुई महिनाको अन्तरालमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले केही समयअगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ ।

    मदिरासम्बन्धी नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा ईडीले केही समयदेखि उनलाई सोधपुछका लागि बोलाउँदै आएको थियो । एक दिनअगाडि मात्रै ईडीले केजरीवाललाई १० औं पटक बोलाएको थियो । तर, दिल्लीका मुख्यमन्त्री केजरीवाल ईडीको विरुद्ध दिल्ली उच्च अदालत गएका थिए ।

    तर, अदालतले बयानका लागि जान नपर्ने केजरीवालको माग अस्वीकार गरेपछि ईडीका अधिकारीहरू बिहीबार केजरीवालको गिरफ्तारीको तयारीसहित उनको निवास पुगेका थिए । मदिरासम्बन्धी नीति ल्याएर दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै हिरासतमा छन् ।

    दिल्ली सरकारले तीन वर्षअघि मदिरा बिक्रीसम्बन्धी नयाँ नीति ल्याएको थियो । त्यही नीतिलाई दिल्लीमा विपक्षीको भूमिकामा रहेको भारतीय जनता पार्टीले ‘नीति घोटाला’ भन्दै केजरीवाल सरकारलाई घेर्दै आएको छ । २०२१ अगाडि दिल्लीमा मदिराको विक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी थिए । तर, केजरीवाल सरकारले नयाँ नीति ल्याएर मदिरा बिक्री वितरणको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।

    यही प्रकरणमा दिल्ली सरकारमाथि सय करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ । त्यसमा भ्रष्टाचारको आरोप र विवाद बढेपछि केजरीवाल सरकारले एक वर्षपछि उक्त नीति फिर्ता लिएको थियो । ईडीले सोही प्रकरणको छानबिन गर्दै आएको छ । एक वर्षअगाडि सोही मुद्दामा उपमुख्यमन्त्री मनीष सिसोदियालाई ईडीले पक्राउ गरेको थियो । अहिलेसम्म उनी हिरासतमै छन् । केही महिनाअगाडि राज्यसभा सांसद सञ्जय सिंह पनि पक्राउ परे । मदिरासम्बन्धी नीति घोटालाबाहेक ईडीले केजरीवालमाथि दिल्ली जल बोर्डमा पनि भ्रष्टाचार गरेको आरोपमा सोधपुछ गरिरहेको छ ।

    मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टीले भने ईडीको कारबाहीलाई भाजपा निर्देशित भएको आरोप लगाउँदै आएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।

  • नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

    नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५–० ले हारेको छ । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गर्न सफल भयो । नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो । घरेलु मैदानमा खेल्ने तय थियो दशरथ रंगशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमै खेलाइएको हो । नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार रिफामै खेल्नेछ ।

    खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । मोहमद मारहुनको पास सदुपयोग गर्दै हुमाएदानले गोल गरे । नवौँ मिनेटमा सायद बकेरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । कर्नरबाट प्राप्त बलमा अनमार्क रहेका बकेरले सहजै गोल गरे । वालियद अलहायमको कर्नरमा नेपाली डिफेण्डरहरुले बल क्लियर गर्न नसकेपछि बकेरले सहजै गोल गरे ।

    यस्तै पहिलो हाफमाको इन्जुरी टाइमको तेस्रो मिनेटमा अली मादनले गोल गर्दै बहराइनलाई ३–० को अग्रता दिलाए । मोहमेद मरहुनल करिब ३० यार्डबाट हानेको फ्रिकिक पोष्टमा लागेर फर्केको थियो । रिबाउन्डमा मादनले हानेको बल गोलकिपर किरणले फ्लाइङ सेभ गर्ने प्रयास गरेका थिए । तर पूर्ण रुपमा बल क्लियर गर्न नसकेपछि गोल भएको थियो ।

    नेपालमा लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट घाइते हुँदै पहिलो हाफमा मैदान बाहिर आएका थिए । उनको स्थानमा १६औं मिनेटमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा बहराइनले नेपालमाथि दबाब कायम राख्दै एक गोल थप्यो । ८७औं मिनेटमा इब्राहिम अल खतलले गोल गर्दै बहराइनलाई ४–० को अग्रता दिलाए । त्यसपछि इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा इस्माइल अब्दुल लतिफले गोल गर्दै बहराइनलाई ५–० को जित दिलाए । समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ । नेपाल लगातार तीन हारबाट अंकविहिन हुँदै पूछारमा छ ।

  • अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

    अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

    काठमाडौं । अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार आज बिहान ८ बजेतिर भएको विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ । सिटी सेन्टरमा रहेको एक निजी बैंकमा भएको विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन ।

    अफगानिस्तान सरकारका कर्मचारी तलब लिन लाइनमा जम्मा भएको बैंकको शाखामा विस्फोट भएको थियो । विस्फोटमा ज्यान गुमाएका र झन्डै ५० जना घाइतेलाई सहरको सबैभन्दा ठूलो मिरवास अस्पतालमा लगिएको खबरमा उल्लेख छ ।

    कान्धार तालिबानको सत्ताको केन्द्र हो जुन तालिबानको सर्वोच्च कमान्डरको आधार क्षेत्र पनि हो । सन् २०२१ मा विदेशी सेनाको पूर्ण फिर्तीसँगै तालिबानले पूर्ण नियन्त्रण प्राप्त गरेपछि अफगानिस्तानको समग्र सुरक्षा सुधारमा आएको भए पनि हरेक वर्ष दर्जनौँ बम विस्फोट र आत्मघाती आक्रमणहरू भइरहेका छन् ।

  • राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय

    राष्ट्रिय भुमी आयोग खारेज गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

    सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको भूमि आयोगले पछिल्लो समयमा विभिन्न ठाउँमा लालपूर्जा वितरण थालेको थियो । स्थानीय तहहरुबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने, त्यसको प्रमाणीकरण गर्ने र नापी नक्सामा पठाउने काम सुरु भएको थियो । अहिले अव्यवस्थित बसोबासीलाई सरकारी जग्गाको लालपूर्जा दिँदा तिर्नुपर्ने मूल्य आधा कम गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।

    यही अवस्थामा सत्ता समीकरण बदलिएसँगै नयाँ आयोग बनाउन पुरानो आयोगलाई खारेज गर्ने निर्णय भएको हो ।भूमिसम्बन्धी ऐन २०२१ मा भूमि व्यवस्थापन र भूमि सम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरिने उल्लेख छ ।

  • सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

    सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

    काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्विट्जरल्याण्ड प्रस्थान गरेको छ । संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी हुन बिहीबार स्विट्जरल्याण्ड प्रस्थान गरेका हुन् । आईपीयू प्रधान कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ ।


    टोलीमा सभामुख घिमिरे सहित सांसदहरु रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे छन् ।
    संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसदका उपसचिव प्रदीप गुरागाईं सहभागी छन् । टोली यही चैत १६ गते स्वदेश फर्किनेछ ।

  • शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

    शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

    कार्की काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्धमा कार्यरत छन् ।

    साथै गैरकानूनी रूपमा आर्जन गरेको पैसाबाट छोरी र श्रीमतीको नाममा जग्गा र सम्पत्ति खरिद गरेको पाइएको छ ।

    अतिरिक्त जिम्मेवारीको रुपमा उनले कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना माकलवारीमा खटिई काम गर्दै आएका छन् ।

    कार्की सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५८ साउन १६ देखि ०७९ चैत ३० गतेसम्मको अवधिलाई अख्तियारले जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो ।

    उक्त अवधिमा उनको आयव्ययको विश्लेषण गर्दा तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ ६० पैसा वैध आय देखिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवधिमा उनले ६ करोड ९८ लाख ४६ हजार ६०३ रुपैयाँ ३५ पैसा खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

    कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

  • निर्वाचन आयोगले रास्वपाका ४ सांसदलाई गरेको कारबाही बदर

    निर्वाचन आयोगले रास्वपाका ४ सांसदलाई गरेको कारबाही बदर

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई चुनाव खर्च सार्वजनिक नगरेको भनी गरेको कारबाही उच्च अदालत पाटनले बदर गरिदिएको छ ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले यस्तो फैसला गरेको हो ।निर्वाचन आयोगविरुद्ध रास्वपाका सांसदहरू सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीले च्च अदालत पाटनमा निवेदन दिएका थिए ।

    आयोगले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै उनीहरु विरुद्ध १५ हजार जरिवाना तोकेको थियो।

  • गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

    गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

    काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको हो। तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन भइरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ । यसअघि नेपाल प्रहरी प्रहरीको पेट्रोल पम्प बेलुका ११ बजेसम्म र सशस्त्र प्रहरीको पेट्रोल पम्प १० बजेसम्म खुला हुने गरेको थियो।

  • फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

    फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै

    काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दैछ। बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२ः४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दै छ। यो खेल नेपालमै हुने तालिका थियो। तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो। जसका कारण नेपालको होम म्याच समेत बहराइनमै हुने स्थिति आयो।नेपालले बिहीबार पहिलो खेल खेलेपछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ।

    समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल पहिलो खेलमा युएईसँग ४–० गोल र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो। पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो। चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।

  • हिउँदे वर्षा कुन स्थानमा धेरै ?

    हिउँदे वर्षा कुन स्थानमा धेरै ?

    काठमाडौं । गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको छ ।

    काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा रेकर्ड भएको छ । लेलेमा २१.६ मिलिमिटर वर्षा भएको छ । ललितपुरकै गोदावरीमा २०.२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३, बबरमहलमा १२, कीर्तिपुरमा र धाप ड्याममा ११.८ तथा कपनमा ९.६ मिलिमिटर वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज बिहान ८ः४५ बजे वर्षाको आधिकारिक विवरण सार्वजनिक हुने भएकाले त्यो समयमा तथ्याङ्कमा केही फरक पर्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले मंगलबार रातिदेखि नै नेपालका पूर्व र मध्य भागमा बदली र वर्षा हुँदै आएको छ । बुधबार दिनभरजसो पानी परेको थियो । यो क्रम आज बिहीबार पनि जारी रहने मौसमविदले बताएका छन् ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको ल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबारबाट मौसम प्रतिकुल बनेको हो । बिहीबार समेत यो जारी रहने भएको छ । शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले मंगलबार रातिदेखि नै नेपालका पूर्व र मध्य भागमा बदली र वर्षा हुँदै आएको छ । बुधबार दिनभरजसो पानी परेको थियो । यो क्रम आज बिहीबार पनि जारी रहने मौसमविदले बताएका छन् ।

    विहीबार बिहान कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भैरहेको छ । काठमाडौं उपत्यकामा आज बिहान पानी पर्न रोकिए पनि दिउँसो एक–दुई बजे पछाडि वर्षा सुरु हुनेछ । आज दिनभरी नै देशका अधिकांश स्थानमा बादल लाग्ने भएको छ ।


    शनिबारको दिन कोशी प्रदेशका केही स्थानहरूमा, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

    हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली (इन्ड्युस्ड लो प्रेसर सिस्टम’को प्रभाव छ । यसैको प्रभावले बदली र वर्षा भएको हो । अहिले पश्चिमी न्यून चापीय प्रणाली कम सक्रिय छ । त्यसैले अहिलेको बदली र वर्षा हुनुमा बिहार आसपास रहेको न्यून चापीय प्रणाली बढी जिम्मेवार छ ।

  • प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उहाँहरूबिच भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसिसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।

    “नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसिसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।” अध्यक्ष बार्कलेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसिसीले सहयोग गर्ने बताए । भेटमा नेपाल सरकारका मुख्य सचिव डा। वैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।

  • ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी

    ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी

    काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टा ठमेल र दरबारमार्ग खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी गरेको हो । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना समेत बनाउन सुरु गरेको छ ।

    ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गछौं ।’

    ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैं घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ । हाल दुबै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

  • बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

    बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विनोद चौधरीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सीआइबीले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।

    ‘‘बाँसबारी छाला जुत्ता कारखाना लि।को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि। को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि। का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सीआईबीको पत्रमा उल्लेख छ ।

    यसअघि १८ माघमा सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए ।

    बाँसबारी छालाजुत्ता कारखाना घाटामा गएको भन्दै त्यसको केही जग्गा तत्कालीन च्याम्पियन फुटवेयर कम्पनीलाई बिक्री गरिएको थियो । पछि उक्त कम्पनी बन्द भएपछि जग्गा सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको थियो । च्याम्पियन फुटवेयरमा सांसद विनोद चौधरीको पनि सेयर रहेको आधारमा सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको संसदलाई जानकारी गराएको हो ।

  • समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

    समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

    काठमाडौं । स्वतन्त्र हैसियत मागेको भोलिपल्ट नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । मनाङेलाई मंगलबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरेका थिए ।

    ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । माओवादीले समर्थन फिर्ता लिएपछि फागुन २३ गतेबाट पाण्डे सरकार अल्पमतमा छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७ छन् ।


    एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८ छन् । अहिलेको सत्ता समीकरणअनुसार सरकार बन्न नदिने योजनाअनुसार पाण्डेले एकीकृत समाजवादी त्यागेर स्यतन्त्र हैसियत मागेका मनाङेलाई मन्त्री बनाएका छन् । तर, गण्डकीमा २ सदस्य भएको राप्रपा निर्णायक देखिएको छ ।

    आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारमा नजाने बताइरहेको राप्रपालाई एमाले र कांग्रेस दुबैले फकाइरहेका छन् । राप्रपाले साथ दिइहाल्यो भने पनि पाण्डेका निम्ति बहुमत संख्या ३१ पुग्दैन । यस्तो अवस्थामा नेपाल समाजवादी पार्टीबाट हँसिया हथौडा चुनाव चिह्नमा विजयी फणिन्द्र देवकोटालाई पनि तान्ने योजना पाण्डेको छ ।