Category: समाचार

  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न रोक

    दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न रोक

    काठमाडौं्र । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ ।

    दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) परित्याग गरेका पूर्व राष्ट्रपति जुमाले हालै नयाँ दल एमखोन्टो विसिज्वे (एमके) पार्टी खोलेका थिए । सन् २०२१ मा अदालतको अवहेलनाको आरोपमा केही समय जेलसजाय भोगेका जुमाले नयाँ दल खोलेर आफ्नो राजनीतिक यात्रा पुनः प्रारम्भ गर्न चाहेका छन् ।

    दक्षिण अफ्रिकी निर्वाचन आयोगका अध्यक्ष मोसोथो मोप्याले पूर्व राष्ट्रपति जुमालाई निर्वाचनमा भाग लिन नपाउने गरी निर्णय भएको पुष्टि गरे । उनी विरुद्ध एक उजुरी परेको थियो, जसलाई आयोगले स्वीकार गरेको छ ।

    सन् १९९४ मा सत्तामा आएयता एएनसीले पहिलो पटक ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने अनुमान गरिएको छ । अफ्रिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा ५० प्रतिशत मत ल्याउनुपर्दछ । मुलुकको कमजोर आर्थिक अवस्था तथा अत्यधिक भ्रष्टाचारको आरोप खेपिरहेको एएनसीलाई जनमत हासिल गर्न निकै धौधौ परेको बताइन्छ ।

  • त्रिशुलीमा ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु

    त्रिशुलीमा ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना(५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् । ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल

    काठमाडौं । नेपाल ए ले दोस्रो टी(२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ ।

    पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो । अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो । नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए । पहिलो खेलको ब्याटिङले खेलाडीको मनोबल बढ्नेछ ।


    नेपालको मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न सकेका थिएनन् । नेपालले आज फिनिसर नारायण जोशीलाई मौका दिनसक्छ । १४ महिनापछि क्रिकेटमा फर्किएका कमलले तीन विकेट लिंदै राम्रो प्रदर्शन गरेका थिए । बलिङमा भने केही सुधार गर्नुपर्ने देखिन्छ । उता पिटर मुर आयरल्यान्डका प्रमुख ब्याटर हुन् । उनले पहिलो खेलमा ४९ रन बनाएका थिए । स्टेफन डोहेनी, निल रक र ग्यारेथ डेलानी पनि राम्रो ब्याटर हुन् ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । आज पनि देशभर मौसम आंशिक बदली भएको छ । स्थानीय वायु र मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभावका कारण मौसममा बदली आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भु-भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार पनि पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार सोमबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
    देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन माशाखाले सचेत पनि गराएको छ ।

  • लगानी सम्मेलनमा प्रदेशका योजना समेत राखिने

    लगानी सम्मेलनमा प्रदेशका योजना समेत राखिने

    काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरूपनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए। अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका छ जनाभन्दा बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया गरेका थिए। त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरे।

    त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरूको तयारीबारे अन्तक्रिया भएको थियो। छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाहरूबारे जानकारी गराए।

    जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनीहरूले बताए। निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले औंल्याएका विद्यमान केही कानूनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरूको थियो। उनीहरूले प्रदेशस्तरका केही ठूला आयोजना लगानी सम्मेलनमा राख्ने उल्लेख गरे।

    उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपन्क्षी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री नवलकिशोर साह छलफलमा थिए।

    त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुस्कर, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मालगायत सहभागी थिए।

    कार्यक्रममा मन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानूनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए। उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए। ‘गैरआवासीय नेपालीहरूलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौं,’ उनले भने, ‘परिस्थितिबस अरू देशको नागरिकता लिएको भए पनि उहाँहरू नेपाली नै हुनुहुन्छ। आफ्नो मातृभूमिमा आएर लगानी गर्न इच्छुक पनि हुनुभएको मैले पाएको छु ।’

  • बजेट लेख्ने समिति गठन

    बजेट लेख्ने समिति गठन

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनका लागि समिति बनाएको छ । बजेट लेखनको लागि सहसचिव तथा राजस्व महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा लेखन समिति बनाएको हो। समिति सदस्यहरूमा बजेट महाशाखा प्रमुख रितेश शाक्य, वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुख ईश्वरी अर्याल, अर्थनीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, सह-सचिव रामप्रसाद आचार्य र आन्तरिक राजस्व विभागकी उप-महानिर्देशक पार्वती शर्मा छन्। समितिको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट लेखनको कार्य गर्नेछ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १८ खर्ब रूपैयाँको बजेट सिलिङ दिएको छ।

  • होटल सिद्धार्थ भिलासाले पायो पाँचतारे होटलको मान्यता

    होटल सिद्धार्थ भिलासाले पायो पाँचतारे होटलको मान्यता

    काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवास्थित होटल सिद्धार्थ भिलासाले पाँचतारे होटलको मान्यता पाएको छ । पर्यटन विभागले हालै उक्त होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी पाँचतारे मान्यता दिएको कम्पनीले जनाएको छ । लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँचतारे स्तरको होटलमा वर्गीकरण गरी इजाजतपत्र दिइएको कम्पनीले जनाएको छ । करिब पाँच बिघा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भीएक्जिक्युटिभ स्विट, दुई स्विट, पाँच जुनियर स्विट र ७७ एक्जिक्युटिभ डिलक्स गरी ८५ कोठा छन् ।

    होटलमा साना–ठूला गरी पाँच कन्फ्रेन्स हल र पाँच रेस्टुरेन्ट छन् । होटलमा १ हजार ५ सय सिट क्षमताको ब्यांक्वेट हल छ जुन नेपालकै ठूलो ब्यांक्वेट हल भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरी त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको उनले बताए । लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकमा स्तरीय सेवा दिने लक्ष्य रहेको उनको भनाइ छ ।

    होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेलनेस सुविधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन भएपछि झन्डै ५ सयलाई रोजगारी मिल्ने सीईओ न्यौपानेले बताए । नेपालकै उत्कृष्ट क्यासिनो सञ्चालन गर्न सकिने गरी क्यासिनोका लागी संरचना समेत निर्माण भएको उनले बताए । सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको समेत बताएको छ ।

    अगामी वर्ष कैलाली धनगढी र तनहुँ दमौलीमा नयाँ होटल र रुपन्देही योगीकुटीमा ब्यांक्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ । त्यस्तै आगामी वर्षभित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारेमा स्तरोन्नति गर्ने योजना अनुसार काम भइरहेको न्यौपानेले जानकारी दिए ।

  • पर्वतमा १२ वर्षकै बालकले दिँदैछन् एसईई

    पर्वतमा १२ वर्षकै बालकले दिँदैछन् एसईई

    काठमाडौं । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिएका छन् । उनी सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुन् । २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । विसं २०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए ।

    विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम अनुसार अधिकारी १२ वर्ष मात्र पुगेका छन् । तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढ्थे । उनी विनु माविमा कक्षा ८ मा भर्ना भएका थिए । निजी विद्यालयबाट सामुदाकि विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ ।

  • बाल्टिमोर पुल कोल्याप्स : दुई जनाको शव भेटियो

    बाल्टिमोर पुल कोल्याप्स : दुई जनाको शव भेटियो

    काठमाडौं । बाल्टिमोरमा पानीजहाज ठोकिएपछि भत्किएको पुलबाट खसेर नदीमा डुबेको एउटा ट्रकमा दुई व्यक्तिको शव फेला परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। पट्याप्स्को नदीमाथि निर्मित २.६ किमि लामो फ्रान्सिस स्कट की ब्रिज भत्किँदा सडक मर्मत गर्न खटिएका आठ मजदुर पानीमा खसेका थिए। तीमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको थियो। हराइरहेका बाँकी चार जना जीवित भेटिने सम्भावना नभएको अधिकारीहरूले बताएका छन्। यद्यपि खोजीकार्य जारी छ। अनुसन्धानकर्ताहरू घटनास्थलमा खटिएका छन्।

    पुलको भग्नावशेषले थिचिएको दुर्घटनाग्रस्त पानीजहाजमा भएका घातक सामग्री व्यवस्थापन गर्ने काम पनि भइरहेको छ। दुर्घटनामा परेका छमध्ये चार जनाको पहिचान गरिएको छ। मेरिल्यान्ड राज्यको प्रहरीले ट्रकभित्रबाट ३५ वर्षका एलिहान्ड्रो हर्नान्डेज फ्युन्टिज र २६ वर्षका कास्टिलो क्याब्रिराको शव फेला परेको जानकारी दिएको छ। फ्युन्टिजको मूल थलो मेक्सिको हो भने क्याब्रिरा ग्वाटेमालाबाट अमेरिका पुगेका हुन्।

    प्रहरीका अनुसार नदीमा रहेको भग्नावशेष र कङ्क्रिटका कारण गोताखोरहरूले सुरक्षित रूपमा खोजीकार्य अघि बढाउन सकेका छैनन्। खोजीकार्यमा सोनर स्क्यान पनि प्रयोग गरिएको छ। बाँकी शव रहेको ठानिएका सवारीसाधन पुलबाट खसेको कङ्क्रिट र अन्य संरचनाले सम्भवतः थिचिएको एक अधिकारीले बताए। बेपत्ता भएकामध्ये अरू दुई जनाको पनि नाम सार्वजनिक भएको छ। प्रहरीले तीमध्ये एक जना एल साल्भडोर र अर्का होन्डुरसका नागरिक भएको जनाएको छ। दुवै जनाको मृत्यु भएको मानिएको छ।

    यसअघि मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना दुई नागरिकले ज्यान गुमाएको हुन सक्ने जनाएको थियो।तीमध्ये एकको पहिचान खुलेको छ भने अर्का व्यक्तिको जीवितै उद्धार गरिएको थियो। अधिकारीहरूका अनुसार नदीबाट उद्धार गरिएका एक जनालाई अस्पतालले बिदा गरेको छ। मङ्गलवार राति झन्डै १ः३० बजेतिर दुर्घटना भएपछि प्रतिकार्यका लागि खटेका उद्धारकर्ताले नदीमा खसेका मानिसहरूको खोज्न थालेका थिए।

    अमेरिकी कोस्ट गार्डले सूर्यास्त हुनै लाग्दा खोजीकार्य स्थगित गर्दै पुल भत्किएपछि कठ्याङ्ग्रिने चिसो पानीमा खसेका मानिस लामो समयसम्म जीवित नभएको अनुमान गरेको थियो। अधिकारीहरूले शव खोज्न प्रयास भइरहेको जनाएका छन्। “हामीले ती मानिसका परिवारलाई यथार्थ खबर दिनैपर्छ,” मेरिल्यान्डका गभर्नर वेस मोरले भनेका छन्।

  • दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तिमा ४५ जना मारिए

    दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तिमा ४५ जना मारिए

    काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् ।

    उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । त्यसपछि बसमा आगो लागेको थियो । दुर्घटनास्थल जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।

  • आइपीएल : राजस्थानको लगातार दोस्रो जित

    आइपीएल : राजस्थानको लगातार दोस्रो जित

    काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै दोस्रो जित निकालेको छ । जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर डेविड वार्नर ३४ बलमा ५ चौका र ३ छक्कासहित ४९, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भए । राजस्थानमा नान्द्रे बर्गर र युजभेन्द्र चहलले २–२विकेट लिए ।

    त्यसअघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । रियान पराग ४५ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा नट आउट रहे । रविचन्द्रन आश्विन २९, ध्रुब्र जुरेल २०, यशस्वी जैसवाल ५, जस बटलर ११ र सञ्जु स्यामसन १५ रनमा आउट भए । दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्किया, अक्षर पटेल र कुलदीप यादवले १–१ विकेट लिए । राजस्थान र चेन्नई दुबैको ४४ अंक छ । चेन्नई नेटरनरेटको कारण शीर्ष स्थानमा छ ।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना

    काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेल आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।

    त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार) हुनेछ । शुक्रबार बिहानैदेखि काठमाडौंमा कालो बादल लागेको छ । दुबै टोलीलाई वर्षाको डर छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो पनि काठमाडौंमा पानी पर्ने सम्भावना छ । कीर्तिपुरसहित काठमाडौं उपत्यकाभर मध्याह्न १२ बजेपछि पानी पर्ने सम्भावना छ । मौसमविदले शनिबारसम्मै बदली र वर्षाको सम्भावना औंल्याएका छन् ।

  • अमेरिकामा अन्धाधुन्ध चक्कु प्रहार, कम्तिमा चार जना मारिए

    अमेरिकामा अन्धाधुन्ध चक्कु प्रहार, कम्तिमा चार जना मारिए

    काठमाडौं । संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रहरीले उक्त घटनामा शङ्कास्पद आरोपी एक २२ वर्षीय युवकलाई पक्राउ गरेको रकफोर्ड प्रहरी प्रमुख कार्ला रेडले बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । कार्लाका अनुसार राति १ बजेतिर घटनास्थलबाट सहयोगका लागि प्रहरीमा खबर आएको थियो ।

    प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चौथो व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा १५ वर्षीया एक किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय व्यक्ति र २२ वर्षीय युवा छन् । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    कार्लाका अनुसार घटनाका बारेमा विस्तृत विवरण प्राप्त गर्न पीडितका घर आसपास राखिएका सिसिटिभी क्यामेरा दुरुस्त राख्न अनुरोध गरिएको छ । रकफोर्डको जनसङ्ख्या करिब एकलाख ५० हजार रहेको र यो स्थान सिकागो शहरबाट करिब १४५ किलोमिटर टाढा छ । रकफोर्डस्थित वाल्मार्ट सपिङ मलमा कार्यरत एक युवाको वाल्मार्टभित्रै बुधबार हत्या भएपछि यस्तो घटना भएको प्रहरीको भनाइ छ । रासस

  • चैते धानको समर्थन मूल्य तोकियो

    चैते धानको समर्थन मूल्य तोकियो

    काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७०७ तोक्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रीको निजी सचिवालयले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो। सरकारले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाएर कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरेको हो।

    सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृत गर्ने निर्णय गरेको छ।

    नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गर्दै राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ।

    सँगै सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरेको छ।

  • आरजु देउवाको दिल्लीमा उपचार सुरु, के भएको हो ?

    आरजु देउवाको दिल्लीमा उपचार सुरु, के भएको हो ?

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ। आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले बताए। गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्। आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ।

  • नेपाल र भारतबीच तीन महिनाका लागि मात्र विद्युत आयात सम्झौता नवीकरण

    नेपाल र भारतबीच तीन महिनाका लागि मात्र विद्युत आयात सम्झौता नवीकरण

    काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने भएको छ ।

    अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ । असारपछि नेपालसँग पर्याप्त विद्युत् हुने र निर्यात समेत सुरु हुने भएकाले यो सिजनलाई आपूर्तिमा समस्या नहुने ऊर्जा मन्त्रालयले जनाएको छ । भारतबाट ५५४ मेगावाट विद्युत् आयात गर्दा पनि नेपालको माग धान्न सकिने अवस्था छ ।

  • एमडीएमएस खरिदमा भ्रष्टाचार, दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

    एमडीएमएस खरिदमा भ्रष्टाचार, दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्अवध्यक्षसहित २० जनाविरुद्ध करिब एक अर्बको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रसहित प्रतिवादी बनाइर भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    यस्तै प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

    अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस खरिद राज्यकोषबाट ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ नोक्सान भएको दाबी गर्दै सोही बराबर बिगो असुल हुनुपर्ने दाबी गरिएको छ।

  • कर्णाली पुलबाट हाम फालेर बेपत्ता शाहीको शव भेटियो

    कर्णाली पुलबाट हाम फालेर बेपत्ता शाहीको शव भेटियो

    काठमाडौं । कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ। उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष लब शाहीले जानाकारी दिए ।

    पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको बताइएको छ। शाहीका आफन्तले शवको सनाखत गरेका छन्।

    शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए। उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए। उनीहरुले रमाइलो गर्ने क्रममा पुलबाट हाम फालेको बताइएको छ।

  • उपत्यकाभित्र मौसमी फ्लू सँगै कोरोना संक्रमण फैलियो

    उपत्यकाभित्र मौसमी फ्लू सँगै कोरोना संक्रमण फैलियो

    काठमाडौं । हाल काठमाडौ उपत्यकाभित्र मौसमी रुघाखोकी सँगै कोरोना भाइरस फैलिरहेको छ । जसले ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका नागरिकलाई बढी असर गर्ने भएकाले आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्था आउने चिकित्सक बताउँछन् ।

    संक्रामक रोगको उपचार गरिने देशकै प्रमुख स्वास्थ्य केन्द्र टेकु अस्पतालमा एक हप्ताको बीचमा ९ जना सिकिस्त बिरामी भर्ना भएका छन् । रुघाखोकी र ज्वरोले समुदायस्तरमा प्रकोपको रूप लिंदै गइरहेको छ । समुदायस्तरमा फ्लु र कोराना भाइरस सक्रिय देखिएको छ ।

    चिकित्सकका अनुसार कोरोना संक्रमण बढ्न थालेको एकदेखि दुई हप्तापछि बिरामीको संख्या बढ्न सक्छ । अर्थात् आजभोलि अस्पताल भर्ना भएका बिरामी दुई हप्ताअघि संक्रमित भएका हुन् ।

  • एसइई परीक्षामा चिट चोराउने १० निरीक्षक निष्काशित

    एसइई परीक्षामा चिट चोराउने १० निरीक्षक निष्काशित

    काठमाडौं । सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो । कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ । गोडैता नगरपालिकास्थित बेणीभोला माध्यामिक विद्यालय, जनता नमूना माध्यामिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएकोजनाइएको छ ।

  • रुसमा हमला गर्ने चार जनाविरुद्ध आतकंवाद अभियोगमा मुद्दा

    रुसमा हमला गर्ने चार जनाविरुद्ध आतकंवाद अभियोगमा मुद्दा

    काठमाडौं । मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न आरोपमा चार जना संदिग्धलाई आतङ्कवाद अभियोग लगाएको छ । दोषी ठहर भए उनीहरूलाई आजीवन कारावासको सजाय हुनेछ । अहिले उनीहरूलाई मे २२ सम्मका लागि थुनामा राखिएको छ ।

    मुद्दाको सुनुवाइको मितिका आधारमा म्याद थप गर्न सकिने अदालतले जनाएको छ । उनीहरूलाई आइतबार हिरासतमा लिइएको थियो । अदालतले दुई जना प्रतिवादीले आफ्नो अपराध स्वीकारेको र तीमध्ये एक जना ताजिकिस्तानका नागरिक रहेको र उनले आफ्नो अपराध पूर्णरुपमा स्वीकारेको जनाएको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बर्बर आतङ्कवादी हमला’मा संलग्नलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार युक्रेनतर्फ भाग्ने क्रममा चारै जना बन्दुकधारीलाई पक्राउ गरिएको रुसी अधिकारीले बताएका थिए । किएभले उक्त आक्रमणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी गर्दै आएको छ । पुटिनले इस्लामिक स्टेट (आइएस)समूहको जिम्मेवारीबारे सार्वजनिकरुपमा कुनै भनाई राखेका छैनन् ।


    मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा शुक्रबार साँझ बन्दुकधारीले आक्रमण गरी भवनमा आगजनी गर्दा तीन बालबालिकासहित कम्तीमा १३७ जनाको मृत्यु भएको थियो । आइएसले युरोपमा गरेको यो सबैभन्दा घातक आक्रमण हो । रुसी अनुसन्धान समितिले मस्कोस्थित आफ्नो मुख्यालयमा चार संदिग्धलाई घिसार्दै लगेको भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य सात जनाको बारेमा भने केही बताइएको छैन ।

    अधिकारीहरूले बन्दुकधारीहरू सबै विदेशी नागरिक भएको बताएका छन् । इस्लामिक स्टेट समूहले शनिबार टेलिग्राममा पोस्ट गरेको एक पोस्टमा ‘चार जना आइएस लडाकुले मेसिनगन, पेस्तोल, चक्कु र फायरबमसहित आक्रमण गरेका’ देख्न सकिन्छ । एसआईटीई गुप्तचर समूहका अनुसार बन्दुकधारीले खिचेको करिब डेढ मिनेट लामो भिडियो विभिन्न सामाजिक सञ्जालका अकाउन्टमा पनि पोस्ट गरिएको छ । रासस-एएफपी

  • मुगुमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    मुगुमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । हिजो गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् । कच्ची र साँघुरो चार मोड भन्ने ठाउँको सडकबाट जीप खसेको थियो ।

  • यस वर्षको एसईई परीक्षा आजबाट सुरु

    यस वर्षको एसईई परीक्षा आजबाट सुरु

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

    विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

  • मौसम शनिबार सम्म नै प्रतिकुल

    मौसम शनिबार सम्म नै प्रतिकुल

    काठमाडौं । मौसम शनिबार सम्मप्रतिकुल रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालका धेरैजसो भागमा पानी पर्नेछ । पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षासमेत भइरहेको छ ।

    गतराति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङको कुन्छा भन्ने ठाउँमा भएको छ । त्यहाँ ६१ मिलिमिटर वर्षा पन भएको हो । यसैगरी चितवनको त्रिशूलीमा ५३।६ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५२ मिलिमिटर वर्षा मापन भएको छ ।
    चैतको महिनामा सामान्यतया बिहानैदेखि दिउँसोसम्म चर्को घाम लाग्ने, साँझपख हावाहुरी चल्ने र चट्याङसहित असिना पानी पर्ने गर्छ । तर अहिले माघे झरीजस्तो मौसम देखिएको छ ।


    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि शनिबारसम्म बदली र वर्षाको प्रक्षेपण छ । बुलेटिनमा लेखिएअनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

    आगामी २४ घण्टाका लागि परामर्श दिंदै महाशाखाले भनेको छ, ‘ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज टी-२० खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज टी-२० खेल

    काठमाडौं । नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ । आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ ।

    बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी-२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो ।

    नेपाल ए को टी(२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।

    चोटका कारण २०२२ पछि टोलीमा फर्किएका तीव्र गतिका बलर कमलसिंह ऐरीका लागि निकै महत्वपूर्ण हुनेछ । घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका दुई युवा हिटर अर्जुन घर्ती र नारायण जोशी पनि छनोटकर्ताको नजरमा हुनेछन् । उता आयरल्यान्डका ग्यारेथ डेलानी, रस आदिर र स्टेफन डोहेनी प्रमुख हतियार हुन् । दोस्रो टी२० खेल चैत १६ र तेस्रो चैत १८ मा हुनेछ ।

  • आइपीएलमा रनको वर्षा, मुम्बई पराजित

    आइपीएलमा रनको वर्षा, मुम्बई पराजित

    काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको छ । मुम्बईको यो लगातार दोस्रो हार र हैदराबादको दोस्रो जित हो । जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनायो ।

    मुम्बईका तिलक बर्माले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रन बनाए । ईशान किशन १३ बलमा २ चौका र ४ छक्कासहित ३४, रोहित शर्मा २६, नमन धिर ३० र हार्दिक पान्ड्या २४ रनमा आउट भए । टिम डेविड २२ बलमा २ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे ।

    हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए । त्यसअघि राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । यसअघि आईपीएलमा सर्वाधिक योगफल सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुणे वारियर्सविरुद्ध २० ओभरमा ५ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । उक्त कीर्तिमान हैदरावादले तोड्दै इतिहासकै ठूलो योगफल बनाएको हो ।

    हैदराबादका हेनरिक क्लासेन ३४ बलमा ४ चौका र ७ छक्कासहित ८० रनमा नटआउट रहे । एडेन माक्ररम २८ बलमा २ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहे । चौथो विकेटका लागि क्लासेन र माक्ररमले ५५ बलमा ११६ रनको अविजित साझेदारी गरेका थिए । हैदराबादका ओपनर टविस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रनको आक्रामक इनिङ खेले । अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन बनाएका थिए ।

    ओपनर मयंक अग्रवाललाई ११ रनमा गुमाएको हैदराबादलाई दोस्रो विकेटका लागि हेड र शर्माले २३ बलमा ६८ रनको साझेदारी गरेका थिए । हार्दिक पाण्ड्या, जेराल्ड कोट्जी र पियुष चावलाले १र१ विकेट लिएका थिए ।

  • सुनकोशीमा हराइरहेका बालबालिकाको शव फेला

    सुनकोशीमा हराइरहेका बालबालिकाको शव फेला

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ। आइतबार होली खेलेर कोसीमा नुहाउने क्रममा बेपत्ता भएका १२ वर्षीय लोकबहादुर मगर, रेखा मगर र नौ वर्षीय रिदम मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । मंगलबार साँझ रिदम र बुधबार लोकबहादुर र रेखाको शव भेटिएको उनको भनाइ छ।

    साउनेस्थित माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रेखा, कक्षा ४ मा अध्ययनरत रिदम र कक्षा ५ मा अध्ययनरत लोकबहादुर होली खेलेर नुहाउन गएको अवस्थामा आइतबार दिउँसो ३ बजे सुनकोसी नदीमा डुबेर बेपत्ता भएपछि उनीहरूको खोजी भइरहेको थियो।

    चौधरीका अनुसार बालबालिका बेपत्ता भएको स्थानदेखि करिब दुई किलोमिटर तल रिदमको शव बग्दै गरेको अवस्थामा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त वस्नेतसहितको टोलीले मंगलबार साँझ फेला पारेको हो। रेखा मगर र लोकबहादुर मगरको शव उनीहरू हराएको स्थानभन्दा करिब चार किलोमिटर तल बुधबार भेटिएको हो।

  • रुसमा अब म्यानपावरबाट काम गर्न जान पाइने

    रुसमा अब म्यानपावरबाट काम गर्न जान पाइने

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रूसमा म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएर जान पुनः खुला गर्ने निर्णय गरेको छ। सचिवस्तरीय निर्णय गर्दै म्यानपावरमार्फत् त्यहाँ श्रमिकहरू जान पाउने व्यवस्था गरिएको हो। यसअघि नेपालीहरू विभिन्न बहानामा रूस गई रूसी सेनामा भर्ती भएका र रूस–युक्रेन युद्धमा मृत्यु भएका घटनापछि सबै प्रकारका श्रम स्वीकृति स्थगन गरिएको थियो।

    गत पुस १९ गते वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रूसका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन भएको जनाएको थियो। श्रम स्वीकृति रोकिएका कारण रूसबाट बिदामा आएका नेपालीहरूको माग सम्बोधन गर्दै सचिवस्तरीय निर्णयबाट श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ।

  • उत्पादन र रोजगारी लक्षित बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन

    उत्पादन र रोजगारी लक्षित बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१र८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन् । एउटा दृष्टिकोण छ– अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जानुपर्छ । अर्को दृष्टिकोण छ– चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौँ भन्नेमा दृढ छु ।’

    बैठकमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, ‘सङ्कटको बेला नै राज्य चाहिन्छ । राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो । त्यसैले बजेटमा नयाँपन दिनुपर्छ ।’ सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देख्ने खालको बजेट आवश्यक भएको प्रधानमन्त्री प्रचण्डले बताए । यसका लागि सम्पूर्ण गृहकार्य गर्न र राजस्व बढाउने नयाँ कार्ययोजना सहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिए ।

    आयोजनाहरूको प्राथमिकीकरणको काम व्यवस्थित गर्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् । ‘जुन आयोजनामा काम राम्रो भएको छ, खर्च गर्ने क्षमता पनि राम्रो छ, त्यस्तोलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘काम नभएका योजनालाई हटाउँदा पनि फरक पर्दैन । त्यसरी हटाएका योजनामा जाने बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गरौं ।’

  • प्रहरी महानिरीक्षकको दाबी-‘सहकारीमा रवि लामिछानेबारे तथ्य-प्रमाण छैन’

    प्रहरी महानिरीक्षकको दाबी-‘सहकारीमा रवि लामिछानेबारे तथ्य-प्रमाण छैन’

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले सुर्यदर्शन सहकारीको ठगीमा रवि लामिछाने भन्ने ब्यक्ती बारे तथ्य प्रमाण नभेटिएको दाबी गरेका छन्।

    प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।

    ‘सहकारी विभागले सिफारिस गरेको हकमा प्रहरीले अनुसन्धान गर्ने गरेको छ। शुर्यदर्शन सहकारीको हकमा पाँच जना पक्राउ गरिएको र १४ जना फरार रहेका छन्’ उनले भने।

    उनले जीवी राइलाई पक्राउ गर्ने हकमा प्रहरी गम्भीर रहेको र उनी अहिले पनि मलेसियामा रहेकोबारे प्रहरी विश्वस्त रहेको भन्दै सुपुर्दगी गर्ने सम्बन्धमा अनौपचारिक रूपमा भए पनि अनुरोध गर्न मलेसियाको सरकारले आग्रह गरेपछि परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको खुलाए।

    उनले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कागजपत्र पठाए पनि मलेसियाली सरकारले त्यति गम्भीर रूपमा नलिएको भन्दै इन्टरपोलले सहजीकरण गर्ने तर पक्राउ गरेर पठाउन बाध्य नहुने र मलेसियासँग नेपालको सुपुर्दगी सन्धि नभएको अवस्थामा जीवीलाई नेपाल ल्याउन समस्या परेको कुँवरले बताए।