Category: समाचार

  • राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

    राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

    काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज हुने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने छ। राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्तारूढ दलहरूले कपिलवस्तुकी नेकपा (एमाले)की सांसद विमला घिमिरेलाई अघि सारेका छन्।

    आज बस्ने राष्ट्रिय सभा बैठकमा सांसद् भगवती न्यौपानेलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई अघि सारेको छ। उनलाई निर्वाचित गरियोस् भनेर दुर्गा गुरूङले प्रस्ताव प्रस्तुत गर्नेछिन्।

    राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १—१ सांसदले मत हाल्नेछन्।

  • आइपीएल : पन्जावमाथि हैदरावादको कठिन जित

    आइपीएल : पन्जावमाथि हैदरावादको कठिन जित

    काठमाडौं । आईपीएलमा सनराइज हैदराबादले पञ्जाब किंग्समाथि २ रनको कठिन जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो । पञ्जाबका शंकर सिंहले अविजित ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आशुतोष शर्माले ३३, साम कुरनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ र शिखर धवनले १४ रना बनाए ।

    हैदराबादका भुवनेश्वर कुमारले २, प्याट कमिन्स, टी नटराजन, नितिशकुमार रेड्डी र जयदेवले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । पञ्जाबका लागि नितिशककुमार रेड्डीले सर्वाधिक ६४ रनको योगदान गरे । एक विकेटसमेत लिएका उनी प्लेर अफ दि म्याच पनि भए ।

    यस्तै, अब्दुल समादले २५, ट्रभिस हेडले २१, अभिशेक शर्माले १६, शहबाज अहमदले १४, राहुल त्रिपाठीले ११ रन बनाए । पञ्जाबका अर्शदीप सिंहले ४, साम कुरन र हर्सल पटेलले समान दुई र कागिसो रबाडाले एक विकेट लिए । पाँच–पाँच खेल खेलेका हैदराबाद र पञ्जाब क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

  • विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा

    विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा

    काठमाडौं । विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरूको समीक्षा सम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ। बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानी, वन क्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानूनी तथा व्यावहारिक जटिलता लगायत कारण आयोजनामा ढिलाइ भइरहेको बताए।

    अर्थमन्त्री वर्षमान पुन, अर्थसचिव कृष्णहरि पुस्कर र सहसचिव श्रीकृष्ण नेपालले ती आयोजनाका प्रणालीगत समस्यालाई नीतिगत सुधारमार्फत र व्यावहारिक समस्यालाई अन्तर मन्त्रालय र एजेन्सीहरूसँगको समन्वयमा समाधान गरिने प्रतिबद्धता जनाए। नेपालमा विश्व बैंकको लगानीमा २।३ अर्बका २३ र एसियाली विकास बैंकको लगानीमा ३।६ अर्बका २६ ९अमेरिकी डलर बराबर० आयोजना सञ्चालनमा छन्। ती दुवै बैंकले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेका छन्।

    मन्त्री पुनले आफू दोस्रोपटक मन्त्री भएर आएपछि पहिलोपटक पोर्टफोलियो समीक्षा बैठकमा सहभागी भएको भन्दै यस्ता बैठक चालु आयोजनाका काम अघि बढाउन फलदायी हुने बताए। विकास आयोजना कार्यान्वयनमा दक्षता वृद्धि जरूरी रहेको मन्त्री पुनको भनाइ थियो। मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंक दुवैको लगानीमा सञ्चालित आयोजनाहरूका अधिकांश समस्या आयोजना तयारी, ठेक्का व्यवस्थापन, अन्तर मन्त्रालय तथा एजेन्सी समन्वय, सुरक्षा तथा मानव संशाधन व्यवस्थापनसँग सम्बन्धित रहेको बताए। आफूले योजना कार्यान्वयन गर्ने निकायसँग समन्वय र छलफल गरिरहेको भन्दै मन्त्री पुनले सम्वद्ध निकायबाट कामको गति बढाउने प्रतिबद्धता आएको जानकारी दिए।

    यस्तै उनले त्यस क्रममा आइपरेका समस्यामा सहजीकरण गर्न आफू तयार रहेको बताए। मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकद्वारा सञ्चालित आयोजनाका काममा ढिलाइ हुनुमा कमजोर ठेक्का व्यवस्थापन एक रहेको उल्लेख गरे।

    केही आयोजनाहरूमा जग्गा अधिग्रहण र समयमै क्षतिपूर्ति उपलब्ध हुन नसक्दा कार्यसम्पादन कमजोर रहेको मन्त्री पुनको भनाइ थियो। यद्यपि अर्थ मन्त्रालयका तर्फबाट उनले ती आयोजना समयमै सक्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता मन्त्री पुनले जनाए। नेपालले विश्व बैंक र एसियाली विकास बैंकसँगको सहकार्यलाई आगामी दिनमा सरकारको विकास प्राथमिकताका आधारमा थप घनिभूत बनाइने बताए।

    बैठकमा मन्त्री पुनसहित अर्थसचिव कर्ण, सहसचिव, नेपाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एसियाली विकास बैंकका दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेओ कोनिशी, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने देशीय निर्देशक फारिस एच हादाद जेर्भोसलगायत सहभागी थिए।

  • आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री

    आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका हुन् । पुनले आर्थिक रूपमा शिथिलता भए पनि सुधार प्रयास गरिरहेको बताए । गत वर्षभन्दा चालु आवमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे ।

    आगामी आवमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे । उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उनले बताए । पुनले विश्व बैंक र एडीबीको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च प्रगति कम रहेको बताए । आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आयोजना सम्बद्ध मन्त्रालयसँग निरन्तर संवाद र परामर्श गरिरहेको उनको भनाइ थियो ।

    नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वधारमा उल्लेख्य विकास गरेको उनले बताए । १५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी १ लाख किलोमिटर सडक निर्माण भएको तथ्यांक अर्थमन्त्री पुनले प्रस्तुत गरे । पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन संख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए ।

    ती सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास उनले व्यक्त गरे । महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए । यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने बताए ।

  • पोखरामा सुरु हुँदै सावर बन्जी

    पोखरामा सुरु हुँदै सावर बन्जी

    काठमाडौं । पर्यटन राजधानी पोखरामा मुलुकमै पहिलो पटक ‘सावर बन्जी’ सुरु गर्ने भएको छ । बन्जी गर्दा पानीको फोहोराको मजा लिन पाइने छ । एड्भेन्चर कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले हेम्जामा सञ्चालन गर्न लागेको बन्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी फरक स्वाद पस्किने योजना अनुसार सावर बन्जीको अवधारणा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक दिनेश महर्जनले बताए । १८ चैतमा सावर बन्जी उद्घाटन गरिने महर्जनले जानकारी दिए । ‘विश्वकै दोस्रो र नेपालकै पहिलो सावर बन्जी सुरु गर्न पाउँदा उत्साहित छौं,’ महर्जनले भने ।

    उनका अनुसार ६ हजार ५ सय रुपैयाँमा फोटो, भिडियो र टिसर्टसहित बन्जी बुक गर्न सकिने छ । जसमा प्रमाणपत्र र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायात सुविधा समावेश छ । हाइग्राउन्डले युरोपेली एडभेन्चर कम्पनी ‘बन्जी लाट्भिया’ सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बन्जी जम्प सुरु गरेको थियो । क्यान्टिलिभर ब्रिजको मोडेलमा बनाइएको यो नेपालकै पहिलो टावर बन्जी पनि हो ।

    कम्पनीले २०१२ जुन २ मा नेपालमै पहिलो पटक जिपलाइन भित्र्याएको थियो । सूर्योदय र सूर्यास्तका लागि चर्चित पोखरा सराङकोट टाकुराबाट हेम्जा फाँट पुगिने जिपलाइन अमेरिकी एडभेन्चर कम्पनी ‘जिप फ्लायर यूएस’ को फ्र्यान्चाइज जिपलाइन हो ।

    विश्वकै भिरालो र छिटो (द वर्ल्ड स्टिपेस्ट एन्ड फास्टेस्ट) र विश्वकै दोस्रो लामो जिपलाइनमा दुर्य वर्षअघि सुपरम्यान जिपलाइन पनि सुरु गरिएको थियो ।
    कम्पनीले हेम्जा स्टेसनमा नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ । खोलाबाट २ सय ६२ फिट माथि ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्विङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ, कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्विङ एक्लै, जोडीमा वा तीन जनासम्म एकै पटक बसेर खेल्न मिल्छ ।

  • भारतको नैनितालमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु

    भारतको नैनितालमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु

    काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।

    उत्तराखण्ड राज्यको नैनीताल जिल्लास्थित बेतालघाट नजिक मंगलवार बिहान भएको दुर्घटनामा सात नेपालीसहित ७ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

    टाइम्स अफ इण्डियाका अनुसार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।

    गाउँमा मृतकहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे। काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए। दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन्।

  • राप्रपाको शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम

    राप्रपाको शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानी केन्द्रित शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम भएको छ । मंगलबार दिउँसो ट्राफिक व्‍यवस्‍थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।

  • राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ

    राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ

    काठमाडौं । सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेको छ ।

    राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको हो। सिंहदरबारअगाडिबाट माइतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।

    प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ ।

  • राप्रपाले आजबाट राजा माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै

    राप्रपाले आजबाट राजा माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै

    काठमाडौं । गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । त्यसैले राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नारासहित प्रदर्शन गर्दैछ । प्रदर्शनको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने छन् ।

    प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो । प्रदर्शनमा सहभागीहरुले निषेधाज्ञा तोड्न सक्ने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै

    बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै

    काठमाडौं । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै काठमाडौं फर्किने छन् । महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको व्यवस्थापन, सुरक्षा प्रबन्ध लगायत सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

    हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२–१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ ।

    कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ ।

    भारतका बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र शास्त्री पनि आउँदो वैशाख ५ गते चतरा आउने कार्यक्रम तय भएको छ । कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मीहरू खटाइएको छ ।

    मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ । भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।

  • डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

    डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

    काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो ।

    यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाइएको थियो । उनका अनुसार, डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो । तालिम प्राप्त टोली भए पनि विपरीत दिशाबाट एक्कासी हावा चलेर आगो फैलिंदा उनीहरु निस्किन सकेका थिएनन् ।

  • सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

    सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

    काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । यसबारे अध्ययन गर्न छानबिन समिति समेत गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो । आगलागी नियन्त्रणमा लिन लामो समय लागेको छ । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको छ । यसका साथै स्काभेटर, दमकल, ट्याङ्करसहित १ हजार बढी सुरक्षाफौज परिचालन गरिएको छ ।

    उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिन खटिएका थिए । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो । सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको थियो ।

  • टेस्ट राष्ट्र वेस्ट इण्डिजको टोली नेपाल भ्रमणमा आउने

    टेस्ट राष्ट्र वेस्ट इण्डिजको टोली नेपाल भ्रमणमा आउने

    काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपालसँग पाँच टी–२० खेलका लागि काठमाडौं आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज पाँच टी–२० खेल खेल्न नेपाल आउने बताएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुने भएको छ । वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले टी–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीका रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्ने भएको हो ।

  • नेशनल मेडिकल कलेजमा छापा, एमडी सहित दुई पक्राउ

    नेशनल मेडिकल कलेजमा छापा, एमडी सहित दुई पक्राउ

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। पक्राउ पर्नेमा पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् ।

  • डढेलो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते

    डढेलो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते

    काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका-३ मा रहेको मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते भएका छन् ।

    आगलागीमा परि गम्भीर घाइते हुनेमा ३० वर्षीय विजय कोईराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिस बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । गम्भीर घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौं लैजान लागिएको नेपाली सेनाले जनाएको छ ।

    आइतबार दिउँसोदेखि डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको ठुलीभेरी नगरपालिका-३ मा रहेको मष्टा भवानी सामुदयिक वनमा लागेको आगो अत्याधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

    हावाहुरीका कारण सोमबार दिउँसो फेरि सुरु भएको आगलागी नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका ४ जना सेना आगो निभाउने क्रममा गम्भीर घाइते भएका हुन् ।

  • काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

    काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

    काठमाडौं । केही दिनअघि वर्षाले सफा भएको काठमाडौंको वायु फेरि प्रदूषित बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।

    सोमबार बिहान १२ बजेको रेकर्डअनुसार काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १६५ रहेको छ । सूचीको पहिलो नम्बरमा थाइल्यान्डको च्याङमाई रहेको त्यसको १७६ एक्यूआई छ । भारतको दिल्ली १५७ एक्यूआई सहित तेस्रोमा रहेको छ ।

    सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ । तथ्याक अनुसार ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

    वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

  • साढे ९ अर्ब विदेशी ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

    साढे ९ अर्ब विदेशी ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

    चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकको उक्त ऋण प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

    यस्तै, सरकारले संघीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

    बैठकले श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकामा सोको सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको छ ।

    यस्तै, प्राविधिक प्रहरी समून्नततर्फको प्रहरी नायब महानिरीक्षक विशेष २ पद सिर्जना गर्ने सरकारले निर्णय गरेको छ । यसैगरी, संयुक्त राज्य अमेरिकाको सान डिएगो, क्यालिफोर्नियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत ऋषि पुनाखर ढकाल र जर्मनीको नर्थ राइन, वेष्टफालिया ब्रेमेन र लोअर स्याक्सोनी क्षेत्रका लागि अवैतनिक महावाणिज्यदूत रामप्रताप थापाको पदावधि थप गर्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

    दैलेखको नारायण नगरपालिकालाई फोहरमैला सङ्कलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि राष्ट्रिय वनको ३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ । यस्तै, मकवानपुरको मनहरी गाउँपालिकालाई मनहरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न राष्ट्रिय वनको ०.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

    यता, मुगुको छायाँनाथ रारा नगरपालिका, डोटीको आदर्श गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, जुम्लाको गुठीचौर गाउँपालिका, रौतहटको परोहा नगरपालिलका र कञ्चनपुरको पुनर्वास नगरपालिकालाई विभिन्न परियोजना सञ्चालन गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

    यस्तै, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा प्रा डा पशुपति चौधरी र सदस्यमा डा. वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ ।

  • प्रधानमन्त्री प्रचण्ड कोरिया भ्रमणमा जाने

    प्रधानमन्त्री प्रचण्ड कोरिया भ्रमणमा जाने

    काठमाडौं । द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । भ्रमणको मितिसहित एजेन्डाबारे गृहकार्य सुरु भएको परराष्ट्र स्रोतलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दक्षिण कोरियाका तर्फबाट काठमाडौंस्थित दूतावासले भ्रमणको गृहकार्य गरिरहेको बताइएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले शनिबार जुगल हिमालको आरोहण गर्न लागेको नेपाल–दक्षिण कोरिया संयुक्त टोलीलाई नेपालको झन्डा हस्तान्तरण कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिए । दाहाललाई संयुक्त राष्ट्रसंघको अधिवेशन ७८ औं महासभाका दौरान न्युयोर्कमा दक्षिण कोरियाका राष्ट्रपति योन सुक योलले भ्रमणको निम्तो दिएका थिए ।

    दाहालले भने, ‘राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ । सकेसम्म त्यो निमन्त्रणालाई स्विकारेर कोरिया जाने तयारी गर्न खोज्दै छौं ।’ सोहीअनुसार भ्रमणको तयारी भइरहेको बताइएको छ । नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालबाट रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा एक लाखभन्दा बढी नेपालीहरू गइसकेका छन् । ५० वर्षको दौत्य सम्बन्धका अवसरमा दक्षिण कोरियाली दूतावासले नेपालमा कार्यक्रमको सुरुआतसमेत गरिसकेको छ ।

  • वेस्ट इण्डिजका रोड्रिक ओ’ इस्टविक बने नेपाली टोलीका बलिङ प्रशिक्षक

    वेस्ट इण्डिजका रोड्रिक ओ’ इस्टविक बने नेपाली टोलीका बलिङ प्रशिक्षक

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ इस्टविक नियुक्त भएका छन् । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षणलाई ध्यानमा राखी नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार इस्टविकलाई बलिङ सल्लाहकार प्रशिक्षक नियुक्त गरेको हो । इस्टविकले लामो समय वेस्ट इन्डिजको सियिनर टोलीमा रहेर काम गरेका छन् ।

    ‘‘नेपालको राष्ट्रिय टोलीसँग काम गर्न पाउनु मेरा लागि खुसीको कुरा हो । म आफ्नो ज्ञान नेपाली खेलाडीसँग बाँड्न आतुर छु । पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ । नेपाली क्रिकेटलाई अझैमाथि लैजान म सक्दो प्रयास गर्नेछु,’’ ६२ वर्षीय इस्टविकले भनेका छन् । उनले ३७ वटा शीर्ष श्रेणी र लिस्ट ‘ए’ मा ४२ खेल खेलेका छन् ।

  • कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

    कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

    संसद् बैठक चैत २७ गते (मंगलबार) बोलाइएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए ।

  • एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी

    एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी

    काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी हुन् । यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको समेत प्रहरीले जानकारी दिएको छ । जाहेरी आएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको काठमाडौं प्रहरीले जनाएको छ । केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि झुक्याएर बलात्कार र गर्भपतन गराएको पीडितको दाबी छ ।

  • अनुमति नलिएका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा मन्त्रालयको आह्वान

    अनुमति नलिएका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा मन्त्रालयको आह्वान

    काठमाडौं । अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । कतिपय निजी विद्यालयले अवैध रूपमा विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग चर्को शुल्क असुलिरहेको गुनासो आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो । आइतबार एक सूचना प्रेसित गर्दै सूचीकृत नभएका शिक्षण संस्थाहरूलाई प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिसकेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

    ‘आईबी, सीबीएसई लगायत विदेशी शिक्षण संस्थाको सम्बन्धनमा मन्त्रालयको अनुमति विना विद्यालय सञ्चालन भइरहेका भनी विभिन्न गुनासो आइरहेकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ’ सूचीकृत शिक्षण संस्थाको सूची सार्वजनिक गरिएको सन्देशमा भनिएको छ, ‘यहाँ सूचीकृत विद्यालयहरू बाहेकका शिक्षण संस्थाहरूलाई प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिरहेकाले आफ्ना बालबालिकालाई त्यहाँ भर्ना नगर्न, नगराउनुहुन मन्त्रालयको अनुरोध छ ।’


    अनुमति लिएका ४९ शिक्षण संस्थाहरूमध्ये ३० वटा ए–लेभल (बेलायत), २ वटा इन्टरनेसनल ब्याकलरियट (स्वीट्जरल्याण्ड), १३ वटा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (भारत) र ४ वटा कूटनीतिक नियोगको सिफारिसमा सञ्चालित रहेको मन्त्रालयद्वारा सार्वजनिक सूचीमा उल्लेख छ ।

  • मुटुरोग विशेषज्ञ डा.ओममूर्तिले पुस्तक बिक्रीको रकम विद्यार्थीलाई दिने

    मुटुरोग विशेषज्ञ डा.ओममूर्तिले पुस्तक बिक्रीको रकम विद्यार्थीलाई दिने

    काठमाडौं । मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।

    ‘डा ओम फाउण्डेशन’ द्वारा आइतबार जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने उल्लेख छ।

    पुस्तक बजारमा आएको छ महिनाको अवधिभित्र २० हजार प्रतिभन्दा बढी बिक्री भइसकेको फाउण्डेशनले जनाएको छ । गत असोज ६ गतेदेखि बजार उपलब्ध पुस्तक विमोचनपूर्व नै प्रिबुकिङ भएको थियो भने स्वदेश तथा विदेशबाट दिनहुँ माग भइरहेको फाउन्डेसनले जनाएको छ।
    पुस्तक देशभरिकै अधिकांश पुस्तक पसलहरु र भाटभटेनी सुपरमार्केटका देशभरिकै स्टोरमा उपलब्ध रहेको छ भने समीक्षा पब्लिकेसन्स्लगायत विभिन्न अनलाइन प्लेटफर्म र वितरकमार्फत पाठकसमक्ष पुर्याइँदै आएको छ।

    पाठकहरूद्वारा अत्यधिक रुचाएको पुस्तकहरूको सूचीमा यस वर्ष मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पर्न सफल भएको छ । पाठक प्रतिक्रिया र समीक्षकहरूको प्रशंसासँगै छोटो समयमा पुस्तकको उच्च बिक्रीले जीवन्त सम्बन्ध पुस्तक पाठकको रुचीमा पर्न सफल भएको हो । पाठकको उत्साहजनक सहभागिता र माग बढिरहेको फाउन्डेसनले छिट्टै पुनः संस्करण ल्याउने तयारी गरेको छ । ५३ वटा खण्डलाई २३१ पृष्ठमा समेटिएको ‘जीवन्त सम्बन्ध’ पुस्तक कुल २४० पृष्ठको रहेको छ।

    यस पुस्तकले विशेषगरी बुबा–आमा र सन्तानबीचको सम्बन्धलाई मिहीन ढङ्गबाट केलाइएको छ । लेखकले आफ्नो जीवन भोगाइ, अनुभव र ज्ञानलाई रचनात्मक तरिकाले पुस्तकमा समाविष्ट गरेको हुँदा सबैलाई आफ्नै कथाव्यथा जस्तो लाग्ने भएकालाई पुस्तकले पाठकको मन जित्न सफल भएको समीक्षकहरूको भनाइ छ।

    त्यस्तै बदलिँदो नेपाली समाजमा खड्किदै गएको सम्बन्धको महत्वलाई पुस्तकमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । सामाजिक रूपान्तरणका निम्ति बलियो आधार बन्ने ‘जीवन्त सम्बन्ध’ पुस्तकका हरेक खण्डले मानिसलाई आफ्नो दायित्वबारे बुझाउन मद्दत गर्नेछ । विशेषगरी लेखकले ‘म’ पात्रमार्फत बुवासँगको सम्बन्धलाई प्रतिनिधिमूलक घटनाका रूपमा दर्शाउँदै नेपाली समाजको विम्ब प्रस्तुत गरेका छन्। रासस

  • गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

    गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।

    नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा चैत ५ गते सहभागी भएका नेकपा (एकीकृत समाजवादी) बाट स्वतन्त्र हैसियत मागेका सांसद दीपक मनाङे पनि गठबन्धनसँग मिलेका छन्। दिउँसो साढे ३ बजे शपथ ग्रहणको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

  • फ्रेण्डसिप कप उपाधी भिडन्त आज, नेपाल र गुजरात भिड्दै

    फ्रेण्डसिप कप उपाधी भिडन्त आज, नेपाल र गुजरात भिड्दै

    काठमाडौं । भारतमा जारी नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप कप टी २० प्रतियोगिताअन्तर्गत आज उपाधिका लागि गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दैछ । खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो ।

    शुक्रबार सम्पन्न चौथो खेलमा भने प्रतियोगिताबाट बाहिरिएको बरोडासँग ३७ रनले नेपाल पराजित भयो। एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्नेछ ।

  • गाजा–इजरायल युद्धको ६ महिना पुरा, ठूलो मानवीय क्षति

    गाजा–इजरायल युद्धको ६ महिना पुरा, ठूलो मानवीय क्षति

    काठमाडौं । गाजाँसँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।

    प्रदर्शनकारीले तत्काल गाजासँग सम्झौता गरेर बाँकी रहेका बन्धक फिर्ता ल्याउन र शान्ति कायम गर्न माग गरेका छन् । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरालमा आक्रमण गर्दा दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । उनीहरुमध्ये एक सय २४ जना रिहा भएका छन् ।

    बाँकी एक सय २९ जनामध्ये इजरायली सेनाले अहिलेसम्म १४ जनाको शव फेला पारेको छ । छ महिना पूरा भएको युद्धमा इजरायली सेनाको आक्रमणबाट गाजामा ३३ हजार एकसय जनाभन्दा धेरैको ज्यान गएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविरामपछि पुनः शुरु भएको वार्तामा कुनै प्रगति भएको छैन ।

  • धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

    धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

    काठमाडौं । धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए ।

    ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का १५ वर्षीय दिपेश ओझा रहेका छन् । बालकहरु कसरी डुबे भन्नेबारे स्थानीयबीच विवाद भएकाले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • श्रीमतिको हत्या आरोपमा तनहुँमा श्रीमान पक्राउ

    श्रीमतिको हत्या आरोपमा तनहुँमा श्रीमान पक्राउ

    काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ साँगेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

  • राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो

    राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो

    काठमाडौं । ओपनर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे । कप्तान संजु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए । बेंग्लोरका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एकरएक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो । विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रनमा नटआउट रहेपनि जित्नका लागि जुत्न पर्याप्त रहेन । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए ।

    राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिए । राजस्थान ४ खेलमा अपराजित रहेर शीर्ष स्थानमा छ । कोलकाता ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । बेंग्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ । मुम्बइ ३ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

  • नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल

    नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल

    काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो । पहिलो खेलमा म्याथ्यु हम्फ्रेजले ५ र दोस्रोमा ६ विकेट लिएका थिए ।

    नेपालका सिनियर टोलीका भीम सार्की, आरिफ शेख, अर्जुन साउद र देव खनालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । विकास आग्री, रुपेश सिंह र रजिञ्त कुमारले अन्तिम खेलमा मौका पाउन सक्छन् । सिरिज गुमाइसकेको हुँदा नेपाल क्लिनस्वीपबाट बच्न चाहन्छ । नेपाली ब्याटरले क्रिजमा धैर्यता र जिम्मेवारी देखाउनु पर्ने हुन्छ ।

    उता आयरल्यान्ड ए ले पनि आफ्ना मौका नपाएका खेलाडीलाई आज मौका दिने सोचमा हुनेछ । आयरल्यान्ड नेपालको सिनियर टोलीसँग दुई टी(२० खेलमा दुवैमा पराजित भएको थियो । नेपाल ए लाई तीन टी(२० खेलमा २–१ ले हराएको थियो ।