Category: समाचार

  • अर्थतन्त्रमा सकारात्मक सूचक देखिएका छन् : अर्थमन्त्री

    अर्थतन्त्रमा सकारात्मक सूचक देखिएका छन् : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उनले बताए ।

    अर्थतन्त्रमा थोरै शिथिलता रहेको र यसमा आन्तरिक र वाह्य कारण रहेको उनले बताए । तथ्यांकहरुले विस्तारै त्यसमा सुधार देखाएको भन्दै मन्त्री पुनले बाँकी अवधिमा पूँजीगत खर्च बढाउन पहल गर्ने बताए । यद्यपि अझै पनि ढुक्कसँगै अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था नरहेको उनले बताए ।


    मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्ने बताए । नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान मुलुक भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनु पर्ने समेत उनले बताए । भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

    आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ । निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सक्ने अवस्था आएको चर्चा उनले गरे । ‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ । यो बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन’, मन्त्री पुनले भने, ‘नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र वौद्धिक व्यक्तित्वहरु मिलेर चिनुपर्छ ।’

    उनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए । फरक प्रसंगमा मन्त्री पुनले नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको बताए । वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरु नेपालमा लगानी गर्न आइरहेको उल्लेख गरे । हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरुले घाटा ब्यहोरोको आफूले थाहा नपाएको चर्चा गर्दै उनले त्यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण रहेको बताए ।

  • श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छुः प्रधानमन्त्री प्रचण्ड

    श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छुः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताएका छन् ।

    एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए ।

    “मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,” उनले भने, ‘भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु । साथै रोजगारदाता संस्थाहरूसमेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।’

    प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वका रुपमा लिँदै कानुनी आधार तयार गर्न लागिएको जानकारी दिए । स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरेको उनले बताए ।

    योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपाली नागरिकको ‘कोखदेखि शोकसम्म’को सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराइने बताए । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाए ।

    ‘सीमित साधनस्रोत र असीमित आकाङ्क्षाका बीच सन्तुलन कायम गर्दै श्रमिकमैत्री नीति, कानुन र कार्यक्रमका निम्ति सरकार सधै सकारात्मक रुपमा प्रस्तुत हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, “मुख्यतः विदेशमा रहेका नेपालीको स्वाभिमान र हितरक्षा, नीति निर्माणमा श्रमजीवी वर्गको सम्मानजनक प्रतिनिधित्व, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, श्रमको सम्मान र श्रम संस्कृतिको विकासमा सरकारले प्राथमिकताका साथ काम गर्नेछ ।”

    देश आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ ।”

    सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लिखित ‘निरासा चिर्दै, भरोसा जगाउँदै’ मूलमन्त्रलाई व्यावहारिक रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नाका साथै यसले बेरोजगारी न्यूनीकरण र रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।

  • साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क

    साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क

    काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाह लागि ४ हजार ५०० शुल्क लाग्छ ।

  • डढेलो निभाउने क्रममा मृत्यु भएकाको परिवारलाई जनही ५ लाख दिने

    डढेलो निभाउने क्रममा मृत्यु भएकाको परिवारलाई जनही ५ लाख दिने

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । नगरपालिकाले बुधबार शोक व्यक्त जारी गर्दै कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५/५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको उल्लेख छ ।

    गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४ बडिखेलका शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । उपचारको क्रममा दुवै जनाको मृत्यु भएपछि नगरपालिकाले राहतस्वरूप जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको जनाएको छ । नगरपालिकाका अनुसार अहिले सबै वडाहरूमा भीषण डढेलो लागेको र डढेलो नियन्त्रणका सबै उपाय अपनाउदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

    नगरपालिकाका अनुसार अहिले सबै वडाहरूमा भीषण डढेलो लागेको र डढेलो नियन्त्रणका सबै उपाय अपनाउदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

  • काठमाडौंमा सीप मेला गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौंमा सीप मेला गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा सीप मेला आयोजना गर्ने भएको छ। महानगरले २ हजार ८१ जनालाई एक महिने निःशुल्क तालिम दिन लागेको हो। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउन, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउन, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ।

    रोजगार क्षेत्रमा देखिएको खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सीप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिमको आवश्यकता महसुस गरेर ुसीप मेलाु कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ। विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सीपमूलक तालिममा सहभागी हुन महानगरले आह्वान गरेको छ। ‘विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सीपमूलक तालिममा सहभागी हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। यसबाट उहाँहरू औपचारिक अर्थतन्त्रमा प्रवेश गर्नुहुनेछ,’ महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    महानगर गौरव योजनाअन्तर्गत रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सीपमूलक तालिम रहेको महानगरले जनाएको छ। साइबर सेक्युरिटीमा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ।

    ‘नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध हुनेछन्। यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरूलाई ुसीप मेलाु मा रोजगारदाताहरूसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो,’ महानगरले भनेको छ।

    सीप मेलामा तालिमका लागि १० बटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ। ती क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन्। मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने महानगरको योजना छ। सुरू गर्न लागिएका तालिममध्ये अटो मोबाइल्स एउटा क्षेत्र हो। यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन्। दोस्रो निर्माण क्षेत्र हो। यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ।

    हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो। यसमा वारिस्ता, फुड एण्ड कुक, बेकरी, वार टेन्डिङ र वेटररबेट्रेस प्रशिक्षण हुनेछ। सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सिसिटिभी क्यामरा विषय राखिएका छन् ।
    मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ। आर्ट एण्ड कल्वरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ। यी क्रमशः पाँचौं र छैटौं क्षेत्र हुन्। सातौं क्षेत्र गार्मेन्ट्स हो। यसमा टेलरिङ ड्रेस मेकर र फेसन डिजाइनिङको कक्षा हुनेछ।

    आठौं क्षेत्र व्युटिसियन (सौन्दर्य कला) हो। यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ। नवौं क्षेत्र डिजाइनिङ हो। यसमा साइन मेकिङ प्रशिक्षण हुनेछ। दशौं विधा पुरोहित हो। यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ। तालिमको अन्तिम दिन रोजगार मेला हुने महानगरले जनाएको छ।

    ‘यस दिन रोजगारदाताहरू स्टलमा रहनु हुनेछ। सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनु हुनेछ। यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ। रोजगारदाताले सीपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ,’ महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

  • डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

    डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ ।

    मूल्यवृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ । यसैगरी हवाई यन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ ।

  • पशुपतिको जलहरी मुद्दामा सबैलाई सफाई

    पशुपतिको जलहरी मुद्दामा सबैलाई सफाई

    काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । विशेष अदालतका शाखा अधिकृत सागर भण्डारीका अनुसार, आरोपित सबैजनाले सफाइ पाएका हुन् ।

    पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ असोजमा तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कोषका तत्कालिन कोषाध्यक्ष डा. मिलन थापा, सदस्य सचिव डा. प्रदिप ढकाल र विशेट नाइके अरुणकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियारले जलहरी राख्ने क्रममा करिव डेढ किलो सुन हिनामिना भएको दावी गरेको थियो । उनीहरुमाथि एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । अख्तियारको दावी अनुसार, पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १०२ किलो ६१४ ग्राममात्रै शुद्ध सुन खरिद गरेको थियो । जलहरी निर्माणमा १०० किलो ८५ ग्राममात्रै शुद्ध सुन फरक परेको थियो । त्यही घटनालाई भ्रष्टाचार भएको भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

    २९ माघ २०७७ मा जलहरी निर्माण सुरु गरेका पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले सबै काम सकिएपछि १० किलो ९७६ ग्राम सुन बाँकी रहेको भनी मुचुल्का गरेका थिए ।

  • गोदावरीको आनन्द जंगलमा डढेलो निभाउन गएका एकजनाको मृत्यु

    गोदावरीको आनन्द जंगलमा डढेलो निभाउन गएका एकजनाको मृत्यु

    काठमाडौं । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । डढेलोमा जलेर गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहारीको मृत्यु भएको हो ।

    जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन् । कीर्तिपुर बर्न अस्पतालमै एकजनाको उपचार जारी छ । आनन्द जंगलमा सोमबार रातीदेखि डढेलो लागेको थियो।

    जंगलमा लागेको डढेलो फैलिएर नजिकैको कृष्ठरोग अस्पतालसम्म आउन सक्ने भएकोले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । डढेलो नियन्त्रणका निम्ति स्थानीय तह, प्रहरी जुटेका छन् ।

  • विद्यार्थी बोकेको बस कागबेनीमा पल्टियो, २१ जना घाइते

    विद्यार्थी बोकेको बस कागबेनीमा पल्टियो, २१ जना घाइते

    काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पर्ने मुक्तिनाथ सडक खण्डको सेल्फी डाँडामुनि घुम्तीमा सडकमा बस पल्टिँदा २१ जना यात्रु घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको हो।

    मुक्तिनाथ दर्शन गरी फर्क‌दै गरेको ३३ जना विद्यार्थी सवार बस ब्रेक फेल भई सडकमै पल्टिएको हो। दुर्घटनामा घाइते भएका २१ विद्यार्थीको जोमसोम अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परी सिरहा लहानका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिरहा गोलबजारकी ज्योति साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुरकी प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दाहाल, काठमाडौं एयरपोर्टकी अनामिका थापा, कैलाली गोदावरीका ध्रुवराज जोशी, भोजपुरका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्मायका आदेश लावती घाइते भएका छन्।

    त्यसैगरी सुनसरी हरिनगरका निशान रसाइली, धनुषा धनगढीका सुरजकुमार परियार, बर्दिया मधुवनका सुवास नेपाल, काभ्रे तेमालका सौगात त्रिपाठी, सर्लाही कौडैनाका साहुल साह, काठमाडौं- ३५ का साइरस तामाङ, भक्तपुर सूर्यविनायकका अनामिका सुवाल, धनुषा जनकपुरका दीपककुमार निधि, सर्लाही हरिवनका निरञ्जन साह र डोटी शिखर नगरपालिकाका रोहित बलायर पनि घाइते भएका छन्।

  • उत्तराखण्ड सरकारद्धारा पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द

    उत्तराखण्ड सरकारद्धारा पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द

    काठमाडौं । उत्तराखण्ड सरकारले पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द गरेको छ । सरकारले भारतीय सर्वोच्च अदालतमा यसबारे जानकारी गराएको हो । उत्तराखण्ड सरकारका अनुसार १५ अप्रिलबाट पतन्जलीका उत्पादनमा रोक लगाइएको हो । ड्रग्स एण्ड रेमेडीज एक्ट उल्लंघन गरेको पाइएपछि बाबा रामदेव र आचार्य बालकृष्णको पचन्जलीका विरुद्ध थुप्रै उजुरी परेका थिए ।

    यसरी लाइलेन्स रद्द गरिएका उत्पादनमा स्वासारी गोल्ड, स्वासारी वडी, ब्रोक्रोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्तावटी एक्स्ट्रा पावर, लिपिडोम, विपि ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एस्ट्रा पावर, लिवामृत एडभान्स, लिवोग्रिट, आइग्रिट गोल्ड तथा पतन्जली दृष्टी आइड्रप रहेका छन् ।

  • इलाम २ मा एमालेका सुहाङ विजयी

    इलाम २ मा एमालेका सुहाङ विजयी

    काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले हराउँदै उनी विजयी भएका हुन् ।

    अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको हो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको हो ।


    सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।

    प्रदेश सभा सदस्यका लागि बझाङ (१) मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । अघिल्लो निर्वाचनमा बझाङ (१) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । मन्त्रीसमेत बनेका पृथ्वीबहादुरको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो । पृथ्वीबहादुरका छोरा अभिषेकबहादुर सिंह दोस्रो भए ।

    उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक–एक सिट थप्न सफल भएको छ । सिट संख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने छैन ।

  • दिल्लीमाथि कोलकाताको सहज जित

    दिल्लीमाथि कोलकाताको सहज जित

    काठमाडौं । दिल्ली क्यापिटल्समाथि कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा कोलकाताले दिल्लीमाथि ७ विकेटको जित निकाल्यो । दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले ३ विकेट मात्रै गुमाएर १६.३ ओभरमा पूरा गरेको हो ।

    कोलकताका कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६ रनमा खेले कप्तान ऐयरले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने वेंकटेशले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर फिल सल्टले सर्वाधिक ६८ रन बनाए। ३३ बल खेलेका उनले बिस्फोटक ब्याटिङ गर्दै ७ चौका र ५ छक्का प्रहार गरे। सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रन बनाए।

    बलिङतर्फ दिल्लीका अक्षर पटेलले २ र लिजाड विलियम्सले १ विकेट लिए। पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेट गुमाएर १५३ रनको योगफल तयार पारेको थियो। दिल्लीका लागि कुलदीप यादव सर्वाधिक ३५ रन बनाएर नट आउट रहे। उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कप्तान रिशभ पन्तले २० बलमा २ चौक र १ छक्का प्रहार गरी २७ रन जोडे। ओपनर पृथ्वी शले १३, जेक फ्रेजर मिकगर्कले १२, अभिषेक पोरेलले १८, शाइ होपले ६, अक्षर पटेलले १५, ट्रिस्टन स्टुब्सले ४, कुमार कुशग्राले १, राशिक सलामले ८ रन मात्रै बनाउन सके।

    बलिङतर्फ कोलकाताका वरूण चक्रवर्थीले ३ विकेट लिँदा वैभव अरोरा र हर्षित राणाले २र२ विकेट लिए। त्यस्तै मिचेल स्टार्क र सुनिल नारायणले १र१ विकेट लिए। कोलकाता नाइट राइडर्स अंक तालिकाको दोस्रो र दिल्ली क्यापिटल्स छैटौं स्थानमा छ।

  • इलाममा रास्वपाको जमानत जफत

    इलाममा रास्वपाको जमानत जफत

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

    उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो ।

    प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । सुहाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

    निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरुले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपैयाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ । तर प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ ।

  • झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा पुगेको हो ।

    यसदिन ३१७ कम्पनीको २ अर्ब ९५ करोड ९४ लाख ४५ हजार ५०१ रुपैयाँ बराबरको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको बाहेक सबैको परिसूचक बढेको छ ।

    आज पोखरा फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड बढीको शेयर किनबेच भएको छ । बढ्दो बजारमा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोखरा, जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत

    समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत

    काठमाडौं । बझाङमा सम्पन्न प्रदेशसभा सदस्य उपनिर्वाचनमा एकीकृत समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत भएको छ। सोमबार दिउँसो सम्पन्न अन्तिम मतपरिणाम अनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाहरूको धरौटी जफत भएको हो। धरौटी जफत हुने अन्य उम्मेदवारहरूमा राप्रपाका किशोर कुमार खड्का (२४२), जसपाका रामबहादुर जाग्री (३५) गजेन्द्र बहादुर थापा (३५), दीपकबहादुर खड्का (२८) सुशीला देवी विष्ट (२६), खगेन्द्रबहादुर शाही (२४) र कमल घर्तीमगर (२) रहेका छन्।

    प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने उल्लेख छ। निर्वाचित उम्मेदवारको हकमा भने यो लागू हुने नहुने कानुनी व्यवस्था छ।

  • भोजपुरमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, १२ गम्भीर घाइते

    भोजपुरमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, १२ गम्भीर घाइते

    खोटाङ । भोजपुरको आमचोक गाउँपालिका-८ पारकुवामा बोलेरो जीप दुर्घटना भएको छ ।
    सोमबार बिहान साढे ९ बजेतिर को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दूधकोसी नदीको किनारमा खसेको हाे ।

    दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १२ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा आमचोक गाउँपालिका-१० पाङ्चाकी २५ वर्षीया रूना राईको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्प्तालमा पठाइएको छ ।

  • ‘लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं’- अर्थमन्त्री

    ‘लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं’- अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्राे अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल भएको बताएका छन्।

    सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए।

    उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको उल्लेख गरे। विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो।

    लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए।

    बैठकमा विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाए।

    ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरूको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ,’ मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रसस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं।’

    सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वर प्रवाह भएकामा खुसी व्यक्त गरे।

    नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए। ‘उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ताहरू र सम्बन्धित सरोकारवालाहरूबाट नेपालमा लगानीका लागी राम्रो वातावरण बनेको सुन्न पायौं,’ उनले भने, ‘त्यो समर्थनका लागि सरकारका तर्फबाट भन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो।’

    अर्थमन्त्री पुनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरूमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे। मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे।

    यस्तै, विकास साझेदारहरुले चासो राख्खै आएको मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी उनले गराए।

    यस्तै, मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानीे अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गरे। मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याए।

    नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि अरु क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

    आगामी दिनमा थप नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने मन्त्री पुनले प्रतिबद्धता जनाए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै उनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने पनि बताए।

  • बझाङमा एमालेका दमन भण्डारी विजयी

    बझाङमा एमालेका दमन भण्डारी विजयी

    काठमाडौं । बझाङ(१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

    नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।

    एमालेका भण्डारीले ११,६१३ मत ल्याउँदा कांग्रेसका सिंह ११,३४६ मा रोकिए ।
    यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

  • मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउने सवस्टेशन तयार

    मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउने सवस्टेशन तयार

    काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । आइतबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०र१३२ केभी, ३२० एमभीए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।

    मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । तनहुँ, गोरखा, चितवन धादिङ र काठमाडौंमा निर्माण गरिएका प्रसारण लाइनको लम्बाइ ८२ किलोमिटर छ । प्रसारण लाइनमा २३३ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनलाई हाल १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

    मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरिएको छ । त्रिशूली र मर्स्याङ्‍दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आवद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

    मर्स्याङ्‍दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनबाट आएको करिब १र१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आवद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुने छ । मर्स्याङ्‍दी र त्रिशूली नदी बेसिनमा उत्पादित विद्युत् प्रवाह हुने भएकाले काठमाडौं उपत्यकाको भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न र देशको समग्र विद्युत् प्रणाली सुधार गर्न प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसन मेरुदण्ड हो ।

    मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडसँग १६ असार २०७३ मा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण भदौ २०७३ सुरु भएको थियो । प्रसारण लाइनको रुटको विभिन्न ठाउँमा स्थानीयको अवरोध र कोभिड–१९ महामारीका कारण निर्माणमा केही ढिलाइ भएको थियो । धादिङको सिद्धलेक गाउँपालिका–७ स्थिति पिपलटारमा स्थानीयको अवरोधका कारण झन्डै दुई वर्ष निर्माण प्रभावित भएको थियो ।

    आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण कार्य अगाडि बढाइएको थियो । यसमध्ये मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ भने मार्कीचोक अन्तिम चरणमा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको हो । आयोजनाको लागत करिब ८ अर्ब रुपैयाँ रहेको छ ।

  • इलाम र बझाङमा प्रारम्भिक रुझान, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा

    इलाम र बझाङमा प्रारम्भिक रुझान, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा

    काठमाडौं । इलाम र बझाङमा शनिबार सम्पन उपचुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिन्छ । इलाममा फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना सकिँदा कांग्रेस झिनो मतले अगाडी छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६ सय ५८ मत ल्याउँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६ सय ३० मत ल्याएका छन् ।

    तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन् । उनले ४ सय ३० र चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले ३ सय ८ मत पाएका छन् । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम–२ मा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । त्यति बेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।


    उता, प्रदेश सभा अन्तर्गत बझाङ–१ (क) को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १ हजार ५ सय ९३ सय मतसहित अग्रता लिएका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ९ सय ९८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ सय ५५, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५ सय ९५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले ३४ मत पाएका छन् ।

  • शंखमुलमा लागेको आगाे नियन्त्रणमा

    शंखमुलमा लागेको आगाे नियन्त्रणमा

    काठमाडौं । शंखमुलको दोभान पुलनजिक भएको आगलागी नियन्त्रणमा आएको छ। विशाल केसीले सञ्चालन गरेको देबी अटो मोबाइल्स प्रालिमा दिउँसो विद्युत् सर्ट भई आगलागी भएकामा अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

    आगलागीबाट सोही पसलसँग जोडिएका मेघराज घलेको बाबाठाकुर मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवको जयबजरङ्ग बली पान सपल, चन्द्रकुमार कुसवाहाको माछा पसल, जगन्नाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी, फलफूल तथा किराना पसल, आशागोपाल श्रेष्ठको मासु पसल, चन्द्र मर्हजन र केदार श्रेष्ठको पक्की घरको भित्ता तथा मेघराज घलेको फाष्टफुड रेष्टुरेन्टमा समेत क्षति भएको छ।

    आगो निभाउन स्थानीय बासिन्दा, प्रहरी र ललितपुरको २ तथा काठमाडौं महानगरपालिको ३ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

  • नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै

    नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै

    काठमाडौं । नेपालले दोस्रो टी–२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

    पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए । पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन् । आज यी दुई मध्य एकलाई मौका दिनसक्छ । पहिलो खेलमा ३ ओभरमा ५३ रन खर्चेका कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ । विश्वकप अघि उनलाई नेपालले हेर्नेछ ।

    विवेक यादव भने लगातार खराब प्रदर्शन गर्दै आएका छन् । पहिलो खेलमा ७ रनमा आउट भएका थिए । विवेकको स्थानमा आज लोकेश बमलाई मौका दिनसक्ने सम्भावना छ । पहिलो खेलमा शून्यमा आउट भएका जोनसन चार्ल्सको विकेट समयमै लिन आवश्यक छ । दुई पटक टी–२० विश्वकप विजेताका सदस्य चार्ल्स वेस्टइन्डिजका पहिलो रोजाइका ओपनर हुन् । उनी चलेको खण्डमा नेपालको जित टाढा हुनसक्छ । अर्का विकेटकिपर आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएका थिए ।

    पहिलो खेलमा हारपछि फबिएन एलेनले मौका पाउने सम्भावना बलियो छ । उनी स्पिन अलराउन्डर हुन् । लेग स्पिनर हेडन वाल्श जुनियरलाई पनि खेलाउन सक्छ । प्रमुख बलर ओबेद म्याककोय, ओशान थोमस र किमो पलबाट वेस्टइन्डिज राम्रो बलिङ चाहन्छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

  • उपनिर्वाचनको मतगणना आजबाट थालिँदै

    उपनिर्वाचनको मतगणना आजबाट थालिँदै

    काठमाडौं । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिँदै छ । इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरकुकामको गौतमबुद्ध सभागृह हुने छ । मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुने छ ।

    चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि शनिबार नै गणना सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सर्वदलीय बैठकले मतगणनाबारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ ।

    इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

    यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ । ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

    आज बिहान ८ बजेभित्र मतपेटिका संकलन गरिसक्ने र १० बजेभित्र मतगणना सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

    प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंह सहित ११ जना प्रतिस्पर्धामा छन् ।

  • तेस्रो लगानी सम्मेलन आजबाट

    तेस्रो लगानी सम्मेलन आजबाट

    काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् भने ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिने छन् ।

    लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । सोमबार सकिने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र २ वटा मुख्य सत्र हुनेछन् ।

    दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।

    उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योगमन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अंकट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनेछन् ।

  • वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित

    वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित

    काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी–२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा शतक हानेका थिए । उनको यो टी-२० करिअरको पहिलो शतक थियो ।

    नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश जिसी र गुल्सन झालाई एक-एक रन दिएका थिए । तेस्रो बलमा गुल्सनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । उनले नै अर्को बलमा चौका हान्दै खेल जिताए । गुल्सन ९ र प्रतिश ५ रनमा नटआउट रहे ।

    ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

    वेष्ट इण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चार्ल्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।

    केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाएर आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । नेपाल र वेष्टइण्डिज ए बीचको दोस्रो टी२० खेल आइतबार हुनेछ ।

  • लगानी सम्मेलन आइतबारबाट, १६ सय जना सहभागी हुने

    लगानी सम्मेलन आइतबारबाट, १६ सय जना सहभागी हुने

    काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

    त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार जनाको सहभागिता रहने जनाइएको छ ।

    त्यसैगरी, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीनरतीनजना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुईरदुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ ।

    त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

    आइतबारदेखि काठमाडौँमा आयोजना हुने उक्त सम्मेलनका लागि एक सय ५० आयोजना सोकेसमा राखिँदैछन भने सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् । पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

  • इलाम २ मा सकियो मतदान, ५७ प्रतिशत खस्यो मत

    इलाम २ मा सकियो मतदान, ५७ प्रतिशत खस्यो मत

    काठमाडौं । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ । त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्ने बताइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।

  • नेपाल र वेस्टइण्डिजबीच आजबाट ऐतिहासिक सिरिज

    नेपाल र वेस्टइण्डिजबीच आजबाट ऐतिहासिक सिरिज

    काठमाडौं । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी–२० सिरिज आजदेखि सुरू हुँदैछ। पाँच खेलको टी–२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

    नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी–२० विश्वकप तयारीको रुपमा लिएको छ। नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ। विश्वकपमा नेपाल समूह डी मा छ। समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ। वेस्ट इण्डिज एमा सिनियर टिममा खेलेका खेलाडी समेत पनि छन्।

    कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी–२० खेल खेलेका छन्। टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिक एथानाजले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी–२० टिममा भने डेब्यू गरेका छैनन्।

    कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी–२० खेल खेलेका छन्। टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिकले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी–२० टिममा भने डेब्यू गरेका छैनन्।

    ओपनर आन्द्रे फ्लेचर पनि नेपाल आएका छन्। उनले वेस्ट इन्डिजको सिनियर टिमबाट २५ एकदिवसीय र ५४ टी–२० खेलेका छन्। अनुभवी ब्याटर जोनसन चार्ल्स पनि वेस्ट इन्डिजको ए टिममा छन्। उनले सिनियर टिमबाट ५८ एकदिवसीय र ४८ टी-२० खेलेका छन्। चार्ल्स वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप जित्दा टिममा थिए। अर्का अलराउन्डर किमो पल पनि टिममा छन्। उनले वेस्ट इन्डिजको सिनियर टिमका लागि ३ टेस्ट, ३० एकदिवसीय र २३ टी-२० खेलिसकेका छन्।

    गुडाकेश मोती, फेबियन एलेन, केसी कार्टी, मार्क देयल, ओबेद म्याककोए, ओशान थोमस र हेडेन वाल्शले पनि वेस्ट इन्डिजको सिनियर टिमबाट डेब्यू गरिसकेका छन्। नेपाल आउन लागेका कादिम एलीन, जोशुआ बिशप र मार्क देयलले मात्र सिनियर टिममा डेब्यू गर्न बाँकी छ।

  • कन्ट्री रेटिङको प्रक्रिया सुरु

    कन्ट्री रेटिङको प्रक्रिया सुरु

    काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तीय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ ।

    वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा सोभरेन क्रेडिट रेटिङलाई लिने गरेका छन् । क्रेडिङ रेटिङ नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन ।

    वैदेशिक लगानी बढाउने उद्देश्यले आर्थिक वर्ष २०७५–०७६ को बजेटमार्फत सरकारले सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो । सरकारले सार्वभौम क्रेडिट रेटिङका लागि सार्वजनिक सूचना जारी गरी कम्पनीहरुलाई आमन्त्रण गरेको थियो । रेटिङसम्बन्धी विश्वका तीन प्रमुख कम्पनी फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पुअर्सले आवेदन दिए ।

    जसमध्ये सरकारले फिच रेटिङ एजेन्सीसँग क्रेडिट रेटिङसम्बन्धी सम्झौता गरेको थियो । त्यसका लागि तत्कालीन बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआईडी) र हालको यूके एडसँग प्राविधिक सहयोगसम्बन्धी छुट्टै सम्झौता पनि गरिएको छ । सो प्रक्रियाका लागि सरकारले स्ट्याण्डर्ड चाडर्ट बैंकलाई रेटिङ सल्लाहकार तोकेको छ ।

    कोभिड(१९ महामारीका कारण अर्थतन्त्रका सबै सूचक नकारात्मक रहेको र क्रेडिट रेटिङ गर्दा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने भन्दै यो प्रक्रिया विगत तीन वर्षयता रोकिएको थियो । अर्थमन्त्री वर्षमान पुन अनन्तको सक्रियतामा फेरि सोभरेन क्रेडिट रेटिङको प्रक्रिया अघि बढेको हो । तीन वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताले सोभरेन क्रेडिट रेटिङका लागि ढिला नगर्न सुझाएका थिए ।

    तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले रोकिएको क्रेडिट रेटिङ प्रक्रिया अघि बढाएको हो । त्यसका लागि अर्थ मन्त्रालयले शुक्रबार राजधानीमा सरोकारवालासँग ‘सार्वभौम क्रेडिट रेटिङ’ क्षमता विकास कार्यशाला आयोजना गरेको थियो ।

    कार्यशालामा अर्थमन्त्री पुन, राजश्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायणप्रसाद रिसाल, बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक पुष्पराज शाही, केन्द्रीय तथ्याङ्क विभाग, सार्वभौम क्रेडिट रेटिङमा प्राविधिक सहयोग गर्दै आएको बेलायती सहयोग नियोग (यूके एड) र रेटिङ सल्लाहकार स्ट्याण्डर्ड चाटर्ड बैंकका प्रतिनिधि सहभागी थिए ।

    कार्यशालाको उदघाटनका क्रममा मन्त्री पुनले ढिला नगरी रेटिङको काम अघि बढाइने बताए । क्रेडिट रेटिङपछि नेपालको आर्थिक अनुहार संसारले हेर्न पाउने र कसैलाई पनि आर्थिक अवस्थासम्बन्धी तथ्याङ्क भन्दै हिंड्नुनपर्ने उनको भनाइ छ ।

    क्रेडिट रेटिङ क्षमता विकासका लागि तालिम

    कार्यक्रमको दोस्रो सत्रमा क्रेडिट रेटिङ सम्वद्ध अन्तर्राष्ट्रिय विज्ञले क्षमता अभिवृद्धिसम्बन्धी सैद्धान्तिक र प्राविधिक तालिम दिएका थिए ।

    तालिममा अर्थ मन्त्रालय, नेपाल राष्ट्रबैंक, केन्द्रीय तथ्याङ्क विभाग, सम्पत्ति शुद्धीकरण विभाग, धितोपत्र बोर्ड, राष्ट्रिय बीमा प्राधिकरण, रेटिङ एडभाइजरी कमिटीका सदस्य, टास्क फोर्स कमिटीका सदस्य, रेटिङका फोकल पर्सन तथा अर्थतन्त्र सम्वद्ध सरोकारवाला निकायका प्रतिनिधि गरी ४० जना सहभागी थिए ।

    तालिमका क्रममा अर्थतन्त्रका संरचनागत व्यवस्था, सुक्ष्म आर्थिक अवस्था, पब्लिक फाइनान्स, आवश्यक तथ्याङ्क संकलन, क्रेडिट रेटिङका प्रक्रिया तथा रेटिङस्तरीय हुन गर्नुपर्ने कामबारे जानकारी लिइएको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायणप्रसाद रिसालले बताए ।

  • बझाङमा कस्तो छ निर्वाचनको माहोल ?

    बझाङमा कस्तो छ निर्वाचनको माहोल ?

    काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

    प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।