Category: समाचार

  • इजरायलमा २ हजार केयर गिभर श्रमिक पठाइने

    इजरायलमा २ हजार केयर गिभर श्रमिक पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको हो । गत असारमा इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि ८०० जनाको आवेदन खोलेको थियो ।

    अब यो संख्या ८०० बाट बढाएर २ हजार पुर्‍याउन सकिने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । जसमा एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्टाइएको छ । यता, द्वन्द्वग्रस्त मुलुक इजरायलमा नागरिक पठाउन लागिएको भन्दै आलोचना भइरहेको छ ।
    इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशी अहिलेसम्म पत्तो लागेको छैन ।

  • लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो : प्रधानमन्त्री

    लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको तर, नेपालले भोग गर्न नपाएको भन्दै प्रश्न गरेका थिए ।

    जवाफमा प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका हुन् । ‘सुगौली सन्धि १८१६ बमोजिम लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत काली अर्थात्, महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुराका सरकार दृढ र स्पष्ट रहेको छ’ प्रधानमन्त्री ओलीले भने ।

  • अमेरिकी राष्ट्रपतिको चुनावी होडबाट बाइडेन आउट, कमला प्रतिस्पर्धामा

    अमेरिकी राष्ट्रपतिको चुनावी होडबाट बाइडेन आउट, कमला प्रतिस्पर्धामा

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् । बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले चुनाव जित्ने भन्दै उनको आफ्नै डेमोक्रेटिक पार्टीबाट उनलाई उम्मेदवारी फिर्ता लिन तीव्र दबाब थियो ।

    अघिल्लो महिना भएको राष्ट्रपतीय बहसमा अत्यन्तै फितलो प्रदर्शन गरेपछि उनी उम्मेदवार कायमै रहे चुनाव हार्ने निष्कर्षमा डेमोक्रेटिक पार्टीका नेताहरु पुगेका थिए । त्यही बीच उनले आइतवार उम्मेदवारी त्याग्ने तर यो कार्यकाल भने पूरै राष्ट्रपतिका रुपमा काम गर्ने घोषणा गरेका छन् ।

    ‘मैले उम्मेदवारी फिर्ता लिनु र बाँकी कार्यकाल राष्ट्रपतिको भूमिकामा केन्द्रित हुनु नै म, मेरो पार्टी र मेरो देशको को सर्वोत्तम हितमा हुनेछ,’ उनले आफ्नो वक्तव्यमा भनेका छन् । त्यति मात्रै होइन, उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको नयाँ उम्मेदवारका रुपमा कमला ह्यारिसलाई समर्थन पनि गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा ह्यारिस नै अघि हुनेछिन् । तर, उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । निर्वाचन आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने छ ।

    चुनाव अति नै नजिक आईसकेको सन्दर्भमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न परिचित अनुहारका रुपमा ह्यारिस नै उपयुक्त पात्र हुने अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । ‘सन् २०२० का कमला ह्यारिसलाई उपराष्ट्रपतिमा छनोट गर्नु मेरो सबैभन्दा राम्रो निर्णय थियो । यसपटक राष्ट्रपतिको उम्मेदवारका रुपमा उनलाई मेरो पूर्ण समर्थन र अनुमोदन रहन्छ,’ उनले घोषणा गरेका छन् । आउने साता यसबारे आफूले विस्तृतमा बोल्ने पनि उनले बताएका छन् । कमला नयाँ उम्मेदवारका रुपमा आउने अनुमानका आधारमा ट्रम्पले भाषणमा उनीमाथि आक्रमण थालिसकेका थिए ।

  • बंगलादेशमा आरक्षण सम्बन्धी व्यवस्था गैरकानूनी ठहर, रोकिएला आन्दोलन ?

    बंगलादेशमा आरक्षण सम्बन्धी व्यवस्था गैरकानूनी ठहर, रोकिएला आन्दोलन ?

    काठमाडौं । बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको सरकारको अधिसूचनालाई उल्टाउँदै आरक्षणको पक्षमा फैसला दिएको थियो । विवादास्पद निजामती सेवा भर्ती नियमहरू पूर्णरूपमा खारेज गर्न गरिएको सार्वजनिक मागलाई बेवास्ता गरेको विपक्षीहरूको आरोप छ ।

    आरक्षण दिने निर्णयले देशव्यापी रूपमा प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरूबिच झडप निम्त्याएको थियो । आन्दोलनका क्रममा १५१ जनाको मृत्यु भएको छ । सरकारी जागिरका लागि राजनीतिकरण गरिएको भर्ना कोटाको विरोधमा सुरु भएको विरोधमा यसै साता सुरु भएको प्रदर्शन प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ ।

    दङ्गा प्रहरीले सुव्यवस्था कायम गर्न नसकेपछि बङ्गलादेशका विभिन्न सहरमा सैनिकले गस्ती गरिरहेका छन् भने बिहीबारदेखि देशव्यापी इन्टरनेट अवरोध भएको र यसका कारण बाहिरी विश्वमा सूचना प्रवाहमा समस्या भएको छ । सर्वोच्च अदालतले हालै पुनः सुरु गरिएको सरकारी जागिरका आवेदकहरूको चयन लागि आरक्षित योजनाको वैधताको बारेमा अर्को महिना निर्णय गर्ने तालिका रहेको थियो, तर देशव्यापी सङ्घर्ष तीव्र भएपछि आफ्नो निर्णयलाई एक महिना पहिले सुनाएको छ ।

    बङ्गलादेशका महान्यायाधिवक्ता एएम अमिन उद्दीनले एएफपीसँग भनेका छन्, “गत महिना तल्लो बेन्चले यो योजना पुनः लागू गर्न दिएको आदेश ‘गैरकानुनी’ थियो र सर्वोच्च अदालतबाट यही फैसला भएको छ ।’’ यस मुद्दामा संलग्न वकिल शाह मोन्जुरुल हकले एएफपीलाई बताए अनुसार अदालतले आफ्नो फैसला सुनाएपछि प्रदर्शनकारी विद्यार्थीहरूलाई ‘कक्षामा फर्कन’ पनि भनेको छ ।

    यो फैसलाले आरक्षित रोजगारीको सङ्ख्यालाई सबै पदहरूको ५६ प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको छ, तर प्रदर्शनकारीहरूको माग पूरा गर्न असफल भएको छ । सन् १९७१ मा बङ्गलादेशले पाकिस्तानविरुद्ध गरेको स्वतन्त्रता सङ्ग्राममा ‘स्वतन्त्रता सेनानीहरू’ का छोराछोरीका लागि सबै सरकारी जागिरको पाँच प्रतिशत आरक्षण गरिएको थियो ।

    बङ्गलादेशको कानुनअनुसार एक प्रतिशत आदिवासी समुदायका लागि र अर्को एक प्रतिशत अपाङ्गता भएका वा तेस्रो लिङ्गिका लागि छुट्याइएको थियो भने बाँकी ९३ प्रतिशत पदको निर्णय योग्यताका आधारमा गरिने अदालतले जनाएको छ ।

    आलोचकहरू भन्छन्, “‘स्वतन्त्रता सेनानी’ श्रेणी युवा स्नातकहरूका लागि छुट्टाइएको आरक्षण व्यवस्था प्रधानमन्त्री हसिनाको सत्तारूढ अवामी लीगका वफादारहरूलाई भर्ना गर्न प्रयोग हुन थालेपछि आन्दोलन उर्लेको हो ।” विद्यार्थीहरूले महिला र देशका विशिष्ट जिल्लाहरूका लागि अन्य कोटासहित उक्त श्रेणीको पूर्ण उन्मूलनको माग गरेका थिए । रासस\एएफपी

  • गिरिबन्धमा धेरै होहल्ला भयो : प्रधानमन्त्री

    गिरिबन्धमा धेरै होहल्ला भयो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेटमा आफूलाई जोड्न आवश्यक नभएको बताएका छन् । आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावमाथि प्रनिनिधिसभामा भएको छलफलमा गिरिबन्धुको विषय उठेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गिरिबन्धु के हुन्छ भनेर प्रश्न गरेका थिए । छलफलमा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विभिन्न समयमा हदबन्दी भन्दा बढीका जमिन कानुनी नबनाई सट्टापट्टा हुने गरेको बताए ।

    त्यही गिरिबन्धुको पनि जग्गा कानुन नबनाई सट्टाभर्ना भएको उनले बताए । कानुन बिना नहोस् भनेर आफू प्रधानमन्त्री हुँदा कानुन बनेको, तर त्यसअनुसार कारबाही नभएको भन्दै ओलीले भने, ‘अनि यो होहल्ला केका लागि ? गिरिबन्धु टि इस्टेटको मुद्दा अदालतमा गएर फैसलासमेत भइसकेको भन्दै उनले भने, ‘बेचबिखचन भएको छैन । हुनुभन्दा अगाडि यस्तो यस्तो गर्नु भनेर शर्त राखिएको थियो । अदालतले त्यसलाई रोकिदियो ।’

    अदालतले कानुन निर्माणलाई नीतिगत भ्रष्टाचार नभनेको उनले बताए । ‘संसदले कानुन बनायो । त्यहाँ नीतिगत भ्रष्टाचार छैन’, अदालतले पनि त्यसो नभनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई गिरिबन्धु टि इस्टेटका नाममा अफवाह फैलाउने अभ्यासलाई निरन्तरता दिनु छ भने बेग्लै कुरा होला, तर यो जरुरी छैन भन्ने ठान्छु ।’ बरु अदालतले सस्तोमा किनेको जग्गासँग महंगो जग्गा सट्टापट्टा हुनसक्छ भनेको भन्दै उनले अब कानुन बनाउँदा विचार गर्नुपर्ने बताए ।

    संसदले पास गरेको त्यो ऐन र त्यसअनुसारको नियमावली अझै जीवित रहेको भन्दै उनले भने, ‘त्यसमा के रिफर्म गर्नुपर्छ, गरौं, खारेज गर्नुपर्छ भने गरौं । मेरो निजी सम्पत्ति होइन, मैले त्यसबाट लाभ लिनु छैन ।’

  • एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

    एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरे ।

    उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४ मंसिरको चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् ।
    यस्तो छ सहमति

    १. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनाीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।

    २. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।

    ३्. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्त्रिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।

    ४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।

    ५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।

    ६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा, समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।

    ७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने ।

  • प्रधानमन्त्रीलाई दुई तिहाई समर्थन

    प्रधानमन्त्रीलाई दुई तिहाई समर्थन


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो ।

    संसदमा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

  • बंगलादेशबाट आज थप १७ नेपाली स्वदेश फर्किदैं

    बंगलादेशबाट आज थप १७ नेपाली स्वदेश फर्किदैं

    काठमाडौं । बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थी आज काठमाडौँ आउनेभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको छ ।

    प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।”

    प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् । बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

  • आज गुरु पूर्णिमा, के छ महत्व ?

    आज गुरु पूर्णिमा, के छ महत्व ?

    काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।

    आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।

    आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
    वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए ।

  • उपसभामभुख विवादमा रास्वपाको बचाउ

    उपसभामभुख विवादमा रास्वपाको बचाउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ ।

    भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ । रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

    एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ । भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

  • माओवादी, रास्वपा र समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

    माओवादी, रास्वपा र समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

    काठमाडौं । पुष्पकमल दाहाल सरकारमा छँदाका सत्ता सहयात्री दल माओवादी, रास्वपा र एकीकृत समाजवादी अहिले संसदमा विपक्षी भूमिका निर्वाह गर्ने भएका छन् । दाहाल सरकारले अघि सारेका सुशासन, समृद्धि, सामाजिक न्यायका मुद्दालाई लिएर उनीहरू विपक्षी मोर्चाबाटै एक भएर उभिने निर्णय गरेका हुन् ।

    संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच असार १७ मा नयाँ सत्ता गठबन्धन बनेपछि यी साना तीन दलले संसदबाट एक भएर सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा लिन लागेको विश्वासको मतको विपक्षमा उभिने भएका छन् ।

    यी तीन दलले आइतबार आ–आफ्ना संसदीय दलको बैठक गरी विश्वासको मतको विपक्षमा उभिन आ–आफ्ना सांसदलाई ह्वीप जारी गर्ने तयारीमा छन् । गत असार २८ मा पनि निवर्तमान प्रधानमन्त्री दाहाललाई यिनै माओवादीका ३२, रास्वपाका २१ र एसका १० सांसदको मात्र विश्वासको मत प्राप्त भएको थियो । विश्वासको मत पाउन नसकेपछि स्वतः पदमुक्त भएका दाहालले संसदमा विपक्ष र सडकमा समाजवादी मोर्चा बनाएर ओली सरकारविरुद्ध साझा मञ्च बनाउन खोजेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समितिको बैठकले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबार बसेको बैठकले ओलीले आइतबार संसदमा विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो ।

    राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा एमाले–कांग्रेस गठबन्धनका गतिविधि विश्लेषण गरेपछि निर्देशन समितिको बैठकले विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको उल्लेख छ । राप्रपाले यसअघि भने कांग्रेस–एमाले गठबन्धनलाई सकारात्मक रूपमा लिँदै उक्त सहकार्यको स्वागत गरेको थियो । तर अब भने त्यसो गर्न नसकिने राप्रपा निर्देशन समितिले निष्कर्ष निकालेको हो ।

  • प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

    प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

    ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते प्रधानमन्त्री नियुक्त गरेका थिए । नियुक्तिलगतै उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेसहित कांग्रेस, जसपा र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी छन् ।

    माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा उभिने भएका छन् । संसदीय दलको बैठक डाकेर यी पार्टीले विश्वासको मत नदिने निर्णय नगरेका हुन् । एमालले विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्रिप जारी गरेको छ ।

    एमालेले अन्य राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ । कांग्रेसको संसदीय दलको बैठक पनि संसद् बैठक अघि नै बस्दैछ । बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्ने कांग्रेस एक नेताले बताए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्दछ ।

  • महिला एसिया कपमा नेपाल र श्रीलंका भिड्दै

    महिला एसिया कपमा नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । यसअघिका दुई संस्करणमा खेलेका सबै ८ खेलमा पराजित नेपालसामु श्रीलंकाको दम्बुलामा भइरहेको महिला एसिया कप क्रिकेटको सेमिफाइनल पुग्ने समीकरण छ । नेपालले आइतबार राति पाकिस्तानको सामना गर्नेछ । नेपालले जित हात पारेमा समूह चरण पार गर्ने लगभग निश्चितजस्तै हुनेछ ।

    नेपालले बिहीबार पहिलो खेलमा यूएईमाथि ६ विकेटको विजय हात पारेपछि अंकतालिकामा केही सहज देखिएको हो । ओपनर सम्झना खड्काले रनगिरी दम्बुला क्रिकेट रंगशालामा अविजित ७२ रन बनाएपछि नेपालले १ सय १६ रनको लक्ष्य १६.१ ओभरमै पूरा गरेको थियो । नेपालले एसिया कपमा जितेको खेल नै यो पहिलो थियो ।

    पाकिस्तान भने बिहीबार आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग ७ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तान १९।२ ओभरमा १ सय ८ रनमै अलआउट भएको थियो । भारतले १४।१ ओभरमै लक्ष्य पूरा गरेको थियो । समूह ‘ए’ मा भारतले आइतबार पहिलो खेलमा यूएईको सामना गर्नेछ । भारत र नेपालले आ–आफ्नो खेल जितेमा दुबै टोली सेमिफाइनल पुग्नेछ ।

    तर दुई पटक उपविजेता पाकिस्तानलाई हराउन नेपाललाई त्यति सजिलो छैन । सन् २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा पाकिस्तानले नेपाललाई ४७ रनमा अलआउट गरेको थियो ।

  • बंगलादेश आन्दोलन : ८ सय नेपाली स्वदेश फर्किए

    बंगलादेश आन्दोलन : ८ सय नेपाली स्वदेश फर्किए

    काठमाडौं । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएको छ । यो घटनापछि आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत शनिबारसम्ममा आठ सय नेपालीले हवाई र स्थलमार्ग हुँदै बंगलादेश छाडेको जनाएको हो ।


    ढाका विमानस्थल र अन्य स्थल नाका हुँदै नेपाली विद्यार्थीको सुरक्षित यात्राका लागि ढाकास्थित नेपाली दूतावासले सहजीकरण गरिरहेको समेत मन्त्रालयले उल्लेख गरेको छ । बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बंगलादेशको सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई आइतबार नेपाल फर्काउन प्रबन्ध मिलाएको जानकारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीले शनिबार साँझ सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, ‘बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् ।

    ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ ।’

    बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शन केही दिनयता हिंसात्मक बनेको हो । अहिलेसम्म कम्तीमा एक सय जनाले ज्यान गुमाइसकेको बंगलादेशस्थित अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

    बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएका छन् । बीबीसीका अनुसार बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको छ ।आन्दोलन चर्किंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी हवाई र भारतीय स्थलमार्ग हुँदै फर्कन थालेका हुन् ।

    यसअघि बंगलादेशमा आन्दोलन हिंसात्मक बन्दै गएपछि नेपाल, भारत र भुटानका साढे ६ सयभन्दा बढी नागरिक बोगुरा नाका हुँदै मेघालय प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । जसमा १ सय ५७ जना नेपाली रहेको त्यहाँको गृह विभागलाई उद्धृत गरिएको समाचारमा उल्लेख छ । मेघालय प्रवेश गर्नेमा अधिकांश विद्यार्थी रहेको पनि जनाइएको छ ।

    बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो । ‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीले विभिन्न स्थानमा र्‍याली गर्दै आएका थिए । आन्दोलन चर्किंदै गएपछि विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अनिश्चितकालीन बन्द गरिएको छ ।

  • सिमलताल पहिरो : अहिलेसम्म २५ जनाको शव फेला

    सिमलताल पहिरो : अहिलेसम्म २५ जनाको शव फेला

    काठमाडौं । चितवनको सिमलताल पहिरोले बगाएका दुई बसमा सवार यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ। जसमध्ये १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। असार २८ गते बेपत्ता भएको बस तथा यात्रुको खोजीका नेपाली सेना र नेपाल प्रहरीसमेत छिमेकी देशबाट आएका विज्ञ सक्रिय छन्। तर अहिलेसम्म दुवै बस फेला परेका छैनन्।

    वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा पहिरोसँगै खसेका थिए।

    शनिबार दिउँसोसम्मा प्रहरीले ऋषिपाल साह, विकास परियार, रमितकुमार माझी, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सुदिप विका, परमानन्द पण्डित, किशोरकुमार चौधरी, अशोक कुमार यादव, ऋषिकुमार सिंह, विवेककुमार, जितेन्द्र राम महरा, चन्द्रप्रभा कुमारी, अमृता कुमारी, तुल्सी दास, सनबाज अलाम, माइला भनिने राजेन्द्र लामिछानेको सनाखन भएको प्रहरीले बताएको छ। अहिलेसम्म शव भेटिएकामध्ये ६ पुरुष र दुई महिलाको भने सनाखत हुन नसकेको प्रहरीले बताएको छ।

  • राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भनेको थियो ।

    नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।

  • दोलखा भीमेश्वर मन्दिरमा आयो पसिना, यस्तो छ मान्यता

    दोलखा भीमेश्वर मन्दिरमा आयो पसिना, यस्तो छ मान्यता

    काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आउन थालेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आउन थालेको हो । शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको स्थानीयले जनाएका छन् ।

    भीमेश्वरको शिलामा पसिना’ आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका छन् ।


    भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ । शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

    ‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविश्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ । जसका लागि राष्ट्रपतिबाट हुने क्षमापूजाका विषयमा छलफल भइरहेको छ ।

    ‘पसिना’ पुछेको कपास राष्ट्र प्रमुख र सर्वसाधारणमा बाँड्ने चलन छ । उक्त कपासलाई खाममा हालेर राष्ट्रपतिकोमा पुर्‍याउने चलन छ । राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । विक्रम संवत् १९९०, २००७, २०२८ र २०७० र २०७७ सालमा पनि भीमेश्वरको शिलामा ‘पसिना’ आएको थियो ।

  • इजरायलका नाममा हुने ठगीबाट बच्न सरकारको आह्वान

    इजरायलका नाममा हुने ठगीबाट बच्न सरकारको आह्वान

    काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रव्रिmया जिटुुजी अन्तर्गत पर्ने भएकाले कुुनै व्यक्ति वा संस्थाले अनधिकृत रूपमा पैसा मागेका भरमा नदिन सर्वसाधारणको ध्यानाकर्षण गराएको छ ।

    विभागले विज्ञप्तिमार्फत इजरायल पठाइदिने भनेर केही व्यक्ति र समूहले युुवासँग मनलाग्दी रूपमा रकम असुुली गरेको उजुरी विभागमा आएको र त्यस्ता व्यक्ति वा समूहबाट सचेत रहन सबैलाई आग्रह गरेको हो । विभागमा महानिर्देशक डण्डुुराज घिमिरेले इजरायलमा केयरगिभर श्रमिक पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेको विभागमा सूचना प्राप्त भएको र ती व्यक्ति वा संस्थाको गोप्य रूपमा निगरानी बढाएको जानकारी दिए ।


    उनले इजरायलको केयरगिभर क्षेत्रमा पठाइदिने भनी रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहबाट देखाइएको प्रलोभन नपर्न युुवालाई आग्रहसमेत गरे । विभागलाई प्राप्त सूचनाका आधारमा यस किसिमका ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहकाले यस्ता कार्य भए गरेको जानकारी भएमा जोसुुकैले कल सेन्टरलगायतका विभागमा सूचना दिन अनुुरोध गरेको छ ।

    विभागले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजानका लागि असार ११ गतेदेखि साउन ११ गतेसम्म आवेदन दिन आह्वान गरेको छ ।

    विभागका अनुसार वैकल्पिक तीन सय जनासहित आठ सय जनाको केयरगिभरका लागि आवेदन आह्वान हो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन । इजरायल जान इच्छुकले आउँदो साउन ११ गतेसम्म आवेदन दिनुुपर्ने विभागले जनाएको छ ।

  • मुस्ताङमा माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

    मुस्ताङमा माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

    काठमाडौं । मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्र्याक खन्ने क्रममा माटोको ढिस्कोले दुई जनालाई पुरेको हो। माटोको ढिस्कोले पुरिएका दुबै जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    मृतक सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका १ बस्ने ३० वर्षीय रवि दर्लामी मगर छन्। उनीहरू माटोको ढिस्कोले परिएको खबरपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएर शव निकालेको हो।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । आज देशभर आंशिक बदली हुने भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार राति भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

  • परराष्ट्र मन्त्रालयले भन्यो : बंगलादेशमा नेपाली सुरक्षित छन्

    परराष्ट्र मन्त्रालयले भन्यो : बंगलादेशमा नेपाली सुरक्षित छन्

    काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । तत्काल कुनै थप सहयोग आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सकिनेछ । त्यसका लागि अभिभावक र आफन्तले जुनसुकै समयमा दूतावासमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

    दूतावासका द्वतीय सचिव योजना बम्जन र रिया केसीलाई सम्पर्क व्यक्ति तोकिएको छ । बम्जनलाई ‌: ८८०१८८०६९१०१३ र रियालाई : ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न सकिनेछ । यसअघि दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको थियो ।

    बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा मानवीय क्षति बढ्दै गएको छ । हालसम्म ३५ जनाको मृत्यु भएको छ भने देशभर कर्फ्यु लगाइएको छ ।

  • त्रिशूलीमा बगेका बस खोज्न भारतबाट आइपुगे प्राविधिक

    त्रिशूलीमा बगेका बस खोज्न भारतबाट आइपुगे प्राविधिक

    काठमाडौं । त्रिशूलीमा बेपत्ता बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएका छन् । नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् । बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो ।

    भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए । सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ ।

    दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका थिए । नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् । चितवनतर्फ ५, पश्चिम नवलपरासीमा १ र बाँकी १७ वटा शव पूर्वी नवलपरासीमा भेटिएका हुन् ।

  • बंगलादेशको आन्दोलनमा कम्तिमा ३५ जनाको मृत्यु

    बंगलादेशको आन्दोलनमा कम्तिमा ३५ जनाको मृत्यु

    काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् ।

    आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । तर, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ ।

    बंगलादेशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् । थप सहयोग आवश्यक भए दूतावासमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।

  • न्यूरोडमा जलाइयो बालेनको पुत्ला, स्थानीय फूटपाथ बिस्तारको विरोधमा

    न्यूरोडमा जलाइयो बालेनको पुत्ला, स्थानीय फूटपाथ बिस्तारको विरोधमा

    काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामप्रति विरोध जनाएका छन्। शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नम्बर २२ स्थित नयाँ सडक परिसरमा फुटपाथ बढाउने काम सुरु भएपछि उनीहरुले विरोध गरेका हुन्।


    केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु गरेको थियो। स्थानीयले दिनभर फुटपाथ विस्तारमा अवरोध गेका स्थानीयले साँझ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको पुतला दहनसमेत गरेका छन्।

  • कांग्रेसको सभापति पदमा सुजाताको समर्थन शेखरलाई

    कांग्रेसको सभापति पदमा सुजाताको समर्थन शेखरलाई

    काठमाडौं । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने घोषणा गरेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेतृ कोइरालाले १५ औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन्।

    ‘हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ,’ उनले भनिन्। कांग्रेसको १५ औं महाधिवेशन २ वर्षपछि हुँदैछ। २०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनबाट शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा पुनः सभापति चुनिएका थिए।

  • महिला क्रिकेटमा नेपालको ऐतिहासिक जित

    महिला क्रिकेटमा नेपालको ऐतिहासिक जित

    काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित निकालेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् ।

    सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् ।

    एक समय यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

  • २४ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो सार्वजनिक ऋण

    २४ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो सार्वजनिक ऋण

    काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण पुग्छ । आर्थिक वर्ष २०७९–८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो ।

    एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ रुपैयाँले बढ्न पुगेको छ । यस्तो ऋण दायित्व नागरिकले प्रत्यक्ष तिर्नु नपरे पनि नागरिकबाट उठाएको करबाटै भुक्तानी गरिने भएका कारण प्रतिव्यक्ति ऋण दायित्वलाई महत्त्वका साथ हेर्ने गरिन्छ । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ ।

    यसबीचमा सार्वजनिक ऋणको सावाँ भुक्तानी २ खर्ब ४३ अर्ब रुपैयाँ बराबर भएको छ । यस प्रकार एक वर्षको अवधिमा १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थप भएको छ । वाह्य ऋण भने सरकारले लक्ष्यको तुलनामा निकै कम मात्र प्राप्त गर्न सकेको छ ।

    नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४३ प्रतिशत हाराहारी रहेको कार्यालयको तथ्यांक छ । आव २०८०–८१ सम्मको सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत हो । यसमा पनि आन्तरिक ऋणको हिस्सा जीडीपीको २०.७० प्रतिशत र वाह्य ऋणको हिस्सा २१.९५ प्रतिशत देखिन्छ ।

    आव २०८०–८१ मा सरकारले ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालनको लक्ष्य राखेको थियो । असार मसान्तसम्म ३ खर्ब ५८ अर्ब २ करोड रुपैयाँ मात्र ऋण उठेको छ । यो कुल वार्षिक लक्ष्यको ७९.०८ प्रतिशत मात्र उपलब्धि हो । वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ उठाउने लक्ष्य थियो । प्राप्ति १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ५८.१० प्रतिशत मात्र प्राप्ति हो ।

    सरकारले एक वर्षको अवधिमा सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा ३ खर्ब ५ अर्ब रुपैयाँ ७१ लाख खर्च गरेको छ । यस आवमा सावाँ ब्याज भुक्तानीमा ३ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । असारसम्म लक्ष्यको ९२.५४ प्रतिशत खर्च भएको छ ।

  • भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

    भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

    काठमाडौं । भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परेको छ । उत्तर प्रदेशको गोंडा जिल्लामा रेलका केही डिब्बा पटरीबाट उछिट्टिएको समाचारमा जनाइएको छ । घटनामा कसम्तमा दुई जनाको ज्यान गएको र २६ जना घाइते भएको विवरण आएको छ । चन्डीगढ डिबुगढ एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । दुर्घटनापछि यस रुटको सबै रेल सेवा बन्द गरिएको छ ।

  • कोटेश्वरमा गेष्ट हाउसबाट ६ बालिकाको उद्दार, २ सञ्चालक पक्राउ

    कोटेश्वरमा गेष्ट हाउसबाट ६ बालिकाको उद्दार, २ सञ्चालक पक्राउ

    काठमाडौं । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।

    रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए । रासस

  • महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

    महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

    काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान पनि खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

    यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् । एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आजदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल यही जुलाई २८ अर्थात आउँदो १३ गते हुनेछ ।