Category: समाचार

  • आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो

    आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो

    काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

    साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ।
    साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ। यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन्।

  • आज पनि देशैभर वर्षाको सम्भावना

    आज पनि देशैभर वर्षाको सम्भावना

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ। अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। त्यस्तै बागमती प्रदेशको काभ्रे र मकवानपुरमा हल्का वर्षा भइरहेको छ ।

    सोमबार दिउँसो सबै प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । दिउँसोको तुलनामा आज राति कम पानी पर्ने सम्भावना छ। कोशी, ‍बागमति, गण्डकी र लुम्बनीका थोेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

  • ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो

    ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो

    काठमाडौं । क्यानडामा सम्पन्न ग्लोबल टी–२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले हात पारेको छ ।
    आइतबार राति सम्पन्न फाइनलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले हराउन सफल भयो ।

    ९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रनको योगदान गरे । मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक–एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । जसमा कोर्बिनले सर्बाधिक ३५ रन बनाए भने जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाउनबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । टोरोन्टोका जसन बेहरेन्डोर्फ तीन, रोमारिओ शेफर्डले दुई, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एकरएक विकेट लिए । तीन विकेट लिएकाजसन प्लेयर फ म्याच भए ।

    शनिबार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको थियो । पहिलो क्वालिफायर्स वर्षाका कारण रद्द भए पनि लिगको शीर्ष स्थानमा रहॅंदै प्लेअफमा स्थान बनाएको कारण मोन्ट्रियल टाइगर्स फाइनलमा पुगेको थियो । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भएको टोली भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो ।

  • आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाईंदै

    आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाईंदै

    काठमाडौं । २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदै छ । त्यसअघि बिहान सात बजे काठमाडौंको भृकुटीमण्डपबाट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अगुवाइमा प्रभातफेरि आयोजना हुँदै छ ।

    त्यसपछि बिहान नौ बजेपछि होटल याक एण्ड यतीमा राष्ट्रपतिले मूल समारोह उदघाटन गर्ने छन् । उदघाटन समारोहपछि युवाका सरोकारका विषयमा युथ समिट ९युवा सम्मेलन० हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो ।

    सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो ।

    नेपालमा दिवस मनाउन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको थियो । दिवस साताव्यापी रुपमा मनाउने क्रममा युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपणलगायतका कार्यक्रम पनि गरिएको थियो ।

  • भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।

    प्रधानमन्त्री ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे । भेटमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै सुदृढ बनाउने बारेमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

  • कुलमानले प्राधिकरण सम्हालेको ८ वर्षमा आधा घट्यो विद्युत चुहावट

    कुलमानले प्राधिकरण सम्हालेको ८ वर्षमा आधा घट्यो विद्युत चुहावट

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत चुहावटलाई आधा घटाएको छ।
    आर्थिक वर्ष २०७२–७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आर्थिक वर्ष २०८०–८१ मा १२.७३ प्रतिशतमा सीमित गरिएको छ। विद्युत चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत रहेको छ। आठ वर्षअघि २५.७८ प्रतिशत चुहावटमध्ये १९.८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो।

    विद्युत चुहावटलाई आर्थिक वर्ष २०७३–७४ मा २२..९० प्रतिशत, २०७४–७५ मा २०.४५ प्रतिशत, २०७५÷७६ मा १५.३२ प्रतिशत, २०७६–७७ मा १५.२७ प्रतिशतमा झारिएको थियो। आर्थिक वर्ष २०७७–७८ मा भने चुहावट बढेर १७.१८ प्रतिशत पुगेको थियो। त्यसपछि चुहावटलाई आर्थिक वर्ष २०७८–७९ मा १५.३८ र आर्थिक वर्ष २०७९–८० मा १३.४६ प्रतिशतमा झारिएको थियो।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको बताए। कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैह्र प्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे।

    ‘प्रणालीमा विद्युत चुहावट हुँदा प्रत्यक्ष रूपमा अर्बौं रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैह्र प्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत चुहावट उल्लेख्य रूपमा घटी यो अनुपात छिमेकी देशहरूभन्दा कम भएको छ,’ घिसिङले भने।

    ‘चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रूपैयाँ थप आम्दानी भएको छ, गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ, नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेका छौं,’ उनले भने, ‘अब चुहावटलाई एकल अंकमा झार्ने लक्ष्य राखी काम अगाडि बढाइरहेका छौं।’

    आर्थिक वर्ष २०७२\७३ मा ८ अर्ब ८९ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आर्थिक वर्ष २०७३\७४ मा १ अर्ब ५० करोड रूपैयाँ खुद नाफा कमाएको थियो। त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रूपैयाँ पुगेको छ।

    आठ वर्षअघि ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरण गत आर्थिक वर्षमा ४७ अर्ब ४१ करोड रूपैयाँ सञ्चित नाफामा पुगेको छ। ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको हो।

    घिसिङले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको बताए।

    प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ। प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरूलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलापहरू सञ्चालन गरिरहेको छ।

  • पेरिस ओलम्पिकमा पनि पदकविहिन नेपाल

    पेरिस ओलम्पिकमा पनि पदकविहिन नेपाल

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ को अन्तिम दिन महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ स्थानमा रहन पुगिन् । आइतबार सम्पन्न महिला म्याराथनमा सन्तोषी भन्दा पछाडी एक जना मात्र धावक रहिन् । ११ जना धावकले भने दौड बीच बाटोमै छाडेका थिए । संतोषिले २ घन्टा ५५ मिनेट ६ सेकेन्डमा दौड पूरा गरिन् । उनकै नाममा २ घन्टा ४० मिनेटको राष्ट्रिय कीर्तिमान रहेको छ ।

    कठिन मानिएको पेरिसको म्याराथन उनले आफ्नै राष्ट्रिय कीर्तिमान भने पार गर्न सकिनन् । गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा १० हजार मिटरमा दौडिएकी सन्तोषी सन् २०१९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा १० हजार मिटरमा स्वर्ण जितेकी थिइन्। त्यो नेपाली महिला खेलाडीले एथ्लेटिक्समा जितेको पहिलो स्वर्ण हो ।

    महिला म्याराथनको स्वर्ण नेदरल्यान्ड्सकी हसन सिफनले २ घन्टा २२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेर जितिन्। इथियोपियाकी असेफा टेगेस्टले २ घन्टा २२ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै रजत र केन्याकी ओबिरी हलेनले २ घन्टा २३ मिनेट १० सेकेन्डमा कास्य पदक हात पारिन्।

    यसअघि नेपालबाट प्रतिस्पर्धा गरेका ६ खेलाडीको पनि पहिलो चरणमै चुनौती सकिएको थियो। जसमा ब्याडमिन्टमा प्रिन्स दाहाल, टेबलटेनिसमा स्यान्टु श्रेष्ठ,सुटिङमा सुस्मिता नेपाल, जुडोमा मनिता श्रेष्ठ प्रधान, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह थिए। यससँगै नेपाल यो ओलम्पिकमा पदक विहिन रहन पुग्यो ।

  • मिनरल वाटरमा भेटियो किरा, किम्ची रेष्टुरेन्टलाई जरिवाना

    मिनरल वाटरमा भेटियो किरा, किम्ची रेष्टुरेन्टलाई जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई २ लाख जरिबाना तिराएको छ । गत शुक्रबार रेस्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जाल संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

    सोही क्रममा सिलबन्द प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याइ पिउन थालेपछि वडा नम्बर ११ का सदस्य यशोमती परियारले पानीमा किरा सल्बलाएको देखिन् । कार्यक्रममा उपस्थित महानगरपालिका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाएपछि अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर निस्किएकी थिइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।

    खानेकुरा तथा पिउने पानी स्वच्छतामा लापरबाही गर्न नहुने भन्दै उपमेयर डंगोलले अटेर गर्नेलाई कानुनी कारबाही गर्नुको विकल्प नरहेको बताइन् ।
    शुक्रबार नै तत्काल अनुगमन टोली पुगेर किम्चीबाट नमुना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय नसकेपछि महानगरले आज जरिबानाको निर्णय गरेको हो ।

    रेस्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका–८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एन्ड बेभरेज प्रालिले उत्पादन गरेको ‘इको’ ब्रान्डको पानी हो । खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यसअघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई पनि दुई पटक जरिबाना तिराएको थियो ।

  • हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनाले के दिए सुझाव ?

    हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनाले के दिए सुझाव ?

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिंग्देलसँग छलफल तथा अनुभव आदानप्रदान गरेका छन् ।

    छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन,अवलम्बन गरेका असल अभ्यासका विषयमा छलफल भएकाे हाे।

    त्यस्तै भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि ठाउँ ठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नु पर्ने लगायतका विषयमा नेपाली सेनाले सुझाव दिएकाे छ।

    एक महिनामा एउटा जहाज र एउटा हेलिकप्टर दुर्घटना भए पछि उनले आईतवार रक्षामन्त्री, प्रधान सेनापतिका साथै दुई मन्त्रालयका सचिवहरूसँग सामुहिक छलफल गरेका हुन् ।


    नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैर सैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका छन् ।

    हालै भएका हवाइ दुर्घटनाको छानवीन समिति गठन भएको भए पनि अध्ययन प्रतिवेदन भने आउन बाँकी रहेको छ । अनुभव साट्ने क्रममा नेपाली सेनाका अधिकारीहरुले हवाई सुरक्षाका लागि ओभरअल सिस्टम र नियमकानुनको कमी नभएको तर कार्यान्वयनको पक्षमा ध्यान दिनु पर्ने सुझाव दिएकाे थियाे ।

    नेपाली सेनाको हवाई सुरक्षाका सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) को गाइडलाइन फलो गर्न नपरेको प्रष्ट पारेकाे छ।

    त्यसै गरि धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनु पर्ने, नगारिक उड्डयन प्राधिकरण (क्यान), आईसीएओ र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनु पर्ने विषयमा समेत सुझाव दिइएको थियो ।

  • अर्थमन्त्री र सचिवहरुबीच कार्य सम्पादन सम्झौता

    अर्थमन्त्री र सचिवहरुबीच कार्य सम्पादन सम्झौता


    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।


    अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा-छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो ।
    कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु, लक्ष्यहरु र समयसीमा उल्लेख गरिएको छ ।


    अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिवहरु र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रुपमा उत्रिने विश्वास व्यक्त गरे ।


    अर्थसचिव डा.घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित कृयाकलापहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल वाग्मती र गण्डकी प्रदेशमा साधारणतय देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, वाग्मती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

  • पेरिस ओलम्पिक : नेपाली खेलाडी संतोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै

    पेरिस ओलम्पिक : नेपाली खेलाडी संतोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै

    काठमाडौं । नेपाली म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । दश दिनअघि नै पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिल हुँदै अभ्यास गरेकी छन् ।

    राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले म्याराथनको कोर्स देखेर सुरुमा केही हच्किए पनि पुरुष म्याराथनमा इथियोपियाका तोला तामिरले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेपछि उत्साह बढेको बताएकी छन् । सन्तोषीले आफूले गरेको अभ्यास अनुसार सक्दो राम्रो गर्न प्रयास गर्ने बताइन् । उनले पहिलो लक्ष्य म्याराथन पूरा गर्ने र त्यसपछि कीर्तिमानमा केन्द्रित हुने बताइन् ।

    सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेर गोल्डेन गर्लको रुपमा उदाएकी सन्तोषीले ओलम्पिकमा भने म्याराथन दौडन लागेकी हुन् । उनले मध्यम दूरीबाट दौड सुरु गर्दै हाफ म्याराथन अनि म्याराथन दौडन थालेकी हुन् ।

    बंगलादेशको ढाकामा भएको बंगबन्धु म्याराथनमा कीर्तिमानी स्वर्ण जितेपछि सन्तोषीले ओलम्पिकमा सहभागी हुने अवसर पाएकी हुन् । उनले अन्तर्राष्ट्रिय डेब्यु म्याराथनमै २ घण्टा ४६ मिनेट २३ सेकेन्डको कीर्तिमानी सममयमा स्वर्ण जितेकी थिइन् ।

    पेरिस ओलम्पिकमा नेपालमा यसअघि ६ खेलाडीले आफ्नो प्रतिस्पर्धा सकाएर फर्किसकेका छन् । पौडीका अलेक्जान्डर शाहले राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन । शाहसहित पौडीकै डुवाना लामा, टेबल टेनिसका श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका थिए ।

  • गायक प्रकाश तिमिल्सिना मृत फेला

    गायक प्रकाश तिमिल्सिना मृत फेला

    काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी ललितपुर महानगरपालिका १८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

    तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् । तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’बाट उदाएका थिए । उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ । मृत्युको कारण खुलेको छैन ।

  • आन्दोलनपछि बंगलादेशमा प्रधानन्यायाधीशले समेत दिए राजिनामा

    आन्दोलनपछि बंगलादेशमा प्रधानन्यायाधीशले समेत दिए राजिनामा

    काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्। शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

    आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन्।

    अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए। हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन्। राजीनामाका लागि केही औपचारिकताहरू बाँकी छन्। ती पूरा गरेर साँझसम्ममा राष्ट्रपति मोहम्मद शहाबुद्दिनलाई राजीनामा पत्र बुझाउँछु,’ प्रधानन्यायाधीश हसनले भने।

  • काठमाडौंमा घरको छतबाट हाम फालेका २१ वर्षिय युवकको ज्यान गयो

    काठमाडौंमा घरको छतबाट हाम फालेका २१ वर्षिय युवकको ज्यान गयो

    काठमाडौं । त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेका एक युवकको ज्यान गएको छ । सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफाल्दा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्यको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हामफालेपछि घाइते भएको उनको मनमोहन कार्डियो सेन्टरमा नै उपचार गरिएको थियो । तर शनिबार दिउँसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

    उनी त्रिवि शिक्षण अस्पताल तथा मनमोहन कार्डियो सेन्टरमा उपचाररत बिरामी वा उनका आफन्त पनि नरहेको प्रहरीले जनाएको छ । उनी एस क्याफेमा कफी पिएर बसेको र केहीबेरमा हामफालेको पाइएको प्रहरीको भनाइ छ ।

  • नेपालको लैङ्गिक अनुपात चीनसरह पुग्यो, भविश्यमा हुन सक्न बेहुली नपाउने समस्या

    नेपालको लैङ्गिक अनुपात चीनसरह पुग्यो, भविश्यमा हुन सक्न बेहुली नपाउने समस्या

    काठमाडौं । नेपालमा पछिल्लो लैङ्गिक अनुपात खतराउन्मुख जाँदा अर्को पुस्तामा समस्या देखिने चेतावनी दिइएको छ । अर्को पुस्ताले विवाहका लागि बेहुली नै नपाउन सक्ने समस्या सम्म भोग्नु पर्नेछ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार राष्ट्रिय जनगणनाको बालबालिका सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार हाल देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) छन् ।

    यसमा बालकको तुलनामा बालिका कम छन् । उता, पुरै जनसंख्यामा भने महिलाको संख्या धेरै छ । तर, अहिले भने जनगणना भएको एक वर्षको अवधिमा लैङ्गिक अनुपातः ११२ रहेको छ । अर्थातः हरेक १०० बालिकाको जन्म हुँदा ११२ जना बालक जन्मिएका छन् ।

    उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार ‘विश्वभर मृत्युदर महिलाको तुलनामा पुरुषको धेरै हुन्छ, त्यसकारण लैङ्गिक अनुपात १०५ सम्म सही मानिन्छ । तर, नयाँ जन्ममा ११२ को लैङ्गिक अनुपात खतराउन्मुख अवस्था हो ।

    जन्मजात नै बालक जन्मिरहेको भए त्यसलाई सामान्य लिन सकिन्छ, तर जानाजान छोरी नजन्माउने प्रवृत्ति बढेको भए त्यो डरलाग्दो अवस्था हुने उनको चेतावनी छ । यसले भविश्यमा लैङ्गिक अनुपात बिग्रने र विवाहका लागि जोडी नपाउनेदेखि प्राकृतिक नियम नै प्रभावित हुने खतरा बढ्ने उनी बताउँछन् ।

    प्रदेशगत रुपमा हेर्दा नयाँ जन्ममा सबैभन्दा डरलाग्दो अवस्था मधेश प्रदेशमा देखिन्छ । यस प्रदेशमा हरेक १०० बालिका जन्मिँदा १८ जना बालक जन्मिएका छन् । अर्थातः यहाँ १०० बालिका जन्मिँदा ११८ बालक जन्मिएका छन् । कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ११६ छ । बागमती र गण्डकीमा यो अनुपात १११ छ । कर्णालीमा १०९ देखिन्छ । सबैभन्दा कम कोशी प्रदेशमा १०६ रहेको छ ।

    विश्वका विभिन्न मुलुकको प्रवृत्ति हेर्दा चीन र नेपालमा लैङ्गिक अनुपात समान ११२ देखिन्छ । भारतमा १०८, थाइल्याण्ड र दक्षिण कोरियामा १०६, जापान र बंगलादेशमा समान १०५ देखिएको छ । बालक र बालिकाको संख्याको अन्तर बढ्दो हुनु मात्र होइन, अर्कोतर्फ जन्मदर नै ऋणात्मक लागेको छ ।

    २०६८ को जनगणना अनुसार शून्यदेखि १७ वर्षसम्मका बालबालिकाको संख्या १ करोड १० लाख हाराहारी थियो । अहिले यो उमेर समूहका बालबालिकाको संख्या ९८ लाख ६९ हजारमा झरेको छ । यसले पछिल्लो १० वर्षमा बालबालिकाको जन्मदर खुम्चिन पुगेको देखिएको छ । अघिल्लो दशकसँग तुलना गर्दा बालबालिकाको जनसंख्या वृद्धिदर –१.१ प्रतिशतले खुम्चिन पुगेको छ ।

    जन्मजात नै बालक जन्मिरहेको भए त्यसलाई सामान्य लिन सकिन्छ, तर जानाजान छोरी नजन्माउने प्रवृत्ति बढेको भए त्यो डरलाग्दो अवस्था हुने उनको चेतावनी छ । यसले भविश्यमा लैङ्गिक अनुपात बिग्रने र विवाहका लागि जोडी नपाउनेदेखि प्राकृतिक नियम नै प्रभावित हुने खतरा बढ्छ ।

  • इजरायल र लेवनानमा रहेका नेपालीलाई सतर्क रहन आह्वान

    इजरायल र लेवनानमा रहेका नेपालीलाई सतर्क रहन आह्वान

    काठमाडौं । इजरायल र लेबनानका हिजबुल्लाह समूहबिच तनाव बढ्दै गएपछि दुवै देशमा रहेका नेपाली श्रमिकलाई सचेत रहन सम्बन्धित देशका नेपाली दूतावासले अनुरोध गरेका छन् । इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने इजिप्टको कायरो दूतावासले इजरायल र लेबनान पक्षबिच हुन सक्ने युद्धलाई ध्यानमा राख्दै सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको हो ।

    गत अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायल र उसका केही छिमेकी देशमा रहेका अतिवादीबिच विवाद बढ्दै जाँदा इजरायललगायत नेपाली श्रम गन्तव्य मुलुकमा युद्धको त्रास बढेको छ । पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा चासो बढेको छ । केही समययता इजरायल र लेबनान तथा इरानबिच तनाव बढ्न थालेपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले समेत लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत हुन अनुरोध गरेको छ ।

    इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय विकसित परिस्थितिलाई ध्यानमा राखी जुनसुकै बेला इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी हुन सक्ने जनाउँदै सचेत हुन आग्रह गरेको हो । दूतावासले त्यहाँ रहेका नेपालीलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकारी राख्नसमेत आग्रह गरेको छ ।

    दूतावासको सूचनामा भनिएको छ, “उक्त प्रोटोकल पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहनसमेत हार्दिक अनुरोध गर्दछौँ ।”

    दूतावासले आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकारी राखेर आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कनसमेत नेपालीलाई आग्रह गरेको छ ।

    लेबनान तथा इरान र इजरायलबिचको तनाव बढ्दै गए त्यहाँको अवस्था असहज हुने देखिएपछि परराष्ट्र मन्त्रालयले दुवै देशका नेपाली दूतावासलाई परिस्थितिबारे सचेत रहन अनुराध गरेको छ । पछिल्लो समय इजरायलमा एक हजार एक सयभन्दा बढी जिटुजी श्रमिक र अन्य गरी करिब पाँच हजार नेपाली छन् ।

    गत महिना मात्रै इजरायलले थप एक हजार नेपालीलाई रोजगारी दिने गरी आवेदन आह्वान गरेको थियो । युद्धको त्रास बढ्दै गए तत्काल पठाउनुपर्ने नेपाली र हाल गइरहेका श्रमिक रोकिने सम्भावना देखिएको छ ।

    यसै गरी लेबनान हेर्ने कायरोस्थित नेपाली दूतावासले लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका नेपालीलाई आवश्यक सतर्कता अपनाउन र सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    लेबनानमा विगत तीन वर्षमा श्रम स्वीकृति लिएर गएका १७५ नेपाली छन् । विभिन्न भिसामा त्यहाँ गएर काम गर्ने नेपालीको सङ्ख्या एक हजारभन्दा बढी छ ।

  • ब्राजिलमा यात्रुबाहक जहाज दुर्घटना, ६१ जनाको मृत्यु

    ब्राजिलमा यात्रुबाहक जहाज दुर्घटना, ६१ जनाको मृत्यु

    काठमाडौं । ब्राजिलमा यात्रुवाहक जहाज दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटनामा परेको हो । त्यसमा सवार सबै यात्रुको मृत्यु भएको छ । जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको एयरलाइन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।


    समाचार संस्था रोयटर्सका अनुसार विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो। साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू उक्त जहाजमा सवार थिए। साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरस्थित एउटा घरनजिकै जहाज खसेर दुर्घटना भएको हो।

    दुर्घटनास्थलमा अन्य मानिसहरू नपरेको पनि त्यहाँको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। दुर्घटनापछि विमान कम्पनीले विज्ञप्ती जारी गरेर भनेको छ, ‘फ्लाइट २२८३ मा सवार सबै ६१ जनाको दुर्घटनास्थलमै मृत्यु भएको जानकारी गराउनुपर्दा हामी दुःखी छौं। यो समय वोयपास पीडितका परिवारलाई सहायता गर्ने विषयलाई प्राथमिकतामा राख्छ। दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूलाई सहयोग गरिरहेका छौं।’

    यात्रुहरूबारे थप विविरण सार्वजनिक भएको छैन। जहाज के कारणले दुर्घटना हुन पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ। जहाजको ब्ल्याक बक्स पनि भेटिएको प्रहरीले जनाएको छ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • स्पेनले जित्यो पेरिस ओलम्पिकको फुटबलमा स्वर्ण

    स्पेनले जित्यो पेरिस ओलम्पिकको फुटबलमा स्वर्ण

    काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेनले उपाधी जितेको हो । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो ।

    स्पेनले ओलम्पिकमा पुरुष फुटबलका जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो । १९८४ मा पहिलो पटक फुटबलम स्वर्ण जितेको फ्रान्सको घरेलु मैदानमै स्वर्ण जित्ने चाहना भने पूरा हुन सकेन ।

    निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ कामेलोले १००औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता ४–३ बनाएका थिए भने अतिरिक्त समयमको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।

    त्यसअघि खेलको सुरुमा फ्रान्सले गोल गर्दै अग्रता लिएपनि कायम राख्न सकेन । एन्जो मिलोटले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर फर्मिन लोपेजले १८औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे । पर्मिनले नै २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाएका थिए । एलेक्स बाएनाले २८औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफको आधा घण्टामै ३–१ को अग्रता बनायो ।

  • पाकिस्तानले ४० वर्ष पछि जित्यो ओलम्पिकमा स्वर्ण

    पाकिस्तानले ४० वर्ष पछि जित्यो ओलम्पिकमा स्वर्ण

    काठमाडौं । पाकिस्तानका अरशद नदीमले पेरिस ओलम्पिक २०२४ मा बिहीबार पुरुष ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका छन् । ओलम्पिक इतिहासमै पाकिस्तान व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो । नदीमले ओलम्पिक कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटर थ्रो गरे । भारतका निरज चोपडा ८९.४५ मिटरको थ्रोमा दोस्रो भए । पाकिस्तानी खेलाडी सन् २०२२ को कमनवेल्थ गेम्सका च्याम्पियन पनि हुन् ।

    पाकिस्तानले ओलम्पिकमा स्वर्ण जितेको भने यो ४० वर्षयता पहिलो हो । यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो । व्यक्तिगत विधातर्फ पाकिस्तानले सन् १९६० मा कुस्तीतर्फ तथा सन् १९८८ बक्सिङतर्फ एक एक कांस्य जितेको थियो ।

    प्रतियोगिताको समग्र पदक तालिकामा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कांस्यसहित शीर्ष स्थानमा छ । चीन २९ स्वर्ण, २५ रजत र १९ कांस्यसहित दोस्रोमा छ । यस्तै तेस्रो स्थानमा अस्ट्रेलियाको १८ स्वर्ण, १४ रजत र १३ कास्य रहेको छ । स्वर्ण जितेसँगै भारत भन्दा पाकिस्तान पदक तालिकामा अगाडी रहेको छ ।

  • कुलमानमाथि अस्वभाविक लान्छना लगाइएको भन्दै माओवादीको विरोध

    कुलमानमाथि अस्वभाविक लान्छना लगाइएको भन्दै माओवादीको विरोध

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ । माओवादी स्थायी समितिको बैठकले सुशासनको अभियानमा अवरोध नगर्न समेत सरकारलाई आग्रह गरेको छ ।

    ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई अस्वभाविक र अप्राकृतिक ढंले लान्छना लगाउने काम भएको छ’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘भ्रष्टाचारविरोधी र सुशासनको पक्षमा जुन अभियान छ, यसमा सरकारले अवरोध नगरोस् ।’ बैठकले सिमलताल बस दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेको छ ।

  • नेपाल विद्युत प्राधिकरणको एक वर्षको खुद नाफा साढे १३ अर्ब

    नेपाल विद्युत प्राधिकरणको एक वर्षको खुद नाफा साढे १३ अर्ब


    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पुरा भएको अवसर पारी आफ्ना उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणका उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।

    कार्यकारी निर्देशक घिसिङका घिसिङका अनुसार ८ वर्ष अगाडी ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको जानकारी दिए । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए ।

    आव २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर घाटामा गएको हो । यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत महसुल घटाइएको भन्दै उनले प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिए ।


    अहिले प्राधिकरणका ५९ लाख ग्राहक पुगेका छन् । यसमध्ये २२ लाख ग्राहकले न्यूनतम शूल्क ३० रुपैयाँ मात्र कायम गरी निशूल्क विद्युत उपलब्ध गराइएको उनले जानकारी दिए । सिञ्चाईका लागि प्रतियूनिट २ रुपैयाँमा विद्युत उपलब्ध गराइएको समेत कुलमानले बताए ।

    लिफ्टिङ खानेपानीमा डिमान्ड शूल्क नलाग्ने र इनर्जी शूल्कमा सहुलीयत दिइएको समेत उनको भनाई छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनमा सहुलीयतपूर्ण महसुल दर कायम गरिएको उनले बताए ।


    नेपाल सरकारले २५ साउन २०७८ का दिन कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरेको छ । आज उनको दोस्रो कार्यकालको तेस्रो वर्ष पुरा भएको हो । यसबीचमा आफ्नो कार्य सम्पादन मूल्यांकनका आधारमा आव २०७८÷७९ मा ९४.२३ प्रतिशत र त्यसपछिको आवमा ९८.९४ प्रतिशत अंक प्राप्त भएको समेत उनले जानकारी दिए ।


    ८ वर्ष अगाडी २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले जानकारी दिए । ८ वर्ष अगाडी २९ लाख ७० हजार ग्राहक रहेकोमा अहिले ५९ लाख ३५ हजार पुगेको हो । ८ वर्ष अगाडी ३ अर्ब ७२ करोड यूनिट विदुत खपत हुने गरेकोमा अहिले १०अर्ब २३ करोड यूनिट पुगेको समेत उनले बताए ।

  • दशरथ रङ्गशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य

    दशरथ रङ्गशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य

    काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोको अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको छ ।


    विभिन्न प्रश्न उठाउदै एएफसीले केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य घोषित गरेको छ । यसले नेपाली टोलीले विश्वकप छनोट घरेलु मैदानमा खेल्न पाएको थिएन् । एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैतदेखि राखेपले आफैले खेल मैदानको रेखदेख र संरक्षण शुुरु गरेको थियो ।

    त्यसअघि त्यो जिम्मेवारी राखेपले एन्फालाई दिएको थियो । यस बीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रङ्गशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको राखेपले बताएको छ ।

    दशरथ रङ्गशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्यालेन्ज लिग छनौटको प्लेअप अन्तर्गत नेपालको लिग च्याम्पियन चर्चब्वाईज युनाईटेड र भुटानको लिग विजेता पारो एफसीबीच खेल हुने भएको छ ।

  • प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म कस्तो छ ?

    प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म कस्तो छ ?

    काठमाडौं । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । सार्वजनिक श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत दृश्यमा देखिएका छन् । २०७७ सालमा एसिड पीडितका लागि ल्याइएको अध्यादेशका कारण प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरिएको थियो ।

    निर्देशक, निर्माता तथा अभिनेता रमित ढुङ्गानाका अनुसार चलचित्रलाई वास्तविक रुपमै तयार पार्न यसो गरिएको हो । सामाजिक विषयवस्तु उठान गरिएको र एसिड आक्रमण जस्तो कार्यलाई जरैबाट निर्मूल गर्न यस्ता चलचित्र बन्नु जरुरी रहेकाो उनी बताउँछन् ।


    चलचित्रमा अभिनय गरेकी एसिड पीडित मुस्कान खातुनले समाजमा यस्ता अपराधलाई कम गर्न चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन् ।


    चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाही समेत देखिएका छन् । शिवम् अधिकारीको कथा रहेको चलचित्रमा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गरेका छन् ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण, सरदरकै स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • बंगलादेशको मन्त्रिपरिषद्मा२  विद्यार्थी नेता

    बंगलादेशको मन्त्रिपरिषद्मा२ विद्यार्थी नेता

    काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि छन् । मन्त्रिपरिषद्‍मा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि छन् । विद्यार्थी नेताहरुको प्रस्ताव अनुसार अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएका युनुस बिहीबार मात्र ढाका पुगेका थिए ।

    सरकारी रोजगारीमा रहेको कोटाविरुद्ध विद्यार्थीहरुले थालेको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिएर देश छोडकी थिइन् । लगतै सेना प्रमुखले पत्रकार सम्मेलन गरेर अन्तरिम सरकार बनाउने बताए ।

    विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अगाडि सारे । संसद भंग गर्न माग गरे । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सर्वपक्षीय छलफल गरेर विद्यार्थीहरुको मागअनुसार संसद भंग गर्नुका साथे नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।

  • कोशी र कर्णाली प्रदेशमा आज किन दिइयो सार्वजनिक बिदा ?

    कोशी र कर्णाली प्रदेशमा आज किन दिइयो सार्वजनिक बिदा ?

    काठमाडौं । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।

    कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

    यसैगरी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

  • रुसी सेनामा ज्यान गुमाएका पाँच नेपालीको परिवारलाई अस्तुधातु हस्तान्तरण

    रुसी सेनामा ज्यान गुमाएका पाँच नेपालीको परिवारलाई अस्तुधातु हस्तान्तरण

    काठमाडौं । रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई बुधबार सम्पर्क(हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार रुसी सेनामा भर्ती भई समस्यामा परेका नेपाली नागरिक मध्ये सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि परिवारबाट निवेदन दिएको सङ्ख्या एक सय १८ जना रहेको छ ।

    त्यस्तै घाइते वा अन्य कारणलेगराईदिन अनुरोध गरिएकाको सङ्ख्या एक सय ६६ रहेको मन्त्रायलले जनाएको छ । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म ३६ जनाको मृत्यु प्रमाणित भइसकेको छ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिकमध्ये घाइते भई उपचारत रहेको जानकारी प्राप्त भएको सङ्ख्या पाँच (घाइते मध्ये एक जना नेपाल फिर्ता भइसकेको) छ ।

    हालसम्म स्वदेश फर्किएकाको सङ्ख्या १६२, डिएनए परीक्षणका लागि अनुरोध भई आएको सङ्ख्या २२ र क्षतिपूर्तिका लागि नेपाल राजदूतावास, मस्कोबाट, कागजात माग भई आएको सङ्ख्या छ जना रहेको मन्त्रालयले जनाएको छ ।

    यसैगरी, मोरङका विकाश राई, कास्कीका नेत्रबहादुर थापा, रुपन्देहीका उदयराज थारु, भोजपुरका प्रितम राई, दार्चुलाका ललित सिंह डोवाल, कैलालीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती र रुकुमका रामकुमार बुढा मगरको नेपाली राजदूतावासबाट मृत्य प्रमाणित भएर आउन बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

    रुसी सेनामा भर्ती भएकामध्ये युद्धका क्रममा विवेक खत्री (वर्दिया), सिद्धार्थ ढकाल (काभ्रे), विकास राई (मोरङ), प्रतिक पुन (रोल्पा), सुजन सुवेदी (चितवन), ईश्वर लामिछाने (मकवानपुर) हालसम्म यूक्रेनी सेनाको कब्जामा छन् । रासस

  • हवाई सुरक्षाबारे संसदीय समितिको चासो, के दियो निर्देशन ?

    हवाई सुरक्षाबारे संसदीय समितिको चासो, के दियो निर्देशन ?

    काठमाडौं । संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई दुर्घटनाका विषयमा विज्ञ व्यक्तिहरु सम्मलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको छ । सरकारले दुर्घटनापिच्छे छानबिन आयोगहरु गठन गर्ने, तर त्यसबाट परिणाम नआउने अवस्था देखिएको भन्दै समितिले हवाई सुरक्षाको अवस्था, मापदण्ड र सुधारका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको हो ।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा पछिल्लो समय भएका हवाई दुर्घटनाहरुको समीक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सम्बद्ध अधिकारीहरुसँगको छलफलपछि समितिले यसअघि समितिले निर्देशन गरिसकेका, तर सरकारले कार्यान्वयन नगरेका विषयहरु समेत पुनः स्मरण गराएको छ ।

    समितिका सभापति राजकिशोर यादवले पछिल्लो समय निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानबिन समितिहरु बनेपनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको भन्दै नेपालको हवाई सुरक्षा, सुरक्षा मापदण्डको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धी कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भएरनभएको सम्बन्धमा १५ दिन भित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिश गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिइएको बताए ।

    उनका अनुसार समितिले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको भन्दै उक्त नीति तत्काल तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ । हवाई नीति, २०६३ सालदेखि कार्यान्वयनमा आएतापनि नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएको भन्दै समितिले यसअघि नै उक्त नीति तर्जुमा गर्न निर्देशन दिएको थियो ।

    बिहीबार मन्त्री पाण्डेको उपस्थिति रहेकोमा समितिले पुनः स्मरण गराएको हो । सभापति यादवले समितिले पटक(पटक मन्त्रालयलाई निर्देशन दिने गरेको, तर सरकारले कार्यान्वयन नगरेको भन्दै त्यस्ता निर्देशनहरु कार्यान्वयन गर्न पुन? स्मरण गराइएको बताए ।

    ुनागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसद्‌मा पेश गर्न, गराउन सरकारलाई निर्देशन दिने निर्णय भएको छ’ सभापति यादवले भने ।

    समितिले यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदल मार्फत पेश भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनहरु के कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।