Category: समाचार

  • आईसीसी विश्वकप लिग-२ तयारीका लागि श्रीलंका जाँदै

    आईसीसी विश्वकप लिग-२ तयारीका लागि श्रीलंका जाँदै

    काठमाडौं । नेपाल क्रिकेट टिम आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ । भारतको नेशनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर नेपाल दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो । सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको छ ।

    नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा मा तीन एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ । अघिल्लो महिना नै क्यानडा टी–२० लिग खेल्न गएका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने श्रीलंका भ्रमणमा हुने छैनन् ।

    नेपालले रोहितको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरेको छ । उक्त टोलीबाट नेपालले क्यानडा जाने अन्तिम टोली पनि घोषणा गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार दीपेन्द्र र रोहित टोलीसँगै क्यानडामा जोडिनेछन् । आईसीसी विश्वकप लिग–२ घरेलु टोली क्यानडासँगै, नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपाली टोली आइतबार श्रीलंका भ्रमणमा जानेछ ।

    नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

  • रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

    रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

    काठमाडौं । रुसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । ‘‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो,” रुसको राष्ट्रिय समाचार संस्था तासले जनाएको छ ।

    रुसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता, शिक्षाविद् र रुस–युक्रेन द्वन्द्वकाबिच युक्रेनलाई हतियार आपूर्ति गर्ने रक्षा अनुबन्ध फर्महरू र वित्तीय संस्थाहरूका नेताहरू समावेश रहेका छन् । रुसी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार यो प्रतिबन्धको सूचीमा वाल स्ट्रिट जर्नल, वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सका केही पत्रकारको नाम उल्लेख गरिएको छ ।

    प्रतिबन्धित व्यक्तिहरूको सूचीमा ‘‘रुस र रुसी सेनाबारे वासिङ्टनले फैलाएको प्रोपागान्डाको बारेमा झुटो प्रसारमा संलग्न प्रमुख उदार–विश्वव्यापी प्रकाशनहरूका सम्पादकीय कर्मचारी र पत्रकारहरू समावेश छन्,” विदेश मन्त्रालयले भनेको छ । सूचीबद्ध पत्रकारमध्ये वाल स्ट्रिट जर्नल (डब्लुएसजे) का प्रधान सम्पादक एमा टकर पनि रहनुभएको छ ।

    सूचीमा रहेका डब्लुएसजेका अन्य १३ जना वर्तमान वा पूर्व कर्मचारीहरूमा सञ्चारमाध्यमका प्रमुख सम्पादक, विश्व समाचार विभागका प्रमुख, यसको किएभ ब्युरो प्रमुख, पूर्व मस्को ब्युरो प्रमुख र यसको सम्पादकीय बोर्डका सदस्य समावेश रहेका छन् ।

    प्रतिबन्ध गरिएका मानिसहरूको सूचीमा न्युयोर्क टाइम्सका पाँचजना पत्रकार, वासिङ्टन पोस्टका चारजना पत्रकार र केलायती पत्रिकाका केही पत्रकारको नाम पनि सूचीकृत छ ।

    अमेरिकी स्पेस कमान्डका कमान्डर स्टिफन ह्वाइटिङ, स्पेस सिस्टम कमान्डका कमान्डर फिलिप ग्यारान्ट र स्पेस पोलिसिका लागि सहायक उप–रक्षामन्त्री जोन प्लम्ब पनि प्रतिबन्धको सूचीमा परेका छन् । “अमेरिकी शासक वर्गले रुसमाथि लगाएको प्रतिबन्धको प्रतिक्रियामा रुसले यो प्रवेश प्रतिबन्ध जारी गरेको र रुस विरोधी गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई समावेश गरेर यो सूची विस्तार गर्ने अभ्यास दृढता र स्थिरताका साथ जारी रहनेछ,” रुसी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।

    यसअघि, अमेरिकाले ‘युक्रेनमा क्रेमलिनको अवैध युद्ध’ का लागि रुस र बेलारूसमा अमेरिकी उत्पादन र ‘अमेरिकी ब्रान्डेड’ वस्तुको आपूर्तिलाई प्रतिबन्धित गरेको थियो । राससएएनआई

  • पारसले भारतमा लिजेन्ड्स लिग क्रिकेट खेल्ने

    पारसले भारतमा लिजेन्ड्स लिग क्रिकेट खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । भेट्रान खेलाडीहरूले खेल्ने यो लिगका लागि पारसलाई गुजरात लायन्सले १२ लाख ५० भारतीय रुपैयाँ भाउ लगाएको थियो । भारतमा भएको अक्सनमा गुजरातले पारसलाई ‘बेस प्राइस’ मा लिएको थियो । गुजरातले पारससहित वेस्ट इन्डिजका क्रिस गेल, वेस्ट इन्डिजका लेन्डल सिमोन्स, अफगानिस्तानका पूर्वकप्तान अस्घर अफगानलाई समावेश गरेको छ ।

    सेप्टेम्बर २० बाट तेस्रो संस्करणको यो लिग सुरु हुनेछ । स्थान भने तय भइसकेको छैन । गुजरातसहित लिजेन्ड्स लिगमा भलवारा किंग्स, मणिपाल टाइगर्स, साउथर्न सुपर स्टार्स र उर्बानराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दै छन् । नेपाल क्रिकेट संघका सचिव पारसले २०२२ को मार्चमा कतारमा भएको पहिलो संस्करण एसियन लायन्सबाट खेलेका थिए ।

  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

    चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

    काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डिसी सत्तारुढ दल एमाले निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवम् चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।


    बोर्ड अध्यक्ष पदका लागि डिसीसँगै चलचित्र निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको थियो । सिफारिस भएकामध्ये मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

  • पाँचथरमा ग्रिनेड विष्फोट, दुई बालबालिकाको ज्यान गयो

    पाँचथरमा ग्रिनेड विष्फोट, दुई बालबालिकाको ज्यान गयो

    काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालबालिकाको ज्यान गएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो ।

    विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको छ । विष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो बस्तु पनि भेटिएको छ ।

    त्यो फलामको डल्लोमा खिया लागेको छ । त्यो पनि विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको छ । हाल सो स्थानलाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ । सेनाको टोली पुगेपछि विस्फोट भएको र शंकास्पद वस्तुको बारेमा विस्तृतमा थाहा हुने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

  • एक नारायण अर्याल बने मूख्यसचिव

    एक नारायण अर्याल बने मूख्यसचिव

    काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा हुनेछिन् ।

    अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् । हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरीयतामा थिए । तर चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनायो ।

    निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

    ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेदेखि नयाँ मुख्यसचिवको दौड सुरु भइसकेको थियो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नयाँ मुख्य सचिव नियुक्ति नगरी गड्तौलालाई कामु मुख्य मुख्यसचिवको जिम्मेवारी दियो । असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । नयाँ सरकारले छोटो कार्यकाल भएकी गड्तौलालाई मुख्य सचिव बनाएसँगै अर्यालको सम्भावना बढेको थियो ।

  • टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

    टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

    काठमाडौं । नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन् । अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन (ईयू), जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उक्त विधेयकको स्वागत गरेका हुन् ।

    ती देशले पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रको खोजी गर्ने उल्लेख गरेका छन् । निर्णय प्रक्रियामा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ ।

    “हामी यस प्रक्रियाको प्रारम्भिक चरणमा छौँ । भविष्यमा चाल्नुपर्ने सम्भावित कदमको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी हामी हस्ताक्षरकर्ता सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकता छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

    नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको ती देशले जनाएका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रमाणीकरण गरेका छन् ।

  • बाँकेमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु

    बाँकेमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु

    काठमाडौं । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको डिएसपी डाँगीले बताए ।
    यसअघि सोही दुर्घटनामा परेर दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको थियो । दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर नेपालगन्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार दुर्घटनामा परेका घाइते २६ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ

  • प्रचण्डले संयम गुमाए : एमाले

    प्रचण्डले संयम गुमाए : एमाले

    काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी दलको नेताले संयमता गुमाएको बताएको छ । आफ्नो असन्तुष्टि पोख्न समाजलाई उत्तेजित नबनाउन समेत एमालेले आग्रह गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकमा सरकारको काम कारबाही र माओवादी अध्यक्ष प्रचण्डले मंगलबार संसदमा गरेको सम्बोधनबारे छलफल भएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार गठनसँगै सकारात्मक आशा र भरोसा बढेको बैठकको निष्कर्ष छ ।


    निजी क्षेत्रमा देखिएको आशा र भरोसाको संकेत शेयर बजार परिसूचकमा देखिएको बृद्धि भएको उनले बताए । टीआरसी विधेयक पास हुनु अर्को सकारात्मक पक्षमा रहेको भन्दै उनले भने, ‘सरकार अझ गतिका साथ कामलाई अगाडि बढाओस् भन्ने कुरा बैठकले गरेको छ ।’

    साथै पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति बढ्न थालेको, विभिन्न देशको घटनाहरुसँग जोडेर चर्चा परिपर्चा हुँदै गरेको र सत्ताबाट बाहिरिएसँगै आवेगपूर्ण प्रतिक्रिया दिन थालेको प्रति पनि आफूहरुको ध्यानाकर्षण भएको उनले बताए । ‘मुलुक असहज अवस्थामा छ, यसलाई सहज तुल्याउँदै जाने सबै राजनीतिक दलको जिम्मेवारी हो’, उनले भने, ‘आफ्नो दलको पोजिसन कहाँ छ भन्ने कुराले मुलुकको संवेदनशील अवस्थाप्रति कसैले पनि गैरजिम्मेवार अभिव्यक्ति दिनुहुन्न । यस्ता कुरालाई कसैले पनि बढवा दिनुहुन्न ।’

    माओवादी अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले संसदमा बोल्दा संयम गुमाएर आक्षेप लगाएको एमालेको आरोप छ । प्रधानमन्त्री हुँदाहुँदै वैकल्पिक सरकार बनाउने प्रयास गरेपछि एमाले र कांग्रेस मिलेको भन्दै ज्ञवालीले भने, ‘हाम्रोतर्फबाट कुनै पनि निषेध छैन । तर शायद आफ्नो राजनीतिक भविष्यमाथि अनिश्चयको तुवालो मडारिँदै गरेर हो कि पार्टीभित्रै नेतृत्वमा चुनौती आएपछि विषयान्तर गर्न उहाँले समाजले भड्काउने कुरा गर्नुभएको छ ।’

    ‘बारम्बार उहाँले श्रीलंका, बंगलादेशको कुरा गर्नु हुन्छ । के के त्यही बाटोमा लग्न खोज्नुभएको हो उहाँले ?’, जिम्मेवार नेताहरुले आफ्नो असन्तुष्टि पोख्न समाजलाई यसरी उत्तेजित बनाउन नहुने ज्ञवालीको जोड छ । प्रचण्डले संयम गुमाएको देखिएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे । एमाले उमहासचिव ज्ञवालीले भने, ‘अलि बढी नै उहाँ निराश, हतास जस्तो देखिनुहुन्छ । त्यो हतासाको अभिव्यक्ति हो भन्ने लाग्छ ।’

  • अब प्रदेशका क्रिकेट खेलाडीले समेत मासिक तलव पाउने

    अब प्रदेशका क्रिकेट खेलाडीले समेत मासिक तलव पाउने

    काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब पदने निर्णय गरेको हो ।

    खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ । यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।

    हाल राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई सेन्ट्र‍ल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउने छन् । पछिल्लो पटक हरेक प्रदेशबाट एकएक जनालाई समेत सेन्ट्राल कन्ट्याक्टमा राखिएको थियो ।

  • अमेरिकी डलरको भाउ बढ्दा, यूरोको घट्यो

    अमेरिकी डलरको भाउ बढ्दा, यूरोको घट्यो

    काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५९ पैसा रहेको थियो ।

    हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ भने घटेको छ । बुधबार युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ३३ पैसा कायम भएकामा आज खरिददर एक सय ४९ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७८ पैसा रहेको छ ।

    आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा रहेको छ ।

    यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २८ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

    राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा कायम भएको छ ।

    स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९९ पैसा र बिक्रीदर २० रुपैयाँ आठ पैसा रहेको छ । आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ ।

    कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २० पैसा रहेको छ । राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।

  • अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

    अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

    काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरिएको छ । बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ।

    ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि गोली प्रहार भएको थियो। सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्। प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभएको बताएको छ।

    यद्यपि मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ। प्रहरीले अभियुक्त पहिचानका लागि समूदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो।

    मुना भोजपुरकी हुन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ। नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको थियो।उनले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन्।आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन्।

    प्रहरीले सिसीटिभीमा हेर्दा ती व्यक्ति नरहेको बताइसकेको छ। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्। मुनाको शव पोस्टमर्टम गरी ह्युस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।

  • अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

    अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

    काठमाडौं । ब्राजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेको ठानिएका १७६ नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली अधिकारीले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताएको बीबीसीले जनाएको छ । लामो समयदेखि नेपालीहरू मानव तस्करमार्फत् ब्रजिलसहितका दक्षिण अमेरिकी देशहरू हुँदै गैरकानुनी बाटोबाट संयुक्त राज्य अमेरिका र क्यानडाजस्ता देश जाने गरेको ठानिएको छ।

    “उनीहरू को थिए, कसरी त्यहाँसम्म पुगे भन्नेबारे बुझ्ने प्रयास जारी नै छ,” मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता मिश्रले भने। “उनीहरूलाई फर्काउनुपर्ने हो वा के कस्तो सहयोग आवश्यक पर्छ भन्नेबारे पनि हामीले नियोग र परराष्ट्र मन्त्रालयसँग पनि कुरा गरिरहेका छौँ।” मानव बेचबिखनसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको उक्त ब्यूरोले ब्रजिलमा अलपत्र परेका नेपाली नागरिकका आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको जनाएको छ।

    साओ पाउलो विमानस्थलमा अलपत्र परेका नेपालीहरूसँग पनि नेपाली अधिकारी र दूतावासले सम्पर्कको प्रयास भइरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले गैरकानुनी माध्यमबाट कुनै पनि देशमा पुगेका यात्रुहरूलाई उनीहरूकै देश फर्काउने जिम्मा सम्बन्धित वायुसेवा कम्पनीकै हुने भएकोले नेपालीहरूलाई स्वदेश फर्काउन समस्या नहुने ठानिएको बताए।

    “यदि त्यसो भएन भने पनि उनीहरूलाई स्वदेश फर्काउने जिम्मा सरकारको हो। सरकारले उनीहरूलाई जसरी पनि फिर्ता ल्याउँछ,” राईले भने। उनका अनुसार ब्रजिलस्थित नेपाली दूतावासले त्यहाँको परराष्ट्र मन्त्रालय र अध्यागमन विभागसँग पनि नेपालीहरूको अवस्था र स्वदेश फिर्तीबारे छलफल गरिरहेको छ।
    ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए।

    तीमध्ये रुकुमका एक युवा बिरामी परेर अस्पताल भर्ना भए पनि अरूको अवस्था सामान्य रहेको उनले बताए। नेपालीसहितका विदेशी नागरिकहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेको समाचार स्थानीय पत्रपत्रिकामा प्रकाशित भएपछि आफ्नो ध्यानाकर्षण भएको दूतावासले जनाएको छ।

    अमेरिका र क्यानडा जान ब्रजिललाई ट्रान्जिट बनाउने प्रवृत्ति बढेको विवरणहरू आउन थालेको ब्रजिलस्थित नेपाली दूतावासको भनाइ छ। उपप्रमुख सिग्द्यालले १७६ नेपालीहरू साओ पाउलोमा रोकिएको र उनीहरूको अवस्था सामान्य रहेको भन्ने जानकारी आफूहरूले पाएको बताए। उनीहरू कहाँ जान लागेका थिए भन्ने बीबीसीको जिज्ञासामा सिग्द्यालले भने, “त्यस्तो जानकारी हामीलाई छैन तर स्थानीय सञ्चारमाध्यमले बताएअनुसार र हामीले अनुमान गरेअनुसार उनीहरूको अन्तिम गन्तव्य अमेरिका वा क्यानडा नै होला भनेर अनुमान गर्न सक्छौँ।”

    अलपत्र परेका नेपालीहरूले मङ्गलवारसम्म नेपाली दूतावासको सहयोगका लागि आग्रह भने गरेका थिएनन्। ब्रजिलियास्थित नेपाली दूतावासले मङ्गलवार विज्ञप्ति जारी गर्दै ब्रजिलले हालैबाट नेपालसहितका देशका नागरिकहरूलाई अगाडि नै भिसा लिएर मात्रै प्रवेश अनुमति दिने नियम बनाएको जानकारी गराउँदै अग्रिम प्रवेशाज्ञा लिएर मात्रै उक्त देश जान भनेको छ।

    ब्रजिलको सरकारी निकायले भने नेपालीहरूले आफ्नो देशलाई ट्रान्जिट बनाइरहेको भन्नेबारे औपचारिक वा अनौपचारिक रूपमा कुनै जानकारी भने दिएको छैन। तर उक्त देशलाई ट्रान्जिट बनाएर तेस्रो देश जाने क्रम बढेकाले रोक्नका लागि अग्रिम भिसा लिनुपर्ने नियम ल्याइएको जानकारी ब्रजिलका सरकारी निकायहरूले सार्वजनिक गरेको दूतावासका नियोग उपप्रमुख सिग्द्याल बताउँछन्।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका संस्थापक प्रमुख तथा भूतपूर्व प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की गैरकानुनी बाटोबाट अमेरिका र क्यानडा पुग्ने प्रलोभनमा अधिकांश नेपालीहरू ठगिने गरेको बताउँछन्। “अधिकांश घटनामा नेपालीहरू ठगिएका छन्। नेपालबाट लगेर ल्याटिन अमेरिकाका तस्करहरूलाई जिम्मा लगाइसकेपछि त्यहाँ फेरि एक पटक ठगिने र उनीहरूबाट दोहन हुने गरेको पाइन्छ। त्यसरी ठगी गर्नेहरूविरुद्ध प्रमाण पुर्‍याएर न्याय पाउने सम्भावना चाहिँ निकै कम हुन्छ,” कार्की भन्छन्।
    बीबीसी

  • एमाले सचिवालय बैठक आज बस्दै

    एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको थियो । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त कार्यक्रम २०८४ को चुनाव लक्षित हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन(२०८४ का दुई चरणका जनपरिचालनका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

  • कांग्रेस सभापति देउवाले पदाधिकारीसँग छलफल गर्दै

    कांग्रेस सभापति देउवाले पदाधिकारीसँग छलफल गर्दै

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान नौ बजे बोलाइएको छ ।

    सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएको देउवाको सचिवालयले जनाएको छ । गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले संशोधित प्रस्ताव पेस गरेका छन्, जसमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै उनले चुनावी गठबन्धन पनि अनुपयुक्त भएको उल्लेख गरेका छन् ।

    अर्का महामन्त्री थापाले सांगठनिक प्रस्तावमा चुनावी गठबन्धन गर्न नहुने मत गत फागुनको बैठकमा नै पेस गरेका थिए । थापाले पूर्ववत् प्रतिवेदन केन्द्रीय समिति बैठकमा पनि पेस गरेका छन् ।

  • प्रधान सेनापतिमा सिग्देल नियुक्त

    प्रधान सेनापतिमा सिग्देल नियुक्त

    काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। २४ भदौदेखि लागू हुने गरी नियुक्त गरिएको हो। प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ ।

  • साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

    साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

    काठमाडौं । नेपालले घरेलु मैदानमा हार बेहोेरेको छ। दुई पटकको च्याम्पियन नेपाललाई पछी पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हराएर च्याम्पियन बनेको हो । सेमिफाइनलसम्म उत्कृष्ट खेल पस्किएको नेपाल फाइनलमा भने निरिह देखियो ।

  • ट्रम्पविरुद्ध कुन अभियोगमा पर्यो पुनः मुद्दा ?

    ट्रम्पविरुद्ध कुन अभियोगमा पर्यो पुनः मुद्दा ?

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा नयाँ अभियोगसहित मुद्दा दायर गरिएको छ । जो बाइडेन सँग पराजित भएपछि ट्रम्पले मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपेका हुन् । अमेरिकी सर्वोच्च अदालतले गत महिना राष्ट्रपतिहरूले आफ्नो पदीय हैसियतमा गर्ने कामकारबाहीमा उन्मुक्ति पाउने आदेश दिएको थियो ।

    तर अभियोजनकर्ताहरूले ट्रम्पविरुद्ध संशोधित अभियोगपत्रसहित फेरि मुद्दा दायर गरेका हुन् । संशोधित अभियोगपत्रमा पनि यसअघिकै चारवटा आपराधिक अभियोग उल्लेख छन् । तर अहिले भने ट्रम्पलाई पदासीन राष्ट्रपति नभई उम्मेदवारका रूपमा मात्र प्रस्तुत गरिएको बीबीसीले जनाएको छ ।

    अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता ज्याक स्मिथले ट्रम्पविरुद्ध लगाइएका चार अभियोगमा अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, सरकारी प्रक्रियामा अवरोधको षड्यन्त्र गरेको, सरकारी प्रक्रिया अवरोध गर्ने प्रयास गरेको र अधिकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको हो ।

    ट्रम्पले भने २०२० को निर्वाचनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएका छन् । निर्वाचनमा मतदाताको नाममा व्यापक धाँधली भएको बताउँदै आएका ट्रम्पले त्यसबारे कुनै प्रमाण भने देखाएका छैनन् । ट्रम्पका वकिल टोड ब्लान्चले मुद्दा दायर गरिएको विषयमा ट्रम्पको चुनावी अभियानसँग कुरा गर्न भनेका बीबीसीले जनाएको छ । तर चुनावी अभियानले कुनै उत्तर नदिएको जनाइएको छ ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ’मा आफूविरुद्धको नयाँ मुद्दालाई ‘मरेकालाई जिउँदो बनाउने प्रयास’ गरेको उल्लेख गरेका छन् । अमेरिकीको ध्यान निर्वाचनबाट मोड्नका लागि यस्तो गरिएको उनको दाबी छ । सीएनएनका अनुसार नयाँ अभियोगपत्र ३६ पृष्ठको छ । यसअघिको अभियोजनपत्र ४५ पृष्ठको थियो ।

    नयाँ अभियोगपत्रमा ट्रम्पले एक नागरिकका रूपमा निर्वाचनको परिणाम प्रभावित गर्ने प्रयास गरेको दाबी गरिएको छ । ‘निर्वाचन परिणामको प्रमाणीकरण वा प्रक्रियागत कार्यमा प्रतिवादीको कुनै आधिकारिक भूमिका नदेखिएको भए पनि ट्रम्पको आफू निर्वाचित हुने व्यक्तिगत स्वार्थ थियो,’ अभियोग पत्रमा उल्लेख गरिएको छ ।

  • बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा होटेल सञ्चालक पक्राउ

    बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा होटेल सञ्चालक पक्राउ

    काठमाडौं । बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही छन् ।

    उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले कोटेश्वरमा कमलामाई खाजा घर एण्ड गेस्ट हाउस सञ्चालन गरेका थिए । बालिकाहरुलाई होटलको कामको बहानामा आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

    उनीहरुले अन्य होटल गेस्ट हाउस तथा ग्राहकले बोलाएको ठाउँमा बालिकाहरुलाई पठाएको पनि पाइएको उनले बताए । उनीहरुको गेस्ट हाउसबाट प्रहरीले ५ बालिका उद्धार गरेको छ ।

  • हरेक दिन परीक्षा सम्झेर काम गरिरहेको छु : पर्यटनमन्त्री

    हरेक दिन परीक्षा सम्झेर काम गरिरहेको छु : पर्यटनमन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् । बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
    ‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु,’ उनले भने ।

    मन्त्री पाण्डेले कागजमाभन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिए । उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरे । मन्त्री र सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै उनले इमान्दारिताका साथ काम गर्न निर्देशन दिए ।मन्त्री पाण्डेले हरेक बुधबार मन्त्रालय मातहतका सम्बद्ध विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन् ।

  • राजस्व चुहावट रोक्न द्रुत टोली खटाउने निर्णय

    राजस्व चुहावट रोक्न द्रुत टोली खटाउने निर्णय

    काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व संकलनमा महत्त्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरूको अर्थ मन्त्रालयमा बसेको समितिको बैठकले राजस्व संकलनको लक्ष्यलाई राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको कार्य सम्पादन मूल्यांकनको महत्त्वपूर्ण आधार बनाउने निर्णय गरेको हो ।


    बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ । राजस्व चुहावट नियन्त्रण सम्बन्धी व्यवस्थित कार्ययोजनालाई कार्यान्वयन गर्ने, कानुनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको दुःख नपुग्नेतर्फ सजग रहने तर गैरकानुनी आर्थिक गतिविधि गर्ने कसैलाई पनि छुट नदिने निर्णय गरेको छ ।

    राजस्व चुहावटलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय र गृह मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूबीच प्रभावकारी रूपमा समन्वय गरी अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट गर्ने कसैले छुट नपाउने उल्लेख गर्दै एउटै व्यक्ति एउटै जिम्मेवारी र स्थानमा लामो समय रहँदा हुनसक्ने अनपेक्षित सम्बन्धलाई ब्रेक गर्ने गरी राजस्व प्रशासनसँग जोडिएका कर्मचारी र प्रहरीको पोस्टिङ गर्न निर्देशन दिए ।

    अर्थमन्त्री पौडेलले सीमा नाकाहरूमा स्क्यानरसहितका आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानीलाई प्रभावकारी बनाउन, आयातित वस्तुको वर्गीकरण तथा मूल्यांकनलाई यथार्थपरक बनाउन, बजारमा बिलबिजक लिने–दिने कार्यलाई प्रोत्साहन गर्नुका साथै नक्कली बिजक वा फर्म खडा गरी हुनसक्ने राजस्व चुहावटप्रति निर्मम भएर अनुसन्धान गर्न निर्देशन दिए । निष्ठा र दृढतकासाथ आफ्नो जिम्मेवारीमा अघि बढ्न निर्देशन दिँदै उनले अबदेखि राजस्व प्रशासन र सुरक्षाकर्मीका पाइलाहरु गुणात्मक रुपमा उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

    गृहमन्त्री लेखकले राजस्व चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्न गृह मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कर तिर्नका लागि प्रोत्साहन गर्न आग्रह गरे ।

    बैठकमा अर्थ सचिव, राजस्व सचिव, आन्तरिक राजस्व विभागका महानिर्देशक, भन्सार विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका अधिकारीहरुले राजस्व चुहावट नियन्त्रणका लागि सूचनाको आदान प्रदानलाई अझ प्रभावकारी बनाइ एकअर्कामा समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

  • रोल्पामा हैजा पुष्टी, देशभर ७१ जनालाई देखियो

    रोल्पामा हैजा पुष्टी, देशभर ७१ जनालाई देखियो

    काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ । लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार एउटै वडाका चार जनामा हैजा पुष्टि भएको हो । संक्रमित हुनेमा ८०, २६ र १८ वर्षका तीन महिला र ८ वर्षका बालक छन् । यो सँगै यस वर्ष हैजाबाट संक्रमित हुनेको संख्या ७१ पुगेको छ । ललितपुरमा ४७ काठमाडौंमा नौ, कैलालीमा आठ, प्यूठानमा दुई र मकवानपुरमा एकमा जनामा यसअघि नै संक्रमण पुष्टि भएको थियो ।

    हैजा पुष्टि भएका अधिकांश निको भइसकेका छन् । चिकित्सकका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । हैजाको प्रमुख कारण पिउने पानी र खानेकुरा नै मानिन्छ । सामान्यतया झाडा पखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । हैजा संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।

    गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने चिकित्सक बताउँछन् । हैजाको संक्रमणबाट सरसफाइमा ध्यान दिने, दिशा गरेपछि हातखुट्टा साबुन पानीले राम्ररी धुने, पानी उमालेर पिउने तथा काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खाने बानी बसालेमा बच्न सकिने चिकित्सकको सुझाव छ ।

  • ‘हेर्ने कथा’ले सार्वजनिक गरेका पात्र प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल

    ‘हेर्ने कथा’ले सार्वजनिक गरेका पात्र प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङको नागरिकता चाँडो बनाउनेगरी सहजीकरण गर्न गृहसचिवलाई निर्देशन दिएका छन्। गृहसचिव एकनारायण अर्याललाई मंगलबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले प्रकाशको नागरितकता बनाउन निर्देशन दिएका हुन्। यसबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी पनि दिएका छन्।

    उनले आफूले प्रकाशलाई टेलिफोन गरी बुझ्दा पहिलो प्राथमिकता नागरिकता नै रहेको बुझेपछि तत्काल गृहसचिवलाई बोलाएर त्यसका लागि पहल गर्न भनेको उल्लेख गरेका छन्। गृहसचिव अर्यालले पनि तीन चारभित्रै प्रकाशलाई नागरिकता दिलाउनेगरी सहजीकरण गर्ने बताएको प्रधानमन्त्री ओलीले बताएका छन्। हेर्ने कथाको टिमले प्रकाशलाई उनको परिवारसँग पुनर्मिलन गराएको थियो। हेर्ने कथाको यो एपिसोड जनताले अधिक रुचाएका छन् ।

  • यू-२० साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै

    यू-२० साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो ।

    पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

  • नेकपा समाजवादीमा राम कुमारी झाक्री पराजित

    नेकपा समाजवादीमा राम कुमारी झाक्री पराजित

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनमा राम कुमारी झाँक्री पराजित भएकी छिन् । उनी महिला उपाध्यक्ष पदमा हारेकी हुन् । यस पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार सर्वसहमत चुनिएका थिए । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् ।

    मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भए । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए । खुला उपाध्यक्षमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए ।

    सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।

  • अवैध रुपमा अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा रोकिए

    अवैध रुपमा अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा रोकिए

    काठमाडौं । अवैध रूपमा संयुक्त राज्य अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा फसेका छन्। तर उनीहरू सुरक्षित रहेको मंगलबार ब्राजिलस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ। ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएका समाचार केहीदिनअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो। त्यहाँ भएका नेपालीहरूलाई दूतावासले आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउने तयारी गरिरहेको दूतावासको विज्ञप्तीमा उल्लेख छ।

    ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति बढ्दो छ। संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवाहरू यस क्षेत्रमा आउने गरेको दूतावासले जनाएको छ। यही प्रलोभनमा परेर कयौं नेपालीले ठूलो धनराशी खर्च र अकल्पनीय पीडा व्यहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानी बाहेकलाई प्रवेशाज्ञा लिएमा ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ।

    नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइनेछ। विमानस्थलमा शरणर्थीको मान्यता नदिइने पनि बताइएको छ। साथै दूतावासले मानव तस्करहरुको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भएकाले यसरी नहिँड्नसमेत अनुरोध गरेको छ।

  • सत्ताको खेलमा नलाग्ने प्रचण्डको उद्घोष

    सत्ताको खेलमा नलाग्ने प्रचण्डको उद्घोष

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हिस्सेदारी माग्न कांग्रेस र एमाले नेताहरुसमक्ष नजाने बताएका छन् । मंगलबार संसदमा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले आफूहरु झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउन दुबै दलका नेताहरुलाई चुनौती दिएका छन् । उनले भने, ‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईंहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन ।’

    माओवादी पार्टीभन्दा पनि सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन भएको उनले बताए । उनले अगाडि भने, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरु भए । जनतासँग संवादका कमजोरी भए, व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए ।’ आफूहरुको यही कमजोरीमा खेलेर कांग्रेस र एमाले सीमान्तहरुका प्राप्त अधिकार खोस्न चलमलाउन थालेको उनको दाबी छ । तर अब माओवादीको ध्यान सत्तामा नभएर षड्यन्त्रको प्रतिरोधमा रहेको उनले बताए ।

    ‘आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं’, प्रचण्डले चेतावनीको भाषामा भने, ‘पहिला पनि बनाएका हौं, अब पनि बनाउने छौं ।’ उनले अगाडि भने, ‘ त्यतिबेलासम्म कृपया तपाईंहरु मिलिदिनुहोला । बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’

  • प्रचण्डले ओलीलाई भने : हिम्मत भए २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गराउनुहोस

    प्रचण्डले ओलीलाई भने : हिम्मत भए २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गराउनुहोस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् । प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् । आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ ।’ उनले अगाडि भने, ‘यदि अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।’

  • परराष्ट्र मन्त्री देउवा र ओमानी विदेशमन्त्री बीच भेटवार्ता

    परराष्ट्र मन्त्री देउवा र ओमानी विदेशमन्त्री बीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ । उनीहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।

    वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

    वार्तामा नेपाल तर्फबाट मन्त्री डा राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरु र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरु सहभागी थिए ।

    वार्तामा परराष्ट्र मन्त्री डा।राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी थिइन् । पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरुलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उनले आग्रह गरिन् । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताए ।

    नेपालले नेपाली श्रमिकहरुको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरु वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो । ओमान पक्षले पनि नेपाली श्रमिकहरु काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिमक लैजाने विषय बताएको थियो । यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको थियो ।

    परराष्ट्र मन्त्री डा। राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमन लगायतका अन्य सम्भावनाहरुमा संयुक्त रुपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरेकी थिइन् ।

    वार्तामा मन्त्री डा. राणाले नेपालमा जलविद्युत लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्री मार्फत् ओमान सरकार त्यहाँका लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

    वार्तापछि मन्त्री डा राणाले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन् । उनले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयहमा कुरा गरेको र दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिइन् । उनले नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको जानकारी पनि मन्त्री डा राणाले दिइन् ।

  • रास्वपाले राष्ट्रिय भेला गर्दै

    रास्वपाले राष्ट्रिय भेला गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेला तयारीका लागि १४ वटा उपसमिति गठन गरेको छ । केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले १ र २ असोजमा काठमाडौंमा हुने पहिलो राष्ट्रिय भेलाको व्यवस्थापनका लागि उपसमिति बनाएको हो । प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वयंसेवक व्यवस्थापन, अडियो भिजुअल व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, स्वास्थ्य क्लिनिक व्यवस्थापन उपसमिति गठन गरेको छ ।

    थप उपसमितिहरुमा बुथ व्यवस्थापन, साँस्कृतिक कार्यक्रम तयारी, मिडिया संयोजन, दस्तावेजसम्बन्धी, आईटी व्यवस्थापन र राष्ट्रिय भेला ब्राण्डिङ उपसमिति बनाइएको छ । राष्ट्रिय महाधिवेशन पछि रास्वपाको शक्तिशाली पार्टी संरचना राष्ट्रिय भेला रहेको छ । पहिलोपटक गर्न लागिएको भेलामा देशभरबाट १४ सय हारहारी प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।