काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोलीले बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघ केन्द्रको आहवान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात वडा नम्बर १ का १२३ परिवार २ का ५३ परिवार ३ का २५ परिवार र १२ मा २०० परिवार लाई राहत वितरण गरिएको जानकारी दिइएको छ ।
यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो । जसअनुसार एनसीसी यूकेले रू १५ लाख सहयोग गरेको थियो । यसअघि आइतबार दक्षिणकाली, सिस्नेरीमा राहत वितरण गरिएको थियो । यस्तै, बुधबार ललितपुर ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी पूरा भएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीका परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। आइतबार बसेको आपतकालीन बैठकमा गत असोज १२ गते ज्यान गुमाएका मृतकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।
खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योञ्जन एकेडेमीबाट अन्यत्र जाने क्रममा बाटोमा पहिरोमा परी मृत्यु भएको थियो। खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकलाई सहयोग गर्नका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ।
यस्तै एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीहरूको स्मृतिमा सञ्चालन गरिने भएको छ। दिवंगत खेलाडीहरुको सालिक वा स्मृती स्तम्भ निर्माणका लागि वात्सल्यदेवी माविमा पहल गरी निर्माण गराइने भएको छ। खेलाडीका परिवारको थप राहतको लागि फिफा र एएफसीलाई पनि अनुरोध गर्ने पनि एन्फाले निर्णय गरेको छ। घटनाबारे सत्य तथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेश गर्ने गरी समिति गठन गरिएको छ।
जसमा विकास नारायण श्रेष्ठ (एन्फा केन्द्रिय सदस्य) संयोजक छन्। टिका राम लामा (एन्फा केन्द्रिय सदस्य) र दामोदर भट्टराई (एन्फा सहायक महासचिव) समितिका सदस्य छन्। यद्यपि यो निर्णयमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले असहमति जनाएका छन्। खड्का अनुसार ४ घन्टाको सूचनामा भिडिओ कन्फरेन्समार्फत् छानविन समिति गठन गर्ने निर्णयमा उनले सहमति जनाएका हुन्।
एन्फा र व्यवस्थापन समितिको लापरवाहीको कारणले घटना घटेको भनि प्रश्न उठिरहेको, छानबिन गर्नु पर्ने व्यक्ति नै समितिमा रहेको र सो घटना सम्बन्धी छानविन गर्न संसदीय समिति समेत गठन भइसकेको अवस्थामा समितिको औचित्य नहुने हुँदा खड्काले आफ्नो असन्तुष्टि रहेको बताएका छन्।
काठमाडौं । काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो । काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ ।
आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ । यस उडानमा ३० किलोसम्म लगेज निःशुल्क बोक्ने समेत नेवानिले जनाएको छ । सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ । यस उडानका लागि निगमको कार्यालय, वेबसाइट र आफ्नो मोबाइलबाटै अनलाइन टिकट समेत लिन सकिने नेवानिको भनाइ छ । यो १५८ सिटे जहाज हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार अनुगमन टोलीले १०–२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ ।
महानगरका अनुसार ८२ वटा पसलले मूल्य सूची नराखेको र ६२ वटाले व्यवसाय दर्ता नगरेको पाइएको हो । तौल र गुणस्तरका आधारमा मूल्य सूची नराख्नु, खरिद बिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको महानगरले जनाएको छ ।
पसलमा बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ गरिएका जुस, कुकिज लगायत बिस्कुट, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसला, भिनेगर लगायतका खाद्य तथा पेय पदार्थहरु म्याद गुज्रेको पाइएको महानगरले जनाएको छ । महानगरको फुड टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेको जनाएको छ ।
काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ६० वर्षीय जीतबहादुर भन्ने काले तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो ।
उनले १९ वैशाख २०८१ मा दक्षिणकाी नगरपालिका–६ मा आफ्नी श्रीमती डोल्मा शेर्पाको हत्या गरेको आरोप छ । शेर्पा आफ्नै कोठामा मृत भेटिएकी थिइन् । उनले कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोप छ । श्रीमतीको हत्यापछि उनी फरार हुँदै आएका थिए ।
काठमाडौं । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९को मृत्यु भएको छ ।
मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।
मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपतकालीन राहत, पुनःनिर्माण र पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनःनिर्माणलाई गति दिन निर्देशन दिएको उनले बताए ।
विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
काठमाडौं \रासस । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए ।
“जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ”, उनले भने, “गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ ।”
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुुकसाम्बामा बेलीब्रिज बनाउन चालुु आर्थिक वर्षमा रु ८५ लाख विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले थप तीनवटा बेलीब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन स्घीय सरकारलाई प्रस्ताव गरिएको अध्यक्ष गुरुङले बताए ।
सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५\७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । रु २२ करोडको लगानीमा पाक्लिङबाट ५६ दशमलव पाँच किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो । डोल्पा जोड्ने सडकको प्रवेशबिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताए । “हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्”, उनले भने, “छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चाँैरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन् ।” डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ ।
सडक निर्माण भएपछि साङ्ता, याकखर्क घुम्न पर्यटक आउन थालेका साङ्ताका बासिन्दासमेत रहेका वडासदस्य छिरिङपासाङ गुरुङले बताए । सडकमा थुप्रिएको हिउँ र पहिरो पन्छाएर गाउँपालिकाले याकखर्कसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाएको उनले बताए । समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।
काठमाडौं । पाकिस्तानको कराचीस्थित अन्तरराष्ट्रीय विमानस्थल नजिक बम विष्फोट भएको छ । घटनामा दुई चिनियाँ नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटना आइतबार अबेर भएको हो । एक चिनियाँ नागरिक घाइते भएका छन् । यस घटनाको चीनले समेत पुष्टी गरेको छ ।
चिनियाँ दूतावासले घटनाको पुष्टी गरेको हो । घटनाको जिम्मेवारी पाकिस्तानको एक आतंककारी समूह ‘बलूच लिबरेशन’ आर्मीले लिएको छ । उसले चिनियाँ इन्जिनियरको निवासमा केन्द्रित गरी बस विष्फोट गराएको बताएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन् । कुल १६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका थिए । अक्सनमा कुल १२ खेलाडी उच्चतम मूल्य १५ लाख रुपैयाँमा बिके । नेपालका विकेटकिपर अनिल कुमार साहलाई सबै ८ फ्रेन्चाइज टोलीले अक्सनमा मूल्य लगाएका थिए ।
गुल्सन झा, लोकेश बम र रुपेश सिंहलाई ७–७ टोलीले अक्सनमा मूल्य लगाएका थिए । अक्सनमा ए ग्रेडका तीनै र बी ग्रेडका दुई गरी पाँच खेलाडी लुम्बिनी लायन्सले चिट्ठाबाट पाएको थियो । त्यसैले लुम्बिनी अक्सनमा सर्वाधिक भाग्यभानी बन्यो । काठमाडौं गुर्खाज अक्सनमा सबैभन्दा कमजोर र अभागी बन्न पुग्यो । एनपीएल अक्सनमा ब्रिकी भएका खेलाडी र उनीहरुले पाएको मूल्य यस प्रकार छ ।
चितवन राइनोज कुशल मल्ल (माकी), रिजन ढकाल (१० लाख), कमलसिंह ऐरी (१० लाख), शरद भेषवाकर (१० लाख), विपिन रावल (८ लाख), सन्तोष कार्की (५ लाख), दीपेश श्रेष्ठ (५ लाख), अमरसिंह राउटेला (५ लाख), दीपक बोहरा (५ लाख), रञ्जित कुमार (३ लाख) र गौतम केसी (२ लाख) ।
कर्णाली याक्स
सोमपाल कामी (मार्की), गुल्सन कुमार झा (१५ लाख), नन्दन यादव (११ लाख) मौशम ढकाल (१० लाख), अर्जुन घर्ती (१० लाख), देव खनाल (१० लाख), रित गौतम (५ लाख), भुवन कार्की (५ लाख) दीपेन्द्र रावत (३ लाख), दीपक डुम्रे (३ लाख) र युनिस विक्रम सिंह (२ लाख) ।
लुम्बिनी लायन्स
रोहित कुमार पौडेल (मार्की), सूर्य तामाङ (१५ लाख), विवेक यादव (१५ लाख), सन्दीप जोरा (१५ लाख), आशुतोष घिरैया (१० लाख), तिलकराज भण्डारी (१० लाख), दुर्गेश गुप्ता (८ लाख), अर्जुन साउद (५ लाख), दीनेश अधिकारी (२ लाख ७५ हजार), अभिषेक गौतम (२ लाख) र विकास आग्री (२ लाख) ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (मार्की), आरिफ शेख (१५ लाख), अभिनाश बोहरा (१२ लाख), विनोद भण्डारी (१० लाख), ईशान पाण्डे (९ लाख ५० हजार), अर्जुन कुमाल (७ लाख ५० हजार), खड्क बोहरा (५ लाख), नरेश बुढाएर (५ लाख), अमित श्रेष्ठ (३ लाख ३५ हजार) र नरेन साउद (२ लाख) ।
विराटनगर किंग्स
सन्दीप लामिछाने (मार्की), लोकेश बम (१५ लाख), प्रतिश जि।सी (१५ लाख), बसिर अहमद (१० लाख), राजेश पुलामी मगर (५ लाख), जितेन्द्र मुखिया (५ लाख), अनिल खरेल (५ लाख), दीपक बोहरा (५ लाख), सुभाष भण्डारी (२ लाख ५० हजार), नरेन भट्ट (२ लाख) र मिर्नल गुरुङ (२ लाख) ।
जनकपुर बोल्ट्स
आसिफ शेख (माकी), ललित राजवंशी (१५ लाख), अनिल कुमार साह (१५ लाख), रुपेश सिंह (१० लाख), आकाश त्रिपाठी (१० लाख), किशोर महतो (१० लाख), शुभ कंस्कार (५ लाख), शेर मल्ल (५ लाख), हेमन्त धामी (५ लाख), अरनिको प्रसाद यादव (२ लाख ५० हजार) र तुल बहादुर थापा (२ लाख)
काठमाडौं गुर्खाज
करण केसी (मार्की), साहब आलम (१५ लाख), भीम सार्की (१५ लाख), राशिद खान (१० लाख), शंकर राना (९ लाख ५० हजार), दीपेश कँडेल (५ लाख), सुमित महर्जन (५ लाख), कृष्ण कार्की (५ लाख), विवेक केसी (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र राजु रिजाल (२ लाख) ।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (मार्की), सागर ढकाल (१५ लाख), आकाश चन्द (११ लाख ५० हजार), किरण कुमार ठंगुन्ना (१० लाख), नारायण जोशी (१० लाख), विपिन खत्री (१० लाख), दिलिप नाथ (१० लाख), तृतराज दास (५ लाख), सुनाम गौतम (५ लाख), दीनेश खरेल (२ लाख) र अमृत गुरुङ (२ लाख)
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इसराइल र लेबननमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरूलाई निर्देशन दिएकी छन्। ती देशमा रहेका नेपाली राजदूतहरूसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इसराइल र लेबननमा विकसित पछिल्लो परिस्थितिबारे जानकारी लिएकी थिइन्। बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेष गरी लेबननमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेको बताइन्।
उनले त्यहाँ रहेका नेपाली र उनीहरूका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नुहोला,’ उनले भनिन्।
मन्त्री राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका हेल्पडेस्क स्थापना गरेर समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी छन्। इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबननको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए।
लेबननमा करिब एक हजार २०० नेपाली रहेका अनुमान गरिएको छ। उनीहरूमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको उनले बताएका थिए। उनीहरू पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको उनले बताए।
हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी रिपोर्टिङ नगरेको तर नेपालमा रहेका आफन्तहरू बढी चिन्तित भएको पनि उनले जानकारी दिए। त्यसैगरी इसराइलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले पनि त्यहाँको अवस्था सामान्य रहेको बताए। इसराइलमा रहेका करिब चार हजार ५०० नेपाली सुरक्षित रहेको उनको कथन थियो। त्यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका दिए।
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् । सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो । त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए । प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।
काठमाडौं । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन अब पशुपति विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय भएको हो ।
धर्मशाला व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहीत भएको भन्दै बैठकले आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरि दिएको छ । मारवाडी सेवा समितिले यसअघिको करार बदरको माग राखेर काठमाडौं जिल्ला अदालतमा कोष विरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दामा १६ असोजको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो ।बैठकमा परिषद् सदस्य समेत रहेका काठमाडौं महानगरपालिका मेयर बालेन साहको पनि उपस्थिति रहेको थियो ।
काठमाडौं । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्यमा लाग्न निर्देशन दिए ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक सस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भएपनि राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक रहेको बताए ।
बाढीपहिरो जानु भन्दाअघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक लगायतले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमाली अधिराज्य भुटानको चार दिने भ्रमण सकाएर आइतबार स्वदेश फर्केका छन् । बिहीबार भुटान पुगेका पूर्वराजाको भ्रमण अनोपचारिक भनिए पनि विशिष्ट दर्जाको सम्मान उनले पाएका हुन् । भुटानको राजधानी थिम्पु उड्नुअघि उनले बाढीपहिरोमा ज्यान गुमाउने, घाइते र पीडितहरुप्रति ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा वक्तव्य निकालेर श्रद्धान्जली, समवेदना व्यक्त गरेका थिए । लगत्तै उनले भुटानका राजा तथा राजपरिवार भेटेको प्रसंगले यतिखेर चर्चा पाइरहेको छ ।
भुटानी राजा जिग्मे खेर नामग्यालका पिता जिग्मे सिंगे वाङचुकको निम्तामा शाह छोरीहरु प्रेरणा र शीताष्मा सहित शाह थिम्पु पुगेका थिए । राजकुमारी पेमा वाङचुकले उनलाई एयरपोर्टमै स्वागत गरेकी थिइन् । शाहले पाएको रेडकार्पेटसहितको विशेष सम्मानलाई कुनै राष्ट्राध्यक्षले पाएकै बराबरको सम्मान भनी चर्चा गरिएको छ ।
यद्यपि शाहका निजी सचिव फणिराज पाठकले भने यो निजी भ्रमण भएको बताएका छन् । शाहले पूर्व राजा जिग्मे सिंगेसँग भेटवार्ता गरेका थिए । राजा जिग्मे खेसरसँग पनि उनको कुराकानी भएको थियो । सबै भेटघाटहरुमा उनलाई विशिष्ट दर्जाको सम्मान दिइएको थियो । शाहले भुटानका महत्वपूर्ण धार्मिक स्थलमा पुजा आजा पनि गरे ।
कुनै बेला दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा पढेका पूर्वराजा ज्ञानेन्द्र शाह ले त्यहीँ पढेका भुटानी राजाले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा अतिथि बनेर भाग लिएका थिए ।
काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको छ । योसँगै तीन खेलको क्रिकेट सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । १७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भयो ।
ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९, मुनिर अहमद काका ३६, अली नदिम २०, युवराज शर्मा २३ र विकेटकिपर निकोलस मनोहरले १९ रन बनाए । नेपालका गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १७६ रनमा अल आउट भयो । नेपालका कार्यवहाक कप्तान सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए । अर्जुन साउद ७, अनिल कुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए । एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २-२ विकेट लिए । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।
काठमार्डौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिइन् । हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनले जानकारी दिइन् । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ ।
यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ । निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दसैँमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।
काठमाडौं । दशैंको बिदामा चलचित्र हेर्ने योजनामा हुनुहुन्छ ? यस पटक निर्माताले तपाईलाई तीन अवसर प्रदान गरेका छन् । चाडपर्वको मौकामा एक साथ तीन वटा चलचित्र प्रदर्शनमा आउँदैछन् । अरू बेलाभन्दा दसैँमा दर्शक बढी चलचित्र हेर्ने गरेको पाइन्छ । यसो हुनुमा एक त परिवार एक साथ जम्मा भएको मौका हुन्छ । अर्को बिदाको समय हुन्छ । तेस्रो यो समय खर्चं गर्ने पैसा पनि दर्शनसँग सामान्य समय भन्दा धेरै हुन्छ ।
असोज २४ अर्थात् फूलपातीकै दिन पारेर एकैसाथ तीन वटा चलचित्र प्रदर्शनको तयारीमा छ । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’, दीपक–दीपा क्याम्पबाट छुट्टिएका कलाकार जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाइँसाहेब’ र भोजपुरी चलचित्रबाट निरन्तर चम्किरहेका कलाकार विराज भट्टको ‘१२ गाउँ’ प्रदर्शन हुँदैछन् । दर्शकलाई हलमा छनोटको अवसर पनि छ । शनिबार छक्का पन्जाले समेत आफ्नो टेलर सार्वजनिक गरेको छ ।
काठमाडौं । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौंथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौं उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।
काठमाडौं । सरकारले विमान परिचारक–परिचारिकाको को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पुर्याउने भएको छ । शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रुहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाउन निर्देशन दिएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रुहरुले आफूहरुमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाइ राखेकामा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए ।
हाल निगमको विनियमावलीमा क्याबिन क्रुको उमेर हद ४५ वर्ष छ, आफूले निगम व्यवस्थापनलाई त्यो व्यवस्था संशोधन गर्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए । ‘उमेर हद ४५ वर्ष कायम गरिएको छ विनियमावलीमा । त्यसले मर्कामा परेको, त्यसपछि के गर्ने भन्ने समस्यामा परेको भन्ने कुरा राख्नुभयो । आजबाट हामीले केही कुरा सम्बोधन गर्ने भन्ने निस्कर्षमा पुगेर निगमलाई यो बाटो जानुस् भनेका छौं’, उनले भने ।
क्याबिन क्रुको उमेर ५ वर्ष थप्दा उनीहरुको अनुभवबाट निगमले धेरै फाइदा लिन सक्ने मन्त्री पाण्डेले बताए । ‘उहाँहरुले विभिन्न अनुभव र तालिम गर्नुभएको हुन्छ, निगममा निगमका विभिन्न तालिमका माध्यमबाट लगानी ठूलो भइसकेको हुन्छ । ५ वर्ष अनुभवी एयरहोस्टेजले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ’, उनले भने । मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक–परिचारिकाहरु आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धता जनाएका मन्त्री पाण्डेले बताए ।
काठमाडौं । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका २० राँजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैं मान्न जान लागेका थिए ।
हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा शनिबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दिउँसो कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिकाको सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए ।
गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई जिप ३०० मिटर तल खसेर दुर्घटनामा परेको उनले बताए । जिपमा चालकसहित ७ जना सवार थिए । गियर बक्स बिग्रेपछि पाँच जना गाडीबाट झरेका थिए । तर, दुईजना गाडीमै थिए । अचानक गाडी ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उनको भनाइ छ । अध्यक्ष दाहालले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।
आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको दाहालको दाबी छ । उनले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले देशब्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउनुपर्ने बताए ।
पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि पार्टीले महत्वपूर्ण पहलकदमी लिएको भन्दै उनले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताए ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै हेटौंडा १५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डर खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाडलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरु सवार वाग्मती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको हो । सुनको मूल्य करिब ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।
खड्काका अनुसार उनीहरु जनकपुरबाट सुन लिएर काठमाडौंतर्फ जाँदै थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ । नियन्त्रणमा लिइएको सुनको मूल्य साढे ११ करोडमाथि रहेको छ ।
रासस\काठमाडौं । पल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको उनले बताए। मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आएका उनको साथमा दुई साथी पनि थिए। लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्यांग्रा बेच्न लुम्ले पुगेका हुन्। च्यांग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ।
लामाले दसैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्। ‘यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ, उनले भने। लामो समयदेखि पोखरा आएर च्यांग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ।
मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताए। लामाभन्दा अगाडि केही व्यापारीले च्यांग्रा पोखरा पुर्याइसकेका छन्। अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्यांग्राको माग बढेको उनको अनुभव छ। यही असोज २२ गतेसम्म सबै च्यांग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ।
मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्यांग्रा व्यापारमा वर्षौँ बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले बताए। उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्यांग्रा ल्याउँछन्। ‘दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्यांग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्यांग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ,’ लामाले भने, ‘राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नु पर्यो।’
अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब रु १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउँछन्। मुस्ताङका कर्मा लामा छिरिङका व्यवसायिक साझेदार हुन्। उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए। यस वर्ष च्यांग्राको अधिकतम मूल्य रु ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए। आफूहरुले बथानमा रहेका रोज्जा ९रोजेको० च्यांग्रालाई रु ४२ हजारमा दिने गरेको उनी बताउँछन्।
‘देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महँगो होइन, पोहोर सालको दसैँमा ४८ देखि ५० हजार भन्थे अहिले ३८ देखि ४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्यांग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ,’ उनले भने। दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्यांग्रा खरिद गरेर ल्याउने गर्छन्। यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्यांग्रा लिएर बजार पुग्न थालेका छन्।
काठमाडौं । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौं शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए ।
नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।
घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ । बडादशैंका दिनबाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज्’ र ‘डाँफेज्’ शब्द प्रयोग गरेका थिए । त्यसपछि सामाजिक सन्जालमा उनलाई ट्रोल बनाइएको थियो । यसै सन्दर्भमा शुक्रबार एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको गुनासो सामाजिक सन्जाल फेसबुकमा गरेका छन् ।
तर प्रधानमन्त्री ओलीले केही समय पहिले नेपालमा पनि अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा डाँफे र गैंडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्न उचित हुने विषय उठाएको स्मरण पोखरेलले गरेका छन् । त्यसैले ओलीको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई सोही परिप्रेक्षमा बुझ्नुपर्ने उनले बताएका छन् ।
‘यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन,’ एमाले महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’
काठमाडौं । विपद्बाट बढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २६ औँ बैठकले असोज १० गतेदेखि १३ गतेसम्म परेको अबिरल वर्षाका कारण बाढीपहिरोले क्षति पुगेका स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी डा. डिजन भट्टराईले विभिन्न जिल्लाका तीन दर्जनभन्दा बढी पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको जानकारी दिए ।
उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २६ औँ बैठकले विपद्बाट बढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ। हाल तीन दर्जनभन्दा बढी पालिका भनिएको छ, यकिन तथ्याङ्क मन्त्रीपरिषद्ले निर्णय भएपछि मात्र थाहा हुन्छ।
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।
कोषमा कृषि विकास बैँकबाट रु एक करोड ५० लाख, नागरिक लगानी कोषबाट रु ५१ लाख, एसबिआइ बैँकबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि ९बिवाइडी० कम्पनीबाट रु ५१ लाख रकम हस्तान्तरण भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठुलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ।
काठमाडौं । मनसुनका कारण केही महिना स्थगित पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार कम्पनीले ९ हजार फिटमाथिसम्म हट एयर बेलुन उडान गर्छ ।
बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । कम्पनीले २ वटा बेलुन उडाउँदै आएको छ । । स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डर गरी दुई जना पाइलटले बेलुन उडाउँछन् । पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बाडेले जानकारी दिए ।
उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने बाडेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर पुगेका व्यक्तिले हट एयर बलुनमा उड्न सक्नेछन् । कम्पनीले एन–एएमडब्लू कलसाइनको बेलुनमा पाइलट बाहेक ८ जना र ९ एनभी कलसाइनको बेलुनमा पाइलट बाहेक एकपटकमा १२ जना यात्रुलाई उडान गर्दै आएको छ ।
बेलुन नेपालले आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकिय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना समेत गर्दैछ ।
हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क तोकिएको छ । सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुकका पर्यटकलाई १५० डलर शुल्क तोकिएको छ । उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामे सम्मको दुईतर्फी यातायात सुविधा, फोटो–भिडियो र प्रमाणपत्र समेत पाइन्छ । पर्यटकले बलुन रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे सो सुविधा समेत रहेको छ ।
काठमाडौं । कतारमा आयोजित एशिया को-अपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक र अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री राणा कतार पुगेकी थिइन् । आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको उनले बताइन् ।
‘त्यहाँ स्पोर्टस् डिप्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरनियरिङ र वाटर र्याफ्टिङको एकदमै सम्भावना छ । हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा राखेर आएको छु’, उनले भनिन् । अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढाउन, नेपालमा लगानी ल्याउन र नेपालको विकास गर्ने कामका लागि आफ्नो भ्रमण सफल भएको उनले बताइन् । तारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन् ।
काठमाडौं । हेजबुल्लाहका समूहका सैन्य संरचना ध्वस्त पार्न भन्दै दक्षिणी लेबनान प्रवेश गरेको इजरायली रक्षा बल (आईडीएफ) र हेजबुल्लाहबीच बिहीबार पनि युद्ध भइरहेको छ । युद्धका कारण पछिल्लो २४ घण्टामा लेबनानमा कम्तीमा २८ जना स्वास्थ्यकर्मी मारिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
डब्लूएचओ प्रमुख टेड्रोस एडहानोम गेयब्रेससले मारिनेमध्ये कपितय बमबारीपछि काम गर्ने क्षेत्रहरूबाट भागेका थिए । त्यस्तै, लेबनानको राजधानी बेरुतमा आईडीएफले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ९ सर्वसाधारण मारिएका बीबीसीले जनाएको छ । आईडीएफले कम्तीमा १५ हेजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ ।
मारुन अल–रासमा हजेबुल्लाहले इजरायली सेनालाई लक्षित गर्दै बम विस्फोट गराएको छ भने इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ । आईडीएफले बिहीबार हेजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको जनाएको छ ।
त्यस्तै, हेजबुल्लाहले बेरुतस्थित आफ्नो सञ्चार कार्यालयमा आक्रमण भएको जनाएको छ । आईडीएफले दक्षिणी लेबनानका स्थानीयलाई अन्यत्र जान चेतावनीसमेत दिएको छ । ‘तपाईं र तपाईंका सन्तानको सुरक्षाका लागि अर्को सूचना नभएसम्म आफ्नो घरमा नजानुहोला,’ आईडीएफले टेलिग्राममार्फत जारी सूचनामा लेखिएको छ ।
इजरायली सेनाले दुई सातायता गरेका आक्रमणमा कम्तीमा हजार सर्वसाधारणको ज्यान गइसकेको छ । दक्षिणी लेबनान र बेका क्षेत्रबाट कम्तीमा १० लाख सर्वसाधारण विस्थापित भइसकेका छन् । सन् २०२३ को अक्टुबर ७ यता इजरायलले लेबनानमा गरेको आक्रमणमा १ हजार ९ सय ७४ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये कम्तीमा १ सय २७ जना बालबालिका छन् । ९ हजार ३ सय ८४ जना घाइते भएका जनाइएको छ ।