Category: समाचार

  • बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने

    बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने

    काठमाडौं । बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे । ‘संग्रहालयले हसिनाको कथित कुशासन र उनलाई सत्ताबाट हटाउनका लागि जनताले गरेको संघर्षका सम्झनाहरू जोगाउनेछ,’ युनुसले गणभवन दरबारको भ्रमणका क्रममा सोमबार भने ।

    पूर्वप्रधानमन्त्री हसिना ‘एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’का कारण गत अगस्ट ५ मा देश छाडेर भागेकी थिइन् । उनको बहिर्गमनपछि ८४ वर्षीय युनुस देशको मुख्य सल्लाहकारमा नियुक्त भएका थिए । हसिनामाथि डेढ दशक लामो शासनकालमा राजनीतिक विपक्षीहरूलाई नजरबन्दमा राख्ने र गैरन्यायिक हत्यालगायतका व्यापक मानवअधिकार उल्लंघन गरेको आरोप छ । बंगलादेशको एक अदालतले उनलाई पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।

    हसिनालाई पतन गराउने आन्दोलनमाथि गरिएको चरम प्रहरी दमनका कारण कम्तीमा ७ सय जनाको ज्यान गएको थियो । अगष्ट ५ मा हसिना भागेसँगै सयौं आन्दोलनकारीले ‘दमनको प्रतीक’ भन्दै उनको निवासमा आक्रमण गरेका थिए । त्यसका साथै आन्दोलनकारीले हसिनाका बुबा तथा बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा रहेको संग्रहालयमा पनि तोडफोड गरेका थिए । बंगलादेशबाट भागेपछि हसिना हालसम्म सार्वजनिक रूपमा देखिएकी छैनन् । ७७ वर्षीय हसिना अन्तिम पटक भारतको राजधानी नयाँदिल्ली नजिकैको सैन्य हवाई अखडामा पुगेको बताइएको थियो ।

  • सल्यानमा मिनी ट्रक दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    सल्यानमा मिनी ट्रक दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    काठमाडौं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, बर्ष १५ कि सिर्जना बस्नेतको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । दुई जनाको घटना स्थलमै र एकजनाको बाटोमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबै बालबालिका छन ।

    दुर्घटनामा घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारका लागि कपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको बताए । घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको छ ।

    उहाँका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिए पनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उनको भनाइ छ ।

  • रुसमा उत्तर कोरियाली फौज परिचालन रहेको नेटोको बयान

    रुसमा उत्तर कोरियाली फौज परिचालन रहेको नेटोको बयान

    काठमाडौं । उत्तर कोरियाली फौजहरू रुसमा परिचालित रहेका र उनीहरू युक्रेनी फौजको बलियो पकड रहेको कुर्क्स सीमाक्षेत्रमा कार्यरत रहेका उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले पहिलो पटक बताएको छ। सोमवार दक्षिण कोरियाका सुरक्षाकर्मी तथा रक्षा अधिकारीहरूसँग एउटा बैठक गरेपछि नेटोका महासचिव मार्क रुटले हप्तौँको गुप्तचार रिपोर्टहरूपछि आफूले उत्तर कोरियाली फौजहरू परिचालित रहेका पुष्टि गर्न सक्ने बताएका हुन्। नेटोका नवनियुक्त प्रमुखले उत्तर कोरियाली फौज परिचालनले “ठूलो उक्साहट” र युक्रेनमा रुसी युद्ध “खतरनाक रूपमा विस्तार” भएको भन्ने दर्शाएको टिप्पणी गरे।

    प्योङ्गयाङले आफ्नो साझेदारलाई सघाउनका निम्ति हजारौँको सङ्ख्यामा फौज पठाउन लागेका विवरणबीच गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा उत्तर कोरियाली फौज पुगेको अस्वीकार गरेका थिए। “यो हाम्रो सार्वभौम निर्णय हो,” एउटा पत्रकार सम्मेलनका क्रममा प्रश्न पन्छाउँदै पुटिनले भने।
    “हामी त्यसको प्रयोग गर्छौँ अथवा गर्दैनौँ, कहाँ, कहिले अथवा हामी अभ्यास, प्रशिक्षण वा केही अनुभव आदानप्रदान गर्छौँ। यो हाम्रो सरोकारको विषय हो,” उनले थपे। कति सङ्ख्यामा उत्तर कोरियाली सैनिकहरू रुस पठाइएका छन् भन्ने कुरा स्पष्ट भएको छैन।

    दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार यसै महिनाको शुरूतिर कम्तीमा १,५०० उत्तर कोरियाली सैनिक रुस पुगिसकेका छन्। तर नेटोले प्योङ्गयाङका फौजहरू रुसमा कार्यरत रहेका औपचारिक रूपमा स्वीकारेको यो पहिलोचोटि हो। युक्रेनविरुद्ध प्रयोगका निम्ति उत्तर कोरियाले यसअघि नै बलिस्टिक क्षेप्यास्त्र तथा लाखौँ राउन्ड गोलीहरू रुस पठाइसकेको रुटले बताएका छन्।

    त्यसको बदलामा पुटिनले उत्तर कोरियालाई सैन्य प्रविधिहरू र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू झेल्नका लागि अरू सहयोगहरू पठाउन सहमति जनाएको रुटले उल्लेख गरे। मस्को र प्योङयाङबीचको गहिरो सम्बन्ध “इन्डो(प्यासिफिक र यूरो(एट्लान्टिक क्षेत्रको शान्ति तथा सुरक्षाका निम्ति खतरा भएको” समेत उनले बताए। कुर्क्स क्षेत्रमा उत्तर कोरियाली फौजहरूको तैनाथीले पश्चिमा देशका राजधानीहरूमा चिन्ता निम्त्याउन सक्ने रुटले चेतावनी दिए।

    रुसलाई आश्चर्यमा पार्ने गरी उसको पश्चिमी क्षेत्रमा पहिलो पटक युक्रेनी फौजहरू पुगेपछि दुई महिनायता त्यहाँ मस्को र किएभबीच लडाइँ जारी छ। युक्रेनलाई अगाडि बढ्न नदिने प्रयास स्वरूप रुसले सो क्षेत्रमा हजारौँको सङ्ख्यामा फौजहरू पठाएको बताइएको छ। कुर्क्समा उत्तर कोरियाली फौजहरूको आगमनले किएभका फौजहरूमाथि थप दबाव सिर्जना गर्न सक्ने विज्ञहरू बताउँछन्। गत शुक्रवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ती फौजहरू केही दिनभित्रै युद्धमैदानमा परिचालित हुन सक्ने सूचना आफ्नो सरकारसँग रहेको बताएका थिए।

    पश्चिमा नेताहरूले त्यस्तो कदमले द्वन्द्व थप चर्काउन सक्ने चेतावनी हप्तौँदेखि दिँदै आएका छन्। सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण गरेपछि आफू एक्लिँदै गएको पाएको मस्कोले उत्तर कोरियासँग सम्बन्ध अझ गाढा बनाउँदै गएको छ।
    बीबीसी

  • तिहारको झिलिमिली टाङ्दा लाग्यो करेन्ट, काठमाडौंमा एक जनाको मृत्यु

    तिहारको झिलिमिली टाङ्दा लाग्यो करेन्ट, काठमाडौंमा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो काठमाडौं महानगरपालिका ९ बत्तिसपुतलीस्थित एक घरमा बत्ती सजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो। कैलाली भजनी नगरपालिक-४ घर भएका २८ वर्षीय पवन चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    घरमा झिलिमिली बत्ति सजाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • भाइटीकाको उत्तम साइत  ११ः३७ बजे

    भाइटीकाको उत्तम साइत ११ः३७ बजे

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ।

    नेवार समुदायले मनाउने किजापूजा पनि त्यसैदिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरू हुँदैछ। मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ। कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ।


    कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ। कात्तिक १६ गते शुक्रबार औँशी परेको छ। त्यसदिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ। रासस

  • मीनबहादुरले दिएको जग्गाको हक हस्तान्तरण नगर्न एमालेलाई अदालतको आदेश

    मीनबहादुरले दिएको जग्गाको हक हस्तान्तरण नगर्न एमालेलाई अदालतको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।

    अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालयलाई दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन माग गरेको छ ।

    गत दशैंको फुलपातीको दिन कलंकीमा एमाले पार्टी कार्यालयको शिलान्यास भएको थियो, त्यहाँ उपस्थित व्यवसायी मीनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गरेका थिए । यो घटना सार्वजनिक भएपछि एमालेको आलोचना भएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत ३ जनाले निर्णय खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

  • एयर इण्डियाको जहाजमा बम राखेको हल्लापछि….

    एयर इण्डियाको जहाजमा बम राखेको हल्लापछि….

    काठमाडौं । एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आज पनि गलत सूचना आएपछि विमानस्थलमा तनाव भएको छ । सूचना गलत भएको सेना र प्रहरीको सर्चपछि पुष्टि भएको छ। सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो ।
    ६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन । पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ ।

    यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अघिल्लो साताको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए । यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।

  • प्रधानमन्त्री ओली चीन जाने तयारी

    प्रधानमन्त्री ओली चीन जाने तयारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन् ।


    गत असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता भएको थियो । भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भमणको निम्तो दिएका थिए । मोदीले अनुकूल समय मिलाएर आउने जवाफ दिए पनि प्रधानमन्त्री ओलीलाई भने भारत भ्रमणको निम्तो दिएनन् ।


    भारत भ्रमणका लागि तत्काल निम्तो आउने सम्भावना नदेखेपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री हुँदा ओलीले भारतबाटै पहिलो विदेश भ्रमण गरेका थिए । चीन भ्रमणमा जानुअघि प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनीसीएटीभ (बीआरआई) परियोजनाको कार्यप्रगति के कति भयो भनेर सोधीखोजी थालेका छन् । सात वर्षअघि नै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ ।


    यसअघि २०७५ सालमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा केरुङ–काठमाण्डौ रेल्वेसम्बन्धी परियोजना, बेल्ट एन्ड रोड परियोजनामा गरिएको समझदारीपत्रको कार्यान्वयन, बन्दरगाह, सडक, रेल्वे, उड्डयनलगायतका विषयमा सम्झौता भएको थियो ।

  • बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा गोली प्रहार

    बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा गोली प्रहार

    काठमाडौं । बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताएका छन् । केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उनले बताए । “म आइपुगेको कारमा १४ वटा गोली लागेका प्वाल छन्” मोरालेसले भने, “यो योजनाबद्ध थियो । इभोलाई मार्ने विचार थियो ।”

    अन्तर्वार्ता गर्ने रेडियो स्टेशन कौसाचुन कोकाले मोरालेस सवार भएको गोली लागेको पिकअप ट्रकको भिडियो सार्वजनिक गरेको छ । विन्डशिल्डमा तीन गोली लागेका प्वाल थिए र चालकको टाउकोमा रगत देखिन्थ्यो। मोरालेसले वर्तमान राष्ट्रपति लुइस आर्सेलाई आक्रमणको दोष दिए । लुइस आर्से मोरालेसका पूर्व सहयोगी र मन्त्रिपरिषद् सदस्य थिए । दुवैबिच सम्बन्ध बिग्रिएको छ।

    “लुचोले बोलिभियालाई नष्ट गरेका छन् र अब उनी इभोलाई मारेर हाम्रो प्रक्रियालाई समाप्त गर्न चाहन्छन्” मोरालेसले राष्ट्रपतिको उपनाम प्रयोग गर्दै आफ्नै राष्ट्रपति पद पुनः प्राप्त गर्ने प्रयासका बारेमा भने । अहिले ६५ वर्ष पुग्नुभएका मोरालेस पूर्व कोका उत्पादक र २००६ देखि २०१९ सम्म राष्ट्रपति थिए ।

    चौथो कार्यकालका लागि संविधान छल्ने प्रयास नगर्दासम्म उनी बोलिभियामा अत्यन्त लोकप्रिय थिए । धाँधलीको आरोप लागेको चुनावपछि सेनाको समर्थन गुमाएपछि उनलाई राजीनामा दिन बाध्य पारियो । उनी मेक्सिको भागेका थिए । उनी सन् २०२० मा राजनीतिक पुनर्जीवनको खोजीमा बोलिभिया फर्किएका थिए ।

  • तनावपूर्ण सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनल पुग्यो

    तनावपूर्ण सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनल पुग्यो

    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक–एक बराबरीमा खेल सकिएको थियो।

    पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण अवरोध भएको खेल १७८ मिनेट सम्म लम्बिएको थियो। नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो।

    सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७१ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो।

  • नेपालमा अनुमति नलिई जहाज आएपछि थाई एयर एसियालाई तत्काल उडानमा रोक

    नेपालमा अनुमति नलिई जहाज आएपछि थाई एयर एसियालाई तत्काल उडानमा रोक

    काठमाडौं । अनुमति नलिई नेपाल आएको थाई एयर एसियालाई तत्कालका लागि नेपालमा उडान गर्न रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विनाअनुमति यात्रु बोकेर थाइल्यान्डको बैंककबाट काठमाडौं आएको थाई एयर एसियालाई तत्काल कुनै पनि उडान गर्न नदिने निर्णय गरेको हो । अर्को निर्णय नभएसम्म थाई एयर एसियाको नेपालका सबै उडान निलम्बन गरिएको प्राधिकरण स्रोतले जनाएको छ । अर्को निर्णय नभएसम्म उसलाई टिकट नकाट्न पनि पत्राचार गरिएको छ ।


    यसअघिका निर्धारित उडानहरू समेत रद्द गरिएको छ । आजबाट ‘विन्टर सेड्युल’ सुरु भएको थियो । सोही अनुसार कम्पनीले अनुमति नलिई जहाज काठमाडौं ल्याएपछि कारबाही स्वरूप उसका सबै उडान रोकिएको हो । थाइल्यान्डको बैंककबाट थाई एयर एसियाको उक्त जहाज आइतबार दिउँसो काठमाडौं आएको थियो । उसले दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताएको थियो ।

    तर, जहाजको उडान अनुमति शनिबार नै सकिएको थियो । अनुमति नलिई आएको जहाजलाई प्राधिकरणले आधा घण्टाभन्दा बढी आकाशमै ‘होल्ड’ गराएको थियो । तर, मानवीयताका आधारमा अवतरण अनुमति दिइएपछि जहाज त्रिभुवन विमानस्थल अवतरण गरेको थियो । जहाज अवतरण गरेपछि पनि प्राधिकरणले थप कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

  • राष्ट्रियताका विषयमा सम्झौता गर्दिन : प्रधानमन्त्री

    राष्ट्रियताका विषयमा सम्झौता गर्दिन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताएका छन् । आइतबार नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस–एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको बताए । ‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढेका छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन’, उनले भने ।

    विगतमा आफ्नो सरकारले नाकाबन्दीको सामना गरेको भन्दै ओलीले थपे, ‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि ।’

    प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताए । केपी ओलीको साख घट्यो भन्ने प्रायोजित टिप्पणी भएको भन्दै उनले आफू कति लोकप्रिय भन्ने कुरा २०८४ को चुनावमा देखाउने जिकिर गरे ।

    सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यता नभएको बताए । उनले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्ने पनि बताए ।

  • १४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क

    १४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

    मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा छ । नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएका छन् । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

    ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए । ‘समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको पार्न सकिन्छ’, उनले भने, ‘तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं ।’

  • रेफ्रीले लगातार गलत निर्णय गरेपछि दशरथ रंगशालामा तनाव, नेपाल र भारतको खेल रोकियो

    रेफ्रीले लगातार गलत निर्णय गरेपछि दशरथ रंगशालामा तनाव, नेपाल र भारतको खेल रोकियो

    काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् । भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ ।

    रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो । नेपालले आफूहरुले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राखेको छ भने भारतले उक्त गोललाई मान्यता दिन नहुने अडान राखेको छ । त्यसैले रेफ्रीहरु अलमलमा छन् । खेलको मुख्य रेफ्री भुटानकी ओम चोकी हुन् भने असिस्ट्यान्ट रेफ्री भुटानकी छोडेन छिरिङ र बंगलादेशकी मोने सल्मा अख्तर छन् ।

  • विश्वकप क्रिकेट लिग २ : आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप क्रिकेट लिग २ : आज नेपाल र अमेरिका भिड्दै

    काठमाडौं । लगातारको हारले दवावमा रहेका नेपाल र अमेरिका जित्नै पर्ने महत्वपूर्ण सिरिज खेलिरहेका छन् । अमेरिकाविरुद्ध आइतबार डालासमा उत्रिँदा नेपाल विश्वकप क्रिकेट लिग २ मा थप दवावमा हुनेछ । यी दुई टोलीको खेल आज नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुँदैछ । नेपालले पछिल्लो दिनमा जित निकाल्न संघर्ष गरिरहेको छ ।

    ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अंकतालिकाको सातौं स्थानमा छ । नेपालले लिग २ का दुई शृंखलामा खेलेका ८ खेलमा केवल एक जितमात्र निकालेको छ । ६ खेलमा पराजित भएको छ । ओमानसँग क्यानडामा खेलिएको खेल वर्षाले रद्द भएको थियो । क्यानडामा नेपालले क्यानडा र ओमानसँग २–२ खेलमा बटुलेको त्यही १ अंक थियो । त्यसअघि नेपालले फेब्रुअरीमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र नामिबियासँगको २–२ खेलमा एकमात्र विजय हात पारेको थियो ।

    तर, नेपालले अघिल्लो साता अमेरिकाविरुद्ध डालासमै भएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । यही नतिजामा उच्च मनोबल लिएर नेपाल आइतबार अमेरिकाविरुद्ध लिग २ को खेलमा उत्रने छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीचको लिग २ को यो शृंखला शुक्रबार नै सुरु भइसकेको छ ।

    स्कटल्यान्डले शुक्रबार अमेरिकालाई १० विकेटले हराएको थियो । ३९ रन बनाउँदा ६ विकेट गुमाएको अमेरिका १ सय ४४ रन बनाई ३९ औं ओभरमा अलआउट भयो । एन्ड्रयु उमिदले ७९ बलमा ९८ र चार्ली टियरले ७० बलमा ४३ रन बनाएपछि स्कटल्यान्डले २५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो । दबाबमा रहेको अमेरिकाले उपकप्तान एरोन जोन्सलाई शृंखलामा बाहिर राखेपछि घरेलु टोलीमाथि झनै दबाब बढ्दै गएको छ ।

    नेपालले शनिबार १५ सदस्यीय टोली घोषणा गरेको छ । एकदिवसीयमा कमजोर प्रदर्शन गर्दै आएको नेपालले यो संरचनाका विशेषज्ञ ब्याटर देव खनाललाई रिजर्भमा राखेको छ । देवसँगै सागर ढकाल पनि रिजर्भमा छन् । रोहित पौडेलेको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

    नेपाल र अमेरिकाबीच भएको पछिल्ला ५ एकदिवसीय अन्तर्राष्ट्रियमा दुवै टोलीले २–२ खेल जितेका छन् भने एक खेल ‘टाइ’ भएको थियो । सन् २०२२ मा लिग २ का लागि अमेरिका जाँदा नेपालले अमेरिका र ओमानविरुद्धका ४ खेलमा २ खेलमा पराजित हुँदै १ खेल जितेको थियो भने १ खेल ‘टाइ’ भएको थियो ।

  • सुडानमा लडाकुको हिंसात्मक गतिविधि, कम्तिमा ५० जना मारिए

    सुडानमा लडाकुको हिंसात्मक गतिविधि, कम्तिमा ५० जना मारिए

    काठमाडौं । मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका गैरसरकारी समूहहरुले जनाएका छन् । गेजिरा राज्यको राजधानी वड मदनीमा रहेको प्रतिरोध समितिले भनेको छ, “शुक्रबार बिहान, आरएसएफले अल कमलिन क्षेत्रको अलसेरिहा गाउँमा भारी गोलाबारी र बमबारी गरेका छन् ।” समितिले भनेको छ, “अलसेरिहा गाउँका ५३ भन्दा बढी सर्वसाधारण मारिएका छन भने २०० भन्दा बढी अन्य घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।”

    शुक्रबार बिहानैदेखि आरएसएफ लडाकूले गेजिरा राज्यको उत्तरमा रहेको अल कमलिन इलाकाको अलसेरिहा गाउँमा आक्रमण गरेको थियो । लडाकूहरुले हतियार र तोपमार्फत् अग्लो भवनबाट निहत्था नागरिकहरुमा गोली हान्न थालेको एक गैर(सरकारी समूहले जनाएको छ । सुडानको विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत गेजिरा राज्यका गाउँ र शहरविरुद्ध आरएसएफको प्रतिशोधात्मक अभियानको निन्दा गरेको छ ।

    आरएसएफले जनजाति र क्षेत्रीय आधार इलाकाहरूमा अभियानह सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । सन् २०२३ मध्य अप्रिलदेखि सुडानमा सशस्त्र सेना र आरएसएफ बीचको द्वन्द्वले सुडानमा व्यापक आर्थिक तथा भौतिक क्षति पुगेको छ । सशस्त्र द्वन्द्वका कारण यहाँ हालसम्म २४ हजार ८५० भन्दा बढीको ज्यान गएको छ । रासससिन्ह्वा

  • दोलखामा भूकम्पको धक्का महसुस

    दोलखामा भूकम्पको धक्का महसुस

    काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

  • एल–क्लासिको : रियल आफ्नै घरमा बार्सिलोनासँग ४–० ले पराजित

    एल–क्लासिको : रियल आफ्नै घरमा बार्सिलोनासँग ४–० ले पराजित

    काठमाडौं । जारी सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४–० को सानदार जित निकालेको छ । घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो । बार्सिलोनालाई फराकिलो जित दिलाउन लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक गोल गरे । खेलको ३०औं मिनेटमा रियलका केलिएन एमबाप्पेले गोल गरेपछि भिएआरले मान्यता नदिँदा रियलले अग्रता लिने मौका गुमाएको थियो ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो । ५४ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे । लामिन यामलले ७७औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ३० को अग्रता बनायो । बार्सिलोना यतिमै रोकिएन । कप्तान राफिन्हाले ८४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले सानदार जित हात पारेको हो ।

    जितपछि लिग लिडर बार्सिलोनाले यस सिजन उत्कृष्ट लयलाई कायम राख्दै रियल मड्रिडमाथि नै ६ अंकको अग्रता बनाएको छ । ११ खेलबाट बार्सिलोनाको ३० अंक जोडेको छ । यस सिजन पहिलो हार व्यहोरेको रियलको समान खेलबाट २४ अंक छ ।

  • एनआरएनएको ग्लोबल सम्मेलन आजदेखि

    एनआरएनएको ग्लोबल सम्मेलन आजदेखि

    काठमाडौं । रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साढे ९ बजे उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपाल सरकारका मन्त्रीज्यूहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौंमा आइसकेका छन् । ‘ग्लोबल’ सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको परिषदले जनाएको छ ।

    सम्मेलनमा सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।

    दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहने छन् ।

    यस ‘ग्लोबल’ सम्मेलनले नेपाल सरकार, गैरआवासीय नेपाली समुदाय, र अन्य सरोकारवालाहरूबीच सहकार्यको वातावरण सिर्जना हुने अपेक्षा एनआरएनएले लिएको छ । यसैबीच कात्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा पनि आयोजना हुनेछ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागिता जनाउने छन् ।

    कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेको लागि भर्चुअल उपस्थितिका लागि विशेष व्यवस्था मिलाइएको हो । साधारण सभाबाट आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने तयारी छ । यसका साथै विगतमा असन्तुष्ट समुहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै यस वार्षिक साधारणसभालाई एकताको सभा बनाइने एनआरएनएले जनाएको छ ।

  • साफ महिला फुटबल : आज सेमिफाइनलका खेल, नेपाल र भारत भिड्दै

    साफ महिला फुटबल : आज सेमिफाइनलका खेल, नेपाल र भारत भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेल आज हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ । यो खेल साढे ६ बजे सुरु हुनेछ । समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।

    सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे । नेपाल भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो । साविक विजेता बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस्तै घरेलु टोली नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

    नेपाल र भुटानले आफ्नो समूहमा २ जित १ बराबरी नतिजा निकाल्दै अपराजित रह्यो । नेपाल र भुटानले समान ७ अंक जोडेपनि गोलअन्तरमा अघि रहँदै नेपाल समूह विजेता बनेको हो ।

    पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । समूह ए मा बंगलादेशले एक जित र एक बराबरीबाट ४ अंक जोड्यो । भारत एक जित र एक हारको नतिजा निकाल्दै ३ अंक जोडेर उपविजेता बन्यो । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ ले पराजित गरेको थियो ।

    दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेश विरुद्ध निर्धारित ९० मिनेटसम्म अग्रता लिएपनि अतिरिक्त समयमा गोल खाएपछि खेल १–१ को बराबरीमा सकिएको थियो । बंगलादेशले हार टार्दै समूह चरणबाटै बाहिरिने सम्भावनालाई टारेको थियो । त्यसपछि बंगलादेशले भारतलाई ३–१ ले पराजित गर्दै समूह ए को विजेता बनेको हो ।

  • विश्वकप लिग–२ : नेपाली टोलीको घोषणा

    विश्वकप लिग–२ : नेपाली टोलीको घोषणा

    काठमाडौं । अमेरिकामा शनिबारदेखि सुरु भएको आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार साँझ रोहितकुमार पौडेलको कप्तानीमा दुई अतिरिक्तसहित १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

    टोलीमा कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी हुनुहुन्छ । यस्तै देव खनाल र सागर ढकाललाई अतिरिक्त खेलाडीमा राखिएको छ ।

    अमेरिका, नेपाल र स्कटल्यान्ड सम्मिलित यस सिरिजमा नेपालले आफ्नो पहिलो खेल आइतबार अमेरिकासँग खेल्नेछ । नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

    लिगमा आठ खेलबाट तीन अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । आठ देश सहभागि लिग–२ मा नेपाल यसअघि क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।

  • विश्वकप लिग–२ : स्कटल्याण्डसँग १० विकेटले हार्यो अमेरिका

    विश्वकप लिग–२ : स्कटल्याण्डसँग १० विकेटले हार्यो अमेरिका

    काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजमा घरेलु टोली अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ । टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शनिबार बिहान भएको खेलमा अमेरिकाले लज्जास्पद हार खेपेको हो । अमेरिकाले दिएको एक सय ४५ रनको विजय लक्ष्य स्कटल्यान्डले २४.५ ओभरमा विना विकेटको क्षति पूरा गरेको थियो ।

    स्कटल्यान्डका लागि आन्द्रे उमिदले अविजित ९८ रन बनाए । उनले ७९ बलमा १३ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाए । चार्ली टिमयरले अविजित ४३ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । अमेरिकाका सुरुवाती ६ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    आठौँ नम्बरमा ब्याटिङ गरेका स्याड्ली भान श्यालवायकले ५८ रन बनाए । हर्मित सिंहले २२ र नोसथुस केन्जिगेले २१ रन बनाए । अमेरिकालाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्राड करीले चार विकेट लिए । ब्रान्डेन म्याकमुलेनले तीन तथा ब्राड ह्विलले दुई विकेट लिए ।

    जितसँगै आठ खेलबाट ११ अङ्क बनाएको स्कटल्यान्ड चौथो स्थानमा उक्लिएको छ । पराजित अमेरिका नौ खेलबाट १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलित यस सिरिजमा नेपालले कात्तिक ११ गते आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

    नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ । लिगमा आठ खेलबाट तीन अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । आठ देश सहभागी लिग–२ मा नेपाल यसअघि क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।

  • ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको प्रचण्डले गरे खण्डन

    ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको प्रचण्डले गरे खण्डन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस, एमाले जस्ता दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।


    माओवादी घटकहरूको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताए । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उनले भने, ‘‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिँदै साथ दिने छन् ।’’

    उनले अब आफूहरूले बन्दुक बाँड्नु छैन, जनताका छोराछोरीलाई उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताए । उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौँ युवाहरूलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनले बताए ।

    अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गरेका छन् । पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने उनको भनाइ छ । ‘‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बिच बाटोबाट फर्केको सुनेको छैन’’ अध्यक्ष प्रचण्डले भने, ‘‘जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’’

  • सरकारप्रति माओवादीको खबरदारी, नसच्चिए विरोध थाल्ने चेतावनी

    सरकारप्रति माओवादीको खबरदारी, नसच्चिए विरोध थाल्ने चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबार राजधानीमा खबरदारी सभा आयोजना गरेको छ । पार्टीका हजारौं कार्यक्रता सहभागी यस सभालाई शीर्ष नेताले सम्बोधन गरेका छन् । सो क्रममा नेताहरुले सरकारलाई खबरदारी गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताए ।

    उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताए । ‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका बेठीक छ’, उनले भने ।

    माओवादीले रवि लामिछानेको बचाउका लागि खबरदारीसभा आयोजना गरेको भन्ने प्रचार भएको भन्दै प्रचण्डले भने, ‘खबरदारी सभा कसैलाई बचाउनका लागि होइन ।’ आफू प्रधानमन्त्री हुँदादेखि नै दोषी कोही बच्नुहुँदैन र निर्दोष कोही फस्नुहुँदैन भनेको भन्दै उनले सहकारी पीडितलाई न्याय दिन पनि आफूले सिंहदरबारमा पचासौं बैठक गरेको बताए । रवि लामिछानेविरुद्ध संसदमा प्रश्न उठेपछि आफू छानबिन समिति गठन गर्न तयार भएको र पछि रवि पनि तयार भएको तर हालका प्रधानमन्त्री ओलीले नमानेको प्रचण्डले बताए ।

    ‘रवि लामिछानेसँग कुरा गर्दा समिति बनाएर छानबिन गर्न उचित हुन्छ, दोषी हो भने कारबाहीका लागि तयार हुनुपर्छ, होइन भने उन्मुक्ति हुनुपर्छ डराउनुपर्ने के छ भनेको थिएँ, छानबिन समिति बन्न हुँदैन भन्ने केपी ओली हो, रविलाई हर हालतमा बचाउनुपर्छ भन्ने केपी ओली हो’, उनले भने ।

  • इजरायलले थाल्यो इरानमा हमला

    इजरायलले थाल्यो इरानमा हमला

    काठमाडौं । इजरेलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला थालेको छ । ती हमलालाई इजरेलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफ भएको बताएको छ। इजरेली सेनाले हमलाको काम पूरा भएको जनाउँदै भनेको छ, हाम्रा विमानहरू सुरक्षित रूपमा घर फर्किएका छन्। तर कुन–कुन ठाउँहरू प्रहार गरिएको हो र क्षतिको तह कस्तो छ भन्ने प्रस्ट भइसकेको छैन।

    इजरेली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने अधिकार र दायित्व इजरेल सामु भएको जनाएका छन्। तीन साताअघि इरानले इजरेलमा झण्डै दुई सयको सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
    इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाका अनुसार इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएका छन्।

    जेरुसलेमस्थित एकजना बीबीसी संवाददाताले इजरेलले आफ्ना हमला परमाणु वा तेल प्रशोधन केन्द्रमा नभई सैन्य निशानामा केन्द्रित गरेको देखिएको जनाएका छन्। इजरेली हवाई हमलाको निशानामा सिरियाको राजधानी दमास्कससहित देशका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ। इराकमा समेत राजधानी बग्दादनजिकै विस्फोटनका विवरण आएका छन्।

    इजरेलले भने इरानबाहिर भएका हमलाका विवरणबारे प्रतिक्रिया जनाएको छैन। अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन्। तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन्। गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखा परेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन्। ह्वाइटहाउसले इजरेलको आत्मरक्षाको अभ्यासमा अमेरिकाको कुनै संलग्नता नरहेको जनाएको छ।

    BBC

  • दाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु

    दाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु

    काठमाडौं । दाङमा बोलेरो जिप दुर्घटनामा परेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका ४ निवासी २२ बर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।

    उनका अनुसार राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा रा१ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ बर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ । गाडी सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

  • एएफसीयु १७ छनोट : नेपालको लगातार दोस्रो हार

    एएफसीयु १७ छनोट : नेपालको लगातार दोस्रो हार

    काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो । दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे ।

    उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं र अल मार्जोउकीले ८६औं मिनेटमा गोल गरे । समूहमा लगातार दोस्रो हार व्यहोरेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना पनि सकिएको छ । यसअघि पहिलो खेलमा नेपाल साविक विजेता जापानसँग ९–२ ले पराजित भएको थियो ।

    उता पहिलो खेलेमा मंगोलियाविरुद्ध २–० को कठिन जित निकालेको घरेलु टोली कतारले नेपालमाथि सहज जित निकालेपछि अन्तिम चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अर्को खेलमा जापानले मंगोलियालाई ७–० ले हरायो । जापान र कतारले लगातार दुई खेल जितेर समान ६ अंक जोडेका छन् । गोल अन्तरका कारणमा जापान शीर्ष र कतार दोस्रो स्थानमा छ । अब यी दुई टोलीबीच आइतबार हुने खेलबाट समूह विजताको टुङ्गो लाग्नेछ । यस्तै लगातार दुई खेल हार्दै अंकविहीन रहेको नेपाल र मंगोलियाबीच आइतबारै प्रतिष्ठाका लागि खेल हुनेछ ।

    छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागि ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनोट हुनेछ । यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वतः छनोट भइसकेको छ ।

  • माओवादी केन्द्रको विरोध सभा आज काठमाडौंमा

    माओवादी केन्द्रको विरोध सभा आज काठमाडौंमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

    माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको जनाएको छ ।

    त्यस्तै सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थाहरु, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी गरिने माओवादीको भनाइ छ ।

    माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ ।

    कांग्रेस-एमाले गठबन्धनको सरकार गठन भएपछि सत्ताबाट बाहिरिएको ममाओवादीले पहिलोपटक सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो ।

    यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको १०० दिनमा प्रतिपक्ष दलहरूले ध्यानाकर्षण गराएका थिए । भृकुटीमण्डपमा आयोजना हुने सभाअघि काठमाडौं मलबाट जुलुस निकालिने माओवादीले जनाएको छ । ११ बजेपछि त्यहाँबाट सुरु हुने जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नेछन् । प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण रुपमा सम्पन्न गरिने माओवादीले जनाएको छ ।

  • पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य

    पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य

    काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसालले बुधबार सहयोगका विषयमा सम्झौता गरेका हुन् ।

    बोर्डको आधिकारिक भाइबर प्लेटफर्मः अन्तर्गगत पर्यटन उद्योग, देशका पर्यटक र आम जनता र विश्वभरका नेपालीहरू बीच दैनिक सञ्चार र पर्यटन अद्यावधिकहरू सहित पर्यटन जानकारीको प्रसारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ । यस च्यानललाई नेपालको विभिन्न भागमा रहेका पर्यटकीय गन्तव्य, नयाँ उत्पादन, प्याकेज, गतिविधि र अनुभवका बारेमा नवीनतम समाचार र अपडेटहरू आदान प्रदान गर्न पनि प्रयोग गरिनेछ । साझेदारीको अवधिमा पर्यटन प्रवर्द्धन अभियान र स्टिकर प्याकहरू पनि सञ्चालन गरिनेछ ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशीले भाइबरसँगको सहकायले नेपालको पर्यटन प्रवर्द्धन हुनेमा आशावादी रहेको बताए । ‘भाइबर धेरै लोकप्रिय प्लेटफर्म हो । यसले नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा अझ बढि ब्रान्ड भिजिबिलिटी बनाउनुका साथै हाम्रा उत्पादन र अनुभवहरूलाई विविधीकरण गर्न मद्दत गर्नेछ भन्नेमा हामी सकारात्मक छौं ।

    हामी पूरक र क्रस कटिङ सञ्चारका लागि ट्राभल ब्लगरहरू, सामग्री सिर्जनाकर्ताहरू, टुर अपरेटरहरू र यात्रुहरूको साथ एक गतिशील समूह सिर्जना गर्ने योजनामा छौं । डिजिटल एक्सचेन्ज र एआईको यो युगमा, हामीले हाम्रा दर्शकहरूलाई थप आकर्षक र व्यक्तिगत रूपमा पुग्न त्यस्ता लोकप्रिय च्यानलहरूको प्रयोग गर्नु महत्वपूर्ण हुनेछ ‘उनले भने ।

    एपीएसी, राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले राकुटेन भाइबर विगत केही वर्षदेखि नेपालको पर्यटन उद्योगलाई सहयोग गर्न प्रतिबद्ध रहको बताए । ‘नेपाल पर्यटन बोडसँगको साझेदारीले नेपाललाई घुम्नैपर्ने गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो’ उनले भनिन् ।

    आफ्नो प्लेटफर्म मार्फत देशको आश्चर्यजनक परिदृश्य र अद्वितीय अनुभवहरू प्रदर्शन गर्ने लक्ष्य राख्ने धारणा राखिन् । राकुटेन भाइबर नेपाली उपभोक्ताहरु माझ सबैभन्दा रुचाइएको सञ्चार एप हो र हालै विगत छ महिनामा नेपालका छ वटा बिभिन्न सरकारी निकायहरुसंग साझेदारी गरेको भाइवरले जानकारी दिएको छ ।

  • विपक्षी दलले सडक आन्दोलन चर्काएपछि सत्तारुढ दल एक ठाउँमा उभिए

    विपक्षी दलले सडक आन्दोलन चर्काएपछि सत्तारुढ दल एक ठाउँमा उभिए

    काठमाडौं । सत्ता साझेदार दलले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्ने बताएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता साझेदार दलको बैठकले सात बुँदे संयुक्त वक्तव्य जारी गर्दै सो कुरा बताएको हो ।

    ‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो । त्यो भन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यता विपरित हुने कुरा स्पष्ट छ । यसप्रति सचेत र सजग रहन हामी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछौँ ।’’ संयुक्त वक्तव्यमा उल्लेख छ ।

    छ दशक लामो राजनीतिक आन्दोलनबाट जनता सार्वभौमसत्ता सम्पन्न भएको र नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो संविधान आफैँ बनाएर कार्यान्वयन गरिरहेको अवस्थामा उत्पन्न समस्याको समाधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट खोज्न सकिने र खोज्नु पर्दछ भन्ने मान्यतामा दृढ रहेको पनि बैठकले जनाएको छ ।

    ‘‘राजनीतिक स्थायित्वको आधार तयार गर्नका लागि सहमतिका आधारमा संवैधानिक, कानुनी र संरचनागत सुधारमा जोड दिँदै आएका छौं । यस्तो अवस्थामा अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित होइनन् ।’’ वक्तव्य भनिएको छ ।