काठमाडौं । हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिट खारेजीसँगै हिमाल आइरन एन्ड स्टिल प्रालिले अब नेपाल विद्यत् प्राधिकरणले तोकेको डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्नुपर्ने भएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधिस प्रकाशमान सिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार हिमाल स्टिलको रिट खारेज हुने आदेश गरेको हो । प्राधिकरणले गत असोजमा सार्वजनिक गरेको विवरणअनुसार हिमाल स्टिलले नेपालमा लोडसेडिङका बेला डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको बिल १३ करोड ६५ लाख रुपैयाँ तिर्न बाँकी थियो ।
पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम यसअघि नै तिर्न थालेको थियो । २०८० पुसमा बक्यौता नतिरेको भन्दै प्राधिकरणले विद्युत लाइन काटेपछि त्यतिबेला पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएसँगै प्राधिकरणले लाइन जोडिदिएको थियो । हिमाल स्टिल २०७५ मा प्राधिकरणविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर गएको थियो ।
काठमाडौं । सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट निवेदन खारेज गरेको छ । सूर्यनाथ उपाध्यायको रिट सुनुवाइ गर्दै सर्वोच्चले खारेज हुने ठहर गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले नेपाल(भारत विद्युत व्यापार सम्झौता खारेजीको माग गर्दै दायर रिट खारेजको आदेश गरेको हो ।
सर्वोच्चले रिट खारेजसँगै सम्झौताका सम्बन्धमा निर्देशनात्मक आदेश जारी गरेको छ । निर्देशनात्मक आदेश के हुन् भन्ने कुरा सार्वजनिक भएको छैन । लिखित आदेशमा निर्देशनात्मक विषय सार्वजनिक हुनेछन् ।
उपाध्यायले प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । नेपाल र भारतबीच २०८० पुस १९ मा ऊर्जा सचिवस्तरमा विद्युत व्यापार सम्झौता भएको थियो । जसमा १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालले भारतमा निर्यात गर्ने उल्लेख थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गरेका छन् ।
उनी अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहेका छन् । उनको रगतको परीक्षण भइरहेको बताइएको छ ।
काठमाडौं । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । अमेरिकी समय अनुसार मङ्गलवार बिहान ६ः३० बजेदेखि साँझ ७ः३० सम्म मतदान गर्ने समय तोकिएको छ । सोमवार साँझसम्म करिब आठ करोड मतदाताले स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरिसकेका छन् । निर्वाचनअघि नै यति धेरै प्रतिशत मतदान भएको यो दोस्रो पटक हो । अमेरिकामा करिब २४ करोड मतदाता छन् । दुवै पक्षका मतदाताहरु ज्यादा उत्साहित भएकाले यो पटक हालसम्मकै सर्वाधिक मतदान हुने अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपतिको लागि डेमोक्रेटिक पार्टीका तर्फबाट एसियन अमेरिकन मूलकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिस (६० वर्ष) र रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प (७८) चुनावी मैदानमा उत्रिएका छन् । सोमवार साँझसम्म दुवै उम्मेदवारहरु चुनावी प्रचार प्रसारका लागि आआफ्ना एजेण्डा बोकेर मतदाताको घरदैलो अभियानमा सक्रिय भए ।
उनीहरु दुवैजनाको दौडधूप अन्यत्रभन्दा पनि खासगरी स्विङ स्टेट अर्थात् डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टी दुवैमा संलग्न नभएका तर उम्मेदवारको कार्यशैली र एजेण्डा हेरेर मतदान गर्ने भएकोले यी राज्यलाई स्विङ स्टेट अर्थात् युद्ध मैदान राज्य भन्ने गरिन्छ ।
किनकि यहाँका मतदाता अनिर्णित मतदाता हुन् । यी सातवटा राज्यका मतदाताले राष्ट्रपतिको निर्वाचनको परिणामलाई उलटफेर गर्नसक्छन् । किनकि यिनीहरुले कहिले डेमोक्रेटिक पार्टीलाई त कहिले रिपब्लिकन पार्टीलाई सत्तामा पुर्याएका छन् । यी सातवटा राज्यमा अरिजोना, जर्जिया, मिचिगन, नेभाडा , पेन्सिलभेनिया, विस्कन्सिन र नर्थ क्यारोलिना हुन् । अरु राज्यको इलेक्टोरल कलेज कसको पक्षमा छ भन्ने कुरा भने लगभग पक्का भइसकेको छ ।
अमेरिकी राष्ट्रपति जनताको लोकप्रिय मतबाट प्रत्यक्ष निर्वाचित हुँदैनन् । संविधान अनुसार अमेरिकी मतदाताको मतका आधारमा छानिने इलेक्टोरल कलेजले राष्ट्रपतिको निर्वाचनको नतिजा निर्धारण गर्छ । कुल ५३८ इलेक्टोरल कजेजमध्ये आधाभन्दा बढी २७० इलेक्टोरल कलेज ल्याउने उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुन्छन् । कहिलेकाहीँ धेरै लोकप्रिय मत पाएर पनि २७० इलेक्टोरल कलेज नपाउँदा त्यो उम्मेदवार पराजित हुन्छ ।
इलेक्टोरल कजेज कुन राज्यबाट कतिजना चुनिन्छन् भन्ने कुराको निर्धारण चाहिँ जनसङ्ख्याको आधारमा हुन्छ । कमला ह्यारिसले मध्यमवर्गीय व्यक्तिहरुको पक्षमा वकालत गरिरहेकी छिन् । उनले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउने, महिलाको प्रजनन स्वतन्त्रतालाई कायम राख्ने, कर कम गर्ने, स्वास्थ्य बिमाको पैसा कम गराउने, ठूला व्यापारिक घरानाले गरेको मूल्यवृद्धि रोक्ने र उनीहरुलाई कर पनि बढी लगाउने, पहिलोपटक घर किन्ने मान्छेलाई २५ हजार सहुलियत कर्जा दिनेजस्ता नीति लागू गर्ने बताएकी छिन् ।
ट्रम्पले गर्भपतनलाई राष्ट्रव्यापी रुपमा बन्देज लगाउने, ज्येष्ठ नागरिकको सोसल सेक्युरिटीमा कर हटाउने, दक्षिणी सीमामा पर्खाल लगाउने, आपराधिक चरित्रका मानिस र लागू पदार्थको कारोबारीलाई देशनिकाला गर्ने, ऊर्जा प्रवर्धनमा जोड र ग्यासको भाउ घटाउने आदि छन् । त्यस्तै उनले वैदेशिक नीति, अर्थतन्त्र र सीमा सुरक्षालाई कडाइका साथ लागू गर्ने बताएका छन् ।
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो । सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । आज पनि जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने कोशिष गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो। तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो ।
उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्यो । सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक पटक मन्त्री बने ।
काठमाडौं । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न ठाउँमा सोमबार पनि वर्षा भएको थियो । दोलखाको कालिन्चोकमा सोमबा हिमपात भएको छ ।
काठमाडौं । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित पोखरीमा डुबेको छ । डुबेको कारमा गौशाला नगरपालिका १० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका ८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका छन् । घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।
कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले सोमबार दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिए । रासस
काठमाडौं । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत् रुपमा प्रारम्भ भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।
पारिवारिक सुख(समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । बुधबार साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् । तेस्रो दिन बिहीबार छठको मुख्य दिन सौझकारक रहेको छ । यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्री सहित जलाशय किनारमा अर्घ दिने परम्परा छ ।
अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । यस दिनलाई पारन भन्ने गरिन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ ।
त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रुपमा चढाउने गरिन्छ । छठ पर्वमा विशेष गरी अर्घ दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ । तराई(मधेशमा छठ पर्वको तयारीले अहिले पूरै क्षेत्र उत्सवमय बनेको छ । पूजा सामग्री किनमेलका लागि बजारमा घुइँचो लागेको छ भने नदी, पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ ।
जनकपुरको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ ताल लगायतका ऐतिहासिक जलाशय किनारहरूलाई नवदुलही झैं सजाउने काम जारी छ । मिथिलाञ्चल सहित तराई–मधेशमा अहिले छठको सुमधुर गीतले गुञ्जायमान बनेको छ । पछिल्लो समय पहाडी क्षेत्रका बासिन्दाहरूले पनि छठ पर्व मनाउन थालेका छन् ।
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका अनिल शाह १० रन बनाएर बउट भएका थिए ।
आसिफ शेख ९ रनमा नटआउट थिए । लिग टु मा नेपालले वर्षाका कारण अंक बाँडेको यो दोस्रोपटक हो । यसअघि क्यानडा भ्रमणमा पनि नेपालले वर्षाकै कारण ओमानसँग अंक बाँडेको थियो । अहिलेसम्म लिग टु का तीन सिरिज खेलेको नेपालले जम्मा २ खेल मात्र जितेको छ र १२ खेलबाट ६ अंक जोडेर अंकतालिकाका सातौं स्थानमा छ । स्कटल्याण्ड १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।
काठमाडौं । अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुनेछ । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् । उपराष्ट्रपति कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ । आज मतदान भएसँगै यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ ।
आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार अन्तिम चुनावी अभियान चलाए । उनीहरू दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरे । ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि भन्दै मत मागिरहेका छन् भने ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयास गरिरहेकी छन् ।
यस निर्वाचनबारे भएका सर्वेक्षणहरूले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् । केही सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अघि देखिएकी छन् । अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मतदाताले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो । र, दुवै जनाले यसबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्। स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले बताए ।
उनका अनुसार कञ्चनरुप नगरपालिका ४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छन्। बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ। रासस
काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । घटनाबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । २४ करोड अमेरिकी यस पटक राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। सम्भवतस् तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने सञ्चारमाध्यमले लेखेका छन् । औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको बीबीसीले उल्लेख गरेको छ ।
एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्। अब चुनावका अन्तिम महिनाहरूमा ती राज्यका अनिर्णीत मतदाताको मन जित्न दुवै पक्ष जोडतोडले लागिरहेका छन्।
काठमाडौं\बीबीसी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मङ्गलवार राती निर्वाचन हुँदैछ । मतदानलाई विश्वभरिका मानिसहरूले नजिकबाट नियालिरहेका छन्। अमेरिकी मतदाताले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्का सदस्य पनि चयन गर्दैछन् । जसले देशका नागरिकहरूको जीवनमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन पारित गर्न उल्लेख्य भूमिका निर्वाह गर्छन्।
अमेरिकी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ मा हुँदैछ। नेपाली समय अनुसार मङ्गलवार राती हुने मतदानबाट चयन हुने विजेताको कार्यकाल जनवरी २०२५ बाट सुरु हुन्छ। अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ । अमेरिकी राष्ट्रपतिले आफ्नै अधिकार प्रयोग गरी कानुन बनाउन सक्छन्। तर कानुन पारित गर्न उनले अधिकांश समय कङ्ग्रेससँग मिलेर काम गर्नुपर्छ।
अमेरिकी राष्ट्र प्रमुखलाई विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्न र विदेश नीति तय गर्न उल्लेख्य स्वतन्त्रता हुन्छ। अमेरिकी निर्वाचनमा प्रमुख दुई पार्टीले आफ्ना उम्मेदवारहरू शृङ्खलाबद्ध मतदानबाट चयन गर्छन्। त्यो प्रक्रियालाई स्टेट प्राइमरी र ककसहरू भनिन्छ। जसमा पार्टी सदस्यहरूले आफ्नो दलको प्रतिनिधित्व गर्ने उम्मेदवार छान्छन्।
Getty images
रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना प्रतिस्पर्धी भन्दा ठूलो अन्तरको समर्थन सहित राष्ट्रपतिको उम्मेदवार बनेका छन्। विस्कन्सिनमा आयोजित रिपब्लिकन राष्ट्रिय सम्मेलनबाट उनी राष्ट्रपतिको उम्मेदवार चयन भएका थिए। उनले जेडी भेन्सलाई उपराष्ट्रपतिमा अघि सारेका छन्।
राष्ट्रपति जो बाइडनले गत जुलाई महिनामा आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारेपछि ह्यारिस डेमोक्र्याटहरूको उम्मेदवार बनिन्। उनलाई पार्टीबाट कसैले पनि चुनौती नै दिएन। उनले मिन्नेसोटाका गभर्नर टिम वाल्ट्जलाई उपराष्ट्रपति बनाउने घोषणा गरेकी छन्।
राष्ट्रपतीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन्। जसमध्येका एक पूर्व राष्ट्रपति एक जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी धेरै चर्चामा थिए। तर उनले अगस्ट अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिएर ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए।
डेमोक्र्याट उदारवादी राजनीतिक पार्टीको रूपमा चिनिन्छ। यसका मुख्य नीतिहरूमध्ये नागरिक अधिकार, व्यापक सामाजिक सुरक्षा सञ्जाल र जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्ने विषयहरू पर्छन्। रिपब्लिकन अमेरिकाको परम्परावादी राजनीतिक दल हो। ग्रान्ड ओल्ड पार्टी अर्थात् बुढो पार्टीको रूपमा पनि चिनिने रिपब्लिकन कम कर लगाउने, छरितो सरकार बनाउने, बन्दुक राख्ने अधिकार दिने र अध्यागमन तथा गर्भपातमा कडा प्रतिबन्धहरू लगाउने पक्षको दल हो। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन मतदाताको सर्वाधिक मत ल्याएर मात्र पुग्दैन। सबैभन्दा धेरै मतदाताको समर्थन पाउने उम्मेदवार पनि राष्ट्रपतिको निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ। अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई ुइलेक्टोरल कलेजु भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्छ। त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ, अनि त्यसकै आधारमा परिणामको छिनोफानो हुन्छ। त्यसकारण उम्मेदवारहरू सबै ५० राज्यको चुनाव जित्न आफ्नो सामर्थ्य प्रयोग गर्छन्।
कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो। अमेरिकाका ५० राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ। कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।
यसअघि भएका छ वटा निर्वाचनमध्ये दुइटामा आफ्ना प्रतिद्वन्द्वीको भन्दा कम मत ल्याउने दुई उम्मेदवार राष्ट्रपति बनेका थिए। सन् २०१६ मा डोनल्ड ट्रम्पले झन्डै ३० लाख मत कम पाए पनि इलेक्टोरल कलेजले उनलाई बहुमत दिएका कारण उनी राष्ट्रपति बने। अधिकांश राज्यले प्रत्येक निर्वाचनमा एउटै पार्टीलाई जिताउँछन्। त्यस कारण राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारहरूले स्विङ स्टेट भनिने परिणाम अनिश्चित हुने राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्छन्।
सन् २०२४ को निर्वाचनमा एरिजोना, नोर्थ क्यारलाइना, जोर्जा, मिशिगन, नभाडा, पेन्सिल्भेनिया र विस्कन्सिनसहित सात राज्यमा उम्मेदवारहरूबीच उच्च प्रतिस्पर्धा हुने देखिएको छ। प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकारका आधारमा इलेक्टोरल मतको सङ्ख्या तोकिएको हुन्छ इलेक्टोरल कलेजको भेला प्रत्येक चार वर्षमा हुने निर्वाचन सकिएपछि केही सातामा आयोजना हुन्छ। त्यही भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्छ।
अमेरिकी राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा १८ वर्ष वा सो भन्दा माथिका अधिकांश अमेरिकी नागरिकहरूले मत दिन पाउँछन्। तर नर्थ डाकोटा बाहेकका सबै राज्यमा निर्वाचनअघि अघि मतदाताको रूपमा दर्ता हुनुपर्ने नियम छ। प्रत्येक राज्यमा मतदाताको रूपमा दर्ता हुने आफ्नै प्रक्रिया र समयसीमा छ। विदेशमा रहेका अमेरिकी नागरिकहरूले पनि सङ्घीय हुलाक कार्यालयको प्रणालीमा निवेदन दिएर हुलाक मार्फत् मतदान गर्न सक्छन्।
अधिकांश राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ। राष्ट्रपतिबारे धेरै चर्चा हुने गरे पनि अमेरिकी मतदाताहरूले नोभेम्बर ५ मा अरू पदमा पनि मत दिँदैछन्। कङ्ग्रेस भनिने अमेरिकी संसद्का सदस्यहरू पनि त्यही दिनको निर्वाचनबाट चुनिन्छन्। अमेरिकामा कानुनको निर्माणमा उनीहरूको उल्लेख्य भूमिका हुन्छ। कङ्ग्रेसको संरचना ४३५ सिटको प्रतिनिधिसभा र ३४ सिटको सिनेट मिलेर बनेको हुन्छ।
अमेरिकी सरकारले गर्ने खर्चमा नियन्त्रण गर्ने प्रतिनिधिसभामा अहिले रिपब्लिकन पार्टीको बहुमत छ। सरकारका प्रमुख नियुक्तिहरूमा मतदान गर्ने सिनेटमा भने डेमोक्र्याटको नियन्त्रण छ। संसद्का यी दुई सदनले कानुनहरू पारित गर्नुका साथै ह्वाइट हाउसमाथि नियन्त्रणको काम गर्छन्। राष्ट्रपति योजना कुनै सदनमा बहुमत रहेको पार्टीलाई चित्त नबुझे त्यसको कार्यान्वयन गर्न ह्वाइट हाउसलाई अप्ठ्यारो पर्नसक्छ।
साधरणतया चुनाव सकिएकै रात अमेरिकी राष्ट्रपतीय निर्वाचनका विजेताको घोषणा हुन्छ। तर सन् २०२० मा सबै मत गणना सक्न केही दिन लागेको थियो। बहालवाला भन्दा फरक राष्ट्रपति निर्वाचित भएको अवस्थामा नयाँ राष्ट्रपतिको पदबहाली नहुँदासम्मको अवस्थालाई सङ्क्रमणकाल भनिन्छ।
यसले नयाँ प्रशासनलाई मन्त्रीहरू चयन गर्न र कार्यकालको योजना बनाउन समय दिन्छ। इन्यागुरेसन भनिने एक समारोहबीच नयाँ निर्वाचित राष्ट्रपतिले ज्यानुअरीमा पदबहाली ग्रहण गर्छन्। यो समारोह क्यापिटोल भनिने अमेरिकी संसद् भवनको खुड्किलाहरूमा हुन्छ।
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेको देखिएको छ । एबीसी न्यूजको नयाँ तथ्यांकलाई हवाला दिंदै बीबीसीले कमला ह्यारिस र ट्रम्पबीच केवल १ प्रतिशतको अन्तर रहेको लेखेको छ । कमलालको पक्षमा ४८ प्रतिशत मतदाता रहँदा ट्रम्पको पक्षमा ४७ प्रतिशत छन् ।
कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि छिन्। यस्ता सर्वेक्षणहरू देशभरी कुन उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्ने राम्रो तरिका भए पनि चुनावी नतिजाको भविष्यवाणीका लागि यो पर्याप्त हुँदैन । खासगरी इलेक्टोरल कलेज प्रणालीमा आधारित चुनावी प्रतिस्पर्धा भएकोले पनि यस्ता सर्वेक्षणहरूको नतिजा चुनावको अन्तिम नतिजासँग नमिलेका कैयौं उदाहरण छन् । यस्तो प्रणालीमा प्रत्येक राज्यलाई जनसंख्याका आधारमा निश्चित संख्यामा मत दिइन्छ ।
अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ। अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैं एउटै पार्टीको पक्षमा मतदान गर्छन्। दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन्। यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई रणमैदान वा स्विङ स्टेट भनिन्छ।
अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्वपूर्ण मानिने सात स्विङ स्टेटबीच निकै कडा प्रतिस्पर्धा छ । अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन् । ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छिन्।
काठमाडौं । स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडितले दुर्व्यवहार गरेकोखबर सार्वजनिक भएको छ । बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले ‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका छन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको पनि प्रदर्शनकारीले बताएका छन् ।
क्रोधित बाढी पीडितहरूले राजा फिलिपलाई यस्तो त्रासदी रोक्न केही गरेका थियौ कि थिएनौ भनेर प्रश्न गरेका छन् । स्पेनमा सोमबार आएको बाढीमा परी दुई सयभन्दा बढीको ज्यान गएको छ भने कैयौं अझै बेपत्ता छन् । दुखको यस घडीमा जनता एक अर्काको साथमा उभिएका छन् र पीडितलाई सहयोग गर्न अगाडि बढिरहेका छन् ।
आपतकालीन सेवाका कर्मचारीहरूले कार पार्किङ र सुरुङमा फसेका मानिस र शवहरूको खोजी गर्न निरन्तर काम गरिरहेका छन्। यसैबीच स्पेनका नेताहरूले बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने राजाको निर्णय गलत रहेको टिप्पणी गरेका छन् । भ्यालेन्सियाका संसद सदस्य जुआन बोर्डेराले राजा फिलिपको बाढी प्रभावित भ्यालेन्सियाको भ्रमण ‘धेरै नराम्रो निर्णय’ भएको बताएका हुन् ।
‘जनता आक्रोशित हुनु स्वाभाविक हो, उनको भ्रमण किन महत्वपूर्ण छ भन्ने कुरा जनताले नबुझ्नु पनि अस्वभाविक होइन,’ उनले भने । भ्यालेन्सियाको प्रान्तीय सरकारले पनि भारी वर्षा र बाढीपछिको अवस्थालाई लिएर गम्भीर आलोचनाको सामना गरिरहेको छ । अहिलेसम्म सरकारले बेपत्ताको तथ्यांक पनि भन्न सकिरहेको छैन । स्पेनका एक मन्त्रीले मृतकको संख्या धेरै नै बढ्न सक्ने बताएका छन् ।
काठमाडौं । थाइ एअर एशियाले भैरहवा–बैंकक रुटमा परिक्षण उडान गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाइ एअर एशियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ ।
अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने बिमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । बिमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए ।
थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुनः उडान काठमाण्डौमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएको हो ।
भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ । एअर एसियाको यो बिमान बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ ।
काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि एकपटक विमानमा बम राखिएको धम्की आएको छ । शनिबार एयर इन्डियाको विमानमा बम रहेको थ्रेट आएको हो ।
दिल्ली उड्न लागेको विमानमा बम रहेको थ्रेट आएपछि सबै यात्रुलाई ओरालेर चेक जाँच गराइएको थियो । चेक जाँचपछि कुनै खतरनाक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ । दिउँसो ४ः ३१ मा बम राखिएको धम्की आएपछि प्रहरी र नेपाली सेनाको टोलीले चेकजाँच गरेको थियो ।
विमानमा कुनै खतरनाक चिज नभेटिएपछि विमान दिल्ली उड्ने भएको छ । यसअघि पनि एयर इन्डिया र भिस्ताराको जहाजमा बम राखिएको धम्की आएको थियो । ती विमानमा पनि बम भेटिएको थिएन ।
काठमाडौं । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ।
अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को एप्रिलसम्म करिब साढे दुई करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ।
अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र सुधीर कुमार छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विवेककुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएशनका सहनिर्देशक एवं आंशिक शेअरधनी हुन्।
एसेन्ड एभिएशनको वेबसाइटमा उल्लेख गरिएअनुसार उक्त कम्पनी दिल्लीमा रहेको छ र अन्तर्राष्ट्रिय स्तरमा त्यसले हवाई उद्योगका स्पेअर पार्ट्सका साथै लुब्रिकेन्ट आपूर्ति गर्ने गर्छ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण भएयता अमेरिका, यूके र युरोपेली सङ्घका साथै अस्ट्रेलिया, क्यानडा र जापानसहित कैयौँ देशले रुसविरुद्ध १६,५०० भन्दा बढी प्रतिबन्ध लगाएका छन्।
ती प्रतिबन्धअन्तर्गत रुसको विदेशी मुद्रा सञ्चयको करिब आधा हिस्सा रोक्का गरिएको छ जुन करिब २७६ अर्ब डलर हुन आउँछ।
विदेश मामिलाका जानकार तथा द इमेज इन्डिया इन्स्टिच्यूटका अध्यक्ष रवीन्द्र सचदेव भन्छन्, “प्रतिबन्धमा परेपछि सम्बन्धित कम्पनीहरू प्रतिबन्ध लगाउने देशसँग लेनदेन गर्न सक्दैनन्।”
“प्रतिबन्धमा परेका कम्पनीहरूको सम्पत्ति पनि ती देशमा पनि रोक्का हुन सक्छ ती प्रतिबन्धको पक्षमा छन्।”
तर प्रतिबन्धका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा खासै असर नपर्ने उनको दाबी छ। किनकि दुई देशबीच सुमधुर सम्बन्ध रहिआएको छ। बिबिसी
काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकाविरूद्ध पहिले बलिङ गर्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालको यो तेस्रो खेल हो। यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।
आजको प्लेइङ इलाभेनमा कुनै परिवर्तन गरिएको छैन। प्लेइङ इलाभेनमा रोहित पौडेल, आशिफ शेख, कुशल भूर्तेल, अनिल साह, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछाने छन्।
नेपालले लिग-२ का ८ खेल खेलिसक्दा दुई खेल मात्रै जितेको छ।
गत फेब्रुअरी १७ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेपछि नेपाल लिग-२ का सात खेलमा जितविहीन बनेको थियो। ७ मध्ये ६ खेलमा नेपाल पराजित हुँदा १ खेल वर्षाका कारण रद्द भएको थियो।
नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन्।
काठमाडौं । फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो । मिडिया अनुगमन संस्था फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ अनुसार युट्युबरसहित छ मिडियाकर्मीको मृत्यु र ५७ वटा उल्लङ्घन दर्ता गरिएका छन् । रिपोर्टअनुसार सन् २०२३ अक्टोबरदेखि सन् २०२४ अगस्टसम्म पत्रकार र डिजिटल मिडियाकर्मीका गरी पाँच वटा हत्या भएका छन् । पत्रकारहरूमाथि ११ वटा हत्या प्रयास गरिएकाले यो रिपोर्ट चिन्ताजक थियो ।
“सिन्धु संरक्षण विधेयक र सङ्घीय संरक्षण ऐन जारी गरिएको भए पनि दुवै सङ्घीय र सिन्धु सरकार यी कानून लागू गर्न असफल रहँदा यसले पत्रकारहरूलाई असुरक्षित बनाएको छ”, फ्रिडम नेटवर्कका कार्यकारी निर्देशक इक्बाल खत्तकले भने, “पत्रकार संरक्षणका विशेष कानुनहरू लागू गर्ने राजनीतिक इच्छाशक्ति र संसाधनहरूको अभावले पाकिस्तानमा पत्रकारहरूका लागि स्थिति खतरनाक बनेको छ ।”
सिन्धु सबैभन्दा बढी उल्लङ्घनहरूको सूचीमा रहेको रिपोर्टले देखाएको छ । सिन्धुमा ५७ मध्ये २१ वटा मुद्दा र तीन वटा हत्या दर्ता भएका छन् । त्यसपछि पञ्जाब र इस्लामाबाद आउँछन् । पञ्जाबमा १३ र इस्लामाबादमा १२ मुद्दा दर्ता भएका छन् । खैबर पख्तुनख्वामा सात र बलुचिस्तानमा दुई मुद्दा छन् ।
टेलिभिजन पत्रकारहरूले ३० वटा उल्लङ्घनका मुद्दा भोगेका छन् । यसमा ५३ प्रतिशत पत्रकार समावेश छन् । प्रिन्ट मिडियाले ३५ प्रतिशत र डिजिटल मिडियाले १० प्रतिशत मुद्दा भोग्नुपरेको छ । रेडियो पत्रकारहरूले उल्लङ्घनहरूविरुद्ध दुई प्रतिशत मुद्दा भोगेका छन् ।प्रतिवेदनले महिला पत्रकारहरूविरुद्ध उल्लङ्घनहरू पनि निर्धारण गरेको छ ।
पाकिस्तानमा मिडिया स्वतन्त्रतालाई संरक्षण गर्न दण्ड मुक्तिको सामना गर्नु आवश्यक रहेको रिपोर्टले जोड दिएको छ । हरेक महिना औसतमा छ वटा पत्रकार विरुद्धका उल्लङ्घन रिपोर्ट हुन्छन् । सङ्घीय सरकारले पत्रकार सुरक्षाका लागि गरेका झुटा प्रतिबद्धताहरूपछि असफल हुनु चिन्ताजनक छ । रासस
काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । आजै गोरु र कृषकको पूजाआजा पनि गरिंदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा÷सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।
काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनायो । अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । नेपालको जितका लागि प्रतीश जिसी एक्लैले तीन विकेट लिए । उनी प्लेर अफ दी म्याच बने । लोकेश बम र विवेक यादवले एक–एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको नेपाललले २ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लिग कप्तान सन्दीप जोराले १६ बलमा ४ छक्का र ५ चौका मद्दतमा ५१ रनको योगदान गरे । उनको यो लगातार दोस्रो अर्धशतक हो । यस्तै लोकेश बमले ३३, विवेक यादव र राशिद खानले १२र१२ रन जोडे भने नारायण जोशी एक रनमा नटआउट रहे । अष्ट्रेलियाका ज्याक उडले २ विकेट लिए ।
समूह बीमा रहेको नेपाले यसअघि पहिलो खेलमा इंग्ल्यांडलाई पराजित गरेको थियो । यससँगै नेपाल समूह विजेता हुँदै क्वाटर फाइनल पुगेको छ । नेपालसँग पराजित भएको अष्ट्रेलिया पनि क्वाटर फाइनल पुगेको छ । नेपालले क्वाटरफाइनलमा आजै दिउँसो १ः३५ बजे श्रीलंकासँग खेल्नेछ ।
काठमाडौं । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् । यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ। अमेरिका र दक्षिण कोरियाले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको उनीहरु र रूसको पक्षमा लडाइँमा सहभागी हुने बताउँदै आएका छन्।
वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ। “विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने विदेश मन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेका हुन् । उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको “बुद्धिमानी नेतृत्व“ मा कुनै शङ्का नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउँदै सम्बन्ध सक्षम बनाएको उल्लेख गरेका छन् । उनले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरेका छन् ।प्योङयाङले सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशङ्का गरिएको छ।
रूसी विदेशमन्त्री लाभ्रोभले दुई देशका “सेना र विशेष सेवाहरू“ बीचको “घनिष्ठ सम्बन्ध“ को प्रशंसा गरेका छन् । युक्रेनमा उत्तर कोरियाको सहयोगका लागि रूस आभारी“ रहेको बताएका छन् । सन् २०२२ फेब्रुअरीमा सुरु भएको रूस युक्रेन आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडेको छ भने उत्तर कोरिया र इरान रूसको समर्थकका रूपमा देखापरेका छन्। लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको “नयाँ चरण“ सुरु गरेको बताएका छन् ।
काठमाडौं । नेपाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा इङ्ल्याण्डमाथि छ विकेटले विजयी भएको थियो। नेपालको समूहमा रहेको अस्ट्रेलियाले ३४ रनको जित निकालेसँगै नेपाल एक खेल अगाडि क्वाटरफाइनल पुगेको हो। इग्ल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ। नेपालले समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग शनिबार बिहान खेल्दैछ। हङ्कङको मोङ ककमा शुक्रबार भएको पहिलो खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गरेको थियो।
नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा चार चौका र छ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडेका छन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो।
इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए ।
काठमाडौं । प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो ।
बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल शव भेटिएको प्रहरीको भनाइ छ । त्यस्तै खनाललाई स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्केपछि बेलिब्रिजको छेउमा नुहाउन जाँदा नदीले बगाएको थियो । खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको प्रहरीले जनाएको छ ।